विकासन्युज

हिमालयन एभरेष्ट इन्स्योरेन्सले जित्यो, दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्टको उपाधि

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ‘दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८२’ को उपाधी हात पारेको छ । प्रतियोगिताको फाइनल खेलमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलाई पराजित गर्दै उपाधि हासिल गरेको हो । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा सम्पन्न भएको अन्तर बीमा कम्पनी फुटसल प्रतियोगिता (दोस्रो इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट २०८२) बीमा दोकान प्रालिले आयोजना गरेको थियो । उक्त प्रतियोगितामा जीवन बीमा, निर्जीवन बीमा, माइक्रो बीमा र पुनर्बीमा कम्पनी गरी ११ वटा कम्पनीहरूको सहभागिता रहेको थियो । जसमध्ये फाईनल चरणमा पुगेका दुई कम्पनीहरू हिमालयन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी विच भएको फाईनल खेल निकै रोमाञ्चक भएको थियो ।  प्रतियोगिताको प्रमुख अतिथिका रुपमा रहेका एन्फाका महासचिव किरण राईद्वारा उद्घाटन गरिएको उक्त प्रतियोगिता २ दिनसम्म चलेको थियो । दोस्रो दिनको खेलमा प्रमुख अतिथि रहेका नेपाल बीमा प्राधिकरणका बीमालेख महाशाखा निर्देशक निर्मल अधिकारीले प्रतियोगितामा विजयी भएकाहरूलाई प्रमाणपत्र, सिल्ड, ट्रफि र नगद पुरस्कार प्रदान गरेका थिए । उपाधि विजेता हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले मेडल, सिल्ड र ३५ हजार रुपैयाँ नगद जित्न सफल भएको छ भने उपविजेता हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले मेडल, सिल्ड र १५ हजार नगद जित्न सफल भएको छ ।  'स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य' भन्ने मुल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजक बीमा दोकान प्रालिले जनाएको छ ।

भट्टराईलाई मैले मन्त्री बनाएको हुँ, स्वास्थ्य ठीक नभएर राजीनामा दिनुभयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट  पारेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसका अवसरमा आयोजित मन्त्री भट्टराईको राजीनामालाई प्रधानमन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएकाेप्रति उनले असन्तुष्टि जनाए । उनले भने, 'उहाँ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु । सहयोग गरिरहेको छु । सिकाइराखेको छु । ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो । यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन ।' प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणीसमेत गरे । एमाले र कांग्रेससँगको सहमतिबमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने प्रतिबद्धता उनले जनाए ।  

पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार हुने

काठमाडौं । पोप फ्रान्सिसको अन्त्येष्टि आगामी शनिबारका दिन गरिने भएको छ । भ्याटिकनले जानकारी दिएको अनुसार अन्त्येष्टि स्थानीय समयअनुसार बिहान १० बजे सुरु हुनेछ । पोपको अन्त्येष्टि सेन्ट पिटर बेसिलिकाको अगाडि गरिने जनाइएको छ । भ्याटिकनले जनाएअनुसार बुधबार बिहान ९ बजे पोपको पार्थिव शरीर सेन्ट पिटर बेसिलिकामा ल्याइनेछ । उनको पार्थिव शरीर अन्त्येष्टि नभएसम्म त्यहीं राखिनेछ ताकि श्रद्धालुहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सकून् । हाल पोपको शरीर सान्ता मार्था आवासको प्रार्थना कक्षमा राखिएको छ, जहाँ उनले पोपको रूपमा १२ वर्षसम्म बसोबास गरेका थिए । सोमबार क्याथोलिक समुदायका सबैभन्दा ठूला धर्मगुरु फ्रान्सिसको निधन भएको थियो । भ्याटिकनले जारी गरेको वक्तव्यमा उनको मृत्युको कारण स्ट्रोक आएपछि हृदयगति रोकिएको उल्लेख गरिएको छ । पोप फ्रान्सिसको निधन : तलब नलिने सरल नेता, छाडे २१९ करोडको सम्पत्ति  

दिगो विकासतर्फ ग्लोबल आइएमई बैंक, रुफटप सोलार कर्जा सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार यस कर्जाको मुख्य उद्देश्यहरु नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने रहेका छन् ।  यो कर्जाबाट उत्पादनमूलक उद्योग तथा व्यवसायहरू जस्तै होटल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ्ग कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्थाहरुले प्रत्यक्ष लाभ लिन सक्नेछन् । बैंकले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै दिगोपन तर्फ अग्रसर हुन रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको हो ।  ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।  

सेयर बजार घट्यो, ८ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ९ अंकले घटेर २६८८ विन्दुमा झरेको छ । बजार ओरालो लागे पनि कुल ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको बजारमा ३१९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच भएको छ । ८६ कम्पनीको मूल्य बढ्दा १६० कम्पनीको घटेको छ भने १ कम्पनीको मूल्य यथावत् छ । सबैभन्दा धेरै कारोबार न्यादी ग्रुपको भएको छ, जसको कारोबार ४४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । त्यसपछिका धेरै कारोबार गर्ने कम्पनीहरूमा हिमालयन पावरको ४० करोड, हिमालयन रिइन्स्योरेन्सको ३६ करोड, नेपाल रिइन्स्योरेन्सको ३५ करोड र राधी विद्युतको ३५ करोड रुपैयाँ रहेका छन् । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले र क्रेस्ट माइक्रो लाइफको ९.९८ प्रतिशतले वृद्धि भएको हो ।

दाउन्नेमा सुक्खा पहिरो, सयौँ सवारी जाममा

मध्यविन्दु । सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ ।  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसिरहेकाले यातायात सेवा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिले उक्त क्षेत्रमा दुवैतर्फ यातायात सेवा पूर्णरूपमा अवरुद्ध छ । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।  अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारीसाधन जाममा परेका छन् । पहिरो खसिरहेकाले भित्ता काटेर सडक बनाउनुपर्ने अवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जाराले बताए । दाउन्ने क्षेत्रमा कालोपत्र सडक खनेर विस्तार गर्ने कार्य भइरहेको थियो । त्यसैमाथि आज सुक्खा पहिरो खसेको हो । दाउन्ने खण्डमा हाल सडक विस्तारका लागि दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर काम गर्ने गरिएको छ ।   

सीएटीएलको नयाँ सोडियम-आयन ब्याट्री ब्रान्ड सार्वजनिक, ईभीमा आगलागीको जोखिम घटाउने

काठमाडौं । चीनको सीएटीएलले सोमबार आफ्नो सोडियम-आयन ब्याट्रीहरूको लागि नयाँ ब्रान्ड ‘न्याक्स्ट्रा’ सार्वजनिक गरेको छ । जुन कम्पनीले आगामी डिसेम्बरदेखि ठूलो परिमाणमा उत्पादनमा लैजाने जनाएको छ । साथै विद्युतीय सवारीसाधन (ईभी)का लागि दोस्रो पुस्ताको फास्ट चार्जिङ ब्याट्री पनि प्रस्तुत गरेको छ । सीएटीएल सन् २०११ मा सोडियम-आयन ब्याट्री सार्वजनिक गर्ने पहिलो प्रमुख अटोमोबाइल ब्याट्री निर्माता बनेको थियो । अन्य ब्याट्री सामग्रीको तुलनामा सोडियम सस्तो र प्रशस्त मात्रामा पाइने भएकाले यसले ईभीमा आगलागीको जोखिम घटाउन सक्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन् । न्याक्स्ट्रा ब्रान्डअन्तर्गत पहिलो उत्पादन १७५ वाट घण्टा प्रति किलोग्रामको ऊर्जा घनत्व भएको नयाँ सोडियम-आयन ब्याट्री हुनेछ, जुन अहिले प्रचलनमा रहेको लिथियम-आयरन-फस्फेट ब्याट्री सरह हुनेछ- जुन ईभी र ग्रिड-ऊर्जा भण्डारण प्रणालीमा प्रयोग हुन्छ । सीएटीएलका अनुसन्धान तथा विकास विभागका सह-अध्यक्ष ओउयाङ चूयिङ का अनुसार, 'प्रविधि र आपूर्ति शृंखला विकसित हुँदै गएसँगै सोडियम-आयन ब्याट्रीहरूले लिथियम-आयन ब्याट्रीभन्दा सस्तो विकल्प बन्न सक्ने सम्भावना छ ।' सीएटीएलका अरबपति संस्थापक रोबिन झेङ ले पनि सोडियम-आयन ब्याट्रीहरूले कम्पनीले अहिले नियन्त्रणमा लिएको एलएफपी ब्याट्री बजारको आधा हिस्सा प्रतिस्थापन गर्न सक्ने देखिएको बताएका छन् । न्याक्स्ट्राबाहेक सीएटीएलले आफ्नो शेनजिङ ब्याट्रीको दोस्रो पुस्ता पनि सार्वजनिक गरेको छ, जसले ५ मिनेटको चार्जमा ५२० किलोमिटरसम्म ड्राइभिङ रेञ्ज दिन सक्छ र चिसो मौसममा १५ मिनेटमै ब्याट्री ८० प्रतिशत चार्ज गर्न सकिन्छ । सीएटीएलका प्रमुख प्राविधिक अधिकारी गाओ हुआनले शाङ्घाईमा आयोजित कार्यक्रममा भनेअनुसार यस वर्ष ६७ भन्दा बढी नयाँ ईभी मोडलहरू शेनजिङ ब्याट्रीबाट चल्नेछन्, तर कुन मोडलमा पहिलो पुस्ता र कुनमा दोस्रो पुस्ता प्रयोग हुनेछ भन्ने खुलाइएको छैन । सीएटीएलका ब्याट्रीहरू जडान गरिएका १.८३ करोडभन्दा बढी सवारीसाधनहरू हाल ६६ भन्दा बढी देशहरूमा सञ्चालनमा छन् । सीएटीएलले एक नयाँ ब्याट्री संयोजन प्रणाली पनि सार्वजनिक गरेको छ, जुन दुई इन्जिन भएको विमानको प्रणाली जस्तै हो र यसले ईभीको सुरक्षा अझ बढाउने बताइएको छ । गएको महिना मात्र सीएटीएलले २०२४ को नाफा १५ प्रतिशतले वृद्धि भएको जनाएको थियो, जुन छ वर्षको सबैभन्दा ढिलो वृद्धिदर हो- किनकि चीनको ईभी बजारमा मूल्य प्रतिस्पर्धाका कारण कम्पनीमा दबाब परेको थियो । शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला

पोखरा महानगरका शाखा अधिकृत गिरीविरुद्ध २५ हजार घुसको आरोपमा भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा कार्यरत शाखा अधिकृत कपिल गिरीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । महानगरको उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत सातौं तहका अधिकृत गिरीले सेवाग्राहीसँग उजुरीसम्बन्धी फाइल मिलाइदिने भन्दै २५ हजार रुपैयाँ घुस लिएको प्रमाणित भएपछि अख्तियारले उनीविरुद्ध कारबाही अघि बढाएको हो । घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएका गिरीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अनुसार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। मुद्दामा बिगो वापत सोही रकम माग गरिएको छ ।