विकासन्युज

नारायणगढ-बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र, दाउन्ने खण्डमा ढलान गरिने

काठमाडौं । नारायणगढ-बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र भएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको योजनाका सूचना अधिकारी शिव खनालले बताए । आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडकसमेत सम्पन्न गर्ने लक्ष्यअनुसार काम गरिरहेको सूचना अधिकारी खनालले बताए । दाउन्ने खण्डमा यात्रीले धेरै सास्ती खेप्नुपरेकाले सो क्षेत्रमा ४ किलोमिटर र घुमाउरो घुम्तीमा ४ किलोमिटर सडक वर्षाअघि नै ढलान गरिने उनको भनाइ छ । जसअनुसार ढलानको काम यसै साताबाट सुरु हुने सूचना अधिकारी खनालले बताए । एकतर्फी रूपमा पूर्वी खण्डको सबै काम सक्ने लक्ष्यअनुसार अघि बढिरहँदा दोस्रोतर्फको भागमा पनि नियमित काम भइरहेको उनको भनाइ छ । ‘पहिलो चरणमा एकतर्फी रूपमा यातायात सहज होस् भन्ने हो, यसलाई प्राथमिकता दिएका छौँ, सँगै दोस्रो भागतर्फको काम पनि समानान्तर रूपमा अघि बढिरहेको छ,’ सूचना अधिकारी खनालले भने । विसं २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सडक विस्तारको काम सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरु गरेको थियो । नारायणगढ-बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ । यस अवधिमा पूर्ण रूपमा काम सम्पन्न हुनसक्ने अवस्था टर्दै गएको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ लागत रहेको छ । ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर ४ लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेमा १४ किलोमिटर ३ लेनको सडक हुनेछ । राजमार्ग विस्तारको महत्त्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रुले लामो समयसम्म सास्ती खेप्दै आएका छन् । अहिले कामले गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको छ । तर अझै पनि दाउन्ने खण्डमा समस्या उस्तै रहेको छ ।

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

काठमाडौं । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको भूगोलमा पर्दछ । चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका-४ का वडासदस्य श्याम पुर्जाले बताए । ‘अन्नपूर्ण आधार शिविरमा आरोहण टोलीले टेन्ट टाँगेर गाउँ जस्तै बनाएका छन् । आरोहण टोलीका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको पनि आगमन सुरु भएको छ,’ उनले भने । उनका अनुसार समुन्द्री सतहबाट ४ हजार १ सय मिटर उचाइमा आरोहीका साथै घुमघामका लागि पर्यटकहरू पनि आउन थालेका छन् । पर्यटन विभागले पछिल्लो पटक गत मङ्लवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्षको वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि पाँच समूहका ३० पुरुष र १२ जना महिला आरोहणको अनुमति लिएका छन् । वसन्तयामका लागि हालसम्म ५ वटा हिमाल अरोहण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण चढ्ने पर्यटक रहेका विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिइन् । उनका अनुसार पायनियर एडभेन्चर, आठ के एक्सपिडेसन, इमेल नेपाल, सेभेन समिट, १४ पिक्स एक्सपिडेसन, मकालु एडभेन्चर र बोचीबोची पिक्समार्फत विश्वका विभिन्न देशबाट आएका आरोहीहरू आधार शिविरमा पुगेर तयारी थालेका छन् । भारतीय पर्वतारोहीलाई आरोहण गराउन आधार शिविर पुगेका सेभेन समिटका पेम्बा शेर्पाले २० दिनभित्र अन्नपूर्ण आरोहण सकेर सगरमाथा जाने योजना रहेको बताइन् । ‘शेर्पाहरूले आधार शिविरबाट हिमालको चुचुरोतर्फ जाने बाटो बनाउन थालेका छन् । केहीदिन आधार शिविरमा विश्राम र तयारी गरेपछि आरोहीहरू हिमाल चढ्न जानेछन्,’ उनले भनिन् । विश्वको दशौँ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि वसन्तयाम उपयुक्त मानिन्छ । अन्नपूर्णको अहिलेसम्म ४८८ जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरिएको थियो । मौरिसले अन्नपूर्ण चढेको ३ वर्षपछि सन् १९५३ मा सरएडमण्ड हिलारी र तेन्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । ८ हजार मिटरभन्दा अग्लो सबैभन्दा पहिलो पटक मानव पाइला परेका कारण अन्नपूर्णलाई ‘जेठो’ हिमाल पनि भन्ने गरिन्छ । प्रथम आरोही मौरिस हर्जोगले आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ-आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग तयार गरिएको अन्नपूर्ण गाउँपालिका कार्यालयले जनाएको छ । नारच्याङका अगुवा तेज गुरुङको अगुवाइमा विसं २०६७ मा पहिचान भएको यो पदमार्गमा आधारभूत पूर्वाधार तयार भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको उनले उल्लेख गरे । पदमार्गलाई व्यवस्थित बनाएपछि यसपाली मजदुरहरूले सामान बोकेर आधार शिविरमा पुर्‍याएको उनले बताए । ‘गत वर्षसम्म सामान र पर्यटक दुवै हेलिकप्टरबाट आधार शिविर जाने गर्दथे । यसपाली पर्यटक हेलिकप्टरमा गएपनि सामान भरियाले बोकेर लगेका छन्,’ उनले भने । पदमार्गको प्रयोगसँगै आरोहीहरूको खर्च घट्नुका साथै भरियाहरूका लागि रोजगारीको अवसर सिर्जना भएको उनको भनाइ छ । पदमार्ग र आधार शिविर क्षेत्रमा अस्थायी संरचना ‘टेन्ट’को आश्रय स्थल निर्माण गरी खाना र खाजा खुवाउने व्यवस्था मिलाएपछि पर्यटकहरूलाई सहज भएको गुरुङले बताए । यसअघि होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरूले खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायत सामग्री आफैँले जोहो गर्नुपर्ने समस्या थियो । फुटफुते झरनामा चिया पसल, साधीखर्क, गुफाँफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्डताल परिसरमा अस्थायी शिविर सञ्चालन गरेपछि पर्यटकलाई खान, बस्न सहज भएको अभियन्ता गुरुङले बताए । उनका अनुसार बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । ती अस्थायी शिविरमा दैनिक ५० जनासम्म पर्यटक बास बस्न सक्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा पर्ने उक्त क्षेत्रमा स्थायी संरचना बनाउन नमिल्ने कानुनी व्यवस्था भएकाले पर्यटकीय याममा सञ्चालन गर्न मिल्ने गरी क्षेत्र तोकेर शिविर बनाउन अनुमति दिइएको एकयापले जनाएको छ । आधार शिविरबाट सोमबार फर्किएका म्याग्दीका सञ्चारकर्मी गणेश गुरुङले अस्थायी शिविर र रेष्टुरेन्टको सुविधाले सहज भएपनि स्वभाविक शल्क निर्धारण र एकरुपता कायम गर्नुपर्नेमा जोड दिए । मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै समुन्द्री सतहबाट ४ हजार १०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङबाट दुई घण्टा सवारीसाधनमार्फत यात्रा गरेपछि पुगिने हुमखोलाबाट दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको स्थानीय बताउँछन् । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पशुपन्छी, जङ्गल, अग्ला पहाडको खोँच, फुटफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङ्गको पञ्चकुण्डताल आधार शिविरका आकर्षण हुन् ।

सरकारले एआइटीलाई एक लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाडौं । नेपाल सरकारले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी)लाई एक लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आर्थिक सङ्कटमा रहेको उक्त संस्थालाई नेपाल संस्थापक सदस्य राष्ट्र भएकाले सो अनुदान सहयोग उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहँदा सो संस्थामा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको उनले बताए । प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डको औपचारिक भ्रमणका लागि आज दिउँसो त्यसतर्फ जाँदै छन् ।

किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो, २२ सय वर्ष पुरानो पुष्टि

काठमाडौं । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको झापाको भद्रपुर नगरपालिका-३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिए । उनको नेतृत्वमा पुरातत्व विभागबाट आएको ४ सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किच्चकबध स्थलमा उत्खनन तथा संरक्षणको कार्य निरन्तर गरिरहेको छ । विभागका अधिकृत नवराज अधिकारीले किच्चकबध स्थलमा विसं २०५८ देखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको बताए । उनका अनुसार यसपटक जारी उत्खननका क्रममा ३ मिटरभन्दा गहिरो जग र केही प्राचीन सामग्रीहरू भेटिएका हुन् । भेटिएको जगको इँटाहरू विगतमा फेला परेका इँटासँग मिल्दोजुल्दो छ । ‘यसपटक हामीले केही नयाँ ठाउँमा उत्खनन गरेका थियौँ,’ पुरातत्वविद् आचार्यले भने, ‘विगतमा उत्खनन हुँदा फेला परेका प्राचीन संरचनाहरूको संरक्षणमा बढी ध्यान दिएका छौँ ।’ उनका अनुसार विगतमा यहाँ भएको उत्खननबाट २२०० वर्ष पुरानो दरबारको सुरक्षा पोस्ट, पर्खाल र कम्पाउन्डसहितको भौतिक संरचना भेटिएको थियो । त्यसबेला मानिसले प्रयोग गर्ने भाला, बाण र माटाका भाडावर्तनसमेत फेला परेपछि त्यसलाई पुरातत्व विभागले संरक्षण गर्दै आएको छ । १० बिघा क्षेत्रमा फैलिएको किच्चकबध स्थलमा पछिल्लो समय मानव निर्मित मन्दिर, पोखरी र अन्य भौतिक संरचना बनाइएका कारण प्राचीन महत्वका संरचना तथा वस्तुहरु नष्ट हुने जोखिम छ । विभागले नयाँ संरचनाहरू जथाभावी रूपमा नबनाउन आग्रह गर्दै आएको छ । विगतमा खनजोत गरेर खेतीपातीसमेत गरिएका कारण कतिपय भूसतहका पुरातात्विक महत्त्वका वस्तुहरू नष्ट भएको विभागको आशङ्का छ । गत वर्ष विभागले एउटा मन्दिर हटाउन लगाएको थियो । सोही मन्दिरमुनि यसपटक उत्खनन गर्दा प्राचीन दरबारको जग भेटिएको छ । यसपटक अझै केही दिन उत्खनन र संरक्षणको कार्य जारी रहने विभागका अधिकृत अधिकारीले जानकारी दिए । पुरातत्वविद् आचार्यले किच्चकबध स्थलमा फेला परेका प्राचीन वस्तुहरूको बेलायतमा नमुना लगेर कार्बन टेस्ट गर्दा २२ सय वर्ष पुरानो पुष्टि भएको बताए । प्राचीन स्मारकका बारेमा आठौँ चरणसम्मको उत्खननबाट कुनै लिखित सामग्री भने फेला नपरेको उनले बताए । ‘यहाँ हामीले भेटाएका सामानहरू २२ सय वर्ष पुरानो बास्तुकला, सभ्यता र संरचनाको प्रमाण भएको पुष्टि भइसक्यो,’ उनले भने, ‘सानो कम्पाउन्डसहित सुरक्षा पोस्ट र हात्ती घोडालाई लगाइदिने सामान पनि भेटिएका छन् । यी कुराले यो स्थान प्राचीन धरोहर हो भन्ने प्रमाणित हुन्छ ।’ किंवदन्तीअनुसार महाभारतकालीन राजा विराटको ‘किच्चक’ नामका सालो थिए । यहाँ उनको दरबार थियो । पाँच पाण्डव गुप्तबास बसेका बेला द्रौपदीमाथि कुदृष्टि राखेका कारण भीमसेनले विराटनगरदेखि लखेटेर किच्चकलाई यही दरबारमा ल्याएर बध गरेका थिए । त्यहीकारण यस स्थानलाई किच्चकबध स्थल भनिन थालेको हो । सरकारले किच्चकबध स्थलको पौराणिक तथा पुरातात्विक महत्व धेरै भए पनि उत्खनन तथा संरक्षणका लागि पर्याप्त लगानी गर्न सकेको छैन । थोरै बजेट भएका कारण उत्खनन र संरक्षणको कार्य हरेक वर्ष अधुरो हुने गरेको छ । सरकारले उत्खननका लागि यसपटक १० लाख रुपैयाँ बजेट छुट्याएको विभागका अधिकृत अधिकारीले बताए । ‘बजेट धेरै हुने हो भने एकै वर्षमा धेरै काम हुन्थ्यो । तैपनि सीमित स्रोतसाधन हुँदाहुँदै दैनिक १३ जनासम्म कामदार लगाएर यसपाली संरक्षणको काम गरिरहेका छौँ,’ उनले भने । किच्चकबधस्थल मानिसको प्राचीन सभ्यता र संस्कृति चिनाउने एउटा ऐतिहासिकस्थल भएकाले यसको प्रचारप्रसार हुनसके ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको स्थानीय किच्चकबध संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले बताए ।

चैत्र शुक्ल द्वितीयाः पशुपति क्षेत्रमा वत्सलेश्वरी जात्रा समापन

काठमाडौं । मुलुकमा शान्ति स्थापना होस् भन्ने कामनाका साथ पशुपति क्षेत्रमा गरिएको देशोद्वार पूजासहितको वत्सलेश्वरी जात्रा समापन भएको छ । आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट यही चैत ९ गते शनिबार चैत्र कृष्ण अष्टमीदेखि सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाइएको छ । पशुपति क्षेत्रभर घुमाएपछि सोमबार राति जात्रा सकिएको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिए । चैत्र कृष्ण अष्टमीका दिन चैत ९ गते शनिबार पशुपतिका भट्टले जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा गरेका थिए । यात्रामा यसरी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको डङ्गोलले बताए । उनका अनुसार उपत्यकाका देवदेवीलाई निमन्त्रणा गरेपछि देशोद्वार पूजासमेत भनिने यो जात्रा सुरु भएको हो । जात्राअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्वार पूजा सम्पन्न गरिएको हो । चैत्र शुक्ल द्वितीयाका दिन सोमबार राति सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिएको छ । एघार दिनसम्म सञ्चालन भएको यो जात्रा पशुपति क्षेत्रका लामो जात्रामध्येको एक मानिन्छ । मुलुकमा शान्ति कायम होस् भन्ने कामनाले पूजा एवं जात्रा गरिएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ । देशोद्वार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्ष रूपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्ष रूपमा सहभागी हुने गरेको डङ्गोलले सुनाए । वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रूपमा पूजा आराधना गरिन्छ । भगवान् शिवको पत्नीका रूपमा पूजिने वत्सलेश्वरीलाई पशुपतिबाट निकालेको भन्ने किंवदन्तीका आधारमा सोमबार नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिएको थियो । नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन सोमबार बेलुकी रथले पशुपतिको मूलढोकामा तीनपटक ठोकाएर फर्काउने प्रचलन रहिआएको छ । बहिनीले श्रीमानको ध्यानाकर्षण गराएपछि वत्सलेश्वरी माता भने चैत्र शुक्ल प्रतिपदा अर्थात् आइतबार राति छोरा चन्द्रविनायककहाँ बस्न जाने परम्परा छ । यसै परम्परा अनुसार सोमबार वत्सलेश्वरीको रथ तानेर चाबहिल गणेशसमेत भनेर पुजिने चन्द्रविनायकमा लगिएको थियो । त्यहाँबाट आज पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाएर पशुपति अमालकोटमा ल्याई सिन्दुर जात्रा गरेपछि ११ दिन लामो जात्रा समापन गरिएको कोषको अमालकोट कचहरीका द्वारे डङ्गोलले जानकारी दिए । प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोग व्याध नलाग्ने, सुख, शान्ति हुने विश्वास रहेको छ । यसै विश्वासले बालबालिका पनि जात्रा हेर्न पशुपति क्षेत्रमा आउने गरेका छन् । दूध खाने बालकसमेत जात्रा हेर्न आउने भएकाले यसलाई दुदु च्याँ च्याँ भन्ने नामलेसमेत चिनिन्छ ।

संसद्को चालु अधिवेशन चैत १९ गतेदेखि अन्त्य गर्न सिफारिस

काठमाडौं । सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन यही चैत १९ गते मङ्गलबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । नेपालको संविधानबमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै वा कुनै सदनको अधिवेशन आह्वान र अन्त्य गर्नसक्ने व्यवस्था छ । विधेयक अधिवेशनका रूपमा रहेको संसद्को चालु अधिवेशन गत माघ १८ गतेदेखि सुरु भएको थियो ।