सेयर निष्कासन गर्ने तयारीमा मुक्तिनाथ फुड बैंक, परामर्शकर्तामा मुक्तिनाथ क्यापिटल
काठमाडौं । मुक्तिनाथ फुड बैंकले प्राथमिक सेयर निष्कासन प्रक्रिया अघि बढाउने तयारीस्वरूप मुक्तिनाथ क्यापिटल लिमिटेडसँग परामर्श सेवा सम्झौता गरेको छ । संस्थागत परामर्श सेवा उपलब्ध गराउँदै आएको मुक्तिनाथ क्यापिटलले कम्पनी स्थापनाकालदेखि सेयर निष्कासनसम्मको समग्र प्रक्रिया सहज बनाउन सहयोग गर्ने मुक्तिनाथ फुड बैंकले जनाएकाे छ । सम्झौतामा मुक्तिनाथ फुड बैंकका तर्फबाट सञ्चालक मोहनकुमार बस्नेत र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्रध्वज जोशीले हस्ताक्षर गरे । सम्झौताअनुसार कम्पनीले पूँजी संरचना परिमार्जन, हकप्रद सेयर निष्कासन, पूँजी संकलन लगायतका विषयमा आवश्यक परामर्श प्राप्त गर्नेछ । यस्तै, कम्पनीको प्रबन्धपत्रअनुसार व्यावसायिक विस्तारका लागि आवश्यक सहजीकरण पनि सम्झौतामार्फत गरिनेछ । मुक्तिनाथ फुड बैंकले आउँदो वैशाख १७ गते विशेष साधारण सभा आह्वान गरी हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्ने तयारी गरेको छ । उक्त प्रस्ताव पारित भएपछि चालु आर्थिक वर्ष २०८१/८२ भित्रमा चुक्ता पूँजी ४० करोड पुर्याउने र आगामी आर्थिक वर्ष २०८२/८३ भित्र सर्वसाधारणलाई सेयर निष्कासन गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
दिगो विकासका लक्ष्यका लागि वार्षिक ३० खर्ब २३ अर्ब आवश्यक, ठूलो हिस्सा उद्योग र पूर्वाधारमा
काठमाडौं । राष्ट्रिय योजना आयोगले सन् २०३० सम्मका लागि दिगो विकास लक्ष्य कार्यान्वयनका लागि करिब २११ खर्ब ६५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरेको छ । आइतबार 'दिगो विकास लक्ष्यः आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति-२०८१’ सार्वजनिकीकरण कार्यक्रममा आयोगले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि सन् २०३० सम्ममा वार्षिक औसत ३० खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको हो । दिगो विकास लक्ष्यहरूमध्ये कुल लगानीको सबैभन्दा ठूलो हिस्सा लक्ष्य-९ मा रहेको उद्योग र पूर्वाधारमा आवश्यक हुने आयोगकी कार्यक्रम निर्देशक अनिता पौडेलले बताइन् । उनका अनुसार उद्योग र पूर्वाधारमा कुल लगानीको २४ प्रतिशत आवश्यक पर्ने देखिएको हो । यस्तै, लक्ष्य ७ मा रहेको स्वच्छ ऊर्जामा १२ प्रतिशत, लक्ष्य १ मा रहेको गरिबीको अन्त्यमा ११ प्रतिशत आवश्यक हुने देखिएको छ । सन् २०२४-३० को समयमा औसतमा कुल गार्हस्थ उत्पादनको ४५ दशमलव ४ प्रतिशत लगानी आवश्यक हुने अनुमान रहेको कार्यक्रम निर्देशक पौडेलले बताइन् । उनका अनुसार यो अनुमान साविकको रणनीतिमा गरिएको औसत वार्षिक अनुमान भन्दा २ दशमलव ४ प्रतिशतले कम हो । कार्यक्रम निर्देशक पौडेलले भनिन्, 'सन् २०२४-३० को समयमा औसतमा वार्षिक ३० खर्ब २३ अर्ब रुपैयाँ वित्तीय लगानी आवश्यक हुने देखिन्छ । यो लगानी आवश्यकतामध्ये सबैभन्दा बढी लगानी डिमाण्ड गर्ने दिगो विकासको लक्ष्य ९ हो । जुन पूर्वाधारसँग सम्बन्धित रहेको छ । यस्तै, लक्ष्य ७ स्वच्छ ऊर्जासँग सम्बन्धित र लक्ष्य १ गरिबी निवारणसँग सम्बन्धित लक्ष्यहरूमा अलिकति बढी लगानी आवश्यकता भएको देखिन्छ ।” दिगो विकास लक्ष्यको लगानी आवश्यकता पूर्ति गर्नका लागि सार्वजनिक, निजी, सहकारी (गैरसरकारी र समुदायसहित) र घरपरिवार स्तरबाट वित्तीय स्रोत उपलब्ध हुनेगरी आयोगले रणनीति तयार पारेको छ । सार्वजनिक क्षेत्रबाट दिगो विकास लक्ष्यको कुल लगानी आवश्यकताको ५७ दशमलव ५ प्रतिशत लगानी परिचालन हुने अनुमान गरिएको छ भने सङ्घ सरकारबाट ९० प्रतिशत, प्रदेश सरकारबाट ९ प्रतिशत र स्थानीय सरकारबाट २१ प्रतिशत लगानी परिचालन हुने आयोगको रणनीति छ । निजी क्षेत्रबाट ३४ दशमलव ३५ प्रतिशत, सहकारी तथा गैरसरकारी क्षेत्रबाट ४ दशमलव १८ प्रतिशत र घरपरिवार स्तरबाट ३ दशमलव ९५ प्रतिशत लगानी परिचालन हुने देखिएको छ । आयोगले स्रोतहरूलाई पहिले भन्दा अझ फराकिलो बनाएको आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले बताए । उपाध्यक्ष अधिकारीले भने, 'हामीले स्रोतहरूलाई पहिलो भन्दा अहिले अझ फराकिलो बनायौँ । हामीले हिजोका दिनमा घरायसीलाई खासै जोड दिएका थिएनौं । अहिले हामीले निजी क्षेत्र, सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको योगदानलाई पनि छुट्टाएर रणनीति तयार पारेका छौं ।” आयोगले प्रकाशन गरेको प्रमुख आर्थिक सूचकहरूको प्रयोग विधिसम्बन्धी पुस्तक पनि सार्वजनिक गरिएको छ । यसले मिथ्या सूचना र गलत जानकारीलाई न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
ग्लोबल आइएमईमा खुल्यो रोजगारीको अवसर, आवेदन कहिलेसम्म दिने ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न प्राविधिक पदमा कर्मचारी माग गर्दै रोजगारीको अवसर खुला गरेको छ । बैंकले सूचना प्रविधिसम्बन्धी क्षेत्रमा दक्ष जनशक्ति भर्ना गर्न आवेदन आह्वान गरेको हो । बैंकले डेटा साइन्टिष्ट, डेटा इन्जिनियर, बिआई ड्यासबोर्ड डेभलपर र इन्फरमेसन सेक्युरिटी एनालिस्ट पदमा योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको छ । यसले बैंकको डिजिटल सेवा सुदृढ पार्न मद्दत गर्ने विश्वास गरिएको छ । उक्त पदका लागि इच्छुक उम्मेदवारले मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्प्युटर विज्ञान वा सूचना प्रविधि विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । यस्तै, सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव समेत अनिवार्य गरिएको छ । बैंकले उम्मेदवारसँग बैंक वा वित्तीय संस्थामा कम्तीमा २ वर्ष, वा अन्य कुनै संस्थामा सम्बन्धित क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव हुनुपर्ने जनाएको छ । कार्यानुभवसहित दक्ष जनशक्तिलाई प्राथमिकता दिइने बताइएको छ । योग्यता पुगेका इच्छुक उम्मेदवारले वैशाख १३ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन प्रक्रिया र थप जानकारी बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिनेछ ।
मात्र २५ हजारमा धेरै फिचर भएको भिभो वाई-२९ सार्वजनिक
काठमाडौं । भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाई-२९ सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी नयाँ स्मार्टफोन आधिकारिक रूपमा सार्वजनिक गरिएको हो । यसमा ६ हजार ५०० एमएएच क्षमताको ब्याट्री रहेको छ । साथै ब्याट्रीमा ५ वर्षसम्मको ग्यारेन्टी रहेको छ । भिभोको ब्लु वल्ट टेक्नोलोजीले सुसज्जित यो फोनले लामो समयसम्म सहज प्रयोग सुनिश्चित गर्छ । ४४ वाट फ्ल्यास चार्जको साथमा ४८०० एमएएच सम्मको रिभर्स चार्जिङका साथै इमरजेन्सी पावर सेभिङ मोडको सहायताले १५ प्रतिशत ब्याट्रीमा पनि आवश्यक सम्पर्क कायम राख्न सक्षम बनाउने कम्पनीले जनाएको छ । भिभो वाई-२९ को डिजाइन पक्षमा पनि नयाँपन देखिन्छ । थ्रीडी कर्भ्ड ब्याकप्लेट र मेटालिक हाई-ग्लास फ्रेमले स्टाइल र समात्न सजिलोपन दुबै प्रदान गर्छ । नोबल ब्राउन र एलीगन्ट ह्वाइट रंग विकल्पमा यो फोन उपलब्ध छ । फोनमा प्रयोग गरिएको शट अल्फा ग्लासले यसलाई ड्रप, डस्ट र स्प्ल्यास प्रुभ बनाउँछ । प्रदर्शन र फिचरको संयोजनमा भिभो वाई-२९ अत्यन्तै प्रभावशाली छ । ८ + ८ जीबीको विस्तारित र्याम र २५६ जीबी स्टोरेजले गर्दा झन्झटरहित मल्टिटास्किंगको सुनिश्चित गर्छ । १२० हर्ट्ज रिफ्रेश रेट, १००० निट्ससम्मको ब्राइटनेस, र टीयूभी राइनल्याण्ड लो ब्लू लाइट डिस्प्ले र ४०० प्रतिशत अडियो बुस्टसहितको डुअल स्टेरियो स्पिकरजस्ता फिचरहरू उपलब्ध छन् । यस्तै, फोटोग्राफीप्रेमीका लागि भिभो वाई–२९ मा ५० एमपी एचडी मुख्य क्यामेरा छ । एआई– ईरेज र एआई-फोटो ईनह्यान्समेन्टजस्ता स्मार्ट टुल्सले सम्पादनलाई अझ सहज बनाउँछ । साथै एआई– सुपर लिंक, सर्कल टु सर्च र स्क्रिन ट्रान्सलेसन जस्ता स्मार्ट फिचरहरू यसमा छन् । भिभो वाई-२९ अहिले नेपालभरिका सबै रिटेल स्टोरहरूमा र दराज अनलाइनमा उपलब्ध छ । यसको प्रारम्भिक मूल्य २४ हजार ९९९ रुपैयाँ राखिएको छ ।
सेयर बजारमा दोहोरो अंकको गिरावट, ८ अर्बभन्दा बढीको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १६.०८ अंकले घटेर २७०६.०५ बिन्दुमा झरेको हो । बजार खुलेको केही समय सकारात्मक देखिए पनि अन्त्यसम्म आइपुग्दा नेप्से ओरालो लागेको हो । सूचकसँगै कारोबार भएका अधिकांश कम्पनीको मूल्यमा पनि गिरावट देखिएको छ । आज ३२८ वटा कम्पनीको २ करोड कित्ता भन्दा बढी सेयर किनबेच हुँदा ८ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज ५३ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १९२ कम्पनीको सेयर घटेका छन् । एक कम्पनीको मूल्य भने स्थिर रह्यो । सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको कुल कारोबार रकम ६८ करोड रुपैयाँ नाघेको छ । त्यस्तै, न्यादी ग्रुपको ५७ करोड, बलेफी हाइड्रोपावरको ५६ करोड, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३८ करोड र सानिमा माइ हाइड्रोपावरको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र केस्ट माइक्रो लाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । आजको कारोबारमा अधिकांश समूहको उपसूचक घटेको देखिएको छ भने केही समूहमा वृद्धि भएको छ ।उत्पादन तथा प्रशोधन समूह ०.५२ प्रतिशतले र व्यापार समूह १.०२ प्रतिशतले बढेका छन् । तर, बैंकिङ ०.७०, विकास बैंक ०.७९, वित्त १.२७, होटल तथा पर्यटन १.३६, जलविद्युत् १.२२, र लगानी समूह ०.०६ प्रतिशतले घटेका छन् । त्यस्तै, जीवन बिमा ०.८७, लघुवित्त ०.५४, म्युचुअल फन्ड ०.२३, निर्जीवन बिमा ०.२२ र अन्य समूह १.०३ प्रतिशतले घटेकाे नेप्सेले जनाएकाे छ।
भट्टविरुद्ध दर्ता भएको रिट हेर्न नभ्याइनेमा
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध गभर्नर बन्न योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा राखिएको छ। आइतबार गभर्नरको उमेरजन्य योग्यतामा गरिएको संशोधन कार्यान्वयन नगर्न परेको रिट र उक्त रिटमाथि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहितको पुनरावेदन निवेदनको पेशी तोकिएको थियो । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा‍ पेशी परेको थियो । उक्त रिटको पेसी ४० औं नम्बरमा परेको थियो । अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्च प्रशासनमा निवेदन दर्ता गराएका थिए । रिट निवेदनमा दलहरूले ऐनको बाटो छाडेर सहमतिको आधारमा गर्नू दूषित कार्य भएको उल्लेख छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाको कार्यविधि विपरीत डा. भट्टलाई कानुनको विधि परित्याग गरी नेताहरूको सहमतिको आधारमा नियुक्ति गर्ने गैरकानुनी प्रपञ्च रचिएको पनि रिट निवेदनमा दाबी गरिएको छ । यसअघि सर्वोच्च अदालतले संशोधित मापदण्ड कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टलाई बोलाएर गभर्नर बन्ने संकेत दिएपछि उनले शुक्रबार कार्यकारी निर्देशकबाट राजीनामा दिइसकेका छन् । यद्यपि भट्टको राजीनामा भने स्वीकृत भइसकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली र सभापति देउवाबीच गत बुधबार साँझ बसेको बैठकले भट्टलाई गभर्नर बनाउने सहमति गरेको थियो । महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल सकिएपछि गत चैत २४ गतेदेखि गभर्नर पद रिक्त छ भने कामु गभर्नरको जिम्मेवारी नीलम ढुंगाना तिमिल्सिनाले सम्हाल्दै आएकी छिन् ।
आईएमई लाइफको प्रडक्ट एम्बासडरमा सुशिला रोका
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले 'सरल सावधिक जीवन बीमा योजना' अन्तर्गत आफ्नो नयाँ सद्भावना दूत (प्रडक्ट एम्बासडर) को रूपमा सुशिला रोकालाई नियुक्त गरेको छ । कम्पनीका उच्च व्यवस्थापन र देशभरका अभिकर्ताहरूको उपस्थितिमा आयोजित विशेष कार्यक्रममा रोकालाई 'सरल सवाधिक जीवन बीमा योजना–२०२५' को सद्भावना दूत घोषित गरिएको हो । मासिक स्किमअन्तर्गत देशभरका अभिकर्ताहरूबीच उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्दै उनले यो उपाधि हात पार्न सफल भएकी हुन् । कार्यक्रममा कम्पनीले उनको ब्यानर तथा प्रचार सामग्री पनि सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस कदमले अभिकर्ताहरूमाझ स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्नुका साथै थप प्रतिबद्ध भएर उत्कृष्ट सेवा प्रवाह गर्न प्रेरणा दिनेछ । कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले अभिकर्ताहरूलाई बीमा सेवा सम्बन्धी ज्ञान, दक्षता तथा व्यक्तित्व विकासमा निरन्तर प्रशिक्षित गरिरहेको बताए । उनले बीमितहरूलाई सरल, सहज र स्तरीय सेवा उपलब्ध गराउने उद्देश्यमा कम्पनी दृढ रहेको पनि बताए । आईएमई लाइफले बीमा व्यवसायमा नविनतम सोच, प्रविधि र सेवा प्रवाहमार्फत स्थायी विश्वास कायम गर्न ‘सरल सावधिक जीवन बीमा योजना’लाई देशभर विस्तार गरिरहेको छ ।
बैंकको खराब कर्जा ८ प्रतिशत नजिक, १०५ प्रतिशतसम्म बढ्यो
काठमाडौं । आर्थिक सुस्ततासँगै विभिन्न अराजक गतिविधिले व्यवसाय विस्तारमा कठिनाइ भोगिरहेका बैंकहरूलाई कर्जा अुसलीमा समेत सकस परिरहेको देखिन्छ । बैंकहरूले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणका अनुसार कर्जा असुली थप पेचिलो बन्दै गएको देखिन्छ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तमसम्मको तथ्यांक अनुसार कर्जा असुली नहुँदा बैंकहरूको खराब कर्जा (एनपीएल) बढेको छ । गत आवको चैतसम्मको तुलनामा चालु आवको चैतमा वाणिज्य बैंकहरूको खराब कर्जा औसत ३४ प्रतिशत अर्थात् १.२३ प्रतिशत बिन्दुले बढेको देखिन्छ । चैतसम्म बैंकहरूको औसत खराब कर्जा अनुपात ४.८२ प्रतिशत रहेको छ । जबकी गत आवको सोही अवधिमा २० वटा वाणिज्य बैंकको खराब कर्जा औसत ३.६ प्रतिशत थियो । समयमा कर्जा भुक्तानी नगरेपछि ऋणीको सम्पत्ति जफत गर्ने, लिलाम गर्नेलगायत सम्पूर्ण अधिकार बैंकलाई भएपनि बैंकरहरूलाई कर्जा असुली तनावको विषय बनेको छ । बैंकिङ प्रणालीमा खराब कर्जा (एनपीएल) बढ्नुले कर्जा उठाउन बैंकरहरूलाई सकस परिरहेको सहजै अनुमान गर्न सकिन्छ । समीक्षा अवधिमा नेपाल एसबीआई बैंकको खराब कर्जा सबैभन्दा धेरै बढेको देखिन्छ । यस बैंकको खराब कर्जा १०५ प्रतिशत बढेर ४.०६ प्रतिशत बिन्दुमा पुगेको छ । गत वर्षको चैतमा यस बैंकको १.९८ प्रतिशत एनपीएल थियो । साथै, यस अवधिमा सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंकको छ । हिमालयनको खराब कर्जा ५४.८३ प्रतिशत बढेर ७.६८ प्रतिशत बिन्दुमा पुगेको छ । जबकी गत वर्षको चैतमा एनपीएल ४.९६ प्रतिशत बिन्दुमा थियो । सार्वजनिक वित्तीय विवरण अनुसार एनआईसी एशिया बैंकको ८६.६८ प्रतिशत बढेर ५.७५ प्रतिशत बिन्दु, सानिमा बैंकको ८०.९५ प्रतिशत बढेर ३.४२ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको ७३.२८ प्रतिशत बढेर ४.५४ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकको ६०.३१ प्रतिशत बढेर ४.०४ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ । यस्तै, एनएमबि बैंकको ५६.२९ प्रतिशत बढेर ४.४७ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको ५१.८६ प्रतिशत बढेर ५.७१ प्रतिशत बिन्दु, कृषि विकास बैंकको ५०.९० प्रतिशत बढेर ४.९८ प्रतिशत बिन्दु, कुमारी बैंकको ४१.०१ प्रतिशत बढेर ६.९८ प्रतिशत बिन्दु, प्राइम बैंकको ३१.७० प्रतिशत बढेर ५.६५ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ३०.०४ प्रतिशत बढेर ६.०६ प्रतिशत बिन्दु, नबिल बैंकको २२.७७ प्रतिशत बढेर ४.९६ प्रतिशत बिन्दु, नेपाल बैंकको १२.३७ प्रतिशत बढेर ५.४५ प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको ९.०६ प्रतिशत बढेर ४.६९ प्रतिशत बिन्दुमा एनपीएल रहेको छ । लक्ष्मी सनराइज बैंकको ६.७३ प्रतिशत बढेर ५.८६ प्रतिशत बिन्दु, प्रभु बैंकको ५.८२ प्रतिशत बढेर ५.०९ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको ५.०६ प्रतिशत बढेर ४.९८ प्रतिशत बिन्दुमा एनपीएल रहेको छ । तर, यसअवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकको खराब कर्जा भने घटेको देखिन्छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३२.७१ प्रतिशत घटेर १.४४ प्रतिशत बिन्दु र एभरेष्ट बैंकको ८.५७ प्रतिशत घटेर ०.६४ प्रतिशत बिन्दुमा खराब कर्जा झारेका छन् । खराब कर्जाहरू धेरै हुँदा बैंकहरूको वित्तीय अवस्था नै कमजोर हुने अवस्था सिर्जना हुन्छ । बैंकहरूले ऋण प्रवाह गरेपछि विभिन्न ५ क्याटागोरीमा कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) गर्नुपर्ने हुन्छ । असल कर्जामा १ प्रतिशत, सुक्ष्म निगरानी कर्जामा ५ प्रतिशत, कमसल कर्जामा २५ प्रतिशत, शंकास्पद कर्जामा ५० प्रतिशत र खराब कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था छ । बैंकको खराब कर्जा जति वृद्धि हुन्छ त्यति नै कर्जा नोक्सानीको रकम पनि बढ्दै जान्छ । तथ्याङ्अनुसार हिमालयन, कुमारी, एनआईएमबि, लक्ष्मी सनराइज, एनआईसी एशिया, सिटिजन्स, प्राइम, नेपाल बैंक र प्रभु बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा बढी छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता रामु पौडेल खराब कर्जा बढी भएका बैंकहरूलाई नजिकबाट अध्ययन गरिरहेको बताउँछन् । साथै खराब कर्जा घटाउन निर्देशन समेत दिइरहेको उनको भनाइ छ । ‘खराब कर्जा बढी भएका बैंकहरूलाई राष्ट्र बैंकले नजिकबाट हेरिरहेको छ । नीति तथा व्यवस्था अनुसार निर्देशन समेत दिइरहको छौं । सोही अनुसार पालना समेत गरिरहेका छन्,’ उनले भने, ‘एनपीएलको असर बैंकको क्यापिटलमा पर्छ । क्यापिटल कम हुने बित्तीकै लाभांश वितरण गर्न पाउँदैनन् । खराब कर्जा विस्तारै व्यवस्थापन गर्दै जानुपर्ने हुन्छ । रणनीति बनाएर राष्ट्र बैंकलाई पेस गर्नु पर्छ ।’