विकासन्युज

चियामा रोइलो होइन रमाइलो गरौँ, चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

काठमाडौं । चियाको चुस्कीमा गफिने नेपालीको बानी नै हो । चिया साथीभाइ, आफन्त, इष्टमित्र भेटघाटको बहाना पनि हो । त्यसैले हिजोआज जताततै विभिन्न ‘ब्रान्ड’मा चियापसल खुलेका छन् र ती पसलमा मानिसहरु झुम्मिएकै देखिन्छन् । नेपालीका लागि चिया संस्कृति नयाँ भने हैन । बयस्कदेखि वृद्ध अवस्थाकाले पनि चियाको चुस्की लिन्छन् । चियाले न भोक मेट्छ न पोषण दिन्छ तर सम्बन्धहरू न्यानो बनाइराख्छ भनेर विश्लेषण गर्नेहरू पनि छन् । त्यसैले चियालाई थकाइ मार्ने, तलतल मेट्ने, तनाव कम गर्ने अर्थात् ‘फ्रेस’ हुने कडीका रूपमा समेत अर्थ्याउने चलन छ । त्यसैले सहरबजारमा बग्रेल्ती चियाका ब्रान्ड खुलेका छन् । चियावाला, चिया चौतारी, चियासंसार, मड्का चिया आदि…। यिनै मध्येको एक हो ‘पोखरेल मट्का चिया’ । राजेश शर्मा (पोखरेल दाइ)ले विगत एक वर्षदेखि परम्परागत चियापसललाई फरक शैलीमा नयाँ ब्रान्डका रुपमा स्थापित गरे । सिंहदरबारको पूर्वीगेट अनामनगरमा रहेको यो पसल त्यहाँ पुग्नेहरूको रोजाइमा पर्न थालेको छ । मड्का मात्रै हैन १९ थरीका चियाको चुस्कीको स्वाद पाइने भएकाले यहाँ ग्राहकको भीड लाग्ने गरेको छ । नेतादेखि कलाकार, वकिल पत्रकार तथा चियाका पारखीहरूका माझ यो पसल चर्चाको विषय बन्ने गरेको छ । काठमाडौं महानगरपालिका-२९ का वडा सचिव शम्भु बरालका अनुसार वडाभित्र १०० हाराहारी चिया पसल खुलेका छन् । तीमध्ये कतिपय ‘चिया पसल’ भनेर दर्ता छन् भने धेरैजसो बेकरी, खाजाघर आदि नामले सञ्चालनमा छन् । पछिल्लो समय चिया व्यवसायमा आकर्षण बढेको र विभिन्न ब्रान्डका चिया पसल खुल्नेक्रम जारी रहेको उनले बताए । पुर्खेउली घर स्याङ्जा भएका पोखरेलले चियाको यो ‘ब्रान्ड’ स्थापित गर्नुपछाडिको सङ्घर्ष लामो छ । १३ वर्षको उमेरदेखि पेसा व्यवसाय गरेका उनले विस २०५७ देखि अनामनगरमा चिया पसल सुरु गरेका थिए । त्यसअघि उनले नवलपराशीमा गण्डकी गेष्ट हाउस, किराना पसल र पान पसल पनि सञ्चालन गरे । त्यसपछि उनी चिया पसलमा जोडिए तर त्यसबाट फाइदा नभएपछि शर्मा रोजगारीका लागि युरोपका विभिन्न देशमा भौँतारिए । ‘युरोपमा साथीभाइको व्यापार-व्यवसायमा जोडिने भनेर विदेश गए, विदेश र नेपालको लगानीको तुलना गरे । विदेशमा जोखिम देखेँ,’ उनले भने । शर्माले डेनमार्क, बेल्जियम, पोर्चुगल, नेदरल्यान्डमा चियाको नयाँ तौरतरिका सिक्ने अवसर पाए र त्यही सीपलाई एक वर्षदेखि नेपालमै चियाको नयाँ ब्रान्डका रूपमा स्थापित गरेको सुनाए । चियाका पारखीको ध्यान खिच्न पोखरेलले चिया पसल र सामाजिक सञ्जालमा विभिन्न नाराहरु पोष्ट गर्छन् । ‘चियामा रोइलो होइन रमाइलो गरौँ । एक कप हजार खुसी, पोखरेल चिया तपाइँको सन्तुष्टि’ यी र यस्ता साङ्केतिक नाराले पनि पोखरेल मटका चिया अनामनगरमा अरूभन्दा भिन्न छ । १९ थरीका चिया पोखरेल मट्का चियामा १९ वटा चियामा १९ प्रकारका मसलाको फरक स्वाद पाउन सकिन्छ । ‘दूधजन्य १९ थरी र पानीजन्य अरू फरक चिया पनि पाइन्छ, लालीगुराँस, लेमनग्रासलगायत मागअनुसारका चिया पनि हामीले दिने गरेका छौँ,’ पोखरेलले भने । फरक फरक मसलाको समिश्रण, त्यसैले उनी एउटा कपको २५ देखि १३० रुपैयाँसम्म लिन्छन् । उनले अनामनगर क्षेत्रका मात्र नभई कालीमाटी, स्वयम्भू, पेप्सीकोला, बालाजु, पुतलीसडकलगायत स्थानबाट ग्राहकहरू आफूकहाँ आउने गरेको बताए । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ठाकुर गैरेलगायत नेताहरूले बेलामौकामा आफ्नो चिया पिउने गरेको उनले सुनाए । शर्माले यसैबाट परिवारको खर्च राम्रोसँग चलेको र पाँच जनालाई रोजगारी दिएको बताए । करिब २० लाख रुपैयाँ लगानीमा सञ्चालन गरिएको पोखरेलको मट्का चियाको ‘चेन’ पनि विस्तार हुँदैछ । छिट्टै कतारमा र काठमाडौँका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए । विगत २५ वर्षदेखि चिया बेच्दै आएका शर्माले अरू शाखामा अरबी, इरानी, गुलाफलगायत १० थरी चियाको स्वाद चखाउने योजना बनाएका छन् । उनले ग्राहकको इच्छाअनुसार चियासँग बेकरी आइटम, मःम, चाउमिन, भुटेको र उसिनेको मकै, कोदोको सुक्खा रोटी, मोही, दही आदि परिकार पनि पस्किन्छन् ।

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरे । राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गरे । ‘विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास लिएको छु,’ शुभकामना सन्देशमा भनिएको छ । राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता भएको बताए । उनले नेपालीहरूको विशेष पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ । होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ ।

चीन जोड्ने कोरला सडकमा ९ मध्ये ४ योजना कार्यान्वयनमा आए, ५ योजना ठेक्का सम्झौताको चरणमा

काठमाडौं । उत्तर र दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि छनोट भएका ९ वटा योजनामध्ये ४ योजना कार्यान्वयनमा आएका छन् । पहिरो नियन्त्रण, ४ वटा पुल र १ कालोपत्र योजनासहित यहाँ ९ योजना रहेका छन् । आयोजनाका सूचना अधिकारी इञ्जिनियर बिष्णु चापागाईंले ती योजनामध्ये ४ वटा ठेक्का सम्झौता भई कार्यान्वयनमा आइसकेको र ५ योजना ठेक्का सम्झौताको चरणमा रहेको बताए । मुस्ताङको थासाङ-४ स्थित कैकु खोला, थासाङ-२ को लार्जुङ खोला, जोमसोम-मुक्तिनाथ खण्डको पान्डा खोलामा पुल र म्याग्दीको राहुघाट खोलामा बेलिब्रिजका लागि ठेक्का सम्झौता भएको हो । आयोजनाका अनुसार मुस्ताङको थासाङ-४ स्थित २० मिटर लम्बाइको कैकु खोला पुलको बाँकी निर्माण सम्पन्न गर्न ५ करोड ३९ लाख रुपैयाँमा बिके केसी, जिसी जेभी निर्माण कम्पनीसँग १३ फागुनमा ठेक्का सम्झौता भएको हो । थासाङ-४ लार्जुङ खोलामा निर्माणाधीन २० मिटर लामो पुलको अधुरो निर्माणसम्पन्न गर्न २ करोड २२ लाख रुपैयाँमा एसके धौलागिरी निर्माण सेवासँग ११ फागुनमा ठेक्का सम्झौता भएको थियो । यस्तै, पान्डा खोला पुलमा खोलाको धार एकीकृत गराउन नयाँ ठेक्का सम्झौता भएको हो । पान्डा खोला पुलमा पानीको सर्कुलर जोड्ने गरी खोला च्यानलाइजिङ गर्न ११ फागुनमा ५८ लाख ५७ हजार रुपैयाँमा सोली थुम्का निर्माण सेवासँग ठेक्का सम्झौता भएको सूचना अधिकारी चापागाईंले बताए । राहुघाटमा अवस्थित बेलिब्रिज व्यवस्थापन तथा मर्मतका लागि बिआरटी साया जेभीसँग ३ करोड ३९ लाख रुपैयाँमा १३ फागुनमा ठेक्का सम्झौता भएको उनले जानकारी दिए ।

नेपालका १२५ भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’

काठमाडौं । नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठाले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबीचको सहमतिअनुसार फन्ट निर्माण गरिएको हो । कलाकार रमेश पौडेलले कार्यदलको प्रतिवेदनका आधारमा ‘दुबो’ नामक ‘फन्ट’को ‘डिजाइन’ गरेर मङ्गलबार सो फन्ट प्रतिष्ठानलाई हस्तान्तरण गरिएको बताए । आवरण प्रकाशनका प्रबन्ध निर्देशक पौडेलले २२४ ‘क्यारेक्टर’ रहेको ‘दुबो’ फन्ट देवनागरी र ‘युनिकोड’भन्दा फरक ‘लेआउट’ मा भए पनि प्रयोगमा सजिलो रहेको बताए । मङ्गलबार प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा प्रस्तावित फन्टका विषयमा भाषविद्सहित छलफल र प्रस्तुतीकरणसमेत गरिएको थियो । त्यस अवसरमा भाषाविद् प्रा डा माधव पोखरेलले प्रस्तावित फन्टले लिपि नभएका तर नेपालमा बोलिने धेरै भाषाहरूको लेखनपद्धतिमा देखिएको समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । प्रतिष्ठानका कुलपति भूपाल राईले विज्ञ कार्यदलको सहयोयमा नयाँ फन्ट सिर्जना गरिएको र यो प्रयास निकै उपयोगी हुने बताए । भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले प्रस्तावित फन्टले नेपालमा बोलिने सबै भाषाको लेखनमा एकरूपता आउने बताए । कार्यदलका संयोजक डा अमृत योञ्जन तामाङले प्रस्तावित फन्टले नेपालका भाषाहरूको लेखनमा सहजता आउने बताए । कार्यदलका सदस्य प्रा भीमनारायण रेग्मीले प्रस्तावित फन्टका विशेषतासहितको प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा प्रतिष्ठाका सदस्यसचिव डा धनप्रसाद सुवेदी, प्रा राम लोहनी, डा कृष्णप्रसाद चालिसे, डा कर्णाखर खतिवडा, दिलेन्द्र सुब्बा, डा सूर्यप्रसाद यादव र राजनलाल जोशीले प्रस्तावित फन्टका विषयमा जिज्ञासासहित टिप्पणी गरेको फन्ट निर्माता कलाकार पौडेलले जानकारी दिए । प्रतिष्ठानले गठन गरेको अध्ययन कार्यदलको संयोजकमा डा तामाङ, सहसंयोजकमा डा विष्णुकुमार सिंजाली र सदस्यहरूमा प्रा भीमनारायण रेग्मी, डा तारामणि राई, अम्बरजङ लिम्बू, प्राज्ञ त्रैलोक्यमान बनेपाली र हंसवती कुर्मी रहेका थिए ।

कोशी, गण्डकी र कर्णालीमा चट्याङसहित हल्का वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसा देशका पहाडी भू-भागमा साधारणतया बदली हुने तथा बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहनेछ । साथै उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने छ भने बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको जनाउँदै महाशाखाले यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनोनित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनोनित भएका छन् । उनलाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मनोनित गरेका हुन् । निरक केसीको १८ महिने कार्यकाल सकिएपछि उनको स्थानमा आचार्य मनोनित भएका हुन् । आचार्यले महासंघको उद्योग समिति सभापतिको रुपमा काम गरिसकेका छन् । साथै उनले रोजगारदाता परिषदको सहसभापति तथा स्थायी समिति सदस्यसमेत भइसकेका छन् । आचार्यले अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्ने छन् ।

जर्मनीमा नवीकरणीय ऊर्जाबाट ६० प्रतिशत बिजुली उत्पादन हुने

काठमाडाैं । जर्मनीको बिजुली उत्पादनको ५९.४ प्रतिशत हिस्सा वायु ऊर्जा, सौर्य ऊर्जा, बायोग्यास र जलविद्युत जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूले ओगटेको सङ्घीय तथ्याङ्क कार्यालय (डेस्टाटिस) ले बुधबार जनाएको छ । डेस्टाटिसको अनुसार, नवीकरणीय विद्युत उत्पादन २५६.४ बिलियन किलोवाट-घन्टा (पध्ज) को सबै समयको उच्चमा पुगेको छ, जुन वार्षिक रूपमा २.३ प्रतिशतले बढेको प्रतिनिधित्व गर्दछ । उत्पादनमा अलिकति गिरावट आए पनि वायु उर्जा जर्मनीको सबैभन्दा ठूलो बिजुलीको स्रोत बनेको छ । वायु उर्जाबाट उत्पादन सन् २०२३ मा १.४ प्रतिशतले घट्ने अपेक्षा गरिएको थियो । तर, कुल विद्युत उत्पादनमा यसको अंश सन् २०२३ मा ३०.८ प्रतिशतबाट बढेर सन् २०२४ मा ३१.५ प्रतिशत पुगेको छ । फोटोभोल्टिकबाट विद्युत उत्पादन १०.४ प्रतिशतले ५९.५ बिलियन पध्ज सम्म बढेर सौर्य ऊर्जाको उल्लेखनीय वृद्धि देख्यो । यसले जर्मनीको कुल बिजुली आपूर्तिमा सौर्य ऊर्जाको हिस्सा १३.८ प्रतिशतमा पुर्यायो, जुन सन् २०१८ मा डाटा सङ्कलन सुरु भएदेखिकै उच्च स्तर हो । सन् २०२४ मा जम्मा ४३१.५ अर्ब किलोवाट प्रतिघण्टा बिजुली उत्पादन गरी जर्मन ग्रिडमा जोडिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३.६ प्रतिशतले कमी हो । डेस्टाटिसले यो गिरावटको कारण औद्योगिक बिजुलीको मागमा आएको कमी, कम उत्पादन र विदेशबाट बिजुली आयातमा भएको वृद्धिलाई बताएको छ । रासस

मुख्य व्यापारिक साझेदारमाथि आक्रामक बने ट्रम्प, स्टील र एल्युमिनियम आयातमा २५ प्रतिशत कर

काठमाडौं । संयुक्त राज्य अमेरिकाले ह्वाइट हाउसले प्रतिबद्धता गरेअनुसार स्टिल र एल्युमिनियमको आयातमा लगाइएको व्यापक करलाई ‘कुनै अपवाद वा छुट बिना’ लागू गर्दै बुधबार आफ्नो करको दायरालाई व्यापक बनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै धातुमा लगाएको २५ प्रतिशत करले घरेलु उपकरण, सवारी साधन र पेय पदार्थमा प्रयोग हुने क्यानसम्मका विभिन्न वस्तुको उत्पादन लागतमा वृद्धि हुने सम्भावना छ । करवृद्धिसँगै मूल्यमा प्रभाव पारेमा यो अचम्मको बिषय हुने छैन,’ उनले भनेका छन् । उनले अमेरिका कार निर्माता र आवासीय र व्यावसायिक दुवै भवन निर्माण गर्ने देशमा इस्पातको विश्वका सबैभन्दा ठूला प्रयोगकर्तामध्ये एक भएको बताएका छन् । युरोपेली आयोगले संयुक्त राज्य अमेरिकाबाट ‘अनुचित व्यापार प्रतिबन्ध’ को प्रतिक्रियामा अप्रिल १ देखि ‘प्रतिकारको शृङ्खला’ लागू गर्ने बताएको अन्तर्राष्ट्रिय माध्यममा उल्लेख छ । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले एक विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘अमेरिकाले २८ अर्ब अमेरिकी डलर बराबरको कर लगाइरहेकोले हामी त्यसको प्रतिकारका लागि त्यति नै रकम बराबरको करवृद्धिका साथ जवाफ दिइरहेका छौँ ।’ ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार क्यानडा, मेक्सिको र चीनमाथि भारी कर लगाएका छन् । अप्रिल २ देखि नयाँ कर लगाउने वाचा गर्दै आफ्नो छिमेकी मुलुक (मेक्सिको र क्यानडा) का लागि आंशिक रुपमा मात्र कर फिर्ता लिने घोषणा गरेका छन् । ईवाईका प्रमुख अर्थशास्त्री ग्रेगरी डाकोको हालैको प्रषेपण अनुसार पछिल्लो शुल्कले क्यानडालाई निकै ठूलो असर पार्नेछ, क्यानडाले अमेरिकी एल्युमिनियम आयातको लगभग आधा र यसको इस्पात आयातको २० प्रतिशत आपूर्ति गर्नेछ । क्यानाडाबाहेक, ब्राजिल र मेक्सिको पनि स्टीलको प्रमुख अमेरिकी आपूर्तिकर्ताहरू हुन् । त्यसैगरी, संयुक्त अरब इमिरेट्स (युएई) र दक्षिण कोरिया एल्युमिनियमको प्रमुख प्रदायकहरू मध्ये एक हुन्। बुधबारको कर पहिलेको भन्दा माथि छ । यसको मतलब केही क्यानाडा र मेक्सिको स्टील र एल्युमिनियम उत्पादनहरूले यूएस–मेक्सिको–क्यानाडा सम्झौता (यूएसएमसीए) को अनुपालन नगरेसम्म ५० प्रतिशत कर दरको सामना गर्न सक्दछन् । ट्रम्पको व्यापार योजनामा अनिश्चितता र यसले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने चिन्ताले वित्तीय बजारलाई तहसनहस पारेको छ, ‘वाल स्ट्रिट इन्डेक्स’ मङ्गलबार लगातार दोस्रो दिन ओरालो लागेको छ । तर ट्रम्पले वाल स्ट्रिटमा मङ्गलबार भएको नोक्सानीलाई नकार्दै अर्थतन्त्रलाई सम्हाल्ने विषयमा आफूले कुनै मन्दी नदेखेको बताएका छन् । ‘बम्पी’ सङ्क्रमण ट्रम्पका व्यापार निर्णयहरू अस्थिरताका साथ आएका छन्, राष्ट्रपतिले क्यानाडाको इस्पात र एल्युमिनियममा कर दरलाई दोब्बर गरेर ५० प्रतिशतमा झार्ने चेतावनी दिएका छन् । क्यानडाको ओन्टारियो प्रान्तले यसअघि अमेरिकी करको बदलामा तीन वटा अमेरिकी राज्यमा विद्युत महशुल लगाउने निर्णय गरेको थियो । वासिङ्टन र ओटावाले व्यापार तनाव बढेसँगै दिनभर व्यापक करका चेतावनी आदानप्रदान गरे र ट्रम्पले आफ्नो देशको उत्तरी छिमेकीलाई गाभ्ने उत्तेजक योजनाहरूबारे भनाइहरूलाई दोब्बर गरे । तर, वासिङ्टनसँगको वार्तापछि ओन्टारियोले करवृद्धिलाई रोकेको थियो । ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले ट्रम्पले अमेरिकी जनतालाई जिताउनका लागि ‘अमेरिकी अर्थतन्त्रको लाभ’ प्रयोग गरेको बताएका छन् । ओन्टारियोका सरकार प्रमुख डग फोर्ड, अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिक र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरबीच बिहीबार वासिङ्टनमा भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसका वरिष्ठ सल्लाहाकार पिटर नाभारोले ट्रम्पले कर वृद्धिबारे गरेको प्रश्नको जवाफमा यो प्रक्रिया ‘वार्ता’ भएको बताए । ‘यो सङ्क्रमण हो’ उनले भने, ‘यो कहिलेकाहीं हुन्छ । शायद यो एक सानो राजनीतिक उथलपुथल हो ।’ व्यापक अनिश्चितता पछिल्लो कर लागू हुनुअघि नै, निर्माताहरूले लागत प्रभावी घरेलु आपूर्तिकर्ताहरू फेला पार्न सङ्घर्ष गरिरहेका छन् । काटो इन्स्टिच्युटको प्याकार्डका अनुसार संरक्षणवादको धम्कीले अमेरिकी स्टिल र एल्युमिनियम कम्पनीहरूलाई आफ्नो मूल्य बढाउन अनुमति दिएको छ। ‘यसले ठूलो मात्रामा अनिश्चितता सिर्जना गरिरहेको छ,’ उनले भनेका छन् । अमेरिकी स्टिल प्रयोग गर्ने केही अमेरिकी उत्पादकहरूले करवृद्धिलाई सकारात्मक विकास मान्छन् किनकि यसले उनीहरूको व्यवसायलाई बढावा दिएको छ। अन्यले भने करले आयातको लागत बढाउने र अमेरिकी निर्मित सामानहरू पनि त्यत्तिकै महँगो हुने चेतावनी दिएका छन् । ईवाईका डाकोले पनि नयाँ स्टिल र एल्युमिनियमको कर ट्रम्पले सन् २०१८ मा लागू गरेको कदमभन्दा बढी भएको उल्लेख गरेका छन् । यस पटक एल्युमिनियम आयातमा पनि उच्च दर छ र विद्यमान प्रतिबन्धहरूमा तहगत शुल्कको साथ यसले ‘धेरै उद्योगहरूमा विदेशी स्रोतहरूलाई अधिक महँगो बनाउने सम्भावना छ । अस्ट्रेलिया र जापानजस्ता अमेरिकी साझेदारहरूले हालैका दिनमा बहिष्करणका लागि दबाब दिन वासिङ्टनको भ्रमण गरे तापनि बुधबार लागू करमा उनीहरूलाई पनि छुट मिलेको छैन । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कर ‘पूर्णतया अनुचित’ भएको तर आफ्नो देशले त्यसको प्रतिकार नगर्ने बताएका छन् । ट्रम्पले आफ्नो पहिलो प्रशासनमा जस्तै अन्ततः केही देशलाई राहत दिने र अन्य देशसँगको सम्झौता कटौती गर्ने वा नगर्ने भन्ने स्पष्ट छैन । ट्रम्पले वासिङ्टनले अनुचित ठानेको व्यापार अभ्यासलाई सुधार गर्न अप्रिल २ सम्ममा छुट्टै पारस्परिक कर लगाउने वाचा गरेका छन्, जसले थप उत्पादन र व्यापारिक साझेदारहरूलाई विशेष रूपमा लक्षित गर्ने सम्भावना बढाएको छ । एजेन्सीकाे सहयाेगमा ।