पुँजीगत खर्च वृद्धिका लागि सक्रिय भएर लाग्न मन्त्रालयलाई अर्थमन्त्री पौडेलको निर्देशन
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पुँजीगत खर्चबारे अर्थ मन्त्रालयले अरू विषयगत मन्त्रालयहरूसँग छलफल गरेको छ । अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत ११ गतेसम्म पुँजीगततर्फ ८७ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ मात्रै खर्च भएको छ । कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च वृद्धिका लागि सक्रिय भएर लाग्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिए । ‘अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको सुरूदेखि नै गर्नुपर्ने काम र सहजीकरण गरेको छ । विषयगत मन्त्रालय पनि ‘प्रो एक्टिभ’ रूपमा प्रस्तुत हुनुहोस्,’ अर्थमन्त्री पौडेलले भने, ‘स्रोतको व्यवस्थापन र सहजीकरण अर्थले गर्ने हो । आउनुपर्ने परिणाम र गर्नुपर्ने काम सम्बन्धित मन्त्रालयको हो ।’ अर्थमन्त्री पौडेलले बजेट निर्माण, बजेटको विनियोजन र कार्यान्वयनमा कुशलता प्रदर्शन गर्न जरूरी रहेको बताए । अर्थ सचिव घनश्याम उपाध्यायले खर्च गर्ने क्षमताअनुसार आगामी वर्षको बजेटका लागि कार्यक्रम तथा योजना पेस गर्न आग्रह गरे । राजस्व सचिव दिनेशकुमार घिमिरेले बजेटको सिलिङ बाँड्दा पुगेन भन्ने र खर्च नगर्ने शैलीमा सुधार हुनुपर्ने बताए । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेट खर्च गर्न नसक्ने भए समयमै ‘सरेन्डर’ गर्न पनि विषयगत मन्त्रालयहरूलाई निर्देशन दिएको छ । छलफलमा सहभागी विषयगत मन्त्रालयका सचिवहरूले बजेटमा समावेश कार्यक्रम कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै पुँजीगत खर्च वृद्धिका लागि अन्तर मन्त्रालयबीच समन्वय, रकमान्तर, भुक्तानी प्रक्रिया, नीतिगत स्पष्टता गर्दै अघि बढिरहेको र चालु आर्थिक वर्षको अन्त्यसम्ममा गत वर्षको भन्दा बढी पुँजीगत खर्च हुने बताएका थिए ।
५६ अर्ब बराबरको खानेतेल निर्यात, अर्जेन्टिना, युक्रेन, अस्ट्रेलियासँग व्यापार घाटा उच्च
काठमाडौं । नेपालले पछिल्लो ८ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात ११.२० र निर्यात ५७.२० प्रतिशतले बढेको छ । अर्थात् गतवर्षको तुलनामा यसवर्ष नेपालको निर्यातमा खानेतेलको निकै ठूलो हिस्सा देखिएको छ । पछिल्लो ८ महिनामा १ खर्ब ५८ अर्ब रुपैयाँको निर्यात गर्दा नेपालले ४७ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ बराबरको भटमास (सोयाबिन) तेल मात्रै निर्यात गरेको छ । त्यस्तै, ७ अर्ब ९८ करोड २३ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेल, ५ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको अलैंची, ४ अर्ब ३२ करोड ३९ लाख रुपैयाँको कार्पेट निर्यात भएको छ । विभागका अनुसार चालु आवको दोस्रो चौमासिक अवधिसम्म मुलुकले कुल १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँको घाटा बेहोरेको छ । पछिल्लो ८ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । छिमेकी मुलुक भारतसँग मात्र नेपालले ८ महिनामा ५ खर्ब ६३ अर्ब ६७ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ । गत साउनदेखि फागुनसम्म भारतबाट ६ खर्ब ८८ अर्ब ६८ करोड रुपैयाँको आयात हुँदा १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ । चीनसँग २ खर्ब १९ अर्ब १८ करोड रुपैयाँको आयात र २ अर्ब १२ करोड रुपैयाँको निर्यात हुँदा २१ अर्ब ७० करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ । साथै अर्जेन्टिना, युक्रेन, युनाईटेड अरब ईमिरेट्स, अस्ट्रेलियालगायतका मुलुकहरुसँग नेपालको व्यापार घाटा उच्च छ । उक्त अवधिमा ३४ वटा मुलुकसँगको व्यापारमा नेपाल नाफामा छ । अफगानिस्तान, डेनमार्क, रसिया, अस्ट्रिया, माल्दिभ्सलगायतका मुलुकसँगको वैदेशिक व्यापारमा नेपाललाई नाफा छ । सो अवधिमा पेट्रोलियम पदार्थको आयात उच्च छ । पछिल्ला ८ महिनामा नेपालले ७८ अर्ब ८६ करोड ३७ लाख रुपैयाँको डिजेल, ४२ अर्ब ८० करोड १७ लाख रुपैयाँको पेट्रोल र ४१ अर्ब रुपैयाँ बराबरको एलपी ग्यास आयात गरेका छ । त्यस्तै, ९ अर्ब ६९ करोड २२ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी साधन र २ अर्ब ११ करोड रुपैयाँ बराबरको अन्य सवारीसाधन आयात भएको छ । यो अवधिमा २१ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ बराबरको १४ लाख ७ हजार ७८ वटा स्मार्टफोन आयात भएको पनि विभागको तथ्याङ्क छ ।
अलपत्र अवस्थामा रहेका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेट, कार्डबाटै भुक्तानी गर्न
काठमाडौं । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास कोष मातहत रहेका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गरी सञ्चालन गर्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय राजेश्वर तिवारी र पुण्यशिला दवाडी घिमिरेको संयुक्त इजलासले लामो समयदेखि अलपत्र अवस्थामा रहेका ती सवारीसाधनलाई हरियो नम्बर प्लेटमा रूपान्तरण गरी पर्यटन प्रयोजनका लागि सञ्चालन गर्न परमादेश जारी गरेको हो । एसियाली विकास बैंकको ‘ग्रीन इनर्जी फण्ड’बाट नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत विसं २०७८ मा लुम्बिनी बिकास कोषलाई पर्यटन प्रयोजनका लागि हस्तान्तरण भएका ५ बस र १४ भ्यानसहित १९ विद्युतीय गाडीलाई सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा परिवर्तन गरी उद्देश्यअनुसार सञ्चालन गर्न अदालतले एक महिनाको समय सीमा तोकेको छ । ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसुची २ को भाग १ को खण्ड ‘ख’ बमोजिम सेतो नं. प्लेटमा भएका ती सवारी शाधनलाई हरियो नं. प्लेटमा परिवर्तन गर्न सकिने कानुनीमार्ग उपलब्ध रहिरहेको हुँदा सोही मार्ग अवलम्बन गरी प्रस्तुत आदेशको जानकारी प्राप्त गरेको मितिले एक महिनाभित्र उक्त सवारी साधनलाई हरियो नं. प्लेटमा परिवर्तन गरी पर्यटन प्रयोजनका लागि सञ्चालनमा ल्याउनु भनी विपक्षीको नाउमा परमादेश जारी हुनेछ,’ अदालतको आदेशमा लेखिएको छ । लुम्बिनी प्रदेश सरकार, यातायात ब्यवस्था मंत्रालय, लुम्बिनी बिकास कोष, लुम्बिनी, यातायात ब्यवस्था कार्यालय बुटवल र जिल्ला प्रशासन कार्यालय रुपन्देही समेतलाइ बिपक्षी बनाइ मधेश मानव अधिकार गृह (माहुरी होम)का तर्फबाट राम विकास चौधरी समेतले दायर गरेको रिट निबेदनमा अधिवक्ताद्वय रेशम अधिकारी र बाबुराम भुसालले निवेदकको पक्षमा बहस गरेका थिए । साथै, विपक्षी कार्यालयहरूको तर्फबाट मुख्य महान्यायधिवक्ता यमलाल खनाल, वरिष्ठ अधिवक्ता लिलाधर मरासिनी, सहायक न्यायाधिवक्ता रमेश पोखरेल र अधिवक्ता पार्वती अधिकारीले बहस गरेका थिए । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहमती, लुम्बिनी प्रदेश सरकारको निर्णय तथा सार्वजनिक लेखा समितिको निर्देशन अनुसार नम्बर प्लेट परिवर्तन गरिनुपर्ने भएपनि यातायात व्यवस्था कार्यालय, बुटवलले कार्यान्वयन नगरेका कारण ती सवारी लामो समयसम्म सञ्चालनमा आउन नसकेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकराम खाँले बताए । ‘लुम्बिनी विकास कोषले २०७९ सालमै प्रतिवेदन तथा कार्यविधिको मस्यौदा तयार पारेको भए तापनि नम्बर प्लेट परिवर्तन नभएकाले कार्यान्वयन हुन सकेको थिएन,’ रिट निबेदक तथा लुम्बिनी बचाउ सङ्घर्ष समितिका सदस्य मेघनाथ आचार्यले भने, ‘परमादेशसँगै कोषलाई अब आवश्यक परिवर्तन गरी विद्युतीय बस तथा भ्यान सञ्चालन गर्न बाटो खुलेको छ ।’ हाल कोषले दानपत्र सङ्कलनमार्फत २ वटा बस सञ्चालन गरिरहेको छ । यो परमादेशले लुम्बिनी क्षेत्रका पर्यटकहरूको सुविधाका लागि विद्युतीय सवारीको व्यवस्थित सञ्चालनमा मार्ग प्रशस्त गरेको आचार्यले बताए । विसं २०७७ मङ्सिर ९ गते लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन भन्दै एसियाली विकास बैंकको १३ करोड रुपैयाँ अनुदानमा १४ वटा विद्युतीय भ्यान र ५ वटा विद्युतीय बस ल्याइएको थियो । सेतो प्लेटका गाडीलाई सरकारी कामबाहेक अन्य काममा प्रयोग गर्न पाइँदैन । सेतो प्लेटका सरकारी गाडीलाई हरियो वा अर्को कुनै नम्बर प्लेटमा परिवर्तन गर्न पाउने प्रावधान यातायात व्यवस्था ऐनमा नभएको भन्दै यातायात व्यवस्था विभाग बुटवलले नम्बर परिवर्तनको लागि अनुमति दिएको थिएन । एडिबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १४ वटा विद्युतीय भ्यान, ५ वटा बस, सौर्य ऊर्जा प्लान्ट र चार्जिङ स्टेशनसहित ३५ करोड रुपैयाँ लगानी भएको थियो । क्लिन इनर्जीले गाडी नेपाल ल्याउँदा मात्र भन्सार शुल्कमै ८ करोड रुपैयाँ बुझाएको थियो । वातानुकूलित, अपाङ्गतामैत्री र स्वचालित ढोका भएका ती बसमा १९ सिट र भ्यानमा ५ सिट क्षमता रहेको छ । एक पटक पूरा चार्ज गरेपछि ४ सय किलोमिटरसम्म गुड्न सक्ने ती बस/भ्यानमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा छ ।
हिमाल आरोहणका लागि ५८ जनाले पाए अनुमति, सगरमाथाका लागि छिट्टै दिइने
काठमाडौं । यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण-१ सहित विभिन्न चुली आरोहणका लागि ८ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन् । हालसम्म नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका निर्देशक लिलाधर अवस्थीले वसन्त यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको बताए । ‘यो यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको छ, सगरमाथा आरोहणका लागि छिट्टै अनुमति दिइनेछ । सगरमाथा क्षेत्रमा आरोहणको चहलपहल बढेको छ,’ उनले भने । सगरमाथा आरोहणका तयारी व्यवस्थापनमा आरोहण गराउने कम्पनी जुटेका छन् । विभागका अनुसार सगरमाथा आधार शिविरमा अहिले स्नो होराइजन, पायोनियर, सेभेनसमिट ट्रेक, सेभेन समिट क्लब, एलिट एक्सिपीडिसन, हिमालयन गाइड्स, एसियन ट्रेकिङलगायत कम्पनीले शिविर व्यवस्थापनलगायतका काम गरिरहेका छन् । वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् । वसन्त ऋतुको सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले ‘आइसफल डाक्टर’ खटाएको छ । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो बनाउन एसपीसीसीले १० जनाको टोली खटाएको हो । यस्तै सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) कामका लागि हालै दक्ष सगरमाथा आरोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घले अशोक लामाको नेतृत्वमा ८ सदस्यीय १० शेर्पा आरोहीलाई सगरमाथाको चुचुरोसम्म डोरी टाँग्नका लागि खटाएको हो । सङ्घका महासचिव ऋषिराम भण्डारीका अनुसार वसन्त ऋतुको सगरमाथा र ल्होत्से हिमाल आरोहणका लागि आरोही केही दिनअघि सगरमाथा गएका छन् । सन् २०२५ को वसन्त ऋतुमा सगरमाथा, ल्होत्से र आमादब्लम हिमाल आरोहणका लागि रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीले पाएको छ ।
काँकडभिट्टाबाट १२.६४ अर्बको पेट्रोलिय भित्रियो, आयात घटे पनि राजस्व बढ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा पूर्वीनाका झापाको काँकडभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख रुपैयाँ मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ । पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ तथा मट्टितेल आयात भएको हो । गत आवको ८ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६४ करोड १७ लाख ५९ हजार रुपैयाँले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको ८ महिनामा १३ अर्ब ३८ करोड ३३ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताए । कार्यालयको तथ्याङ्कानुसार चालु आवका ८ महिनामा पेट्रोलिय पदार्थको आयातबाट ६ अर्ब १२ करोड ४२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढी हो । गत आव २०८०/८१ को ८ महिनामा ५ अर्ब ८० करोड १८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली हुनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने हुँदा सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
‘बाहिरबाट राम्रो देखिए पनि प्राधिकरण संकटमा छ, डेडिकेडेट र ट्रंक लाइनको विवाद समाधान गर्छु’
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले बाहिरिबाट हेर्दा विद्युत प्राधिकरण राम्रो भएको देखिएपनि भित्रि रूपमा भने संकटमा रहेको धारणा राखेका छन् । मंगलबार साँझ कार्यालय पुगेर पदभार ग्रहण गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘बाहिरिबाट हेर्दा धेरैले प्राधिकरणको प्रंशसा गरेका छन् । नाफा बढेको भनेर वाहीवाही गरिरहेका छन् । वास्तविक अवस्था त्यस्तो छैन । विद्युत प्राधिकरणका कर्मचारीहरूले संकटमा रहेको भनिरहेका छन्,’ उनले भने । यस्तै, उनले वर्तमान ट्रंक र डेडिकेटेड लाइन बक्यौता विवाद आफ्नो नेतृत्वमा समाधान गर्ने बताएका छन् । छानविन समितिले दिएको सुझावका आधारमा सो समस्याको निष्पक्ष समाधान गर्ने उनको भनाइ छ । आफूले यसलाई अवसरका रुपमा लिएको उनले बताए । साथै, उनले अबको चुनौति लोडसेडिङ नभई विश्वसनीय विद्युत सेवा दिनुपर्ने रहेको धारणा राखे । अदालतले दिन नसकेको न्याय सरकारबाट पाएको उनको भनाइ छ । ‘मेरो नियुक्ति अवसरका रुपमा लिएको छु । पहिलाको अवसर बिचमा टुटेको थियो । उर्जाको हिसाबले देश संकटपूर्ण छ । बाहिरिबाट हेर्दा सबै राम्रो देखिएपनि आन्तरिक रुपमा भने चुनौति छ,’ उनले भने ।
सबै नेपालीका पूर्खाले लडेर यो देश बनाएको हो, अबको युुगमा राजतन्त्र फर्कँदैन: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको युग व्यक्तिलाई नायक मान्ने राजतन्त्रात्मक व्यवस्थामा फर्कन नसक्ने भएकाले त्यस्तो भ्रममा कोही पर्न नहुने बताएका छन् । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा कांग्रेस नेत्री सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानो बुबा’ (आत्मकथा)को आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले कुनै एक व्यक्ति वा उसको खान्दानलाई संस्था मानेर हिँड्नु पछौटेपन र सामन्तवादी सोच भएको उल्लेख गरे । ‘सबै नेपालीका पूर्खाले लडेर यो देश बनाएको हो, कुनै एकजना व्यक्तिले बनाएको होइन, कसैले नायकत्व दिएको होला फरक त्यत्ति मात्रै हो,’ प्रधानमन्त्रीले भने, ‘अबको युग त्यसमा फर्कन सक्दैन, त्यस्तो भ्रमका पछाडि कोही नपर्दा हुन्छ ।’ प्रधानमन्त्री ओलीले सबैका विचार फरक भए पनि देश बनाउने साझा गन्तव्य एउटै हुनुपर्नेमा जोड दिँदै देश र जनताको हितको सबैले इमान्दारीका साथ काम गर्नुपर्नेमा जोड दिए । उनले लोकार्पित आत्मकथाबाट पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेत्री सुजता कोइरालाको जीवनका विषयमा धेरै जान्न सकिने उल्लेख गरे । समारोहमा कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालासँग आफ्नो उतारचडावको सम्बन्ध रहेको स्मरण गरे । कांग्रेसका नेता डा.शेखर कोइरालाले माओवादीको जनयुद्धपछि देशलाई शान्ति प्रक्रियामा ल्ययाउनका लागि पूर्वप्रधानमन्त्री गिरिजाप्रसादले पुर्याएको योदानको चर्चा गरे ।