विकासन्युज

चार लेन सडकले पोखरा–काठमाडौं यात्रा छोट्याउँदै, पर्यटकलाई सहजता

गण्डकी । निर्माण चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले अब चार लेनको सडकमा पोखरा–मुग्लिन यात्रा गर्न पाउने भएका छन् ।  निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ । पचास वर्षअघि निर्माण भएको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक विसं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो ।  गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने-मुग्लिन)मा हालसम्म भौतिक प्रगति ८२.९५ प्रतिशत र पश्चिम खण्ड (पोखरा–जामुने)मा ५०.३४ प्रतिशत पुगेको छ । पूर्वी खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार कूल ४१ दशमवल ४५ किमी दूरीको उक्त खण्डमा तीन किमि मात्र कालोपत्र हुन बाँकी छ । 'कालोपत्र अन्तिम चरणमा पुगेको छ, दमौली र डुम्रे बजारमा गरी करिब दुई किमि सडक छ लेनको बनेको छ, अन्यत्र चार लेनको छ', उनले भने, 'आगामी असारभित्रमा पूर्वी खण्डको काम सक्ने लक्ष्य छ ।' पूर्वी खण्डमा पर्ने १७ साना–ठूला पक्की पुल गत वर्ष नै निर्माण भएको इञ्जिनियर पाण्डेले बताए । तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको उनको भनाइ छ । कोभिड महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय तीव्र गतिमा सडक निर्माणको काम भएको इञ्जिनियर पाण्डेले बताए । पूर्वी खण्डमा विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । उक्त खण्डको ठेक्का रकम ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँ रहेको छ ।  आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख कृष्णबहादुर कुँवरले आगामी जेठ पहिलो साताभित्र उक्त खण्डमा एकतर्फी (दुई लेन)मा कालोपत्रको काम सकिने बताए । कूल ३८ दशमलव ८८ किमि दूरीको उक्त खण्डमा हालसम्म ३५ दशमलव ५ किमि एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको उनको भनाइ छ । 'करिब तीन किमि मात्र एकतर्फी कालोपत्र हुन बाँकी छ, १८ किमि दूरीमा दुईतर्फी नै कालोपत्र भइसकेको छ', आयोजना प्रमुख कुँवरले भने, 'आउँदो असारभित्रमा ३० किमि दूरीमा दुईतर्फी नै कालोपत्र सक्ने लक्ष्य छ ।' कास्कीको अमरसिंह, चाउथे, विजयपुर, तालचोकलगायत क्षेत्रमा एकतर्फी कालोपत्र हुन बाँकी छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलदेखि सेती पुलसम्म एकतर्फी कालोपत्र भइसकेको आयोजना प्रमुख कुँवरले जानकारी दिए । 'बिजुलीका पोल सार्न भएको ढिलाइले सडक निर्माणमा पनि केही असर पुर्याइरहेको छु, उनले भने, 'अझै चार सय जति विद्युत् पोल हटाउनुपर्ने अवस्था छ ।' आगामी पुससम्म ठेक्काको म्याद रहेकाले उक्त अवधिमा कालोपत्र सक्ने गरी कामलाई गति दिइएको उनको भनाइ छ ।  कालोपत्र सकिएपछि फुटपाथ, सडक सुरक्षालगायतका काम सुरु हुने उनले बताए । पश्चिम खण्डमा १८ दशमलव ५ किमि दूरीमा छ लेन र बाँकीमा चार लेनको सडक बन्नेछ । 'यस खण्डमा सहरी क्षेत्र बढी भएकाले छ लेनमा सडक विस्तार गरिएको हो', आयोजना प्रमुख कुँवरले भने, 'तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा पनि छ लेन सडक निर्माण भएको छ ।' पश्चिम खण्डका १२ वटा पुलमध्ये १० वटा बनिसकेका छन् । कास्कीको विजयपुर र तनहुँको शेराटारमा पुल निर्माणको काम भइरहेको छ ।  पोखराको सेती नदीको ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत काम भइरहेको आयोजना प्रमुख कुँवरले बताए । उक्त पुलको भौतिक प्रगति ४४ दशमलव ६६ पुगेको उनको भनाइ छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको निर्माण ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ । भ्याटबाहेक  ९४ करोड रुपैयाँको ठेक्कामा आकर्षक पुल बन्न लागेको हो । तनहुँको जामुनेखि पर्यटकीय राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्डको ठेक्का पाएको थियो ।  दुवै खण्डका अधिकांश ठाउँमा एकतर्फी कालोपत्र भइसकेकाले पोखरा–मुग्लिन सडक यात्रा सहज बन्दै गएको छ । दुईतर्फी नै कालोपत्र सकिएपछि पोखरादेखि काठमाडौं, नारायणगढलगायतका गन्तव्यको यात्रा अझ धेरै छोटिने छ । कूल ८१ किमि दूरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । सरकारको प्राथमिकताप्राप्त यस सडक आयोजना निर्माणलाई गति दिन पोखराका पर्यटन व्यवसायीलगायतले दबाब दिँदै आएका थिए ।  गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ । पोखरा आउजाउ गर्दा धूलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने पर्यटक र सर्वसाधारणको बाध्यता पनि सधैँका अन्त्य हुनेछ । पोखरा महानगरपालिका–१० का वडाध्यक्ष राजेश गुरुङले सडक विस्तारका क्रममा सालिकलगायतका संरचना हटाउँदा पोखराका चोक पनि खुला र आकर्षक देखिएको बताए । अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक, तालचोकलगायत ठाउँमा मापदण्डविपरीतका संरचना हटाएर चोकहरुलाई चौडा बनाइएको हो । 'फराकिलो सडकमा दुर्घटनाको जोखिम पनि बढी हुने भएकाले सडक सुरक्षाबारे सर्वसाधारणलाई सचेतना जगाउनु जरुरी छ', वडाध्यक्ष गुरुङले भने । रासस  

धनीहरू गरिब बन्दै छन्... किन ? 'रिच ड्याड पुअर ड्याड' का लेखकले बताए यस्तो कारण

काठमाडौं । केही अत्यन्तै धनी व्यक्ति पनि गरिब बन्दै गएका छन् । 'रिच ड्याड पुअर ड्याड’ का लेखक रोबर्ट कियोसाकीले यस्तो बताएका हुन् । उनका अनुसार संसारका केही धनी व्यक्ति अहिले टाट पल्टिँदै गएका छन् । यो राम्रो संकेत होइन । म्याकडोनाल्ड्स जस्ता फ्रेन्चाइज स्टोरहरू यसको उदाहरण हुन् ।  कियोसाकीले सामाजिक सञ्जाल प्लेटफर्म 'एक्स’ मा यस्तो किन भइरहेको छ भनी बताएका छन् । उनले भने कि फ्रेन्चाइज स्टोरहरू टाट पल्टिँदै गएका छन् किनभने आजका गरिब मानिसहरूले म्याकडोनाल्ड्स वा बर्गर किङमा खान सक्ने स्थिति छैन । महँगीका कारण धनीहरू पनि गरिब बन्दै छन् ।  कियोसाकीले भने, 'आजका गरिबहरू म्याकडोनाल्ड्स वा बर्गर किङमा खान सक्दैनन्, त्यसैले यस्तो भइरहेको हो।’ कियोसाकीले जनतालाई यो वित्तीय सङ्कटलाई बुझेर सही उपयोग गर्न सुझाव दिएका छन् ।  उनले सुन, चाँदी र बिटक्वाइनमा लगानी गर्न सल्लाह दिएका छन् । कियोसाकीका अनुसार आजको संसारमा ज्ञान नै असली धन हो । धनीहरूको गरिब हुनु राम्रो संकेत होइन कियोसाकीका अनुसार यो गरिबहरूका लागि केही हदसम्म राम्रो हुन सक्छ । कारण उनीहरूले सस्तो र स्वास्थ्यकर खानेकुरा जस्तै स्याउ र केरा खान सक्छन् ।  'केही समयअघि मैले भनेको थिएँ कि म्याकडोनाल्ड्सलाई आलु आपूर्ति गर्ने कम्पनीहरू टाट पल्टिए किनभने गरिबहरूले कम फ्रेन्च फ्राइज खान थाले । आज फ्रेन्चाइज मालिकहरू, जो संसारका धनीमध्येका हुन्, टाट पल्टिरहेका छन् । यो राम्रो होइन,’उनले थपे । कियोसाकीको सुझाव कियोसाकीले जनतालाई सुझाव दिएका छन्, 'कृपया यो वित्तीय सङ्कटलाई बुद्धिमानीपूर्वक उपयोग गरी स्वास्थ्य र सम्पन्न बन्नुहोस् ।’  'नक्कली पैसा र नक्कली शिक्षकहरूको संसारमा ज्ञान नै नयाँ धन हो,’उनले थपे । कियोसाकीले शिक्षा प्रणालीमाथि पनि प्रश्न उठाएका छन् । उनले भने, 'यसैले हाम्रा विद्यालयहरूमा वास्तविक वित्तीय शिक्षा छैन । यही कारणले राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्क ’माक्र्सवादी’ शिक्षा प्रणाली बन्द गर्दैछन् । ध्यान दिनुहोस् ।’ कियोसाकीका अनुसार वित्तीय शिक्षा अत्यन्त आवश्यक छ । उनको भनाइ छ कि विद्यालयहरूले बालबालिकालाई पैसाको विषयमा सही जानकारी दिन सक्दैनन्, जसले गर्दा मानिसहरू वित्तीय रूपमा कमजोर रहन्छन् । कियोसाकीले मानिसहरूलाई वित्तीय रूपमा साक्षर बन्न र समझदारीपूर्वक लगानी गर्न सल्लाह दिएका छन् । कियोसाकीले सुन, चाँदी र बिटक्वाइनमा लगानी गर्न सल्लाह दिएका छन् किनभने यी सम्पत्तिहरू महँगी विरुद्ध राम्रो सुरक्षा हुन् भन्ने उनको विश्वास छ । उनकाविचारहरू विवादास्पद हुन सक्छन्, तर उनी जनतालाई वित्तीय मामिलामा सोच्न र आफ्नै भविष्यको योजना बनाउन उत्प्रेरित गर्छन् ।

भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र

काठमाडौं । भारत सरकारले पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारत र सुरक्षासम्बन्धी संस्थामाथि झुट्टा र उक्साहपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाकिस्तानका १६ युट्युब च्यानलमा रोक लगाएको छ । ती च्यानलहरूमध्ये डन न्युज, एआरवाई न्युज, जिओ न्युजजस्ता चर्चित नामहरू पनि छन्, जसको कूल दर्शक सङ्ख्या ६ करोड ३० लाखभन्दा बढी रहेको छ । गृह मन्त्रालयको सिफारिसमा गरिएको यस कदमसँगै सामाजिक सञ्जालमा फैलिएको भ्रमपूर्ण सामग्रीमाथि पनि कारबाही गरिएको छ । पहलगाम घटनालाई लिएर गलत प्रस्तुति दिएको भन्दै बीबीसी भारत कार्यालयलाई सरकारी पक्षबाट औपचारिक पत्र पठाइएको छ । अप्रिल २२ गते पहलगामस्थित बाइसरण क्षेत्रमा भएको गोलीकाण्डमा २६ पर्यटकको मृत्यु भएको थियो । उक्त घटनाको अनुसन्धान राष्ट्रिय अनुसन्धान संस्था (एनआईए) ले गरिरहेको छ । घटनामा संलग्न पाँच जनामध्ये तीन जना पाकिस्तानका र दुई जना स्थानीय भएको खुलेको छ । सरकारले देशको सुरक्षामाथि असर पार्ने गलत प्रचारप्रति कडा कदम चालेको जनाइएको छ ।

सरकारले तोकेको निर्वाह भत्ता दिन निजी मेडिकल कलेज तयार

काठमाडौं । आवासीय चिकित्सकहरूलाई तोकिएको निर्वाह भत्ता दिन निजी मेडिकल कलेजका सञ्चालक तयार भएका छन् । सोमबार बस्ने भनेको  चिकित्सा शिक्षा आयोगको १९ औं बैठक अघि नै मेडिकल व्यवसायीहरू भत्ता दिन तयार देखिएको जनाइएको छ ।  यो निर्णय अब केहीबेरमा बस्ने आयोगको बैठकले गर्ने छ । बिहान ११ बजे बस्ने भनिएको आयोगको बैठक भने अझै बस्न सकेको छैन । लगत्तै मन्त्रीपरिषद बैठक बस्नुपर्ने भएकाले बैठक बस्न नसकेको जनाइएको छ । यद्यपि निजी आवासीय चिकित्सकले  सरकारले तोकेको ४८ हजार ७ सय ३७ रुपैँया पाउने भएका छन् ।  निर्वाह भत्तामा निजी मेडिकल कलेजहरू तयार भएपछि चिकित्सकहरूको संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले आफूहरू सरकारी सरह निर्वाह भत्ता दिन तयार रहेको बताएका छन् ।  चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजहरूले पनि सरकारी सरह आवासीय चिकित्सकलाई ४८ हजार ७३७ रुपैँया दिने निर्णय गरेको थियो । तर सो निर्णयको मेडिकल कलेजहरूले विरोध गरेका थिए ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा, साढे १४ करोड बराबरको मागदाबी

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  मधेस प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा रहँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।  उनी सचिव पदमा रहेको बेला मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्थानीय तहमा निदान केन्द्रका लागि खरिद गरेको स्वास्थ्य उपकरणमा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।  आर्थिक वर्ष २०७८/०७९ मा ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि गरिएको ठेक्कामा अनियमितता भएको अख्तियारले जनाएको छ ।  अनियमितता प्रकरणमा श्रेष्ठसहित १४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए । श्रेष्ठविरुद्ध चार थरी मुद्दा दायर गरिएको छ भने १९ करोड ४६ लाख १३ हजार १ सय २० रुपैयाँ बराबरको मागदाबी गरिएको छ । सरकारी कर्मचारी विरुद्ध अख्तियारले मुद्दा दायर गर्ने बित्तिकै पद स्वतः निलम्बनमा पर्ने व्यस्थासँगै श्रेष्ठ निलम्बनमा परेका छन् ।  गत वर्षको जेठबाट श्रेष्ठले पाठ्यक्रम विकास केन्द्रको महानिर्देशकको जिम्मेवारी पाएका थिए ।

उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन धमाधम, अबको १५ महिनामा सम्पन्न गर्ने लक्ष्य

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रशारणलाइन विस्तार तीव्रगतिमा अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको थासाङ गाउँपालिका- २ कोवाङदेखि उपल्लो मुस्ताङ जोड्ने गरी लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङसम्मको १०३ किलोमिटर दुरीमा ३३ केभी प्रशारण ट्रान्समिसनलाइन विस्तार अघि बढाएको हो। उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङस्थित कोरलानाकासम्म हाल ११ केभी विद्युत् क्षमताको प्रशारणलाइन सञ्चालनमा छ ।  नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको थासाङ- २ कोवाङसम्म केन्द्रीय प्रशारणलाइनअन्तर्गत ३३ केभी ट्रान्समिसन प्रशारणलाइनको पहुँच पुर्‍याएको छ । यसलाई जिल्लाभरि नै केन्द्रीय प्रशारण लाइनमा जोड्ने गरी नेपाल विद्युत् प्राधिकरणले ३३ केभी ट्रान्समिसन प्रशारणलाइनको योजना अघि बढाएको हो । नेपाल विद्युत् प्राधिकरणको विद्युत् मापपदण्डअनुसार एक सब स्टेशनबाट अर्को विद्युत् सब स्टेशनसम्म विद्युत् प्रशारण गर्नका लागि ५० किलोमिटर भन्दामाथि जानुहुँदैन । तर मुस्ताङको कोवाङदेखि कोरलानाकासम्म करिब एक सय ५० किलोमिटर दुरीमा सिधै ११ केभीको विद्युत् प्रशारणलाइन सञ्चालनमा छ ।  यसैका कारण मुस्ताङ जिल्लामा पटक/पटक विद्युत् आपूर्तिमा समस्या र चुनौती हुने अवस्था विद्यमान छ । हाल मुस्ताङको कोवाङबाट उत्तरी क्षेत्रसम्म सञ्चालन भइरहेको विद्युत् प्रशारणलाइन सिधै ११ केभीको हुँदा मुस्ताङका नागरिकले चरम विद्युतीय समस्या झेल्दै आइरहेका छन् । हालको ११ केभी विद्युत् लाइनको सेवाले कुनै एक स्थानमा विद्युत् समस्या आइपर्दा पूरै जिल्लामा विद्युत् आपूर्ति बन्द गर्नुपर्ने बाध्यकारी अवस्था छ । मुस्ताङ जिल्लाको विद्युत् प्रशारणलाइनलाई दीगो, भरपर्दो र प्रभावकारी तुल्याउन प्राधिकरणले ३३ केभी प्रशारणलाइनको ठेक्का लगाएको हो । मुस्ताङको कोवाङदेखि चैलेसम्म र चैलेदेखि उपल्लो मुस्ताङको चराङसम्म दुई सेसनमा सब स्टेशन निर्माण गरेर ३३ केभी ट्रान्समिसन प्रशारणलाइन विस्तार गर्ने गरी सन् २०२३ को जुलाईमा प्याराडाइज हुलास जेकेबी जेभीसँग २७ करोड ६५ लाखको लागतमा ठेक्का सम्झौता गरेको जेभीका प्रतिनिधि इञ्जिनियर दीपककुमार मण्डलले बताए । प्राधिकरणले हालको ११ केभी प्रशारणलाइनलाई पूरै विस्थापित गर्ने गरी ३३ केभी नयाँ ट्रान्समिसन प्रशारणलाइनको काम अघि बढाएको जेभीका प्रतिनिधि इञ्जिनियर मण्डलको भनाइ छ ।  मुस्ताङमा ३३ केभी ट्रान्समिसन प्रशारणलाइन विस्तार दुई वर्षको ठेक्का सम्झौता अनुसार सन् २०२५ को जुलाईसम्म सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको छ ।  प्राविधिकरणसँगको ठेक्कापछि प्याराडाइज हुलास जेकेबी जेभीले ३३ केभी ट्रान्समिसन प्रशारणलाइन विस्तार गर्न विद्युत् पोल गाड्न ६ फिट गहिराइको खाल्डो र पिसिसी  खन्ने कामसँगै विद्युत् पोल विस्तारक ९५ प्रतिशत काम सम्पन्न गरेको जेभी इञ्जिनियर मण्डलले उल्लेख गरे ।  ३३ केभी ट्रान्समिसन प्रशारणलाइन अबको छ महिनाभित्रै प्राधिकरणलाई हस्तान्तरण गर्ने लक्ष्यसहित प्रशारणलाइनको तार तान्ने काम तीव्रगतिमा काम भइरहेको जनाइएको छ ।  मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङदेखि जोमसोमसम्म करिब २५ किलोमिटर दुरीमा  ३३ केभी ट्रान्समिसन प्रशारणलाइनको तार तान्ने काम सकिएको प्याराडाइज हुलास जेकेबीले जनाएको छ । 'अहिले जोमसोम र ठिनीलगायतका दुई-तीन स्थानमा विद्युत् तार तान्ने काम भइरहेको छ,' इञ्जिनियर मण्डलले भने, 'उपल्लो मुस्ताङमा पनि मौसम अनुकूल छ, त्यहाँ पनि अर्को टोलीलाई तार तान्ने काममा खटाउने तयारीमा छौं ।' मुस्ताङको चराङसम्म ३३ केभी ट्रान्समिसन प्रशारणलाइनको काम सकिएलगत्तै विद्युत् प्रशारणको परीक्षणस्वरूप लाइन सञ्चालनमा ल्याएर प्राधिकरणलाई हस्तान्तरण गर्ने योजना छ । यसैगरी नेपाल विद्युत् प्राधिकरणले ३३ केभी प्रशारणलाइन विस्तारका लागि मुस्ताङको वारागसङ मुक्तिक्षेत्र-३ चैले र उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड- १ चराङमा गरी दुई वटा सबस्टेशन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का आह्वान एकवर्ष अघिनै गरिसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।  मुस्तङको चैले र चराङमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने सबस्टेशन निर्माणका लागि आवश्यक जग्गाकोसमेत व्यवस्थापन भइसकेको अध्यक्ष विष्टले उल्लेख गरे ।  

सुनको मूल्य तोलामा १४ सयले घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँ घटेर १ हजार ९७० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।    

अमेरिकी नीतिको असर : चिनियाँ उत्पादनमा ठूलो ब्रेक, वैकल्पिक बजारको खोजी

काठमाडौं । चिनियाँ निर्माता कम्पनीहरूले उत्पादन रोकी नयाँ बजारतर्फ मोडिन थालेका छन् ।  कम्पनी र विश्लेषकहरूका अनुसार अमेरिकी शुल्कहरूको प्रभाव परेपछि उत्पादन रोकी नयाँ बजारतर्फ मोडिन थालेका हुन् । अर्डर गुम्दा रोजगारीमा पनि असर परेको छ । 'केही कारखानाहरूले आधा कर्मचारीहरूलाई केही हप्ता घर पठाएको र धेरैजसो उत्पादन रोकिएको बताएका छन्,' शाङ्घाइस्थित  टाइडलवेभ सोलुसन्सका वरिष्ठ साझेदार क्यामरुन जोनसनले भने ।  उनले खेलौना, खेल सामग्री र सस्तो ‘डलर स्टोर’ प्रकारका सामान बनाउने कारखाना सबैभन्दा बढी प्रभावित भएको बताए । 'यो ठूलो स्तरमा नभए पनि यीउ र डोङगुआनजस्ता मुख्य निर्यात केन्द्रहरूमा भइरहेको छ र यो अझ विस्तार हुने चिन्ता छ,' जोनसनले भने ।  'शुल्कहरू घट्ने आशा गरिएको छ ताकि अर्डरहरू फेरि आउन सकोस्, तर अहिलेका लागि कम्पनीहरूले कर्मचारीहरूलाई बिदामा पठाइरहेका छन् र केही उत्पादन ठप्प पारिरहेका छन्,’ उनले थपे । गोल्डम्यान स्याक्सको अनुमानअनुसार १ करोडदेखि २ करोड चिनियाँ श्रमिकहरू अमेरिकी निर्यात व्यवसायमा संलग्न छन् । गत वर्ष चीनका सहरहरूमा कुल कामदार संख्या ४७३.४५ मिलियन थियो । अमेरिकाले चिनियाँ सामानमा १०० प्रतिशतभन्दा बढी शुल्क थपेको छ, जसको जवाफमा चीनले पनि समान शुल्क लगाएको छ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेइजिङसँग वार्ता भइरहेको दाबी गरे पनि चिनियाँ पक्षले कुनै वार्ता भइरहेको नभएको जनाएको छ । ग्वाङ्झाउस्थित सप्लाई चेन व्यवस्थापन कम्पनी इमेक्स सोर्सिङ सर्भिसेसका संस्थापक तथा सीईओ आश मोङ्गाले भने, 'भर्खरै शुल्क दोब्बर हुँदा परेको प्रभाव कोभिड महामारीभन्दा ठूलो छ ।' साना व्यवसायहरूका लागि केही मिलियन डलरको मात्र स्रोत हुँदा अचानक शुल्क बढ्नु असह्य हुने र व्यवसाय नै बन्द हुने खतरा रहेको उनले बताए । चिनियाँ उत्पादन आयात गर्ने ग्राहकहरूको ठूलो माग भएकाले उनीहरूले 'ट्यारिफ हेल्प' नामक नयाँ वेबसाइट सुरु गर्दैछन्, जसले चीन बाहिरका आपूर्तिकर्ताहरू खोज्न साना व्यवसायहरूलाई मद्दत गर्नेछ । लाइभ स्ट्रिमिङ रणनीति व्यापारमा परेको बाधाले चिनियाँ निर्यातकहरूलाई नयाँ बिक्री रणनीति अपनाउन बाध्य बनाएको छ । शाङ्घाइ नजिकैको निङ्बोमा आधारित खेलकुद पोशाक निर्माता वुडस्वुलले चीनमा अनलाइन बिक्री सुरु गरेको छ । करिब एक हप्ता पहिले सुरु गरिएको यो बिक्री च्यानलबाट कम्पनीले ३० भन्दा बढी अर्डर प्राप्त गरेको छ, जसको कुल मूल्य ५,००० युआन (६९० डलर) भन्दा बढी छ । यो हराएको व्यापारलाई बचाउने एउटा सानो प्रयास हो । 'हाम्रो सबै अमेरिकी अर्डर रद्द गरिएका छन्,'वुडस्वुलका फ्याक्ट्री म्यानेजर तथा ब्रान्ड निर्देशक ली यानले भने । पहिले उत्पादनको आधा भाग अमेरिकी बजारमा जान्थ्यो । अब नयाँ बजार बनाउन कम्पनीलाई दुईदेखि तीन महिना लाग्ने लीले बताए । कम्पनीले २० वर्षभन्दा बढी युरोप, अस्ट्रेलिया र अमेरिकाका ग्राहकहरूलाई सेवा दिएको थियो । लाइभ स्ट्रिमिङ प्रयास बेइजिङको निर्देशनमा चिनियाँ प्रविधि कम्पनीहरूले घरेलु बजारमा सामान पुनर्निर्देशन गर्न गरेको प्रयासको हिस्सा हो । वुडस्वुलले बाइडुमार्फत आफ्नो उत्पादन अनलाइन बेचिरहेको छ, जहाँ खोज इञ्जिन एपमा पनि लाइभस्ट्रीमिङ इ-कमर्स प्लेटफर्म छ । लीले बाइडुमा भर्चुअल हुमन लाइभ स्ट्रिमिङ सुविधा छनोट गरेको बताए, जसबाट दुई हप्ताभित्र बिक्री सुरु गर्न सकिएको थियो । बाइडुले यो महिनाको सुरुवातमा कम्तीमा केही सय चिनियाँ व्यवसायहरूलाई घरेलु ई–कमर्स च्यानल सुरु गर्न मद्दत गरेको जनाएको छ, जसमा १० लाख व्यवसायका लागि अनुदान र निःशुल्क एआई उपकरण जस्तै ‘हुइबोक्सिङ’ भर्चुअल हुमन्स प्रदान गर्ने घोषणा गरिएको थियो । यी भर्चुअल ह्युमन्सले ग्राहकसँगको अन्तरक्रिया स्वचालित बनाउन प्रयोग गरिन्छ । घरेलु बजारको चुनौती ई-कमर्स कम्पनी जेडी.कमले २०० अर्ब युआन (२७.२२ अर्ब डलर) बराबरको चिनियाँ निर्यात सामग्री किन्ने र त्यसलाई चीनमै बिक्री गर्ने योजना घोषणा गरेको थियो । खाना वितरण कम्पनी मिटुआनले पनि निर्यातकर्ताहरूलाई घरेलु बजारमा वितरण गर्न मद्दत गर्ने योजना सार्वजनिक गरेको छ । तर यो २७.२२ अर्ब डलर भनेको अमेरिका निर्यात गरिएको कुल ५२४.६६ अर्ब डलरको मात्र ५ प्रतिशत हो । 'केही व्यवसायहरूले भनेका छन् कि १२५ प्रतिशत शुल्कमा उनीहरूको व्यापार मोडेल काम गर्न सक्दैन,' चीनस्थित अमेरिकी वाणिज्य चेम्बरका अध्यक्ष माइकल हार्टले शुक्रबार भने । उनले पछिल्लो हप्ता चिनियाँ कम्पनीहरूबीच प्रतिस्पर्धा बढेको पनि बताए । उनका अनुसार दुबै देशका शुल्कहरू कुनै न कुनै स्तरमा रहिरहनेछन्, केही छुटसहित । अमेरिकाको उपनगर ग्राहक (सहर नजिकैको क्षेत्र) का लागि डिजाइन गरिएका उत्पादनहरू सिधै चिनियाँ अपार्टमेन्ट बासिन्दाका लागि उपयुक्त नहुन सक्छन् । चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्महरू रेड नोट र डोउयिन (टिकटकको स्थानीय संस्करण) मार्फत उपभोक्ताहरूलाई समर्थनको लागि आग्रह गरिए तापनि थकान बढ्दै गएको चोजान नामक चिनियाँ मार्केटिङ परामर्श संस्थाकी संस्थापक एश्ली डुडारेनोकले बताइन् । अमेरिकाबाहिर बजार हेर्दै अहिले चिनियाँ कम्पनीहरूले तेस्रो मुलुकमार्फत अमेरिकी बजारमा सामान पठाउने प्रयास कम गरिरहेका छन्, किनकि अमेरिका ट्रान्सशिपमेन्टमा कडा निगरानी गरिरहेको छ । धेरै कम्पनीहरूले भारत र दक्षिण–पूर्व एसियामा उत्पादन केन्द्र स्थानान्तरण गरिरहेका छन् भने केही युरोप र ल्याटिन अमेरिकातिर ग्राहक खोजिरहेका छन् । केही कम्पनीहरूले पहिले नै अन्य व्यापार मार्गमा व्यवसाय बनाइसकेका छन् । लियु सुले बेइजिङ मिङयुचु नामक ई-कमर्स कम्पनी सञ्चालन गर्छन्, जसले ब्राजिलमा बाथरुम उत्पादनहरू बेच्दछ । यद्यपि विनिमय दर र ढुवानी लागतको उतार-चढावले चुनौतीहरू दिएको उनले बताए । ब्राजिलसँगको व्यापार चीन-अमेरिका तनावबाट खास प्रभावित नहुने अपेक्षा उनको छ । २०१८ देखि २०२४ सम्म चीनबाट ब्राजिल र घानामा निर्यात दोब्बर भएको छ । कोभिड महामारीको समयमा घानामा आधारित कोट्री लजिस्टिक्स स्थापना भएको थियो, जसले सामानको स्रोत व्यवस्थापन र ढुवानी संयोजनमा मद्दत गर्छ । सीईओ ब्राइट टड्ज्र्रोहका अनुसार, कम्पनी अहिले वार्षिक ३ लाख देखि १० लाख डलरसम्म आम्दानी गर्छ । अमेरिकी ट्यारिफलाई लिएर लचिलो बन्दै चीन ट्रम्पको ट्यारिफको असर जर्मनी, बेलायत र दक्षिण कोरियासम्म देखिन सुरु ट्यारिफ युद्धको धुवाँ सेलाउँदै, अमेरिका र चीन वार्तातर्फ उन्मुख अमेरिकामा बढ्दो जोखिमको डरले स्वीस बैंकमा खाता खोल्नेको संख्या बढ्दै