विकासन्युज

निषेधित क्षेत्रमा राप्रपाको आन्दोलन हुने, वैशाख ७ मा काठमाडौंमा प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनका अनुसार, सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरेको भन्दै त्यसको विरोधमा निषेधित क्षेत्रमै प्रदर्शन गरिने भएको हो । राप्रपाले वैशाख ९ गते देशभरका ७७ वटै जिल्लामा विरोधसभा, धर्ना र प्रदर्शन गर्ने निर्णय पनि गरेको छ । उपत्यकाका प्रत्येक वडामा संगठन विस्तार गर्दै आन्दोलनलाई सशक्त बनाउने रणनीति लिइएको उनले बताए । 'सरकारको गैरजिम्मेवार कार्यशैली र अधिकार हननविरुद्ध हामी अब चुप लाग्दैनौं,' अध्यक्ष लिङदेनले भने, 'काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्नेछौं, ७७ वटै जिल्लामा पनि जनता सँगै सडकमा उत्रन्छन् ।' बैठकले हालै तीनकुनेमा भएको आन्दोलनपछि पक्राउ परेका पार्टी नेताहरूको रिहाईका लागि राजनीतिक तथा कानूनी संघर्षलाई पनि तीव्र बनाउने निर्णय गरेको छ । साथै, आन्दोलनसँग सम्बन्धित सबै गतिविधिहरू व्यवस्थित गर्नका लागि विशेष कमिटी गठन गरिएको जानकारी दिइएको छ । राप्रपाले आन्दोलनका थप कार्यक्रमहरू चाँडै सार्वजनिक गर्ने जनाएको छ ।

प्रधानमन्त्रीलाई गाह्रो छ भने, प्रधानमन्त्रीकै टिम बनाऔं : महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको सफलताका लागि कार्यशैली रूपान्तरण अपरिहार्य भएको बताएका छन् । बुधबार एक कार्यक्रममा बोल्दै उनले मौन बस्नुले सरकार सफल नहुने भन्दै, कमी कमजोरी औँल्याएर सुधारको बाटो देखाउनु सबैको जिम्मेवारी भएको बताए । शर्माले भने, 'सरकार कायम रहन्छ । तर यसको गति बढ्नुपर्छ । मौन धारणा राखेर सरकार सफल हुँदैन । जहाँ चुकिएको छ, त्यहाँ औँल्याउनुपर्छ । पार्टीका पदाधिकारीका हैसियतले हामीले सरकारलाई कमजोरी देखाएर सच्याउने काम गर्नुपर्छ ।' प्रधानमन्त्रीलाई काम गर्न गाह्रो परेको खण्डमा टिम व्यवस्थापनमा पुनर्विचार गर्नुपर्ने धारणा राख्दै शर्माले, 'जो प्रधानमन्त्री, उसैको टिम होस् । एमालेको प्रधानमन्त्री हुँदा एमालेकै टिम, काँग्रेसको प्रधानमन्त्री हुँदा काँग्रेसकै टिम हुने गरी सहमति गरौं,' भन्ने प्रस्ताव राखे । उनले साना दलहरूलाई सरकारमा समेट्ने र काँग्रेस बाहिरिएर समर्थनमै बस्ने तर कमजोरीमा प्रश्न उठाउने विकल्प पनि सुझाए । 'सत्ता पक्षमै बसेर सरकारलाई साथ दिने र निगरानी गर्ने भूमिका काँग्रेसले लिन्छ । भोलि काँग्रेसको प्रधानमन्त्री हुँदा एमाले पनि यस्तै भूमिकामा रहोस्,' उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै शर्माले सरकारको गति बढाउन खोजिएको आलोचनालाई आक्रमणको रूपमा नलिन आग्रह गरे । 'सरकारको आलोचना आक्रमण होइन, गति बढाउन आवाज उठाइएको हो । अब बहानाबाजी होइन, निष्पादन चाहिन्छ,' उनले स्पष्ट पारे । शर्माले काँग्रेस सभापति शेरबहादुर देउवा समेत कामको गति बढाउनु पर्ने पक्षमा रहेको उल्लेख गर्दै, शिक्षकको माग, गभर्नर र एआईजी नियुक्ति जस्ता विषयमा अब ढिलाइ सह्य नहुने चेतावनी पनि दिए ।

एकातिर 'अमेरिकालाई महान बनाउने' लक्ष्यमा ट्रम्प, अर्कोतिर कम्पनीहरू धमाधम डुब्दै

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक आफ्नो देशलाई 'महान' बनाउने अभियानमा छन् र त्यसका लागि उनले विश्वका धेरै देशहरूमा ट्यारिफ (शुल्क) लगाएका छन् ।  तर अर्कोतिर अमेरिकामा कम्पनीहरू तीव्र गतिमा डुबिरहेका छन् । सन् २०२५ को पहिलो त्रैमासिकमा मात्रै १८८ ठूला कम्पनीहरू डुबिसकेका छन् । अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा यो संख्या ४९ ले बढी हो । यो संख्या सन् २०१० यताकै कुनै पनि त्रैमासिकको सबैभन्दा उच्च हो । यहाँसम्म कि २०२० मा फैलिएको कोरोना महामारीको समयमा पनि यो संख्या १५० नाघेको थिएन । यसरी हेर्दा अमेरिकामा ठूला कम्पनीहरू टाट पल्टिने मामिलामा १५ वर्ष पुरानो रेकर्ड यसपालि टुटेको छ । सन् २०२४ मा कुल ६९४ ठूला कम्पनीहरू टाट पल्टिएका थिए ।  कुन क्षेत्र बढी प्रभावित ? २०२५ को पहिलो त्रैमासिकमा सबैभन्दा बढी असर औद्योगिक क्षेत्रमा परेको देखिन्छ, जहाँ ३२ कम्पनीहरू टाट पल्टिएका छन् । त्यस्तै, उपभोक्ता क्षेत्रमा २४ कम्पनीहरू र स्वास्थ्य सेवा क्षेत्रमा १३ कम्पनीहरूले आफैलाई टाट पल्टेको घोषित गरेका छन् । धेरै विश्लेषकहरूको भनाइ छ कि विदेशी सामानमा ट्यारिफ बढ्दा देशभित्र महँगी बढ्नेछ र त्यसले देशलाई मन्दीको चपेटामा ल्याउनेछ। राष्ट्रपति ट्रम्पले चीनबाट आयात हुने वस्तुहरूमा २४५ प्रतिशतसम्मको ट्यारिफ लगाएका छन्। यसको असरस्वरूप धेरै अमेरिकी कम्पनीहरू चीनबाट उत्पादन हटाउने तयारीमा छन्। तर, अमेरिका भित्रै उत्पादन गर्न खोजेमा लागत अत्यधिक महँगो पर्नेछ। त्यसैले आउँदा दिनहरूमा थप कम्पनीहरू दिवालिया हुने सम्भावना देखिएको छ। मन्दीको खतरा सन् २०१० को पहिलो त्रैमासिकमा २५४ कम्पनीहरू टाट पल्टिएका थिए, जबकि सन् २०२४ को पहिलो त्रैमासिकमा यो संख्या १३९ थियो । विशेषज्ञहरू भन्छन् कि कमजोर वित्तीय अवस्थाका कम्पनीहरू अहिले समस्यामा परेका छन् । उच्च ब्याज दर, ऋण पुनः वित्तीयकरणको कठिनाइ र उपभोक्ता खर्चमा कमीले कम्पनीहरूलाई आर्थिक दबाबमा पारेको छ, जसले टाट पल्टिने घोषणाहरूको संख्या बढाएको हो । अब ट्यारिफ युद्धका कारण ती कम्पनीहरूको अवस्था झन् बिग्रन सक्छ । महँगीले उपभोक्ताहरू खर्च घटाउने सम्भावना छ, जसले मागमा कमी ल्याउनेछ । यही कारणले अमेरिका गहिरो मन्दीमा फस्न सक्ने चिन्ता व्यक्त गरिएको छ । ट्रम्पको अटो शुल्क कायम रहे फोर्ड मोटरले मूल्य बढाउन सक्ने अमेरिकामा मन्दीको आशंका, चीनलाई विश्वमा राज गर्ने मौका

प्रयास नेपालका बालबालिकालाई हिमालय एअरलाइन्सले दियो शैक्षिक सामग्री

काठमाडौं । सञ्चालनको एक दशक पूरा गर्दै हिमालय एअरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको पहल 'स्टेप टुर्वाडस् एजुकेशन' मार्फत समुदायप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिएको छ। यस अभियान अन्तर्गत, एयरलाइन्सले लामो समयदेखि सहकार्य गर्दै आएको प्रयास नेपालका बालबालिकाहरूलाई आगामी शैक्षिक वर्षका लागि आवश्यक शैक्षिक सामग्री प्रदान गर्दै सहयोगलाई निरन्तरता दिएको हो । कम्पनीले बिहीबार पाठ्यपुस्तक, नोटबुक, रजिस्टर, जुत्ता लगायतका सामग्रीसहित तन्ना र तौलियाहरू समेत हस्तान्तरण गरेको छ । कार्यक्रममा बोल्दै हिमालय एअरलाइन्स्को ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले भनिन्, 'विगत आठ वर्षदेखि प्रयास नेपालसँग सहकार्य गर्दै आउँदा यहाँका बालबालिकाहरूको जीवनमा आएको सकारात्मक परिवर्तन देखेर अत्यन्त हर्षित छु । उनीहरू आत्मविश्वासी र सक्षम व्यक्तित्वमा रूपान्तरण भइरहेका छन्, जुन परिवर्तनको साक्षी हुनु भावनात्मक र प्रेरणादायी अनुभव हो ।' प्रयास नेपालकी अध्यक्ष मणि जोशीले निरन्तर साथ र सहयोगका लागि हिमालय एअरलाइन्सप्रति आभार व्यक्त गर्दै भनिन्, 'उहाँहरूको योगदान केवल भौतिक सहयोगमा सीमित छैन, यसले बालबालिकाहरूको जीवनमा आशा र प्रेरणाको उज्यालो थपिदिएको छ। हामी हिमालय एअरलाइन्स्को सफलताको निरन्तर कामना गर्दछौँ ।' विगत २२ वर्षदेखि बालबालिका सशक्तीकरणमा क्रियाशील प्रयास नेपाल हाल १८ जना बालबालिकाको घर हो, जहाँ उनीहरूलाई आत्मनिर्भर र जिम्मेवार नागरिकका रूपमा हुर्काइँदैछ । सामाजिक उत्तरदायित्वमा लगातार अग्रसर रहँदै आएको हिमालय एयरलाइन्सले आफ्नो १० वर्षे यात्रासँगै समाजप्रतिको दायित्व र समावेशी मूल्यमा आधारित दृष्टिकोणलाई अझ मजबुत बनाउँदै लगेको छ ।

पिउने पानीको जारमा किरा भेटिएपछि ललितपुर महानगरले तिरायो २५ हजार जरिवाना

काठमाडौं । ललितपुर महानगरपालिकाले केएम मिनिरल वाटर एण्ड बेभरेज प्रालिलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । कम्पनीले उत्पादन गरेको पानीको जारमा किरा भेटिएपछि जरिवाना गरिएको हो । ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथूका अनुसार पशु सेवा तालिम केन्द्र, ललितपुरमा पिउन ल्याइएको पानीको जारमा किरा देखिएको गुनासो आएपछि तत्काल निरीक्षण गरी कारबाही गरिएको हो । 'गुनासो आएलगत्तै हाम्रो टोली त्यहाँ पुगेको थियो,' हाछेथूले भने, 'निरीक्षणपछि कम्पनीलाई २५ हजार जरिवाना गरिएको छ ।' हाल उपत्यकाभर नगरपालिकाहरूले पिउने पानीका जार र बोतलमा बढ्दो गुनासोहरूपछि कडाइका साथ अनुगमन र निगरानी गरिरहेका छन् । गुणस्तरहीन पानी वितरण गर्नेहरूमाथि महानगरहरूले तत्काल कारबाही सुरु गरेका छन् ।

बाल यौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जनले पाए सफाइ

काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपमा दोषी ठहरिएका रामबहादुर बम्जनलाई सफाइ दिएको छ । जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीश खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले बम्जनसहित दुईजनालाई सफाइ दिएको  हो । इजलासले २०८० चैत ६ गतेको फैसलामार्फत रामबहादुरसँगै सोही आरोपमा परेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि निर्दोष ठहर गरेको हो । ती दुईले यसअघि जिल्ला अदालत सर्लाहीबाट पनि सफाइ पाएका थिए । तर रामबहादुर बम्जन भने जिल्ला अदालत सर्लाहीबाट १७ असार, २०८१ मा १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय पाएका थिए । सोही फैसलाविरुद्ध दायर गरिएको अपीलमा उच्च अदालत जनकपुरले पुनरावलोकन गर्दै दोषमुक्त निर्णय दिएको हो ।

स्वास्थ्य मन्त्रालयले भन्यो : औषधि लिमिटेड किराना पसल होइन, विधिअनुसार मात्रै खरिद हुन्छ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि खरिद प्रक्रिया अगाडि नबढाएको कारण नेपाल औषधि लिमिटेडले उत्पादन बन्द गर्नुपरेको भन्ने आरोप अस्वीकार गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार प्रक्रिया पूरा नगरेको कारण लिमिटेड खरिद प्रक्रियामा समावेश हुन नसकेको स्पष्ट पारे । उनले औषधि खरिदलाई किराना पसलबाट सामान किनेजस्तो रूपमा चित्रण गर्नु अनुपयुक्त भएको बताए । 'हामी आफ्नै घरेलु तथा स्थानीय उद्योगलाई प्रोत्साहन गर्छौं,' प्रवक्ता बुढाथोकीले भने, 'तर टेन्डर प्रक्रियामा सहभागी भएर कागजातहरू पूरा नगरीकन कुनै पनि निकायबाट सिधै खरिद गर्न सकिँदैन । मन्त्रालय कानुनअनुसार मात्रै अघि बढ्छ ।' डा. बुढाथोकीले औषधि लिमिटेडले सरकारी–सरकारी प्रक्रिया अपनाउन चाहेको भएपनि त्यसका लागि उद्योग तथा अर्थ मन्त्रालयको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको बताए । उनका अनुसार औषधि लिमिटेडले व्यावसायिक योजना बनाएर अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको भए पनि सो प्रस्ताव हालसम्म स्वीकृत भएको छैन । 'मुख्यमन्त्री, सचिव लगायतका सरोकारवालासँग भएको छलफलमा औषधि लिमिटेडले व्यावसायिक योजना पेस गर्ने र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि मात्रै स्वास्थ्य मन्त्रालयले एमओयू गरेर खरिद प्रक्रिया अघि बढाउने सहमति भएको थियो,' उनले भने, 'तर अर्थ मन्त्रालयले प्रत्याभूति नदिएपछि हामीमा आवश्यक विश्वास नजागेपछि एमओयू प्रक्रिया अघि बढ्न सकेको छैन ।' नेपाल औषधि लिमिटेडले कच्चा पदार्थ खरिद गरी उत्पादन बढाए पनि सरकारका निकायले औषधि खरिद नगरेपछि बजारमा बिक्री ठप्प भएको र त्यसैले सिटामोल, जीवनजलजस्ता अति आवश्यक औषधिको उत्पादन डेढ महिनादेखि रोकिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले औषधि खरिदमा पारदर्शिता र कानुनी प्रक्रिया पालना गर्नुपर्ने जनाएको छ भने औषधि लिमिटेडले व्यावसायिक योजना र आर्थिक प्रत्याभूतिको सुनिश्चितता बिना उत्पादन निरन्तर गर्न कठिन भएको जिकिर गरेको छ । अब औपचारिक प्रक्रिया पूरा भएपछि मात्रै औषधि खरिदका लागि स्वास्थ्य मन्त्रालयबाट पहल हुने देखिएको छ ।

विकासन्युजमा नयाँ सिरिज ‘रेमिट्यान्सको संसार’ आउँदै

काडमाडौं । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्स तथा वैदेशिक रोजगारसम्बन्धी नयाँ सिरिज (कार्यक्रम) विकासन्युजमा प्रसारण हुने भएको छ ।  यो कार्यक्रम वैदेशिक रोजगारीका अवसर र चुनौती उजागर गर्दै रेमिट्यान्सलाई अझ प्रभावकारी रूपमा परिचालन गर्ने उपाय पहिल्याउने प्रयास हो ।   ‘रेमिट्यान्सको संसार’ विकासन्युज डटकमको अफिसियल युट्युब च्यानल विकासन्युजमा बैशाख १९ गतेदेखि हरेक शुक्रबार बेलुकी ८ बजे प्रसारण हुनेछ ।  नेपालबाट लाखौँ श्रमिक विदेशिने गरेका छन् । यसले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा व्यापक परिवर्तन ल्याइरहेको छ । त्यस्तै, यसका आफ्नै असर पनि छन् । शृङ्खलामा नेपालबाट बहुसङ्ख्यक श्रमिक जाने प्रमुख गन्तव्यको श्रम नीति, त्यहाँका कामदारको अवस्था, त्यहाँ नेपालीले पाउने पारिश्रमिक र सुविधा तथा श्रमिकले भोग्ने चुनौतीसम्बन्धी तथ्य र तथ्याङ्क प्रस्तुत गरिएको छ ।  रेमिट्यान्सले लाखौँ नेपालीको जीवनशैलीमा परिवर्तन ल्याएको छ । विदेशमा श्रम गरेर कमाएको आम्दानीले एकातिर परिवारका आवश्यकता र अर्कातिर देशको आर्थिक वृद्धिमा योगदान गरेको छ । तर पनि रेमिट्यान्सको प्रभाव आर्थिक पक्षमा मात्र सीमित छैन, यसले सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि असर पारिरहेको छ । रेमिट्यान्सको संसार कार्यक्रममा यिनै विषयमा केन्द्रित हुनेछ । सही सीप विकास, अवसरको सदुपयोग र परिश्रम नै श्रमबजारमा सफलताका आधार मानिन्छन् । रेमिट्यान्सको संसार कार्यक्रममा रेमिट्यान्सभित्रको सकारात्मक र नकारात्मक प्रभावबारे विश्लेषण गरिनेछ । प्रवासी नेपालीको योगदान अझ प्रभावकारी बनाउन, रेमिट्यान्सको सही सदुपयोग गर्न र भविष्य सुरक्षित बनाउने सवालमा कार्यक्रम केन्द्रित हुनेछ । साथै, बैदेशिक रोजगारीमा जाने सोचमा रहेका युवा पुस्तालाई गन्तव्य मुलक र नेपालको नीतिबारे महत्वपूर्ण जानकारी दिइनेछ । विशेष कारण शुरू मिति एक सातापछि सारिएकाे-सम्पादक