हेटौँडा कपडा उद्योग सञ्चालन हुनेमा स्थानीय आशावादी
बागमती । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने योजना तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले संसद्मा सुनाउँदा हेटौँडाका सरोज बिडारी हर्षित भए । तर घोषणा गरिएको तीन वर्ष बित्न लाग्दा पनि उद्योग सञ्चालनको कुनै तयारी नहुँदा उनी खिन्न भए । ‘अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा २०५६ सालदेखि बन्द हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याइने घोषणा गर्नुभयो’, बिडारीले भने, ‘त्यो सुनेर हामी उत्साहित भयौँ तर त्यो घोषणामा नै सीमित हुँदा हामी निराश छौँ ।’ मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदराज रानाभाटका अनुसार जीर्ण भइसकेको कपडा उद्योग सञ्चालन गर्ने कुरा राम्रो कुरा हो तर लगानी धेरै चाहिन्छ । छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न चुनौतीपूर्ण छ, सरकार आफैँले सञ्चालन गरे सहज नयाँ मेसिन पनि चाहिन्छन् । हेटौँडा औद्योगिक क्षेत्रको एक सय ६६ रोपनीमा फैलिएको उद्योग सञ्चालनमा रहँदा वार्षिक दुई हजार तीन सय टन धाँगो र तीन सिफ्टमा गरी एक करोड १० लाख मिटर कपडा उत्पादन हुने गरेको थियो । चीन सरकारको आर्थिक तथा प्राविधक सहयोगमा २०३२ साल साउन १६ गते स्थापना भएको उक्त उद्योग व्यवस्थापकीय कमजोरी, नियमित विद्युत् आपूर्तिमा कठिनाइ, उत्पादन लागत बढ्नु, अनावश्यक जनशक्ति भर्ना, प्रविधि आधुनिकीकरण नहुनुलगायत कारण २०५६ साल फागुन १ गतेदेखि पूर्ण रूपमा बन्द छ । बन्द उद्योगका मेसिन खियाले खाएका छन् उद्योगका भवनमा सशस्त्र प्रहरीले बलले कार्यालय सञ्चालन गरेको छ । उद्योगका अन्य भवन, आवासगृहको छानाबाट पानी चुहिने, फल्स सिलिङ काम नलाग्ने र भवनको पर्खालसमेत चिरा परेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपाल बताउँछन् । उनका अनुसार उद्योगको पेरिमिटर पर्खाल मर्मतसम्भार गर्नुपर्ने अवस्थामा छ भने इलेक्ट्रिफिकेसनलगायत प्लम्बिङ तथा स्टिम पाइप लाइन जीर्ण भइसकेको छ । जीर्ण कपडा उद्योग सञ्चालनका लागि धेरैपटक सरकारका तर्फबाट कार्यदल बने पनि सञ्चालनको आधार अझै तयार भएको छैन । विसं २०६५ मा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा नेपाली सेना र निजामती कर्मचारीको पोशाक उत्पादनका लागि उद्योग पुनः सञ्चालन गर्ने निर्णय भएको थियो । त्यसका लागि सरकारले बजेट छुट्याए पनि उद्योग सञ्चालन हुन सकेन । त्यसपछि गठन भएका सरकारले उद्योग सञ्चालनका लागि बजेट छुट्याउँदै आए पनि उद्योगले पुनर्जीवन पाउन नसकेका उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष वासु खतिवडाले बताए । नेपाली सेनाले उद्योग सञ्चालनको चासो देखाएको भए पनि सरकारले निर्णय गरेको छैन । ‘विसं २०७५ असारमा उद्योग सञ्चालनबारे सेनाले अध्ययन गरेको सुनेको थिएँ’, उनले भने, ‘तत्कालीन उद्योग तथा आपूर्तिमन्त्री मातृका यादवको पहलमा कार्यदल गठन गरी उद्योग सञ्चालनको मोडालिटी, कानुनी र भौतिक संरचनालगायत विषयमा अध्ययन पनि भएको थियो, तर त्यो पनि त्यत्तिकै हरायो । पटकपटक बनेका सरकारले उद्योग सञ्चालनको कुरा चलाउँदै आए पनि हालसम्म परिणाम प्राप्त भएको छैन ।’ गत २०८० माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बन्द हेटौँडा कपडा उद्योग सञ्चालनका लागि तयारी भइरहेको घोषणा गरेका थिए । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा उद्योग सञ्चालन गर्ने योजना समावेश गरेपछि प्रधानमन्त्री दाहाललाई नेपाली सेनाले प्रतिवेदन बुझाएको थियो । उनी नेतृत्वको सरकार फेरिएपछि उद्योग पुनः सञ्चालनको योजना कागतमा मात्र सीमित भएको छ । उद्योग सञ्चालन भएमा स्थानीयले रोजगारी पाउने र मुलुकको अर्थतन्त्रमा पनि टेवा पुग्ने उपाध्यक्ष खतिवडा बताउँछन् । रासस
बेलायती औषधि कम्पनीले बेइजिङमा २.५ अर्ब अमेरिकी डलर लगानी गर्ने
काठमाडौं । ब्रिटिश औषधि कम्पनी एस्ट्राजेनेकाले आगामी ५ वर्षमा बेइजिङमा २.५ अर्ब अमेरिकी डलर लगानी गर्ने ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौता अन्तर्गत एस्ट्राजेनेकाले बेइजिङमा विश्वव्यापी रणनीतिक अनुसन्धान तथा विकास केन्द्र स्थापना गर्नेछ । जुन विश्वव्यापी रूपमा छैटौं र चीनमा दोस्रो हो । एस्ट्राजेनेकाका सीईओ पास्कल सोरियटले लगानीले बेइजिङको विश्व–स्तरीय जीवन विज्ञान नवप्रवर्तन इकोसिस्टममा बहुराष्ट्रिय कम्पनीको विश्वासलाई प्रकाश पार्ने बताए । औषधि टाइटनले श्वासप्रश्वास र अन्य संक्रामक रोगहरूलाई लक्षित गर्ने नवीन औषधिहरू विकास, निर्माण र व्यावसायीकरण गर्न बेइजिङमा नयाँ संयुक्त उद्यम पनि गठन गर्नेछ ।
नेपालमा सार्वजनिक भयो प्रोटोन ईमास ७, यस्तो छ मूल्य र विशेषता
काठमाडौं । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोनको नयाँ ईभी ईमास ७ आधिकारिक रुपमा लन्च गरेको छ । हायात होटलमा गरिएको एक समारोहमा सो ईभी सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रतिष्ठित गण्यमान्य व्यक्ति, अटोमोटिभ क्षेत्रका विज्ञहरू, सञ्चारकर्मीहरू र कारप्रेमीहरूको उपस्थिति रहेको थियो । प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध प्रोटोन ईमास ७ को मूल्य क्रमशः ५६ लाख ९९ हजार र ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट गरी विभिन्न ६ कलर अप्सनमा सो ईभी उपलब्ध हुनेछ । उद्घाटन समारोहमा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘हामी नेपालमा प्रोटोन ईमास ७ सार्वजनिक गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला, हाम्रो लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गर्नु हो, जसले नेपाली मोटर चालकहरूको आशा र अपेक्षालाई पूरा गर्छ र सरकारको स्वच्छ ऊर्जा नीतिलाई सघाउँछ ।’ नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार र सरकारबाट प्राप्त प्रोत्साहनहरू विस्तार भइरहेका सन्दर्भमा, प्रोटोनले नेपालको हरित क्रान्तिमा आफ्नो योगदान दिन प्रतिबद्ध भएको बताएको छ । जगदम्बा मोटर्सले आगामी आर्थिक वर्षमा नेपालभरि आफ्नो डिलरशिप संख्या विस्तार गर्ने र बलियो सर्भिस सेन्टर नेटवर्क स्थापना गर्ने योजना बनाएको छ । साथै, प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन पूर्वाधार विकासमा पनि लगानी गर्ने बताएको छ । प्रोटोन ईमास ७ प्रोटोनको पहिलो विद्युतीय सवारी साधन अर्थात ईभी हो । यो ग्लोबल मोड्युलर आर्किटेक्चर (जीएमए)प्लेटफर्ममा निर्माण गरिएको छ । यसमा १२–इन–१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम रहेको छ भने नवीनतम सेल–टु–बडी (सीटीबी) ब्याट्री संरचना छ । त्यसैगरी यसममा नयाँ पुस्ताको एजिस शर्ट–ब्लेड ब्याट्री (लिथियम आइरन फस्फेट) रहेको छ । सुरक्षा र प्रदर्शनका लागि यसमा लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम छ भने ३६० डिग्री भ्यु क्यामेरा, फाइभ स्टार एसियन एनक्याप सेफ्टी रेटिङ, १६० किलोवाट पावर र ३२० एनएम टर्क जेनेरेट गर्ने क्षमता छ भने यसलाई ० देखि १०० किलोमिटर प्रतिघण्टा पुग्न पुग्न ६.९ सेकेन्ड मात्र लाग्छ । त्यसैगरी १०० किलोमिटर प्रतिघण्टाबाट रोक्न ३५ मिटर ब्रेकिङ दूरी मात्र चाहिन्छ । प्राइम भेरिएन्टमा ४९.५२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लुएलटीपी अनुसार सिंगल चार्जमा ३४५ किलोमिटर रेन्ज दिन्छ । त्यसैगरी प्रिमियम भेरिएन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लुएलटीपी अनुसार सिंगल चार्जमा ४१० किलोमिटर रेन्ज दिन्छ । यसले डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ र ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन २० मिनेट मात्र लाग्छ । १० मिनेट चार्ज गर्दा यसलाई १३५ किलोमिटर सम्म चलाउन सकिन्छ । यसको इन्टेरियरमा भेन्टिलेटेड सिटहरू छन् भने प्रशस्त लेगरुम रहेको छ । ३३ स्टोरेज कम्पार्टमेन्टहरू रहेको प्रोटोन ईमास७ ईभीमा वानोस प्रविधिसहितको १६ स्पिकर साउन्ड वेभ सिस्टम छ भने २५६ रङको एम्बियन्ट लाइटिङ छ, जुन यो सेगमेन्टकै सर्वश्रेष्ठ भएको कम्पनीको भनाइ छ । यसमा २.५ के रिजोल्युन सहितको १५.४ इन्चको टचस्क्रिन डिस्प्ले रहेको छ ।
लक्ष्मी स्टीलले तिर्यो डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुल बक्यौता
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् खपत गरेबापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ । २३ करोड ७९ लाख रुपैयाँ बक्यौतामध्ये लक्ष्मी स्टीलले शुक्रबार पहिलो किस्ताबापत ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको नेपाल विद्युत् प्राधिकरण, परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए । उद्योगले २८ किस्तामा बक्यौता तिर्नेछ । यसैगरी, सुनवलमै सञ्चालित अर्को उद्योग सर्वोत्तम सिमेन्टले बक्यौताबापतको दोस्रो किस्ता बुझाएको छ । २८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता जनाएको उद्योगले शुक्रबार दोस्रो किस्ताबापत ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको हो । उद्योगको बक्यौता ११ करोड ९६ लाख रुपैयाँ छ ।
एसइई परीक्षा : मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो
वीरगन्ज । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मर्यादाविपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल (प्रजिअ)को अध्यक्षतामा शनिबार साँझ बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले उनीहरुलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । प्रजिअ अर्यालले माइस्थान विद्यापिठ माध्यमिक विद्यालय वीरगन्जका केन्द्राध्यक्ष मुनिलाल कर्णले परीक्षाको मर्यादा र अनुशासन परिपालनामा पर्याप्त सावधानी तथा सतर्कता अपनाएको नदेखिएकाले निजलाई सचेत गराउने निर्णय गरिएको बताए । सोही केन्द्रका सहायक केन्द्राध्यक्ष जयप्रकाश सर्राफको गतिविधि संकास्पद देखिएकाले निजलाई परीक्षा अवधिभर उक्त परीक्षा केन्द्रमा प्रवेश नगराउने निर्णय भएको उनले बताए । बैठकले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटा परीक्षा केन्द्रमा अभिभावक सङ्घलगायत अनधिकृत व्यक्तिको प्रवेश देखिएकाले उक्त केन्द्रका केन्द्राध्यक्षलाई लिखित रूपमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ । त्यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी केन्द्रमा निरिक्षकका रूपमा खटिएका शिक्षक लालबाबु यादवले परीक्षाको मर्यादाविपरीत कार्य गरेकाले निजलाई निरीक्षकको जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । सो बैठकले सिद्धार्थ माध्यमिक विद्यालय चिनी कारखाना वीरगन्ज परीक्षा केन्द्रका संस्थागत विद्यालयमा समेत अध्यापन गराउने धमेन्द्र पाण्डे र रामबालक यादवलाई निरीक्षकको जिम्मेवारीबाट हटाउन केन्द्राध्यक्षलाई निर्देशन दिएको छ । सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यालय वीरगन्ज परीक्षा केन्द्रमा नियमिततर्फका परीक्षार्थीलाई ग्रेडवृद्धितर्फको प्रश्नपत्र दिएको र ग्रेडवृद्धितर्फका परीक्षार्थीलाई नियमिततर्फको प्रश्नपत्र वितरण गरिएको पाइएकाले त्यस्ता कार्य आगामी परीक्षामा हुन नदिन निर्देशन दिँदै प्रश्नपत्र वितरणलगायत परीक्षा व्यवस्थापनमा सहजीकरण गर्न स्थानीय तहको शिक्षा शाखाका पदाधिकारीलाई समेत परिचालन गर्ने निर्णय गरिएको प्रजिअ अर्यालले जानकारी दिए । बैठकले परीक्षा केन्द्रहरुमा प्रश्नपत्र परीक्षा समयभन्दा ठिक २० मिनेट अगाडि मात्र खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । रासस
स्ट्रबेरी किलोको २५० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको थोक मूल्य
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६०, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु ३०, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु १३० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १३०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ८०, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकिलो रु ५० तथा भिण्डी प्रतिकिलो रु १०० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ३५, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ७०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८० तथा कुरिलो प्रतिकिलो रु १००० निर्धारण गरिएको छ । निगुरो प्रतिकेजी रु १२०, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु ३००, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुकको मूल्य प्रतिकिलो रु ३५० तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २७०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १३०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १५०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ९०, निबुवा प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १२०, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु ९० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ३३०, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, सुर्खानी (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १७०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।
प्रयोगमा आउन नसकेपछि तारागाउँ रिजेन्सी होटल्सको क्यासिनो बिक्रीमा
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स (होटल हायात रिजेन्सी)ले क्यासिनोका सामान बिक्रीमा राखेको छ । तारागाउँ रिजेन्सी होटल्समा रहेको क्यासिनो स्लट मेसिन प्रयोगमा आउन नसकेकाले बिक्रीमा राखेको जनाएको छ । कम्पनीका अनुसार उक्त क्यासिनोको स्टल मेसिन स्क्र्यापको रुपमा विक्रीमा राखिएको हो । स्क्र्याप सामानहरुको खरिद गर्न इच्छुक खरिदकर्ताहरुले १५ दिनभित्र खरिद प्रस्ताव पेस गर्न आग्रह गरेको छ । आवेदन दिनका लागि तारागाउँ रिजेन्सी होटल्सको बौद्द, स्थित रजिष्ट्रड कार्यालमा सम्पर्क गर्नुपर्नेछ । साथै खरिद प्रस्ताव उपर अन्तिम निर्णय गर्ने अधिकार कम्पनीको रहने कम्पनीले जनाएको छ ।
उपकार लघुवित्तको सेयरको लक इन अवधि बैशाख ८ गतेदेखि सकिँदै
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको संस्थापक तथा कर्मचारीहरूलाई बाँडफाँट गरिएको सेयरहरूको लक इन अवधि समाप्त हुने भएको छ । २०८२ बैशाख ८ गतेदेखि लघुवित्तका संस्थापक तथा कर्मचारीहरूको स्वामित्वमा रहेको सेयरको लक इनको समायावधि सकिने जनाएको छ । लघुवित्तले विसं २०७८ चैत २५ गतेदेखि चैत ३० गतेसम्म सर्वसाधारणमा (कर्मचारीहरू समेतमा ) निष्काशन तथा बिक्री खुल्ला गरी विसं २०७९ बैशाख ९ गते सेयर बाँडफाँट गरेको थियो । नेपाल धितोपत्र बोर्डले साधारण सेयर सार्वजनिक निष्काशन गरी बाँडफाँट गरिएको मितिदेखि ३ वर्षसम्म कर्मचारीहरूलाई बाँडफाँड गरिएको सेयर र संस्थापक सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । सोही बमोजिम लघुवित्तको संस्थापक र कर्मचारीहरूको सेयरको लकइन अवधि सकिन लागेको हो । लघुवित्तका अनुसार संस्थापकतर्फ ४ लाख २० हजार कित्ता र कर्मचारीहरूको ३ हजार २८१ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।