विकासन्युज

विकासन्युजमा नयाँ सिरिज ‘रेमिट्यान्सको संसार’ आउँदै

काडमाडौं । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्स तथा वैदेशिक रोजगारसम्बन्धी नयाँ सिरिज (कार्यक्रम) विकासन्युजमा प्रसारण हुने भएको छ ।  यो कार्यक्रम वैदेशिक रोजगारीका अवसर र चुनौती उजागर गर्दै रेमिट्यान्सलाई अझ प्रभावकारी रूपमा परिचालन गर्ने उपाय पहिल्याउने प्रयास हो ।   ‘रेमिट्यान्सको संसार’ विकासन्युज डटकमको अफिसियल युट्युब च्यानल विकासन्युजमा बैशाख १९ गतेदेखि हरेक शुक्रबार बेलुकी ८ बजे प्रसारण हुनेछ ।  नेपालबाट लाखौँ श्रमिक विदेशिने गरेका छन् । यसले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा व्यापक परिवर्तन ल्याइरहेको छ । त्यस्तै, यसका आफ्नै असर पनि छन् । शृङ्खलामा नेपालबाट बहुसङ्ख्यक श्रमिक जाने प्रमुख गन्तव्यको श्रम नीति, त्यहाँका कामदारको अवस्था, त्यहाँ नेपालीले पाउने पारिश्रमिक र सुविधा तथा श्रमिकले भोग्ने चुनौतीसम्बन्धी तथ्य र तथ्याङ्क प्रस्तुत गरिएको छ ।  रेमिट्यान्सले लाखौँ नेपालीको जीवनशैलीमा परिवर्तन ल्याएको छ । विदेशमा श्रम गरेर कमाएको आम्दानीले एकातिर परिवारका आवश्यकता र अर्कातिर देशको आर्थिक वृद्धिमा योगदान गरेको छ । तर पनि रेमिट्यान्सको प्रभाव आर्थिक पक्षमा मात्र सीमित छैन, यसले सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि असर पारिरहेको छ । रेमिट्यान्सको संसार कार्यक्रममा यिनै विषयमा केन्द्रित हुनेछ । सही सीप विकास, अवसरको सदुपयोग र परिश्रम नै श्रमबजारमा सफलताका आधार मानिन्छन् । रेमिट्यान्सको संसार कार्यक्रममा रेमिट्यान्सभित्रको सकारात्मक र नकारात्मक प्रभावबारे विश्लेषण गरिनेछ । प्रवासी नेपालीको योगदान अझ प्रभावकारी बनाउन, रेमिट्यान्सको सही सदुपयोग गर्न र भविष्य सुरक्षित बनाउने सवालमा कार्यक्रम केन्द्रित हुनेछ । साथै, बैदेशिक रोजगारीमा जाने सोचमा रहेका युवा पुस्तालाई गन्तव्य मुलक र नेपालको नीतिबारे महत्वपूर्ण जानकारी दिइनेछ । विशेष कारण शुरू मिति एक सातापछि सारिएकाे-सम्पादक

२६ अंकले बढ्यो नेप्से, १० अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २६ अंकले बढेर २७२२ विन्दुमा पुगेको हो । बजार खुलेको केही समयमै परिसूचकमा हरियाली देखिएको थियो, जुन कारोबारको अन्त्यसम्म कायम रह्यो । आज कुल ३११ कम्पनीका सेयर किनबेच भएका छन् । जसमध्ये १८७ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने ५९ कम्पनीका सेयर घटेका छन् । बाँकी कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । बिहीबार कुल २ करोड ३७ लाख कित्ता सेयर कारोबार हुँदा कारोबार रकम १० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।  आजको दिन सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनर कम्पनीको भएको छ । कम्पनीको एकै दिनमा १ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।   हिमालयन पावरपछिका उच्च कारोबार गर्ने कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर ६२ करोड, हाइड्रोइलेक्ट्रीसीटी इन्भेस्टमेन्ट ४९ करोड, न्यादी ग्रुप ३८ करोड र राधी विद्युत कम्पनी ३७ करोड रुपैयाँको कारोबार भएको छ । आज दुई कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लागेको हो । आज व्यापारबाहेक सबै सूचक सकारात्मक देखिए । व्यापार समूहको सूचक ०.१५ प्रतिशतले घटेको हो । अन्य सबै समूहमा हरियाली देखिएको छ । लगानी समूह सबैभन्दा धेरै २.९९ प्रतिशतले उकालो लाग्यो । बैंकिङ समूह १.१४ प्रतिशत, विकास बैंक १.३५ प्रतिशत, फाइनान्स ०.७२ प्रतिशत, होटल तथा पर्यटन ०.३९ प्रतिशत, हाइड्रोपावर १.१३ प्रतिशत, जीवन बीमा ०.८४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०५ प्रतिशत, माइक्रोफाइनान्स ०.६३ प्रतिशत, निर्जीवन बीमा ०.९६ प्रतिशत र अन्य समूह ०.३७ प्रतिशतले बढेका छन् ।  

रोयल इनफिल्ड क्लासिक ३५० नयाँ लुक्सका साथ बजारमा, सुरुवाती मूल्य ५.५५ लाख

काठमाडौं । रोयल इनफिल्डले लोकप्रिय मोडल क्लासिक ३५० को पाँच भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालमै रहेको सिकेडी प्लान्ट (सीकेडी) मा उत्पादन गरिएको यो नयाँ संस्करण सात आकर्षक रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्लासिक ३५० को सुरुवाती मूल्य ५ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । आधुनिक प्रविधिसहित यस मोटरसाइकलमा डुअल च्यानल एबीएस, एलईडी हेडलाइट, यूएसबी चार्जर, गियर इन्डिकेटर जस्ता सुविधाहरू उपलब्ध छन् । अबदेखि क्लासिकका सबै भेरियन्टहरूमा एबीएस अनिवार्य हुने छ । पाँच भेरियन्टकाे मूल्य यस्तो  हेरिटेज (मद्रास रेड, जोधपुर ब्लू) :  ५ लाख ५५ हजार रुपैयाँ हेरिटेज प्रिमियम (मेडालियन ब्रोन्ज) : ५ लाख ६६ हजार  सिग्नल्स (कमाण्डो सेण्ड) : ५ लाख ६६ हजार डार्क (गन ग्रे, स्टेल्थ ब्ल्याक) : ५ लाख ७३ हजार क्रोम (इमराल्ड ग्रीन) : रू ५ लाख ७९ हजार ९०० वीरगञ्जस्थित सिकेडी प्लान्टमा उत्पादन सुरु गरेपछि रोयल इनफिल्डले नेपालमा प्रिमियम मोटरसाइकल क्षेत्रलाई अझ सशक्त बनाएको छ । वार्षिक २० हजार युनिट उत्पादन क्षमता रहेको यस प्लान्टबाट उत्पादित क्लासिक ३५० आजैदेखि बुकिङ, टेस्ट राइड र विक्रीका लागि उपलब्ध गरिएको छ । कम्पनीका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले क्लासिक ३५० ले पुरानो विरासतलाई आधुनिक शैलीमा अघि बढाउने विश्वास व्यक्त गर्दै भने, 'नेपाल हाम्रो लागि सधैं विशेष बजार रहँदै आएको छ । ग्राहकहरूको मायाले हामीलाई उत्साहित बनाएको छ ।' कम्पनीका अनुसार क्लासिक ३५० सँगै रोयल इनफिल्डले बुलेट ३५०, हन्टर ३५०, मेटेओर ३५०, सुपर मेटेओर ६५०, हिमालयन एड्भेन्चर ४५० लगायतका मोडलहरू पनि नेपालमा उपलब्ध गराइरहेको छ । क्लासिक डिजाइन, शक्तिशाली इञ्जिन र नवीन प्रविधिको संयोजनले क्लासिक ३५० ले रोयल इनफिल्डको सांस्कृतिक र प्राविधिक विरासतलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास कम्पनीले लिएको छ ।

वैज्ञानिकले पानी हालेर बनाए जेलीजस्तो लचिलो ब्याट्री, खराबी आए आफै पनि ठीक हुनसक्ने

काठमाडौं । ब्याट्री सधैंजसो कडा र ठोस हुने गरेको छ । चाहे घडीमा प्रयोग हुने ब्याट्री होस् या तपाईंको स्मार्टफोनको, यी सबै कडा नै हुन्छन् । तर वैज्ञानिकहरूले अब यस्तो धारणा तोडेका छन् ।  रिपोर्टहरूका अनुसार उनीहरूले जेली वा रबरजस्तो लचिलो र मोड्न सकिने ब्याट्री आविष्कार गरेका छन् । विशेष कुरा के छ भने यस ब्याट्रीमा आफूलाई आफै मर्मत गर्ने क्षमता छ, अर्थात् खराबी आएमा पनि आफै ठीक हुन सक्छ ।  भनिएको छ कि यसलाई मोड्न सकिन्छ, चक्कुले काट्न सकिन्छ, तर पनि यसले काम गरिरहन्छ । वैज्ञानिकहरूले यसमा धेरै परीक्षण गरेका छन् र सबै सफल भएका छन् । रोचक कुरा त के छ भने यस ब्याट्रीमा ६० प्रतिशत पानी प्रयोग गरिएको छ। क्यालिफोर्निया विश्वविद्यालयको अद्भूत काम रिपोर्टहरू अनुसार क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीका वैज्ञानिकहरूले यस्तो ब्याट्री बनाएका हुन् । यसलाई ५०० पटकसम्म चार्ज गरेपछि पनि यसको कार्यक्षमता प्रभावित हुँदैन । वैज्ञानिकहरू लामो समयदेखि यस्तो ब्याट्री निर्माण गर्ने प्रयासमा थिए, जुन विभिन्न तापक्रममा काम गर्न सक्ने र प्रयोग गर्न सजिलो होस् । अन्ततः उनीहरू यसमा सफल भएका छन् । केले बनाइयो ? बताइन्छ कि वैज्ञानिकहरूले जुन ब्याट्री बनाएका छन्, त्यो ज्वीटरआयोनिक पोलिमरबाट बनाइएको हो । स्मार्टफोनहरूमा कति उपयोगी हुन्छ भन्नेबारे वैज्ञानिकहरू अझ निष्कर्षमा पुगिसकेका छैनन् । पर्यावरणमैत्री ब्याट्री वैज्ञानिकहरूले बनाएको यो ब्याट्री वातावरणका लागि धेरै हानिकारक छैन । रिपोर्टअनुसार यो ब्याट्री क्यालिफोर्निया विश्वविद्यालय, जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजी र हङकङ विश्वविद्यालय अफ साइन्स एन्ड टेक्नोलोजीका वैज्ञानिकहरूको संयुक्त प्रयासबाट बनाइएको हो । यससँग सम्बन्धित अनुसन्धान साइन्स जर्नलमा प्रकाशित गरिएको छ । एक महिनासम्म जलाइयो एलइडी लाइट वैज्ञानिकहरूले यो ब्याट्रीलाई एलइडी लाइटसँग जडान गरेर परीक्षण गरेका थिए । बताइन्छ कि ब्याट्रीले एक महिनाभन्दा बढी समयसम्म राम्रोसँग काम गरिरह्यो । उनीहरूले जुन प्रविधि प्रयोग गरेका थिए, त्यो सफल भएको देखियो । दाबी गरिएको छ कि यो ब्याट्री अहिलेको लिथियम–आयन ब्याट्रीभन्दा अझ राम्रो छ किनकि यो क्षति हुनबाट जोगिन सक्छ । यसमा पानीजस्ता वातावरणमैत्री तत्व प्रयोग गरिएको छ । ब्याट्रीमा पानीको प्रयोग बताइन्छ कि ब्याट्री बनाउन वैज्ञानिकहरूले ज्वीटरआयोनिक पोलिमर प्रयोग गरेका छन् । यस पोलिमरमा सकारात्मक र नकारात्मक दुवै चार्ज हुन्छन् । यी पोलिमर पानीका अणुसँग बाँधिने क्षमता राख्छन् । सकारात्मक चार्जले पानीका अणुहरूलाई आकर्षित गर्छ भने नकारात्मक चार्जले लिथियम आयनहरूलाई । यसरी पानी ब्याट्रीभित्र राखिएको हुन्छ र भोल्टेज प्रयोग गर्दा लिथियम आयन बाहिरिने सम्भावना कम हुन्छ । वैज्ञानिकहरूले ब्याट्रीमा एस्रीलीक एसिड र फ्लोरिन फ्री लिथियम साल्ट बेस हाइड्रोजेल इलेक्ट्रोलाइट पनि मिसाएका छन् ।  

अष्ट्रेलियामा बेरोजगारी दर बढ्यो, रोजगारीमा पनि मन्दी

काठमाडौं । अष्ट्रेलियामा बेरोजगारी दर बढ्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ । अष्ट्रेलियन ब्यूरो अफ स्टाटिस्टिक्स (एबीएस) का अनुसार, मार्च महिनामा देशको बेरोजगारी दर ४.१ प्रतिशत पुगेको छ, जुन फेब्रुअरीमा ४.० प्रतिशत थियो । एबीएसले बेरोजगारी दरमा देखिएको वृद्धिलाई मौसमी उतारचढावसँग जोडेको छ । यसअघि लगातार पाँच महिना बेरोजगारी दर ४.० प्रतिशतमै स्थिर रहेको थियो । यद्यपि, पछिल्लो १२ महिनामा अष्ट्रेलियामा रोजगारीमा रहेका व्यक्तिको संख्या ३ लाख ८ हजारले बढेको देखिएको छ, जुन वृद्धि दर ९२.२ प्रतिशत हो । यो दर महामारीपूर्वको २० वर्षको औसत वृद्धिदर (२ प्रतिशत) भन्दा धेरै हो । फेब्रुअरीदेखि मार्चको बीचमा मात्रै ३२ हजार २०० नयाँ रोजगारी सिर्जना भएको भए पनि बेरोजगार व्यक्तिहरूको संख्या पनि ३ हजारले बढेको एबीएसको प्रतिवेदनमा उल्लेख छ । एबीएसका श्रम तथ्याङ्क प्रमुख सीन क्रिकका अनुसार, मार्चमा रोजगार–जनसंख्या अनुपात ६४.१ प्रतिशत रहेको छ  । उनले रोजगारीमा वृद्धिका बाबजुद काम गर्ने घण्टामा ०.३ प्रतिशतको गिरावट आएको उल्लेख गर्दै त्यसको कारण चक्रवातजस्ता मौसमी घटनाहरू भएको बताए । रोजगारी सिर्जनामा केही सुधार देखिए पनि बेरोजगारी दरमा आएको वृद्धिले अष्ट्रेलियाको श्रम बजारमा अस्थिरता देखाएको छ । साथै, काम गर्ने घण्टामा कमी आउनु पनि सम्भावित आर्थिक मन्दीको संकेतको रूपमा लिइएको छ ।

प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीका नाममा रोजगार कार्यक्रम : कार्यान्वयनको अवस्था बेहाल

काठमाडौं । बेरोजगारलाई न्युनतम रोजगारी दिने उद्देश्यले सुरु गरिएका प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमहरू कार्यान्वयनमा कमजोर देखिएका छन् । लाखौं बेरोजगारले आवेदन दिए पनि सीमित व्यक्तिले मात्र रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका अनुसार चालु आर्थिक वर्षमा झण्डै ८ लाख बेरोजगार व्यक्तिले आवेदन दिएका थिए। तर अहिलेसम्म ७ हजार ५ सय जनाले मात्रै रोजगारी पाएका छन् । यसले कार्यक्रमको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ । कार्यक्रममार्फत दक्ष जनशक्ति विकास, सार्वजनिक पूर्वाधार निर्माण, निजी र सहकारी क्षेत्रसँग समन्वय गरी रोजगारी सिर्जना गर्ने जस्ता उद्देश्य लिइए पनि व्यावहारिक उपलब्धि न्यून देखिएको छ । कार्यक्रमको कार्यान्वयनका लागि सरकारले विश्व बैंकबाट १३ अर्ब ६२ करोड रुपैयाँ बराबरको ऋण समेत लिएको थियो । अहिले त्यो ऋण सकिन लागेको छ तर रोजगारीको स्थिति सुधारिएको छैन । राष्ट्रिय कार्यक्रम निर्देशक डण्डुराज घिमिरेले भने, 'यस वर्ष बजेट कम भएकाले सूचीकृत सबैलाई रोजगारी दिन सकिएको छैन । ६० हजार जनासम्मलाई रोजगारी दिने लक्ष्य राखिएको छ ।' हालसम्म तलब भुक्तानी भइसकेका मात्रै रोजगारदाताको विवरण संकलन हुने भएकाले संख्या थोरै देखिएको घिमिरेको भनाइ छ । यस्तै, कर्णाली प्रदेश सरकारले २०७५/७६ देखि सुरु गरेको मुख्यमन्त्री रोजगार कार्यक्रम पनि प्रभावकारी देखिएको छैन । चालु आर्थिक वर्षमा कार्यक्रमका लागि १ अर्ब १५ करोड ४० लाख रुपैयाँ छुट्याइएको भए पनि अहिलेसम्म रोजगारी पाउनेको तथ्यांक मुख्य मन्त्रालयसँग छैन । मुख्यमन्त्री रोजगार कार्यक्रम सुर्खेतका प्रशासकीय अधिकृत नविन ढकालले भने, 'आयोजनामा छुट्याइएको ५० प्रतिशतभन्दा बढी बजेट पारिश्रमिकमा खर्च गर्न भनिएको छ ।' उनका अनुसार तथ्यांक आर्थिक वर्षको अन्त्यसम्म मात्रै आउने सम्भावना छ । सरकारका दुई ठूला रोजगार कार्यक्रम–प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार योजनाहरू बजेट र उद्देश्यका हिसाबले महत्त्वपूर्ण देखिए पनि व्यवहारमा आशा अनुसारको प्रभाव देखिएको छैन । योजनाको संरचना, कार्यान्वयन क्षमता र अनुगमन प्रणाली अझ मजबुत बनाउने आवश्यक देखिएको छ ।

राजा फालेको दिनलाई उत्सवका रूपमा मनाऔं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना भएको दिन वैशाख ११ गतेलाई उत्सवका रूपमा मनाउन सबैलाई आह्वान गरेका छन् । बिहीबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख ११ गते मनाउन लागिएको युवा महोत्सवमा सबैको सहभागिता आवश्यक रहेको बताए । 'हामीले ०६३ साल वैशाख ११ गते जनताको अधिकार खोस्ने राजतन्त्रलाई परास्त गरेका थियौं,' उनले भने, 'त्यस दिनको स्मरणस्वरूप युवा महोत्सव मनाउँदैछौं । सबै सहभागी बनौं ।' प्रधानमन्त्री ओलीले एमाले स्पष्ट विचार, नीति र दृष्टिकोणका साथ राष्ट्रको समृद्धिका लागि अगाडि बढिरहेको बताए । उनले संक्रमणकालीन न्याय टुंग्याउन कुनै पनि जघन्य अपराध माफी दिन नहुने स्पष्ट पारे । उनले थपे, 'वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामा एमाले एकल सरकारको रूपमा विकासको थालनी गर्दा विस्थापित गरियो । अहिले संयुक्त सरकारको हिस्सा भएर पनि हामी काम गरिरहेका छौं ।' प्रधानमन्त्री ओलीले सामाजिक सद्भावसहितको राष्ट्रिय एकताको आवश्यकता औंल्याउँदै, भूतपूर्व सैनिक तथा प्रहरी संगठनले देश र पार्टीप्रतिको निष्ठा अझ बलियो बनाउनुपर्नेमा जोड दिए ।

संसारमा पहिलो पटक हुँदैछ 'स्पर्म रेस', एचडी क्यामेराबाट सुट, लाइभसमेत हुने

काठमाडौं । अमेरिकाको लस एन्जलसमा एक अनौठो कार्यक्रमको आयोजना हुन लागेको छ । त्यहाँको हलिवुड प्यालेडियममा शुक्राणु दौड (स्पर्म रेसिङ) को आयोजना गरिन लागिएको हो ।  यो आफ्नै प्रकारको पहिलो र संसारकै अनौठो कार्यक्रम बन्नेछ । एक माइक्रोस्कोपिक ट्र्याकमा दुईवटा शुक्राणु स्याम्पलबीच प्रतिस्पर्धा गराइनेछ । एचडी क्यामेराले शुक्राणुको गतिविधिलाई कैद गर्नेछ र जुन शुक्राणुले पहिला फिनिश लाइन पार गर्नेछ, उसलाई विजेता घोषणा गरिनेछ ।  तपाईंले यो इभेन्टलाई मजाक सम्झिन सक्नुहोला तर स्पष्ट छ- यो विज्ञानको हिसाबले डिजाइन गरिएको एक माइक्रो-एथलेटिक प्रतियोगिता हो । ट्र्याक कस्तो हुनेछ ? यो रेसका लागि विशेष प्रकारको ट्र्याक तयार पारिएको छ । मानव प्रजनन प्रणालीको नक्कल गर्दै ट्र्याक डिजाइन गरिएको हो । यसमा फ्लुड डायनामिक्स (तरल पदार्थको प्रवाह), रासायनिक संकेतहरू र सही टाइमिङको ख्याल राखिएको छ । साथै एचडी क्यामेराको सहयोगमा दर्शकहरूले प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । सामान्य खेलकुदको झैं यहाँ पनि कमेन्ट्री, रिप्ले आदिको प्रयोग गरिनेछ जसले इभेन्टलाई अझ रोमाञ्चक बनाउनेछ । दौड कसरी हुन्छ त ? दौडमा दुईवटा शुक्राणु स्याम्पल प्रयोग गरिनेछ । जसको शुक्राणु पहिले फिनिश लाइन पार गर्छ, त्यो स्याम्पल विजेता हुने छ । यो रेस इभेन्टमा दर्शकहरूले आफूले मन पराएको स्याम्पलमा बाजी (सट्टा) समेत लगाउन सक्नेछन् । यसैले यो कुनै पनि हिसाबले अन्य खेलकुद कार्यक्रमभन्दा कम हुँदैन । दर्शकहरूले यसलाई प्रत्यक्ष स्ट्रिमिङमार्फत पनि हेर्न सक्नेछन् । के हो यसको उद्देश्य ? यो इभेन्ट आयोजना गर्नुको पछाडि एउटा ठूलो उद्देश्य छ । स्पर्म रेसिङ नामक कम्पनीले यो दौड आयोजना गर्न लागेको हो । कम्पनीको भनाइअनुसार उनीहरू यस रेसमार्फत यस्तो मुद्दालाई उजागर गर्न चाहन्छन्, जसबारे धेरैले खुलेर कुरा गर्न चाहँदैनन् ।  विशेषगरी पुरुषहरूको प्रजनन क्षमतासम्बन्धी चेतना फैलाउने उद्देश्य राखिएको छ । कम्पनीका अनुसार विगत ५० वर्षमा विश्वभर पुरुषहरूको शुक्राणु गणनामा ५० प्रतिशत गिरावट आएको छ । स्पर्म रेसिङ टोली भन्छ– शुक्राणु संख्या तपाईंको स्वास्थ्यको ठूलो सूचक हो । फन्डिङको छैन कमी यो रेसको लागि पूँजीको कुनै अभाव छैन । आयोजकहरू अहिलेसम्म १० लाख डलर (१ मिलियन डलर) को फन्डिङ उठाइसकेका छन् । फिगमेन्टजस्ता कम्पनीहरूले यसमा लगानी गरेका छन् ।  आयोजकहरूको भनाइअनुसार धनी र सेलिब्रेटीहरू पनि यो इभेन्टमा सहभागी हुन सक्नेछन् ।  यस रेसलाई एक हजार मानिसले प्रत्यक्ष (अफलाइन) र हजारौंले अनलाइन हेर्न सक्नेछन् । कुनै गम्भीर मुद्दालाई जनचेतनाको रूपमा प्रस्तुत गर्न यो अहिलेसम्मकै अनौठो र सफल प्रयास बन्नेछ । यसले पुरुष प्रजनन क्षमतालाई बहसको विषय बनाउन सफल भएको स्पष्ट हुन्छ ।