डाइनामिक टेक्नोसफ्ट १६औँ वर्षमा प्रवेश, अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार गर्दै
काठमाडौं । सफ्टवेयर विकास कम्पनी डाइनामिक टेक्नोसफ्टले आफ्नो स्थापनाको १५ वर्ष सफलतापूर्वक पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको घोषणा गरेको छ । यो अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण सफ्टवेयर उत्पादनहरूमा १५ प्रतिशत छुट अफर प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ । सन् २०१० मा वीरगञ्ज, मधेश प्रदेशबाट स्थापना भएको डाइनामिक टेक्नोसफ्टले हाल नेपाल, भारत र जापानमा गरी २ हजार २०० भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै विश्वास जितेको छ । कम्पनीले शिक्षा, स्वास्थ्य, निर्माण र सेवा क्षेत्रमा डिजिटल रूपान्तरणलाई सहज बनाउन डाइनामिक ईआरपी, एकेडेमिक ईआरपी, हस्पिटल ईआरपी र मेम्बरशिप ईआरपीजस्ता अत्याधुनिक सफ्टवेयर समाधानहरू विकास तथा सञ्चालन गर्दै आएको छ । डाइनामिक टेक्नोसफ्ट आन्तरिक राजस्व विभागद्वारा प्रमाणित नेपालकै पहिलो ईआरपी सेवा प्रदायक कम्पनी हो । देशभर कम्पनीका ५० भन्दा बढी आधिकारिक डिलर र १०० भन्दा बढी दक्ष प्राविधिक विज्ञहरूको टोली सक्रिय रहेको कम्पनीले जनाएको छ । शिक्षा क्षेत्रमा कम्पनीले ८०० भन्दा बढी विद्यालय र कलेजहरू तथा स्वास्थ्य क्षेत्रमा १०० भन्दा बढी अस्पताल तथा मेडिकल कलेजहरूलाई सेवा प्रदान गर्दै आएको छ । साथै, विभिन्न पालिकाहरूमा पनि डाइनामिक टेक्नोसफ्टको ईआरपी समाधान प्रयोग हुँदै आएको छ । आगामी दिनमा कम्पनीले दुबई, मलेसिया र इन्डोनेसिया जस्ता अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । डाइनामिक टेक्नोसफ्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दीपक साहले १५ वर्षे यात्रामा विश्वास, प्रतिबद्धता र निरन्तर सुधारका साथ प्रविधि क्षेत्रमा नयाँ आयाम स्थापना गरेको बताए । 'आगामी दिनमा थप नवीनतम सेवा र समाधान ल्याउने हाम्रो योजना छ,' उनले भने । कम्पनीले सीमित अवधिका लागि सबै सफ्टवेयर उत्पादनमा १५ प्रतिशत छुट अफर जारी गरेको छ ।
२२.५ मेगावाटको माथिल्लो ठूलो खोला आयोजनामा सिभिल र हाइड्रो मेकानिकल कार्य सम्पन्न
काठमाडौं । देव ऊर्जा कन्स्ट्रक्सन लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला ‘ए’ जलविद्युत् आयोजनाको सिभिल र हाइड्रो मेकानिकलतर्फका सबै मुख्य कार्यहरू सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले सिभिल र हाइड्रो मेकानिकल कार्य २०८१ साल फागुन मसान्तसम्म पूरा गरी इलेक्ट्रोमेकानिकल टोलीलाई हस्तान्तरण गरिसकेको छ । आयोजनाको इलेक्ट्रोमेकानिकल कार्य भारतको बीएफएल कम्पनीले गरिरहेको छ । निर्माण कार्यको क्रममा प्रत्येक वर्ष करिब चार महिनासम्म मालाङ क्षेत्रमा पहिरोका कारण काम अवरुद्ध हुने अवस्था आउँदा पनि देव ऊर्जा कन्स्ट्रक्सनले दृढता, निरन्तर प्रयास र मेहनतका साथ समयभन्दा अगावै कार्य सम्पन्न गर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नविन सिलवालले जानकारी दिए । माथिल्लो ठूलो खोला आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकल कार्यको सुरुवात २०७९ साल फागुन १५ गते औपचारिक भूमिपूजनसहित गरिएको थियो । सिभिल संरचनाको निर्माण २०८० साल वैशाखदेखि सुरु गरिएको थियो । कम्पनीका वित्तीय प्रमुख प्रदिप खतिवडाका अनुसार आयोजना २०८२ साल असोज २८ गते निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि तोकिएको मिति अगावै राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल हुने अपेक्षा गरिएको छ । करिब ३ अर्ब ९४ करोड रुपैयाँको लागत अनुमान गरिएको यस आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी गरिएको छ । सिटिजन्स बैंकको अगुवाइमा कृषि विकास बैंक र माछापुछ्रे बैंकले आयोजना निर्माणमा वित्तीय साझेदारी गरेका छन् । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–८ मा निर्माण भइरहेको माथिल्लो ठूलो खोला जलविद्युत् आयोजना अब छिट्टै राष्ट्रिय ग्रिडमा जोडिने तयारीमा रहेको छ।
बालिकाहरूका लागि बैंक खातामा ५ हजार जम्मा गर्दै हुप्सेकोट गाउँपालिका
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ५६ जना बालिकाहरूलाई पाँच हजार रुपैयाँसहितको बैंक खाता उपहार दिएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ५६ जना छोरीहरूको बैंक खातामा उक्त रकम जम्मा गरिएको हो । हुप्सेकोट गाउँपालिकामा स्थायी बसोबास गरेका दम्पतीले छोरी जन्मिएर वडा कार्यालयमा जन्म दर्ता गराएपछि छोरीको नाममा खोलिने बैंक खातामा गाउँपालिकाले नगद उक्त रकम जम्मा गरिदिने गरेकोे हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । 'चालु आर्थिक वर्षको चैत मसान्तसम्म जन्मिएका ५६ जना छोरीहरुको बैंक खातामा पाँच हजार रुपैयाँका दरले दुई लाख ८० हजार रुपैयाँ निकासा भइसकेको छ', उनले भनिन्, 'छोरीको बैंक खातामा अभिभावकलाईसमेत कम्तीमा पाँच हजार रुपैयाँ जम्मा गर्न आग्रह गर्ने गरेका छौँ ।' छोरीको नाममा बैंक खातामा जम्मा भएको रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित बचत गर्ने बानीको विकास उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताइन् । 'यसरी बैंकमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा रहेको छ', उनले भनिन्, 'छोरी जन्मदा खुसी नहुने समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताको विकास गर्नुका साथै भ्रूण हत्या रोक्नका लागि पनि यो अभियान सुरु गरिएको हो ।' हुप्सेकोट गाउँपालिकाले आव २०७७/७८ देखि यो कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रममार्फत हालसम्म ३१२ जना छोरी लाभान्वित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताए । 'आव २०७७/७८ मा ३८ जना, २०७८/७९ मा ५९ जना, २०७९/८० मा ९७ जना र २०८०/८१ मा ६२ जना बालिकाको बैंक खातामा रकम जम्मा गरिएको छ', उनले भने । उक्त कार्यक्रम सञ्चालन भएपछि उमेर पुगेर बच्चा जन्माउने, नियमित स्वास्थ्य चौकी आएर गर्भपरीक्षण गर्ने, अस्पतालमा नै सुत्केरी हुने, बच्चाको समयमै जन्म दर्ता गरिदिनेलगायतका सकारात्मक बानीको विकास भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले बताए । रासस
मौरीपालनबाट वार्षिक ८ लाख कमाउँदै इटहरीका युवराज भट्टराई
सुनसरी । इटहरी उपमहानगरपालिका–४ का युवराज भट्टराईले मौरीपालन गरेर वार्षिक आठ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् । मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै उत्पादन हुन्छ । आधुनिक प्राविधि प्रयोग गरी मौरीपालनबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् भट्टराई । ‘बुवाकै सल्लाहमा २०७२ मा मौरीपालन सुरु गरको हुँ’, उनले भने । हाल ६२ घार मौरी उनले पालेका छन् । वार्षिक नौ देखि १२ क्वीन्टलसम्म मह उत्पादन हुने र त्यसबाट आठ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको उनले बताए । सुरुमा मह उत्पादन भएपनि बजारको समस्या थियो । अहिले त्यो समस्या समाधान भएको छ । उत्पादित मह बिक्री हुने गरेको छ । मौरीलाई दैनिक स्याहार्नु पर्दैन । चार-पाँच दिनमा घारको अवस्था, मौरीको सक्रियता, खानको लागि फूलको रस पुगेको छ कि छैन, रोग लागेको छ कि छैन भनेर निगरानी गर्दा हुने उनको भनाइ छ । भट्टराईले युरोपेली मेलिफेरा जातको मौरीपालन गरिरहेका छन् । यो जातको मौरी रोगप्रतिरोधी हुने र मह उत्पादन धेरै गर्छ । घारलाई भने घाम लाग्ने पारिलो ठाउँमा ठाउँमा राख्नुपर्छ । मौरीलाई फूल फुल्ने बोटबिरुवा पानीको स्रोत हुनुका साथै शान्त वातावरण आवश्यक पर्छ । त्यसैले एकदेखि दुई महिनामा स्थान परिवर्तन गराइदिने गर्नुपर्छ । भट्टराईको फार्ममा उत्पादित मह स्थानीय बजारका साथै विराटनगर, दमक र काठमाडौंसम्म बिक्री हुने गर्छ । ‘अनलाइन अर्डर हुँदा कुरियर गरेर पठाउने गरेको छु’, भट्टराईले भने, ‘महको मूल्य गुणस्तर, स्वाद साथै खर्च हेरेर निर्धारण गरिन्छ, । मैले धेरै जसो तोरी बारीमा, आँप, लिची, सूर्यमुखी फूललगायत बगानमा सिजनअनुसार मौरी चराउन लाने गरेको छु । अहिले प्रतिकेजी एक हजार रुपैयाँमा मह बिक्री गर्दै आएको छु । महसँगै १० हजार रुपैयाँका दरले मौरीसहितको घारसमेत बिक्री गर्दै आएको छु’, उनले भने । इटहरी उपमहानगरपालिकाले वर्षमा केही उपकरण र घार अनुदान दिएको छ । यसलाई अझ व्यवस्थित गर्न बजारको अध्ययनसँगै आधुनिक प्रविधिको घार, मौरीपालन सीपका लागि सरकारबाट सहयोग भएमा आम्दानीको राम्रो सम्भावना रहेको उनको भनाइ छ । रासस
चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा
अदानचुली । हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा सुरु भएको हो । 'तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो, कार्यालय आइतबारदेखि फेरि सञ्चालनमा आएको छ', कार्यालय प्रमुख जैसीले बताए । सदरमुकामबाट यारी नाका भन्सार कार्यालय जान नारा लेख काटेर जानुपर्ने हुन्छ । हिमपात हुने समयमा उक्त सडकखण्ड पूर्ण रुपमा बन्द हुन्छ । नारा लेकमा जमेका हिउँ हिल्सा सिमकोट सडक योजनाले पन्छ्याउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालमा आउने अपेक्षा गरिएको छ । यातायात सेवा सञ्चालनमा आए ताक्लाकोटबाट पनि सामान आयात पुनः सुरु हुनेछ ।
झडपपछि शिक्षक आन्दोलन थप चर्काउने, घरमा बसेकालाई काठमाडौं आउन आग्रह
काठमाडौं । शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । हिजो भएको झडपपछि आक्रोशित शिक्षकहरूले आज आन्दोलन थप चर्काउने बताएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो । संघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शान्तिपूर्ण आन्दोलन गर्दा शिक्षकहरूमाथि दमन गरेको भन्दै घरमा बसेका शिक्षकहरूलाई काठमाडौं आउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष सुवेदीले शिक्षक कर्मचारी माथि भएको दमनको विरोधमा आफूहरूसँग उभिन सबै पेसागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपालीलाई अपिल समेत गरेका छन् । महासंघले विज्ञप्तिमा जारी गर्दै नेपाली शिक्षक-कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने भन्दै देशभरका सबै शिक्षक-कर्मचारीलाई अनिवार्य काठमाडौँ आउन अपिल गरेको छ ।
आन्दोलनरत चिकित्सकहरूका मागबारे छलफल गर्न चिकित्सा शिक्षा आयोगको बैठक बस्दै
काठमाडौं । आन्दोलनरत चिकित्सकहरूका मागबारे छलफल गर्न चिकित्सा शिक्षा आयोगको १९औँ बैठक आज बस्दै छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहान ११ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो । सरकारले निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकलाई सरकारी सरह ४८ हजार ७ सय ३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको छ । तर चिकित्सकहरूले नपाएपछि चिकित्सक एक महिनादेखि आन्दोलनमा छन् । निजी मेडिकल सञ्चालकहरूले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन नगरेको भन्दै सरकारी अस्पतालका चिकित्सकहरूले ऐक्यबद्धता जनाउँदै आकस्मिक बाहेकका उपचार ठप्प पारेका छन् । निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरू स्रोत सुनिश्चित भएपछि मात्रै सरकारी सरह भत्ता दिन सकिने भन्दै आएका छन् । यसअघि वैशाख तीन गते बसेको १८ औँ बैठकले १० दिन भित्र निजी मेडिकल कलेजका लागि दिईदै आएको एमबीबीएस र बीडीएसको सिट संख्या तथा शुल्क संरचना पुनरावलोकन गर्न शिक्षा सचिव डा.दीपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल समेत गठन गरेको थियो । तीन पटकसम्म बैठक बस्दा पनि अधिकांश कार्यदल सदस्यले १६औं बैठकले गरेका निर्णय कार्यान्वयन नभएसम्म छलफल अगाडि नबढाउने अडान राख्दै आएका छन् । आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिने हो भने एमबीबीएस, बीडीएसको सिट र शुल्क बढाउनुपर्ने निजी मेडिकल सञ्चालकको माग छ ।
आज दिउँसो देशभर बदली रहने, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको पनि सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने कोशी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।