बजारबाट दुई औषधि तुरुन्त फिर्ता गर्न विभागको निर्देशन
काठमाडौं । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने दुई औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन जारी गरेको छ । ‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधिहरू परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो । उक्त ब्याच नं भएका औषधिहरूको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई विभागले अनुरोध गरेको छ । विभागले बजार अनुगमनका क्रममा सङ्कलन गरिएको औषधिहरूको नमुना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा उत्पादकबाट उत्पादित उक्त ब्याच नंका औषधिहरू न्यून गुणस्तर पाइएको जारी सूचनामा उल्लेख छ । औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी उक्त ब्याचका औषधिहरू बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूलाई सूचनामार्फत निर्देशन दिइएको छ ।
तुभालुमा प्रधानमन्त्रीले गरे पहिलो एटीएम उद्घाटन, देशको जनसंख्या ११ हजार २ सय मात्र
काठमाडौं । तुभालु संसारकै साना देशहरूमा पर्छ । प्रशान्त महासागरमा अवस्थित यो देशले अप्रिल १५ मा पहिलो एटीएम स्थापना गरेर इतिहास रचेको छ । यो देश आफ्नो सुन्दरता र शान्त वातावरणका लागि चिनिन्छ । सीएनएनका अनुसार अस्ट्रेलिया र हवाईको बीचमा रहेको यो सानो देशमा अहिलेसम्म सबै काम नगदमा हुन्थे । यहाँ कुनै एटीएम थिएन । एटीएमको सुरुवातलाई एक ठूला उपलब्धिको रूपमा लिइएको छ । प्रधानमन्त्री फेलेटी तेओले मुख्य द्वीप फुनाफुटीमा यसको उद्घाटन गरे । उनले यो तुभालुको लागि ऐतिहासिक क्षण भएको बताए । एटीएमले ल्याउने छ परिवर्तन नेशनल बैंक अफ तुभालुका महाप्रबन्धक सिओसे तेओले यस नयाँ सुविधालाई 'परिवर्तन ल्याउने' अवसरका रूपमा चित्रण गरेका छन् । उनको भनाइमा यो एटीएमले देशका ११ हजार २०० जनताका लागि प्रगतिको नयाँ ढोका खोल्नेछ । प्यासिफिक टेक्नोलोजी लिमिटेडका निसार अलीले भनेका छन् कि यो एटीएमले तुभालुवासीलाई आधुनिक बैंकिङ सेवासँग जोड्नेछ । मात्र १० वर्ग माइलमा फैलिएको देश तुभालु केवल १० वर्ग माइल क्षेत्रफलमा फैलिएको देश हो । यसमा जम्मा ९ वटा द्वीपहरू छन् । यति सानो भए पनि सन् २०२३ मा ३ हजारभन्दा बढी पर्यटक यहाँ आएका थिए । मुख्य द्वीप फुनाफुटीमा रहेको एकमात्र विमानस्थलबाट छिमेकी देश फिजीबीच केही उडानहरू हुन्छन् । द्वीपहरूबीच आवतजावतका लागि यहाँका मानिसहरूले डुङ्गाको प्रयोग गर्छन्, किनकि आन्तरिक उडान सेवा छैन । जलवायु परिवर्तनको गहिरो प्रभाव तुभालुको भौगोलिक स्थिति नै यसलाई चुनौतीपूर्ण बनाउँछ । समुद्रको सतह लगातार बढिरहेको हुँदा यसले जमिनको सतह घटाइरहेको छ र कृषिमा पनि असर पुर्याइरहेको छ । तुभालु जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये एक हो । २०२१ मा तुभालुका परराष्ट्रमन्त्री साइमन कोफेले घुँडासम्म पानीमा उभिएर संयुक्त राष्ट्रसंघमा सम्बोधन दिएका थिए, जसले तुभालुलाई विश्व मञ्चमा चिनायो ।
प्रतिगामी तत्वहरू सल्बलाएका बेला शिक्षकहरूले आन्दोलन गर्ने उपयुक्त समय यो होइन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई सम्बोधन गर्ने राज्यको तयारी रहेको उल्लेख गर्दै शिक्षकहरूलाई अविलम्ब वार्तामा बस्न र विद्यालय फर्कन आह्वान गरेका छन् । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औँ राष्ट्रिय सम्मेलनको सोमबार कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागहरू सम्बोधन गरिने बताए । 'विद्यालय शिक्षा विधेयक हाल संसदीय समितिमा विचाराधीन छ। ऐन ल्याउने प्रक्रिया चलिरहेको बेला यति धेरै शिक्षकहरू सडकमा आन्दोलनमा आउनु आवश्यक छैन । भर्ना अभियान सुरु भइसकेको छ, कृपया विद्यालय फर्कनुस्, भर्ना गराउनुस्, एसईईको उत्तरपुस्तिका परीक्षण गर्नुस्,' प्रधानमन्त्री ओलीले भने, '५२ प्रतिशत विद्यार्थी एसईईमा असफल भएको भन्ने मेरो भनाइप्रति चित्त नदुखाउनुस्, गुणस्तरीय शिक्षाका लागि लाग्नुस् । शिक्षकहरूको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ, शिक्षकहरूलाई लाभ छैन । त्यसैले अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस् । प्रतिगामी तत्वहरू सल्बलाएका बेला आन्दोलनको उपयुक्त समय पनि होइन ।' समृद्धि र अग्रगतिका लागि बौद्धिक सक्रियता देखाउन प्रधानमन्त्रीको आग्रह नेकपा (एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसङ्गतियुक्त प्रवृत्तिहरू विरुद्ध प्राध्यापकहरूले बौद्धिक रूपमा सक्रियता देखाउनुपर्ने आवश्यकता औँल्याए । 'प्राध्यापक जस्तो सचेत वर्गले लोकतन्त्र र तानाशाहीका बीचको भेद छुट्याउन नसक्ने भन्ने कुरै हुँदैन,' उनले भने, 'कोही पनि सचेत नागरिक आफ्नो समाज कस्तो बनाउने भन्ने सन्दर्भमा तटस्थ रहन सक्दैन । लोकतन्त्रको प्रयोगबाट मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गर्न आवश्यक छ ।' उनले ‘मिसन २०८४’ लाई अराजकतावाद, प्रतिगमन, असभ्यता र देशलाई अँध्यारो यात्रातर्फ फर्काउने प्रयासविरुद्धको अभियानको रूपमा चित्रण गर्दै, प्राध्यापकहरूले लेखेर, बोलेर, बौद्धिकताको प्रदर्शन गरी साथ दिनुपर्ने बताए । प्रधानमन्त्री ओलीले शिक्षालाई सबैको पहुँचभित्र कसरी पुर्याउने र गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्ने विषयमा चिन्तन गर्न आग्रह गरे । साथै, ज्ञानको आर्जन, संकलन र सम्प्रेषणमा प्राध्यापकहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने पनि स्मरण गराए । 'यस सङ्गठनको जन्म नै अधिकार प्राप्तिको आन्दोलनको पृष्ठभूमिमा भएको हो । त्यसैले अब उच्च शिक्षाको क्षेत्रमा आवश्यक सुधारका लागि अझ सक्रिय भूमिका खेल्नुपर्छ,' ओलीले भने ।
ठूलो रकम प्रोभिजनमा राख्दा बैंकहरूको आरओई ७.७८ प्रतिशत
काठमाडौं । वाणिज्य बैंकहरूको रिटर्न अन इक्वीटी (आरओई) घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको तथ्याङ्क अनुसार अधिकांश बैंकहरूको आरओई ०.६९ प्रतिशत घटेर औसत ७.७८ प्रतिशतमा झरेको छ । गत आवको चैतमा २० वटा बैंकको आरओई ८.४७ प्रतिशत थियो । रिटर्न अन इक्वीटी लगानीकर्ताको सम्पत्ति माथि बैंकले दिने प्रतिफल हो । आरओई घट्नु भनेको लगानीकर्ताले पाउने प्रतिफल पनि घट्नु हो । तर, पछिल्लो समय बैंकहरूको व्यवसाय खुम्चिएसँगै आरओईमा त्यसको असर परेको देखिन्छ । बैंकको व्यवसाय विस्तार हुँदा नाफा बढेसँगै आरओईवृद्धिमा समेत टेवा पुग्ने गर्छ । समीक्षा अवधिमा सबैभन्दा धेरै आरओई एभरेष्ट बैंकको रहेको छ । गत वर्षको चैतको तुलनामा एभरेष्टको आरओई २.७८ प्रतिशत बढेर १५.८२ प्रतिशत बिन्दुमा पुगेको छ । गत वर्षको चैतमा बैंकको आरओई १३.०४ प्रतिशत बिन्दु थियो । यस्तै, गत वर्षको चैतको तुलनामा २.२० प्रतिशत घटे पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकको आरओई १४.०३ प्रतिशत बिन्दु रहेको छ । नबिल बैंकको ११.३ प्रतिशत, एनएमबि बैंकको १०.४५ प्रतिशत, सानिमा बैंकको १०.३५ प्रतिशत, नेपाल बैंकको १०.०४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकको ९.६७ प्रतिशत आरओई रहेको छ । माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक (डीजीएम) सुभाष जमरकटेल बैंकहरूले ठूलो रकम प्रोभिजन गर्नु परेकाले आरओई घटेको बताउँछन् । ‘पछिल्लो समय एक्सपेटेड क्रेडिट लस (ईसीएल) अनुसार ब्याज नतिर्नेहरूको पनि प्रोभिजन गर्नुपर्ने हुन्छ । पहिला एनएफआरएसमा अलग थियो । जसले आम्दानी बढ्थ्यो । तर, पछिल्लो समय ईसीएल आइसकेपछि ९० दिनभन्दा बढी ओभरड्यूज भएकाहरूको पनि राख्नुपर्ने हुन्छ । त्यसैले बैंकहरूले ठूलो रकम प्रोभिजन गर्दा आरओई घटेको हो,’ उनले भने । उनका अनुसार बैंकहरूको स्प्रेड दर पनि संकुचन भइरहेको छ । विगतमा ४ प्रतिशत कायम गरिरहेका बैंकहरूको अहिले ४ प्रतिशतभन्दा तल झरेको उनको भनाइ छ । ‘स्प्रेड दर विस्तारै घट्दै ४ प्रतिशतभन्दा तल छ । आर्थिक गतिविधि पनि बढेको छैन । अर्थतन्त्र धेरै चलायमान हुँदा अन्य क्रियाकलाप पनि बढ्छन् । तर, चलायमान नहुँदा अन्य कारोबार पनि हुन सकेको छैनन्,’ डीजीएम जमरकटेलले भने, ‘बैंकहरूमा निक्षेप थुप्रिने र लगानी नहुँदा पनि त्यसको असर परेको हो । ८० प्रतिशतभन्दा माथि सीडी रेसियो भएका बैंकलाई खासै असर गर्दैन । तर, ८० प्रतिशतभन्दा कम सीडी रेसियो भएका बैंकलाई प्रोफिट्याबिलिटीमा असर गर्छ ।’ चैतसम्म ग्लोबल आइएमई बैंकको आरओई ९.४८ प्रतिशत, माछापुच्छ्रे बैंकको ९.२२ प्रतिशत, नेपाल एसबीआई बैंकको ८.१४ प्रतिशत, सिद्धार्थ बैंकको ७.८१ प्रतिशत, प्रभु बैंकको ७.४३ प्रतिशत, प्राइम बैंकको ७.१२ प्रतिशत, कृषि विकास बैंकको ६.८८ प्रतिशत रहेको छ । यस्तै, सिटिजन्स बैंकको ५.८१ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.२८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.२ प्रतिशत, हिमालयन बैंकको १.८१ प्रतिशत, कुमारी बैंकको १.०८ प्रतिशत, एनआईसी एशिया बैंकको ०.७१ प्रतिशत रिटर्न अन इक्विटी रहेको छ ।
राष्ट्र बैंकले ५८ करोड मुद्दती निक्षेपमा लगानी गर्ने, बैंक तथा वित्तीय संस्थालाई आवेदन खुला
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान र पेन्सन कोषको ५८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । सोमबार सूचना जारी गर्दै राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई आवेदन दिन आह्वान गरेको हो । केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ४६ करोड ४० लाख, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ८ करोड ७० लाख, र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा २ करोड ९० लाख रुपैयाँ लगानी गरिनेछ । ३ सय ६६ दिन अवधिको मुद्दती निक्षेप आगामी १६ वैशाख २०८२ देखि लागू हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले ११ वैशाख बिहान १० बजेदेखि दिउँसो १:३० भित्र आवेदन दिनुपर्नेछ । राष्ट्र बैंकले केही सर्तहरू पनि तोकेको छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाले कम्तीमा दुई वर्ष सञ्चालनमा आइसकेको, कुल पूँजीकोष, कर्जा र निक्षेप अनुपात, तरल सम्पत्ति, निष्क्रिय कर्जा जस्ता सूचकांकहरू राष्ट्र बैंकको मापदण्डभित्र रहनुपर्नेछ । साथै, समस्याग्रस्त सूचीबाट मुक्त भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने र सर्वसाधारणका लागि सेयर जारी गरिसकेको हुनुपर्ने सर्त राखिएको छ ।
सेयर बजारमा ११२ कम्पनीको मूल्य बढ्यो, ८ अर्बको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ अंकले घटेर २६९८ बिन्दुमा झरेको हो । आज ११२ कम्पनीको मूल्य बढ्दा १३३ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३१९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी ग्रुपको भएको छ । न्यादीको ५३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । यस्तै, युनिर्भसल पावरको ५२ करोड, हाइड्रोइलेक्ट्रिक इन्भेस्टमेन्ट कम्पनीको ४३ करोड, हिमालयन पावरको ३५ करोड र एनआरएन इन्फ्रास्ट्रक्चरको ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आजको कारोबारमा नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ र युनिर्भसल पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सेक्टरगत परिसूचकमा सोमबार व्यापार समूह सबैभन्दा बढी १.५२ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ ०.८५, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.१५ र अन्य समूह १ प्रतिशतले घटेका छन् । साथै, केही समूहमा भने सुधार देखिएको छ । विकास बैंक समूह ०.४३, होटल तथा पर्यटन ०.०६, हाइड्रोपावर ०.७७, लगानी ०.१७ र उत्पादनमूलक समूह ०.०३ प्रतिशतले उकालो लागेका छन् ।
एलओडीमा फुटबल लिजेन्ड रोबर्टो कार्लोस आउँदै
काठमाडौं । एलओडी क्लबमा चर्चित ब्राजिलका फुटबल लिजेन्ड रोबर्टो कार्लोस आउने भएका छन् । मंगलबार क्लबमा फुटबल खेलाडी कार्लोस आउने क्लबका निर्देशक भूपेन कुँवरले जानकारी दिए । दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) को लागि उनी नेपाल आउन लागेका हुन् । कार्लाेस भाेलि नै एलओडी क्लबमा जाने भएका हुन् । निर्देशक कुँवरका अनुसार कार्लाेस शुक्रबार नेपालमा आउने कार्यक्रम थियो । तर स्वास्थ्य अनुकूल भएकाले आउन सकेनन् । कार्लोसको एलओडीमा विशेष उपस्थिति रहने जानकारी एनएसल आयोजकले जानकारी दिएको छ । सन् १९९२ मा ब्राजिलको सिनियर टोलीबाट आफ्नो अन्तर्राष्ट्रिय करियर सुरु गरेका कार्लाेसले ब्राजिलको राष्ट्रिय टोलीका लागि १२० भन्दा बढी खेल खेले र २००२ को फिफा विश्वकप (दक्षिण कोरिया र जापानमा आयोजित) मा ब्राजिलको विजयमा महत्त्वपूर्ण भूमिका निभाएका थिए । सन् १९९६ देखि २००७ सम्म रियल मड्रिडमा बिताएका उनले क्लबका लागि चार पटक ला–लिगा उपाधि र तीन पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । सन् २०१२ मा कार्लाेसले व्यावसायीक फुटबलबाट सन्यास लिएका थिए । उनले रुस, टर्की र भारतका विभिन्न क्लबमा कोचिङ पनि गरेका छन् । यद्यपि उनले शीर्ष युरोपेली क्लबहरूमा स्थायी रूपमा प्रशिक्षकको भूमिका निर्वाह गरेका छैनन्। साथै कार्लाेस फुटबल विकाससँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय परियोजनाहरूमा संलग्न हुँदै आएका छन् । अहिले उनी विश्वभर फुटबल प्रमोशनका लागि भ्रमण र ट्रेनिङ कार्यक्रमहरूमा सहभागी हुने गर्छन् ।
६० करोड कर नबुझाउने करदातामाथि कारबाही, सम्पत्ति रोक्का हुँदै
बागमती । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर नबुझाउने १२२ जना करदातामाथि कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए । कर नबुझाएका करदाताबाट करिब ६० करोडभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको सो कार्यालयले जनाएको छ । ‘पटक–पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाएका छौँ’, प्रमुख कर अधिकृत सुवेदीले भने, ‘त्यही भएर हामीले करदाताको बैङ्क खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्काका लागि प्रक्रिया अघि बढाएका छौँ ।’ कानुनी प्रक्रिया अघि बढाएपछि केही करदाता कर बुझाउनसमेत आउने गरेको उनको भनाइ थियो । यस्तै आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अवधिमा चार अर्ब ८७ करोड ५९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत सङ्कलन भएको हो । कार्यालय प्रमुख सुवेदीका अनुसार चालु आव २०८१/८२ को नौ महिनाको अवधिमा छ अर्ब चार करोड ५४ लाख ३६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा चार अर्ब ८७ करोड ५९ लाख छ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । चालु आव २०८१/८२ मा आठ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेको प्रमुख सुवेदीले बताए । सो कार्यालयमा आयकरतर्फ ३४ हजार २२९, मूल्य अभिवृद्धि तर्फ पाँच हजार ९५३, अन्तशुल्कतर्फ एक हजार ६११, विथहोल्डतर्फ ७१३ र व्यक्तिगत तर्फका ८४ हजार ४२९ करदाता रहेका छन् । पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु, नियमित बजार अनुगमन, करदाता शिक्षा सञ्चालन तथा बाँकी बक्यौता असुलीमा गरिएको कडाइजस्ता कारणले अघिल्लो आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ । रासस