विकासन्युज

त्रिवि क्रिकेट रङ्गशालाको दिनरात धमाधम काम हुँदै, ५० हजार दर्शक अटाउन सक्ने

काठमाडौं । सरकारको लक्ष्यअनुरुप आगामी वैशाख २४ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १० हजार दर्शक अट्ने प्यारापिट बनाइनसक्न र फ्लड लाइट स्थापना गर्ने कामको गतिलाई तीनवटै सत्रमा तीव्रता दिन थालिएको छ । कामको प्रगति अनुगमन गर्न आज राति ९ बजे प्रधानमन्त्रीको सचिवालयका अधिकृत टोली जनसम्पर्क सल्लाहकार किरण पौडेल, प्रधानमन्त्रीको निजी सचिव विनोद कुँवरसहितको टोली साइटमा पुगेको थियो । टोलीलाई यसबारे जानकारी दिँदै भवन निर्माण मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठले अहिले मैदानको चोभार इन्डतर्फ दायाँ र बायाँतर्फ अन्तरराष्ट्रियस्तरका दुईतले प्यारापिट बनाइने बताए । यसका लागि हामी अहिले जग खन्ने काम भइरहेको जनाएको छ । यसैगरी, रङ्गशालाका छ स्थानमा फ्लडलाइट जडान गर्ने काम भइरहेको उनले बताए । यसका लागि अहिले जमिनको सतहमुनि रहने पाइल बनाउने काम भइरहेको जानकारी पनि उनले दिए । कामलाई निर्धारित समयभित्र सम्पन्न गर्न तीनवटै प्रहरमा काम भइरहेका छन् । दिनमा १ सय र राति करिब ६० जना जनशक्ति खटिइरहेका छन् । अहिले करिब १० हजार दर्शक अट्नेगरी ३५ प्रतिशत जमिनमा काम भइरहेको पनि उनको भनाइ छ । सबैतर्फ काम सम्पन्न भएपछि भने ५० हजार जना दर्शक अटाउन सक्ने उनले बताए । निरीक्षणपश्चात विकास निर्माणलाई तीव्रता दिने कुरामा प्रधानमन्त्रीको समेत चासो रहेकाले काममा तीव्रता दिन टोलीले निर्देशन दिएको थियो ।

शारिरिक दुर्बलतालाई जितेर लाखौं कमाउने अनिल, सम्पादकदेखि निर्देशकसम्म

‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल, सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल’ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको यो कविताको पंक्ती जस्तै मानिसमा दृढ ईच्छाशक्ति र लगनशिलता भयो भने कुनै पनि कार्य असम्भव हुँदैन । जीवनमा सबल भएर पनि केहि गर्न सकिँन भन्नेहरुका लागि एक उदाहरणीय र प्रेरणाका पात्र हुन्, अनिल कुमार महर्जन । उनको सिर्जनशीलताको अगाडि शारिरिक दुर्बलताले पनि हार खाएको छ । शारिरिक रुपमा अशक्त भएपनि उनले चलचित्र, लघुचलचित्र, वृत्तचित्र, म्युजिक भिडियोहरु सम्पादन गरेर महिनाको लाखौं आम्दानी गर्ने गर्दछन् । कुनै ईन्स्टिच्युटमा नगई घरमा आफै सम्पादन कला सिकेर हजारौं भिडियोहरु सम्पादन गरिसकेका अनिलले एक दर्जन बढि म्युजिक भिडियोहरु तथा लघुचलचित्रहरुसमेत निर्देशन गरिसकेका छन् । अनिलको बाल्यकाल, विवाह र शिक्षा ललितपुरको कुपन्डोलमा सुनिल महर्जन र शान्ति महर्जनको कोखबाट जन्मिएका ४७ वर्षीय अनिल कुमार महर्जन घरका जेठा सन्तान हुन् । वंशाणुगत शारीरिक समस्या मार्बल बोन डिजिज अर्थात् हड्डीभित्रको मासी नबढ्ने समस्याका कारण अनिल सानैदेखि हिँड्न सक्दैन थिए । आमामा देखिएको यो समस्या तीनजना दाजुभाइमध्ये अनिलसँगै माईला भाई अजय महर्जन पनि मार्बल बोन डिजिज सर्भाइभर हुन् । घिस्रिँदै हिँड्नुपर्ने भएका कारण अनिल विद्यालय पढ्नको लागि जान सक्दैन थिए । उनी घरमै स्वअध्ययन गरेर परिक्षा दिने गर्थे । बहिनीहरुलाई सिकाउन आएको शिक्षकले नै उनलाई पनि घरमा नै सिकाउने गर्दथे । अनिललाई बुबा आमाले बोकेर कहिलेकाहिँ स्कुल लगिदिने गर्थे । ५१ सालमा एसएलसी पास गरेका अनिलले निम्स कलेजबाट व्यवस्थापनमा १२ कक्षा सम्मको अध्ययन पुरा गरेका छन् । उनी बैसाखीको सहाराले कलेज जाने गर्दथे । उनको इन्जिनियरिङ पढ्ने ईच्छा थियो तर आर्थिक र शारिरिक समस्याकै कारण पढ्न नसकिएको उनी बताउँछन् । २७ वर्षको उमेरमा दोलखाकी मन्जु कार्कीसँग वैवाहिक बन्धनमा बाँधिएका अनिलका १ छोरा र १ छोरी गरि २ सन्तान छन् । जुनसुकै स्थानमा जाँदा पनि श्रीमती र छोराछोरीले साथ दिने गरेका छन् । बुबाको महानता, श्रीमतीको त्याग, आमा र छोराछोरीको प्रेमले जीवन रसमय बनेको अनिल बताउँछन् । वंशाणुगत शारीरिक समस्या मार्बल बोन डिजिजमार्बल बोन डिजिज एक दुर्लभ आनुवंशिक समस्या हो, जसलाई ओस्टियोपेट्रोसिस पनि भनिन्छ । जसले हड्डीको विकासलाई प्रभावित गर्दछ । हड्डीको पुनर्निर्माणमा बाधा पुर्‍याउँछ । परिणामस्वरूप हड्डी असामान्य रूपमा कठोर, तर अत्यन्त भंगुर बनाउँछ । यस्तो अवस्थामा हड्डीहरू असामान्य रूपमा बाक्लो हुन्छन् र जतिबेला पनि भाँचिने सम्भावना अत्यधिक हुन्छ । हड्डीहरू कमजोर हुने भएका कारण ठोक्किन र लड्नबाट बच्नुपर्ने हुन्छ । मार्बल हड्डी रोगको लागि जिम्मेवार आनुवंशिक उत्परिवर्तन दोषपूर्ण जीन बोक्ने आमाबाबुबाट वंशाणुगत हुन सक्छ । यी उत्परिवर्तनहरूले ओस्टियोक्लास्ट भनिने कोशिकाहरूको कार्यलाई असर गर्छ, जुन नयाँ हड्डीको विकासको लागि बाटो बनाउन पुरानो हड्डीको तन्तुलाई तोड्न जिम्मेवार हुन्छ ।  मार्बल बोन डिजिज सर्भाइभर अनिलको जीवनमा पनि उपचारको लागि बुबाले धेरै अस्पतालहरुदेखि भारतसम्म बोकेर लगेका थिए । धेरै हड्डीको डाक्टरसँग सल्लाह लिँदा यो समस्या निको हुने उपचार नभएको बरु लड्न, ठोक्किनबाट बच्नुपर्ने सुनाएका थिए । त्यसपछि अस्पतालहरु धाउन छोडेको अनिल बताउँछन् । बाहिर जाँदा भर्याङ चढ्न उक्लन समस्या भएका कारण अनिल हत्तपत्त बाहिर निस्कँदैनन् । हिँडडुल गर्न केही समस्या भए पनि सम्पादनमा कुनै समस्या नभएकाले आफूलाई अन्य सामान्य मानिसझैँ महसुस हुने उनले बताए । उनी आफुलाई मिष्टर ग्लासका रुपमा चिनाउँछन् । मिष्टर ग्लासको संघर्ष र सपनासानोमा घिस्रिएर हिँड्ने अनिल ६० सालपछि बैसाखीको सहारामा हिँड्न थाले । उनले जीवनमा केहि गर्नुपर्छ भनेर आफै मोबाईल पसल खोलेर रिपेयरिङको काम गर्न थाले । २० वर्ष जति मोबाईल पसलमै बिताए । आफुभित्र भएको ईच्छा र सिर्जनालाई रोक्न सकेनन् । उनी विस्तारै डिजाईन र सम्पादन आफै सिक्न थाले । उनले जेनेक्स मिडिया नामको कम्पनी खोलेर बिस्तारै भिडियोहरु सम्पादन गर्न थाले । उनी निरन्तर ११ वर्षदेखि डिजाईनर तथा भिडियो सम्पादकको रुपमा काम गरिरहेका छन् । कम्युटरको किबोर्ड माउस र मोनिटरसँग अभ्यस्त अनिल बिहान ८ बजेदेखि बेलुका १० बजेसम्म सम्पादनकै कार्यमा व्यस्त देखिन्छन् । उनले भिडियोहरु सम्पादन गरेरै महिनाको लाख भन्दा बढी कमाई गर्ने गर्दछन् । कहिलेकाहिँ महिनामा दुई तीन लाख सम्म हुने गरेको उनी बताउँछन् ।सानैदेखि केही गरौँ र नाम राखौँ भन्ने सोच बोकेका अनिल आफ्ना बाबु आमालाई प्रेरणाको स्रोत मान्छन् । उनी यतिबेला आफैले निर्देशन गरेको म्युजिक भिडियोको सम्पादनमा व्यस्त छन् । अनिल आफैले लेखेको नयाँ लघुचलचित्र निर्माण गर्ने योजनामा पनि रहेका छन् । उनको एउटा सपना छ, चलचित्र निर्देशन गर्ने । यसको लागि ५ वर्षदेखि स्क्रिप्टमा काम गरिरहेका छन् । कुनै निर्माता भेटियो भने चलचित्र निर्माणको कार्य पनि चाँडै सुरु हुने उनी बताउँछन् । सम्पादकदेखि निर्देशकसम्म यात्रानयाँनयाँ म्युजिक भिडियो, वृत्तचित्र, र चलचित्रको सम्पादन गर्ने सिर्जनशील कर्ममा अनिलले झन्डै डेढ दशक बिताइसकेका छन् । कम्युटरको ज्ञान भएका उनले सम्पादन कला आफैँ सिकेका हुन् । उनले ६ सय भन्दा बढि नेपाली भाषाका म्युजिक भिडियोहरु, सयभन्दा बढि लघुचलचित्रहरु, ६० भन्दा बढि वृत्तचित्रहरु सम्पादन गरिसकेका छन् ।१ दर्जन ठूलो पर्दाका चलचित्रहरु सम्पादन गरेका अनिलले मट्टिमाला, झमक बहादुर, तिम्रो मन बदलिएछ, कसैलाई नभन्नु, ब्ल्याक ब्युटी, द्रौपदी, सेमिफुङ, फुर्वा, थिम लगायत विदेशी चलचित्रहरु पनि सम्पादन गरेका छन् । जापानिज सर्टफिल्म पुष्प (द हर्बल ब्वोई) लगायत विभिन्न जातजाति तथा धर्मसँग सम्बन्धित धरै भिडियोहरु सम्पादन गरिसकेका छन् ।अनिलले सम्पादन मात्र नभई डिजाईन, कलर तथा निर्देशन समेत गर्ने गर्दछन् । एक दर्जन बढि म्युजिक भिडियोहरु तथा लघुचलचित्रहरु निर्देशन गरेका छन् । उनले आफै निर्देशन गरेको लघुचलचित्र गौरव, कम्युटर र बैसाखीे धेरै महोत्सवहरुमा छनोट भएर प्रदर्शनसमेत भईसकेको छ । उनले सगरमाथा म्युजिक अवार्ड, स्टार म्युजिक अवार्डलगायत विभिन्न अवार्डमा सर्वोत्कृष्ट सम्पादकको अवार्डसमेत पाएका छन् ।

नेपाल आयल निगमले सेयरधनीलाई १ अर्ब १० करोड रूपैयाँ लाभांश बाँड्ने

काठमाडौं । नेपाल आयल निगमले लाभांश वितरण गर्ने भएको छ । आयल निगमको चैत ४ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको हो । निगमको तथ्याङ्क अनुसार चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको छ । सो आधारमा निगमले सेयरधनीहरूलाई १ अर्ब १० करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको हो । लाभांश प्रस्ताव पारित गर्न निगमले चैत २९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्ष सिंहदरबारमा अपरान्ह १ बजे ४३औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । निगमको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा तथा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण, लेखापरीक्षकको नियुक्ति, पारिश्रमिक एवं खर्च अनुमोदन गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एक/एक जना प्रतिनिधि तोक्नेछ । यसअघि निगमले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

रूग्ण र बन्द उद्योगलाई निजीकरणको बाटो खुल्यो, व्यवसाय गर्न जग्गाको ५०% धितो राख्न पाउने

काठमाडौं । आर्थिक विकास तथा लगानी विस्तारसँग जोडिएका विधेयकहरू प्रतिनिधिसभामा धमाधम पारित भएका छन् । यसबाट लगानीको थप वातावरण सृजना हुने, लगानीकर्तामा थप विश्वास विस्तार भई मुलुकलाई समृद्ध बनाउन बल पुग्ने सरकारको बुझाइ छ । बिहीबार मात्र प्रतिनिधिसभाले ‘निजीकरण (पहिलो संशोधन विधेयक), २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ पारित गरेको छ । यी तीनवटै विधेयकले मुलुकको अर्थतन्त्रलाई थप लयमा लैजान मद्दत गर्ने सरकारको बुझाइ छ । सरकारले ‘निजीकरण ऐन, २०५०’ लाई समयानुकूल बनाइएको छ । सो ऐनको पहिलो संशोधन गर्दै सरकारले विधेयक प्रस्तुत गरेको हो । यसमा सरकारी लगानी व्यवस्थापन तथा प्राथमिकता निर्धारण गर्ने विषयलाई महत्त्वका साथ समावेश गरिएको छ । सरकारले यसअघि सङ्घीय संसद्को बैठक नबसेको समयमा सो विधेयकलाई अध्यादेशमार्फत कार्यान्वयनमा ल्याएको थियो । घाटामा रहेको, रूग्ण अवस्थामा भएका वा अन्य कुनै पनि कारणले समस्यामा परेको उद्योग प्रतिष्ठानलाई थप सबल बनाउने उद्देश्य राखेर सो विधेयक प्रस्तुत गरिएको अर्थ मन्त्रालयको भनाइ छ । प्रतिनिधिसभाले पारित गरेसँगै अब सो विधेयक राष्ट्रियसभामा जानेछ । प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित राष्ट्रियसभाको शुक्रबारको बैठकमा टेबुल गर्ने कार्यसूची तय गरिएको छ । विधेयकले आवश्यक प्रक्रिया पूरा भएपछि ऐनका रूपमा कार्यान्वयन हुनेछ । विधेयकमाथिको दफावार छलफलमा सहभागी संशोधनकर्ताहरूको प्रश्नको जवाफ दिँदै उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजीकरणलाई निर्विकल्प बनाउन नहुने बताए । कमजोर क्षमतामा चलेका, रूग्ण र बन्द रहेका सार्वजनिक प्रतिष्ठानहरूलाई प्रभावकारी ढङ्गमा सञ्चालन गर्नका लागि निजीकरणलाई एकमात्र विकल्पका रूपमा लिनु हुँदैन भन्ने संशोधनको मूल मर्म रहेको उनको भनाइ छ । प्रतिपक्षी दलका सांसदहरूले देशको अर्थतन्त्रलाई प्रस्तुत विधेयकले सम्बोधन गर्न, विकास एवं सुशासन तथा सामाजिक न्याय सुनिश्चित गर्न नसक्ने टिप्पणी गरे । यसैगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाले बहुमतले पारित गरेको छ । सो विधेयकले बजेट निर्माण प्रक्रियालाई सहज बनाउने सरकारको बुझाइ छ । विधेयकले नेपालको संविधानको मर्म र सङ्घीयताको मर्मअनुरूप नै बजेट निर्माण गर्ने विषयलाई सूत्रबद्ध गरेको छ । राष्ट्रिय आवश्यकता र राष्ट्रिय प्राथमिकतायुक्त आयोजनाको छनोट गरी लगानीको स्रोत सुनिश्चितताका लागि विधेयकले मार्गप्रशस्त गरेको अर्थमन्त्री पौडेलले विश्वास व्यक्त गरे । प्रदेश र स्थानीय तहलाई के-कसरी बजेट परिचालन गर्ने, त्यसको आधार के-कस्ता रहने भन्ने विषय विधेयकमा समेटिएको छ । त्यस्तै प्रतिनिधिसभाले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ पनि पारित गरेको छ । सो विधेयकले पनि आर्थिक तथा व्यावसायिक वातावरण निर्माण गरी लगानी अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । विभिन्न ऐनलाई सरकारले समयानुकूल र लगानीमैत्री बनाउने उद्देश्य राखेर सो विधेयक प्रस्तुत गरेको हो । सो विधेयकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९, राजस्व न्यायाधीकरण ऐन, २०१३, कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ का केही प्रावधान संशोधन गरेको छ । यसैगरी, मध्यस्थता ऐन, २०५५, कम्पनी ऐन, २०६३, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३, विशेष आर्थिक क्षेत्र ऐन, २०७३, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, औद्योगिक व्यवसाय ऐन, २०७६ पनि सो विधेयकमार्फत संशोधन गरिएको छ । विधेयकमाथिको दफावार छलफलमा सहभागी संशोधनकर्ताको प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले आर्थिक तथा व्यावसायिक वातावरण निर्माण गरी लगानी अभिवृद्धि गर्न विधेयक ल्याइएको बताए । ‘राम्रो नियत र असल उद्देश्यले देशको आर्थिक समस्याको समाधान गर्दै आर्थिक र व्यावसायिक वातावरण सुधार गर्न तथा स्वदेशी र लगानी प्रवर्द्धनका लागि विधेयक ल्याइएको छ । यसको अहिले सकारात्मक प्रभाव देखिन थालेको छ,’ उनले भने । विधेयकमार्फत उपभोक्ताको हकहित सुनिश्चित गर्न उपभोक्ता अदालतको व्यवस्था गरिएको, कालोबजारी व्यवस्था ऐनलाई आवश्यक परिमार्जन गरी उपभोक्ता हितका लागि कानुन बनाइएको उनको भनाइ छ । विधेयकमा राजस्व चुहावट नियन्त्रण, हदभन्दा बढी जग्गाको व्यावसायिक प्रवर्द्धनका लागि उक्त जग्गाको ५० प्रतिशतसम्म धितो राख्न पाउने व्यवस्था गरिएको छ । सो धितोबापतको ऋण चुक्ता गर्ने दायित्वबाट उम्किन नसक्ने प्रावधान विधेयकमा छ ।

ललितपुरका यी स्थानमा आज बिजुली काटिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार, भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुन्डोल, पुरानो मन्त्री क्वाटर, सम्झिखेल, अरूण थापा चोक क्षेत्रमा आज दिउँसो १२ देखि २ बजेसम्म लाइन काटिने छ । पाटनको १३२ केभी सबस्टेशनको प्राविधिक कामका लागि लाइन काटिन लागेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरेको छ । ती स्थानमा बिजुली काटिँदा ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले माफी मागेको छ । निर्धारित कार्य तोकिएको समयअगावै सम्पन्न गरी नियमित बिजुली उपलब्ध गराइने प्राधिकरणले सूचनामार्फत जनाएको छ ।

आजको मौसम: कोशी, लुम्बिनी, मधेसमा साधारणतया बदली हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशलगायत मुुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, मधेस प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ । त्यसैगरी आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा पनि आंशिक बदली हुनेछ । कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । आगामी २४ घण्टामा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ ।

संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न नेपाली सेना प्रतिबद्ध छ, विश्वास कहिल्यै पनि टुट्न दिदैँनौं : प्रधानसेनापति सिग्देल

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना सदैव देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकताको रक्षार्थ जस्तोसुकै परिस्थितिमा पनि संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । कैलालीस्थित सुदूरपश्चिम पृतना मुख्यालय आज आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उहाँले राष्ट्रिय हित संरक्षण गर्न नेपाली सेना गम्भीर रहेको स्पष्ट पारे । सेनाले राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन पुर्‍याइरहेको योगदानले आमनेपालीलाई गर्वको अनुभूति गराएको उल्लेख गर्दै प्रधानसेनापति सिग्देलले राष्ट्रको सर्वाङ्गीण विकासमा गरेको योगदानका कारण नेपाली जनतामाझ सेना र भरपर्दो सङ्गठनका रुपमा स्थापित भएको बताए । ‘यो विश्वास कहिल्यै पनि टुट्न दिनु हुँदैन,’ उनले भने । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा नेपाली सेनाले गरेको योगदानको राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा मुक्तकण्ठले प्रशंसा भइरहेको जनाउँदै प्रधानसेनापति सिग्देलले यसबाट विगतदेखि नेपाली सेनाको निःस्वार्थ सेवाभाव, जिम्मेवारी र कर्तव्य पालनाप्रतिको संवेदनशीलतालाई प्रतिविम्बित गरेको बताए । ‘भूपू सम्मेलन सैनिक पुनर्मिलनको महत्वपूर्ण अवसर हुनाका साथै एकापसमा अनुभव साट्ने तथा बहालवाला र अवकाश प्राप्त सैनिकबीच हार्दिकता र सामूहिक भावना थप फराकिलो बनाउने अवसर पनि हो,’ उनले भने । नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले बहालवाला तथा अवकाश प्राप्त सैनिकका परिवारजनलाई आयआर्जनका लागि विभिन्न कल्याणकारी कार्य अघि बढाइएको जानकारी दिए । सुदूरपश्चिम पृतनापति प्रकाश देउजाले सकलदर्जामा एकताको भावना अभिवृद्धि गराउन सम्मेलनले सघाउने विश्वास व्यक्त गरे । उनले कल्याणकारी कार्यक्रमअन्तर्गत उपलब्ध गराइएका विभिन्न सुविधा प्रयोग गरी बढीभन्दा बढी लाभ लिन सकलदर्जालाई अनुरोध गरे । समारोहमा प्रधानसेनापति सिग्देलले चार जना वा सोभन्दा बढी सन्ततिलाई सेनामा पठाएबापत सकलदर्जाका अभिभावक बाजुराका बलवान खड्का र डडेलधुराका प्रजापति अवस्थीलाई सम्मान, एवं अवकाश प्राप्त सुवेदार केशवदत्त पाण्डेयलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरे । उनले ज्येष्ठ भूतपूर्व सैनिक तथा एकल महिलालाई सम्मान, ह्वील चियर एवं वैशाखी प्रदान, लघु उद्यम व्यवसायीलाई प्रशंसापत्र एवं पुरस्कार प्रदान गरे । आजै सुदूरपश्चिम पृतनाअन्तर्गत डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, डडेलधुरा र दार्चुलामा सम्मेलन सम्पन्न भएका छन् । सम्मेलनमा दिइएको जानकारीअनुसार सैनिक कल्याणकारी बोर्डबाट स्वास्थ्य, शिक्षालगायतका सेवा प्राप्त गर्नेको सङ्ख्या १० लाख नाघेको छ ।

नीलम ढुङ्गानालाई किन बोक्यो राससले ?

काठमाडौं । बुधबार साँझ ५ः५१ मिनेटमा राष्ट्रिय समाचार समिति (रासस)मा एउटा ‘व्यक्ति प्रोफाइल’ प्रकाशित आयो । १ हजार ७ सय ३१ शब्दको सो सफलताको कथाको शीर्षक थियो, ‘नीलमको प्रेरणादायी यात्रा : शिक्षिकादेखि डेपुटी गभर्नरसम्म’ । राससका ग्राहक बनेका अधिकांश सञ्चार माध्यमले सो प्रोफाइललाई महत्वका साथ आ-आफ्नो अनलाइन समाचार पोर्टलमा अपलोड गरे । बुधबार नभ्याउने सञ्चार माध्यमले बिहीबार बिहानै सो समाचारलाई प्राथमिकता दिँदै सम्प्रेषण गरे । बैंकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकको पहिलो डेपुटी गभर्नर नीलम ढुङ्गानाको व्यक्ति प्रोफाइल मिडियाहरुले आ-आफ्नो प्रकृति र उद्देश्यअनुसार ‘स्पेश’ दिए । व्यक्ति प्रोफाइलमा खासै जोड नदिने राससले नीलम ढुङ्गानाको सफलताको कथा बनाएर सार्वजनिक गर्नुलाई धेरैले महत्वकासाथ हेरेका छन्, टिप्पणी गरेका छन् र केही आशंका र अनुमान पनि लगाएका छन् । नीलमको अहिले न नवनियुक्ति हो नत तत्काल राष्ट्र बैंकबाट बाहिरिँदै छिन् । वि.सं २०७७ फागुनमा नेपालको पहिलो महिला डेपुटी गभर्नर बनेकी नीलममाथि राससको आँखा चार वर्षपछि मात्रै कसरी पर्यो ? राष्ट्र बैंकमा अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र पनि छन्, मिश्रलाई वेवास्ता गर्दै राससको नजरमा नीलम कसरी परिन् ? नेपाल राष्ट्र बैंककै गभर्नर महाप्रसाद अधिकारीले राससमा अहिलेसम्म नपाएको स्पेश नीलमले कसरी पाइन् ? अहिले उनी कार्यवाहक गभर्नर बनेको तर्क दिने हो भने पनि उनले यसअघि पनि पटक-पटक सो जिम्मेवारी निर्वाह गरिसकेकी छन् । यी र यस्तै प्रश्न र जिज्ञासा आफैंमा अनुत्तरित छन् । तर, सरकारी स्वामित्व रहेको राससको आँखामा नीलम पर्दा धेरैको चासो बढेको छ । अहिले नेपाल राष्ट्र बैंक नयाँ नेतृत्वको पर्खाइमा छ । हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिने समय नजिकिँदै गर्दा सरकार नयाँ गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढिसकेको छ । गभर्नर अधिकारीको कार्यकाल दोहोरिने सम्भावना लगभग समाप्त भइसकेको छ । त्यसैले पनि दुई दर्जन व्यक्ति गभर्नर बन्न लबिङ गरिरहेका छन् । त्यो लबिङको बिचमा राष्ट्र बैंकभित्रकै क्याडरहरु पनि लागेका छन् । अहिलेका डेपुटी गभर्नर नीलम ढुङ्गाना र बमबहादुर मिश्र पनि गभर्नर बन्ने दौडमा छन् । अधिकारीले नयाँ गभर्नर नियुक्तिको विषयलाई सहजीकरण गर्नका लागि उनी विदामा बसिसकेका छन् । त्यसैले पनि वरिष्ठताका हिसाबले नीलमलाई अधिकारीले कार्यवाहक गभर्नरको जिम्मेवारी दिँदै आफू घरमा आराम गरिरहेका छन् । यही समयमा राससले नीलमको व्यक्ति प्रोफाइल सार्वजनिक गरेर उनको थप मार्केटिङ गरेको छ । उसो त नीलम पनि अहिले काम गरेर अफिसमै बस्न सक्ने अवस्थामा नरहेको राष्ट्र बैककै कार्यकारी निर्देशकहरु बताउँछन् । अहिले नीलमको अधिकांश समय राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्नमै बित्छ । विशेष गरेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नेपाली काँग्रेसका शीर्ष नेताहरुसँग उनले नियमित भेटघाट गरिरहेकी छन् । अर्का डेपुटी गभर्नर मिश्र पनि नेताहरुको घैरदैलोमै व्यस्त छन् । राष्ट्र बैंक स्रोतका अनुसार दुवै जना डेपुटी गभर्नरको समय अहिले राष्ट्र बैंकभन्दा पनि नेताहरुको घरदैलोमै बितिरहेको छ । यही समयमा सरकारी स्वामित्व रहेको राससमा आफ्नो सफलताको कथा छपाएर नीलमले बजारमा नयाँ सन्देश सम्प्रेषण गरेकी छन् । राससमा प्रधानमन्त्री तथा मन्त्रीहरुको सफलताको कथाले बिरलै पाउने स्पेश नीलमले सहजै पाएकी छन् । केही दिनअघि एउटा सञ्चार माध्यमले निलम स्वार्थ समूहको उम्मेद्वार बनेको विषय प्रकाशन गरेपछि नीलमको अहिले राष्ट्र बैंकभित्र मात्रै होइन, राजनीतिक बृत्तमा पनि यो विषयको चर्चा हुने गरेको छ । सो विषय बाहिरिएको केही दिनमै उनले आफ्नो सफलताको कथा राससलाई सुनाएर मिडिया-मिडियामार्फत आफ्नो गुनगान गाउन लगाएकी छन् । उनले सो सफलताको कथामा राष्ट्र बैंकमा प्रवेश गर्दै गर्दा गभर्नर बन्ने सपना नभएको भए पनि अहिले भने आफू गभर्नरका लागि सक्षम रहेको सन्देश प्रवाह गरेकी छन् । राससले उनको सफताको कथामा ‘वरिष्ठ डेपुटी गभर्नर डा.नीलम ढुंगानाका अगाडि नेपालको पहिलो पटक महिला गभर्नर बन्ने सम्भावनाले पछ्याइरहेको’ उल्लेख गरेको छ । उनी वरिष्ठ डेपुटी गभर्नर भएकोले पनि उनी स्वतः गभर्नर बन्न सक्ने र नेपाल राष्ट्र बैंकको ऐनमै गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा डेपुटी गभर्नर पनि हुनुपर्ने व्यवस्था भएकोले निलम गभर्नर बन्ने बलियो र प्रबल क्यान्डिडेट भएको तर्क राससले राखेको छ । ‘करिब तीन दशकको यस यात्रामा मैले बैंकमा गरेको मिहिनेत, योगदान र अहिले वरिष्ठ डेपुटी गभर्नरका रूपमा र धेरै पटक कायममुकायम गभर्नरका रूपमा सफलतापूर्वक र सक्रियतापूर्वक निर्वाह गरेका जिम्मेवारीहरूलाई नियाल्ने हो भने गभर्नरका रूपमा काम गर्न सक्छु भन्ने पुष्टि हुन्छ,’ उनले रासससँग भनेकी छन् । गभर्नरका लागि दुई दर्जन उम्मेद्वार र अर्का डेपुटी गभर्नर मिश्रसँगै राष्ट्र बैंकभित्रकै केही कार्यकारी निर्देशक पनि गभर्नर बन्ने प्रतिस्पर्धामा भइरहेको बेला अनपेक्षित रुपमा सरकारी मिडिया राससले बेमौसमी सफलताको स्वाद चखाएर बजारमा अर्को नयाँ चर्चा र संशय सिर्जना गरेको छ ।