प्रधानमन्त्रीसमक्ष अन्तर-व्यवस्थापिका मञ्चको घोषणापत्र हस्तान्तरण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अन्तर-व्यवस्थापिका मञ्च, नेपालको १० औं सम्मेलनबाट पारित सात बुँदे घोषणापत्र हस्तान्तरण गरिएको छ । उक्त मञ्चको गत पुस १–३ गते गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित सम्मेलनका निष्कर्षहरू बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको हो । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख र सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयलगायत सहभागी भेटमा संघीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन संघ, प्रदेश र स्थानीय तहको साझा सूचीअन्तर्गत निर्माण गरिने कानुनको सन्दर्भमा तीन वटै सभाको परस्पर सम्बन्ध विकास गर्ने प्रतिबद्धता गरिएको छ । यस्तै बन्न बाँकी कानुनको अध्ययन र पहिचान गरी संघीय संसदबाट कानुन निर्माण गर्न पहल गर्ने जनाइएको छ। घोषणापत्रमा संसदीय विषयगत समितिको कामकारवाहीलाई प्रभावकारी बनाउने उद्देश्यले समन्वय र सहजीकरण गर्न सम्बन्धित नियमावलीमा प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष तथा प्रदेश सभाका उपसभामुखको भूमिका स्पष्ट गर्न पहल गर्ने प्रतिबद्धता रहेको छ । यस्तै कानुनको कार्यान्वयन मापन एवं उत्तर विधायिकी परीक्षणको कार्य सरकारसँग समन्वय गरी संघ र प्रदेशमा सुरु गर्ने, यसका लागि सम्बन्धित सभाका नियमावलीमा व्यवस्था गर्ने, सरकारले सभामा पेश गर्ने नीति तथा कार्यक्रम सिद्धान्त र प्राथमिकता, पूर्वबजेट छलफल एवं संसदबाट अनुमोदित बजेट, बजेटको खर्च समेतका सम्बन्धमा अध्ययन विश्लेषण गरी संसद सदस्यलाई अध्ययन, अनुसन्धानात्मक र प्रशिक्षणात्मक सेवा पु¥याउने विषय घोषणापत्रमा रहेको छ । भेटका अवसरमा प्रधानमन्त्री ओलीले सबै सरकार र संसद्हरूबीच संविधानले गरेका प्रबन्धबमोजिम उचित समन्वय र सहकार्य अझै बढाउनुपर्नेमा जोड दिँदै सङ्घीय सरकारका तर्फबाट हुनुपर्ने समन्वय बढाउने बताए । उनले संसदले सरकारसमक्ष बजेटसम्बन्धी प्रस्ताव गर्दा राज्यको आर्थिक हैसियतलाई विचार गरेर गरिदिनुुपर्ने र सरकारका सम्बन्धित मन्त्रालयले पनि संसदको नेतृत्वले आवश्यकता ठानेर पठाइसकेका प्रस्तावलाई सहजरुपमा अघि बढाउनुपर्ने बताए ।
रसियाको उलान उदे सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध
ललितपुर : ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनी सम्बन्ध कायम भएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले भगिनी सम्बन्ध सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बन्धले दुबै देशका जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउने दाबी गरे । उनले भने, ‘दुई सहरबीचको यो सम्बन्धले धेरै कुराको सम्भावना खोलेको छ ।’ ललितपुर महानगर कला, संस्कृति र सम्पदाको सहर भएको बताउँदै उलान उदे सहरमा ललितपुरको संस्कृति र सम्पदा झल्काउने काम गर्न इच्छुक भएको बताए । बुद्धको देश नेपालबाट रसियाका जनतालाई सन्देश लिएर आएको बताउँदै बुर्यातिया प्रमुख र उलान उदे सहरका प्रमुखलाई नेपाल आउन निम्तो दिए । रिपब्लिक अफ बुर्यातिया रसियाका प्रमुख अलेक्सेई स्प्देनोभले नेपाल र रिपब्लिक अफ बुर्यातियाबीच धेरै विषय एक अर्कासँग मिल्दाजुल्दा भएको बताए । भेटघाटलाई बाक्लो बनाउने बताउँदै संयुक्त रुपमा परियोजनाहरु संचालन गर्ने जानकारी दिए । उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले यो भगिनी सम्बन्धले नेपाल र रुसबीचको सम्बन्धमा नयाँ आयाम थपेको बताए । दुई देशको विकासका लागि के गर्न सकिन्छ यस सम्बन्धमा थप गृहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उलान उदे रसियाको पुरानो सहर हो । विकासशील यो सहरको विशेषता ललितपुर महानगरसँग मिल्दाजुल्दा छन् । समझदारी पत्रमा सडक निर्माण तथा स्तरोन्नति, महानगरको सार्वजनिक सवारी साधान व्यवस्गित, पर्यटन, शिक्षा र स्वास्थ्य, ऐतिहासिक सम्पदा संंरक्षण , ग्यालरी र म्यूजियम स्थापनाका , सूचना प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धान विषयमा सहकार्य गर्ने उल्लेख छ । नगर प्रमुखले प्रतिनिधिमण्डलमा प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, उद्योग, पर्यटन तथा संस्कृति समितिका संयोजक एवम वडा नं.५का वडा अध्यक्ष विकास मान श्रेष्ठ, महानगरका अन्तर्राष्ट्रिय सल्लाहदार मुकुन्द विष्ट छन् । महानगर प्रमुखको प्रतिनिधिमण्डल शनिवार रसिया गएको हो ।
भजनी नगरपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरिदिने
भजनी । कैलालीको भजनी नगरपालिकाले विपन्न परिवारलाई सुरक्षित उच्च आवास निर्माण गर्ने भएको छ । नगरपालिकाले वडा नं १ र ८ मा ४५ विपन्न परिवारका लागि सुरक्षित उच्च आवास निर्माण गर्ने भएको हो । यसअनुसार वडा नं १ मा २५ वटा र वडा नं ८ मा २० वटा सुरक्षित उच्च आवास निर्माण गरिने छ । बर्सेनि बाढी र डुबानको सास्ती खेप्दै आएका विपन्न परिवार सुरक्षित उच्च आवास निर्माण हुने भएपछि खुसी भएका छन् । वडा नं ८ की सुशीला पाण्डे वर्षौँदेखिको बाढीको पीडाबाट छुटकारा पाउने आशामा छिन् । ‘वर्षात्को समयमा झण्डै दुई महिना हुलाकी सडकमा बास हुन्छ । डुबान कम भएर घर फर्किँदा कच्ची घर पुनः मर्मतसम्भार गरेर मात्र बस्न लायक हुन्छ’, उनी भन्छिन्, ‘उच्च घर निर्माण भएपछि विगतको समस्याको सामना गर्नुपर्ने छैन । सुरक्षित छु भन्ने आभास हुने छ ।’ सोही ठाउँकी शारदाकुमारी सुनार पनि सरकारले घर निर्माण गरिदिने भएपछि खुसी भएकी छिन् । वर्षौँदेखि कच्ची माटोको घरमा बस्दै आएको उनको परिवारले सुरक्षित आवास पाउन लागेको हो । ‘विगतजस्तो समस्या अब आउने छैन । घरको खाद्यान्न बाढीले बगाउने छैन । घरका भाँडाकुँडा सुरक्षित रहनेछन्’, उनी भन्छिन्, ‘बाढीको त्रासमा रातभर जाग्राम बस्नुपर्ने दिन मेरा लागि अन्त्य हुनेछन् । परिवारले सुरक्षित छु भन्ने आभास गर्नेछ ।’ विपन्न परिवारका घर निर्माणका लागि ह्याविट्याट फर ह्युम्यानिटी नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय दलित नेटवर्क नेपालको प्राविधिक सहयोग रहने छ । आवास निर्माणका लागि प्रतिघर तीन लाख रुपैयाँ नगरपालिकाले व्यहोर्ने छभने दुई लाख ५० हजार रुपैयाँ सहयोगी संस्थाले व्यहोर्ने छ । त्यसमा करिब एक लाख ६५ हजार रुपैयाँ लाभान्वित परिवारले बेहोर्नुपर्ने छ । वडा नं ८ मा निर्माण हुने २० वटाको लागतमा सहयोगी संस्थाले प्रतिघर दुई लाख ६५ हजार रुपैयाँ लागत लाग्ने राष्ट्रिय दलित नेटवर्क नेपालका कार्यक्रम संयोजक चक्रबहादुर आग्रीले जानकारी दिए । सुरक्षित आवासअन्तर्गत निर्माण हुने घरमा दुईवटा कोठा रहने छन् । बाहिर बरण्डा रहने छभने शौचालय रहने छ । तर वडा नं १ मा निर्माण हुने आवासमा एउटा भान्सा थप हुने कार्यक्रम संयोजक आग्रीले बताए । ‘नगरपालिकाको समन्वयमा यसभन्दा पहिले पनि भजनीमा हामीले २६ वटा सुरक्षित आवास निर्माण गरेर हस्तान्तरण गरिसकेका छौँ’, उनले भने, ‘चालु आर्थिक वर्षमा थप ४५ वटा आवासका लागि नगरपालिकासँग सम्झौता भइसकेको छ ।’ सम्झौताअनुसार असार २० गतेभित्र सबै घर निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । स्थानीय स्रोतले भ्याएसम्म बाढी प्रभावित, मुक्त कमैया, विपन्न दलित र एकल महिलालाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले आवास निर्माणको काम गर्दै आएको नगरप्रमुख केवल चौधरीको भनाइ छ । ‘स्थानीय सरकार र गैरसरकारी सङ्घसंस्थासँग समन्वय गरेर कैयौँ विपन्न वर्गका लागि हामीले आवास निर्माण गरेका छौँ र गरिरहेका छौँ ।’ उनी भन्छन्, ‘सीमित स्रोतसाधनका बाबजुद पनि नागरिकलाई सरकार छ भन्ने अनुभूतिको प्रयास गरिरहेका छौँ ।’ नेटवर्कले भने कैलालीमा मात्र एक सयभन्दा बढी आवास निर्माणमा स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गरिसकेको छ । कैलाली र कञ्चनपुर गरी एक सय ६९ विपन्न परिवारका घर निर्माण भएको कार्यक्रम संयोजक आग्रीको भनाइ छ । उनका अनुसार कैलारी गाउँपालिकामा २७, घोडाघोडी नगरपालिकामा २२ र बर्दगोरिया गाउँपालिकामा १२ घर निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । रासस
हाइब्रिडमा सफलतापश्चात ईभीमा जम्दै टोयोटा, २०२५ र २६ मा नौवटा नयाँ ईभी ल्याउने
काठमाडौं । टोयोटाले सन् २०२५ र २०२६ मा आफ्नो टोयोटा र प्रिमियम लेक्सस ब्रान्डका लागि युरोपमा कुल नौवटा पूर्ण रूपमा विद्युतीय मोडेलहरू (ईभी) सार्वजनिक गर्ने भएको छ । टोयोटाले बुधबार यस्तो घोषणा गरेको हो । यसले ठूलो ईभी बजारमा प्रतिस्पर्धा गर्ने बुझिएको छ । जापानी अटो निर्माता कम्पनीले यस वर्ष टोयोटा ब्रान्डका नयाँ संस्करणका तीनवटा विद्युतीय एसयूभी सार्वजनिक गर्नेछ, जसलाई २०२६ मा थप तीनवटा मोडेलहरूले पछ्याउने छन् । त्यसैगरी, कम्पनीले आगामी १२ महिनामा युरोपमा तीनवटा लेक्सस ब्रान्डका ईभी पनि ल्याउने जनाइएको छ । बिक्रीका आधारमा विश्वको सबैभन्दा ठूलो अटो निर्माता टोयोटा परम्परागत प्रतिस्पर्धीहरूको तुलनामा ईभी रणनीतिमा बढी सतर्क देखिएको छ । गएको वर्षमा विद्युतीय गाडीहरूको माग विश्वभर सुस्ताउँदा टोयोटाले विशेषगरी अमेरिकाजस्तो प्रमुख बजारमा आफ्नो हाइब्रिड मोडेल लाइनअपबाट फाइदा उठाएको छ । टोयोटाको ईभी कार । टोयोटाले पहिलो पटक हाइब्रिड गाडी सन् १९९७ मा सार्वजनिक गरेको थियो । यसको पहिलो हाइब्रिड मोडेल टोयोटा प्रिअस हो, जसले स्वच्छ ऊर्जामा आधारित गाडीको युगको सुरुवात गर्यो । टोयोटाले हालसम्म २ करोडभन्दा बढी हाइब्रिड गाडी बिक्री गरिसकेको छ । यो संख्या २०२३ को अन्त्यसम्मको हो र कम्पनीले लगातार आफ्ना हाइब्रिड मोडेलहरूको उत्पादन र बिक्री विस्तार गरिरहेको छ । हाइब्रिड गाडीहरूको सफलताले टोयोटालाई इलेक्ट्रिक गाडीमा ढिलो प्रवेश गर्दा पनि बजारमा मजबुत बनाइराखेको छ । टोयोटाले सन् २०२२ मा २४ हजार विद्युतीय कारहरू उत्पादन गरेको थियो । कम्पनीले २०२५ सम्ममा वार्षिक रूपमा ६ लाख विद्युतीय कारहरू उत्पादन गर्ने लक्ष्य राखेको छ । युरोपमा नयाँ पूर्ण विद्युतीय कारहरूको बिक्री जनवरी महिनामा ३७.३ प्रतिशतले उकालो लागेको छ । ईभीले बजारको करिब १७ प्रतिशत हिस्सा ओगटेको छ । टोयोटाले दिएको विज्ञप्तिमा भनेको छ कि कार्बनडाइअक्साइड उत्सर्जन कटौती गर्न यसको ‘बहु-मार्गीय रणनीति’ विभिन्न क्षेत्रका ग्राहकहरूका लागि सही विकल्प प्रदान गर्न केन्द्रित छ । उदाहरणका लागि ईभी बिक्री अझै कमजोर रहेको दक्षिण अमेरिकामा टोयोटाले हाइब्रिड गाडीहरूलाई प्राथमिकता दिनेछ । ‘विकल्पहरू उपलब्ध गराउनु र अवसरहरू सिर्जना गर्नु नै उत्कृष्ट गाडीहरू उत्पादन गर्ने हाम्रो मुख्य आधार हो,’ टोयोटाका प्रमुख ब्रान्डिङ अधिकृत साइमन हम्फ्रिजले विज्ञप्तिमा भने । २०२४ मा युरोपमा टोयोटाको बिक्री १३.१ प्रतिशतले वृद्धि भएर १० लाख युनिट नाघेको थियो जबकि समग्र बजार वृद्धि दर ०.९ प्रतिशतमात्र थियो । (एजेन्सीहरूको सहयोगमा) यी पनि पढ्नूहोस् : निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै
यस कारण अपरिहार्य छ बीमा
काठमाडौं । हामी सक्षम छौं, स्वस्थ छौं, कमाउन र जमाउन सकेका छौं । सबै कुरा राम्रै चलिरहेको छ । हामी सोच्छौं, किन बीमा गर्नुपर्याे र ? हामीभित्र भएको यो घमण्ड या आफैमाथिको विश्वास, जसले गर्दा बीमा गर्नुपर्छ भन्ने ज्ञान हामीमा छ भने पनि गर्छु नै भन्ने निर्णय गरिहाल्न हिम्मत हामी गर्न सक्दैनौं । हामी सबैलाई जानकारी भएकै कुरा हो, जीवन संधै एकनास चल्दैन । कतिबेला कहाँनेर कसलाई के समस्या आइपर्छ थाहा हुँदैन । आज स्वस्थ छौं भनेर हिँडिरहेका हामी भोलि अस्पताल भर्ना हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न । भोलि कतै कुनै दुर्घटनामा परिँदैन भन्न सकिन्नँ र हामी संधै कमाइरहन सक्छौं भन्ने ग्यारेन्टी पनि छैन । यी सबै कुरा जतिखेर पनि हाम्रो जीवनमा आइलाग्न सक्छ । यसरी अचानक हाम्रो जीवनमा घटना भइहाल्यो भने ठूलो धनजनको क्षति बेहोर्नुपर्ने हुन्छ । त्यसरी अचानक आइपर्ने आर्थिक भारलाई सामना गर्ने पूर्वतयारी हामीले गरेका छौं ? यदि हामीले पूर्वतयारी गरेका छौं भने हामी ढुक्क हुन सक्छौं । त्यही ढुक्क हुने माध्यम नै बीमा हो । के हो बीमा ? नेपाल लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गर्दै आएकी सरस्वती श्रेष्ठ कुनै व्यक्ति वा उसको परिवारलाई आर्थिक सुरक्षा दिनलाई गरिने वित्तीय योजना बीमा हो भनेर परिभाषित गर्छिन् । उनी भन्छिन्, ‘बीमा सुरक्षा हो । जसले व्यक्ति वा व्यवसायलाई आर्थिक क्षतिबाट जोगाउने काम गर्छ । बीमा वित्तीय सुरक्षा हो । कुनै पनि दुर्घटना, प्राकृतिक प्रकोपजस्ता कारणले हुने क्षतिबाट बीमाले वित्तीय सुरक्षा प्रदान गर्छ ।’ बीमा गरिदिने कम्पनीहरू जसलाई बीमक भनिन्छ । ती कम्पनीहरूमार्फत् व्यक्ति तथा व्यवसायको बीमा गर्न सकिन्छ । बीमा कम्पनीले बीमितको बीमा गराइदिएबापत निश्चित रकम (प्रिमियम) लिन्छ र त्यसको आधारमा भविष्यमा बीमाले ‘रिर्टन’ दिन्छ । बीमा गरेपछि निश्चित समयअवधि राखिन्छ । त्यो समयअवधिमा प्रिमियम रकम तिर्नुपर्छ । त्यो रकम समयअवधि पूरा भएपछि कम्पनीको नीतिअनुरूप रकम फिर्ता आउँछ । बीचमा मृत्यु भयो अथवा भवितव्य घटना भयो भने बेहोर्छ । अभिकर्ता श्रेष्ठका अनुसार बीमा कम्पनीले लिने प्रिमियम कम्पनीअनुसार फरक–फरक हुन्छ । नेपाल सरकारले पनि स्वास्थ्य बीमा गराउँदै आएको छ । वार्षिक ३ हजार ५ सय रुपैयाँ तिरेर एक लाख रुपैयाँ बराबरको उपचार यसबाट लिन सकिन्छ । बीमा कम्पनीहरूले गर्ने बीमा फरक–फरक हुन्छ । बीमाका विभिन्न प्रकार छन् । स्वास्थ्य बीमा, जीवन बीमा, मोटर बीमा, घर बीमालगायत बीमाका प्रकार हुन् । यी हुन् बीमा गर्नैपर्ने कारण दीर्घकालीन योजना बनाउन सहयोग बीमाले दीर्घकालीन योजना बनाउन मद्दत पुर्याउँछ । १०/१५ वर्षपछि कुनै योजना बनाउँदै छौं भने त्यतिबेला आज गरेको बीमाले ठूलो मद्दत गर्ने बताउँछिन् अभिकर्ता श्रेष्ठ । ‘१५ वर्षपछि केही योजना बनाउँदैछौं भने आज गरेको बीमाले ठूलो मद्दत गर्छ । १५ वर्षपछि नै गरौंला भनेर सोंच्न थाल्यौं र त्यतिखेर कुनै व्यवसाय या विदेश नै जानुपर्यो भने तत्काल पैसा जुटाउन सकिँदैन । तर, बीमा गरेको छ भने त्यसबाट सहज हुन्छ,’ उनले बीमाको महत्व थप प्रष्ट्याउँदै भनिन् । अहिलेदेखि आम्दानीबाट केही रकम छुट्याएर बीमामा लगानी गर्ने हो भने त्यसले एकातिर जीवन सुरक्षित बनाउने र अर्कोतिर आर्थिक फाइदा पुग्ने उनको भनाइ छ । आर्थिक सुरक्षा सानिमा रिलायन्स लाइफका एजेन्सी म्यानेजर फणिन्द्र श्रेष्ठ कतिपयले आर्थिक अवस्था देखाउँदै बीमा गर्न नखोज्ने बताउँछन् । उनले भने, ‘बीमाबारे बुझेका हुन्छन् तर आर्थिक अवस्थाकै कारण बीमा नगर्नेहरू छन् । बीमा गर्दा भविष्यमा जाखिम कभर हुन्छ भनेर बुझेका भएपनि अहिले गर्नको लागि पैसा छैन भन्दै धेरैले बीमा गर्न सक्नुभएको छैन ।’ कति जनाले भने बीमाबारे जानकार नहुँदा बीमा गर्न नसकेको उनको भनाइ छ । हामीमध्ये भविष्यमा के हुन्छ थाहा छैन । दुर्घटना, चोटपटक, बिमारी, मृत्युजस्ता अचानक आउने आपतकालीन अवस्थाहरूले आर्थिक र भावनात्मक रूपमा तनाव सिर्जना हुन्छ । यदि बीमा गरेको छ भने यी अवस्था आउँदा बीमाले आर्थिक सहयोग प्रदान गर्ने नेपाल लाइफमा काम एजेन्सी म्यानेजर श्रेष्ठ बताउँछन् । परिवारको भरणपोषण परिवारमा एक जना मात्रै कमाइ गर्ने छ र कमाउने व्यक्तिको अचानक मृत्यु या काम गर्नै नसक्ने अवस्था आयो भने त्यो परिवारमा ठूलो आर्थिक संकट आइपर्छ । यो समस्याबाट जोगिन बीमाले ठूलो मद्दत गर्ने एजेन्सी म्यानेजर श्रेष्ठ सुनाउँछन् । बीमा गर्दाका थप फाइदाहरू बचतलाई बढावा बीमासम्बन्धी जानकारहरूले बीमाका अनेक फाइदाबारे उल्लेख गरेका छन् । बीमा जानकारहरूका अनुसार बीमा गर्दा नियमित बचत गर्ने बानीको विकास हुने बताउँछन् । उनीहरूका अनुसार प्रत्येक वर्ष केही रकम प्रिमियमको रूपमा छुट्याएर नियमित बचत गर्दा यसले नियमति बचत गर्न प्रोत्साहित हुन्छ र बचत गर्ने बानीको विकास हुन्छ । उक्त रकम निश्चित समयपछि अर्थात बीमा परिपक्क भएपछि बोनससहित रकम प्राप्त हुन्छ । यो रकम कुनै लगानीमा पनि लगाउन सकिन्छ । अवकाशपछि आर्थिक व्यवस्थापनमा सहयोग आज बीमा गरेको छ भने भोलि वृद्धावस्थामा त्यसले आर्थिक व्यवस्थापन गर्न मद्दत पुग्छ । कामबाट अवकाशपछि नियमित आम्दानी हुँदैन । त्यस्तो अवस्थामा जीवन चलाउन गार्हो हुन सक्छ । बीमा गरेको छ भने नियमित आम्दानी नभएपनि बीमाबाट सहायता पुग्ने बीमा जानकारहरू बताउँछन् । अवकाश नीति भनेको एक प्रकारको बीमा योजना हो जसले लामो समयसम्म आफ्नो आम्दानीको एक भाग बचत गर्न र अवकाश पछि आर्थिक रूपमा सुरक्षित बनाउन मद्दत गर्छ । जम्मा गरिएको रकम बीमितलाई पेन्सनको रूपमा फिर्ता गरिन्छ । शान्ति र आत्मविश्वास बीमा गरेपछि हामी ढुक्क हुन्छौं । आपतकालीन अवस्थामा ‘मलाई केही भइहाल्यो भने बीमा छँदैछ’ भन्ने मनमा हुँदा यसले शान्ति हुन्छ । भोलि केही भइहाल्यो भने बीमाबाट निकालेर व्यवस्थापन भइहाल्छ भनेर ढुक्क हुँदा यसले आत्मविश्वासमेत बढाउने बीमा जानकारहरू बताउँछन् । ऋण लिन सहज सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थामा ऋण लिन सहज छैन । ऋण लिनुभन्दा अगाडिको प्रक्रिया धेरैजसो सर्वसाधारणले नबुझ्ने झन्झटिलो पनि हुने भएकाले धेरैले ऋण लिन सकिरहेका हुँदैनन् । तर, बीमा गरेको छ भने बीमा गर्दा बीमा कम्पनीले बीमितलाई दिने कागजात लगेर कर्जा माग्दा सहजै कर्जा पाइन्छ । बालबालिको उच्च शिक्षामा सहयोग बालबालिकाको जीवन बीमा गरिँदिदा यसले भविष्यमा उनीहरूको उच्च शिक्षाको लागि ठूलो मद्दत पुग्छ । १२ कक्षा पास भइसकेपछि उच्च शिक्षाको लागि जुनसकै विषय पढ्दा वा उच्च शिक्षा पढ्न विदेश जान पनि अरूसँग ऋण खोजिरहनुपरेन । बीमा गरेको पैसाबाट व्यवस्थापन गर्न सहज हुन्छ । पढाइबाहेक अरू कुनै व्यवसाय सुरु गर्न चाहेको खण्डमा पनि आज गरेको बीमाले भोलि ठूलो मद्दत गर्ने बीमा जानकारहरू बताउँछन् ।
काठमाडौं महानगरले माग्यो नगरभित्र सञ्चालित सहकारी संस्थासँग विवरण
काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र सञ्चालित सहकारी संस्थाहरूलाई विवरण बुझाउन अनुरोध गरेको छ । महानगरले बुधबार एक सूचना जारी गर्दै सहकारी संस्थालाई विवरण बुझाउन आग्रह गरेको हो । सहकारी संस्थाहरूले काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ (३) र १०४ बमोजिम प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र संस्थाले साधारण सभा सम्पन्न गरी सभा सम्पन्न भएको मितिले पन्ध्र दिनभित्र महानगरपालिकामा वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख गरेको छ । तर हालसम्म केही सहकारी संस्थाहरूले वार्षिक साधारण सभा सम्पन्न गरी आर्थिक वर्ष २०८०/८१ सम्मको लेखा परीक्षण प्रतिवेदन, साधारण सभाको निर्णय तथा वार्षिक प्रतिवेदन पेश गरेको नदेखिएको भन्दै ती सहकारी संस्थाहरूले अविलम्ब वार्षिक साधारण सभा सम्पन्न गरी साधारण सभाको निर्णय तथा वार्षिक प्रतिवेदनहरू विभागमा पेश गर्न सूचना जारी गरेको छ । महानगरको सहकारी ऐन, २०७४ को दफा ६६ (३) बमोजिम विगत २ आर्थिक वर्षदेखि वार्षिक साधारण सभा गरी वार्षिक विभागमा विवरण पेश नगर्ने सहकारी संस्थाहरूलाई निष्क्रिय तथा सहकारीको मूल्य, मान्यता र सिद्धान्त विपरीत कार्य गरेको मानी निष्क्रिय सहकारी संस्थाको विवरण सार्वजनिक गर्नुका साथै विभागले संस्था खारेजीको प्रक्रिया समेतको कानूनी कारबाही गर्ने जनाएको छ । सहकारी संस्थाहरूको नियमन गर्ने अधिकार संविधानतः स्थानीय तहलाई तोकिए बमोजिम काठमाडौँ महानगरपालिकाले कानूनी र संरचनागत व्यवस्था मिलाई आफ्नो कार्य क्षेत्रभित्र पर्ने सहकारी संस्थाहरूको दर्ता, प्रवर्द्धन, अनुगमन लगायतका कार्यहरू गर्दै आएको छ । यसै सन्दर्भमा महानगरपालिकाको नियामकीय तथा भौगोलिक कार्य क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूका लागि विवरण पेश गर्न सूचना जारी गरेको सूचनामार्फत उल्लेख गरेको छ ।
११ वर्ष विदेशमा श्रम गरेर फर्किएका सुरकुमार राई साग बेचेर मासिक १ लाख आर्जन गर्दै
सुनसरी । प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन् भने केही भने विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसायी बनेका छन् । विदेशबाट फर्किएर नेपालमा स्वरोजगार बनेका एक उदाहरण हुन् रामधुनी नगरपालिका–२ कालीझोडाका किसान सुरकुमार राई । एघार वर्ष विदेशमा श्रम गरेर स्वदेश फर्किएका उनले रु ३० हजार लगानीमा सुरु गरेको सागसब्जीखेतीबाट वार्षिक १२ लाख आम्दानी गर्दै आएका छन् । विसं २०७६ सालमा रामधुनी कृषि फार्म दर्ता गरेर अहिले १२ कट्ठा जमिनमा गोलभेँडाखेतीसँगै अन्य सागसब्जीखेती गरिरहेका छन् । सोलुखुम्बुका उद्यमी राईले मलेसिया र सिङ्गापुरमा आर्जन गरेको रकमबाट इलम थालेको बताए । उनको बारीमा गोलभेँडासँगै बोडी, सिमीलगायत सागसब्जी लहलहाएका छन् । उनको बारीमा दैनिक ज्यालादारीमा तीन जना कार्यरत छन् । उनले भने, ‘अहिले गोलभेँडाको सिजन अलि कम हुँदै गएका कारण तीनजना मात्र कामदार राखेको छु, गोडमेल, मल हाल्ने मुख्य सिजनको समयमा १० जनासम्म कामदार राख्ने गरेको छु । मैले उत्पादन गरेको सागसब्जी बिक्रीका लागि बजार लानु पर्दैन, बजारको समस्या छैन खरिद गर्न व्यापारी आफैँ फार्ममा आउनुहुन्छ । धरान, इटहरी, गाईघाट, दमक बराहक्षेत्रका व्यापारी फार्ममा नै गोलभेँडा खरिद गर्न आउने गरेका छन् ।’ गोलभेँडाको मूल्य मङ्सिरदेखि पुससम्म राम्रो हुन्छ जुन समय रु ४५ देखि ६० सम्ममा फार्मबाटै व्यापारीले खरिद गरेर लाने गरेकामा अहिले भने बजारमा गोलभेँडाको मूल्य घटेको कारण रु १० देखि रु १५ मा बिक्री गर्नुपरेको उनले बताए । प्लाष्टिक टनेलमा गोलभेँडाखेती गरेका उनले यसो गर्दा उत्पादन बढ्ने सुनाए । गोलभेँडाखेती सुरु गरेको वर्ष स्थानीय सरकारबाट उत्कृष्ट किसानका रूपमा पुरस्कृत भएपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन । उनी काममा नै तन्मय छन् । गोलभेँडा आठ महिना उत्पादन हुन्छ, सिजनमा दैनिक १४ क्विन्टलसम्म बिक्री हुने गरेको उनले बताए । एक सिजनमा उनले तीन हजार क्विन्टलसम्म गोलभेँडा बिक्री गर्दै आएका छन् । स्थानीय सरकारले प्रत्येक वर्ष अनुदानस्वरुप गोलभेँडाको बीउ, मल प्रदान गर्ने गरेको छभने कृषि ज्ञान केन्द्रले २०७७ सालमा दिएको रु सात लाख अनुदानले गोलभेँडाखेती विस्तार गर्न सहयोग पुगेको बताए । अनुदानसँगै तालिम पनि पाएमा कीरा नियन्त्रण गर्न सजिलो हुने उनी बताउछन् । गोलभेँडाखेतीमा सही प्रविधि र सरकारी सहयोगसँगै बजार व्यवस्थापन राम्रो भयो भने अझ व्यावसायिक रूपमा राम्रो खेती गर्न सकिन्छ । जिल्लामा हाल आठ हजार एक सय ५३ हेक्टरमा सागसब्जीखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले बताउछन् । रामधुनीका साथै बराह क्षेत्रलगायत स्थानका किसानले गोलभेँडा, बन्दाकोबी र बोडीखेती गर्दै आएका छन् । रासस
१० निर्माण कम्पनी कालोसूचीमा, डेढ वर्षसम्म खरिद कारबाहीमा सहभागी हुन नपाउने
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गरी आजकै मितिदेखि लागु हुने गरी दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको जानकारी दिएको हो । गणेश तङनामी मुख्य व्यक्ति भएको तारालक्ष्मी निर्माण सेवा गुल्मी र अनिल बस्नेत मुख्य व्यक्ति भएको ममता मञ्जु कन्स्ट्रक्सन प्रालि काठमाडौं डेढ वर्षका लागि कालोसूचीमा परेका छन् । उनीहरुलाई कालोसूचीमा राख्न गुल्मीको धुर्कोट गाउँपालिका कार्यालयले सिफारिस गरेको थियो । यसैगरी सुवोध खतिवडा मुख्य व्यक्ति भएको सनम निर्माण सेवा संखुवासभा, कमल सापकोटा मुख्य व्यक्ति भएको निर्जरा निर्माण सेवा सभापोखरी गाउँपालिका कार्यालयको सिफारिसको आधारमा एक वर्ष कालोसूचीमा परेका छन् । अशोक गैरे नेतृवको इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि काठमाडौं पनि एक वर्षका लागि कालोसूचीमा परेको छ । यसलाई कालोसूचीमा राख्न डोटीको शिखर नगरपालिका ९ स्थित सीताराम माविले सिफारिस गरेको थियो । यसैगरी सशस्त्र प्रहरी बलको ९ नम्बर गण हेडक्वाटर महोत्तरीको सिफारिसमा जी।एस। निर्माण संसार कम्पनी र कमन कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् । जीएस निर्माण संसार कम्पनीका मुख्य व्यक्ति गोपाल प्रसाद दाहाल र कमन कन्स्ट्रक्सनका मुख्य व्यक्ति कमान सिंह लामा हुन् । यसैगरी भिमबहादुर सावद नेतृत्वको राजेन्द्र निर्माण सेवा, रविन कुमार जोशी नेतृत्वको रफिना एण्ड कन्स्ट्रक्सन र सुरेश कुमार सिलवाल नेतृत्वको राम निर्माण कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् । यी कम्पनीलाई कालोसूचीमा राख्न पुरातत्व विभागले सिफारिस गरेको थियो । जिम्मा लिएको काम सन्तोषजनक नभएका कम्पनीहरुलाई सरकारले कालोसूचीमा राख्ने गर्दछ । त्यस्ता कम्पनीहरु कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।