१६ बैंकका कर्मचारीहरूको तलब बढ्यो, कुन बैंकको कति ?
काठमाडौं । ९ महिनामा वाणिज्य बैंकका कर्मचारीहरूको तलब सवा २ अर्ब रुपैयाँले बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा बैंकहरूले कर्मचारीहरूको तलब ६.०६४ प्रतिशत अर्थात् २ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बढाएर ४३ अर्ब ६३ करोड ८० लाख रुपैयाँ भुक्तानी गरेका हुन् । गत वर्षको चैतमा २० वटा वाणिज्य बैंकले कर्मचारीहरूलाई ४१ अर्ब १४ करोड ९५ लाख रुपैयाँ तलब बापत भुक्तानी गरेका थिए । समीक्षा अवधिमा अधिकांश बैंकले कर्मचारीको तलब खर्च बढाएका छन् । यस अवधिमा १६ वटा बैंकको कर्मचारी खर्च बढेको छ भने ४ वटा बैंकको कर्मचारी खर्च घटेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । समीक्षा अवधिमा सबैभन्दा धेरै एनएमबि बैंकले कर्मचारीहरूको तलब खर्च बढाएको देखिन्छ । बैंकको ३५.५७ प्रतिशत बढेर २ अर्ब २३ करोड ८० लाख रुपैयाँ कर्मचारीहरूलाई भुक्तानी गरेको छ । जबकि गत वर्षको चैतमा १ अर्ब ६५ करोड ८ लाख रुपैयाँ मात्रै कर्मचारीहरूलाई भुक्तानी गरेको थियो । राष्ट्र बैंकका अनुसार हिमालयन बैंकको २४.६५ प्रतिशत बढेर २ अर्ब ४८ करोड १६ लाख रुपैयाँ, प्राइम बैंकको २०.३९ प्रतिशत बढेर १ अर्ब २९ करोड ४९ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १४.४५ प्रतिशत बढेर २ अर्ब ८६ करोड ७७ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआइएमबि) बैंकको ८.७८ प्रतिशत बढेर २ अर्ब ३६ करोड ११ लाख रुपैयाँ कर्मचारीहरूको तलबमा खर्च गरेका छन् । यस्तै, एनआईसी एशिया बैंकको ८.३६ प्रतिशत बढेर २ अर्ब ५४ करोड ६ लाख रुपैयाँ, सानिमा बैंकको ७.९२ प्रतिशत बढेर १ अर्ब २३ करोड ४२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ७.१७ प्रतिशत बढेर १ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ६.६६ प्रतिशत बढेर २ अर्ब ६ करोड ४० लाख रुपैयाँ कर्मचारीहरूलाई तलब वितरण गरेका छन् । प्रभु बैैंकको ६.५४ प्रतिशत बढेर २ अर्ब ७९ करोड ३२ लाख रुपैयाँ, सिटिजन्स बैंकको ४.८९ प्रतिशत बढेर १ अर्ब ३० करोड ३ लाख रुपैयाँ, एभरेष्ट बैंकको ४.६६ प्रतिशत बढेर १ अर्ब ३६ करोड ३० लाख रुपैयाँ, नेपाल बैंकको २.७१ प्रतिशत बढेर २ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ कर्मचारीहरूलाई तलब बापत भुक्तानी गरेका छन् । राष्ट्र बैंकका अनुसार ग्लोबल आइएमई बैंकको २.०५ प्रतिशत बढेर २ अर्ब ९४ करोड ७५ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकको ०.६४ प्रतिशत बढेर १ अर्ब १५ करोड २९ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.३१ प्रतिशत बढेर ७८ करोड ९७ लाख रुपैयाँ कर्मचारीहरूलाई तलब खर्च गरेका हुन् । तर, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक र कृषि विकास बैंकले भने कर्मचारीहरूको तलब खर्च घटाएका छन् । समीक्षा अवधिमा नबिल बैंकको तलब खर्च सबैभन्दा धेरै घटेको देखिन्छ । नबिल बैंकको ५.४३ प्रतिशत घटेर २ अर्ब ८५ करोड २७ लाख रुपैयाँ तलब खर्च गरेको छ । गत वर्षको चैतमा यस बैंकले ३ अर्ब १ करोड ६६ लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो । यस्तै, कुमारी बैंकको ०.७७ प्रतिशत घटेर ३ अर्ब ५ करोड ४० लाख रुपैयाँ र कृषि विकास बैंकको ०.१५ प्रतिशत घटेर २ अर्ब ७४ करोड ५८ लाख रुपैयाँ तलब खर्चमा भुक्तानी गरेका छन् । यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीहरूको तलबमा ३ अर्ब १४ करोड ६४ लाख रुपैयाँ खर्च गरेको छ । जुन बैंकिङ क्षेत्रमै सबैभन्दा धेरै रकम हो । गत वर्षको चैतमा बैंकले ३ अर्ब २७ करोड ८० लाख रुपैयाँ कर्मचारीहरूलाई भुक्तानी गरेको थियो ।
रेसुङ्गा विमानस्थलबाट सातामा ३ पटक उडान हुने
तम्घास । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए । नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन । नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ । नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनःसुरु गरेको हो । रेसुङ्गा–काठमाडौंका लागि सात हजार ८० रुपैयाँ र काठमाडौंं–रेसुङ्गा सात हजार दुई सय ८० रुपैयाँ भाडादर कायम छ । मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुनसकेको थिएन । हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा उत्साह छाएको स्थानीय मनोज कार्कीले बताए । निगमको १८ सिट क्षमताको जहाजले बिहान ६ः१० बजे काठमाडौंबाट रेसुङ्गा र बिहान ७ः१५ बजे रेसुङ्गाबाट काठमाडौंका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ समापन हुँदै, १२० बढी स्टल सहभागिता
काठमाडौं । काठमाडौंको भुकृटीमण्डपमा चलिरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा आज समापन हुँदैछ । महासंघले वार्षिक क्यालेन्डर कार्यक्रमका रुपमा आयोजना गरिएको मेलामा निशुल्क प्रवेशको व्यवस्था छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयर व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा सुरु भएको मेलाको वैशाख २५ गतेबाट मेला सुरु भएको थियो । मेलामा नेपाल, चीन र बंगलादेशका गरि १२० बढि स्टल सहभागि रहेका छन् । मेलाका अवसरमा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल भएको थियो । मेलामा उल्लेख्य दर्शकहरुको सहभागित रहेको र मेलाले नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादनको प्रवद्र्धन तथा बजारिकरणमा मेला सहयोगी देखिएको प्रतिक्रिया महासंघको मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिए ।
जिन्नाको नाति नुस्ली वाडियाः टाटा-अम्बानीसँगको टकरावदेखि अर्बौंको साम्राज्यसम्मको यात्रा
काठमाडौं । पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाका नाति नुस्ली वाडिया भारतका चर्चित अर्बपति व्यवसायीमध्ये एक हुन् । उनी वाडिया समूहका अध्यक्ष हुन्, जसले कपडा, विमान, रसायन र रियल स्टेटजस्ता क्षेत्रमा व्यापक व्यापारिक साम्राज्य फैलाएको छ । नुस्ली वाडियाका पिता नेविल वाडिया नामी व्यवसायी थिए भने आमा दीना वाडिया जिन्नाकी एक्ली छोरी थिइन् । वाडिया परिवार पुस्तौंदेखि भारतको व्यापारिक क्षेत्रको अग्रपंक्तिमा रहँदै आएको छ । नुस्लीले बम्बे डाइङ जस्ता कम्पनीहरू स्थापना गर्दै वाडिया समूहलाई नयाँ उचाइमा पुर्याए । उनी गोएयर एयरलाइन्स (हाल गो फर्स्ट) का संस्थापक पनि हुन् । टाटा र अम्बानीसँगको विवाद वाडियाको व्यवसायिक यात्रा विवादरहित भने छैन । सन् २०१६ मा रतन टाटा र टाटा समूहसँगको मतभेदपछि उनले मानहानिको मुद्दा दायर गरे । त्यतिबेला उनलाई टाटा मोटर्सको स्वतन्त्र निर्देशक पदबाट हटाइएको थियो । यता उनी र धीरुभाई अम्बानीबीचको प्रतिस्पर्धा ‘पोलिएस्टर युद्ध’ का रूपमा चर्चित भयो, जसले भारतको कर्पोरेट इतिहासमा विशेष स्थान बनाएको छ । परिवार र पृष्ठभूमि नुस्ली वाडियाको जन्म १५ फेब्रुअरी १९४४ मा मुम्बईमा भएको हो । उनको परिवार पारसी र मुस्लिम समुदायको मिश्रण हो । हजुरबा सर नेस वाडियाले बम्बईलाई कपडा उद्योगको केन्द्र बनाउने काममा अग्रणी भूमिका खेलेका थिए । नुस्लीका हजुरआमा बेलायती थिइन् । उनीसँग बेलायती नागरिकता पनि थियो । उनले फ्लोरिडा विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा पीएचडी गरे । उनको व्यवसायिक यात्रा १९६२ मा बम्बे डाइङमा प्रशिक्षार्थीका रूपमा सुरु भएको हो । कम्पनीलाई संकटबाट जोगाउन उनले आफ्नै आमासँग मिली सेयर किनेर कम्पनी आफ्नो हातमा लिए । अहिलेको साम्राज्य वाडिया समूह अन्तर्गत ब्रिटानिया इन्डस्ट्रीज, बम्बे डाइङ र गो फर्स्टजस्ता कम्पनीहरू पर्दछन् । यद्यपि गो फर्स्ट सन् २०२३ मा टाट पल्टिएको थियो । पारिवारिक जीवन नुस्ली वाडियाको विवाह पूर्व एयर होस्टेस मौरीन वाडियासँग भएको हो । उनी ग्लाडर्‍याग्स पत्रिकाकी प्रमुख हुन् । साथै उनी मिसेज इण्डिया ब्यूटी प्रतियोगिताकी आयोजकमध्ये एक हुन् । उनका दुई छोरामध्ये नेस वाडिया आईपीएल टोली पंजाब किंग्सका सह-मालिक हुन् । नुस्ली वाडियाको नेटवर्थ ५.६ अर्ब डलर रहेको छ।
वीरगञ्जमा बेवारिसे सवारी हटाउन अभियान सुरु, सडक र फुटपाथ अब सफा र खुला हुने
वीरगञ्ज । वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारीसाधन तथा उपकरण हटाउन अभियान थालेको छ । महानगरले सडक, फुटपाथ, अन्य सार्वजनिक स्थानलाई स्वच्छ र हराभरा बनाउन सडकमा बेवारिसे अवस्थामा रहेका सवारीसाधनको व्यवस्थापन गर्न लागेको हो । महानगरले आज वडा नं– २२ जगरनाथपुरमा सडकको फुटपाथमा झण्डै दुई वर्षदेखि बेवारिसे राखिएको पुरानो रोलर मेसिन हटाएको छ । नगर प्रहरी र सरसफाइ शाखाको टोलीले दुई क्रेनको सहायताले रोलर हटाइएको नगर प्रहरी इन्चार्ज हरि भुसालले जानकारी दिए । महानगरले बसपार्क क्षेत्रमा सञ्चालनमा नआएको एक बस र एक ट्रकलाई पनि हटाएको छ । ती दुवै सवारीसाधनलाई डम्पिङ साइटमा पु¥याइएको छ । महानगरले गत बुधबार पनि वीरगञ्ज बसपार्क क्षेत्रमा दुई बेवारिसे बस हटाएको थियो । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरले पटक–पटक सार्वजनिक सूचना जारी गरेर हटाउन आह्वान गर्दा पनि नहटाएपछि महानगर आफैँले हटाउने अभियान थालेको बताए । महानगरले सडक, फुटपाथ, चोक, उद्यान, बसपार्क र अन्य सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा राखिएका वा प्रयोगमा नरहेका सवारीसाधन तथा संरचनाले नगरको सौन्दर्य र नागरिक आवागमनमा बाधा पुगेका कारण ती सवारीसाधन हटाउने कार्य अघि बढाएको हो । प्रमुख सिंहले वीरगञ्जलाई सफा, सुरक्षित, सुन्दर र आधुनिक सहरका रुपमा रूपान्तरण गर्ने अभियान थालेको हो । 'सहर हामी सबैको साझा घर हो । नागरिकले नियम पालन गरेमा हामी वीरगञ्जलाई व्यवस्थित महानगरमा रूपान्तरण गर्न सक्छौँ', उनले भने । महानगरले यात्रु, पैदलयात्री, साना व्यवसायी, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा स्थानीय बासिन्दासँगको सहकार्यमा उक्त अभियान थालेको हो । रासस
नेपाली सडकका लागि डिजाइन गरिएको टनल्यान्ड जी७ अब बजारमा आउँदै
काठमाडौं । नेपाली भूगोलको जटिलता, विविधता र चुनौतीपूर्ण सडक अवस्थालाई ध्यानमा राख्दै परीक्षणपछि अब अन्तर्राष्ट्रिय स्तरको पिकअप गाडी टनल्यान्ड जी७ नेपालमा सार्वजनिक हुन लागिएको छ । एमएडब्लू वृद्धिले यस एक वर्षे परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेको जानकारी दिँदै नेपाली उपभोक्तालाई शक्ति, सुरक्षा र लक्जरीको उत्कृष्ट संयोजन प्रदान गर्ने विश्वास व्यक्त गरेको छ । कम्पनीका अनुसार टनल्यान्ड जी७ मा १६० हर्सपावर क्षमताको इन्जिन र ३९० एनएम टर्क छ । जसले कठिन उकालो, ओरालो वा अप्ठ्यारा सडकहरूमा समेत उत्कृष्ट प्रदर्शन गर्ने सुनिश्चितता दिन्छ । २२५ मिमिको ग्राउन्ड क्लियरेन्सले यसलाई देशका ग्रामीण तथा पहाडी क्षेत्रका लागि उपयुक्त बनाएको छ । यस गाडीमा आधुनिक पुस–स्टार्ट बटन, हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल जस्ता सुविधा छन्, जसले नयाँ चालकहरूका लागि समेत सहज र सुरक्षित ड्राइभ अनुभव सुनिश्चित गर्छ । १२.३ इन्चको इनफिनिटी टचस्क्रिन, पानोरामिक सनरुफ, ‘हिटेड’ तथा ‘भेन्टिलेटेड’ सिट, र १२ तरिकाले एडजस्ट गर्न मिल्ने इलेक्ट्रिक सिटहरूले यसलाई प्रिमियम स्तरको बनाउँछ । वर्षभर सन्तुलित तापमान कायम राख्ने अटोमेटिक एयर कन्डिसनिङ प्रणालीले मौसमको असहजतालाई सहज बनाउँछ । एमएडब्लू वृद्धिका अनुसार टनल्यान्ड जी७ नेपाली पिकअप बजारमा नयाँ मापदण्ड कायम गर्ने पूर्ण सम्भावना बोकेको गाडी हो । कम्पनीले नेपाली ग्राहकहरूलाई यो नयाँ अनुभव लिन आमन्त्रण गरेको छ ।
एआईमा अर्बौं डलर लगानीका बाबजुद घाटामा सफ्टबैंक
काठमाडौं । जापानी प्रविधि लगानीकर्ता सफ्टबैंक समूहले हालैको वित्तीय त्रैमासिकमा करिब २६.९ अर्ब येन (अन्दाजी १८४.४ मिलियन अमेरिकी डलर/ २५ अर्ब बढी रुपैयाँ ) को नोक्सानी बेहोर्ने अनुमान गरिएको छ । प्रारम्भिक चरणका स्टार्टअपहरूमा लगानी घट्नु र प्रमुख पोर्टफोलियो कम्पनीहरूमा घाटा बढ्नु यसको प्रमुख कारणका रूपमा देखिएको छ । एलएसईजीद्वारा संकलित पाँच विश्लेषकको औसत अनुमानअनुसार जनवरी-मार्च २०२५ को त्रैमासिक नतिजा अघिल्लो वर्षको सोही अवधिमा देखिएको २३१ अर्ब येन (१.५८ अर्ब डलर) को नाफाको तुलनामा निकै कमजोर हुने देखिन्छ । यद्यपि विश्लेषकहरूका अनुसार यो अनुमानित घाटालाई बलियो येन र सफ्टबैंकको दूरसञ्चार होल्डिङजस्तै टी-मोबाइलको सेयर मूल्यमा २० प्रतिशतभन्दा बढीको वृद्धिले आंशिक रूपमा सन्तुलनमा ल्याउन सक्ने बताइएको छ । यस अवधिमा सफ्टबैंकको पोर्टफोलियोमा रहेका स्वीगी र ओला इलेक्ट्रिकजस्ता स्टार्टअपहरूको मूल्य करिब ४० प्रतिशतले घटेको छ । तीव्र प्रतिस्पर्धाको कारण यी कम्पनीहरूले सार्वजनिक लिस्टिङपछि व्यापक घाटा बेहोरिरहेका छन् । नोमुरा सेक्युरिटिजका विश्लेषक डाइसाकु मासुनोका अनुसार सफ्टबैंकको भिजन फन्डद्वारा होल्ड गरिएका सूचीबद्ध कम्पनीहरूले मात्र करिब ९०० मिलियन डलर बराबरको सामूहिक घाटा व्यहोरेका छन् । यस त्रैमासिकमा नयाँ लगानीहरू प्रायः ठूला स्थापित कम्पनीहरूमा केन्द्रित देखिए, जबकि प्रारम्भिक चरणका स्टार्टअपहरू- विशेषतः भिजन फन्ड २ अन्तर्गतका लगानी पछिल्ला पाँच त्रैमासिकहरूमध्ये सबैभन्दा न्यून रहेको छ । क्रन्चबेसको तथ्यांकले यस्तो देखाएको हो । सफ्टबैंकले भने यस अवधिमा आक्रामक लगानी घोषणा गर्यो । च्याटजीपीटी निर्माता ओपनएआईमा २० देखि ३० अर्ब डलरसम्म लगानी गर्ने प्रतिबद्धता लिएको कम्पनीले एम्पेरे कम्प्युटीङ नामक चिप स्टार्टअपलाई ६.५ अर्ब डलरमा खरिद गर्ने घोषणा पनि गर्यो । तर विश्लेषकहरू यसमा सशंकित छन् । 'सफ्टबैंकले एआई क्षेत्रमा ठूलो लगानी गरिरहेको भए तापनि यी परियोजनाले अझै प्रष्ट व्यावसायिक फाइदा देखाउन सकेका छैनन्,' जापानका लगानी विश्लेषक अमिर अनवरजादे बताउँछन् । बजारको हालको अनिश्चितताको कारण प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने वातावरण बिग्रिँदै गएको छ । यसले सफ्टबैंकको सूचीकृत नभएका कम्पनीहरूको मूल्याङ्कनमा थप दबाब पर्न सक्ने संकेत देखिन्छ । क्लर्ना र ओयोजस्ता सफ्टबैंक पोर्टफोलियो अन्तर्गतका कम्पनीहरूले हालसालै अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा घोषणा गरिएका नयाँ महसुलका कारण आफ्नो लिस्टिङ ढिलाइ गरेका छन् । यद्यपि सफ्टबैंकको सहायक कम्पनी पेपेले भने आगामी आईपीओको तयारी गरिरहेको कम्पनीले जानकारी दिएको छ । ओपनएआई पुनः गैरनाफामूलक कम्पनीमै फर्कियो, सफ्टबैंकको ३०० अर्ब डलर लगानी दोधारमा
कोरियाली भिसा प्रक्रियामा देखिएको समस्या समाधान संवादमार्फत होस् : इक्यान
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले दक्षिण कोरियास्थित नेपाली दूतावासको सिफारिसपत्रप्रति गम्भीर आपत्ति जनाएको छ । इक्यानका अनुसार दूतावासले परराष्ट्र मन्त्रालयमार्फत पठाएको पत्रमा शैक्षिक परामर्श व्यवसायमाथि पूर्वाग्रही, आधारहीन र प्रमाणविहीन आरोप लगाइएको छ । जसले हजारौं नेपाली विद्यार्थीको भविष्य र परामर्श सेवाको विश्वसनीयतालाई क्षति पुर्याएको छ । इक्यानले विशेष रूपमा दूतावासद्वारा प्रयोग गरिएको 'झुटा आश्वासन दिने', 'ब्रेनवास गर्ने', 'ब्ल्याकमेल गर्ने' जस्ता भाषा कूटनीतिक मर्यादा र सरकारी जिम्मेवारीसँग मेल नखाने बताएको छ । उसले यस्ता वक्तव्यले सम्पूर्ण परामर्श व्यवसायमाथि अविश्वास सिर्जना गर्ने चेतावनी दिएको छ । संघले कुनै व्यक्ति वा संस्था दोषी देखिए कानुनी कारबाहीमा पूर्ण सहयोग गर्न तयार रहेको स्पष्ट पारेको छ । तर अपवादलाई आधार बनाएर सम्पूर्ण क्षेत्रलाई दोषारोपण गर्नु आपत्तिजनक र गैरजिम्मेवार भएको भनिएको छ । इक्यानले शिक्षा मन्त्रालयसँग तत्काल एनओसी रोकिने कार्य बन्द गर्न माग गर्दै यस्तो निर्णयले विद्यार्थीको मौलिक शैक्षिक हकमा हस्तक्षेप भएको बताएको छ । संघले परामर्श संस्थाहरूसँग समन्वय गरी पारदर्शी प्रक्रिया विकास गर्न पनि आग्रह गरेको छ । विद्यार्थी, अभिभावक, नियामक निकाय र कूटनीतिक क्षेत्रसँग समन्वय गर्दै समाधान खोज्ने प्रतिबद्धता जनाउँदै इक्यानले सरकारसँग तथ्यमा आधारित र सहभागितामूलक नीतिको माग गरेको छ ।