विकासन्युज

शनिबार भैरहवामा नेपाल पुलिस र आर्मी भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबी प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीका कप्तानले आफूहरू फाइनलका लागि सम्पूर्ण रूपमा तयार रहेको बताएका छन् । आज भैरहवामा पत्रकार सम्मेलन आयोजना गर्दै त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री कपअन्तर्गत सम्पूर्ण खेलहरू पहिलो पटक उपत्यका बाहिर खेल्न पाउनु अभूतपूर्व रहेको टिप्पणी गरे । उपत्यका बाहिर पहिलो पटक खेलिने फाइनल खेलका लागि तयार रहेको भन्दै भोलि सौहार्दपूर्ण वातावरणमा खेल सकिने उनले बताए । भण्डारीले मुलुकभित्र क्रिकेट खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिता देशभरि आयोजना गर्नुपर्ने बताए । उपत्यका बाहिर पनि स्तरीय खेल मैदानहरू निर्माण भइसहेकाले अब काठमाडौंमा केन्द्रित हुन आवश्यक नभएको कप्तानद्वयको भनाइ छ । सबै स्थानमा खेल मैदान भएकाले यसले क्रिकेटको विकासमा टेवा पुर्‍याउने भन्दै उपत्यका बाहिर यो वर्षदेखि खेल खेलाएर क्रिकेटमा विकेन्द्रीकरणको सुरुवात भएको नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरीले बताए । प्रधानमन्त्री कप क्रिकेटमा राष्ट्रिय टोलीका खेलाडीभन्दा प्रदेशस्तरीय खेलाडीले उल्लेख्य प्रदर्शन गरेका छन् । कप्तानद्वयले विभागीय खेलाडीको प्रदर्शनभन्दा कसरी उदियमान खेलाडीको प्रदर्शन उच्च भएको बताउँदै प्रधानमन्त्री कपको उद्देश्य लुकेका प्रतिभालाई सबैको सामु ल्याउनु रहेको उल्लेख गरे । जारी प्रतियोगितामा ९ खेल खेलेको नेपाल पुलिस आठमा जितसहित प्रतियोगिताको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो भने ९ खेल खेलेको आर्मी पनि ८ मा जित निकाल्दै दोस्रो स्थानसहित फाइनल पुगेको छ । लिग चरणको अन्तिम खेलमा भने त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४ विकेटले हराएको थियो । विसं २०१७ देखि सुरु प्रधानमन्त्री कपमा अहिलेसम्म नेपाल पुलिस क्लबले दुईपटक उपाधि जितेको छ । आर्मीले एकपटक मात्रै उपाधि हात पारेको छ । गत वर्षको फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो । आर्मी यसपटक जित निकाल्ने योजनामा छ भने राम्रो गतिमा रहेको पुलिस आर्मीमाथि लगातार जित निकाल्ने योजनामा छ । फाइनलमा पुग्दा आर्मी रनरेटमा पहिलो बन्दा पुलिस दोस्रो बनेको छ । पहिलोपटक प्रधानमन्त्री कपका सबै खेल लुम्बिनी प्रदेशमा भएका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट मैदान खेल भएका छन् । कूल ४६ खेलमध्ये ४५ खेल सम्पन्न भएर अन्तिम उपाधिका लागि भोलि प्रतिस्पर्धा हुँदैछ । गत फागुन २५ देखि सुरु खेल भोलि समापन हुनेछ । उपाधि रक्षाका लागि दुवै टिमले आन्तरिक रणनीति बनाएका छन् । भोलि बिहान भैरहवास्थित सिद्धार्थ रङ्गशालामा बिहान ९ बजेदेखि फाइनल खेल हुँदैछ ।

प्रदर्शनको ४ वटा टोलीबाट अनुगमन, हिंसात्मक गतिविधि बन्द गर्न आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत पक्षलाई हिंसात्मक गतिविधि बन्द गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टिकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा आन्दोलरत पक्षलाई आफ्ना प्रदर्शन र कार्यक्रमलाई शान्तिपूर्ण बनाउन आग्रह गर्दै हिंसात्मक गतिविधि बन्द गर्न अनुरोध गरेका हुन् । उनले कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरुको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न नसकिने भन्दै सरकारलाई हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न आग्रह गरेको छ । ‘समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरुले आज चैत १५ गते उपत्यकामा गरेको प्रदर्शन र आमसभाको आयोगले चार वटा उच्चस्तरीय टोलीहरू बनाइ अनुगमन गरेको थियो,’ उनले भने, ‘काठमाडौंको तीनकुनेमा राजतन्त्र समर्थकद्वारा भएको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको अनुगमनबाट पाइएको छ ।’ आयोगले अनुगमन गर्दा प्रदर्शनकारी तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँवानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको, व्यक्तिको घरमा ढुङ्गा हान्ने र आगजनी गर्ने काम गरेको पाइएको जनाइएको छ । आयोगले झडपमा परी प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् । प्रदर्शनकारीले तीनकुने क्षेत्रमा सञ्चारमाध्यमका भवन, कलेजका भवन, तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण गर्नुका साथै आगो निभाउन हिँडेका दमकल तथा सशस्त्र प्रहरीको गाडीमा समेत ढुङ्गा प्रहार गरेका आयोगले जनाएको छ । आयोगका प्रवक्ता डा पोखरेलले अनुगमनका क्रममा हिँडेको आयोगको अनुगमन टोलीमाथि प्रदर्शनकारीबाट कोटेश्वरमा साङ्घातिक आक्रमण गरी अनुगमन टोलीमा संलग्न कर्मचारीलाई घाइते बनाएका बताए । ‘प्रहरीले भीड नियन्त्रण गर्न पानीका फोहराको प्रयोग र हवाइ फायर गरेको तथा व्यक्तिको निजी आवास प्रयोग गरी अश्रु ग्यास प्रहार गरेको देखिएको छ,’ उनले भने । आयोगले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको विषय भएता पनि आफ्नो अधिकारकोे प्रयोग गर्दा अरुको अधिकारमा असर पार्नु मानव अधिकारको मूल्यमान्यता विपरीत हुन जाने बताएको छ ।

अन्नपूर्ण हिमालबाट डेढ करोड रुपैयाँ आम्दानी, आरोहणका लागि ४२ जनाले लिए अनुमति

काठमाडौं । वसन्तयाममा अन्नपूर्ण प्रथम हिमाल आरोहरणका लागि ४२ जनाले अनुमति लिएका छन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको भूगोलमा पर्दछ । वसन्तयामका लागि ४ समुहका ३० पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका पर्यटन विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिए । उनका अनुसार वसन्तयामका लागि हालसम्म नेपालका ५ वटा हिमाल आरोहरण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण आरोहण गर्नेहरू छन् । अघिल्लो वर्षभन्दा यो वर्ष अन्नपूर्ण आरोहण गर्न अनुमति लिने आरोहीहरू बढेका छन् । अन्नपूर्ण हिमाल आरोहण अनुमति दिएबापत विभागले १ करोड ४७ लाख ९ हजार ४२० रुपेयाँ शुल्क सङ्कलन भएको विभागका निर्देशक न्यौपानेले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्षको वसन्तयाममा २५ जनाले अनुमति लिँदा ५९ लाख ६१ हजार ७८० रुपैयाँ शुल्क सङ्कलन भएको थियो । अनुमति लिएका आरोहीहरू आधार शिविर पुग्न थालेका अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोज पदमार्गका अभियन्ता तेज गुरुङले बताए । अन्नपूर्ण आरोहणका लागि योयाम उपयुक्त मानिन्छ । उनका अनुसार अन्नपूर्णको हालसम्म ४८८ जनाले सफल आरोहण गरेका छन् । आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आगामी जेठ २० गते अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण आधार शिविरमा विशेष कार्यक्रमको तयारी गरेको पालिका कार्यालयले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्णमा पहिलो पटक आरोहण गरेका थिए। मौरिसले अन्नपूर्ण आरोहण गरेको ३ वर्षपछि सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।

विमानस्थल क्षेत्रमा भौतिक संरचनामा आगजनी, अवरुद्ध त्रिभुवन विमानस्थलको उडान सञ्चालन

काठमाडौं । आन्तरिक तथा वाह्य उडान अवरुद्ध भएको त्रिभुवन अन्तराराष्ट्रिय विमानस्थलमा अहिले नियमित उडान सञ्चालन भएको छ । विमानस्थल आसपासका क्षेत्रमा पूर्वराजाका सर्मथकहरूले सवारीसाधन, कार्यालयलगायत भौतिक संरचनामा आगजनी गरेकाले अवरुद्ध बनेको विमानस्थलको उडान अहिले सञ्चालन भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनले भने, ‘आगजनीका कारण उडान अवतरण करिब ४५ मिनेट अवरुद्ध भएको थियो । अहिले सामान्य भएपछि आन्तरिक तथा बाह्य उडान नियमित रूपमा सञ्चालन भइरहेका छन् ।’ प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास आगो लगाएपछि सुरक्षाको कारण देखाउँदै जहाज उडान तथा अवतरण रोकिएको थियो । उडान अवतरण अवरुद्ध भएको समयमा आएका जहाजहरू भैरहवा, पोखरा र विराटनगरका विमानस्थलमा ‘डाइभर्ड’ गरिएको बताउँदै निरौलाले अहिले सबै जहाजहरू त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरिरहेका जानकारी दिए ।

तीनकुनेको भवनमा आगलागीमा परेर पत्रकारको मृत्यु, निधन हुनेको संख्या दुई पुग्यो

काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । अहिले घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार पुगेका छन् । यो सँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि सविन महर्जनको मृत्यु भएको थियो ।

दुर्गा प्रसाईंलाई तत्काल पक्राउ गरेर कारबाही गर्ने सरकारको तयारी

  काठमाडौं । राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउन सरकारले तयारी थालेको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै सरकारको उक्त तयारीबारे जानकारी गराएका हुन् ।  

तीनकुने झडपमा घाइते भएका सविनको मृत्यु

काठमाडौं । काठमाडौंमा आज भएको राजावादी आन्दोलनका क्रममा एकजनाको मृत्यु भएको छ । स्रोतले दिएको जानकारीअनुसार तीनकुने क्षेत्रमा सविन महर्जनको मृत्यु भएको हो । आन्दोलनले उग्र रुप लिएपछि उक्त स्थान तनावग्रस्त बनेको थियो । अहिले तीनकुने क्षेत्र आसपासमा कफ्यू जारी गरिएको छ भने नेपाली सेना सडकमा तैनाथ छन् ।

राजावादीले भाटभटेनीबाट महँगा मदिरा लुटे, जडिबुटी कम्पनीमा आगजनी

काठमाडौं । राजावादी प्रदर्शनकारीहरूले कोटेश्वरको भाटभटेनी सुपर मार्केटबाट महँगो मदिरासँगै अन्य सामान लुटेका छन् । उनीहरुले फलफूल, तरकारीसँगै घडी लगायत महँगा वस्तु लुटेका हुन् । प्रदर्शनककारीहरूले भाटभटेनी सुपर स्टोरको भवनका सिसा फुटाएका छन् । यस्तै, प्रदर्शनकारीले काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेका छन् । आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको थिएन ।