विकासन्युज

रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक बने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा सुमन पोखरेल नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका पोखरेल निफ्राको सञ्चालक बनेका हुन् ।  यसअघि सञ्चालक रहेका रत्नराज बज्राचार्यले राजीनामा दिएपछि ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै पोखरेल सञ्चालक बनेका हुन् । बैंकको सञ्चालक समितिको वैशाख ७ गते बसेको बैठकले बज्राचार्यको राजीनामा स्वीकृत गरेको हो ।  बैंकका कम्पनी सचिव बन्धु गौतमका अनुसार अध्यक्षमा विशाल ग्रुपका प्रतिनिधि अनुज अग्रवाल छन् भने सञ्चालकहरूमा सरकारका प्रतिनिधि श्रीकृष्ण नेपाल, इमर्जिङ नेपालका प्रतिनिधि लालमणि जोशी, सर्वसाधारण सेयरधनीतर्फ लिमा अधिकारी, प्रवीण सुवेदी र स्वतन्त्र सञ्चालकतर्फ महेश प्रसाद दाहाल छन् ।  

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, एकैदिन ७ सय पर्यटकको आगमन

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ । सोमबार मात्रै करिब ७ सय पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार सोमबार ६९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्षेत्रका होटलहरू भरिभराउ भएका हुन् । ६०८ विदेशी र ८६ जना नेपाली पर्यटक रहेका उनले जानकारी दिए । श्रेष्ठले नाम्चेको यात्रामा ६५२ विदेशी र १५१ जना नेपाली रहेका बताए ।  वसन्तयाममा खुम्बु क्षेत्रमा आएका पर्यटकहरूले होटलमा बास पाउन समेत मुस्किल भएको सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले बताइन् । मौसम अनुकूल भएसँगै लुक्लामा हवाई उडान बाक्लिएकाले खुम्बु आउने पर्यटकको सङ्ख्या बढेको तारा एयर लुक्लाका इन्चार्ज अमृत मगरले जानकारी दिए ।  ‘लुक्लामा मौसम अनुकूल भएकाले जहाजको उडान पनि बढाएका छौँ । सोही कारणले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै यहाँका होटलहरू पहिला नै ‘रिजर्भ’ हुन थालेका छन्,’ उनले भने ।  खुम्बु क्षेत्रका पर्यटन व्यवसायी पर्यटकको आगमन बढेपछि हर्षित भएका टेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए । कोभिडपछि सुस्त बनेको पर्यटन व्यवसाय चलायमान हुन थालेको बताउँदै स्थानीयको आयआर्जन बढ्नुका साथै रोजगारीका अवसर वृद्धि हुन थालेका उनको भनाइ छ । उपाध्यक्ष शेर्पाका अनुसार लुक्ला, नाम्चेलगायत क्षेत्रका होटलहरू पर्यटकले भरिएका छन् । खुम्बु क्षेत्रमा आएका अधिकांश पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गर्ने गरेका उनको भनाइ छ । स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेसँगै निकुञ्जले राजस्व सङ्कलन वृद्धि भएको जनाइएको छ । निकुञ्जको कार्यालयका अनुसार सार्क राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ, अन्य मुलुकका नागरिकबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँ र नेपालीबाट १ सय रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ ।  उक्त राजस्वले देशको अर्थतन्त्रमा सहयोग पुर्‍याउँदै आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन् । उनका अनुसार अधिकांश पर्यटक काठमाडौं र रामेछापको मन्थली विमानस्थल हुँदै लुक्ला पुग्ने गर्दछन् । त्यहाँबाट उनीहरूले नाम्चे, ट्याङबोचे, फेरुचे हुँदै सगरमाथाको आधार शिविरतर्फ यात्रा गर्ने उनले जानकारी दिइन् । 

प्रभावित परिवालाई मर्स्याङ्दी जलविद्युतले वितरण गर्याे २१ करोड ७८ लाख रुपैयाँ मुआब्जा

काठमाडौं । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण गरिएको छ । केन्द्रका अनुसार १४ परिवारका जग्गा र ५ घरसहित ९ रोपनी १० आना २ पैसा ३ दाम जग्गा अधिग्रहण गरेपछि मुआब्जा वितरण गरिएको हो ।  जग्गा अधिग्रहणका लागि २१ करोड ७८ लाख ८५ हजार ९६७ रुपैयाँ प्रदान गरिएको केन्द्रका प्रमुख इञ्जिनियर पशुपति गौतमले जानकारी दिए । उनका अनुसार जग्गाका लागि १७ करोड ८७ लाख ८६ हजार ६५२ रुपैयाँ र घर टहराका लागि ३ करोड ९० लाख ९९ हजार ३१५ रुपैयाँ वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार प्रतिरोपनी १ करोड ८४ लाख ९२ हजार ६८० रुपैयाँका दरले जग्गाको मुआब्जा निर्धारण गरिएको थियो । आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटका बासिन्दा डुबानमा परेपछि मुआब्जाका लागि आन्दोलन गर्दै आएका थिए । अहिले मुआब्जा पाएपछि प्रभावित बासिन्दा खुसी भएका छन् ।  केन्द्रको बाँध किनारमा रहेका स्थानीयको जग्गा स्थायी रूपले प्राप्त गर्नका लागि निर्धारण गरिएको मुआब्जा वितरण कार्य पूरा भएको केन्द्रका प्रमुख गौतमले जानकारी दिए । उनका अनुसार ६९ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको आयोजनाको बाँधले सो क्षेत्रको बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरिएको हो । मानवीय क्षति हुने खतरा देखिएकाले त्यस ठाउँका सर्वसाधारणले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए । मुआब्जा पाउन सङ्घर्ष गर्नुपरेको भन्दै ढिलै भएपनि मुआब्जा पाएपछि प्रभावित बासिन्दा खुसी भएका आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । 

औद्योगिक महोत्सवमा ४ करोडको व्यापार

काठमाडौं । नयाँवर्ष तथा बिस्केट जात्राका अवसरमा भक्तपुरको सल्लाघारी चौरमा आयोजित नवौँ भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव सोमबार सम्पन्न भएको छ । तीन लाखले अवलोकन गरेका उक्त महोत्सवमा करिब ४ करोड रुपैयाँको व्यापार भएको हो । ‘नयाँ वर्ष नयाँ सोच युवाका लागि छ प्रगतिको स्रोत’ भन्ने नाराका साथ औद्योगिक शान्ति नेपालले उपभोक्ताको हितमा ध्यान दिँदै गत चैत २८ गतेदेखि सुरु गरेको १२ दिने महोत्सवमा १५० भन्दाबढी प्रदर्शनी कक्ष रहेका संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए । महोत्सव तीन लाख बढीले अवलोकन गरेको जनाउँदै उनले करिब ४ करोड रुपैयाँको व्यापार भएको बताए ।  महोत्सवमा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, भाँडाकुँडाका साथै विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला, अटोमोबाइल, आधुनिक कृषिऔजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्रीमा उपभोक्ताको बढी घुइँचो रहेको बताउँदै ती सामानको खरिदमा २० देखि ५० प्रतिशतसम्म छुट दिइएको उनले जानकारी दिए ।  महोत्सवका संयोजक दीपक थापाले घोडाचढी, बालउद्यान, ड्रागन ब्रेक डान्स, रोटेपिङ, रेनजर, मारुती सर्कस तथा विभिन्न प्रकारका बच्चाको खेलौनाका प्रदर्शनी कक्षमा बालबालिकाको घुइँचो लागेको बताए । उनका अनुसार स्थानीय खाना महोत्सवमा उपभोक्ताको आकर्षण थियो । 

पाल्ही बहुमुखी सहकारीमा ८५ लाख बढी हिनामिना

काठमाडौं । पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका-४ मा सञ्चालित पाल्ही बहुमुखी सहकारी संस्था लिमिटेडको ८५ लाख ८० हजार ७५५ रुपैयाँ सञ्चालक समितिले हिनामिना गरेको छ । सहकारी सञ्चालक समितिका १५ जनाको मिलेमतोमा करिब ८६ लाख रुपैयाँ हिनामिना भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले सहकारीको रकम हिनामिनासम्बन्धी कसुर मुद्दा नवलपरासी जिल्ला अदालतमा दर्ता भएपछि प्रतिवादी सुरेश चौधरी (कुर्मी), वीरेन्द्रकुमार यादव र रामसेवक चौधरी (कुर्मी) ले जनही ५ लाख रुपैयाँ धरौटी राखेर तारेखमा बसेका जानकारी दिए ।  ‘सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष राजकिसोर गुप्ता (तेली), उपाध्यक्ष नाथु माली, सदस्य कमलादेवी कहार, सञ्जय कुर्मी, रवीन्द्र पासी, लेखा संयोजक सन्तराम यादव, जानकी देवी कुर्मी, इजहार धुनिया, प्रमोद यादव, सुग्रिम तिवारी, रामानन्द यादव र व्यवस्थापक मुनलाल यादव हाजिर हुनुभएको छैन’, जिल्ला अदालतका सूचना अधिकारी भेषराज खनालले भने ।  उनका अनुसार सहकारीको रकम हिनामिनासम्बन्धी कसुर मुद्दा दर्ता भएपछि मुद्दामा उल्लेख गरिएका १५ जनालाई जिल्ला अदालतले पक्राउ पुर्जीसहित ३५ दिनभित्र अदालतमा हाजिर हुन आउनु भनी पात्र पठाइएको छ । उक्त सहकारीको रकम हिनामिनासम्बन्धी कसुर मुद्दामा ३ जना हाजिर भएका जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी काशीराम लोधले बताए ।  उनका अनुसार सहकारी दर्ता रहेको राप्ती उपत्यका दाङ (देउखरी)को पत्रबाट मुस्तफा शेखको जाहेरीले वादी नेपाल सरकार भएर जिल्ला अदालतमा सहकारीको रकम हिनामिनासम्बन्धी कसुर मुद्दा दर्ता भएको छ ।  सहकारीको रकम हिनामिनासम्बन्धी कसुर ठहर भएमा बिगो बराबरको जरिवाना र ३ वर्षसम्म कैद हुने सहकारी ऐन, २०७४ को दफा १२४ मा व्यवस्था रहेको सरकारी वकिल कार्यालयका सूचना अधिकारी लोधले जानकारी दिए । 

एनआरएनएलाई विवादरहित बनाउन लागिपरेका छौं : पूर्वअध्यक्ष शेष घले

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष एव एकता महाधिवेशन उच्चस्तरीय मूल समितिका संयोजक शेष घलेले संस्थालाई कसरी विवादरहित बनाउने भन्ने प्रणालीको विकास नै गरेर अगाडि बढेको जनाएका छन् । एनआरएनको आगामी मे ३ देखि ५ मा एकता महाधिवेशन हुँदैछ । त्यसैको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले सो बताएका हुन् ।  विवादरहित निर्वाचन गर्ने अदालतको आदेश भएकाले त्यसअनुसार अहिले समिति गठन भएर लागिपरेको घषेको भनाइ थियो । उनले भने, ‘हामीले विवादरहित निष्पक्ष ढंगबाट कार्य गर्नु भन्ने अदालतबाट परमादेश पाएकाले नियम, कानुनअनुसार संस्थालाई कसरी सुधार गर्न सकिन्छ भन्ने विधि अहिलेको अधिवेशनमा लागू गर्दैछौं र त्यसलाई स्थायी रूपमा संस्थामा विधानको रूपमा लागू गर्ने तयारी गरेका छौं ।’ त्यस्तै, घलेले एनआरएनलाई नयाँ ढंगबाट सुरु गर्ने र पुरानोमा नफर्किने विचार व्यक्त गरेका छन् । उनले नयाँ एनआरएनए कस्तो हुनुपर्छ भन्ने क्लियर भिजन पनि देखिसकेको बताए ।  आगामी एकता अधिवेशनको लागि डेढ महिनाको अवधिमा ६० हजार भन्दा बढी सदस्य जोडिसकेको हुनाले यसलाई सकारात्मक लिनुपर्ने उनी बताउँछन् । सदस्यमा आधारित संस्था भएकाले सदस्यको हक, हीतअनुसार नै समितिले सदस्य शुल्कदेखि हरेक कुरामा सबैलाई एक्सेस हुने तरिकाले व्यवस्था गरेको पनि उनले जानकारी दिए । विगतमा संस्था विभिन्न विवादबाट गुज्रिएपनि यसपटक निर्वाचनलाईए निष्पक्ष बनाउनमा लागेका उनले बताए । त्यस्तै, अदालतको आदेशअनुसार तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले समिति त्यसमै केन्द्रित भएको र यसमा सबैजनाले सहयोग गर्न समेत घलेले अपिल गरे । 

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्ने अध्यक्ष ढकालको जोड

अबुधाबी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताउनु भएको छ ।  अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।  नेपालमा पर्याप्त सम्भावना रहेकोले ती सम्भावनाबाटै आर्थिक समृद्धि हासिल गर्न पर्ने उनको जोड थियो ।  'योजनाबद्ध दीर्घकालीन सोच विना विकास सम्भव छैन । विकासका लागि  दूरदर्शी र स्थिर नेतृत्व आवश्यक हुन्छ भन्ने कुरा हामीले दुवईबाट सिक्न सक्छौं । तेलमा मात्र निर्भर भएको युएईले अर्थतन्त्रको विविधीकरण गर्दै पर्यटन, वित्तीय सेवा, निर्माण, स्मार्ट सीटी र व्यापार जस्ता क्षेत्रहरूमा ध्यान दिएको छ । हामीले पनि हाम्रो देशमा भएका सम्भावनाहरको पनि यसैगरी विविधिकरण गरेर त्यसबाट लाभ लिन सक्नुपर्छ,’ उनले भने ।  नेपालको सन्दर्भमा ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि जस्ता क्षेत्रमा व्यापक सम्भावना रहेकोले यी क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सके यसले रोजगारी सिर्जना तथा नेपालको समग्र आर्थिक विकासमा टेवा पुग्ने अध्यक्ष ढकालले बताए । नेपाल कला र संस्कृतिमा धनी देश रहेको र देशका अमूल्य निधिका रूपमा रहेका कला, संस्कृति र परम्पराहरुको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सकिने उल्लेख गर्दै उनले विदेशमा आयोजना गरिने यस्ता महोत्सवहरूले नेपाललाई विश्वमा चिनाउने र मित्रता तथा सद्भाव बढाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।  महासंघले नेपाल र यूएईबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा निरन्तर कार्य गरिरहेको समेत अध्यक्ष ढकालले बताए । विदेशमा कार्यरत नेपाली कामदारहरूको योगदानको निजी क्षेत्रले उच्च सम्मान गर्ने गरेको बताउँदै उनले महासंघले नेपाल र यूएई दुवैलाई लाभ पुग्ने साझेदारीहरू निर्माण गर्न कटिबद्ध रहेको पनि बताए ।

सरकारले थप्यो फेसबुक दर्ता गराउने म्याद, मन्त्री गुरुङको चेतावनी फुस्स

काठमाडौं । सरकारले सामाजिक सञ्जाल फेसबुक दर्ता गराउन आग्रह गरेको समय ३० दिनको सकिएपछि फेरि समय थप गरेको छ ।  सरकारले यसअघि एक सूचना जारी गर्दै ३० दिने समयसीमा वैशाख ७ गते आइतबारसम्म सामाजिक सञ्जाल फेसबुक दर्ता गराउन आग्रह गरेकोमा कुनै कम्पनीले दर्ता गराउन नआएपछि फेरि एक हप्ता या १५ दिनको थप समय गरेर अन्तिम मौका दिइने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।  तीन महिनाअघि मन्त्रालयमा फेसबुकका प्रतिनिधिले नेपालमा सूचीकृत हुन गरेको आग्रहलाई चासोका साथ लिए पनि दर्ता भने हुन सकेको छैन । सरकारका प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ दर्ता गराउन नआए अर्थात अटेरी गरे सिधै बन्द गर्ने अभिव्यक्ति दिँदै आएका छन् ।  मन्त्री गुरुङको सचिवालयका अनुसार सो समयभित्र पनि दर्ता हुन नआए नेपालभर रहेका त्यस्ता सामाजिक सञ्जालको सञ्चालनमा रोक लगाइनेछ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०८० को कार्तिक अन्तिम सातातिर एक सूचना जारी गर्दै नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई तीन महिनाभित्र दर्ता हुन आग्रह गरेको थियो । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८० सोही वर्षको मङ्सिर ११ गते जारी भएसँगै दर्ता प्रकिया कार्यान्वयनमा आएको थियो । यता सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले भने मन्त्रालयमा हालसम्म कुनै पनि सामाजिक सञ्जालका प्लेटफर्महरू दर्ता गराउन नआएको जनाएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले हालसम्म टिकटक, भाइबर, वीटक मात्रै दर्ता भएको जानकारी दिए । उनका अनुसार विगत केही महिनादेखि फेसबुक, ह्वाट्स्याप, इन्स्टाग्राम र एक्सलाई मन्त्रालयले दुई–तीन पटक पत्राचार गर्दै आएको थियो तर उक्त कम्पनीहरूले सरकारको पत्राचारबारे कुनै जवाफ दिएका छैनन् ।   प्रवक्ता ठाकुरले भने, ‘हामीले जानकारी दिए पनि आजसम्म दर्ता गर्न आएका छैनन् । बाँकी सरकारले नै निर्णय गर्छ । यसबारे मन्त्रालयस्तरमा कुनै छलफल नै भएको छैन ।’ फेसबुक इन्स्टाग्रामलगात गरी ५ वटा प्लेटफर्महरू दर्ता गराउन बाँकी रहेको उनले बताए ।  सामाजिक सञ्जालबारे यस्तो छ नियम   सामाजिक सञ्जाल प्रयोगकर्ताले फेक (नक्कली)आईडी गर्न पाउने छैन । कुनै समूदाय, जातजाति, लिंग, धर्म, उमेर, वर्ण, वर्ग, पेशा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्था, शारीरिक तथा मानसिक अवस्था, उत्पत्ति, यौनिक अल्पसंख्यक वर्गमा आँच आउने प्रकृतिका सामाग्री प्रसारण गर्न समेत रोक लगाएको छ ।   अश्लील शब्द, तस्वीर, भिडियो, अडियो एनिमेसन प्रसारण, प्रकाशन, टिप्पणी गर्न बन्देज गरिएको छ । मित्थ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमरोड प्रकाशन वा प्रसारण गर्नेलाई कारवाही हुने छ । जसमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति वा संस्थाले यस निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्नेछ ।  त्यस्तै निर्देशिका जारी हुनु अघि सञ्चालनमा रहेका र जारी भएपछि सञ्चालनमा आउने सामाजिक सञ्जाल प्लेटफर्मलाई तीन महिना भित्र सूचीकृत गर्न मन्त्रालयले सार्वजनिक रुपमा सूचना प्रकाशन गर्नुपर्ने बताइएको छ । निर्देशिका अनुसार दर्ता नभएका समाजिक सञ्जाल सरकारले बन्द गर्न सक्ने नयाँ निर्देशिकामा उल्लेख छ । त्यसैगरी सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति वा संस्थाले प्रत्येक तीन वर्षमा इजाजतपत्रको नवीकरण गराउनुपर्ने प्रावधान राखिएको छ ।  सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकले कानुन विपरित सामग्री प्रकाशन गरेमा २४ घण्टा भित्रै हटाइने भनिएको छ । प्रचलित कानून विपरित नहुने गरी मात्र विज्ञापन प्रकाशन वा प्रसारण गर्ने, सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालनबाट हुने कारोबारको भुक्तानी बैंकिङ प्रणालीबाट हुनुपर्ने छ । त्यसैगरी सामाजिक सञ्जाल व्यवस्थापन इकाईको व्यवस्था गरी यसलाई स्रोत साधनयुक्त बनाउने तयारी छ । नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्मलाई प्रयोगकर्ता संख्याको आधारमा दुई वर्गमा बाँडिएको छ ।एक लाखभन्दा बढी प्रयोगकर्ता भएकालाई ठूला सामाजिक सञ्जाल प्लेटफर्म मानिएको छ ।  त्यस्तै एक लाख भन्दा कम कम प्रयोगकर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्मलाई साना सामाजिक सञ्जाल प्लेटफर्म मानिएको छ । सञ्चार मन्त्रालयमा एक सामाजिक सञ्जाल व्यवस्थापन इकाई रहनेछ । जसले गुनासो दर्ता गर्ने, गुनासोको तथ्य जाँच तथा सम्पर्क केन्द्रलाई गुनासो तथा उजुरी पठाउने छ ।