राजेन्द्र लिङ्देनसहितका नेताहरू पक्राउ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको हो । राप्रपाले आज बिजुलीबजार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको छ । सिंहदरबारस्थित पार्टी दलको कार्यालयमा रहेका लिङ्देनसहितका नेताहरूले तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग गर्दै पम्प्लेट प्रदर्शन गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर, बबरमहल र नयाँबानेश्वर क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ । उक्त क्षेत्रमा तारबार गरेर अवाञ्छित गतिविधि रोक्ने प्रयत्न भएको छ भने धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।
रेसिङमा हुन्डाईको नयाँ अध्यायः हाइपरकार इन्जिनको पहिलो परीक्षण सफल
काठमाडौं । जेनेसिस म्याग्मा रेसिङ जीएमआर- ००१ हाइपरकारको विकासले अर्को ठूलो प्रगति हासिल गरेको छ । वर्ल्ड र्याली च्याम्पियनसी (डब्ल्यूआरसी)- आधारित भी-८ ट्विन-टर्बो इन्जिनले फेब्रुअरीको अन्त्यमा हुन्डाई मोटरस्पोर्टको मुख्यालयमा सफलतापूर्वक पहिलो स्टार्टअप पूरा गर्यो । हुन्डाई मोटरस्पोर्टका पावरट्रेन प्रमुख जुलियन मोन्सेट र इन्जिन वर्कशप प्रमुख रोब बेन्सनको निरीक्षणमा उक्त स्टार्टअप प्रक्रिया योजनाअनुसार सम्पन्न भएकाे थियाे । यो इन्जिन विकासको एक महत्त्वपूर्ण क्षण हो । भी ८ पावरप्लान्टको आधारभूत संरचना हुन्डाई मोटरस्पोर्टको एफआईए वर्ल्ड र्याली च्याम्पियनसिप च्यालेन्जरमा प्रयोग भएको इनलाइन फोर-सिलिन्डर मोटरबाट लिइएको हो । फोर-सिलिन्डर इन्जिन एफआईएको ग्लोबल रेस इन्जिन नियमहरूमा आधारित छ । 'फोर-सिलिन्डर इन्जिन एकदमै परिष्कृत र प्रभावकारी इन्जिन हो,' हुन्डाई मोटरस्पोर्टका प्राविधिक निर्देशक फ्रान्स्वा-जेभियर डेमैसोनले भने, 'यो एउटा वास्तविक रेस इन्जिन हो, त्यसैले वर्ल्ड इन्ड्युरेन्स च्याम्पियनसीप (डब्ल्यूईसी) को लागि इन्जिन विकास गर्न यो राम्रो आधार हो । र्याली पनि एक प्रकारको इन्ड्युरेन्स रेस हो, त्यसैले २४ घण्टे ले म्यान्सका लागि इन्जिन बनाउन यो राम्रो थालनी हो ।' 'हामीसँग इन्जिन विकास गर्न धेरै समय थिएन । एउटा इन्जिनको मुख्य भाग डिजाइन, परीक्षण र उत्पादन गर्न धेरै समय लाग्छ,’ उनले थपे । भी८ इन्जिनको डिजाइन कार्य सन् २०२४ को जुनमा सुरु भएर चार महिनामा सम्पन्न भयो । हुन्डाईका डब्ल्यूआरसी कारका लागि इन्जिनहरू २०१७ देखि हुन्डाई मोटरस्पोर्ट्सद्वारा आफ्नै प्लान्टमा निर्माण हुँदै आएका छन् । सन् २०१३ मा केही इन्जिनियरहरूबाट सुरु भएको यो पावरट्रेन विभाग अहिले डिजाइन, वर्कशप, परीक्षण, इलेक्ट्रोनिक्स र सफ्टवेयर विभागसम्म विस्तार भइसकेको छ । यसले हुन्डाई मोटरस्पोर्ट्सलाई जेनेसिसको इन्ड्युरेन्स रेसिङ यात्रामा आफै इन्जिन निर्माण गर्न सक्षम बनाएको छ । 'हुन्डाई मोटरस्पोट्र्स जेनेसिस म्याग्मा रेसिङको मेरुदण्ड हो र जीएमआर- ००१ हाइपरकारको लागि इन्जिन विकास त्यसको प्रत्यक्ष प्रमाण हो,' जेनेसिस म्याग्मा रेसिङका टीम प्रमुख सिरिल अबिटेबुलले भने, 'हुन्डाई मोटरस्पोर्टसँग धेरै अनुभव छ, त्यसैले यसको पावरट्रेन विकासका लागि हामीले आफ्नै मानिसहरूमा भरोसा गरेका छौं ।' पहिलो इन्जिन स्टार्टअप सफलतापूर्वक सम्पन्न भएपछि अब विकासको दोस्रो चरण सुरु हुँदैछ । हुन्डाई मोटरस्पाेर्ट्स र जेनेसिस म्याग्मा रेसिङका कर्मचारीहरू अब बेन्च परीक्षणहरूमा केन्द्रित हुनेछन्, त्यसपछि इन्जिनलाई जीएमआर- ००१ को गियरबक्स र हाइब्रिड युनिटसँग जडान गरिनेछ । ट्र्याक परीक्षण वर्षको अन्त्यतिर सुरु हुनेछ । हुन्डाईले जेनेसिस जीएमआर- ००१ हाइपरकारको विकासमा हालसम्म कति खर्च गर्यो भन्ने सार्वजनिक भएको छैन । यद्यपि उपलब्ध जानकारीहरूबाट यो परियोजना निकै ठूलो लगानीसहितको रहेको अनुमान गर्न सकिन्छ । सम्बन्धित समाचार ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा
आयात १२ प्रतिशत बढ्दा व्यापार घाटा ११ खर्ब नाघ्यो, निर्यात ६५ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा मुलुकको आयात १२.१८ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार याे अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएका छन् । गत वर्ष सोही अवधिमा आयात ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ थियो । आयात वृद्धिसँगै व्यापार घाटा समेत बढेको छ । विभागका अनुसार यस वर्षको पहिलो ९ महिनामा व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ थियो । व्यापार घाटा ६.४५ प्रतिशतले वृद्धि भएको हो । यसबाहेक कुल वैदेशिक व्यापार १६.८९ प्रतिशतले बढेर १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । निर्यात ६५ प्रतिशतले वृद्धि यस अवधिमा निर्याततर्फ भने उत्साहजनक सुधार देखिएको छ । नेपालले ९ महिनामा १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा निर्यात १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँमा सीमित थियो । यो वृद्धिदर ६५.१६ प्रतिशत हो । निर्यातको अनुपात कुल व्यापारमा १२.५७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ८.८९ प्रतिशतको तुलनामा ४१.३० प्रतिशतले वृद्धि भएको हो । विभागका अनुसार नेपालले सबैभन्दा बढी डिजेल ९१ अर्ब २६ करोड, कच्चा सोयाबिन तेल ६६ अर्ब ०५ करोड, पेट्रोल ४७ अर्ब ७७ करोड र एलपी ग्यास ४६ अर्ब ५८ करोड रुपैयाँ बढीको आयात गरेको देखिन्छ । त्यस्तै, नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा सोयाबिन तेल रहेको छ । सोयाबिन तेल ६२ अर्ब ७८ करोड रुपैयाँ बढीको निर्यात भएको छ । सोयाबिन पछि सूर्यमुखी तेल ९ अर्ब २३ करोड, गलैँचा ८ अर्ब ०९ करोड र ठूलो अलैंची ६ अर्ब २६ करोड रुपैयाँ बढीको निर्यात भएको विभागले जनाएको छ ।
दिल्लीको ईभी नीति ३ महिनाका लागि थप, अटो-रिक्सा बन्द नहुने
काठमाडौं । दिल्लीको नयाँ मुख्यमन्त्री रेखा गुप्ताको सरकारले विद्युतीय सवारीसाधन (ईभी) नीतिलाई जनतासमक्ष सार्वजनिक गरेको छ र जनताका धेरै चासोलाई सम्बोधन गरेको छ । सरकारको स्पष्ट भनाइ छ कि सीएनजी अटो–रिक्सा बन्द हुने छैनन् । मन्त्रिपरिषद् बैठकमा हालको ईभी नीति आगामी तीन महिनासम्म थप्ने निर्णय गरिएको हो । यस निर्णयको अध्यक्षता मुख्यमन्त्री गुप्ताले नै गरेकी हुन् । साथै बिजुलीमा दिइँदै आएको अनुदान पनि यथावत रहनेछ । सवारीमाथि कुनै प्रतिबन्ध छैन दिल्ली सरकारका यातायातमन्त्री पंकज सिंहले जानकारी गराएअनुसार ईभी नीतिमा केही संशोधन हुन सक्छन्, जसबाट जनतालाई अझ सहज र लाभदायक बनाउन सकिन्छ । उनले स्पष्ट रूपमा भने कि तीनपाँग्रे साइकल वा अरू कुनै पनि गाडीमाथि प्रतिबन्ध लगाइने छैन । सरकारले बताएको छ कि उसले दिल्लीको प्रदूषण नियन्त्रण गर्न र जनतालाई उत्तम यातायात सेवा दिन काम गरिरहेको छ । प्रदूषण नियन्त्रणमा सरकारको प्रयास दिल्ली सरकारले फेरि एकपटक स्पष्ट पारेको छ कि कुनै अटोमा प्रतिबन्ध लाग्ने छैन । यसको अर्थ ईभी नीति संशोधित हुँदै जाँदा पनि अटोमा आश्रित यात्रु वा जीविकोपार्जन गर्ने व्यक्तिहरूको चासोको समाधान गरिनेछ । प्रस्तावित ईभी नीति २.० अनुसार सन् २०२७ सम्म दिल्लीमा ९५ प्रतिशत नयाँ सवारीहरू विद्युतीय हुने लक्ष्य राखिएको छ । यस नीतिमा महिलाहरूका लागि विशेष अनुदान र बिस्तारै जैविक इन्धनमा चल्ने गाडीहरू हटाउने योजना समेत समावेश गरिएको छ । दिल्लीको नयाँ ईभी नीतिका मुख्य विशेषताहरू महिलाहरूका लागि विशेष अनुदान- जसको नाममा ड्राइभिङ लाइसेन्स छ र जो इलेक्ट्रिक दुईपाँग्रे सवारी किन्छन्, तिनीहरूलाई अनुदान दिइनेछ । पहिलो १० हजार महिलालाई प्रति किलोवाट आवर १२ हजार भारुको दरमा अनुदान दिइनेछ (अधिकतम ३६ हजार प्रति सवारी)। सामान्य सब्सिडी- दिल्लीवासीहरूले इलेक्ट्रिक दुईपांग्रे सवारी किन्दा प्रति किलोवाट हावर १० हजार भारुको दरमा अनुदान पाउनेछन् (अधिकतम ३० हजार भारु)। पुराना सवारी हटाउनेमा थप लाभ- जसले १२ वर्ष पुराना पेट्रोल÷डिजेल इञ्जिन भएका दुईपाँग्रे गाडी हटाएर ईभी किन्छन्, उनीहरूलाई थप १० हजार भारुको लाभ दिइनेछ । इलेक्ट्रिक तीनपाँग्रे सवारी र अटो- रिक्सालाई पनि लाभ- यी सवारीमा ४५ हजार भारुसम्मको अनुदान र स्क्र्यापिङ इन्सेन्टिभ स्वरूप २० हजार भारुसम्मको लाभ दिइनेछ ।
जापानमा बच्चाको भन्दा धेरै बिक्छ वृद्धको डाइपर
काठमाडौं । जापान संसारको चौथो ठूलो अर्थतन्त्र हो । यो एशियाको पहिलो देश हो जसले 'विकसित देश' को सूचीमा स्थान पाएको थियो । कुनै समय चीनसमेत जापानको अधीनस्थ (गुलाम) रहेको थियो । तर पछिल्ला केही वर्षदेखि जापानमा वृद्ध जनसंख्या तीव्र गतिमा बढिरहेको छ । गत वर्ष ६५ वर्ष वा सोभन्दा माथिको जनसंख्या ३ करोड ६२ लाख ५० हजार पुगेको छ, जुन देशको कुल जनसंख्याको करिब २९.३ प्रतिशत हो । तीमध्ये २ करोड ५ लाख ३० हजार महिला र १ करोड ५७ लाख २० हजार पुरुष छन् । जापानमा वृद्ध जनसंख्या कति तीव्र गतिमा बढिरहेको छ भन्ने कुरा यसैबाट थाहा हुन्छ कि त्यहाँ अहिले बच्चाको भन्दा वृद्धको डाइपर बढी बिक्री हुन्छ । सरकारी तथ्यांकअनुसार हाल जापानमा ९१ लाख ४० हजार वृद्धहरू काम गरिरहेका छन् । यसको अर्थ जापानमा हरेक सातजना कामदारमध्ये एक जना वृद्ध छन् । जनसंख्या घट्दो जापानमा वृद्धको संख्या बढ्दो छ तर कुल जनसंख्या भने घट्दो छ । लगातार १३ वर्षदेखि जापानको जनसंख्या घटिरहेको छ । सन् २०२३ मा जापानको जनसंख्या ५ लाख ९५ हजारले घटेको थियो । सन् २००८ मा जापानको जनसंख्या १२ करोड ८० लाख थियो भने २०२४ मा घटेर १२ करोड ३७ लाख मात्र भएको छ । कामकाजी उमेरको जनसंख्या घट्दा जापानको अर्थतन्त्रमा पनि नकारात्मक असर परेको छ । वृद्धहरूको हेरचाह र सामाजिक सुरक्षामा खर्च बढ्दै गएको छ । सन् २०४० सम्म वृद्धहरूको संख्या बढेर ३४.८ प्रतिशत पुग्ने र त्यसबेला जापानमा १ करोड १० लाखभन्दा बढी कामदारको अभाव हुने अनुमान गरिएको छ । विदेशी कामदारको भरमा जापान जापानमा अक्टोबर २०२४ सम्म २३ लाख विदेशी कामदार पुगेका छन्, जुन अहिलेसम्मकै उच्च हो । यो संख्या अघिल्लो वर्षको तुलनामा १२.४ प्रतिशत ले वृद्धि भएको हो । कामदारको अभाव पूर्ति गर्न जापानी कम्पनीहरूले विदेशीहरूलाई रोजगारी दिइरहेका छन् । जापानमा सबैभन्दा धेरै काम गर्ने विदेशी भियतनामी हुन्, जसको संख्या ५ लाख ७० हजार छ– कुल विदेशी कामदारको २४.८ प्रतिशत । त्यसपछि चीन (४ लाख) र फिलिपिन्स (२ लाख ४० हजार) का कामदार छन् । हालै म्यानमार, इन्डोनेशिया र श्रीलंका बाट काम गर्न आउनेहरूको संख्या पनि तीव्र गतिमा बढिरहेको छ ।
विदेश छाडेर आफ्नै माटोमा सम्भावना : बाख्रापालनबाट लाखौँ आम्दानी गर्दै दाङका युवा
घोराही । वैदेशिक रोजगारबाट फर्किएका यहाँका युवा पशुपालन पेसामा आबद्ध हुँदै गएका छन् । जिल्लाका युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा सम्लग्न भएका हुन् । बाहिरी देशमा भनेजस्तो तलब र काम नपाइने जनाउँ युवाहरू पछिल्लो समय पशुपालन व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् । दाङमा मामा भान्जा मिलेर विगत तीन वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन व्यवसाय गर्दै आएका छन् । घोराही उपमहानगरपालिका–१२ रमनामा बुद्ध बाख्रा फार्ममार्फत व्यवसायमा जोडिएका ३४ वर्षीय भान्जा जनक बुढा र उनका मामा ५४ वर्षीय मनबहादुर बुढा बाख्रापालन व्यवसायबाट सन्तृष्ट छन् । जनक पाँच वर्ष र मनबहादुर २५ वर्ष रोजगारका लागि साउदीमा जीवन व्यतित गरेका हुन् । किसान जनक विदेशबाट आएर बाख्रापालन व्यवसाय सुुरु गरेको बताउँछन् । उनले भने, 'वार्षिक रूपमा बाख्राको बिक्रीबाट एक वर्षमा रु १० लाख आम्दानी हुन्छ ।' तर बाख्राको दानापानी, औषधिलगायतमा खर्च हुने हुँदा त्यति धेरै बचत गर्न सकिएको छैन । 'अरुको देशमा बसेर सोचेजस्तो कमाई गर्न नसकिएको हुँदा अहिले आफ्नै देशमा बाख्रापालन व्यवसायबाट सन्तृष्ट छौँ,' उनले भने । फार्ममा हाल ७५ वटा बोयर, खरी र लोकल जातका बाख्रा छन् । दुई बिघा जग्गा भाडामा लिएर बाख्रापालन गर्दै आएका अर्का किसान मनबहादुर बुढा बताउँछन् । बाबुबाजेले गरेको पेसा पशुपालन भएकाले यही नै उत्तम व्यवसाय लागेको उनको भनाइ छ । घाँसका लागि आफैँ छर्ने गरेको हुँदा घाँसको समस्या नहुने उनी बताउँछन् । गत वर्ष मात्रै ५४ वटा बाख्रा रोग लागेर मरेका कारण रु दुई लाख ५० बढी घाटा भएको उनले सुनाए । यसैलाई निरन्तरता दिँदै जाँदा सफल हुँदै जानेमा उनस्हरू आशावादी छन् । उनीहरूले एउटा खसीलाई रु ५४ हजारसम्म बिक्री गर्ने गरेका छन् । फार्ममा धेरै काम भएका बेला घरपरिवारले पनि सहयोग गर्ने भएको हुँदा अन्य कामदारको आवश्यक नपर्ने गरेको मनबहादुर बताउँछन् । सुरुमा आठवटा बाख्राबाट सुरु गरेको व्यवसाय हाल भने बढ्दै गएको छ । पछिल्लो समय जिल्लामा व्यावसायिक रूपमा नै बाख्रापालन गर्ने युवाको सङ्ख्या बढ्दो छ । बाख्राको बजार मूल्य राम्रो भएपछि किसान व्यवसायमा आकर्षित भएका हुन् । किसानले घरघरमा थोरै भए पनि बाख्रा पालेर सामान्य घर खर्च चलाउने गरेका छन् । विशेषगरी गाउँघरमा किसानले घरमा दुई–चारवटा माउबाख्रा पालेर कमाएको रकम छोराछोरीको पढाइ खर्च, घर खर्च र केही रकम बचत गर्न थालेका छन् । जसले गर्दा दुई–चार रुपैयाँको समस्या बाख्रापालन व्यवसायले टर्ने गरेको किसान बताउँछन् । बाख्रापालन व्यवसायमा बजारीकरणको समस्या नहुने भएकाले यसबाट राम्रो आम्दानी गर्न सकिने किसानको भनाइ छ । रासस
प्रदर्शनकै कारण ट्राफिक अस्तव्यस्त, सर्वसाधारणलाई दैनिक यात्रामा कठिनाई
काठमाडौं । नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका कारण काठमाडौं उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ । विशेषगरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ । प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए । कार्यालय समयमा सवारीसाधन लामो समयसम्म जाममा पर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो । राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर, बबरमहल र नयाँबानेश्वर क्षेत्रमा सवारी आवगमनमा रोक लगाइएको छ । उक्त क्षेत्रमा तारबार गरेर अवाञ्छित गतिविधि रोक्ने प्रयत्न भएको छ भने धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । विगत १९ दिनदेखि देशभरका शिक्षक आन्दोलनमा छन् । उनीहरुको आन्दोलनसँगै आज राप्रपाले पनि विरोध प्रदर्शन गरेपछि सवारी व्यवस्थापन जटिल बनेको हो । यसैबीच, गृहमन्त्रालयले राप्रपाका नामबाट निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउदै गृहमन्त्रालयले कानुन उल्लङ्घन गर्न प्रोत्साहन गर्ने, समाजमा अराजकता फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
सबैभन्दा धेरै नाफा गर्ने बैंक बन्यो नबिल, वितरणयोग्य नाफा २.८७ अर्ब रुपैयाँ
काठमाडौं । ९ महिनाको अवधिमा बैंकिङ क्षेत्रमा नबिल बैंकले सर्वाधिक नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ८.२१ प्रतिशत बढेर ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ आर्जन गरेको हो । जुन बैंकिङ क्षेत्रकै सबैभन्दा धेरै नाफा हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशत घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १२ अर्ब ५५ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २.२७ प्रतिशत बढेर २ अर्ब २७ करोड ७२ लाख रुपैयाँ, सञ्चालन मुनाफा १४.०३ प्रतिशत बढेर ७ अर्ब ६२ करोड २३ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी ०.२० प्रतिशत घटेर १५ अर्ब २९ करोड ८२ लाख रुपैयाँ गरेको छ । यसअवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ रहेको छ । गत वर्षको चैतमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५४ करोड ७० लाख रुपैयाँ थियो । वितरणयोग्य प्रतिसेयर आम्दानी १२.६८ रुपैयाँ रहेको छ । २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष ८.१३ प्रतिशत बढेर ३४ अर्ब १८ करोड ९६ लाख रुपैयाँ रहेको छ । चैतसम्म बैंकको निक्षेप संकलन ८.६६ प्रतिशत बढेर ५ खर्ब २ अर्ब १० करोड ६१ लाख रुपैयाँ र कर्जा लगानी ७.३८ प्रतिशत बढेर ४ खर्ब १ अर्ब १६ करोड २३ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १.६५ रुपैयाँ बढेर २४.८९ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १९.५६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२६.३६ रुपैयाँ रहेको छ ।