अराजकता मच्चाउने राजावादीका १७ जना पक्राउ, सुवेदी नजरबन्द, दुर्गा प्रसाईं फरार
काठमाडौं । प्रहरीले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शम्सेर जबरासहित डेढ दर्जन व्यक्तिलाई पक्राउ गरेको छ । राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा मिश्र, जबरासहित १७ जना पक्राउ गरेको हो । मिश्र र राणालाई ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको हो । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्याइएपछि मिश्र, राणासहित स्वागत नेपाल, सेफोर्ड लिम्बु, सन्तोष तामाङलाई पक्राउ गरिएको हो । उनीहरूलाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको हो । उनीहरूलाई उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीसँगको झडपका क्रममा १२ जना भने शुक्रबार दिउँसै पक्राउ परेका हुन् । ‘राजसंस्था पुनः स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलाई भने गौरीघाटस्थित घरमै नजरबन्दमा राखिएको छ । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मिलेर काठमाडौंको तीनकुनेमा प्रदर्शनको नाममा हिंसात्मक गतिविधि गरेको आरोप छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र सुवेदीको नेतृत्वको समूहले गरेको प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका छन् । घटनाका प्रमुख दोषी मानिएका प्रसाईँ तीनकुनेबाट भागेपछि भूमिगत भएका छन् । सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाईँ घरमा नगई भूमिगत भएका हुन् । उनलाई पक्राउ गर्न प्रहरी परिचालन भए पनि राति ११ बजेसम्म फेला परेका छैनन् ।
तीनकुने घटनाका दोषीलाई कारबाही गर्ने सरकारको निर्णय, घाइतेको निःशुल्क उपचार गराउने
काठमाडौं । सरकारले पूर्वराजावादीको समर्थकहरुले गरेको प्रदर्शनबाट भएको घटनाको सत्यतथ्य छानबिन गरेर कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ । शुक्रबार बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको निःशुल्क उपचार गराउने पनि निर्णय गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । साथे सरकारले पूर्वराजाका समर्थकहरूले काठमाडौंको तीनकुनेमा घटाएको घटनाक्रमप्रति घोर भत्र्सना गरेको छ । आजको घटनाका दोषीलाई छानबिन गरी कारबाही गर्ने निर्णय पनि सरकारले गरेको छ । आगामी दिनमा यस्ता घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिउको मन्त्री गुरुङले बताए ।
जडिबुटी प्रशोधन केन्द्रको आगजनी ४ घण्टामा निभाइयो
काठमाडौं । पूर्वराजाका समर्थकहरुले आज जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको जडिबुटीस्थित कार्यालयमा लगाएको आगो ४ घण्टा पछि निभाइएको छ । कोटेश्वरबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदर्शनकारीले एक्कासी प्रशोधन कम्पनीमा प्रवेश गरी अपरान्ह आगजनी गरेका थिए । आगो निभाउन परिचालित जुद्ध वारुण यन्त्र भक्तपुरका ३ वटा, काठमाडौं महानगरपालिकाका २ र ललितपुर महानगरपालिकाको १ गरी ६ वटा दमकलले ४ घण्टामा आगो निभाएको जुद्ध बरुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिए । उनले भने, ‘जम्मा ६ वटा दमकलले राति ९ बजे आगो निभाएर फर्कियौँ ।’ उनले सन्चोलगायत जडिबुटीका औषधि बनाउदा प्रयोग हुने केमिकल बलेपछि आगो थप बढेकाले निभाउन समय लागेको बताए । आगो निभाउन गएको जद्ध बारुण यन्त्रको एक दमकलसमेत ओन्दालनकारीले तोडफोड गरेको कार्यालय प्रमख धौभडेलले जानकारी दिए ।
राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ
काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ परेको हो । प्रहरीले केही समय अघि उनीहरूलाई नियन्त्रणमा लिएको जनाउको छ । शुक्रबारको घटनाबारे अनुसन्धानका लागि प्रक्राउ गरिएको जनाएको छ । दुवै जनालाई अस्पतालमा घाइतेलाई भेटेर फर्कने क्रममा नियन्त्रणमा लिइएको हो ।
लम्बियो कर्फ्यूको समय, शनिबार बिहान ७ बजेसम्म रहने
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको कर्फ्यूको समय शनिबार बिहान ७ बजेसम्मका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, आज राती १० बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय शनिबार बिहानसम्मका लागि थप गरिएको हो । काठमाडौं महानगरपालिकाभित्रका विभिन्न स्थानमा चार किल्ला तोकी सो सिमाना भित्र कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ । बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि विमानस्थल, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वर बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म कर्फ्यू क्षेत्र तोकिएको छ । त्यसैगरी गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै बानेश्वर चोकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पूर्वराजा समर्थकको प्रदर्शन अराजक छ, पक्राउ गरी कडा कारबाही गर्नुपर्छ: पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराजाका समर्थकहरूले गरेको प्रदर्शन अराजक भएको बताएका छन् । पूर्वप्रधानमन्त्री खनालले एक विज्ञप्ति जारी गर्दै उनीहरूले तीनकुनेमा प्रदर्शनका क्रममा आफ्नो पार्टी कार्यलय, विभिन्न सञ्चारगृह, मार्बल हाउसमा तोडफोड तथा आगजनी गरेको घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । गणतन्त्र, संविधानी र व्यवस्था विरोधीहरूद्वारा गरिएको विध्वंसात्मक प्रदर्शनले निजी पसल, भाटभटेनी सुपरमार्केटमा भएको लुटपाट, जडीबुटी उत्पादन कारखानामा आगजनी भएकामा दुःख प्रकट गर्दै अराजक गतिविधि रोक्ने कार्यमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले उनीहरूले प्रहरीमाथि ढुङ्गामुढा, निजी घरहरूमा आक्रमण तथा कोटेश्वरमा पार्टी अध्यक्षको निवासमा समेत आक्रमणको प्रयास गरेको साथै पत्रकारको हत्या गरेको घटनालाई अराजनीतिक, अराजक र निन्दनीय रहेको बताए । उनले आतङ्क मच्चाउनेहरूलाई तुरून्त पक्राउ गरी कडा कारबाही गर्न सरकार समक्ष माग गरे । मुलुकको परिस्थितिलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै नेता खनालले देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई सचेत रहन आह्वान गरे । सरकारले प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधिको छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्नुपर्ने उनको भनाय छ ।
युवा सङ्गठनहरूले भने- ‘गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधिलाई स्वीकार्य छैन’
काठमाडौं । विभिन्न राजनीतिक दलसम्वद्ध युवा सङ्गठनले नेपाली जनताले बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधिलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् । उनीहरूले आज संयुक्त विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘हामी गणतन्त्रका लागि लड्ने राजनीतिक दलका युवा सङ्गठनहरू स्पष्ट रूपमा चेतावनी दिन चाहन्छौँ कि संविधान र लोकतान्त्रिक मूल्यमान्यताविपरीत गरिने कुनै पनि गतिविधि अस्वीकार्य र अक्षम्य हुनेछ ।’ काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटीलगायत क्षेत्रमा देखाएको उदण्डता, अराजकता र हिंसाको हामी घोर निन्दा र भत्र्सना गर्र्दै संयुक्त विज्ञप्तिमा संविधानविपरीतका गतिविधि गर्ने, समाजमा विखण्डन ल्याउने, हिंसा भड्काउने तथा गणतन्त्रविरोधी षड्यन्त्र गर्ने कुनै पनि समूह वा व्यक्तिलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन उनीहरूले आग्रह गरेका छन् । विज्ञप्तिमा देश शान्ति र समृद्धिको दिशातर्फ गइरहेको वर्तमान सन्दर्भमा प्रतिगमनका नाममा मुलुकलाई उल्टो बाटोतर्फ लैजानेगरी आपराधिक तवरले गरिएको सार्वजनिक सम्पत्ति, सवारीसाधन, सञ्चारगृह तोडफोड एवं सुपरमार्केटमा लुटपाट मच्चाएर समाजलाई आतङ्क सृजना गरिएकामा आपत्ति प्रकट गरिएको छ । उनीहरूले आम नागरिकलाई लोकतान्त्रिक प्रणालीलाई अझै समृद्ध गर्न, कमीकमजोरी सच्याउन खबरदारी गर्न, सामाजिक स्थायित्व र समृद्धिका लागि व्यवस्थाविरूद्ध हुने यस्ता अपराधजन्य कार्यप्रति सचेत रहन आह्वान गरेका छन् । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै पनि प्रतिगामी शक्तिको षड्यन्त्रबाट ढल्ने छैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सशक्त रूपमा संस्थागत गर्न हामी निरन्तर कार्य गरिरहने प्रतिबद्धता व्यक्त गर्छौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ यस्ता अपराधजन्य गतिविधि कायम रहेमा आफूहरूले कडा प्रतिवाद गर्ने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ । यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरूङ, राष्ट्रिय युवासङ्घ नेपालका अध्यक्ष क्षितिज थेवे, योङ कम्युनिस्ट लिगका अध्यक्ष सुवोध शेर्पाली, युवा सङ्गठन नेपालका अध्यक्ष दिनेश सी, नेपाल समाजवादी युवा सङ्घका अध्यक्ष मेघराज तामाङ छन् ।
‘नागरिकका असन्तुष्टिको हल संविधानबाट सम्भव छ, हिंसात्मक घटनाको निन्दा गरौँ’
काठमाडौं । नेपाली कांग्रेसले सङ्घीय राजधानीको तीनकुनेलगायत केही स्थानमा आज शान्तिपूर्ण प्रदर्शनका नाममा भएका हिंसात्मक घटनाको निन्दा गरेको छ । कांग्रेसले आज विज्ञप्तिमार्फत व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारीसाधन आदिमा भएको तोडफोड र आगजनीलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । ‘लोकतान्त्रिक गणतन्त्रको स्थापना २०६२/६३ को जनआन्दोलनबाट सोझै भएको होइन, आन्दोलनले केवल प्रतिनिधिसभा पुनःस्थापित गरेको थियो । संसद्मार्फत अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचन र त्यो निर्वाचनबाट चुनिएका जनताका प्रतिनिधिहरूको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लगेको थियो । यो वास्तविकतालाई आजको मितिमा हामी स्मरण गर्न र गराउन चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ । कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्तिमार्फत नागरिकमा रहेका कयौँ असन्तुष्टिको हल वर्तमान संविधानभित्रैबाट सम्भव रहेको उल्लेख गर्दै नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नवीनता दिन दृढ ढङ्गले प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । कांग्रेसले कमजोरीको निदान खोज्न र समाधान पहिल्याउन दृढ रहेको उल्लेख गर्दै समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकाङ्क्षा सम्बोधन यही संविधानको दायराभित्रैबाट क्रमशः गर्न सकिने जनाएको छ । ‘लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौँ शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन । कांग्रेस सबै राजनीतिक दललाई यसमा स्पष्ट ढङ्गले उभिन अपिलसमेत गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउनेप्रति कांग्रेसले श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको उपचारमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ । साथै कांग्रेसले हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको दायरामा अविलम्ब ल्याउन आग्रह गर्दै समस्त नेपालीमा संयम र एकताका लागि अपिलसमेत गरेको छ ।