विकासन्युज

शिक्षक आन्दोलनले सरकारी विद्यालयका विद्यार्थी निजी स्कुलमा भर्ना हुँदै

काठमाडौं । विद्यार्थीहरू धमाधम निजी विद्यालयमा भर्ना हुन थालेपछि बैतडीको एक सामुदायिक विद्यालयले विद्यार्थीहरू नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण गरेको छ । जिल्लाको पाटन नगरपालिका-९ हुक्केडाँडास्थित सिद्धेश्वर माविले विश्व पुस्तक दिवसका अवसरमा विद्यार्थीहरूलाई शैक्षिक सत्र २०८२ का लागि नयाँ पाठ्यपुस्तक वितरण गरेको हो । शैक्षिक सत्र सुरु भएको डेढ हप्ताभन्दा बढी भइसके पनि शिक्षकहरूको आन्दोलनका कारण भर्ना अभियान सञ्चालन हुन सकेको छैन । यसले विद्यार्थीको पढाइ बिग्रने चिन्तासहित पुस्तक वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताए । शैक्षिक सत्र २०८१ मा सोही विद्यालयमा अध्ययनरत तथा कक्षा उत्तीर्ण भएका बालबालिकालाई पाठ्यपुस्तक वितरण गरिएको हो । शिक्षक महासङ्घको आन्दोलनका कारण लामो समय विद्यालय बन्द हुँदा उक्त विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थी निजी विद्यालयमा भर्ना भइसकेका छन् । निजी विद्यालयहरूले गाउँगाउँ पुगेर सरकारी विद्यालयका विद्यार्थीलाई आकर्षित गर्न थालेपछि कार्यालय सहयोगी, निजी शिक्षक, नगर स्वयंसेवक शिक्षक र अभिभावकको सहयोगमा किताब वितरण गरिएको अध्यक्ष भाटले जानकारी दिए ।  ‘शिक्षकका केही मागमा हामीले समर्थन गरेका छौँ, २१ दिनसम्म सहयोग गरिएको हो । अब विद्यालयलाई समस्या भएको छ, विद्यार्थी पलायन रोक्नका लागि र उनीहरू स्वअध्यनका लागि भए पनि किताब वितरण गरेका हौ,’ उनले भने ।  यही वैशाख १५ गतेदेखि विद्यालयमा उपलब्ध जनशक्तिबाट नियमित पठनपाठन सञ्चालन गर्ने तयारीसमेत भइरहेको व्यवस्थापन समितिका अध्यक्ष भाटले जानकारी बताए । शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियानलगायत शैक्षिक गतिविधि प्रभावित बनेका छन् । 

निरङ्कुश राजा पराजय भएको दिन आज लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसदको पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ । त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, ‘राज्य शक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ ।’  निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत विसं २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो । जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुइवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट विसं २०७२ साल असोज ३ गते जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई सङ्घीयतामा प्रवेश गराएको हो । सोही बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक सङ्घीयताको अभ्यासमा छ । राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवासुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पु¥याउने तथा विपद्का बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा सङ्घीयताको अभ्याससँगै सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ । यसैबीच, लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तन र शान्तिकामी राजनीतिक दलका नेताहरूले देशको समृद्धिका निम्ति सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् । लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई हृदयङ्गम गरी सम्पूर्ण राजनीतिक शक्ति  समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइएको छ । विसं २०६२÷६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो । 

रघुजी पन्त बने शिक्षामन्त्री, को हुन् उनी ?

काठमाडौं । शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि रघुजी पन्तले मन्त्रालयको जिम्मेवारी पाएका छन् । विद्याले राजीनामा दिएको तीन दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रघुजी पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । उनको भोलि शपथ हुने जनाइएको छ । नेकपा एमालेका सदस्य पन्त प्रखर र स्पष्ट वक्ताको रूपमा चिनिन्छन् । उनी संसदमा बेलाबेला दरिलो प्रश्न उठाइराख्ने सांसदका रूपमा चिनिन्छन् ।  ललितपुर घर भएका पन्त हाल खस आर्य कोटाबाट समानुपातिक प्रतिनिधिको रूपमा सांसद बनेका हुन् । उनी यस अघि २०६१ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा श्रममन्त्री बनेका थिए ।  राजनीतिक यात्रा सुरु गर्न अगाडि उनी पत्रकार थिए । विभिन्न साप्ताहिक पत्रिकामा उनी आबद्ध भएर सक्रिय पत्रकारिता गर्थे ।  पन्तले २०३२ सालमा बुधबार साप्ताहिकबाट पत्रकारिताको यात्रा तय गरेका थिए । त्यसपछि उनी युगधारा, नवयुग मासिक लगायतका मिडियामा आबद्ध भएर काम गरेका थिए ।  उनी पत्रकारको हकहितका लागि काम गर्ने संस्था पत्रकार महासंघमा समेत आबद्ध थिए । पत्रकार महासंघको महासचिवको भूमिका समेत निभाएका थिए ।   २०५१ र २०५६ सालको निर्वाचनमा उनी ललितपुरको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको सदस्यको रूपमा निर्वाचित भएका थिए । २०६३ को पुनः स्थापित अन्तरिम संसदमा पनि पन्त सांसद थिए । तर, २०६४ र २०७० सालको संविधानसभा चुनावमा उनी पराजित भए ।  २०७४ सालको निर्वाचनमा वाम गठबन्धन भएपछि पन्तले ललितपुर ३ माओवादी नेतृ पम्फा भुसाललाई छोडिदिए । २०७९ सालको निर्वाचनमा उनी एमाले समानुपातिक सांसद बने । पन्त कुनै बेला एमाले अध्यक्ष ओलीका निकै आलोचकका रूपमा चिनिन्थे । २०८० सालमा भएको एमालेको महाधिवेशनपछि भने ओलीको विशेष भूमिकामा परे ।  शिक्षामन्त्री बनेसँगै अब उनका अगाडि चुनौतीका चाङ थुप्रिएका छन् ।  अहिले देशभरका शिक्षक सडकमा छन् । सामुदायिक विद्यालय बन्द भएर शिक्षकहरू सडकमा आइरहेको बेला पन्तलाई भने कार्यकाल चुनौती नै हुने देखिन्छ । २०७५ सालदेखि छलफलमा आएको विद्यालय शिक्षा ऐन पारित नहुँदासम्म घर नफर्कने अडानमा रहेका बेला सरकारले कुनै निर्णय दिन सकेको छैन ।  अहिले शिक्षामन्त्रीमा नियुक्त भएका पन्तका लागि सबैभन्दा ठूलो चुनौती विद्यालय शिक्षा ऐन पारित गरेर शिक्षकलाई घर फर्काउनु देखिन्छ । त्यसबाहेक अन्य शिक्षा क्षेत्रका चुनौती पनि उत्तिकै देखिएका छन् । 

कुलमानको पक्षमा बोल्दा बर्खास्तीमा परे ऊर्जा राज्यमन्त्री तामाङ

काठमाडौं । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बर्खास्त गरेका हुन्। तामाङले मन्त्रिपरिषद्को निर्णयविरुद्धमा पटकपटक अभिव्यक्ति दिँदै आएका थिए । त्यसैले उनी बर्खास्तीमा परेका हुन् । उनले नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा अभिव्यक्ति दिएका थिए। उनले कुलमानलाई सोधिएको स्पष्टीकरण गलत रहेको दाबी गर्दै आएका थिए । तामाङले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल नतिर्ने उद्योगको लाइन काट्न आफूले नेतृत्व गर्ने समेत बताएका थिए । चैत १० गतेपछि आफूले महसुल नतिर्ने उद्योगीको घर र उद्योगमा पुगेर लाइन काट्ने पनि उनले घोषणा गरेका थिए ।   

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त, विहीबार शपथग्रहण कार्यक्रम

काठमाडौं । समानुपातिक सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन् । पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्न लागेको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ । विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएसँगै उनको ठाउँ पन्तले लिन लागेका हुन्। पन्तको शपथ बिहीबार गराउने तयारी रहेको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।  शिक्षक आन्दोलनको विषयमा प्रधानमन्त्री र भट्टराईबीच विवाद रहँदै आएको थियो । यसैबीचमा उनले राजीनामा दिएकी हुन् । 

प्राइम कमर्सियल बैंक एनपीएस-एनसीएस तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं । प्राइम कमर्सियल बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच एनपीएस-एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकका तर्फबाट महाप्रबन्धक अमृतचरण श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्था एनपीएस-एनसीएस र नेपालपे कार्डमा आवद्ध भइरहेका छन् ।  नेपालपे पूर्वाधारको कमर्सियल रोलआउटपश्चात प्राइम कर्र्मिर्सयल बैंकले ग्राहकहरूका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।  एनपीएस–एनसीएसलाई  विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयनपश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी र सयभन्दा बढी गैर-बैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।  एनपीएस-एनसीएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई  थप उचाइँमा पु¥याउने अपेक्षा गरिएको छ ।  प्राइम कर्र्मिर्सयल बैंकले देश भरी रहेका १९३ वटा शाखा/ विस्तारित काउन्टर तथा १३७ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई अत्याधुनिक बैंकिङ तथा वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ ।   

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ । यसअगाडि ११ वैशाखको लागि तोकिएको परीक्षा अब वैशाख २१ गतेदेखि हुने भएको हो । शिक्षकको आन्दोलनका कारण बोर्डले परीक्षा सारेको हो ।  परीक्षा जेठ २ गते सकिने बोर्डले जनाएकाे छ । परीक्षा समय बिहान ८ बजेदेखि तोकिएको छ ।