विकासन्युज

राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।  तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ ।  आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार विद्युत्गृहमा उपकरण जडान हुनाका साथै र प्रसारण लाइन पनि तयार भएको छ ।  आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गर्न १४ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ । राहुघाट ‘बेसिन’मा निर्माण भएको यो पहिलो जलविद्युत् आयोजना हो ।   

अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन तीन महिना कुर्नु नपर्ने

काठमाडौं । अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान बिन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । यसअघि मन्त्री पौडेलले स्वास्थ्य बीमामा सहजताका लागि बीमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार मन्त्रालयले नियमावली संशोधन प्रस्ताव लगेकामा बुधवारको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको मन्त्री पौडेलले जानकारी दिए । यसले रेफर लिनका लागि बीमा गराएकै स्थानमा पुग्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ । स्वास्थ्य बीमामा आबद्ध हुने धेरै नागरिकले यस्तो व्यवस्था गर्न माग गर्दै आएका थिए । यसैगरी, मन्त्रिपरिषदबाट पारित प्रस्तावअनुसार अब स्वास्थ्य बीमाको सेवा लिनका लागि तीन महिना पर्खनु पर्नेमा अब एक महिनाभित्रै सेवा लिन सकिने भएको छ । यसले सेवा लिनका लागि थप सहजता प्रदान गर्ने मन्त्री पौडेलले बताए । ‘स्वास्थ्य बीमामा आम नागरिकको पहुँच वृद्धि गर्न संशोधन आवश्यक थियो,’ मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बीमालाई बढी व्यवहारिक र सहज बनाउन यसले भूमिका खेल्नेछ ।’ यसैगरी, संशोधनअनुसार अब सबै तहमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु कायम हुनेछ । हाल स्वास्थ्य बीमा सबै तहमा पुगे पनि प्रथम सेवा बिन्दु भने सबै तहमा छैनन् । अब संशोधनअनुसार हरेक तहमा त्यस्तो व्यवस्था हुनेछ । यसले बीमामार्फतको आधारभूत सेवा लिनका लागि टाढा जानुपर्ने अवस्थासमेत अन्त्य हुने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

विगतमा व्यङ्ग्य र ट्रोल सहनुपर्‍यो, अहिले २० लाख बढी श्रमिक लाभान्वित छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।  शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको तथा देश अघि बढेको बताए ।  श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्दा  व्यङ्ग्य सहनुपरेको बताउँदै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएका सामाजिक सञ्जालमा उल्लेख गरे ।  श्रम मात्र नभई श्रमिकको भविष्य पनि सुरक्षित भएको बताउँदै प्रधानमन्त्री ओलीले छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन सफल भइरहेको बताए ।  श्रम र श्रमिकलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले आफूलाई श्रमिकका रूपमा प्रस्तुत गर्दै भने, ‘आज मे १–अन्तरराष्ट्रिय श्रमिक दिवस । देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले ।’ श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्दा व्यङ्ग्य र ट्रोलहरू सहनुपरेको उनको भनाइ छ ।  तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका उनको दाबी छ । अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित भएको उनले बताए । 

मर्यादित श्रम निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएका छन् । विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरे । साथै उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजु भाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना गरे ।  श्रमिक दिवसले विश्वभरका सम्पूर्ण श्रमजीवीलाई आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गरे ।  नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको उल्लेख गर्दै राष्ट्रपतिले समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने व्यवस्था समानताको हकले गरेको बताए । ‘मुलुकमा लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास लिएको छु । मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न आवश्यक छ,’ सन्देशमा उनले भने । राष्ट्रपति पौडेलले उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकाले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिए । विश्व मजदुर दिवसले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गरे । श्रमिकहरूको पेसागत मर्यादा र सम्मान एवं उनीहरूको हक अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

राष्ट्र बैंकले गर्‍यो ५ बैंकलाई कारबाही, स्ट्याण्डर्ड चार्टर्डलाई १५ करोड जरिवाना

काठमाडौं । नेपाल राष्ट बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई करिब १५ करोड रुपैयाँ जरिवाना तिराएको छ । राष्ट्र बैंकले तोकेको क्षेत्रमा कर्जा प्रवाह नगरेपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५६६.८७ रुपैयाँ जरिवाना तिराएको हो ।  राष्ट बैंकले तोकिएको उत्पादनशील (कृषि, उर्जा, लघु एवं साना तथा मझौला) क्षेत्रमा सीमा तोकेर कर्जा प्रवाह गर्न निर्देशन दिएको छ । तर, स्ट्याण्डर्ड चार्टर्डले राष्ट्र बैंकको निर्देशनलाई अस्वीकार गर्दै आएको छ ।  राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास अर्थात् २०८१ पुसमसान्तसम्मको अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको हुँदा जरिवाना तिराएको हो ।  यस्तै, नेपाल बैंक र सीईओबीच भएको सम्झौता अनुसार रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गराउन नसकेको, बजेट तथा कार्यक्रम र रणनीतिक योजना बिच प्रभावकारी तादात्म्यता गराउन नसकेको, समयमै कर्जा स्वीकृति तथा नवीकरण गराउन नसकेको, उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुबिच आपसी समन्वय गर्न/गराउन नसकेको देखिएकोले सीईओलाई राष्ट्र बैंकले सचेत गराएको छ । यस्तै, बैंकका पूर्वअध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाईदा हुने क्रियाकलापमा संलग्न रहेकाले ५ लाख रुपैयाँ जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई सचेत गराइएको छ । केही कर्जाहरुलाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको, कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, जोखिम भार गणना गर्दा जोखिम भार गणना नगरेको र चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ (दोस्रो संशोधन) मा भएका कतिपय व्यवस्थाहरुको पूर्ण पालना गरेको पाइएपछि बैंकका सीईओलाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।  निष्क्रिय कर्जालाई वर्गीकरण नगरेको र न्यूनतम् कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएपछि कुमारी बैंकका सीईओलाई पनि सचेत गराएको छ । यस्तै, लक्ष्मी सनराइजबैंकका सीईओलाई नसिहत दिईएको राष्ट्र बैंकले जनाएको छ ।  

मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छः उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकार र श्रमिक वर्गबीच समन्वयको वातावरण निर्माण गरी नेपाललाई आर्थिक रुपमा बलियो, समृद्ध र सामाजिक रूपमा न्यायपूर्ण बनाउन सबै क्षेत्रबाट सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । विश्व श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले दिवसले बालश्रमको निषेध, महिला श्रमिकलाई सुरक्षा र अनौपचारिक श्रम क्षेत्रको संरचना सुधार गर्न सबैलाई दत्तचित्त भई क्रियाशील हुन उत्प्रेरित गर्न सकोस् भनी कामनासमेत व्यक्त गरे । उपराष्ट्रपति यादवले समाज र राष्ट्रको विकास निर्माण तथा उन्नयनमा श्रमजीवीहरूको श्रम, मेहनत, समर्पण र सङ्घर्ष अमूल्य रहेको बताए । उनले श्रमजीवीको अधिकारको रक्षा र जीवनस्तर सुधार गर्दै उचित पारिश्रमिक प्रदान गर्ने अवस्था सिर्जना गर्न सबैजना आ-आफ्नो तर्फबाट निरन्तर प्रयासरत रहन जरुरी भएको उल्लेख गरे ।  ‘यो दिवस श्रमजीवीहरूका लागि सुरक्षित, सम्मानजनक र समावेशी कार्य एवं समान पारिश्रमिकका लागि वातावरण सुनिश्चित गर्ने दृढ सङ्कल्प र प्रतिबद्धता व्यक्त गर्ने अवसर हो । उहाँहरूको अधिकार रक्षा र कल्याणबाटै हाम्रो समाज र मुलुक थप न्यायपूर्ण र समृद्ध बन्न सक्दछ,’ शुभकामना सन्देशमा भनिएको छ । उपराष्ट्रपति यादवले श्रमजीवीहरूको अधिकार, सम्मान र योगदानलाई मान्यता दिने प्रतीकका रूपमा समेत मनाइने मे दिवसले श्रम अधिकारको सुनिश्चितताका लागि थप क्रियाशील हुन सबैलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गरे ।  मुलुकको विकास र समृद्धिमा श्रमिकहरुको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनले खासगरी कृषि, उद्योग, विकास–निर्माण, पर्यटन, घरेलु क्षेत्र र अन्तर्राष्ट्रिय श्रम बजारलगायतका क्षेत्रमा श्रमिकहरूको भूमिका उल्लेखनीय योगदान रहेको उल्लेख गरे ।  ‘नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारबाट ठूलो परिमाणमा विदेशी मुद्रा आपूर्ति हुनु सकारात्मक भए पनि श्रमजीवीहरूका लागि आफ्नै माटो-पानीमा रही श्रम र रोजगार गरी न्यायोचित अर्थोपार्जनको वातावरण मिलाउन जरुरी छ,’ उपराष्ट्रपति यादवले भने, ‘नेपालको संविधानमै श्रमिक वर्गको अधिकार सुनिश्चित गरेको तथा सबै नागरिकलाई श्रम गर्ने अधिकार, न्यायोचित पारिश्रमिक, काम गर्ने सुरक्षित वातावरण र सम्मानजनक जीवनको प्रत्याभूति गरेको छ । संविधानले श्रमिकहरुको सामाजिक सुरक्षाको व्यवस्था, बालश्रम निषेध गर्दै बालबालिकाको अधिकारको सुनिश्चिततासहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली श्रमिकहरुको हकहित संरक्षण र उनीहरूको क्षमता विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारलाई उत्तरदायी बनाएको छ ।’ उनले श्रमिकबारेको संवैधानिक व्यवस्थालाई सबैले अक्षरशः पालना गर्दै श्रकिमहरुको जीवनस्तर सुधार्न र अधिकार सुनिश्चित गर्न सक्नुपर्नेमा जोड दिए । उपराष्ट्रपति यादवले श्रमिकका लागि न्यूनतम ज्याला सुनिश्चित गर्ने, समयमै पारिश्रमिक उपलब्ध गराउने तथा पेन्सन, बिमा र अन्य सामाजिक सुरक्षाका लाभहरू व्यवस्थित गर्न जरुरी रहेको शुभकामना सन्देशमा उल्लेख गरे ।  श्रमिकमैत्री कानुनको कार्यान्वयन, सुरक्षित कार्यस्थलको प्रबन्ध, सीप विकास कार्यक्रमहरू सञ्चालन, सुरक्षित वैदेशिक रोजगारको व्यवस्थापन, मुलुकमै पनि रोजगारीको अवसर सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नीति तथा कार्यक्रमहरू लागू गर्न सबैको ध्यानाकृष्ट हुन उत्तिकै आवश्यक रहेको उनको भनाइ छ । 

सुरक्षित र सम्मानजनक श्रम वातावरण, सामाजिक सुरक्षामा राज्यको जिम्मेवारी

काठमाडौं । सभामुख देवराज घिमिरेले सामाजिक सुरक्षाको सुनिश्चितता, श्रमिकहरूको सीप विकास, प्रविधि मैत्री वातावरण, समान अवसर र गरिमा युक्त श्रम सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।  विश्व मजदुर दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी उनले नेपालका सम्पूर्ण श्रमिक वर्ग, श्रमिक अभियन्ता, ट्रेड युनियनलगायत सबैमा शुभकामना व्यक्त गर्दै बालश्रम, श्रमिक महिला-पुरुषबीचको असमानता, अपारदर्शी रोजगार प्रणाली, वैदेशिक रोजगारमा शोषणजस्ता समस्याले हामीलाई अझ सशक्त नीति र निगरानी संयन्त्र आवश्यक छ भन्ने कुराको सङ्केत गरेको उल्लेख गरे ।  श्रमिक दिवस समावेशी, न्यायपूर्ण र श्रमको सम्मान हुने समाज निर्माणतर्फको हाम्रो साझा अभियानप्रतिको ऐक्यबद्धताको दिन भएको बताउँदै सभामुख घिमिरेले मजदुरको अधिकार सुनिश्चित गर्ने कानुन बने पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उल्लेख गरे ।  उनले भने, ‘नेपालको संविधानले श्रमिकका अधिकारलाई आर्थिक तथा सामाजिक न्यायको आधार मानेर संस्थागत गरेको छ । धारा ३४ मा ‘श्रमको अधिकार’ सुनिश्चित गरिएको छ, जसमा उचित पारिश्रमिक, सुरक्षित र सम्मानजनक श्रम वातावरण, सामाजिक सुरक्षालगायतका विषयमा राज्यको स्पष्ट जिम्मेवारी तोकिएको छ ।’ आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रको निर्माणमा श्रमिकहरूको भूमिका महत्वपूर्ण रहेको र कृषि, निर्माण, सेवा, उद्योग, पर्यटन वा वैदेशिक रोजगारलगायत क्षेत्रमा श्रमिकको पसिना र योगदानले राष्ट्रको समृद्धि सम्भव बनाउने सभामुख घिमिरेको भनाइ छ । उनले सन् १८८६ मा अमेरिकाको शिकागोमा भएको श्रमिक आन्दोलनबाट सुरु भएको मजदुर दिवसले आज पनि श्रमिक हक र सम्मानपूर्ण जीवनको मागलाई विश्वव्यापी रूपमा स्मरण गराउँदै आएको उल्लेख गरे ।  ‘सबै श्रमिक दाजुभाइ तथा दिदी बहिनीहरूमा सम्मानजनक श्रम व्यवस्थाको कामनासहित विश्व मजदुर दिवस २०८२ का अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ शुभकामना सन्देशमा भनिएको छ ।  

आज श्रमिक दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताको लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ ।  सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सात जना मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलता हासिल गर्यो । पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । नेपालमा पनि विराटनगरमा विसं २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक विदासमेत दिन थालिएको छ ।  यहाँ मे दिवसको परम्परा पञ्चायती शासनको विरोध गर्दै भित्रिएको थियो । नेपाल ट्रेड युनियन महासङ्घका अनुसार पहिलोपटक विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो ।