विदेशबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणको लागि शहीद धर्मभक्त केन्द्रले बेग्लै वार्ड स्थापना गर्ने
काठमाडौं । दुई दिन अघि संयुक्त अरब इमिरेट्सको दुबईमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको नेपाली श्रमिकहरुको उपचार तथा मानसिक स्वास्थ्य परामर्शका लागि निर्णय भएको छ । मन्त्री पौडेलले विदेशमा रहेका श्रमिकहरूको स्वास्थ्य समस्याका समाधानका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई जिम्मेवारी दिएको जानकारी दिएका छन् । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार, वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूका लागि शहीद धर्मभक्त केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षणका लागि विशेष ओपीडी वार्ड स्थापना गरिने निर्णय गरिएको छ । यस निर्णयले विदेशमा रहेका श्रमिकहरूको स्वास्थ्य परीक्षणको प्रक्रिया सजिलो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । स्वास्थ्य परीक्षणका लागि शुल्कको समस्याबाट मुक्त राख्न केन्द्रले अब लागत मूल्यमा सेवा दिने पनि स्पष्ट पारेको छ । यसैगरी, विदेशमा रहेका श्रमिकहरूको स्वास्थ्य समस्याका बारेमा परामर्श दिनका लागि ड्युटीमा रहेका मेडिकल अधिकृतलाई खटाइने भएको छ । मन्त्री पौडेलका अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य सम्बन्धी समस्यामा सुधार ल्याउनका लागि सरकारी स्तरबाट यस्तो निर्णय गरिएको हो ।
कक्षा १२ को परीक्षा तोकिएकै मितिमा, शिक्षक नआए निजामती कर्मचारीबाट सञ्चालन गरिने
काठमाडौं । कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षाको मिति नसर्ने निर्णय गरेको हो । बोर्डको यो निर्णयसँगै अब कसरी परीक्षा सञ्चालन हुन्छ भन्ने जिज्ञासा सिर्जन भएको छ । तीन सातादेखि काठमाडौंमा आन्दोलन गरिरहेका शिक्षकहरूले परीक्षामा सहभागी नहुने बताइरहेको बेला बोर्डले परीक्षा गराएरै छोड्ने निर्णय गरेको हो । नियम अनुसार परीक्षा केन्द्र तोकिएको विद्यालयका प्रधानाध्यापक केन्द्राध्यक्ष रहने उसैले निरीक्षक तोक्नुपर्ने हुन्छ । यस्तो अवस्थामा शिक्षक सहभागी नभएपनि अन्य कर्मचारी वा निजामती कर्मचारीको प्रयोग गरेर भएपनि परीक्षा सञ्चालन गर्ने नेपाल राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले सबै शिक्षक आन्दोलनमा नआएकाले सकेसम्म शिक्षकलाई नै परिचालन गर्ने, भएन भने अन्य कर्मचारी परिचालन गरेर भएपनि परीक्षा गर्ने निर्णय भएको बताए । 'हामीले सकेसम्म शिक्षक नै केन्द्राध्यक्ष र निरीक्षक रहउन भन्ने हो, यसो भएन भने जिल्लाका सीडीओलाई परिचालन गरेर भएपनि परीक्षा गर्नुपर्ने बाध्यता भएको छ,’ उनले भने । समयमै परीक्षा सञ्चालन नगर्दा विद्यार्थीको भविष्य नै जोखिममा पर्ने भन्दै उनले यो कदम चाल्नुपरेको बताएका छन् । वैशाख ११ गतेदेखि सुरु हुने परीक्षामा शिक्षकको विकल्पमा निजामती कर्मचारी परिचालन गर्ने बोर्ड दाबी गरेको छ । यता आन्दोलनरत शिक्षकहरूले भने परीक्षामा सहभागिता नजनाउने बताएका छन् । उनीहरूले आफ्नो हातमा विद्यालय शिक्षा ऐन नपर्दासम्म सडकबाट घर नफर्कने अडान कसेका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आफूहरूको माग शिक्षामन्त्री, परीक्षा बोर्डप्रति लक्षित नभएको बताउँदै शिक्षा ऐन पारित गरेर शिक्षकको हातमा पर्नुपर्ने बताए । उनी भन्छन्, ‘हामी कसैको आश्वासन, प्रलोभनमा पर्दैनौँ र कुनै सम्झौता पनि गर्दैनौं, यसबाट जे जस्तो असर पर्छ सबै राज्यले बेहोर्नुपर्छ ।’ 'हामीले शिक्षकहरू आग्रह गरेका छौँ, आशा छ उहाँहरू सहभागी हुनुहुन्छ यदि त्यसो भएन भने, जिल्लामा हाम्रा कार्यालयहरू छन्, परीक्षा समन्वय समिति छ, र स्थानीय पालिका छन् उहाँहरूसँग समन्वय गरेर परीक्षा सञ्चालन गर्छौ,' परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने । यो वर्ष कक्षा १२ मा परिक्षामा साढे ५ लाख विद्यार्थी सहभागी हुँदैछन् ।
शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला
काठमाडौं । यही साता शाङ्घाई अटो शोको आयोजना हुँदैछ । अटो शोमा ७० भन्दा बढी चिनियाँ तथा अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डहरूले १०० भन्दा बढी नयाँ वा परिमार्जित मोडलहरू प्रदर्शन गर्ने जनाइएको छ । शोले संसारकै सबैभन्दा ठूलो विद्युतीय तथा हाइब्रिड सवारीको बजारमा चर्को प्रतिस्पर्धा अझ तीव्र बनाउनेछ । चीनका अग्रणी ब्रान्डहरू जस्तै बीवाईडी र जीली अप्रिल २३ देखि मे २ सम्म सञ्चालन हुने शोमा मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ । साथै फक्सवागन, निसान, टोयोटा र जनरल मोटर्सको क्याडिल्याकजस्ता विदेशी कम्पनीहरूले पनि ध्यान तान्ने प्रयास गर्नेछन् । चीनमा लामो समयदेखि जारी मूल्य प्रतिस्पर्धाको बीचमा अब चालक-सहायता प्रविधि (अटोमेटेड ड्राइभिङ फिचर्स) नयाँ प्रतिस्पर्धाको क्षेत्र बन्न थालेको छ । तर मार्चमा साओमी एसयू सेभेनको दुर्घटनापछि चिनियाँ सरकारले 'स्मार्ट' वा 'स्वचालित' जस्ता शब्दहरू प्रयोग गरेर प्रविधिको प्रचार गर्न प्रतिबन्ध लगाएपछि अटो शोमा अगिल्लो पुस्ताको चालक-सहायता प्रणालीहरू प्रस्तुत गर्ने योजनामा बाधा पुगेको छ । एसयू सेभेन पोलमा ठक्कर खाँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी तीन जनाको मृत्यु भएको थियो । चालकले कारको सहायक प्रणालीबाट नियन्त्रण लिन खोजेपछि दुर्घटना भएको हो । त्यसैले चीनले 'स्मार्ट' र 'स्वचालित' शब्द प्रयोगमा रोक लगाएको हो । गत वर्षको बेइजिङ अटो शोअघि लन्च भएको एसयू सेभेनले निकै चर्चा पाएको थियो र हालसम्म यो ईभी २ लाख १५ हजारभन्दा बढी बिक्री भइसकेको छ, जसले टेस्लाको मोडेल थ्रीलाई मासिक बिक्रीमा पछि पारेको छ । यस घटनापछि सरकारले थप निगरानी बढाएसँगै बीवाईडी र जीक्रजस्ता कम्पनीहरू चालक–सहायता क्षमताको प्रचार कम गर्दै सुरक्षित र जिम्मेवार ड्राइभिङको सन्देश दिन थालेका छन् । चीनको भिडन्तपूर्ण ईभी बजारमा कम्पनीहरूले आफूलाई भिन्दै देखाउन चालक–सहायता प्रणाली महत्त्वपूर्ण उपकरण बनेको छ । बीवाईडीले 'गड’आइज' नामक चालक-सहायता प्रणालीलाई सबै मोडलहरूमा निःशुल्क उपलब्ध गराउने घोषणा गरेपछि यो प्रविधिमा प्रतिस्पर्धा अझ तीव्र बनेको हो । यसले सस्तो मूल्यका (१० हजार डलरजति) मोडलहरूमा पनि यो सुविधा ल्याउनेछ । जाटो डाइनामिककी विश्लेषक बो युले भनिन्, ’धेरै कम्पनीहरूले बीवाईडीलाई मूल्य युद्धको लागि आलोचना गर्छन् । अब 'गड’आइज’ प्रणालीमार्फत पनि बीवाईडी सबैलाई असहज बनाइरहेको छ ।’ फेब्रुअरीमा नियामकहरूले सरकारको अनुमतिबिना चालक-सहायता सफ्टवेयरमा ओटीए अपडेटहरू निषेध गरेपछि टेस्लाले चीनमा आफ्नो 'फूल सेल्फ ड्राइभिङ’ प्रणालीको निःशुल्क परीक्षण बन्द गर्यो । हुवावेले पनि सावधानी अपनाउन आग्रह गर्दै आफ्ना सिस्टमहरू प्रयोग गर्दा सुरक्षा मनन गर्नुपर्ने सन्देश फैलाएको छ । शोमा जीलीको जीक्र ब्रान्डले लेभल थ्री चालक-सहायता प्रविधिसहितको पहिलो मोडल सार्वजनिक गर्ने योजना बनाएको भए पनि अब त्यसको सट्टा हाइब्रिड तथा ब्याट्री प्रविधिमा ध्यान केन्द्रित गरिनेछ । चिनियाँ नियामकहरूले आगलागी तथा विस्फोटको जोखिम घटाउनका लागि ईभी ब्याट्री मापदण्ड पनि कडा बनाउँदै लगेका छन् । टेस्लालाई लक्षित गर्दै नयाँ मोडेलहरू नियमसम्बन्धी चुनौतीहरूका बाबजुद चीनको 'नयाँ ऊर्जा सवारी’ क्षेत्र (विद्युतीय तथा ग्यासोलिन–इलेक्ट्रिक हाइब्रिड सवारी) को बिक्री तीव्र गतिमा बढ्दो छ । चीनमा अहिले नयाँ सवारी बिक्रीको आधाभन्दा बढी हिस्सा विद्युतीय वा हाइब्रिड सवारीहरूले ओगटेका छन् जुन अमेरिका, युरोप वा अन्य देशहरूसँग तुलना गर्दा धेरै अगाडि छ । यस हप्ताको शोमा सार्वजनिक हुने दर्जनौं नयाँ मोडलहरू टेस्लाको मोडेलसँग प्रतिस्पर्धा गर्न मिल्ने मूल्यमा ल्याइनेछ । टेस्लाले यसबारे कुनै टिप्पणी गरेको छैन । चीनमा टेस्लाको बजार हिस्सा २०२० मा १५ प्रतिशतबाट घटेर यो वर्षको पहिलो त्रैमासिकमा ९ प्रतिशतमा झरेको छ । गत वर्षदेखि यसको वार्षिक बिक्री पनि घटेको छ । अमेरिका तथा युरोपमा बिक्री घट्नुमा सीईओ एलन मस्कको राजनीतिक भूमिकाको आलोचनालाई पनि कारण मानिन्छ । टेस्लाले सन् २०२१ यता चीन अटो शोहरूमा भाग लिएको छैन । चिनियाँ प्रतिस्पर्धीहरूसँग तुलना गर्दा टेस्लाले नयाँ मोडलको गति निकै ढिलो राखेको छ । यस पटक सार्वजनिक हुने मोडेल वाईका प्रतिस्पर्धीहरूमा एक्सपेङको जी सिक्स र जिक्रको ई सिक्स छन्, जसले सस्तो मूल्यमा उन्नत ब्याट्री चार्जिङ, सहायक ड्राइभिङ र इन-कार मनोरञ्जन सुविधा दिनेछन् । साओमीले आफ्नो बहुप्रतीक्षित वाईयूसेभेन क्रसओभर ल्याउने अपेक्षा गरिएको भए पनि अब यसले केवल एसयू सेभेन र एसयू सेभेन अल्ट्रा देखाउनेछ र कुनै प्रेस सम्मेलन गर्ने छैन । चिनियाँ अटो उद्योगका स्वतन्त्र विश्लेषक लेई जिङले यस्ता क्रसओभरहरूलाई 'मोडेल वाई किलर' भनेका छन् । 'यो टेस्लाको लोकप्रिय मोडलमा ठूलो दबाव हो,' उनले भने, 'मोडेल वाईलाई हराउने एउटा मात्रै सवारी होइन- यो १२ वा १३ वटा सवारीहरू हुन् ।' सान्दर्भिक सामग्रीहरू ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा
सुनको भाउ आकाशियो, तोलाको १ लाख ९८ हजार
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ । त्यसको असर स्थानीय बजारमा पनि परेको छ । मंगलबार एक तोला पहेँलो धातुको मूल्य एक लाख ९७ हजार ९०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा ६ हजार ९०० रुपैयाँले सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
शिक्षकहरूको आन्दोलन कायमै, शिक्षा ऐन नआएसम्म विद्यालय नफर्किने अडान
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले मंगलबार पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा उनीहरूले प्रदर्शन गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । गत २० दिनदेखि आन्दोलनरत शिक्षकहरूले शिक्षा विधेयक तुरुन्तै जारी गर्नुपर्ने माग गर्दै काठमाडौं केन्द्रित विरोध कार्यक्रमहरू गरिरहेका छन् । सरकारले शिक्षा विधेयक आगामी बजेट अधिवेशनबाट जारी गर्ने प्रतिबद्धता जनाए पनि उनीहरू विश्वस्त देखिँदैनन् । शिक्षकहरूले पटक–पटक सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै यस पटक शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने अडान लिएका छन् । शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि शिक्षकहरूको माग सम्बोधन अझै अनिश्चित देखिएको छ । सरकारले वैशाख १२ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने तयारी गरिरहेको छ । सो अधिवेशनमा शिक्षा विधेयक प्रस्तुत हुने सरकारले स्पष्ट पारेको छ । तर, शिक्षकहरूले विधेयक जारी भएपश्चात् मात्र आन्दोलन अन्त्य गर्ने बताएका छन् ।
शिक्षा मन्त्री बन्ने कुनै इच्छा छैन : डा. अन्जान शाक्य
काठमाडौं । राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्यले आफू शिक्षामन्त्री बन्ने भन्ने समाचारहरू भ्रामक रहेको स्पष्ट पारेकी छन् । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि शाक्यको नाम मन्त्रीका सम्भावित दावेदारको रूपमा सार्वजनिक हुन थालेको थियो । तर, शाक्यले सामाजिक सञ्जालमार्फत स्पष्ट गर्दै आफूलाई यस्ता कुराको कुनै जानकारी नरहेको, त्यस्तो मन्त्रालयप्रति न रुचि रहेको न त विज्ञता नै रहेको बताएकी छन् । 'डाक्टर अन्जान शाक्य शिक्षामन्त्री बन्दै भन्ने भ्रामक र कपोलकल्पित समाचार प्रकाशन भएको जानकारी प्राप्त भयो । मैले प्रतिक्रिया नदिँदा पनि हुने थियो तर मेरा शुभचिन्तक र आफन्तमा भ्रम नहोस् भनेर जानकारी गराएकी हुँ,' शाक्यले भनिन् । उनले हालै मात्र अन्तर–व्यवस्थापिका संघको दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएको उल्लेख गर्दै आफूको प्राथमिकता नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउने दिशामा केन्द्रित रहेको बताइन् । 'अहिले मेरो पहिलो कर्तव्यमा गरेका प्रतिबद्धता पूरा गरी नेपालको प्रतिष्ठा विश्व जगतमा थप उच्च पार्नु हो,' उनले भनिन्, 'म राष्ट्रिय सभाको विज्ञ सदस्यको हैसियतले कानुन निर्माणमा पनि सक्रिय भूमिका निर्वाह गरिरहेकी छु ।' पूर्वराजदूतको जिम्मेवारी सम्हालिसकेको अनुभव र अन्तर्राष्ट्रिय स्तरमा प्राप्त सम्मानहरू उल्लेख गर्दै उनले थप भनिन्, 'मैले आफ्नो कर्तव्य र इमान्दारीताका कारण विश्व समुदायबाट सम्मान पाएको छु । त्यसैले अहिलेको परिस्थितिमा मन्त्री बन्ने कुरा मेरो प्राथमिकतामा छैन ।' डा. शाक्यले आफूविरुद्ध पूर्वाग्रह राखेर शिक्षा क्षेत्रको विवादमा मुछ्ने प्रयास गरिएको आशंका गर्दै यस्तो भ्रमपूर्ण प्रचारमा नलाग्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेकी छन् । 'गलत स्वार्थसहित केही सञ्चारमाध्यममा कसैले फैलाएको भ्रमको पछि नलाग्न सबैलाई हार्दिक अनुरोध गर्दछु,' उनले स्पष्ट पारिन् ।
९ महिनामा काठमाडौं महागनरको आम्दानी ७ अर्ब १६ करोड, अधिकांश शीर्षकमा खुम्चियो
काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्म्को अवधिमा काठमाडौं महानगरपालिकाको आम्दानी ९ प्रतिशतले बढेको छ । महानगरले उपलब्ध गराएको तथ्यांकअनुसार गत आवको ९ महिनाको तुलनामा चालु आवको सोही अवधिमा महानगरको आम्दानी ९.२० प्रतिशतले बढेको हो । चालु आवको चैत्रसम्ममा महाननगरले कुल ७ अर्ब १६ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यही अवधिमा महानगरले ६ अर्ब ५६ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो । चैत्र महिनामा मात्रै महानगरले ८९ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ६.९३ प्रतिशतले बढी हो । आव २०८१/८२ मा महानगरले १२ अर्ब ९० करोड ६३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । काठमाडौं महानगरले तीन शीर्षकमा आम्दानी गर्दै आइरहेको छ । महानगरले आन्तरिक राजश्व, बाँडफाँडबाट प्राप्त राजश्व र आन्तरिक अनुदान गरी तीन शीर्षकमा आम्दानी गर्दै आएको हो । तथ्यांकअनुसार यस अवधिमा महानगरले आन्तरिक राजश्व शीर्षकमा ४ अर्ब २५ करोड ६७ लाख १६ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत आवको तुलनामा न्यून वृद्धि अर्थात ३.९९ प्रतिशतले वृद्धि हो । बाँडफाँट प्राप्त राजश्वबाट महानगरले गत आवको तुलनामा ५६.९० प्रतिशतले वृद्धि गरेको छ । गत आवमा यस शीर्षकबाट ९७ करोड ८८ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको थियो । चालु आवमा महानगरलाई प्राप्त हुने आन्तरिक अनुदानसमेत घटेको छ । गत आवको तुलनामा चालु आवको ९ महिनामा आन्तरिक अनुदान ७.८७ प्रतिशतले घटेर १ अर्ब ३७ करोड ६७ लाख रुपैयाँ प्राप्त गरेको छ । गत आवमा महानगरले १ अर्ब ४९ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको थियो । घरबहाल करबाट २ अर्बभन्दा बढी आम्दानी महानगरले सबैभन्दा बढी घरबहाल करबाट आम्दानी गरेको छ । चालु आवको ९ महिनामा महानगरले घरबहालबाट २ अर्ब ९ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको तथ्यांक छ । यो आम्दानी गत आवको सोही अवधिको तुलनामा १४.६२ प्रतिशतले बढी हो । गत आवको ९ महिनामा महानगरले १ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो । महानगरले चैत्र महिनामा मात्रै यो शीर्षकबाट १६ करोड ४१ लाख रुपैयाँ संकलन गरेको छ । ९ महिनाको अवधिमा महानगरले सम्पति करबाट ९४ करोड ४५ लाख ७६ हजार रुपैयाँ उठाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १९.७६ प्रतिशतले बढी हो । यस अवधिमा पर्यटन शुल्क गत आवको भन्दा ११.९२ प्रतिशतले बढेको छ । महानगरका अनुसार यस शीर्षकमा १५ करोड १३ लाख ७८ हजार रुपैयाँ संकलन भएको छ । महानगरको बेरुजु भने २९.६६ प्रतिशतले बढेको छ । गत वर्ष १ करोड ८० लाख १० हजार रुपैयाँमा रहेको बेरुजु यो वर्ष २ करोड ३३ लाख ५२ हजार रुपैयाँ पुगेको छ । यस्तै, प्रशासनिक दण्ड, जरिवाना र जफत १९ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार शिक्षा क्षेत्रको आम्दानी १८.३६ प्रतिशतले बढेको छ । चालु आवको ९ महिनामा महानगरले यस शीर्षकबाट ५४ लाख ९९ हजार रुपैयाँ आम्दानी गरेको छ । यसबाहेक, घरजग्गा घरजग्गा रजिस्ट्रेसन दस्तुर १३६.६३ प्रतिशतले बढेको छ । उक्त शीर्षकबाट चालु आवको ९ महिनामा महानगरले १ अर्ब ५ करोड ३ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ । बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर १४.१२ प्रतिशतले बढेर ७ करोड २२ लाख ७० हजार रुपैयाँ संकलन भएकाो तथ्यांक छ । बाँडफाँडबाट प्राप्त हुने अन्त शुल्क गत वर्षको तुलनामा १४.१२ प्रतिशतले बढेको छ । नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान चालु ५६.३२ प्रतिशतले बढेको छ । चालु आवको ९ महिनामा उक्त शीर्षकमा महानगरलाई ७९ लाख ३० हजार रकम प्राप्त भएको छ । नेपाल सरकार सशर्त अनुदान पुँजीगत २६५.५१ प्रतिशतले बढेको महानगरको तथ्यांक छ । यी शीर्षकमा घट्यो आम्दानी अन्य प्रशासनिक सेवा शुल्क शीर्षकमा महानगरको आम्दानी ८६.५७ प्रतिशतले घटेको छ । गत आवको ९ महिनामा ३ करोड ५ लाख रुपैयाँ राजश्व संकलन गरेको महानगरले चालु आवको यही अवधिमा ४१ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, नक्सापास दस्तुरमा पनि महानगरको आम्दानी ४० प्रतिशतले खुम्चिएको छ । गत आवको यही अवधिमा ४९ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको महानगरले चालु आवको सोही अवधिमा २९ करोड ११ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको महानगरको तथ्यांक छ । चैत्र मसान्तसम्मको तथ्यांकअनुसार महानगरले उठाउँदै आएको अन्य बिक्रीबाट प्राप्त रकम ५१ प्रतिशतले घटेको छ । गत वर्षको यही अवधिमा १ करोड २७ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको महानगरले चालु आवको सोही अवधिमा ६२ करोड ४० हजार रुपैयाँ मात्रै आम्दानी गरेको हो । यसपछि नाता प्रमाणित दस्तुर ९.५२ प्रतिशतले घटेको छ । बाँडफाँटबाट प्राप्त हुने सवारी साधन कर २३.९१ प्रतिशत, बाँडफाँटबाट प्राप्त हुने रोयल्टी ३९.४३ प्रतिशत, त्यस्तै नेपाल सरकार समानीकरण अनुदान ३३.८३ प्रतिशत घटेको छ । प्रदेश समानीकरण अनुदान ४५.९७ प्रतिशतले घटेको छ । प्रदेश शसर्त अनुदान पुँजीगत ७.८८, अन्य व्यक्तिगत आन्तारिक अनुदान २८.७० प्रतिशतले घटेको छ । यी शीर्षकमा महानगरको शून्य आम्दानी महानगरले उठाउँदै आएको पार्किङ शुल्क १०० प्रतिशतले घटेको छ । गत वर्षको यही अवधिमा महानगरले पार्किङ शुल्कबाट १ करोड २१ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको थियो । महानगरले चालु आर्थिक वर्षबाट महानगरभित्रका सार्वजनिक स्थानमा पार्किङ गर्दा निःशुल्क बनाएसँगै यस शीर्षकमा आम्दानी नभएको महानगरलले जनाएको छ । त्यस्तै, बाँडफाँटबाट प्राप्त हुने मनोरञ्जन कर र विज्ञापन करबाट पनि महानगरले ९ महिनामा शून्य आम्दानी गरेको छ ।
कर्जाको ब्याज साढे २६ प्रतिशत घट्यो, कुन बैंकबाट ऋण लिँदा सस्तो छ ?
काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा कर्जाको ब्याज साढे २६ प्रतिशतले घटेको देखिन्छ । सार्वजनिक तथ्याङ्कअनुसार एक वर्षको अवधिमा बैंकहरूको आधार दर औसत २६.७२ प्रतिशत अर्थात् २.३१ प्रतिशत बिन्दु घटेसँगै कर्जाको ब्याजदर पनि सोही अनुसार घटेको हो । चालु आर्थिक वर्ष २०८१/८२ को चैतमा बैंकहरूको आधार दर औसत ६.३५ प्रतिशत बिन्दुमा झरेको देखिन्छ । जबकि गत वर्षको सोही अवधिमा बैंकहरूको आधार दर औसत ८.६६ प्रतिशत बिन्दुमा थियो । निक्षेपतर्फको ब्याजदर निरन्तर घटेपछि बैंकहरूको आधार दर घट्न पुगेको हो । बैंकहरूको आधारदर घट्दा कर्जाको ब्याजदर पनि स्वतः घट्न पुग्छ । त्यसैले एक वर्षको अवधिमा बैंकहरूको कर्जाको ब्याजदर पनि औसत साढे २६ प्रतिशत घटेको देखिन्छ । बैंकहरूको आधारदर घट्दा ऋणीका लागि सहज हुन्छ । आधारदर जति नै कम भयो, बैंकको ब्याजदर पनि त्यति नै कम हुने गर्दछ । समीक्षा अवधिमा सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । चैतसम्म यस बैंकको आधार दर ५.०२ प्रतिशत बिन्दुमा छ । जबकि गत वर्षको चैतमा आधार दर ७.३१ प्रतिशत बिन्दुमा थियो । गत वर्षको तुलनामा बैंकको आधार दर ३१.३२ प्रतिशत घटेको हो । तर, सबैभन्दा धेरै घटेको भने एभरेष्ट बैंकको रहेको छ । यस बैंकको आधार दर ३२.९६ प्रतिशत घटेर ५.४५ प्रतिशत बिन्दुमा झरेको छ । गत वर्षको चैतमा यस बैंकको आधार दर ८.१३ प्रतिशत थियो । यसअवधिमा हिमालयन बैंकको ३०.८९ प्रतिशत घटेर ६.८ प्रतिशत बिन्दु, कृषि विकास बैंकको २९.८३ प्रतिशत घटेर ६.०९ प्रतिशत बिन्दु, कुमारी बैंकको २९.५९ प्रतिशत घटेर ६.७८ प्रतिशत बिन्दु, एनएमबि बैंकको २९.०७ प्रतिशत घटेर ६.४९ प्रतिशत बिन्दुमा आधार दर झरेको छ । यस्तै, नबिल बैंकको २८.५८ प्रतिशत घटेर ५.९७ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकको २८.४० प्रतिशत घटेर ६.१ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको २७.८२ प्रतिशत घटेर ६.३८ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको २६.९९ प्रतिशत घटेर ७.१४ प्रतिशत बिन्दुमा आधार दर कायम छ । प्राइम बैंकको २६.४२ प्रतिशत घटेर ६.८२ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको २६.३६ प्रतिशत घटेर ६.६२ प्रतिशत बिन्दु, लक्ष्मी सनराइज बैंकको २६.३१ प्रतिशत घटेर ६.७२ प्रतिशत बिन्दु, नेपाल बैंकको २५.४० प्रतिशत घटेर ५.९६ प्रतिशत बिन्दु, नेपाल एसबीआई बैंकको २४.८० प्रतिशत घटेर ६.७३ प्रतिशत बिन्दुमा झरेको छ । सिद्धार्थ बैंकको २३.९९ प्रतिशत घटेर ६.४३ प्रतिशत बिन्दु, सानिमा बैंकको २२.९९ प्रतिशत घटेर ६.४३ प्रतिशत बिन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकको २२.०५ प्रतिशत घटेर ५.०९ प्रतिशत बिन्दु, प्रभु बैंकको २०.६३ प्रतिशत घटेर ६.७३ प्रतिशत बिन्दु र एनआईसी एशिया बैंकको १८.७३ प्रतिशत घटेर ७.२ प्रतिशत बिन्दुमा आधार दर कायम छ । बैंकको आधार दर घट्दा ऋणको ब्याजदर घट्न गई लगानी बढ्ने बैंकरहरू बताउँछन् । बैंकहरूले आधार दरमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जा प्रवाह गर्ने भएकाले कर्जा पनि सस्तो हुने गर्छ । साथै, यदि ऋण फ्लोटिङ रेटमा छ भने आधार दर घटेपछि ऋणको ब्याजदर पनि घट्ने बैंकरहरु बताउँछन् । तर, ब्याजदर सस्तो हुँदा बैंकको आम्दानी भने घट्ने उनीहरुको तर्क छ । बैंकको ब्याजदर एकल अंकमा पनि न्यून दरमा झरेकाले ऋण लिन बैंकरहरूले आग्रह गरिरहेका छन् ।