विकासन्युज

सडकमै हाजिर र नाचगान गरी बितिरहेको छ शिक्षकहरूको दिनचर्या

काठमाडौं । नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै राजधानी केन्द्रित शिक्षक आन्दोलन आज पनि जारी रह्यो । प्रत्येक दिन बिहान ११ बजे माइतीघर-बबरमहलमा भेला भई जिल्ला गत रूपमा ब्यानरसहित जुलुस प्रदर्शन, सडकमै भाषण, गीतसङ्गीत र नाचगान गर्नु आन्दोलनरत शिक्षकको दिनचर्या नै बनेको छ । आन्दोलनमा सहभागिताको लेखा जोखा गर्न सडकमै शिक्षक तथा विद्यालय कर्मचारीको हाजिर गर्ने गरिएको छ । आन्दोलनमा देशभरबाट शिक्षक र विद्यालय कर्मचारीको प्रतिनिधिमूलक सहभागिता रहे पनि महासङ्घले काठमाडौं उपत्यकाको हकमा भने सबै शिक्षक र कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थितिका लागि उर्दी नै जारी गरेको छ । अक्षर सिकाउने, लेखाउने अनि घोक्न लगाउने गुरुबा/आमा सम्मिलित आन्दोलन हालसम्म अरूलाई प्रेरणा दिने गरी शालीन, शान्तिपूर्ण र सभ्य नै देखिन्छ । आन्दोलनका क्रममा शिक्षकहरूले हात हल्लाउने, मोबाइलको लाइट बाल्ने, सडकमा नै सुत्ने, सिट्ठी बजाउने जस्ता कार्यक्रममार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । शिक्षकहरू शिक्षण सिकाइमा प्रयोग गरिने उपकरण, माइक, मादलसहित आन्दोलनमा सहभागी भएका देखिन्छन् । साथै, स्थानीय कलासंस्कृति, भेषभूषा अनुसार सांस्कृतिक प्रस्तुतिमार्फत आफ्ना माग पूरा गर्न सरकारलाई खबरदारी गर्ने शैली पनि अपनाइने गरिएको छ ।  नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आन्दोलन सुरु गरेको दसौँ दिन भयो । महासङ्घले सरकारले खास कुरा सुनेको छैन भन्ने लागे पनि नआत्तिईकन आन्दोलनलाई उचाइमा पुर्‍याउन साथ, सहयोग र समर्थनका लागि आह्वान गरिरहेको छ । आज दशौँ दिन पनि सहभागीलाई ढाडस दिँदै शिक्षक प्रतिनिधिले भनिरहेका थिए, ‘दिनदिँदै आइएको छ, बसिएको छ, खै उपलब्धि के भयो र १ भन्ने लाग्न सक्छ,  नआत्तिनुस् उपलब्धि हुने क्रममा छ । हामीले यहाँ आए र कराएको सरकारले हेरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रसारण गरिरहेका छन्, तपाईंहरूको मेहनत निरर्थक हुँदैन । आन्दोलन लम्बिन सक्छ तर थाक्ने र भाग्ने नगर्नुस् ।’ धनुषाका शिक्षक सञ्जीवकुमार यादवले पेसा गत हकहितका लागि बाध्यताले आन्दोलनमा उत्रनु परेको प्रतिक्रिया दिए ।  उनले भने, ‘हामीहरूको एउटै माग मुद्दा भनेको सरकार र शिक्षक सङ्गठनबीच भएका सम्झौता कार्यान्वयन र नयाँ शिक्षा ऐन जारी हुनुपर्छ भन्ने हो ।’ आन्दोलनमा सहभागी काभ्रेका शिक्षक कृष्णप्रसाद उप्रेतीले नतिजा प्रकाशन गरेर भर्ना अभियानमा लाग्नुपर्नेमा सरकारले विगतमा गरेको सम्झौताअनुसार नयाँ शिक्षा ऐन नल्याएकाले आन्दोलन गर्नुपरेको प्रतिक्रिया दिए।  ‘आन्दोलन शिक्षकको मात्र नभई विद्यालयका प्रशासनिक कर्मचारी, सहयोगी, अस्थायी, करार, राहतमा रहेका शिक्षकले रित्तो हात घर फर्कनु परिरहेको अवस्था अन्त्यका लागि हो, त्यसका लागि छिटो शिक्षा ऐन आउनुपर्छ,’ उनले भने । शिक्षक महासङ्घ खोलुखुम्बुका अध्यक्ष डण्डी कुमार खतिवडाले सरकारसँग विसं २०८० असारमा भएको सहमति कार्यान्वयन गर्ने मामिलामा बेवास्ता भइरहेकाले आन्दोलन गर्नुपरेको सुनाए ।  ‘अभिभावक र विद्यार्थीलाई मर्का नपर्ने गरी उपयुक्त समयको छनोट गरी आन्दोलनमा आएकाले यस पटक उधारो नभई परिणाम हात पारेर मात्र फर्कने प्रण गरेका छौँ,’ उनले भने ।  शान्तिपूर्ण भनिए पनि काठमाडौंको मूल सडकमै आन्दोलन गरिएकाले राजधानीको यातायात सञ्चालन र ट्राफिक व्यवस्थापनमा भने दिनहुँ समस्या भइरहेको छ । साथै, सुरक्षा व्यवस्थापनका लागि ठूलो सङ्ख्यामा प्रहरी खटाउनु परिरहेको छ । आन्दोलनमा स्थायी, अस्थायी, करार, बाल विकास शिक्षा, राहत, विद्यालय कर्मचारी, सहयोगी, साबिक उच्च मावि, सिकाइ अनुदानलगायत शिक्षकहरू सहभागी छन् ।

चैते बाढीले निर्माणाधीन पुल भत्कायो, २ करोड रुपैयाँको क्षति

काठमाडौं । विपद्को पूर्वानुमान गर्न नसक्दा उदयपुरको कटारी नगरपालिका-२ मा निर्माणाधीन पक्की पुल भत्किएको छ । तीन दिनअघिको वर्षाका कारण अमाहाखोलामा आएको बाढीले मिर्चैया-कटारी खण्डअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने पुल ढलान गरिसकेको पुल भत्काएको हो । चैतमा यति ठूलो वर्षा भएर बाढीको अनुमान नगरिएकाले ठूलो भौतिक क्षति भएको निर्माणको जिम्मा लिएको सूर्या एण्ड सन प्रालिका प्रतिनिधि निमेष श्रेष्ठले बताए ।  ‘स्थानीयले पनि चैतमा यत्रो पानी परेको थाहै थिएन भनेका छन् । अब यो सबै भत्काएर नयाँ बनाउनुपर्छ,’ उनले भने ।  इलाका प्रहरी कार्यालय कटारीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कमल बजगाईंले प्रारम्भिक अनुमानमा २ करोड रुपैयाँको क्षति भएको जानकारी दिए । उनका अनुसार खहरे खोलामा पानी नभएको अवस्थामा निर्माण व्यवसायीले खोला थुनी टेको लगाएर ढलान गरेका थिए । वर्षापछि खहरे खोलाको बाढी थुनिएको जनाउँदै प्रनाउ बजगाईंले उक्त थुनिएको पानी बग्ने बेला पुल भत्काएको उल्लेख गरे ।  स्थानीय नारायण कुमारले पुल निर्माणका क्रममा बाढी आउन सक्ने भएकाले ह्युमपाइप राख्नुपर्नेमा जोड दिए ।  ‘तीनवटा ह्युमपाइप राखेर काम गर्न यसअघि हामीले अनुरोध गरेका थियौँ तर निर्माण व्यवसायीले मान्नु भएन,’ उनले भने ।  पुल भत्किनुमा गुणस्तरहीन काम भएको हुनसक्ने स्थानीयको गुनासो आएपछि इञ्जिनियरसहित अनुगमनमा पुग्नु भएका कटारी नगरपालिकाका प्रमुख राजेश चन्द्र श्रेष्ठले खोला थुनिएकाले पानीको बहाव रोकिँदा बाढी आएर क्षति भएको पाइएको जानकारी दिए ।  बाढीले पुल भत्काएपछि हालसम्म बनेको संरचना भत्काएर अर्को निर्माण गर्नुपर्ने मिर्चैया–कटारी–घुर्मी सडक आयोजनाको कार्यालयका प्रमुख पशुपति ज्ञवालीले बताए ।  ‘यहाँ राखिएका तार २८ दिनपछि तन्काउनु पर्ने थियो, तर बाढीले १८ दिनमा क्षति पुर्‍याएको छ । अब सबै संरचना भत्काएर पुनः काम थाल्नुपर्छ,’ उनले भने ।  पुल भत्काएर पुनः निर्माण गर्दा एक वर्ष ढिला हुने निर्माण व्यवसायी श्रेष्ठले बताए ।  ‘भत्काउन पनि समय लाग्छ, मुचुल्का गरेर बिमा दाबी गर्नुपर्छ । वर्षामा काम गर्न समस्या हुन्छ । यसले गर्दा निर्माण तालिका करिब एक वर्ष लम्बिने अनुमान गरेका छौँ,’ उनले भने ।  ५० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमुनि लगाइएको ह्युमपाइप थुनिएर जम्मा भएको पानीले टेका बगाउँदा निर्मित संरचना भाँचिएको थियो । निर्माण कम्पनीले २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी विसं २०७९ असार २९ गते उक्त खण्ड अन्तर्गत पर्ने चारवटा पुल २८ करोड ९९ लाख ५२ हजार रुपैयाँमा जिम्मा लिएको थियो । उक्त खण्ड अन्तर्गत सिमानपुर, खोक्सा, गिद्धाबर र ताराघारीमा पुल बनाउने जिम्मा प्रालिले लिएको छ ।

बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज भएको आगलागी नियन्त्रणमा आएको छ ।  औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।  ‘अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे थप अध्ययन भइरहेको छ,’ उनले भने । 

बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौं । काठमाडौंको बालाजु स्थित औद्योगिक क्षेत्रमा आगलागी भएको छ । आगलागीपछि अहिले जुद्ध वारुणयन्त्रका तीनवटा दमकल आगलागी क्षेत्रमा पुगेको र आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिल राज बोहोराले जानकारी दिए ।  आगलागी भएको खबर पाउन साथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली र वारुणयन्त्रका तीनवटा दमकल अहिले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।  आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । 

सबैभन्दा बढी विद्युत् खपत गर्ने १० ग्राहकलाई ‘सर्वाधिक महत्वपूर्ण ग्राहक’ को सूचीमा राखिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको महसुलसम्बन्धी विवादमा उद्योगीसँग छलफल सुरु गरेको छ ।  लामो समयदेखि विवादका रुपमा रहँदै आएको डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रकम उठाउनका लागि प्राधिकरणका कार्यकारी हितेन्द्रदेव शाक्यले  व्यवसायीसँग छलफल गरेका हुन् ।  विद्युत् प्राधिकरणले गरेको पहललाई उद्योगी व्यवसायीले सकारात्मक सुरुआतका रूपमा लिएका छन् । प्राधिकरणमा आज भएको छलफलमा कार्यकारी निर्देशक शाक्यले राखेको प्रस्तावअनुसार विवाद समाधानका लागि महसुल पुनरावलोकन प्रक्रियामा जान उद्योगी व्यवसायी तयार देखिएका हुन् । प्राधिकरणको विद्युत् वितरण विनियमावली २०७८ मा पुनरावलोकन गर्नका लागि आवश्यक धरौटी रकम २५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको निर्णयलाई उद्योगले स्वागत गरेका छन् । छलफलमा कार्यकारी निर्देशक शाक्यले लामो समयदेखि विवादका रुपमा रहँदै आएको डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता विवाद समाधान गर्न सम्भव भएको बताए । आफूले उद्योगी व्यवसायीलाई रोजगारदाता र महत्वपूर्ण ग्राहकका रूपमा लिने नीति अवलम्बन गरेको उनको भनाइ छ । प्राधिकरणले २०८१ सालमा देशभर सबैभन्दा बढी विद्युत् खपत गर्ने १० ग्राहकलाई ‘सर्वाधिक महत्वपूर्ण ग्राहक’ प्रदेशस्तरमा बढी खपत गर्ने १० ग्राहकलाई ‘अत्यन्त महत्वपूर्ण ग्राहक’ तथा वितरण केन्द्रअनुसार बढी खपत गर्ने १० ग्राहकलाई ‘महत्वपूर्ण ग्राहक’ को सूचीमा राखेर विशेष प्राथमिकता दिइने जनाएको छ ।  यद्यपि, सूचीमा पर्न २ महिनाभन्दा बढी बक्यौता नहुने सर्त तोकिएको छ । प्राधिकरणका उप कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठले प्राधिकरण र औद्योगिक ग्राहकबीच विश्वास निर्माणको अवसरका रूपमा लिनुपर्ने बताए ।  नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारकाले उद्योगीहरू सधैँ कानुनी प्रक्रियामा रहने पक्षमा रहेको भन्दै पुनरावलोकनको माध्यमबाट समाधानमा सहयोग गर्न तयार रहेको बताए । सिमेन्ट उद्योगका प्रतिनिधि ध्रुव थापाले सरकारका विभिन्न निकायको निर्देशनअनुसार महसुल तिर्न उद्योगी तयार रहेको र लाल आयोगले तोकेको अवधिको विद्युत महसुल टाइम अफ डेका आधारमा तिर्न सकिने बताए । छलफलले औद्योगिक क्षेत्रमा विश्वासको वातावरण सिर्जना गर्नुका साथै दीर्घकालीन समाधानको ढोका खोल्ने अपेक्षा गरिएको छ । 

स्टाइल सुजले पठायो बजारमा नयाँ २५ मोडल, जुत्ता खरिदमा १५ प्रतिशत छुट

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा स्टाइल सुजले आफ्ना ग्राहकहरूका लागि छुट र अफरका योजना सार्वजनिक गरेको छ । झण्डै एक दशकदेखि नेपाली बजारमा बच्चादेखि बृद्धसम्मका लागि जुत्ता उत्पादनदेखि बजारीकरण गर्दै आएको कम्पनीले ग्राहकहरूका लागि नयाँ वर्ष लक्षित अफर ल्याएको हो ।  स्टाइल सुज ब्रान्डको उत्पादक कम्पनी स्टाइल सुज इण्डष्ट्रिज प्रालिले हरेक जुत्ता खरिदमा १५ प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । यस्तै कम्पनीले नयाँ वर्षका लागि दुई दर्जनभन्दा बढी नयाँ पार्टी सुज, स्पोर्ट्स, बुट र क्याजुयल सुज सार्वजनिक गरेको छ ।  अहिलेसम्म साढे तीन सय मोडलका जुत्ता बजारमा पठाइसकेको स्टाइल सुजले नयाँ वर्षलाई लक्षित गर्दै थप २५ मोडल बजारमा ल्याएको कम्पनीले जनाएको छ । साथै वैशाखदेखि सुरु हुने विभिन्न स्कुलमा नयाँ भर्नासँगै छात्रछात्रालाई आवश्यक पर्ने जुत्ता उत्पादन गरेर बजारमा ल्याएको स्टाइल सुज इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक कुमार न्यौपानेले बताए ।  पछिल्लो समय स्टाइल सुज युवापुस्ताको विशेष रोजाइमा पर्ने गरेको भन्दै उहाँले बताउनुभयो । नेपालमा उत्पादित जुत्ताहरू आधुनिक युवायुवतीभन्दा पनि अलि उमेर ढल्केकाहरूको लागि मात्र हो भन्ने आम धारणालाई चिर्न पनि कम्पनीले उनीहरूको इच्छानुरूप नयाँ-नयाँ डिजाइन उपलब्ध गराएको प्रबन्ध निर्देशक न्यौपानेले बताए ।  कम्पनीले हरेक किसिमका ग्राहकका लागि पार्टी सुज, स्पोर्ट्स सुज, क्याजुयल सुज, अफिसियल सुजका साथै स्कुल र कलेज पढ्ने विद्यार्थीलगायतका अन्य डिजाइन रहेको कम्पनीले बताएको छ ।  देशका ६५ जिल्लाका मुख्य बजारमा उपलब्ध स्टाइल सुजमा छ महिनाको वारेन्टी दिइएको छ । करिब एक दशकअघि स्वदेशी उद्योग प्रवर्द्धन गर्ने उद्देश्यसहित स्टाइल सुज ब्रान्ड बजारमा ल्याइएको प्रबन्ध निर्देशक न्यौपानेले बताए । 

नेपाल नेशनल हस्पिटललाई महानगरले तिरायो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटललाई जोखिमपूर्ण फोहर व्यवस्थापनमा लापर्वाही गरेपछि १ लाख रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाले पटकपटक अनुगमन गरेर सुधारको मौका दिँदा पनि अस्पताल जन्य फोहर व्यवस्थापनमा जिम्मेवार नदेखाएपछि जरिवाना तिराएको हो । यसपटक अस्पतालको फोहोरले असर गरेको स्थानीयको उजुरीपछि चैत २० गते अनुगमन गरिएको थियो । यसपछि जरिवानाको पत्र पठाइएको थियो । महानगरपालिकाले जरिवानाको पत्र पठाएपछि अस्पतालले चैत २९ गते शुक्रबार महानगरपालिकाको राजस्व खातामा जरिवाना रकम दाखिला गरेको हो ।  ‘एक पटक होइन । दुई पटक होइन । पटक पटक गएर सुधारको मौका दियौँ । जति भने पनि हस्पिटलले सुधार गरेन,’ महानगरपालिकाका वातावरण निरीक्षक सृष्टि श्रेष्ठले भनिन्, ‘सुधारको अवसर उपयोग नगरेपछि काठमाडौँ महानगरपालिकाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ को (ट) र (ठ) बमोजिम जरिवाना गरेका हौँ ।’ यस दफा बमोजिम रसायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्था जन्य फोहरमैला, जोखिमपूर्ण फोहरमैला वा हानी कारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ । सोही कसुर दोहोर्‍याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ ।   

पूर्वअर्थमन्त्री डा भेषबहादुर थापासहित ४ जना स्रष्टा सम्मानित

काठमाडौं । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च, तनहुँले पूर्वअर्थमन्त्री डा भेषबहादुर थापासहित ४ जना स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहमा मञ्चले पूर्वअर्थमन्त्री डा थापालाई सरदार यदुनाथ खनाल सम्मान प्रदान गरेको छ ।  नेपाली भाषा, साहित्य, प्रजातन्त्र, आर्थिक विकास तथा परराष्ट्र नीतिमा पुर्‍याएको योगदानको कदर स्वरूप उनलाई कदरपत्रसहित २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा गीतल प्रतिष्ठान नेपालले नेपाल अधिराज्य तनहुँ वाङ्‍मय कृति पुरस्कार भारतको कोलकत्ताका लेखक डा. सत्य प्रकाश तिवारीलाई प्रदान गरेको छ । नेपाली र भारतीय साहित्यको सम्बन्ध प्रगाढ तुल्याउन योगदान गरेकामा उहाँलाई कदरपत्र र २५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो । प्रतिष्ठानले क्षेत्र प्रताप स्मृति साहित्य पुरस्कारबाट प्राज्ञ सरुभक्तलाई पुरस्कृत गरेको छ । साहित्य, कला र रङ्गमञ्चको उत्थान एवं श्रीवृद्धिमा गरेको योगदानको कदर स्वरुप उहाँलाई पुरस्कृत गरिएको हो ।  यस्तै, गीतल राष्ट्रिय पुरस्कारबाट स्रष्टा ओम रिजाललाई भाषा, साहित्य, कला र वाङ्‍मयको क्षेत्रमा उनको योगदान स्वरूप कदरपत्र र १० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ । साथै, गीतल प्रतिभा पुरस्कारबाट नारायण कैलाश सिग्देललाई ५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।