सडक, सञ्जाल र सदनसम्म कुलमान
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेपछि देश कुलमानमय बनेको छ । विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा सरकारको आलोचना गर्नेदेखि सडकमा आन्दोलन र संसदमा विरोध गर्ने काम मंगलबार भयो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गरेर पूर्व कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई प्राधिकरणको नेतृत्व सम्पेपछि यतिखरे प्रधानमन्त्री केपी शर्मा ओली, उर्जामन्त्री दिपक खड्कासँगै सिंगो नेकपा एमाले र प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसको पनि विरोध भइरहेको छ । सोमबारदेखि नै सामाजिक सञ्जालमा सरकारको विरोध भइरहेको छ । मंगलबार बिहानैदेखि स्वतन्त्र युवाहरुदेखि राजनीतिक दलका कार्यकता तथा भातृ संगठनले पनि सरकारको चर्को आलोचना गर्दै उनको बर्खास्ती खारेज गर्न माग गरे । सामाजिक सञ्जालसँगै मंगलबार दिनभर माइती मण्डला तनावग्रस्त बन्यो । कुलमानका समर्थकहरुले माइतीघर मण्डलामा सरकारविरुद्द नारावाजी मात्रै गरेनन्, सुरक्षाकर्मीसँग झडप हुनेसम्मका अवस्था सिर्जना भयो । सरकारको यो निर्णयको नेपाली काँग्रेसकै महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले खुलेरै आलोचना मात्रै गरेनन्, सरकार उल्टो बाटोमा हिडिरहेको भन्दै सच्चिन माग गरे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले पनि सोमबार राति नै सरकारको यो निर्णयको विरोध गरे । मंगलबार माओवादी केन्द्र र रास्वपाले विज्ञप्ति नै जारी गरेर कुलमानलाई हटाउने निर्णय सच्याउन माग गरेको छ । माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त भएको जनाएका छन् । (रास्वपाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णयलाई ‘कायरताभित्रको दम्भ’ भनेर निन्दा गरेको छ । उसो त प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसका केही सांसदहरुले पनि मंगलबार सरकारको निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन् । सत्तारुढ कांग्रेसका सांसद रामकृष्ण यादवले घिसिङलाई हटाउने निर्णयमा पुनर्विचार गर्नका लागि सार्वजनिक लेखा समितिले प्रधानमन्त्रीलाई पत्र पठाउनुपर्ने माग गरे । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सांसद यादवले भने, ‘कुलमानलाई पदबाट नहटाउनुपर्ने थियो, लेखा समितिका तर्फबाट प्रधानमन्त्रीलाई उक्त निर्णयमा पुनर्विचार गर्न पत्र पठाउनुपर्छ,’ उनले भने । बैठकमा माओवादी सांसद अमनलाल मोदीले पनि कुलमान बर्खास्त गरेको भन्दै आपत्ति जनाए । उनले सरकारले बिचौलियाको काम गरिरहेको आरोप पनि लगाए । यस्तै, सोही बैठकमा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले ले कुलमानमाथि सरकारले गरेको निर्णय वाहियात भएको धारणा राखे । उनले कुलमानलाई हटाउने देशको दुर्भाग्य भएको पनि धारणा राखे । उनले सरकारलाई निर्णय सच्याउन पनि सुझाव दिए । प्रदेशको संसदमा पनि विरोध सरकारले कुलमान घिसिङलाई पदबाट हटाइएको विषयमा प्रदेश संसदमा पनि विरोध भएको छ । मंगलबार गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले संसद्मै कालो चस्मा लगाएर सरकारको विरोध गरे । उनले लोडसेडिङमुक्त नेपालका नायकलाई कारबाही गरेको भन्दै सरकारको आलोचना पनि गरे । यस्तै, घिसिङलाई सरकारले हटाएको विषयले कर्णाली प्रदेश सभामा पनि प्रवेश पाएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले घिसिङलाई हटाएर सरकारले ठूलो गल्ती गरेको धारणा राखे । उनले यो सरकारको राष्ट्र सेवक र जनतामाथि गरेको अन्याय भएको टिप्पणी गरे । सरकार भन्छ : यो सामान्य हो सरकारले भने यो विरोध र आलोचना सामान्य भएको धारणा राखेको छ । मंगलबार सरकारको औपचारिक निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यो विरोध र प्रदर्शन सामान्य भएको टीप्पणी गरे । सरकारले गरेका निर्णयमा असहमति जनाउने अधिकार सबैमा रहेको बताउँदै उनले यो निर्णयलाई सरकारले अन्यथा नलिएको पनि बताएका छन् । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वर्तमान सरकारले इमानदारिताका साथ काम गरेको बताउँदै विरोध नगर्न आग्रह गरेका छन् । मंगलबार एक सार्वजनिक कार्यक्रमा बोल्दै उनले घिसिङलाई हटाएको विषयलाई ‘तिललाई पहाड’ बनाउने काम भइरहेको धारणा राखे ।
वृज हिमालयन स्प्रिङ र एनएमबि क्यापिटल लिमिटेडबीच सम्झौता
काठमाडौं । वृज हिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले नेपालको अग्रणी मर्चेन्ट बैंक एनएमबि क्यापिटल लिमिटेडसँग संस्थागत परामर्श कार्यका निम्ति संस्थागत परामर्शदाताका रूपमा नियुक्त गरेको छ । कम्पनीका अनुसार एनएमबी क्यापिटलको संस्थागत परामर्श सेवाहरू जस्तै पूँजी पुनः संरचना तथा वित्तीय परामर्श सेवा लगायत विभिन्न रणनीतिक साझेदार भित्र्याउने सिलसिलामा चाहिने परामर्श सेवा कम्पनीलाई दिई व्यवसायलाई थप विस्तार र सुदृढ गर्न सहयोगी भूमिका निर्वाह गर्ने जनाइएको छ । यस यात्रामा एनएमबी क्यापिटल लिमिटेडले वित्तीय परामर्श र कम्पनीको विकासका लागि आवश्यक पूँजी पुनः संरचनामा सहयोग गर्नेछ । हाल यस कम्पनीले पूर्ण ब्राण्डमा १ लि, ५०० एमएल, २५० एमएलको बोतलमा मिनरल पानी तथा २० लिको जारमा शुद्ध प्रशोधित पानी उत्पादन गरिरहेको छ । ‘एनएमबि क्यापिटल लिमिटेडलाई हाम्रो वित्तीय परामर्श साझेदारको रूपमा पाएर हामी अत्यन्तै खुसी छौं । केडिया अर्गनाइजेसन अन्तर्गतको हाम्रो यो नयाँ परियोजनालाई अझ अगाडि बढाउन र विकास गर्न उहाँहरूको अनुभव र ज्ञान महत्वपूर्ण हुनेछ । यो सहकार्य हाम्रा सरोकारवालाहरूलाई उच्च प्रतिफल प्रदान गर्न हामी प्रतिबद्ध भएको प्रमाण समेत हो,’ वृज हिमालयन स्प्रिङ प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक सत्यम केडियाले यस सहकार्यबारे आफ्नो धारणा राखे । एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपेशकुमार वैद्यले यस सहकार्यप्रति उत्साह व्यक्त गरे । ‘वृज हिमालयन स्प्रिङ प्राइभेट लिमिटेडसँगको सहकार्यले उत्पादन क्षेत्रमा नयाँ उद्यमहरूलाई सहयोग गर्ने एनएमबि क्यापिटलको लक्ष्य अनुसारनै कार्य गर्न अवसर पाएकोमा उत्साहित छौं । हामी वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडको वृद्धि र विकासको योजनालाई सफल पार्न सहयोग गर्ने छौं,’ उनले भने । केडिया अर्गनाइजेसनको नयाँ परियोजनाको रूपमा वृज हिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले पिउने पानी उद्योगमा नयाँ पहिचान बनाउने लक्ष्य लिएको छ । मनोज केडियाको नेतृत्वमा रहेको केडिया अर्गनाइजेसनले विगतमा वित्तीय, बीमा, उत्पादनमूलक उद्योग ( सिद्वार्थ बैंक, सिद्वार्थ प्रिमियर इन्स्र्योरेन्स लि, सिद्वार्थ क्यापिटल लि, सानिमा रिलायन्स लाइफ इन्स्र्योरेन्स, अवसर इक्विटी, वृज सिमेन्ट, श्री स्टीलस, अर्घाखाँची सिमेन्ट, वृज एडिटिभ्स, वृज ग्लास, एसिएन कंक्रिटो) सहित विभिन्न व्यावसायहरु सफलतापूर्वक सञ्चालन गरी सेयरधनीहरुलाई उच्चतम प्रतिफल प्रदान गर्न सफल रहेको छ ।
गलेश्वर आश्रमको क्यालेन्डर सार्वजनिक
पोखरा । नेपालकै पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रमले सम्पूर्ण तिथि, पर्व र शुभ महुर्तबारे जानकारी दिने गरी २०८२ सालको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक गरेको छ । गलेश्वर धामका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले मंगलबार पोखराको रामघाटस्थित गीता मन्दिरमा आयोजित एक विशेष कार्यक्रममा भित्तेपात्रो सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै स्वामी महाराजले उक्त भित्तेपात्रो अग्नि, रुद्री, विवाह, ब्रतबन्ध, पास्नी जस्ता शुभकार्य लगायत व्यापार व्यवसाय सुरु गर्ने/खोल्ने, गृह निर्माण, गृह प्रवेश जस्ता शुभ मुहुर्तदेखि लिएर सम्पूर्ण तिथिमिति सर्वसाधारणले समेत सजिलै छुट्ट्याउन सक्ने गरी तयार गरिएको बताए । उक्त भित्तेपात्रो कुन दिन, कुन तिथि कति घडी र कति पलासम्म कायम छ भन्ने कुरा पनि सजिलै छुट्टयाउन सकिने गरी तयार गरिएको छ । पवित्र तीर्थस्थल गलेश्वर आश्रमको महिमा झल्काउने खालका तस्बिरहरु भित्तेपात्रोमा समावेश गरिएको छ । गलेश्वर आश्रमको स्थापना अष्टाङ्ग योगसिद्ध योगीराज ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)ले करीब ६ दशकअघि गरेका हुन् । गलेश्वर बाबाले आफ्नो धर्म, संस्कृति र संस्कारलाई चीरकालपर्यन्त कायम राख्न २०२३ सालमा स्थापना गरेका वेद–वेदाङ्ग विद्यालय आश्रमअन्तर्गत नै सञ्चालन गरिरहेको छ । आश्रमले धाममा बसोबास गर्ने साधक सन्त तथा तिर्थालुका लागि भोजन र बसोबास सहज बनाउने हेतुले अन्न क्षेत्र पनि नियमित रुपमा सञ्चालन गरिरहेको छ । आश्रमले घरबारविहीन तथा परिवारबाट परित्यक्त वृद्ध–वृद्धाको कल्याणलाई ध्यानमा राखी सहज र सुन्दर कल्पवास निर्माण गरेको छ । आश्रमले पवित्र देवघाटधाममा बसोबास गर्ने साधक एवं वृद्धवृद्धाको स्वास्थ्य उपचारको लागि धर्मार्थ अस्पताल र एक हजार हाराहारीलाई सजिलै बास बस्न पुग्ने अतिथिगृह पनि सञ्चालन गरिरहेको छ । अतिथिगृहमा निःशुल्क भोजन र बसोबास गर्न पाइन्छ । अस्पतालले बिरामीलाई स्वास्थ्य जाँच र औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । आश्रमले तिथिअनुसारका धार्मिक अनुष्ठानहरु पनि नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।
माछापुच्छ्रे क्यापिटललाई धितोपत्र बोर्डबाट निष्कासन तथा सेयर रजिष्ट्रार सेवा प्रदान गर्ने अनुमति
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारको रूपमा सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको छ। यस अनुमति पश्चात कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन, हकप्रद सेयर, ऋणपत्र तथा अन्य धितोपत्रहरूको निष्कासन, बिक्री तथा वितरण प्रक्रिया व्यवस्थापन गर्न सक्नेछ । साथै कम्पनीले सेयर रजिष्ट्रारको रुपमा सेयरधनीहरुको विवरण व्यवस्थापन, लाभांश वितरण, स्वामित्व हस्तान्तरण लगायतका थप सेवा प्रदान गर्न सक्नेछ ।
कुलमान हटाउने विषयमा सरकारलाई उद्योगीको साथ, ‘मौन सन्तोष प्रकट’
काठमाडौं । सरकारले सोमबार राति नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटायो । सरकारले ८ महिनाको ठूलो दौउधूप गरी मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरी घिसिङलाई हटाइएको हो । देशभर घिसिङ उज्यालोको नायकको रूपमा परिचित छन् । लोडसेडिङ हटाउन उनले महत्तपूर्ण भूमिका खेलेका थिए । घिसिङको कार्यकाल सकिन करिब चार महिना मात्रै बाँकी रहँदा सरकारले सुटुक्क उनलाई पदबाट हटाएको हो । उनलाई हटाएको विषयले अहिले सामाजिक सञ्जाल निकै तातिएको छ । सरकारको चौतर्फी आलोचना भइरहेको छ । कुलमानलाई जसरी पनि पदबाट हटाउनुपर्ने पक्षमा केही उद्योगी पनि थिए । ट्रंक लाइन र डेडिकेटेड लाइनको बक्यौताको विषयमा विवाद हुँदा उनीहरु कुलमानप्रति रुष्ट थिए भने कुलमानले आफूहरुलाई सहयोग नगरेको भन्दै उनको सार्वजनिक रुपमै आलोचना गरिरहेका थिए । उनलाई प्राधिकरणबाट हटाउनका लागि बारम्बार सरकारसँग आग्रह गर्दै आएका थिए । उद्योगीको अपेक्षाअनुसार नै सरकारले पनि उनलाई पदबाट हटाएको छ । कुलमानलाई बर्खास्त गरेको विषयमा अहिले सरकारको विरोध र आलोचना भइरहँदा केही उद्योगी व्यवसायी भने मौन रुपमा खुसी छन् ।गत आइतबार साँझ नेपाल सिमेन्ट उद्योग उत्पादक संघ, स्टिल्स उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर नै कुलमानप्रति आक्रोश पोखेका थिए । देशमा लोडसेडिङ अन्त्य भएको भनेर चर्चा हुने गरेकाे भए पनि आफूहरूले प्रत्येक वर्षको पुस महिनादेखि जेठसम्म लोडसेडिङको समस्या खेप्दै आइरहेकाे गुनासाे उद्योगीहरूले पत्रकार सम्मेलनमा गरेका थिए । उनीहरूकाे गुनासाेपछि सरकारले त्यसकाे एक दिनपछि कुलमानलाई बर्खास्त गरेको हाे । कुलमानलाई हटाएपछि बक्यौता तिर्न बाँकी उद्योगीहरु मौन रुपमा खुसी देखिन्छन् । नेपाल स्टिल उत्पादक संघका अध्यक्ष शोभाकर न्यौपानेले सरकारले कुलमानलाई हटाएको विषयमा आफ्नो कुनै प्रतिक्रिया नभएको बताए । उनले प्राधिकरणले बत्तीको लाइन काटेर लोडसेडिङ नगरेको भन्दै बाहिर भ्रम फैलाइएको धारणाा राखे । अध्यक्ष न्यौपानेले भने, ‘सरकारले कुलमानजीलाई हटाएकोमा हामी न खुसी नत दुःखी छौं । यो हटाउने नहटाउने विषय सरकारको हो । हामीलाई त हाम्रो समस्याको निकास चाहिएको हो । हामीले कुलमानजीलाई हटाउनु भनेका छैंनौ ।’ सिमेन्ट उत्पादक संघका अध्यक्ष नघुनन्दन मारु पनि सरकारले कुलमानलाई हटाएको विषयमा आफूहरूको कुनै धारणा नरहेको सुनाए । उनी भन्छन्, ‘पहिला पनि कुलमानजीलाई हामीले हाम्रो समस्या बुझिदिनुपर्छ भनेका थियौं । अझै पनि हामीले त्यही भन्दै आइरहेका छौं । प्राधिकरणमा जाेसुकै आए पनि हाम्रो समस्या समाधान हुनुपर्यो । हिजो पनि आशा नै थियो । अब पनि समस्या समाधान हुने आशामै छौं ।’ उद्योगीहरु नेपाल उद्योग परिसंघको नेतृत्वमा विरोध जनाउँदै आएका थिए । परिसंघको नेतृत्व हाल राजेश अग्रवालले गरिरहेका छन् । घिसिङलाई हटाएपछि मन्त्रिपरिषद्ले प्राधिकरणकै पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीका साला हुन् ।
उद्योग व्यवसाय प्रवर्द्धनका लागि अनुकूल वातावरण निर्माण गर्न नाडाको आग्रह
काठमाडौं । नेपाल अटोमोबाइल डीलर्स एसोसिएसन (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेट गरी उद्योग व्यवसाय प्रवर्द्धनका लागि अनुकूल वातावरण निर्माण गर्न आग्रह गरेको छ । सोमबार भएको भेटमा अध्यक्ष चौधरीले भारतीय मालवाहक साधनहरू नेपालमा निर्वाध प्रवेश गर्दा नेपाली ढुवानी व्यवसायलाई ठूलो असर परेको भन्दै सरकारले उद्योग व्यवसायलाई हेर्ने दृष्टिकोण अझै सकारात्मक हुन नसकेको गुनासो गरे । उनले नेपालमै उत्पादित सामानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै लुब्रिकेन्ट्स उद्योगका नाममा फिनिस्ड गुड नेपालमा ल्याएर बिक्री वितरण भइरहेको रोक्नुपर्ने बताए । त्यस्तै, नेपालमै टायर उद्योग खोल्न पहल भए पनि त्यसका लागि आवश्यक मापदण्ड तय नगरिएको उनको भनाइ थियो । बुट मोडेलमा बाह्य लगानी भित्र्याउन सकिने सम्भावना रहेको उल्लेख गर्दै उनले सरकारलाई नाडाको ६ बुँदे लिखित सुझावसमेत पेश गरे । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्ता ऐन अहिलेसम्म पारित नहुँदा सवारी साधन आयातकर्ताहरूलाई ठूलो समस्या परेको भन्दै ऐन छिटो पारित गर्न आग्रह गरे । महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालका ब्याट्री उद्योगहरूको अवस्थाबारे जानकारी गराउँदै हाल बन्द रहेको गोरखकाली रबर उद्योगलाई अन्य उपयुक्त स्थानमा सारेर पुनः सञ्चालन गर्न सकिने तथा सो क्षेत्रलाई विशेष आर्थिक क्षेत्रका रूपमा विकास गर्न सकिने सुझाव दिए । छलफलका क्रममा मन्त्री भण्डारीले नेपालको उद्योग व्यवसायबारे संसदमा जानकारीविना नै प्रश्न उठ्ने गरेको गुनासो गर्दै खुला बजार अर्थनीति अपनाएको नेपालमा ७०० प्रतिशतसम्म मुनाफा गर्न सकिने उल्लेख गरे । नाडाका सुझावहरू राजस्व परामर्श समितिमा पठाइने जानकारी दिँदै उनले एजेन्सी दर्ता ऐन छिट्टै पारित गर्ने प्रतिबद्धता जनाए । उनले नेपालमा उद्योग व्यवसायको समुचित उत्थानका लागि आफू पूर्ण रूपमा समर्पित रहेको बताउँदै आवश्यक नीतिगत सुधारका लागि सरकार गम्भीर रहेको धारणा राखे । छलफलमा वाणिज्य सचिव गोविन्द कार्की, उद्योग सचिव कृष्णबहादुर रावत, निजी सचिव सुमन धिताल, स्वकीय सचिव आनन्दप्रसाद भट्ट लगायतका सरकारी अधिकारीहरूको उपस्थिति थियो । नाडाका तर्फबाट सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, तथा एशोसिएसन सचिव सुरेन्द्र प्रधानलगायतका प्रतिनिधिहरू सहभागी थिए ।
अमेरिकामा लगानीकर्ता हतोत्साहित, गत सातामात्रै ६ अर्ब डलरको सेयर बेचेर यूरोपमा लगानी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सारा दुनियाँलाई ट्यारिफको डर देखाइरहेका छन्, तर आफ्नै देशको अवस्था भने बिग्रिँदै गएको छ । विदेशी लगानीकर्ताहरूले गत हप्तामात्रै अमेरिकी सेयर बजारमा ६ अर्ब डलर बराबरको सेयर बेचिदिएका छन्, जुन इतिहासमा तेस्रो सबैभन्दा ठूलो साप्ताहिक बिक्री हो । यसअघि मार्च २०२० र मार्च २०२३ मा विदेशी लगानीकर्ताहरूले यस्तै गरी अमेरिकी बजारमा ठूलो परिमाणमा सेयर बिक्री गरेका थिए । रोचक कुरा के छ भने विदेशी लगानीकर्ताहरूले पछिल्लो चार हप्तामा युरोपमा ४ अर्ब डलरको लगानी गरेका छन्, जुन पछिल्लो १० वर्षमा सबैभन्दा उच्च हो । यद्यपि, अमेरिकी इक्विटीमा अझै पनि विदेशी लगानीकर्ताहरूको हिस्सा १६ ट्रिलियन डलर रहेको छ । यो अमेरिकी सेयर बजारको कुल मूल्यको लगभग २३ प्रतिशत हो। तर पछिल्ला दिनहरूमा विदेशी लगानीकर्ताहरूको धारणा निकै छिटो परिवर्तन भइरहेको देखिन्छ । अमेरिकी सेयर बजार पछिल्लो समय निकै ओरालो लागेको छ । जनवरी ३१ देखि एसएन्डपी ५०० इन्डेक्समा ६.५ प्रतिशत र अमेरिकी डलर इन्डेक्समा ३.५ प्रतिशत गिरावट आएको छ । यसअघि २००८ मा मात्र अमेरिकी सेयर र डलर दुवैमा एकैपटक यति ठूलो गिरावट देखिएको थियो । डिसेम्बर २००७ देखि मार्च २००८ सम्म एसएन्डपी ५०० इन्डेक्समा १०.२ प्रतिशत र अमेरिकी डलर इन्डेक्समा ५.४ प्रतिशत गिरावट आएको थियो । विदेशी बजारहरूको अवस्था पछिल्लो २१ दिनमा विश्वका ९० प्रतिशत स्टक इन्डेक्सहरूले अमेरिकाभन्दा राम्रो प्रदर्शन गरेका छन्, जुन २०२२ पछि सबैभन्दा उच्च प्रतिशत हो । पछिल्ला तीन हप्तामा यो अन्तर दोब्बर भएको छ किनकि सो अवधिमा एसएन्डपी ५०० इन्डेक्समा ६.५ प्रतिशत गिरावट आएको छ । उता जर्मन डीएएक्स इन्डेक्समा २.१ प्रतिशत वृद्धि देखिएको छ जबकि जापानको निक्केई १.४ प्रतिशतले घटेको छ । क्यानडाको स्टक मार्केट टीएसएक्स कम्पोजिट ०.७ प्रतिशतले घटेको छ भने बेलायतको एफटीएसई १९९ इन्डेक्समा खासै परिवर्तन देखिएको छैन । (एजेन्सीहरूको सहयोगमा)
अब वीर अस्पतालमा महिलाको निःशुल्क परीक्षण हुने
काठमाडौं । स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुरु गरेको परीक्षण अभियानमा काठमाडौं महानगरले सहकार्य गरेको छ । अब महानगरसँगको सहकार्यमा वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने भएको छ । यससम्बन्धमा काठमाडौं महानगर र वीर अस्पतालबीच सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र महानगर उपप्रमुख सुनिता डंगोलको उपस्थितिमा दुवै पक्षबीच नागरिकको निःशुल्क परीक्षण सम्बन्धी सम्झौता भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सरविरुद्ध सजगताका लागि देशैभर फागुन महिनाभर निःशुल्क परीक्षणको निर्णय गरेर कार्यान्वयनमा ल्याएका थिए । रोगको उपचारात्मक सेवामा सुधारसँगै रोग लाग्न नदिन सचतेतताका लागि यो कार्यक्रम आवश्यक रहेको भन्दै सहकार्यका लागि मन्त्री पौडेलले काठमाडौं महानगरप्रति आभार प्रकट गरे । ‘स्वास्थ्य क्षेत्रमा तीन सरकार बेग्ला बेग्लै होइन मिलेर सहकार्य गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ मन्त्री पौडेलले भने, ‘मिलेर स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि काठमाडौं महानगरसँगको सहकार्य हाम्रा लागि उत्कृष्ट प्रेरणा र उदाहरण हो ।’ काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले स्तन तथा पाठेघरको मुखको क्यान्सर महिलाका लागि ठूलो समस्या बनिरहेको अवस्थामा यस सहकार्यले महिलाहरुको जीवनरक्षा हुने विश्वास व्यक्त गरिन् । निर्देशक डा. दिलिप शर्माका अनुसार सबै नागरिकका लागि निःशुल्क रहने सुविधा उपलब्ध गराउन काठमाडौं महानगरले आर्थिक सहयोग गर्नेछ भने वीर अस्पतालले अंकोलोजी वार्डमार्फत जनशक्ति व्यवस्थापन गर्नेछ ।