च्यासल-बालकुमारी क्षेत्रका कवाडी संकलन केन्द्रमा चल्यो डोजर, दुई मजदुर पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म अव्यवस्थित रूपमा सञ्चालनमा रहेका कवाडी संकलन केन्द्रहरू डोजर लगाएर हटाएको छ । महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार ती केन्द्रहरू आवासीय क्षेत्रमा नियमविपरीत सञ्चालन भइरहेका थिए । पटक-पटक सूचना दिँदासमेत अटेर गरेपछि आज डोजरसहितको टोली परिचालन गरी केन्द्र हटाइएको उनले जानकारी दिए । डोजर प्रयोग गरी संरचना हटाउने क्रममा विरोधस्वरूप दुई मजदुरले ढुंगामुढा गरेको र त्यस क्रममा डोजरको सिसा समेत फुटेको अर्यालले बताए । उक्त घटनापछि ढुंगा प्रहार गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको छ । कारबाहीका लागि महानगरपालिकाले दर्जनौं नगर प्रहरी र सुरक्षाकर्मी परिचालन गरेको थियो । महानगरपालिकाले आवासीय क्षेत्रलाई व्यवस्थित गर्न र अव्यवस्थित व्यापारिक गतिविधिमा नियन्त्रण गर्न निरन्तर अनुगमन र कारबाही जारी राख्ने जनाएको छ ।
ट्रम्पको अटो शुल्क कायम रहे फोर्ड मोटरले मूल्य बढाउन सक्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अटो शुल्कहरू जारी रहे फोर्ड मोटरले नयाँ सवारीसाधनहरूको मूल्य बढाउन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । फोर्डले बुधबार डिलरहरूलाई पठाएको ज्ञापनलाई आधार मानी सञ्चारमाध्यमहरूले मूल्य बढाउन सक्ने बताएका हुन् । मिशिगन राज्यको डियरबोर्नमा रहेको यो अटोमोबाइल कम्पनीले यसै महिनाको सुरुतिरदेखि जुन २ सम्मका लागि आफ्ना सबै मोडेलहरूमा ठूलो छुटको प्रस्ताव ल्याएको थियो । यो कार्यक्रम जारी रहनेछ, तर मे महिनामा उत्पादन गरिएका र त्यसपछि आउने नयाँ मोडेलहरूको मूल्य परिवर्तन हुन सक्ने उक्त ज्ञापनमा उल्लेख छ । अटोमोटिभ न्यूजले पहिलो पटक उक्त ज्ञापनको समाचार प्रकाशित गरेको थियो । 'ग्राहकहरूका लागि धेरै विकल्पहरू हुनेछन् र जुन २ सम्म पर्याप्त स्टक उपलब्ध छ । शुल्कको अवस्था परिवर्तनशील छ र हामी त्यसको सम्भावित प्रभावको मूल्याङ्कन गर्दैछौं,’ फोर्डका एक प्रवक्ताले भने । उनले यदि मे महिनामा उत्पादन गरिएका सवारीहरूको मूल्य परिवर्तन भयो भने पनि ग्राहकहरूले जुलाईको सुरुतिर मात्र मूल्य वृद्धिको प्रभाव देख्ने पनि बताए । अमेरिकी र विदेशी अटोमोबाइल निर्माता कम्पनीहरूले उपभोक्ताको मूल्यवृद्धि प्रतिको चिन्ता कम गर्न मूल्य स्थिरता र ठूलो छुटहरूको प्रस्ताव गरेका छन् । यद्यपि शुल्कका छोटो अवधिका प्रभावहरूले बिक्री बढाएको देखिएको छ । अमेरिकी अटो निर्माता कम्पनीहरूले गोप्य रूपमा सांसदहरूलाई चेतावनी दिइसकेका छन् कि यदि शुल्कहरू यथावत रहे भने उनीहरूलाई सवारीसाधनको मूल्य उल्लेखनीय रूपमा बढाउन बाध्य हुनुपर्नेछ । ’हालसम्म सार्वजनिक गरिएको शुल्क नीतिमा ठूला परिवर्तनहरू नभएको अवस्थामा हामी भविष्यमा सवारी साधनको मूल्य समायोजन गर्नुपर्ने आवश्यकता देखिरहेका छौं, जुन मे महिनाको उत्पादनसँगै सुरु हुनसक्छ,’ फोर्डका कार्यकारी एन्ड्रयू फ्रिकले उक्त ज्ञापनमा भनेका छन् । फोर्डले हाल फोर्ड र लिनकन डिलरहरूमा स्टकमा रहेका कुनै पनि सवारीमा स्टिकर मूल्य (सूचीकृत मूल्य) नबढाउने पनि ज्ञापनमा उल्लेख छ । यसै महिनाको सुरुमा प्रकाशित सेन्टर फर अटोमोटिभ रिसर्चको एक विश्लेषणअनुसार अप्रिल ३ मा लागु गरिएको ट्रम्पको २५ प्रतिशत अटो आयात शुल्कका कारण सन् २०२५ मा अमेरिकी अटो निर्माता कम्पनीहरूलाई झन्डै १०८ अर्ब डलर अतिरिक्त खर्च लाग्नेछ । फोर्ड अमेरिकी बजारमा बेचिने करिब ८० प्रतिशत सवारीहरू स्वदेशमै उत्पादन गर्ने भएकाले शुल्कहरूको असर झेल्न सक्षम अटो निर्माता कम्पनीहरूमध्ये एक मानिन्छ । यसै हप्ता ट्रम्पले अटो सम्बन्धी शुल्कहरूमा परिमार्जन गर्ने विचार गरिरहेको संकेत दिएका थिए, जसअनुसार हाल लागु भएका शुल्कहरूमा केही छुट दिन सकिने सम्भावना रहेको छ । घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा
सहमहामन्त्री पदबाट सुमनाले दिइन् राजीनामा
काठमाडौं । सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन् । उनले पदबाट केही समयअघि नै राजीनामा बुझाएको रास्वपा स्रोतले जनाएको हो । स्रोतका अनुसार आफ्नो आवश्यकता विधायकी भूमिकामा रहेको भन्दै श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएकी हुन् । बिहीबार रास्वपाको केन्द्रीय समिति बैठक बस्दैछ । उक्त बैठकमा उनले राजीनामा पत्र पेस गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ । पूर्वशिक्षामन्त्री समेत रहेकी श्रेष्ठले बैठकमा राजीनामा बारेमा विस्तृत धारणा राख्ने पनि जनाइएको छ ।
फुटबल महानायक रोबर्टो कार्लोस एनएसएल क्वालिफायरमा वैशाख ६ गते नेपाल आउने
काठमाडौं । फुटबलका विश्व चर्चित डिफेन्डर र ब्राजिलका लिजेन्ड खेलाडी रोबर्टो कार्लोस वैशाख ६ गते नेपाल सुपर लिग (एनएसएल) को क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने पक्का भएको छ । एनएसएलले वैशाख ६ मा आयोजना गर्न लागेको रोमाञ्चक क्वालिफायर खेलमा कार्लोसको उपस्थिति तय भएपछि नेपाली खेलप्रेमीहरूमा विशेष उत्साह थपिएको छ । ललितपुर सिटी एफसी र धनगढी एफसीबीच हुने उक्त खेल गत सिजनको फाइनलको पुनरावृत्ति हुनेछ । ललितपुर उपाधि रक्षा गर्ने लक्ष्यमा मैदान उत्रनेछ भने धनगढी पहिलो उपाधिको खोजीमा हुनेछ । रोबर्टो कार्लोस आफ्नो तीव्र फ्रिकिक, अद्वितीय गतिशीलता र विश्वस्तरीय डिफेन्स क्षमताका कारण विश्व फुटबलमा उच्च सम्मानित छन् । उनले रियल म्याड्रिड र ब्राजिल राष्ट्रिय टिमको तर्फबाट खेलेर फिफा विश्वकप, चार ला लिगा उपाधि र थुप्रै अन्तर्राष्ट्रिय सफलता हासिल गरेका छन् । कार्लोस वैशाख ५ गते नेपाल आउने छन् । सोही दिन उनले गाला डिनर, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ । एनएसएलमा कार्लोसको उपस्थितिले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ । एनएसएलको यो सिजन कार्लोसको आगमन, रोमाञ्चक खेलहरू र देशभरका शीर्ष खेलाडीहरूको सहभागितासहित अहिलेसम्मकै भव्य सिजन बन्ने अपेक्षा गरिएको छ । प्रशंसकहरूले खेल हेर्नको लागि खल्ती एपमार्फत टिकट खरिद गर्न सक्नेछन् ।
एकैदिन ३ हजार ६ सय रुपैयाँ बढ्यो सुनको भाउ, मूल्य २ लाख नजिक
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २ लाख रुपैयाँ नजिक पुगेको छ । बिहीबार सुनको मूल्य साढे ३ हजार रुपैयाँ बढेसँगै सुनको मूल्यले २ लाख रुपैयाँ नजिक पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज ३ हजार ६ सय रुपैयाँ बढेर तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ । जबकी सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदीको मूल्य ५ रुपैयाँ बढेर तोलामा १ हजार ९६० रुपैयाँ पुगेको हो । बुधबार १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो । चीन लगायत देशले अमेरिकी डलरमाथिको आफ्नो निर्भरता कम गर्न धमाधम सुनको मात्रा बढाइरहेका छन् । पछिल्लो समय चीनले आफ्नो सुन सञ्चिति बढाइरहेको छ । जसकारण पनि सुनको मूल्यमा वृद्धि भइरहेको सुनचाँदी व्यवसायीहरू बताउँछन् ।
प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच डिजिटल कारोबारका लागि सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका–९ शान्तिबन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौता सम्पन्न भएको छ । वैशाख १ गते आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौताअनुसार कास्की तथा अन्य क्षेत्रका कृषि उपजको विक्री–वितरण भइरहेको स्टलमार्फत हुने दैनिक आर्थिक कारोबारलाई डिजिटल माध्यममा रूपान्तरण गरिनेछ । बैंकिङ पहुँच विस्तार र कारोबारमा सहजता ल्याउने उद्देश्यले प्रभु बैंक र समितिबीच यो सहकार्य भएको हो । सम्झौता पत्रमा समितिका अध्यक्ष नवराज दुवाडी र प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले हस्ताक्षर गरेका थिए । अध्यक्ष दुवाडीले बैंकप्रति आभार व्यक्त गर्दै सम्झौताले फलफूल तथा तरकारी बजारमा दैनिक कारोबार अझ सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे । बैंकका प्रदेश प्रमुख राजु रानाले डिजिटल सेवा र नगद रहित कारोबारलाई प्रवर्द्धन गर्न सम्झौता महत्त्वपूर्ण हुने बताए । सम्झौताअनुसार बैंकले समितिअन्तर्गतका व्यवसायीलाई क्युआर कोड, डिजिटल भुक्तानी सेवा तथा इन्टरनेट सुविधा उपलब्ध गराउनेछ । साथै, व्यवसाय विस्तारको लागि बैंकको नियमनअनुसार आवश्यक कर्जा सुविधा पनि उपलब्ध गराइनेछ ।
२६ वर्षपछि 'आयोडिनयुक्त नुन ऐन' कार्यान्वयनमा, स्वास्थ्य समस्या समाधानतर्फ बाटो खुल्यो
काठमाडौं । प्रकाशन भएको २६ वर्षपछि बल्ल 'आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन, २०५५' कार्यान्वयनमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिपरिषदमा पेश गरेको प्रस्ताव वैशाख २ गतेको बैठकबाट पारित भएसँगै ऐन कार्यान्वयनमा आएको हो । यससँगै बालबालिकामा अत्यधिक आयोडिन सेवनबाट देखिएको स्वास्थ्य समस्या समाधानका लागि कानुनी आधार तयार भएको छ । ऐन कार्यान्वयनमा आएसँगै अब यस सम्बन्धी मापदण्ड परिमार्जन गर्न र निर्देशिका बनाउने बाटो खुलेको छ । यो ऐन २०५५ माघ १ गते राजपत्रमा प्रकाशन भएको थियो। तर, ऐन लागू गर्न आवश्यक 'कार्यान्वयन मिति' तोकिएको सूचना राजपत्रमा प्रकाशित नहुँदा अहिलेसम्म कानुनी रूपमा लागु भएको थिएन । अब भने २०८२ साउन १ गतेबाट लागू हुने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार, विगतमा बनेको मापदण्डले बालबालिकामा आवश्यकताभन्दा बढी आयोडिन पुग्दा गम्भीर स्वास्थ्य समस्या देखिएको थियो । सन् २०१६ मा मन्त्रालयले गरेको सर्वेक्षण अनुसार, ६ देखि ९ वर्षका बालबालिकाको पिसाबमा ३०० माइक्रोग्राम प्रतिलिटर हुनुपर्नेमा औसत ३१४ माइक्रोग्राम भेटिएको थियो । यसबाट उच्च रक्तचाप, थाइरोइडजस्ता समस्या देखिएको चिकित्सकहरू बताउँछन् । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार, ऐन कार्यान्वयनमा नआएकाले मापदण्ड परिमार्जन गर्न, नियमन गर्न तथा समस्याको समाधान गर्न अप्ठ्यारो भएको थियो । अब भने स्वास्थ्य, कृषि र अन्य सम्बन्धित निकायहरू मिलेर आवश्यक कानुनी र व्यावहारिक काम गर्न सक्ने अवस्था आएको छ ।
उत्पादन कर्णालीमा, व्यापार काठमाडौंमा
काठमाडौं । कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध भएको छ । जैविक कृषि उपजको प्रयोग र प्रवद्र्धनमा केन्द्रित काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनमा ‘मौलिक बजार’ सञ्चालनमा आएको छ । देशका ७५३ वटै पालिकाबाट सङ्कलन गरिएका जैविक उत्पादनलाई उपभोक्तासम्म पुर्याउने उद्देश्यले सञ्चालनमा आएको बजारमा जुम्लाको मार्सी चामल, हुम्लाको सिमी, मुगुको कोदो, डोल्पाका जडिबुटीलगायत खाद्यान्न पाइन्छ । कर्णालीका किसानलाई खेतीमा प्रोत्साहन गर्ने उद्देश्यले बजार सुरु गरिएको हो । एक स्थानीयय तह, एक उत्पादनको अवधारणा अनुसार कृषि उपजलाई ब्राण्डिङ गरेर बजार सञ्चालन भएको त्यसका सञ्चालक सुमन दाहालले बताए । 'कर्णालीका उत्पादन मात्र नभएर मुलुकका सातवटै प्रदेशमा उत्पादन हुने कृषिसामग्री, हर्बल कस्मेटिक्स, मसला, अदुवा लसुन पेष्ट, हस्तकलाका सामान र मौलिक पहिचान भएका वस्तुको प्रवर्द्धन गर्नु बजारको उद्देश्य हो,' दीर्घकालीन रूपमा मुलुकको कृषि र ग्रामीण विकासमा योगदान पुर्याउने लक्ष्य सुनाउँदै उनले भने ।