विकासन्युज

ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा

काठमाडौं । जनरल मोटर्स (जीएम) अन्तर्गतको ब्रान्ड बुइकले राम्रो प्रदर्शन गरिरहेको थियो । इनभिजन, इनकोर जीएक्स र इनभिस्टाजस्ता नयाँ डिजाइनमा आधारित सस्तो एसयूभीहरूको कारण कम्पनीको बिक्री पहिलो त्रैमासिकमा ३९ प्रतिशतले वृद्धि भएको थियो । इनभिस्टा त ३० हजार डलरभन्दा सस्तोमा पाइने बुइकको सबैभन्दा धेरै बिक्री भएको एसयूभी बनेको थियो । तर त्यसपछि पूर्वराष्ट्रपति ट्रम्पको ट्यारिफ नीति लागू भयो । ब्युइकका ती तीन सबैभन्दा लोकप्रिय मोडलहरू अमेरिकाबाहिर निर्माण गरिन्छन्- इनभिस्टा र इनकोर जीएक्स दक्षिण कोरियामा बनाइन्छन् भने इनभिजन एसयूभी चीनमा निर्माण गरिन्छ । त्यसैले यी सबै मोडलहरू अहिले भारी ट्यारिफको चपेटामा परेका छन्, जसले अमेरिका भित्रको बिक्री मूल्यमा हजारौं डलर थप्न सक्छ । बारक्लेसको विश्लेषण अनुसार बुइकका कोरियामा बनेका मोडलहरूमा २७.५ प्रतिशत ट्यारिफ लाग्छ । चीनमा बनेको इन्भिजनमा भने कुल ४७.५ प्रतिशत ट्यारिफ लाग्छ- जसमा २५ प्रतिशत अटो ट्यारिफ, २० प्रतिशत चीन फेन्टानिल ट्यारिफ र पहिल्यै रहेको २.५ प्रतिशत अटो कर समावेश छ । यो बुइकका लागि नराम्रो खबर हो । वर्षौंसम्म ’पुरानो शैलीको गाडी’ को छवि बोकेको ब्रान्डले अन्ततः नयाँ र आकर्षक मोडलहरू ल्याएर छवि परिवर्तन गरिरहेको थियो तर अहिले त्यो प्रगति जोखिममा छ । विश्लेषकहरू भन्छन्- मूल्य वृद्धि हुने हो भने बुइकको बजार गति थुनिन वा अन्त्यतिर धकेलिन सक्छ । अटोफोरकास्ट सोलुसन्सका उपाध्यक्ष साम फिओरानी भन्छन्- 'बुइकका पछिल्ला गाडीहरू सस्तो, राम्रो गुणस्तरका र राम्रो डिजाइनका छन् । तर उत्पादन लागत बढ्दा यी गाडीहरूलाई बजारमा टिकाइ राख्न गाह्रो हुन्छ ।’ पोर्टफोलियो पुनर्मूल्यांकन ट्रम्पले ल्याएको ट्यारिफका कारण अटो उद्योगका उच्च अधिकारीहरू अहिले आफ्नो उत्पादन पोर्टफोलियोको समीक्षा गर्दैछन्- 'के विदेशी उत्पादनलाई अमेरिकाभित्र ल्याउने खर्च दीर्घकालीन रूपमा उचित छ?’ भन्ने प्रश्न उठेको छ । यस महिनाको सुरुमा लागू भएको ट्यारिफले पहिले नै केही परिवर्तन गराइसकेको छः जीएमले इन्डियानामा रहेको ट्रक उत्पादन प्लान्टको उत्पादन बढाएको छ । स्टेलान्टिस (राम र जीप निर्माता) ले मेक्सिको र क्यानडाका दुई प्लान्टहरूमा अस्थायी रूपमा उत्पादन रोकिदिएको छ । बारक्लेसको १५ अप्रिलको नोटमा भनिएको छ- 'अब अटो कम्पनीहरूले लाभ नहुने गाडीहरू बेच्ने छैनन्, विशेषगरी चीन र कोरियाबाट आयात गरिएका मोडलहरू ।’ जीएमले चीन र कोरियाबाट ४.५ लाख गाडी आयात बन्द गर्ने अपेक्षा गरिएको छ । बारक्लेसले जीएमको २०२५ को आम्दानी पूर्वानुमान ४० प्रतिशतले घटाएको छ- ९.५ अर्ब डलरको ट्यारिफ असरका कारण । फोर्डका लागि ६० प्रतिशत गिरावटको पूर्वानुमान गरिएको छ- फोर्डले लिनकोन नटिलस चीनबाट ल्याउँछ । इनभिस्टा र सेभरोलेट ट्र्याक्सजस्ता सस्तो मूल्यका गाडीहरू (दुबै दक्षिण कोरियामा बनाइएका) मा ट्यारिफको सबैभन्दा ठूलो असर पर्नेछ, किनभने यी सवारीहरू धेरैजसो अमेरिका बाहिर बनाइन्छन् । कक्स अटोमोटिभका अनुसार अहिले नयाँ गाडीको औसत मूल्य ४८ हजार डलर माथि छ । ट्यारिफका कारण प्रभावित मोडलहरूको मूल्य १०-१५ प्रतिशतले बढ्न सक्छ । बाँकी मोडलहरूमा पनि ५ प्रतिशतसम्म मूल्य वृद्धि हुन सक्छ । बुइकको गति रोकिँदै बुइकले पछिल्ला २० महिनामा सबै मोडलहरू नयाँ लुकमा ल्याएको छ, जसले बिक्रीमा उल्लेखनीय वृद्धि गरेको हो । २०२५ को पहिलो त्रैमासिकसम्म बजार हिस्सा ०.८ प्रतिशतबाट बढेर १.६ प्रतिशत पुगेको छ । इनभिस्टाको (सुरुवाती मूल्य २३ हजार ८००) ले ब्रान्डलाई नयाँ उचाइमा पुर्‍यायो । इनभिजन (सुरुवाती मूल्य ३६ हजार ५००) मा पनि नयाँ स्टाइल ल्याइएको थियो, जसले बिक्री बढायो । डिट्रोइटका बुइक-जीएमसी डिलर जेफ लेथम भन्छन्- 'इनभिजन अहिलेको सबैभन्दा बिक्री हुने मोडल हो । जब इनभिस्टाको डिजाइन त्यसमा लागू गरियो, त्यसपछि बिक्रीमा उछाल आयो ।’ एडमन्डका विश्लेषक इभान ड्रुरी भन्छन्– 'बुइकले दशकौंपछि सबैभन्दा राम्रो गति लिएको छ । यो गति रोकिएमा ब्रान्ड मर्दैन तर एउटा ऐतिहासिक सपना भने टुट्न सक्छ ।’ एडमन्डका अनुसार २०२५ अप्रिलको सुरुमा बुइकका डिलरहरूमा ५३ दिनको स्टक थियो, जुन उद्योग औसत ४७ दिनभन्दा धेरै हो । चीनमा पनि चुनौती बुइकका लागि चीन बजार अत्यन्तै महत्त्वपूर्ण हो, तर त्यहाँ पनि समस्या देखिएको छ ।  जीएम र अन्य विदेशी अटो कम्पनीहरू चीनमा बनेका विद्युतीय गाडीहरूसँग प्रतिस्पर्धा गर्न नसकेर संघर्ष गरिरहेका छन् । टेलिमेट्रीका अनुसार बुइकको चीनमा बिक्री २०२० देखि २०२४ सम्म ६५ प्रतिशतले घटेको छ । टेलिमेट्रीका उपाध्यक्ष साम अबुलसामिद भन्छन्- 'चीनको बजारमा अनिश्चितता र अमेरिकी ट्यारिफका कारण बुइक ब्रान्डकै अस्तित्व जोखिममा छ ।’ सम्बन्धित समाचार  ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा  

५ करोडमा पुनःनिर्माण हुँदै नव देग मन्दिर, पुरानै शैलीमा बनाइने

काठमाडौं । काठमाडौं महानगरपालिका–२५ मा अवस्थित ऐतिहासिक नव देग मन्दिर, जसलाई भवानी शंकर मन्दिरको नामले पनि चिनिन्छ, पुरानै कलात्मक शैलीमा पुनःनिर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । साढे ५ करोड रुपैयाँको लागतमा पुनःनिर्माण भइरहेको यो मन्दिर सन् १६७५ मा प्रताप मल्लका महामन्त्री देवीदास चिकुथिले निर्माण गराएका थिए । तत्कालीन मल्लकालीन वास्तुकलाको उत्कृष्ट नमुना मानिने यो मन्दिरको पुनःनिर्माण कार्य २०८१ भाद्र २ गतेबाट सुरु गरिएको हो, जसलाई २०८२ फागुन ४ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुनःनिर्माणको क्रममा भेटिएको ऐतिहासिक शिलालेखमा ४९ पङ्क्ति छन्, जसमा २५ पङ्क्तिमा महादेवको स्तुति र बाँकीमा मन्दिर सञ्चालन, नित्य पूजा, आरती लगायतका विधिहरू उल्लेख गरिएका छन् । ब्राह्मण पुजारीमार्फत दैनिक पूजाआजा गरिने यस मन्दिरमा हरेक महिनाको पहिलो दिन, पूर्णिमा र महाशिवरात्रिमा विशेष पूजाको परम्परा छ । हाल बनाइँदै गरेको नयाँ संरचनामा मन्दिरको तल्लो भागमा पाँच तले ईँटको भर्‍याङ र त्यस माथि तीनतले मन्दिर निर्माण गरिँदैछ । यद्यपि सन् १९७५ को अभिलेखमा यो मन्दिर एकतले देखिए पनि अन्य अभिलेख र प्रमाणका आधारमा हाल तीनतले स्वरूपमा पुनर्निर्माण भइरहेको हो । २०३९ सालको एक अभिलेख अनुसार यो स्थानमा पहिले एक भव्य, कलात्मक मन्दिर रहेको पुष्टि हुन्छ । अझै पनि यहाँ पाँचवटा भुइँतला संरचना बाँकी छन्, जसले पुरातात्त्विक महत्व झल्काउँछन् । गर्भगृहमा शिवलिङ्गका साथै विष्णु, गणेश, सूर्य र देवीका मूर्तिहरू रहेका छन्, जसले पाँचायन देवताको प्रतिनिधित्व गर्छन् । यो मन्दिर केवल धार्मिक स्थल मात्र नभई काठमाडौंको सांस्कृतिक इतिहासको जीउँदो स्मृति पनि हो । पुनःनिर्माणपछि नव देग मन्दिर राजधानीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतनामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

माईतीघरमा १९ दिनदेखि शिक्षकहरूको आन्दोलन जारी

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । आन्दोलनरत शिक्षकहरूले आइतबार पनि प्रदर्शन गर्दै आफ्नो अडान दोहोर्याएका छन् । १९ दिनदेखि काठमाडौंको माईतीघरमा लगातार प्रदर्शन गर्दै आएका शिक्षकहरूले शिक्षामन्त्री, सभामुख तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरे पनि सकारात्मक निष्कर्ष ननिस्किएपछि आन्दोलन जारी राखिएको बताएका छन् । शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन तत्काल कार्यान्वयनमा ल्याउनु पर्ने हो । उनीहरूले ऐन नआएसम्म आन्दोलन नगर्ने अडान दोहोर्याएका छन् । आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने भए पनि शिक्षकहरूले सो परीक्षामा संलग्न नहुने जानकारी दिए । शिक्षकहरूले शनिबारसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म प्रदर्शन गर्दै आएका थिए । तर, आइतबारदेखि भने आन्दोलनको समय परिवर्तन गरी बिहान ९ बजेदेखि १२ बजेसम्म पुर्‍याइएको छ ।   

नेपालमा लोकप्रिय बन्दै इनड्राइभ, यात्रुले आफैं तय गर्न सक्छन् भाडा र चालक

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा यात्रुको स्वतन्त्रता र पारदर्शितामाथि आधारित सेवा मोडेलमार्फत गतिशीलताको नयाँ परिभाषा दिएको छ । 'आफ्नो यात्राको भाडा आफैं तय गर्नुहोस् र मनपर्ने चालक छान्नुहोस्' भन्ने मोडेलमा इनड्राइभ नेपाली बजारमा अग्रणी राइड–हेलिङ सेवा प्रदायक बन्न पुगेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इनड्राइभको याे मोडेलले यात्रुहरूलाई आफैंले गन्तव्य अनुसार भाडा प्रस्ताव गर्ने, उपलब्ध चालकहरूमध्ये छनोट गर्ने र सवारी साधनको प्रकार समेत रोज्ने स्वतन्त्रता दिन्छ । यो सुविधा परम्परागत एपहरूभन्दा भिन्न छ, जहाँ मूल्य निर्धारण एआई एल्गोरिदमको भरमा हुन्छ । इनड्राइभले यात्रु र चालकबीच पारदर्शी सहमतिको आधारमा मूल्य निर्धारण हुने सुविधा दिएको छ । यस मोडेलले ग्राहक सन्तुष्टि, सुलभ भाडा दर, र पारस्परिक समझदारीलाई प्राथमिकता दिएर नेपाली बजारमा नयाँ मानक स्थापित गरेको छ । कम्पनीले आफ्नो सफलता र लोकप्रियताको मूल कारण प्रयोगकर्तामैत्री सेवा मोडेललाई मानेको छ । इनड्राइभले अन्य परम्परागत राइड–हेलिङ एपहरूभन्दा बढी लचिलोपन र प्रयोगकर्ताको स्वतन्त्रता सुनिश्चित गर्दै आएको छ । इनड्राइभका एपीएसी कम्युनिकेसन लिड पवित्र नन्द आनन्दका अनुसार, 'सन् २०२२ मा नेपालमा यो सुविधा सुरु गरिएको हो । नेपाली बजारमा यात्रुहरूलाई आफूले भाडा निर्धारण गर्न दिने सुविधा ल्याउने पहिलो एप इनड्राइभ नै हो ।' यात्रुहरूले मूल्य, सवारी प्रकार, दूरी, र पिकअप समयका आधारमा आफूलाई उपयुक्त चालक छनोट गर्न सक्ने सुविधा पाइरहेका छन् । इनड्राइभ निष्पक्षता र पारदर्शितामा आधारित मूल्य निर्धारण मोडेलका कारण विश्वव्यापी रूपमा लोकप्रिय बन्दै गएको छ । हाल इनड्राइभ विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड भएको राइड–हेलिङ एप बनेको छ र पछिल्ला तीन वर्षदेखि यस स्थानमा कायम रहन सफल भएको छ । सेन्सर टावरका अनुसार, इनड्राइभले ट्राभल र नेभिगेसन श्रेणीमा नेपालमा पहिलो स्थान हासिल गरेको छ । यो तथ्यले इनड्राइभको नेपाली बजारमा बलियो उपस्थिति र ग्राहकबीचको विश्वासलाई पुष्टि गर्छ । इनड्राइभ एप २०२४ को डिसेम्बर महिनामा मात्रै विश्वभर ६१ लाखभन्दा बढी पटक डाउनलोड भएको छ । यसले इनड्राइभको अन्तर्राष्ट्रिय सफलता र प्रयोगकर्तामाझको लोकप्रियतालाई स्पष्ट देखाएको छ । पवित्र नन्द आनन्दका अनुसार, इनड्राइभले यात्रु र चालक दुवैको हितलाई ध्यानमा राख्दै सन्तुलित र आत्मनिर्भर इकोसिस्टम निर्माण गरेको छ । 'यहाँ प्रत्येक सवारी गन्तव्यसम्मको यात्रा मात्र होइन, आपसी समझदारी र सन्तुष्टिको अनुभव पनि हो,' उनले भनिन् । यात्रु र चालकबीचको सीधा संवादमार्फत भाडा निर्धारण हुने यो मोडेलले दुवै पक्षको आवश्यकता र सुविधाअनुसार यात्रा सम्भव बनाएको छ ।

बैंकहरूको नाफा ४१.२४ अर्ब रुपैयाँ, नेपाल बैंकको छलाङ, नबिल नम्बर वान

काठमाडौं । वाणिज्य बैंकहरूले ९ महिनामा सवा ४१ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा २० बैंकले १.३८ प्रतिशत अर्थात् ५६ करोड ३८ लाख रुपैयाँ बढाएर ४१ अर्ब २४ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत वर्षको चैतसम्म यी बैंकको खुद नाफा ४० अर्ब ६७ करोड ८९ लाख रुपैयाँ थियो ।  पछिल्लो समय अर्थतन्त्र सुस्ताएका कारण बैंकहरूले व्यवसाय विस्तार गर्न सकेका थिएनन् । जसको कारण बैंकहरूको आम्दानी घट्न गई त्यसको असर नाफामा परेको देखिन्छ । समीक्षा अवधिमा ११ वटा बैंकको नाफा बढेको छ भने ९ बैंकको नाफामा गिरावट आएको छ ।  यसअवधिमा सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा नेपाल बैंक अग्रस्थानमा देखिएको छ । यस बैंकले २ हजार ३२ प्रतिशत नाफा बढाएर २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । जबकी गत वर्षको चैतमा नेपाल बैंकको नाफा १३ करोड ५ लाख रुपैयाँ मात्रै थियो ।  तर, नबिल बैंक भने सर्वाधिक नाफा गर्ने बैंक बनेको छ । नबिल बैंकले चैतसम्म ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको चैतमा बैंकले ४ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको थियो ।  नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबी) बैंकको ३८.६१ प्रतिशत बढेर ४ अर्ब ५४ करोड रुपैयाँ, ग्लोबल आइएमईको ३७.१२ प्रतिशत बढेर ४ अर्ब ५३ करोड रुपैयाँ, एभरेष्ट बैंकको ३२.५५ प्रतिशत बढेर ३ अर्ब ४५ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको २८.८९ प्रतिशत बढेर १ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  यस्तै, सानिमा बैंकको १४.७९ प्रतिशत बढेर १ अर्ब ६५ करोड रुपैयाँ, एनएमबि बैंकको ५.८७ प्रतिशत बढेर २ अर्ब ३७ करोड रुपैयाँ, प्रभु बैंकको ३.५० प्रतिशत बढेर १ अर्ब ८७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ३.३५ प्रतिशत बढेर १ अर्ब २० करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २.२४ प्रतिशत बढेर १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।  समीक्षा अवधिमा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको नाफा घटेको छ । एनआईसी एशियाको ९१.८१ प्रतिशत घटेर १५ करोड ६७ लाख रुपैयाँमा नाफा सीमित भएको हो ।  हिमालयन बैंकको ७४.३३ प्रतिशत घटेर ५० करोड ४८ हजार रुपैयाँ, कुमारी बैंकको ७२.८५ प्रतिशत घटेर २८ करोड ५८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४९.२८ प्रतिशत घटेर १ अर्ब २० करोड रुपैयाँ, प्राइम बैंकको २२.५५ प्रतिशत घटेर २ अर्ब २२ करोड रुपैयाँमा नाफा झरेको छ । यस्तै, सिटिजन्स बैंकको २०.५९ प्रतिशत घटेर ९६ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ११.१७ प्रतिशत घटेर २ अर्ब १७ करोड रुपैयाँ, कृषि विकास बैंकको १०.१६ प्रतिशत घटेर १ अर्ब ८४ करोड रुपैयाँ र सिद्धार्थ बैंकको १.१९ प्रतिशत घटेर १ अर्ब ६६ करोड रुपैयाँ मात्रै नाफा गरेका छन् ।   

सम्पदा लघुवित्तको साधारण सभा सम्पन्न, मर्जर प्रक्रिया अघि बढाउने प्रस्ताव पारित

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा शनिबार तनहुँको बन्दिपुर–५ स्थित मर्स्याङ्दी रिभर भ्यू रिसोर्टमा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन पारित गरिएको छ । सभामा ५६.१९ प्रतिशत सेयर सदस्यको उपस्थिति रहेको थियो। राष्ट्रिय स्तरमा सेवा विस्तार गर्दै आएको सम्पदा लघुवित्तले हालसम्म ४४ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थाको हालको चुक्ता पुँजी ७० करोड ८ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेको छ । प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले साधारण सभामा दिएको जानकारीअनुसार संस्थाको पुँजीकोष अनुपात ८.१५ प्रतिशत, खराब कर्जा ४.८० प्रतिशत, प्रति सेयर आम्दानी (इपिएस) १० रुपैयाँ ४८ पैसा रहेको छ । सोही अवधिमा संस्थाले ७ करोड ३४ लाख २१ हजार ९० रुपैयाँ खुद नाफा आर्जन गरेको छ । हाल संस्थाले ९ अर्ब ६९ करोड ६५ लाख ७८ हजार ३ सय ४२ रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै, २ अर्ब ५४ करोड ३२ लाख १३ हजार ५८ रुपैयाँ निक्षेप संकलन गरिएको छ । यसबाहेक, संस्थाले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ५६ करोड २८ लाख ५४ हजार ९ सय १३ रुपैयाँ ऋण लिएर लघुवित्त कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ । देशभर १५५ शाखा रहेको सम्पदा लघुवित्तमा हाल १ लाख ७७ हजार ९ सय २ जना सदस्य छन् भने ७६ हजार ९ सय २० जना ऋणी रहेका छन् । सभामा सेयर सदस्यहरूले राखेका जिज्ञासामा अध्यक्ष कृष्ण बहादुर थापा, कम्पनी सचिव पवन कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत पौडेलले स्पष्ट पारेका थिए । कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष, सेयर सदस्य तथा पूर्व सञ्चालकहरूले मन्तव्य राखेका थिए । सभाबाट संस्थापक तर्फ अर्जुन कुमार सिंह, हरि प्रसाद डुम्रे, जिब मूर्ती पन्त र प्रदिप सिग्देल शर्मा सञ्चालकमा निर्वाचित भएका छन् । सर्वसाधारण तर्फबाट भेष राज रोकाया र विनोद तमाङ्ग सञ्चालकमा चयन भएका छन् । अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकमा बीपी एसोसिएट्स एण्ड चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ । साथै, अन्य लघुवित्तसँग सम्भावित मर्जरको प्रक्रिया अघि बढाउन नयाँ सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाबाट पारित गरिएको छ ।

कामना सेवा विकास बैंकको वित्तीय विवरण सार्वजनिक, निक्षेप र कर्जामा वृद्धि

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको कर्जा प्रवाह र निक्षेप संकलनमा उल्लेख्य वृद्धि देखिएको छ । बैंकको निक्षेप संकलन अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा ५९.०६ अर्ब रुपैयाँ रहेकोमा यस वर्ष सो बढेर ६१.८९ अर्ब रुपैयाँ पुगेको छ। निक्षेपसँगै कर्जा प्रवाह पनि बढेको छ । अघिल्लो वर्ष ४५.९८ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको बैंकले यस त्रैमासमा कर्जा प्रवाह ४९.४७ अर्ब रुपैयाँ पुर्‍याएको छ । समिक्षा अवधिमा बैंकले ४९ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको कर्जा–निक्षेप अनुपात ८६.०७ प्रतिशत रहेको छ भने कुल सम्पत्ति ७०.२७ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा कुल सम्पत्ति ६७.१९ अर्ब रुपैयाँ थियो । बैंकको गैर–सञ्चालक कर्जा (एनपीए) अनुपात ३.५५ प्रतिशतबाट वृद्धि भई ४.२७ प्रतिशत पुगेको छ । यद्यपि, बैंकको निष्कृय कर्जा र कर्जा नोक्सानी व्यवस्थाको अनुपात भने १०४.६४ प्रतिशत रहेको छ, जुन बैंकको जोखिम व्यवस्थापन क्षमताको सूचक हो । बैंकले ब्याजदरको चाप, बढ्दो बजार प्रतिस्पर्धा र साइबर सुरक्षाका चुनौतीहरूबीच पनि व्यवसाय विस्तार गर्न सफल भएको जनाएको छ । हाल बैंकको देशभर १३० वटा शाखा छन्, जसबाट डिजिटल प्रविधिमार्फत विभिन्न वित्तीय सेवा प्रदान गरिँदै आएको छ । बैंकले अघिल्लो वार्षिक साधारणसभाबाट अविमोच्य अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरिसकेको छ । अहिले उक्त प्रस्ताव नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको प्रक्रियामा रहेको छ ।

खोटाङका २ हजारभन्दा बढी घरमा अझै अन्धकार, विद्युतीकरणका लागि ५ करोड आवश्यक

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले गरेको सर्वेक्षणअनुसार ८६ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रसारण लाइन तथा १० प्रतिशतमा माइक्रो हाइड्रो र सोलार ग्रिडबाट विद्युत् बलेको पाइएको हो । केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको २५ वर्ष पूरा हुँदा पनि जिल्लामा अझै दुई हजारभन्दा बढी घरपरिवार उपभोक्तामा विद्युत् पुगेको छैन । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिक्तेल बजारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् औपचारिक रूपमा उद्घाटन गरेका थिए । विद्युत् प्राधिकरणले दिएको जानकारीअनुसार जिल्लामा माइक्रो हाइड्रोबाट तीन हजार ४३० र सोलार ग्रिडबाट २८३ घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरिरहेका छन् । विद्युतीकरण हुन बाँकी जिल्लाका दुई हजार बढी घरपरिवार उपभोक्तामध्ये कतिपयले अझै पनि मट्टितेलको धिप्री तथा सोलार टुकीको भर पर्नुपर्ने अवस्था रहेको जनाइएको छ । विद्युत् बल्न बाँकी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्याउन रु पाँच करोड बजेट आवश्यक पर्ने विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीले जानकारी दिए। “हामीले गरेको सर्वेक्षणअनुसार जिल्लाका दुई हजार उपभोक्ताको घरमा विद्युतीकरण हुन बाँकी छ । यसका लागि हामीले केन्द्रमा बजेटसमेत माग गरेका छौँ”, उनले भने, “केन्द्रबाट बजेट स्वीकृत भएर आएको खण्डमा आगामी वर्ष नै जिल्लामा पूर्ण विद्युतीकरणको काम सम्पन्न हुन्छ । त्यसका लागि सम्बन्धित ठाउँमा पहल गरिरहेका छौँ ।” दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित सबस्टेशनबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका उपभोक्तालाई विद्युत् वितरण गरिएको छ । तीन जिल्लाका उपभोक्ताका लागि वितरण गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत्मा पटकपटक समस्या देखिने गरेको छभने उक्त समस्या दीर्घकालीन रूपमा समाधान गर्न टावर अनिवार्य जडान गर्नुपर्ने विज्ञहरूले बताएका छन् । जिल्लामा उत्पादन गरिएका तीनवटा जलविद्युत् आयोजनाबाट १०.६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् । साप्सुखोला जलविद्युत् आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाइड्रोपावर गरी १०.६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादन गरिएको साप्सुखोला जलविद्युत् आयोजना ६.६ मेगावाट, केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र वडा नं ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट तीन मेगावाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट एक मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । जिल्लाका फरक–फरक तीनवटा खोलाबाट उत्पादन गरिएका जलविद्युत् बुइपास्थित ३३ केभी प्रसारण लाइनमा जोडिएका छन् । विद्युत् प्राधिकरणले दिएको जानकारीअनुसार जिल्लामा उत्पादित विद्युत्मध्ये तीन भागमा एक भाग पनि खपत भएको छैन । जिल्लामा विस्तार गरिएका केन्द्रीय प्रसारण लाइनको विद्युत् पटकपटक अवरुद्ध हुँदा उपभोक्ता हैरानीमा पर्ने गरेका छन् । यतिसम्म कि अलि बढी पानी पर्दा, अलि ठूलो हावा चल्दा र बाढीपहिरो आउनासाथ विद्युत् अवरुद्ध हुने गरेको छ । एकैदिन दर्जनौँपटक विद्युत् आउने र जाने समस्याले तीन सेवाग्राही मारमा पर्दै आएका छन् । केन्द्रीय प्रसारण लाइनको विद्युत् झ्याप्प आउनेजाने समस्याका कारण विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ । लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जानाले पटकपटक विद्युत् अवरुद्ध हुने गरेको प्राधिकरणले जनाउँदै आएको छ । रासस