विकासन्युज

गाउँ छोड्दै जैमिनीबासी : दुई वर्षमा १७ सयभन्दा बढीको बसाइँसराइ, खेतीयोग्य जमिन बाझिँदै

ढोरपाटन । बढ्दो बसाइँसराइका कारण बागलुङको जैमिनी नगरपालिकाका ग्रामीण बस्ती सुनसान बन्दै गएका छन् । धमाधम स्थानीयले गाउँ छाड्न थालेपछि खेतीयोग्य जमिन बाझिँदै गएका छन् भने घर जीर्ण बन्दै गएका छन् । सेवासुविधाको खोजीमा गाउँबाट शहर बजार झर्ने प्रचलन बढेको हो । जिल्लामै सबैभन्दा बढी बसाइँसराइ हुने पालिकाका रुपमा जैमिनीलाई लिइन्छ । जैमिनीबाट पछिल्लो दुई वर्षमा ४८२ घरपरिवारका एक हजार ७०९ जनाले गाउँ छाडेका छन् । विसं २०८० मा २६३ घरपरिवारका ९४७ जनाले बसाइँसराइ गरेका छन्भने विसं २०८१ मा २१९ घर परिवारबाट ७६२ जनाले गाउँ छाडेका छन् । दुई वर्षको अवधिमा २६ घरपरिवारका ८६ जना बाहिरबाट जैमिनी आएको नगरपालिकाले जनाएको छ । विक्रम संवत् २०८० वर्ष नौ परिवारका ४२ जना आए र विसं २०८१ मा १७ परिवारका ४४ जना जैमिनी आएका छन् । नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख ताराप्रसाद पौडेलका अनुसार सबैभन्दा बढी वडा नम्बर ८ र कम वडा नम्बर ६ बाट बसाइँसराइ भएको छ । वडा नम्बर ८ बाट दुई वर्षको अवधिमा १०७ घर परिवारबाट ४०३ जनाले बसाइ सरेको पौडेलले जानकारी दिए । उनका अनुसार वडा नम्बर १ बाट ४२ घरका १५७, वडा नम्बर २ बाट ७७ घरका २५८, वडा नम्बर ३ बाट ३४ घरका १०० र वडा नम्बर ४ बाट ५२ घरका १९१ जनाले बसाइँसराइ गरेका छन् । यस्तै वडा नम्बर ५ बाट २४ घरका ८३, वडा नम्बर ६ बाट १४ घरका ५५, वडा नम्बर ७ बाट ५४ घरका १८६, वडा नम्बर ९ बाट ३९ घरका १२९ र वडा नम्बर १० बाट ३९ घरका १४७ जनाले बसाइँसराइ गरेको पौडेलले बताए । जैमिनीबाट बसाइँसराइ गरेर अधिकांश चितवन, नवलपरासी र बुटवलमा गएको उनको भनाइ छ । नगर उपप्रमुख हरिहर शर्माले बसाइँसराइ रोक्नका लागि स्थानीयलाई गाउँमै उद्यमी बनाउने र आत्मनिरर्भर बनाउने खालका कार्यक्रम सञ्चालन गरिरहेको बताए । बस्तीबस्तीसम्म सडक, खानेपानी, विद्युत्, स्वास्थ्य, शिक्षा क्षेत्रको विकास गरेको उनको भनाइ छ । गाउँमा ठूलो सम्भावना हुँदा हुँदै पनि धेरैले सहर बजार रोज्ने गरेको शर्मा बताउँछन् । उनले भने, 'मानिसका चाहना असीमित हुन्छन्, स्थानीय सरकारले गर्नसक्ने विकास गरिरहेका छौँ, पर्याप्त नहोला तर गाउँमा पहिलेको जस्तो विकास नपुगेको भन्ने छैन, जताततै अहिले गाडी गुड्छन्, खानेपानीको सुविधा छ, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि ठूलो लगानी गरेका छौँ, हुने खानेहरु धेरैले सहर बजार रोज्न थाले, तर गाउँमा भएकालाई गुणस्तरीय सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौँ, नागरिकलाई उद्यमी बनाने र आय आर्जनसँग जोड्ने खालका कार्यक्रम पनि चलाइरहेका छौँ ।' रासस

४९ प्रतिशत बढ्यो शंकास्पद कारोबार, १ हजार ८६ वटा थप अनुसन्धानका लागि सिफारिस

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा शंकास्पद कारोबार संख्या ४९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा शंकास्पद कारोबार बढ्दो रहेको देखाएको हो ।  राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२४ सम्ममा शंकास्पद कारोबारको संख्या ९ हजार ३०४ वटा पुगेका छन् । जबकि सन् २०२३ मा ६ हजार २५५ वटा शंकास्पद कारोबार भएका थिए । अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा ४९ प्रतिशत शंकास्पद कारोबार बढेको राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकका अनुसार सन् २०२२ मा ३ हजार ९७९ वटा, सन् २०२१ मा १ हजार ८५४ वटा र सन् २०२० मा १ हजार १०३ वटा शंकास्पद कारोबार भएका थिए ।  सन् २०२४ मा वाणिज्य बैंकबाट ७ हजार ७१३ वटा, विकास बैंकबाट ६१२ वटा, फाइनान्स कम्पनीबाट ३०३ वटा, स्टक ब्रोकरबाट २९० वटा, भुक्तानी सेवा प्रदायक कम्पनीबाट १६६ वटा, रेमिट्यान्स कम्पनीबाट ९२ वटा, जीवन बीमाबाट ८२ वटा, भुक्तानी प्रणाली सञ्चालनबाट १४ वटा, सहकारीबाट २ वटा, निर्जीवन बीमाबाट ७ वटा शंकास्पद कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । यस्तै, लुघवित्तमा ५ वटा, क्यासिनोमा ३ वटा, मर्चेन्ट बैंकर, भेन्चर क्यापिटल, स्टक लिडर, हायर पर्चेज कम्पनी र अन्य १/१ वटा शंकास्पद कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्क छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकको वित्तीय जानकारी इकाईमा शंकास्पद कारोबार तथा गतिविधिबारे जानकारी गराउनुपर्ने हुन्छ । सोही आधारमा राष्ट्र बैंकले अध्ययन अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउने गरेको छ ।  सन् २०२४ मा एफआईयूले जम्मा १ हजार ८९४ प्रतिवेदन विश्लेषण गरेको थियो । जसमध्ये १ हजार ८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने तथा अनुसन्धानकारी निकायमा कारबाहीका लागि पठाएको राष्ट्र बैंकले जनाएको छ । बाँकी ८०८ वटा प्रतिवेदन इकाईले भविष्यमा थप जानकारी प्राप्त भएमा पुनः विश्लेषण गर्ने गरी अभिलेखिकरण गरेको बताइएको छ ।  सूचक संस्थाहरूले इकाईमा सन् २०२३ मा १७ लाख ८३ हजार १८३ वटा सीमा कारोबारको विवरण पेस गरेकोमा सन् २०२४ मा सो संख्या १९ लाख ७२ हजार ८५५ पुगेको छ ।  सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी गर्नुपर्ने रिपोर्टिङ्ग तथा पत्राचारका लागि इकाईको गोएएमएल प्रणालीमा आवद्ध सूचक संस्था, कानुन कार्यान्वयन गर्ने/अनुसन्धानकारी निकाय र नियामक निकायको संख्या सन् २०२३ को अन्त्यमा १ हजार ४९६ रहेका थिए । उक्त संख्या बढेर सन् २०२४ को अन्त्यमा १ हजार ९०५ पुगेको राष्ट्र बैंकले जनाएको छ ।   

गभर्नर सिफारिस समितिकाे बैठक सुरु, विश्व पाैडेल नियुक्त हुँदै

काठमाडौं । गभर्नर सिफारिस समितिकाे बैठक सुरु भएकाे छ । मंगलबार अपरान्ह समितिकाे बैठक सुरु भएकाे हाे । अर्थमन्त्री तथा गभर्नर सिफारिस समितिका संयोजक विष्णु पाैडेलले बैठक बोलाएका हुन् । बैठकमा अर्थमन्त्रीसहित समितिका सदस्य महाप्रसाद अधिकारी र पोषराज पाण्डे सहभागी छन् । आज प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । ओली र देउवासँगै अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । उनीहरूबीच डा. विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति भएको बुझिएको छ ।  समितिको बैठकले आजै गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने सम्भावना छ ।  ओली र देउवाकाे छलफलपछि मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको हाे । 

बैजनाथमा सार्वजनिक सुनुवाइ सम्पन्न, कृषिमा अनुदानदेखि खानेपानीसम्मका समस्या उठान

काठमाडौं । बैजनाथ गाउँपालिका वडा नम्बर ८ टिटिहिरियामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडाको आयोजनामा तथा बास नेपाल संस्था सहजीकरणमा आयोजित सुनुवाइमा सेवा प्रवाह, विकास निर्माण, कृषि अनुदानलगायतका विषयमा छलफल गरिँदै छ वटामा साझा प्रतिबद्धता सार्वजनिक गरिएको हो । सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयले कृषकलाई दिइने मकैको बीउ गुणस्तरहीन भएको, अधिकांश टोलमा खानेपानीको अभाव रहेको, नाउ र दुधान टोलमा सडक तथा नालीको समस्या रहेको, स्वास्थ्यचौकीको गेटमा डिजिटल बोर्ड नहुँदा राति सेवा लिन कठिनाइ हुने, र लक्षित वर्गका लागि तालिमजस्ता कार्यक्रम वडाबाट सञ्चालन नभएको गुनासा गरेका थिए । स्थानीय गुनासापछि वडा कार्यालयले कृषि शाखासँग समन्वय गरेर बीउसम्बन्धी समस्या समाधान गर्ने, मेलमिलाप समितिको बैठक बस्न कार्यकक्षको व्यवस्था गर्ने, खानेपानीको समस्या समाधानका लागि पालिकासँग समन्वय गर्ने, र डिजिटल बोर्ड राख्ने विषयमा पहल गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा वडाध्यक्ष भगन थारुले गुनासाको जवाफ दिँदै समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताए । कार्यपालिका सदस्य कृष्णकुमारी सुनार, वडा सदस्यहरू सुकबहादुर रावत, धिरेन्द्रसिंह ठकुरी, विमला सिंह थारु, वडा सचिव डम्बरबहादुर खत्री, र स्वास्थ्यचौकी इञ्चार्ज विरेन्द्र शाहीको पनि उपस्थिति रहेको थियो । २ घण्टा लामो सुनुवाइमा एक सयभन्दा बढी स्थानीयको सहभागिता थियो । कार्यक्रममा बास नेपालका कार्यक्रम संयोजक शोभा थापाले स्वागत मन्तव्य राखेकी थिइन् भने वडा सचिव खत्रीले आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले गरेका थिए ।

लगानी विस्तारमा आक्रामक बन्दै भाटभटेनी, रोडशोको सहकार्यमा ‘अपार्टमेन्ट’ निर्माण गर्दै

काठमाडौं । आर्थिक मन्दीका कारण चल्तीकै सपिङ सेन्टरहरू सुनसान भइरहेका बेलामा भाटभटेनी समूह भने देशैभर सञ्जाल विस्तारमा सक्रिय बनेको छ ।  पछिल्लो समय देशकै सबैभन्दा ठूलो सुपरमार्केट स्टोर भाटभटेनीले होटल, हस्पिटल तथा कोल्डस्टोर लगायतमा धमाधम लगानी गरिरहेको छ । यहीं दौरानमा भाटभटेनी समूह र रोडशो रियल स्टेटले काठमाडौंको चुच्चेपाटीमा 'बौद्ध लक्जरी अपार्टमेन्ट' बनाउने भएका छन् ।  दुवै समूहको संयुक्त लगानीमा बन्ने उक्त लक्जरी अपार्टमेन्टको निर्माणको कार्य यही जेठ महिनादेखि सुरु गरिने रोडशो रियल स्टेटका सञ्चालक सागर गुरुङले विकासन्युजलाई जानकारी दिए ।  सञ्चालक गुरुङले भने, 'हाल पौने ४ रोपनी जग्गाको नक्सा पासको काम अन्तिम चरणमा पुगेको छ । नक्सा पासको काम सकिएपछि यही जेठ महिनादेखि निर्माण कार्य थालिने छ । अपार्टमेन्ट एक-डेढ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिएका छौं ।' अपार्टमेन्टमा रोडशो र भाटभटेनीको ५०/५० प्रतिशत लगानी रहेको उनले जानकारी दिए । उनका अनुसार तारागाउँमा बन्ने उक्त अपार्टमेन्ट पौने ४ रोपनी जग्गामा फैलिनेछ । अपार्टमेन्टमा सिंगल बेसमेन्ट हुनेछ भने ९ तला रहनेछन् । प्रत्येक तलाको साइज एक हजार स्क्वार फिट हुनेछ । एक, दुई र तीन बेडरुमका युनिट हुने सञ्चालक गुरुङले जानकारी दिए । प्रत्येक तलामा ९ वटा युनिट बन्नेछन् । अपार्टमेन्टमा ६४ युनिट रहनेछन् । अपार्टमेन्टको बेसमेन्ट पार्किङको सुविधा हुनेछ ।  अपार्टमेन्टमा विभिन्न सुविधासहित सरकारले तोकेको मापदण्डमा बन्ने रोडशोले जनाएको छ । भाटभटेनी र रोडशोले बनाउन लागेको यो अपार्टमेन्टलाई प्रिमियम परियोजनाका रूपमा हेरिएको छ भने वान बीएचके अपार्टमेन्ट १ करोड ९५ लाखमा किन्न सकिनेछ।  रोडशोले विशेष गरी उपत्यका र पोखरामा अपार्टमेन्ट, हाउजिङ तथा ल्याण्ड पुलिङ बनाउँदै आइरहेको छ । हाल पोखरामा दुई अपार्टमेन्ट ४० युनिटको अन्नपूर्ण अपार्टमेन्ट मासबार तथा ६० युनिटको अन्नपूर्ण लेकसाइड परियोजना निर्माण गरिरहेको छ । जसमा १ अर्ब ५० करोडको लगानी छ भने करिब २ अर्ब लगानीमा काठमाडौंको बूढानीलकण्ठमा पनि आवासीय अपार्टमेन्ट निर्माण गरिरहेको छ ।    यसैगरी, हाल कास्कीमा रुचि ल्याण्ड प्लटिङ,  पुल्चोकमा हाइट अपार्टमेन्ट, दुवाकोट ल्याण्ड पुलिङ, ६ वटा आरएसएच हाउजिङ समेत निर्माण गरिरहेको छ । रोडसोले पोखरामा अन्नपूर्ण केबलकार सञ्चालन गरिरहेको छ।  यस्तै, उपत्यकाको बूढानीलकण्ठ, भाटभटेनी, मीनभवन, धुम्बाराही, चण्डोल, पुलचोकमा हाउजिङ बनाइसकेको छ भने कालिमाटी ट्रेड सेन्टर, रञ्जना ट्रेड सेन्टरलगायत व्यापारिक कम्पलेक्स समेत रोडसोले बनाइसकेको छ ।  यता भाटभटेनीले पनि पछिल्लो समय होटल, कोल्डस्टोर, हस्पिटलहरूमा लगानी गरिरहेको छ । जसमा चितवनको टाँडीमा ७२ हजार स्क्वायरफिट क्षेत्रफलमा कोल्डस्टोरको निर्माण भइरहेको छ ।  कोल्डस्टोर १० हजार म्याट्रिक टन क्षमताको हुने जनाइएको छ भने कोल्डस्टोर निर्माण गर्न अनुमानित २ अर्ब रुपैयाँ लगानी लाग्ने भाटभटेनीले जनाएको छ । यसैगरी, ४ वर्षदेखि तीनकुनेमा निर्माणाधीन रहेको काठमाडौं इन्टरनेशनल अस्पतालका संस्थापकले निर्माण गर्न नसकेपछि भाटभटेनीले करिब ४६ प्रतिशत सेयर किनेको छ ।  चितवन मेडिकल कलेजका संस्थापक तथा सञ्चालक प्राडा हरिचन्द्र न्यौपाने र उनको परिवारको नाममा बहुमत सेयर रहेको अस्पताल २०२४ भित्र निर्माण सकेर सञ्चालनमा ल्याउने लक्ष्य थियो ।  हेलिप्याडसहित सुपर स्पेसियालिटी बनाउने उद्धेश्यले २०७८ असारमा निर्माण सुरु गरेको थियो । तर हालसम्म निर्माण कार्य सम्पन्न नहुँदा भाटभटेनीले उक्त अस्पतालमा लगानी गरेको हो । अस्पतालाई अबको एक वर्षभित्र सञ्चालनमा ल्याइने भाटभटेनीले जनाएको छ । यसैगरी, ललितपुरको पुलचोक निदान अस्पतालमा पनि लगानी गरेको छ भने दरबारमार्गमा ४२ रोपनी क्षेत्रफलमा अन्नपूर्ण स्क्वायर होटेल बनाइरहेको छ । जसमा भाटभटेनीले २ अर्ब ७० करोडको लगानी गरेको छ । यस्तै, पूर्वराज्यमन्त्री मोतीलाल दुगडले १० वर्षदेखि बनाइरहेको विराटनगरको होटेल सेन्चुरी भाटभाटेनीले १५५ करोडमा किनेको छ भने यसलाई २ वर्षभित्र सञ्चालनमा ल्याएर पाँचतारे होटेलको सेवासुविधा दिने योजनाका साथ काम गरिरहेको छ ।  बर्दघाटमा रहेको भाटभटेनीको काठमाडौं स्टील नामको उद्योगमा १५० करोड लगानी गरेर असोजसम्ममा सञ्चालनमा ल्याइने तयारी भइरहेको छ ।   देशभर हाल भाटभटेनीका दुईदर्जनभन्दा बढी शाखा सञ्चालनमा छन् भने तीमध्ये काठमाडौं उपत्यकामा १३ तथा बाँकी विभिन्न प्रमुख सहरमा छन् ।

शंकर पोखरेलको टिप्पणी : राजावादीले गर्ने आन्दोलन जनता विरूद्वको हो

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरूले जेठ १५ गतेदेखि घोषणा गरेको आन्दोलन जनविरोधी भएको टिप्पणी गरेका छन् । दाङमा आयोजित ४१औं नेत्रलाल पौडेल 'अभागी' स्मृति दिवसमा सम्बोधन गर्दै पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, 'गणतन्त्रले के दियो भन्दै भ्रम फैलाएर जेठ १५ देखि राजावादी आन्दोलन गर्ने तयारीमा छन् । तर त्यो कुनै दलका विरुद्ध होइन, नेपाली जनताकै विरुद्ध हो ।' राजसंस्था कहिल्यै जनताको पक्षमा नरहेको दाबी गर्दै पोखरेलले जनतालाई निरंकुशताको जाँतोमुनी पिस्ने शोषणकारी व्यवस्था फर्काउने प्रयास भइरहेको बताए । उनले गणतन्त्र र जनताको सार्वभौम सत्ता विरुद्ध प्रहार भइरहेको भन्दै सचेत रहन आग्रह गरे । सम्बोधनको क्रममा पोखरेलले देश विकासको नाममा विदेश पलायन बढ्नु दुःखद रहेको बताए । 'देश छोडेर देश बनाउने कुरा गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ,' उनले भने, 'देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्छ ।' उनले बाध्यताले होइन, रहरले पनि धेरै युवा विदेश जान थालेको उल्लेख गर्दै, युवा पलायन रोक्न एमालेले नेतृत्व गर्ने घोषणा गरे ।

विद्युतीय अपराध अभियोगमा शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी विद्युतीय अपराधसम्बन्धी अभियोगमा पक्राउ परेका छन् । चौधरीमाथि यौन शोषणको शिकार भएकी एक युवती तथा उनको परिवारको गोपनीयता भङ्ग गरेको आरोप लागेको छ । रुपन्देही जिल्ला अदालतले जेठ १ गते चौधरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारी भएपछि उनी केही दिन फरार रहेका थिए । तर, आज उनी आफैं जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा हाजिर भएको प्रवक्ता तथा डीएसपी सुरज कार्कीले जानकारी दिए । हाल चौधरीलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ । चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

काठमाडौंको गल्ती दोहोर्‍याउन हुन्न : चिरीबाबु महर्जन

ललितपुर । सुदुर पश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको बित्थडचिर गाउँ‌पालिकाका जनप्रतिनिधि ललितपुर महानगरको असल अभ्यास बारे छलफल गर्न आएका छन् । गाउँपालिका उपाध्यक्षको नेतृत्वमा धनलक्ष्मी सिंह मल्लको नेतृत्वमा १८ जनाको टोली महानगर आएको हो । उनीहरुलाई महानगरका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य  बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले स्वागत गरेका थिए। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक, ऐलानी र पर्ति जग्गाको संरक्षण गर्न विशेष जोड दिएका छन् । उनले 'काठमाडौं उपत्यकाले गरेको गल्ती नदोहोर्यानुस्' भन्दै सुदूरपश्चिमबाट अध्ययन भ्रमणमा आएका जनप्रतिनिधिहरूलाई सचेत गराएका हुन् । महर्जनले ललितपुर महानगरले अघि सारेका असल अभ्यासहरूलाई मूल्यांकन गर्दै महानगरमा सिक्नका लागि आएको टोलीलाई धन्यवाद दिएका थिए । कार्यक्रममा ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले न्यायिक समितिमा आएका मुद्दाहरू तीन महिनाभित्रै छिनोफानो गरिने बताउँदै, वडा तहमा कानुनी सचेतना र मेलमिलापकर्ताको व्यवस्था गरिएको जानकारी दिइन् । त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यलाई ललितपुरको सफलता पछाडिको मुख्य कारण बताउँदै, महानगरमा भएका अनुकरणीय अभ्यासहरू साझा गर्न पाउँदा खुशी व्यक्त गरिन् । भ्रमणमा आएका बित्थडचिर गाउँपालिकाकी उपाध्यक्ष धनालक्ष्मी सिंह मल्ल र प्रवक्ता हरिशचन्द्र जोशीले ललितपुर महानगरसँगका अनुभवहरूबाट आफ्ना नीतिगत र कार्यान्वयनका पक्ष सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।