विश्व बैंकले नेपाललाई २० अर्ब ४० करोड दिने, पुल सुधार तथा मर्मतमा खर्च हुने
काठमाडौं । विश्व बैंकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न २० अर्ब ४० करोड रुपैयाँ प्रदान गर्ने भएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आइतबार स्वीकृत गरेको हो । यो सहायता रकम नेपालका रणनीतिक सडक सञ्जालमा निर्मित पुलहरूको मर्मतसम्भार तथा सबलीकरणका निम्ति स्वीकृत गरिएको वासिङ्टन डिसीस्थित विश्व बैंकको प्रधानकार्यालयले जनाएको छ । नेपालको पुल प्रणालीले दुर्गम र सहरी समुदायको जीवन यापन, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक अवसरहरूका साथ अन्य आधारभूत सेवाहरूमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका तथा बाढी, पहिरो र भूकम्पलगायत प्राकृतिक एवं जलवायुजन्य जोखिमले पुलजस्ता पूर्वाधारमा गम्भीर असर गर्ने भएकाले तिनको सबलीकरणका निम्ति वित्तीय सहयोगको प्याकेज स्वीकृत गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदीको भाउमा गिरावट
काठमाडौं । आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला ६ सय रुपैयाँले वृद्धि भई नेपाल सुनचाँदी व्यवसायी महासंघले १ लाख ७६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ७६ हजार २ सय रुपैयाँ थियो । चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँमा झरेको छ।
कुलमानलाई कारवाही, ज्ञानेन्द्रलाई उन्मुक्ति
चैत्र १५ गते राजधानीका तीनकुने, कोटेश्वर, जडिबुटी क्षेत्र पुरै अराजक बने । राजावादीहरुको अराजक भीडले तोडफोड, लुटपाट, आगजनीसहित उत्पात मच्चायो । आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले टोयटाको बुलेटप्रुफ गाडी प्रहरी फौजमाथि नै जोते । प्रसाईंका सहयोगीहरुले पुलिसको बन्दुक खोसे । उनैको उक्साहटमा राजावादीहरुले निजी घरहरुमा लुटपाट गर्ने र आगो लगाउने काम गरे । देशको सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीमा लुटपाट मच्चाए । कान्तिपुर टिभी र अन्नपूर्ण पोष्टको अफिसमा तोडफोड गर्ने र आगो सल्काउने काम गरे । पुलिसका भ्यानमा मात्र होइन, जलिरहेको घरमा आगो निभाउन गएको दमकलमा पनि ढुंगामुढा गरे, आगो लगाए । राजावादीहरुले राजनीतिक दलका पार्टी कार्यालयमा तोडफोड मात्र गरेनन्, सरकारी स्वामित्वमा रहेको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा पनि आगो लगाए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जगाउने उदेश्यका साथ नजिकै डढेँलो लगाए । यस्ता अराजकताको फोटो र भिडियो खिच्दै गरेका एभिन्यूज टिभीका पत्रकार सुरेश रजकलाई जिउँदै जलाइदिए । अनलाइन खबरका पत्रकार दिनेश गौतमको खुट्टा भाँचिदिए । अराजक आन्दोलनमा परी कीर्तिपुर निवासी सबिन महर्जनसहित २ जनाको ज्यान गएको छ । १३० जनाभन्दा बढी मानिस घाइते भएका छन् । दर्जनौँ सवारी साधन जलेर नष्ट भएका छन् । तीनकुने चोकका अधिकांश घर तोडफोड गरिएका छन् । राजावादी समूहको अराजकतावादी आक्रमणबाट प्रहरीहरु नै असुरिक्षत भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले कफ्र्यू आदेश जारी गर्यो । साँझ मन्त्रिपरिषद्को बैठकले दोषीलाई कारबाही गर्ने निर्णय गर्यो । शनिवार साँझसम्म राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव धवल शमशेर राणासहित ११३ जना पक्राउ परेका छन् । अराजकता मच्चाउने मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह घरमा बसेर रमिता हेरिरहेका छन् । आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईं फरार भएका छन् । उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउन सरकार असफल भएको छ । गृहमन्त्रालयका सहसचिव छवि रिजालका अनुसार, तीनकुनेमा करिब ३ हजार प्रदर्शनकारी थिए । जबकि समाजवादी मोर्चाले प्रदर्शनीमार्गमा गरेको सभामा करिब ३५ हजार मानिस सहभागी भएका थिए । समाजवादी मोर्चाको सभा शान्त रह्यो भने तीनकुनेमा राजावादीहरुले उत्पात गरे । एकै दिन दुई स्थानका ठूला प्रदर्शनी हुँदै गर्दा त्यसका सुरक्षा र व्यवस्थापनका लागि सरकारले करिब ५ हजार प्रहरी परिचालन गरेको थियो । यो नै सरकारको सबैभन्दा ठूलो गल्ती थियो । ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईंलाई आन्दोलनका कमाण्डर बनाएपछि प्रसाईंले नेताहरुको घर–घरमा पुगेर कुटपिट गर्ने, नेताको घर जलाउनेजस्ता अभिव्यक्ति दिएका थिए । उनका भिडियो सामाजिक सञ्जालमा भाइरल भएका थिए । तर, प्रहरी प्रशासन मौन बस्यो, गृहमन्त्री रमेश लेखकले कुनै मतलब गरेनन् । प्रधानमन्त्री केपी शर्मा ओली कुलमान घिसिङ हटाउने र त्यसलाई सही साबित गर्ने कार्यमा व्यस्त रहे । सिङ्गो राज्य संयन्त्र घिसिङ हटाउने निर्णय सही थियो भनेर बचाउन तल्लीन रह्यो । अझै पनि प्रधानमन्त्री केपी शर्मा ओली कुलमान घिसिङलाई हटाउनु सहि भएको जवाफ दिन संसदमा उभिदैछन् तर ज्ञानेन्द्र शाहले गलत गरे भनेर उनीमाथि कारवाही गर्न उनी तयार छैनन् । ज्ञानेन्द्र शाहप्रति केपी ओली यहि उदारता बुझेर होला राजाबादीहरु केपी शर्मा ओली नेतृत्वका सरकार टिकिरह्यो भने अबको ३ महिनामा राजतन्त्र व्यूताउन सकिने विश्लेषण सुनाईरहेका छन् । तीनकुनेमा अराजकता मच्चाउने कार्यको नेतृत्व ज्ञानेन्द्रले नै गरेका हुन् भन्दै काठमाडौं महानगरपालिकाका मेयर वालेन शाहले ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेका छन् । त्यसको कार्यान्वनका लागि ८ वटा पत्र काटेरका छन् । मेयरले यति ठूलो आँटका साथ निर्णय गर्दा प्रधानमन्त्री ओली ठोस निर्णय लिन सकेका छैनन् । ज्ञानेन्द्र शाहमाथि कारवाही गरेका छैनन् । लाग्छ, ओलीको नजरमा ज्ञानेन्द्र शाह तिनकुने गएकै थिएनन्, अराजक गतिविधिमा उनले हात उठाएकै थिएनन् । तिनकुनेको घट्नालाई राजनीतिक रुपमा मात्र हेरिनु हुन्न । यहाँ सर्वसाधारणको जीउज्यानको सुरक्षा जोडिएको छ । निजी घरहरुमा तोडफोड, लुटपाट र आगजनी गरिएका छन् । राजावादीले अहिले गरेको जस्तै उत्पातपूर्ण घट्ना राजधानी काठमाडौंमा पहिलो पटक भएको होइन । २०७९ फागुनमा लोत्सेमहलमा भएको लुटपाट, २०६१ सालमा इराकका नेपाली युवाहरु मारिएको विरोधमा भएको भएको लुटपाट पनि यस्तै थिए । दुई दशकका बीचमा राजधानीमा भएका यी तिनै घटनामा सरकारी संयन्त्र निस्क्रिय जस्तै देखिएको छ । घटनास्थलमा प्रहरी पुग्न नसक्ने, दमकल पुग्न नसक्ने अवस्था देखियो । यस्तो दुरावस्थाले आम नागरिकले आफूलाई असुरक्षित महशुस गरेका छन् । अर्को महत्वपूर्ण यो हो कि यस्ता अराजकता मच्चाउनेहरुलाई कारबाही गर्न सरकारी संयन्त्र असफल भएको छ । तीनकुनेमा जे भयो, त्यसको प्रशस्त फोटो र भिडियोहरु क्यामेरामा कैद भएका छन् । सञ्चारमाध्यमहरुमा प्रकाशित/प्रसारित भएका छन्। तीनको आधारमा, सीसीटीभी फुटेजका आधारमा, राज्य संयन्त्रका निगरानी र सूचनाको आधारमा, थप अनुसन्धानले पुष्टि गरेका आधारमा दोषीलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नैपर्छ । अराजकताको आगो आगामी दिनमा फेरि बल्नु हुँदैन ।
एथरको नयाँ मोडल ४५०एक्स र ४५०एस सार्वजनिक, एथर रिज्टाको बुकिङ खुला
काठमाडौं । नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जीले २०२५ मोडलका एथर ४५०एक्स र ४५०एस नेपाली बजारमा ल्याएको घोषणा गरेको छ । अत्याधुनिक प्रविधिसहित आएको यी स्मार्ट स्कुटरहरूलाई ‘बाइक अफ स्कुटर’ को उपनाम दिइएको छ । साथै, एथर रिज्टा इलेक्ट्रिक स्कुटरको बुकिङ पनि खुला गरिएको छ । कम्पनीका अनुसार २०२५ एथर ४५०एक्समा बहु–मोड ट्रयाक्सन कन्ट्रोल प्रणाली उपलब्ध छ, जसले स्कुटरलाई विभिन्न प्रकारका सडक सतहमा सुरक्षित र स्थिर बनाउँछ । रेन मोड, रोड मोड, र स्पोर्ट्स मोड जस्ता विशेष मोडहरूले प्रयोगकर्तालाई ट्राफिक र अफरोड दुबै अवस्थामा सहज अनुभव प्रदान गर्छन् । वैद्य इनर्जीका सीईओ सुर्यांश वैद्यले भने, ‘प्रिमियम मोटरसाइकलमा मात्र पाइने प्रविधिहरू अब स्मार्ट स्कुटरमा पनि उपलब्ध छन् ।’ स्कुटरको रेन्ज सुधार गर्न नयाँ टायर टेक्नोलोजी प्रयोग गरिएको छ । एथरले एमआरएफसँग सहकार्य गरेर मल्टी-कम्पाउन्ड टायर विकास गरेको छ, जसले ब्रेक लगाउँदा उर्जा क्षति कम गर्छ र ब्याट्री खपतलाई अनुकूल बनाउँछ । ३.७ किलोवाट आवर क्षमताको ब्याट्री भएको एथर ४५०एक्सको वास्तविक रेन्ज १३० किलोमिटर भएको कम्पनीको दावी छ । आईडीसी अनुसार भने यसको रेन्ज १६१ किलोमिटर छ । त्यसैगरी २.९ किलोवाट आवर क्षमताको एथर ४५०एक्स र ४५०एसको वास्तविक रेन्ज १०५ किलोमिटर छ । आईडीसी अनुसार भने यसको रेन्ज क्रमशः १२६ र १२२ किलोमिटर छ । स्कुटरमा परिस्कृत सफ्टवेयर इन्जिन एथर स्ट्याक ६ प्रयोग गरिएको छ । यसमा गुगल म्याप्स, एलेक्सा भ्वाइस असिस्ट, ह्वाट्सएप, पिङ माई स्कुटर र लाइभ लोकेसन लगायतका सुविधा उपलब्ध छन् । नेपाली बजारमा २०२५ मोडलको एथर ४५० एसको मूल्य ३ लाख २४ हजार ९९९ तोकिएको छ । त्यसैगरी २।९ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ६४ हजार ९९९ र ३.७ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ९९ हजार ९९९ तोकिएको छ । कम्पनीले ८ वर्ष वा ८० हजार किलोमिटरको ब्याट्री वारेन्टी र ७० प्रतिशत ब्याट्री हेल्थ ग्यारेन्टी उपलब्ध गराउने बताएको छ । वैद्य इनर्जीले नेपालमा २०२३ देखि नै एथर इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरेर एथर एक्सपेरियन्स सेन्टर खोलेको थियो । हाल नेपालभर ६ एक्सपेरियन्स सेन्टर, १ टेस्ट राइड जोन, ५ सर्भिस सेन्टर र २१ एथर ग्रिड चार्जिङ स्टेसन रहेको बताइएको छ ।
मधेस मुख्यमन्त्रीले गरे मिर्चैयाका अस्पताल अनुगमन : दुई जना पक्राउ
सिरहा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व–पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गरेका छ्न् । अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएका छ । सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ गरिएको छ । अनुगमन टोली देखेपछि अस्पताल भर्ना भएका बिरामी छोडेर उनीहरू भागेका थिए । यसैगरी, अनुगमन टोलीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुङ्गेरिया स्वीट्स एन्ड चाट हाउस सिल गरेको छ । अखाद्य तथा कुहिएका वस्तु प्रयोग गरिएको र जथाभावी फोहरमैला भेटिएपछि चाट हाउस गरिएको हो ।
आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै
दमौली । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो । ती सडक रु ९१ लाख ३८ हजार २१२ विनियोजन गरेर काम थालिएको गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए । भकुण्डी–बरालुङबेँसी सडकका निम्ति स्थानीयले रु एक लाख ६३ हजार ८२४ योगदान गरेका छन् । आगामी असार १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ । लाब्दी–घुमाउने सडकमा स्थानीयले रु सात लाख ७५ हजार ६५७ योगदान गरेका उनले जानकारी दिए । यसैगरी आँबु मार्गको स्तरोन्नति पाँच लाख ३४ हजार ३८८ रुपैयाँको लागतमा जारी छ । यो बाटोमा स्थानीयले ५४ हजार ३८८ रुपैयाँ योगदान गरेका छन् ।
कर्पोरेट पेमा जोडिए २० हजार बढी संस्था, ८ महिनामै ७१४ अर्बको कारोबार फर्स्यौट
काठमाडौं । व्यावसायिक भुक्तानी प्रणाली कर्पोरेट पेमा २० हजारभन्दा बढी संस्था आबद्ध भएका छन् । कम्पनीले एक विज्ञप्ति जारी गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले यो आँकडा पूरा भएको जानकारी दिएको हो । एनसीएचएलका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मात्रै कर्पोरेट पेमार्फत ७१४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । साना तथा मझौला व्यवसायी, सरकारी तथा गैरसरकारी संस्था, वित्तीय संस्था लगायत विभिन्न संस्थाले डिजिटल भुक्तानीका लागि कर्पोरेट पेको प्रयोग गरिरहेका छन् । कर्पोरेट पेको मल्टी बैंकिङ डिजिटल पेमेन्ट तथा फाइनान्सियल सर्भिसेसले प्रयोगकर्ताहरूलाई आकर्षित गरेको एनसीएचएलको भनाइ छ । कर्पोरेट पेमार्फत फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, बल्क युटिलिटी भुक्तानी, क्रेडिटर सेटलमेन्ट लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ । यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरू लिङ्क गरी भुक्तानीका लागि आवश्यक अपरेटिङ म्यान्डेटहरू सेट गरी फन्ड तथा रिसिभेवल व्यवस्थापन गर्न सकिन्छ । कर्पोरेट पेमा रियल टाइममा प्रति कारोबार एक करोड रुपैयाँ (सोही बैंक वित्तीय संस्था) र २० लाख रुपैयाँ (अन्य बैंक वित्तीय संस्था) सम्म कारोबार गर्न सकिन्छ । नन-रियल टाइम कारोबारको हकमा २० करोड रुपैयाँसम्म कारोबार सीमा रहेको छ ।
नेपाल-चीन कूटनीतिक सम्बन्धका ७० वर्ष : सिछुआन-नेपाल व्यापार आदानप्रदान महिना सुरु
काठमाडौं । चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ । सिछुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासले संयुक्त रूपमा सिछुआन प्रान्तको राजधानी छेन्दुमा गत शुक्रबार व्यापार आदानप्रदान सिछुआन शृङ्खला प्रारम्भ भएको हो । त्यसअवसरमा सिछुआन प्रान्तको विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले नेपाल र सिछुआन बीचको सम्बन्ध क्रमशः प्रगाढ हुँदै गएको, हालै पोखरा महानगरका प्रमुखको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिछुवान विमान कम्पनीले सोझै छन्दुमा हवाई सेवा थालेपछि पारस्परिक आदानप्रदान बढेको बताए । छेन्दुस्थित महावाणिज्य दूतावासका अनुसार एक वर्षयता चीन र नेपालबीचको सामाजिक–सांस्कृतिक आदानप्रदान पनि वृद्धि भएको उनले बताए। चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरमा हुने व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानले अझ मजबुत तुल्याएको बताए। महिनाभरि सञ्चालन हुने सिछुआन शृङ्खलामा सिछुआन प्रान्तका विभिन्न सहरमा स्थानीय उत्पादनको प्रदर्शनी र सांस्कृतिक आदानप्रदानका कार्यक्रमले नेपाल र चीनबीचको सुदृढ सांस्कृतिक, व्यापारिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास महावाणिज्य दूतावासले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा व्यक्त गरिएको छ ।