धनगढीमा अत्याधिक गर्मी, वायु तापक्रम ४० दशमलब आठ डिग्री सेल्सियस मापन
काठमाडौं । कैलाली र कञ्चनपुरलगायत तराईका जिल्लामा केही दिनदेखि दैनिक तातो हावा (लु) चल्न थालेसँगै बढेको गर्मीले जनजीवन प्रभावित हुन थालेको छ । अहिले ‘प्रि मनसुन’ को समय चलिरहेकोले बढी गर्मीको महसुस भएको कैलाली अत्तरियास्थित जलवायु विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ । कार्यालयका जलवायु विज्ञ सञ्जय साहले गर्मी बढ्दै जाँदा धनगढीको अधिकतम् तापक्रम आज यो वर्षकै सबैभन्दा बढी ४० दशमलब आठ डिग्री सेल्सियस मापन भएको जानकारी दिए । सोमबार धनगढीको अधिकतम् तापक्रम ३९ डिग्री सेल्सियस मापन भएको थियो । ‘प्रि मनसुनले तातो हावासहितको हुरी चल्ने, असिनापानी पर्ने आफ्नो लक्षण देखाउँदा गर्मी पनि बढेको हो, अझैँ तापक्रम बढ्नसक्ने हुनसक्छ,’ उनले भने । मनसुन भित्रिन अझैँ डेढ महिनाको समय बाँकी छ । गर्मी बढेसँगै धनगढी क्षेत्रमा छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध भइरहने समस्या पनि बढेको छ । गर्मीसँगै कैलालीसहितका जिल्लामा आगलागिका घटना पनि बढ्न थालेका छन् । धनगढी निवासी सुभाश चौधरीले वैशाख महिनामै यति चर्को गर्मी महसुस पहिलो पटक भएको अनुभव सुनाए । उनले भने, ‘वैशाख महिनामै यति चर्को गर्मी छ, जेठ महिनाको गर्मीले तराईमा बस्न सकिँदैन जस्तो छ, जलवायु परिवर्तनको असरका कारण गर्मी बढेको हुनसक्छ ।’
कक्षा १२ को परीक्षा वैशाख २१ देखि
काठमाडौं । वैशाख ११ गतेदेखि सञ्चालनको तयारी गरेको कक्षा १२ को परीक्षा १० दिन पछाडि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार राष्ट्रिय परीक्षा बोर्डले आज साँझ बैठक बसेर कक्षा १२ को परीक्षा ११ गतेदेखि सारेर वैशाख २१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सारेर २१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । आज बिहान बोर्डको बैठक बसेर निजामति कर्मचारी परिचालन गरेर भए पनि आउँदो बिहीबार ११ गतेदेखि नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । यद्यपि निजामति कर्मचारीले पनि परीक्षामा सहयोग नगर्ने र शिक्षकबिना परीक्षा सञ्चालन गर्ने निर्णय बिबादमा आएपछि बोर्डका पदाधिकारीले दिनभर शिक्षा मन्त्रालय र सरकारका विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरेका थिए । आजै साँझ बोर्डका अध्यक्ष शर्मासहितको टोली प्रधानमन्त्री केपी ओलीसँग बालुवाटार पुगेर छलफल गरेपछि प्रधानमन्त्रीले केही दिन परीक्षा सार्न निर्देशन दिनुभएको र सोही निर्देशनअनुसार बोर्डको बैठक बसेर परीक्षा सारेर वैशाख २१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि बिहानको बोर्ड बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लामा रहेको जिल्ला परीक्षा समन्वय समितिलाई सम्पूर्ण जिम्मा दिएर कर्मचारी परिचालन गरी परीक्षा गर्ने निर्णय गरेको थियो । चैत २० गतेदेखि आफ्ना विभिन्न माग राखेर शिक्षक महासङ्घले काठमाडौं केन्द्रित आन्दोलन जारी राख्दै शैक्षिक हडताल गरेपछि कक्षा १२ को परीक्षा प्रभावित बन्न पुगेको हो । यसवर्ष कक्षा १२ को परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुनेछन् । परीक्षाका लागि जापान एक परीक्षा केन्द्रसहित १ हजार ५९१ परीक्षा केन्द्र गरिएको छ । परीक्षाका लागि त्यति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याको आधारमा करिब २ हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एकजना कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी बोर्डले गरेको थियो ।
स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन बीमा बोर्डले गर्यो विभिन्न योजना सार्वजनिक
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक खर्च कटौती तथा आम्दानी बढाउने गरी विभिन्न निर्णय गरेको छ । अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड बैठकले अनावश्यक परीक्षण गरेर बीमामा दाबी बढ्दा भुक्तानीमा समस्या देखिएको भन्दै त्यस्तो नगर्न र उपचार गर्दा प्रोटोकलअनुसार गर्ने व्यवस्था मिलाउन सहयोगका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पचात्रार गरेको छ । आधारभूत स्वास्थ्य उपचारका लागि दिने रकमका लागि समेत स्वास्थ्य बीमा कार्यक्रममा मागदाबी परेको भन्दै बोर्डले दोहोरोपना हटाउन सकिए दायित्व कम पर्ने निष्कर्षका साथ यसमा सघाउन मन्त्रालयमा अनुरोध गरेको बोर्डले जनाएको छ । बोर्डको अनुरोधपश्चात् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य उपचारको मापदण्ड पूर्ण कार्यान्वयन गर्न र दोहोरोपना हटाउनका लागि सुझाव कार्यदल गठन गरिसकेका छन् । बोर्डले नयाँ आम्दानीका स्रोतस्वरुप नेपालमा औषधि बिक्रीवितरण गर्ने सबै कम्पनीको खर्चको निश्चित प्रतिशत स्वास्थ्य बीमा कोषमा खर्च गर्न सकिने प्रस्ताव गरेको छ । यसका लागि पनि स्वास्थ्य मन्त्रालयलाई सहयोगका लागि बोर्डले पत्राचार गरेको कार्यकारी निर्देशक डा रघुराज काफ्लेले जानकारी दिए । यसैगरी, बोर्डले आम्दानी बढाउने उपायस्वरुप स्वास्थ्य बीमा चिठ्ठा कार्यक्रम सञ्चालनका लागि सरकारसँग अनुमति मागेको छ । स्वास्थ्यमन्त्री पौडेलले यसअघि सबै सङ्घीय अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत सोझै बीमा कोषमा जम्मा गर्ने निर्णयसमेत गरिसकेका छन् ।
वैशाख २५ गतेदेखि अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना हुँदै, करिब २० हजारले अवलोकन गर्ने
काठमाडौं । नेपाल नेपाल उद्योग वाणिज्य महासंघले दशाैं अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ । आगामी वैशाख २५ गतेदेखि २९ गतेसम्म भृकुटीमण्डपमा मेला आयोजना हुन लागेको हो । मेलमा नेपालसहित चीन, भारत, पाकिस्तान र बंलादेशका क्रेताहरूलाई आमन्त्रण गरिएको मंगलबार आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा मेला आयोजक समितिका सभापति उमेश डाल्मियाले बताए । उनका अनुसार मेलामा २५० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिनेछ । मेलाको सम्पूर्ण तयारी भइसकेको महासंघले जनाएको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड एन नेपाल सो, हस्तकला उत्पादन, वस्तुगत संघका उत्पादनका साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय सवारीसाधन (ईभी) समेत राखिने महासंघले जनाएको छ । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तक्रिर्या गराउने लक्ष्यसमेत रहेको आयोजक समितिका सभापति डाल्मियाले जानकारी दिए । मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरू राखिने छन् । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफलसमेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा छ । महासंघकै नेतृत्वमा यसवर्ष अघिल्ला वर्षहरू जस्तै मुलुकभित्र प्रादेशिक, जिल्लास्तर एवं वस्तुगत गरी विभिन्न भागमा आयोजना हुने क्रममा छ । विभिन्न जिल्लाहरुमा आयोजना भएका मेलामा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआइटीएफमा निःशुल्क स्टल उपलब्ध गराइने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरूको अन्तराष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पु¥याउने विश्वास महासंघले लिएको छ । मेलामा जेष्ठ नागरिक तथा फरक रुपले समक्ष नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरूलाई उनीहरूको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ । चैत्र ११ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको महासंघले जानकारी गराएको छ । प्रवेश शुल्क कति ? मेलामा अवलोकन गर्ने चाहाने‍लाई ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ भने विद्यार्थीहरूलाई ५० प्रतिशत छुट गरिने आयोजक समितिले जनाएको छ । मेलामा नेपाली वस्तुलाई विशेष प्राथमिकता दिइने छ भने आकर्षणको रूपमा खेलौनाका सामग्रीदेखि हिमाल, पहाड र तराईमा उत्पादन गरिएका वस्तुहरू प्रर्दशनीमा रहनेछन्। अन्तर्राष्ट्रिय मेला नै किन ? आयोजनाका उपसभापति सविन श्रेष्ठले नेपालभरि छरिएर रहेका उत्पादित चिजवस्तुहरूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने हेतु तथा अन्तर्राष्ट्रिय बजारसम्म पुगून् भन्ने उद्देश्यले मेलाको आयोजना गरिएको जानकारी दिए । यस्तै, मेला आयोजक सभापति डाल्मियाले नेपाली उत्पादनलाई केही नयाँपन दिन खोजेका तर यो आफूहरूले मात्रै गरेर नहुने जिकिर गरे । उनले भने, ’भृकुटीमण्डप क्षेत्र व्यवस्थित हुन सकेन । त्यहाँको अवस्था ठीक छैन । सरकारले त्यहाँ मेला लागेवापत पैसा उठाउँदै आएको छ तर व्यवस्थित गर्न सकेको छैन । मेला हामी कहिले पनि भव्य र सभ्य रूपमा बनाउन सकिरहेका छैनौं ।’ डाल्मियाले निजी क्षेत्रले मात्रै गरेर देशको अर्थतन्त्र चलायमान हुन नसक्ने बताए । मेलामा चीनबाट पावर ट्रान्समिसन इक्यूपमेन्ट, इलेक्ट्रिकल्स तथा अटो मोबाइल्स, फुड एण्ड वेभरेज, मिलक प्रडक्ट, किचन वेयर, गार्मेन्टस्, बंगलादेशबाट गार्मेन्ट्स, पाकिस्तानबाट लेदर तथा गार्मेन्ट स्टलहरू रहने महासंघले जनाएकाे छ ।
डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा एनसेल सूचीकृत, नेपालको पहिलो र एकमात्र कम्पनी
काठमाडौं । एनसेल डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डेटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सूचना प्रविधि विभागले डेटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ मा भएको कानुनी व्यवस्था बमोजिम एनसेललाई सूचीकृत गरेको हो । विभागले कम्पनीको प्रत्यक्ष निरीक्षण र कम्पनीबाट पेश भएको निवेदन तथा कागजातहरूको गहन अध्ययन गर्दा तोकिएको सञ्चालन मापदण्ड तथा सुरक्षा प्रावधानहरू पालना गरिएको देखिएकाले सूचीकृत गरेको जनाएको छ । निर्देशिका अनुसार सञ्चालनमा रहेका डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायकहरूले ६ महिनाभित्र विभागमा सूचिकृत भइसक्नुपर्ने प्रावधान छ । एनसेलले सो अवधि अगावै आफूलाई सूचीकृत गराएको हो । यो निर्देशिका २०८१ माघ १५ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भई कार्यान्वयनमा आएको हो । यसले सेवा प्रदायकहरूका लागि सुरक्षा, गोपनीयता, पूर्वाधारलगायतका महत्वपूर्ण क्षेत्रमा नियम निर्धारण गरेको छ । डेटा सेन्टर र क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकृत हुनुपर्ने व्यवस्थाअनुसार एनसेलले दुवै सेवाका लागि छुट्टाछुट्टै सूचीकरण गराएको हो । अब एनसेल नयाँ कानुनी व्यवस्थाअनुसार यी सेवाहरू सहज रूपमा प्रदान गर्न सक्ने पहिलो तथा एकमात्र कम्पनी बनेको छ । हाल एनसेलको ललितपुर, नख्खुमा बैंक, सरकारी निकाय र ठूला व्यावसायीक संस्थाले प्रयोग गर्न सक्ने अत्याधुनिक टियर थ्री डेटा सेन्टर सञ्चालनमा छ । त्यस्तै, पोखरा र हेटौडामा गरी दुई वटा डिजास्टर रिकभरी डेटा सेन्टरहरू सञ्चालनमा छन् । एनसेलका चीफ बिजनेस अफिसर डिओन एसेन्सिओ भन्छन्, 'हामीले साइबर सुरक्षा र डेटा गोपनीयतालाई उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरेका छौं, त्यसैले सूचीकरण प्रक्रिया सहज भयो। सूचीकृत भई सरकारबाट मान्यता पाउने पहिलो र एकमात्र कम्पनी बनेकोमा हामी खुसी छौं ।' सूचीकरण प्रक्रियामा विभागले आगलागी सुरक्षाको सुनिश्चितता, सुरक्षा तथा गोपनीयता नीति, व्यवसाय निरन्तरता योजना, डेटा सेन्टरको टियर, आईपी पूल लगायतका विवरणहरूको गहन अध्ययन गरेको थियो । सरकारले सूचना प्रविधि प्रणालीलाई भरपर्दो, सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन जारी गरेको हो। डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायकको सूचीकरणले यस क्षेत्रको नियमन, पारदर्शिता र साइबर सुरक्षालाई सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
'गभर्नर अरूले नै छान्ने हो भने रबर स्ट्याम्प बन्न चाहिनँ, एउटा पनि बैठक नबसेपछि राजीनामा दिएँ'
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । सिफारिस समिति गठन भएको एक महिनासम्म एउटा पनि बैठक नबसेपछि राजीनामा दिएको भट्टराईले विकासन्युजसँग बताए । ‘एक महिनामा एउटा पनि बैठकमा नबस्ने कमिटीमा कोही पनि बस्दैन । मेरो ठाउँमा अन्य कुनै व्यक्तिलाई राखेको भएपनि उसले पनि राजीनामा दिन्थ्यो,’ उनले भने । राष्ट्र बैंकको गभर्नर अरूले नै छान्ने हो भने आफूहरू सिफारिस समितिको सदस्यमा बसिरहनुको औचित्य नरहेको भट्टराईको भनाइ छ । आफूलाई सदस्य बनाएर रबर स्ट्याम्प बनाइएकाले समितिको सदस्यबाट राजीनामा दिएको उनले बताए । ‘यदि उहाँहरूले छान्ने हो भने हामीले किन बस्ने, हाम्रो औचित्य के हो ? हामी रबर स्ट्याम्प मात्रै हुने हो भने हाम्रो औचित्य नै रहेन । आफ्नो भएको नाम पनि जान्छ,’ उनले भने । विगतमा माफियाविरुद्ध लडेर पुनर्बहाली भई अवकाश भएको र सिफारिस समितिमा रहेर शत्रु कमाउने आफ्नो चाहना नरहेको भट्टराईको भनाइ छ । ‘मैले माफियासँग लडाइ लडेँ, यो मान्छे भ्रष्टाचारी होइन, निर्दोष हो भनेर पुनर्बहाली भएर अवकाश पाएको मान्छे हुँ,’ उनले भने, ‘मलाई विवादमा पर्नु छैन । म यो उमेरमा कुनै विवादमा पर्न पनि चाहन्नँ । मलाई शत्रु बनाउन पनि छैन ।’ भट्टराई राष्ट्र बैंकका पूर्वगभर्नर हुन् । विसं २०६१ माघ १८ गते नियुक्त भएका भट्टराई विसं २०६६ साल माघ १७ गतेसम्म गभर्नर पदमा रहेका थिए । तर, उनलाई भ्रष्टाचारको आरोपमा सरकारले विसं २०६५ माघ २ गते निलम्बन गरेको थियो । छानबिनपश्चात सफाइ पाएपछि विसं २०६६ साउन ११ गते उनी पुनर्बहाली भएका थिए । २०८१ चैत ११ गते बसेको मन्त्रिपरिषद बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल र भट्टराईलाई सदस्य नियुक्त गरेको थियो ।
मुलुकको आर्थिक समृद्धिका लागि घरजग्गा व्यवसायी सरकारसँग हातेमालो गर्न तयार : अध्यक्ष घिमिरे
काठमाडौं । नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि घरजग्गा व्यवसायी सरकारसँग हातेमालो गर्न तयार रहेको बताएका छन् । महासंघको तेस्रो स्थापना दिवस कार्यक्रममा बोल्दै उनले व्यवसायीले सामना गर्नुपरिरहेको नीतिगत तथा कानुनी समस्या समाधान गरिदिन सरकारसँग आग्रह गरे । उनले मुलुकको अर्थतन्त्रमा घरजग्गा व्यवसायको ठूलो योगदान रहेको उल्लेख गरे । सो क्षेत्रमा देखिएका समस्या सम्बन्धित व्यवसायीसँग छलफल गरेर अन्त्य गरिनुपर्ने उनको भनाइ छ । अध्यक्ष घिमिरेले चालु आवको नौ महिनामा घरजग्गा व्यवसायबाट ३३ अर्ब राजस्व सङ्कलन भएको जानकारी दिए । उनले घरजग्गा आवास तथा विकास महासंघमा धेरै समस्या रहेकाले यसमा सहयोग गर्न सरकारसँग आग्रह गरे । उनले नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनसँग सहकार्य गर्न सहमत रहेको र चाँडै सहकार्य हुने प्रतिबद्धता व्यक्त गरे । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका अध्यक्ष सीताराम दाहालले नेपाल घरजग्गा तथा आवास विकास महासंघसँग सहकार्य गर्ने बताए । महासंघको कार्यक्रममा बोल्दै दाहालले महासंघप्रति आफूहरू संधै सकारात्मक भएको जानकारी दिए । उनले भने, ‘हामी सहकार्य गर्न आधिकारिक रूपमै आतुर छौं । पहिलेका सरकारका कारण परेको असर हाल विस्तारै हल भएपनि लयमा जान सकेको छैन । विगतका भूमि ऐन अव्यावहारिक हुनु, सही मूल्याकंन नहुनु कित्ताको निकास सही कार्यान्वयन नहुनु जस्ता थुप्रै समस्या छन् ।’ सरकारले ल्याएको नीति सकारात्मक रहेको उनको भनाइ छ । अब दुबै महासंघले सहकार्य गरेर अगाडि बढे घर जग्गा कारोबारमा निकै सहयोग पुग्ने उनको जिकिर छ ।
ओलीको चुनौती– मिसन ०८४ मा हेरौंला, एमाले बिनाको नेपाल हुन्छ कि के बिनाको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले बिनाको नेपाल बनाएर देखाउन चुनौती दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्द उनले यस्तो चुनौती दिएका हुन् । उनले चारैतिरबाट एमाले र आफूमाथि हमला भइरहेको बताए । प्रधानमन्त्रीले केपी ओली बिनाको एमाले खोजेको र एमाले बिनाको नेपाल खोजिरहेको भन्दै मिसन ०८४ मा हेर्न चेतावनी दिए । उनले नेकपा एमाले पार्टीको लागि राम्रो गर्नेहरू भएको भए आफूले सरक्क नेतृत्व छोडिदिने बताए । प्रधानमन्त्री ओलीले भने, ‘दुनियाँले यत्रो हमला गरेको बेला साथीहरूलाई आश्चर्य लाग्दैन ? दुनियाँले यत्रो हमला गरेको छ । केपी ओली बिनाको एमाले खोजेको छ । किन खोजेको होला ? केपी ओली बिनाको एमाले । तिनको मनसाय राम्रो भए त म सरक्क छोड्दिहाल्थेँ नि ।’ 'मिसन ०८४ मा हेरौंला । एमाले बिनाको नेपाल हुन्छ की के बिनाको नेपाल हुन्छ । हामी चुनौतीका साथ भन्छौं,’उनले थपे । प्रधानमन्त्री ओलीले अहिलेको राजनीति विगतको जस्तो नरहेको भन्दै आजको अन्तर्राष्ट्रिय नीति आइडोलोजिकल हिसावले पोलिसी निर्माण गर्नेतिर नभइ कमाइको प्रतिष्पर्धामा दुनियाँ लागेको बताए ।