सहकारी संस्थाले सेयर होल्डर र जनताको पैसा सही सदुपयोग गर्नुपर्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको सेवा विस्तारमा पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अस्पतालद्वारा आयोजित १७औँ वार्षिक साधारण सभामा बोल्दै उनले जन नेता बीपी कोइरालाका नाममा अन्य स्थानमा पनि अस्पताल स्थापनाको प्रयास गर्ने उनको भनाइ छ । ‘सहकारी संस्थाका रुपमा स्थापना भएको अस्पतालमा सेयर होल्डर र जनताको पैसाको सही सदुपयोग हुनुपर्छ,’ उनले भने । उनले देशको स्वास्थ्य क्षेत्रको विकासमा बीपी स्मृति अस्पतालले गरेका कामको सराहना गरे । पार्टीका नेता डा. शेखर कोइरालाले संविधान संशोधनमा विलम्ब गर्न नहुने बताए । ‘संविधान संशोधनमा जति ढिलाइ हुन्छ, त्यति नै सडकमा आक्रोश बढ्छ,’ उनले भने । एमालेसँगको सत्ता साझेदारीले पार्टी समस्यामा नपरोस् भन्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्नेमा उनले जोड दिए । अस्पताल सञ्चालक समितिका अध्यक्ष उमेशजङ्ग रायमाझीले बिपी स्मृति अस्पताललाई सातै प्रदेशमा विस्तार गरिने बताए । अस्पताल सञ्चालक समितिका पूर्व अध्यक्षहरू डा केदारनरसिंह केसी, डा सुदामप्रसाद अधिकारी, अस्पतालका सेयर होल्डर रवीन्द्रनाथ रेग्मीलगायत वक्ताले बिपी कोइरालाका नाममा स्थापित अस्पताललाई चिकित्साको उत्कृष्ट केन्द्र बनाउन सिङ्गो पार्टी लाग्नुपर्ने बताए ।
रास्वपालाई झट्का, सचिव राई एमालेमा प्रवेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेत्री राई नेकपा एमालेमा प्रवेश गरेकी छिन् । रास्वपा उदयपुरको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा एमालेमा प्रवेश गरेकी हुन् । नेकपा (एमाले) झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरण सभामा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गरे । राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपल समेत हुन् ।
बैंक डुबाउने, आगजनी गर्ने, रक्सीका बोतल लुट्नेलाई जनताले फ्याँकिसके, अब राजतन्त्रको भ्रम पाल्नु पर्दैन
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताएका छन् । नेकपा एमालेको झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरूले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजे झैँ ढुंगा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्चाए पनि उनीहरुलाई जनताले नपत्याएको बताए । ‘देश अब कानुन र विधि अनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैंक डुबाउनेहरू, आगजनी गर्नेहरू रक्सीका बोतल लुटेर भाग्नेहरूले जनताले फ्याँकिसकेको राजतन्त्र ब्यूँताउन क्रान्ति गर्छु भन्दा कसैले उल्किनु वा भ्रम पाल्नु पर्दैन । ठूला कुरा गर्ने र हल्ला गर्नेहरूले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरुको असली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनाबाट देखिइसकेको छ,’ प्रधानमन्त्री ओलीले भने । विगतमा आफू प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेको उनले बताए । साथै अदालतको समेत प्रयोग गरेर सरकारबाट बाहिर पठाए भएपनि जनताको अभिमतबाट पुनः सरकारको नेतृत्वमा आएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले निर्माण कार्य रोकिएका र बन्न बाँकी रहेका बाटा र आयोजनाहरू अब अगाडि बढ्ने जनाउँदै आगामी बजेट र नीति तथा कार्यक्रममा नयाँ ढंगले अगाडि बढाउने उचित नीति र कार्यक्रम लिएर आउने जनाए । कृषिको आधुनिकीकरण र विस्तारका लागि प्राथमिकता दिँदै उद्यमशीलताको विकास गर्न सरकारले प्राथमिकता दिने उनको भनाइ छ । ‘हामीले अध्यादेश हुँदै विभिन्न पाँच महत्वपूर्ण कानुन ल्याएका छौँ । भूमिसम्बन्धी कानुन पनि चाँडै आउँछ । यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा रहेको छ । घाटामा रहेको अर्थतन्त्र उकालो लाग्न थालेको छ,’ उनले भने, ‘भूमिहीन सुकुम्बासीहरूका समस्या समाधान गर्न अब आउने संसदको अधिवेशनको सुरुमै कानुन ल्याइनेछ । मुलुकलाई गरिवीबाट मुक्त गराउन हामी क्रियाशील रहनेछौँ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी दत्तचित्त भएर लाग्नेछौँ । एमालेबिनाको नेपालको सपना देख्नेहरूको देशद्रोही सपना पूरा हुँदैन । एमाले झन् ठूलो भएर विजयी भएर आउनेछ । जनतामा आधारित यो पार्टी देशको भविष्य हो । एमाले असफल भए देश असफल हुन्छ ।’ कोशी प्रदेश विविधता युक्त र जागरूक प्रदेश भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस जागरणलाई व्यवहारमा उतार्न एमालेको प्रदेश र मातहतका कमिटी नयाँ उत्साहका साथ सक्रिय र चुस्त दुरुस्त रुपमा घरघर र व्यक्ति व्यक्तिमा पुग्ने गरी परिचालित हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले युवाहरूलाई आफ्नो देश आफैले बनाउँछु भन्ने भावनाका साथ स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासमा लगाउन सरकारले आवश्यक कदम चालिरहेको बताए । एमालेले वैशाख ११ गते (लोकतन्त्र दिवस) का दिन काठमाडौंमा युवा महोत्सव आयोजना गर्ने उद्‍घोष गर्दै ४० वर्ष मुनिका युवाहरू त्यस दिन काठमाडौं आएर राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउन आव्हान गरे । ‘एमालेको साथमा युवा छैनन् । एमालेका युवाहरू सिद्धिए भन्नेहरूलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका छौँ । म चुनौतीका साथ भन्छु, अरु कुनै पार्टीले यति धेरै युवाहरूलाई भेला पार्न सक्दैन,’ उनले भने, ‘युवाहरूले आफ्नो सामर्थ्यको पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्नुपर्छ । आफ्नो पेसा गत काम र परिवारको हेरचाहमा पनि लाग्नुपर्छ ।’
विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाख रुपैयाँ राहत दिने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा सर्वसाधारणको मृत्यु भएमा १० लाख रुपैयाँसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको अध्यक्षमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा सर्वसाधारणको मृत्यु भएमा १० लाख रुपैयाँसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । प्राधिकरणले हाल विद्युतीय दुर्घटनामा परी मृत्यु भएमा कर्मचारीको हकमा बढीमा ५ लाख रुपैयाँ राहत र परिवारलाई तीन तहसम्मको रोजगारी दिने व्यवस्था थियो । त्यस्तै सर्वसाधारणको हकमा बढीमा ५ लाख रुपैयाँसम्म राहत दिने व्यवस्था गरेको थियो । बैठकमा मन्त्री खड्काले विद्युतीय दुर्घटनामा परेकाहरूलाई दिनुपर्ने राहत कुनै पनि बहानामा नरोक्न र तत्काल उपलब्ध गराउन समेत निर्देशन दिए । बैठकले विद्युत् वितरण विनियमावली २०७८ लाई संशोधन गरी उपभोक्ताको असन्तुष्टिसम्बन्धी पुनरावेदन प्रक्रियामा उल्लेखनीय सुधार गर्ने निर्णय गरेको छ । कुनै उपभोक्तालाई आफूले प्रयोग गरेको विद्युत् महसुलमा चित्त नबुझे पुनरावेदन दर्ता गर्दा लाग्ने धरौटी रकम २५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमात्र कायम गर्ने निर्णयसमेत गरेको छ । सर्वसाधारणले विद्युत् उपभोग गरेवापत प्राधिकरणले उपलब्ध गराउने विद्युत् महसुलमा पटकपटक चित्त नबुझेको व्यापक गुनासा आउने गरेको थियो । यो निर्णयले सर्वसाधारणमाथि पर्ने आर्थिक दबाब घटाएको छ भने विद्युत् प्राधिकरणप्रति नागरिकको विश्वास बढाउने छ । बैठकले प्राधिकरणसँग सेवा प्रवाहको सम्झौता गरेका तर गुणस्तरीय सेवा दिन नसकेका संस्थाहरूको नवीकरण खारेज गर्ने निर्णय गरेको छ । प्राधिकरणको सेवालाई थप व्यवस्थित बनाउन राष्ट्रिय ग्रिड विस्तार भएको क्षेत्रमा प्राधिकरण आफैंले सेवा प्रदान गर्ने निर्णय गरेको हो । गुणस्तरीय सेवा प्रदान गर्ने संस्थाहरूको मूल्याङ्कन गरी आवश्यकताअनुसार सम्झौतालाई निरन्तरता दिने भएको छ । बैठकले ऊर्जा मन्त्रालयका सचिवको संयोजकत्वमा प्रशासकीय पुनरावलोकन समिति गठन गर्ने निर्णय पनि गरेको छ । चार सदस्यीय उक्त समितिमा प्राधिकरणका उप कार्यकारी निर्देशक, विद्युत् विकास विभागका विज्ञ, प्राधिकरणका कार्यकारी निर्देशक सदस्यसचिव रहने छन् । जसले निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने प्राधिकरणले जनाएको छ । उपभोक्ता र सर्वसाधारणलाई केन्द्रमा राखेर प्राधिकरणको सुधारका लागि महत्त्वपूर्ण निर्णय गरिएको प्राधिकरण सञ्चालक समितिका सदस्य श्याम किशोर यादव जानकारी दिए ।
निराशालाई आशामा बदल्दै दार्चुलाको मालिकार्जुन गाउँपालिका
नरेन्द्रसिंह कार्की काठमाडौं । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको लगानी र प्रभाव विस्तारै देखिने अवस्थामा रहेको छ । ‘शिक्षामा गरिएको लगानीको प्रतिफल थोरै ढिला देखिन्छ, काम गराइ र अपनत्वको हिसाबले गाउँपालिकाले थालेको पहलकदमी सकारात्मक छ,’ वडा नं ३ का खडक सिंह धामी भन्छन्, ‘शिक्षामा भइरहेको राजनीतिकरण कमी गर्न सके धेरै परिवर्तन सम्भव छ ।’ विसं २०७९ मा निर्वाचित भए लगत्तै जनप्रतिनिधिले विकास निर्माणका कार्य होस् या शिक्षामा विद्यार्थी अनुपातमा शिक्षक व्यवस्थापनको कार्य होस्, गाउँपालिकाले थालेको पहलकदमी सकारात्मक रहेको उनको बुझाइ छ । ‘कम्तीमा राम्रो गरेको कामलाई प्रशंसा गर्न सिकौँ,’ वडा नं ४ का बलदेव सिंह धामीले भने, ‘राम्रो कामलाई प्रशंसा र नराम्रो कामलाई खबरदारी गर्यौं भने जनताका सपना पूरा गर्नेतर्फ जनप्रतिनिधि अग्रसर हुने हो ।’ गाउँपालिकाले शिक्षा क्षेत्रमा धेरै लगानी गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला संयोजक पदम राज पन्त बताउँछन् । उक्त प्रतिनिधिमूलक विचार मालिकार्जुनको आयोजना र दार्चुला विकास सङ्गठनले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा व्यक्त भएका हुन् । गाउँपालिकाको प्रथम र द्वितीय चौमासिक सार्वजनिक सुनुवाइको क्रममा स्थानीय अहिले पालिकाले गरिरहेको कामप्रति धेरै निराशावादी छैनन् । धेरै आशा गर्ने ठाउँ बाँकी रहेको भन्दै त्यसलाई सुधार गर्नेतर्फ भने स्थानीयले सुझाव दिएका छन् । नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक पन्तले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् र कृषि पशु क्षेत्रमा गाउँपालिकाले अझै काम गर्नसक्ने अवस्था रहेको बताए । ‘शिक्षामा केही प्रयास भएका छन्, कृषि पशुमा कर्मचारी राख्ने काम भएका छन्, तर वडामा गएर हाजिर लगाउने मात्र नभई बजेट दिएर कृषि पशु क्षेत्रको विकासमा लगानी बढाउन सुझाव छ,’ उनले, भने, ‘पशु र कृषि प्राविधिक पठाएर मात्रै भएन, बिउविजन, औषधि, कृषि यान्त्रीकरणका कुरा बढाउनुपर्छ, किसानलाई धेरै चाहिएको छैन, थोरै बजेटमार्फत हुने काम गर्नेतर्फ पालिका अग्रसर हुनुपर्यो ।’ पालिकाका अधिकांश वडा वस्तीमा अहिले पनि पम्पिङमार्फत गाउँमा खानेपानी पुर्याइएको छ । केही योजना निर्माणकै क्रममा छन् । जनताले पानीको महसुल र विद्युतको महसुल दुवै तिर्नुपर्ने अवस्था रहेको छ । उनले भने, ‘विद्युत् र पानीमध्ये एउटा महसुल गाउँपालिकाले व्यहोर्ने गरी काम ग¥यो भने जनतामा सरकारप्रति नैराश्यता पैदा हुन पाउँदैन, जहाँ पनि करको भार मात्रै थोपर्ने हो भने जनतामा निराशा पैदा हुन्छ, सानातिना समस्या समाधानतर्फ अगाडि बढ्नुपर्छ ।’ गाउँपालिकामा निर्वाचित भए लगत्तै पालिकाकै स्काभेटर प्रयोग गरी वडा सदरमुकाम जोड्ने गरी गाउँपालिकाले सडकको काम गगरेको छ । अहिले वडा नम्बर २ को न्वालपानी वस्तीमा सडक पुगेको छ । झण्डै १२ किलोमिटर सडक पालिकाकै बजेटमा खनिएको छ । मालिकार्जुन–४ लाई गाउँपालिकाको चक्रपथ सडकमा जोड्नुपर्नेमा स्थानीय बलदेव धामीले जोड दिनुभयो । अरु वडाका बस्तीमा धमाधम काम भइरहेको छ । पालिका भवन निर्माणाधीन अवस्थामा छ । १० शय्याको अस्पताल सञ्चालनमा आएको छ । वडाहरूमा नयाँ वडा कार्यालय भवन निर्माण भइरहेका छन् । जनप्रतिनिधिले देखेको सपना पूरा गर्न नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताए । ‘वार्षिक कार्ययोजना अनुरूप हामीले काम गर्दै आएका छौँ, खरिद ऐन नियमअनुसार काम गरिरहेका छौँ, अझै पालिकाको विकासका लागि जनप्रतिनिधि, राजनीतिक दल, आम जनसमुदायको सहभागितामा अभिवृद्धि गर्दै समन्वयात्मक ढङ्गले अघि बढ्न प्रतिबद्ध छौं,’ ठगुन्नाले भने । गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी पालिकामा आउने उजुरी तथा गुनासामाथि छलफलकै माध्यमबाट समाधान हुँदै आएको बताउँछन् । गाउँपालिका अध्यक्ष हिरासिंह धामी आफ्नो नेतृत्वमा आएको टोली मालिकार्जुन बासीको समृद्धिको सपना पूरा गर्नतर्फ अग्रसर रहेको बताउँछन् । ‘धेरै ‘सिस्टम’मा समस्या थियो, विस्तारै सुधार गर्दै जनतालाई रोजगारी सिर्जना हुने गरी काम थालनी गरेका छौं,’ उनले भने । नागरिकमा निराशा पैदा हुन नदिने गरी गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत जनता खुसी बनाउने सपना कार्यान्वयन गर्दै आएका धामीको भनाइ छ । अस्तव्यस्त अवस्थामा रहेको शिक्षा क्षेत्र विस्तारै लयमा ल्याउने प्रयास भएका छन् । केही विद्यालय ‘डाउन साइज’ र केही समायोजन गरिएका छन् । उनका अनुसार त्रैमासिक रुपमा शिक्षकले तलब पाउँदै आएकामा देशमै पहिलो पटक गाउँपालिकाले ‘इएफटी’मार्फत मासिक रुपमा तलब भत्ता खातामा जाने व्यवस्था सञ्चालन गरेको छ । विद्यार्थी अनुपातमा शिक्षक व्यवस्थापन र शिक्षक अभाव भएको ठाउँमा पदपूर्ति गरेर अघि बढेको अध्यक्ष धामीले बताए । ‘रोजगारी पालिकामै सिर्जना गर्न गार्मेन्ट उद्योग सञ्चालनको तयारी गरिएको छ, किसानलाई कृषि यान्त्रिकरण सहयोग गर्दै आएका छौं,’ उनले भने, ‘रोजगारी सिर्जना गर्ने र उद्यमी बनाउने नीतिलाई प्राथमिकता साथ लिएका छौं, पशु क्षेत्रका सम्भावना भएका ठाउँमा मुर्रा भैँसी वितरण गरिएको छ, पकेट क्षेत्र घोषणा गरिएका छन्, सोहीअनुसार लगानी हुँदैछ, किसानको उत्पादनलाई बजारसम्म ल्याउन सङ्कलन केन्द्र निर्माण गरिँदै छ ।’ अहिलेको सीमित स्रोतसाधनले गाउँवासीको सपना पूरा गर्नतर्फ निरन्तर प्रयास हुने धामीको भनाइ छ । १० शैय्या अस्पतालमा मात्र नभई गाउँपालिकाले बस्तीस्तरसम्म शिविर सञ्चालन गरेर स्वास्थ्य सेवा प्रवाह गरेको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाले ५७ करोड ९१ लाख ७४ हजार रुपैयाँ बजेट कार्यान्वयन गरिरहेको छ । त्यसमार्फत पालिकाभरि ११८ योजना कार्यान्वयन भइरहेको छ । गाउँपालिकाले सामाजिक विकास क्षेत्रमा ३३, आर्थिक विकासको क्षेत्रमा सात, महिला लक्षित दुई तथा बालबालिका र दलित लक्षित एक÷एक योजना कार्यान्वयन भइरहेका छन् । सामाजिक सुरक्षामा चार करोड बजेट भुक्तानी गाउँपालिकाले दोस्रो चौमासिक अवधिसम्म ४ करोड रुपैयाँ बढी बजेट सामाजिक सुरक्षामा भुक्तानी गरेको छ । पालिकाभर १ हजार २५२ महिला तथा ८९९ पुरुष गरी कूल २ हजार १५१ लाभग्राहीलाई कूल ४ करोड १४ लाख ४३ हजार ३५१ रुपैयाँ भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाभर सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक गैर दलित सङ्ख्या एक हजार ३२८, ज्येष्ठ नागरिक दलित १२९, पूर्ण अपाङ्गता ६१, आंशिक अपाङ्गता ७८, ज्येष्ठ नागरिक एकल महिला ८९, एकल महिला २४५, बाल संरक्षण अनुदान २१४ तथा लोपोन्मुख आदिवासी जनजाति सात जना रहेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख लोकेन्द्र सिंह धामीले जानकारी दिए। चालू आर्थिक वर्षमा सामाजिक सुरक्षा कार्यक्रमका लागि कूल ७ करोड ९९ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा सात कार्यविधि निर्माण गाउँपालिकाले चालू आर्थिक वर्षमा सात वटा कार्यविधि निर्माण गरेको छ । गाउँपालिकाले पहिलो र दोस्रो चौमासिक अवधिमा काम कारबाहीलाई सजिलो बनाउन कार्यविधि निर्माण गरेको हो । प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाका अनुसार चालू आर्थिक वर्षमा मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०८१, आधारभूत अस्पताल सञ्चालन कार्यविधि २०८१, गाउँपालिकाको अनुगमन, सुपरिवेक्षण र फरफारक सम्बन्धी कार्यविधि २०८१, उपभोक्ता गठनसम्बन्धी कार्यविधि २०८१, विद्यालय दिवा खाजा भान्से व्यवस्थापन कार्यविधि २०८१, कर्मचारी कल्याण कोष नियमावली २०८१ तथा विद्यालय भान्सा कोठा निर्माण कार्यविधि २०८१ निर्माण गरिएको छ । यसअघि गाउँपालिकाले २४ ऐन, कार्यविधि, मापदण्ड र निर्देशिका ८९ तथा नियमावली ६ वटा बनाएको गाउँपालिकाले जनाएको छ ।
तीव्र हावाहुरीले उत्तर चीन प्रभावित, सयौँ उडान रद्द, पार्क र रेल सेवा स्थगित
काठमाडौं । चीनमा शनिबार चलेको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ। बेइजिङलगायत विभिन्न शहरहरूमा सयौं हवाई उडान रद्द हुनुका साथै प्रमुख पर्यटकीय स्थलहरू बन्द गरिएका छन् । साथै केही रेल सेवाहरू पनि अस्थायी रूपमा रोकिएका छन् । चीनको मौसम विज्ञान प्रशासनले जनाए अनुसार यो तीव्र हावा चिसो वायुमण्डलीय चक्रवातका कारण उत्पन्न भएको हो, जुन पूर्व र दक्षिणतर्फ सर्दै शुक्रबारदेखि नै असर पारिरहेको छ। 'अप्रिल १२ गतेको दिन सबैभन्दा तीव्र हावा चल्ने अनुमान छ र केही स्थानहरूमा वायु गति सन् १९५१ यता कै रेकर्ड नाघ्न सक्नेछ,' मौसम विभागले बताएको छ। बेइजिङले पछिल्लो १० वर्षमा पहिलोपटक उच्च स्तरको हावा हुरी सतर्कता जारी गरेको छ। शनिबार बिहानसम्म बेइजिङको राजधानी अन्तर्राष्ट्रिय विमानस्थलमा ४१३ उडानहरू रद्द भएका छन् । त्यसैगरी, विमानस्थल जाने एक्सप्रेस मेट्रो र केही तीव्र गतिको रेल सेवा पनि स्थगित गरिएको छ। समर प्यालेस, टेम्पल अफ हेभन, बेइजिङ चिडियाखाना र युनिभर्सल स्टुडियो पार्कजस्ता पर्यटकीय स्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन् । बेइजिङ शहरमा करिब ३०० रूख ढलेका छन् र १९ वटा गाडीहरूमा क्षति पुगेको छ, तर हालसम्म कुनै मानवीय क्षतिको खबर छैन । जलवायु परिवर्तनका कारण यस्ता चरम मौसमका घटनाहरू चीनमा बारम्बार देखिन थालेका छन् । गत वर्ष बाढीका कारण दर्जनौं नागरिकको मृत्यु भएको थियो र हजारौं विस्थापित भएका थिए । यसैगरी, गत मे महिनामा लगातारको वर्षाले दक्षिणी चीनको एउटा सडक भासिँदा ४८ जनाको मृत्यु भएको थियो ।
गणतन्त्र विरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जनताको चाहना अनुरूप स्थापना भएको वास्तविकता सुनाउँदै त्यस विरुद्ध जाने जो कोही सजायको भागीदार हुने हुने बताएका छन् । व्यास नगरपालिकाको आज दमौलीमा आयोजित ३३औँ स्थापना दिवस कार्यक्रममा उनले लामो सङ्घर्ष र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था विरुद्ध जानेलाई कारबाही गरिने चेतावनी दिए । मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान व्यवस्थाबाट नै देशलाई आर्थिक उन्नतिको बाटोमा अगाडि बढाउनुको विकल्प नभएको बताए । तीनवटै तहका सरकारको सहकार्यमा देश विकास सम्भव रहेको उनको भनाइ छ । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आले, प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायत वक्ताले स्थानीय सरकारले जनताको भावनाअनुसार काम गर्नुपर्ने सुझाव दिए ।
चीनको नयाँ उपलब्धि: विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार
काठमाडौं । चीनले आपतकालीन अवस्थाहरूमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विश्वकै पहिलो अत्याधुनिक मेडिकल ड्रोन सफलता पूर्वक विकास गरेको छ । यस ड्रोनको विकास हैशेन मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेडले चीन राज्य पोत निर्माण निगमको अन्तर्गतमा चिनियाँ विज्ञान तथा अन्य साझेदार संस्थाहरूको सहकार्यमा गरेको हो । यो विशेष ड्रोनमा रिमोट भिडियो निगरानीजस्ता अत्यावश्यक स्वास्थ्य सेवासम्बन्धी उपकरणहरू जडान गरिएका छन् । कम्पनीका अध्यक्ष तथा प्रमुख इन्जिनियर श्री हुआङ युहङका अनुसार यो ड्रोन उच्च चिसो तापक्रम तथा पाँच हजार मिटरको उचाइसम्मका कठिन भूगोलमा समेत प्रभावकारी रूपमा खोज तथा उद्धार कार्य गर्न सक्षम छ । यो ड्रोनको तौल ६०० किलोग्राम छ र यसले ३०० किलोग्रामसम्मको भार बोक्न सक्छ । यसमा स्वचालित उडान प्रणालीका साथै टाढाबाट नियन्त्रण गर्ने सुविधा पनि रहेको छ । यसले गर्दा विपद् वा महामारीको बेला छिटो र प्रभावकारी रूपमा उद्धार कार्य सञ्चालन गर्न सकिनेछ । हुआङले भने, ‘हामीले मेडिकल उपकरण, ड्रोन प्रविधि र कृत्रिम बुद्धिमत्ताको संयोजनमार्फत चीनको स्मार्ट आपतकालीन उद्धार क्षमतामा ठूलो सुधार ल्याएका छौं ।’