साढे १० करोडमा हाम्रो माया घर निर्माण हुँदै, महायज्ञबाट २ करोड संकलन
काठमाडौं । बर्दिबास-२ हङकङ डाँडामा ‘हाम्रो माया घर’ निर्माणले गति लिएको छ । भवन तयार हुना साथ आश्रय पाइने अशक्त, बेसहाराले आस सँगालेका छन् । नौ महिनाअघि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिलान्यास गरेसँगै निर्माण थालिएको ‘हाम्रो माया घर’को ५० प्रतिशत काम सम्पन्न भएको छ । हाम्रो माया घर निर्माण समितिका अध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार १० करोड ६९ लाख रुपैयाँको लागतमा दुईवटा भवन निर्माणको काम अघि बढेको छ । दुई वर्षभित्र भवन निर्माण गर्ने लक्ष रहेको उनको भनाइ छ । पहिलो भवन निर्माणको काम गत वर्ष साउनमा आयोजित शिवपुराण महायज्ञबाट प्राप्त रकमबाट थालिएको हो । २ करोड रुपैयाँ रकम सो महायज्ञबाट सञ्चित भएको थियो । त्यसयता निर्माण कार्यमा विभिन्न दाताबाट जुटेको सहयोगबाट काम निरन्तर अघि बढेको अध्यक्ष भट्टराई बताउँछन् । केही दिनअघि बर्दिबास नगरपालिकाका प्रमुख प्रहलादकुमार क्षेत्रीले २५ लाख रुपैयाँ सहयोगको घोषणा गरे । यस्तै ॐ समाज डेण्टल अस्पताल, बर्दिबासका सञ्चालक डा सुवास घिमिरेले ७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराए । पहिलो भवन निर्माण सम्पन्न गरेर प्रयोगमा ल्याएर अर्को भवन निर्माण थालिने अध्यक्ष भट्टराईले बताए । असहाय बालबालिका, सडक मानव, अशक्त र बेसहाराका लागि ‘हाम्रो माया घर’ आश्रय हुने हाम्रो माया घर बर्दिवास समितिका अध्यक्ष कृष्णप्रसाद गौतम बताउँछन् । ‘हाम्रो माया घर’ निर्माण गर्न ५ कट्ठा १० धुर जग्गा निःशुल्क प्राप्त भएको छ । दाताहरु भेटिएपछि अर्को भवन निर्माण कार्य अघि बढ्ने उनको भनाइ छ । यहाँ निर्मित ‘हाम्रो माया घर’ मा मधेसका जुनसुकै ठाउँमा भेटिने सडक मानव, असहाय बालबालिका, अशक्त, बेसहारा एवं परिवारबाट हेपिएका, त्यागिएका वृद्धवृद्धालाई खानपान, बास, उपचार र लत्ताकपडासहित बन्दोबस्त गरेर राखिने हाम्रो माया घर बर्दिवास समितिका अध्यक्ष गौतम बताउँछन् । ‘हाम्रो माया घर’ मा दुई सय जना बेसहारालाई मानवोचित व्यवस्थापनसहितको आश्रय दिने लक्ष्य छ । दुबै भवन बालबालिका र अपाङ्गमैत्री हुनेछन् । खेलकुद, मनोरञ्जन र विद्यालय शिक्षासँग यहाँ ल्याइने बालबालिकालाई तत्काल जोडिने छ ।
नेपाली रुपैयाँमा यस्तो हुनेछ गभर्नर पौडेलको हस्ताक्षर
काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा.विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो । उनी गभर्नरमा नियुक्त भएसँगै अब उनको हस्ताक्षरको पनि चर्चा हुन थालेको छ । उनले सपथ र कार्यभार बुधबार सम्हाल्ने बुझिएको छ । उनले बुधबार सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिनेछन् । यस्तो छ उनको हस्ताक्षर
गभर्नर पौडेल : विदेशमा पढाइ, अब्बल अर्थशास्त्री
काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा.विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो । गभर्नर सिफारिस समितिले पौडेलसँगै राष्ट्र बैंककी कामु गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकले सिफारिसको एक नम्बरमा रहेका पौडेललाई गभर्नरमा नियुक्त गरेको हो । उनी नेपाली काँग्रेसको सहयोगले गभर्नरमा नियुक्त हुन सफल भएका हुन् । यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनी २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए । ललितपुरमा परराष्ट्रमन्त्री आरजू राणाको एउटा महंगो निजी स्कुल युलेन्स स्कूल सञ्चालनमा छ । आरजूको उक्त युलेन्स स्कुलमा डा. पौडेलले अगस्ट २०१९ देखि जुलाई २०२१ सम्म बोर्ड अफ ट्रस्टीका रूपमा काम गरेका थिए । डा. पौडेलले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनले चीनको शाङ्हाइबाट पनि इन्जिनियरिङमा स्नातक तह अध्ययन गरेका छन् । लामो समय विदेशमा गरेको अध्ययनले उनलाई एक अर्थशास्त्री बनाउन भूमिका खेल्यो । उनी २०१२ देखि २०१३ सम्म सानिमा बैंकको सञ्चालक बनेको अनुभव पनि छ । उनले विश्व बैंकको परामर्शदार्ता, अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालयमा र मिलेनियम च्यालेन्ज कर्पोरेशनको नेपालस्थित कार्यालयमा पनि अर्थशास्त्रीको रूपमा काम गरिसकेका छन् । यस्तै, उनले काठमाण्डू विश्वविद्यालयको भिजिटिङ प्रोफेसर, युलेन्स स्कूलको बोर्ड अफ ट्रस्टी, सानिमा मिडिल तमोर हाइड्रोपावरको सञ्चालक भएर पनि काम गरिसकेका छन् । चितवन घर भएका उनी २०७९ को संघीय संसदका लागि चुनावमा होमिएका थिए । तर, उनी पराजित भए । डा. पौडेल विभिन्न समयमा अर्थतन्त्रका विविध विषयमा लेख रचना लेख्दै आएका छन् भने भने उनीसँग आर्थिक इतिहासमा गहिरो अध्ययन भएका एक काबिल अर्थशास्त्रीको रुपमा उनी परिचित छन् । अमेरिका र चीनमा गरेको अध्ययन, योजना आयोगको नेतृत्व गरेको अनुभव र अध्ययनशील मानिने पौडेलले राष्ट्र बैंकको गभर्नरका रुपमा प्रभावकारी काम गर्न सक्ने अनुमान धेरैले गरेका छन् ।
त्रिविको उपकुलपति छनोटका लागि शिक्षामन्त्री पन्तको संयोजकत्वमा समिति गठन
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेका छन् । आज गठित समितिको सदस्यमा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य गीताकुमारी पौड्याल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्ले रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कुलपति ओलीलाई विश्वविद्यालयका उपकुलपति प्राडा. केशरजङ्ग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत गरी शिक्षाध्यक्ष प्राडा. खड्ग केसीलाई बढीमा तीन महिनाका लागि गत वैशाख २ गते उपकुलपतिको जिम्मेवारी दिएका थिए ।
राष्ट्र बैंकको १८औं गभर्नर बने डा. पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा.विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो । गभर्नर सिफारिस समितिले पौडेलसँगै राष्ट्र बैंककी कामु गभर्नर नीलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकले सिफारिसको एक नम्बरमा रहेका पौडेललाई गभर्नरमा नियुक्त गरेको हो ।
गभर्नर नियुक्त गर्न मन्त्रिपरिषद बैठक सुरु
काठमाडौं । मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । आजको बैठकबाट गभर्नर नियुक्ति हुने बुझिएको छ । मंगलबार गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । अर्थशास्त्री डा. विश्व पौडेल, नीलम ढुंगाना र दिनेश आचार्यको नाम सिफारिस भएको हो । जसमध्ये पहिलो नम्बरमा डा. पौडेलको नाम छ । आज अपरान्ह समितिको बैठक सुरु भएको थियो । बैठक अर्थमन्त्री तथा गभर्नर सिफारिस समितिका संयोजक विष्णु पौडेलले बैठक बोलाएका हुन् । बैठकमा अर्थमन्त्रीसहित समितिका सदस्य महाप्रसाद अधिकारी र पोषराज पाण्डे सहभागी थिए। आजै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । ओली र देउवासँगै अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । उनीहरूबीच डा. विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति भएको बुझिएको छ ।
एनसेलले ल्यायो ९९ रुपैयाँमा अनलिमिटेड अल नेपाल कल, अन्य दुई आकर्षक रिन्यूअल प्याक पनि
काठमाडौं । एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूका लागि तीनवटा नयाँ साप्ताहिक रिन्यूअल प्याकहरू सञ्चालनमा ल्याएको छ । एक हप्ताका लागि ग्राहकहरूको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकतालाई ध्यानमा राखी बजेटमैत्री विकल्पका रूपमा यी प्याकहरू सञ्चालनमा ल्याइएका हुन् । मंगलबारदेखि यी प्याकहरू लागू भएका छन् । भ्वाइस प्याकअन्तर्गत ग्राहकहरूले सात दिनसम्म एनसेल वा नेपाल टेलिकमका नम्बरहरूमा अनलिमिटेड भ्वाइस कल गर्न मिल्ने अल नेपाल कल भ्वाइस प्याक करसहित मात्र ९९ मा लिन सक्छन् । हप्ताभरका लागि डेटा, भ्वाइस र एसएमएस सेवा चाहिने ग्राहकले ९९ रुपैयाँमा २ जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल र ९ अल नेपाल एसएमएस समावेश भएको सधैं अन प्याक लिन सक्छन् । यसैगरी डेटामात्र चाहने ग्राहकले रु १५० मा १० जीबी उच्च गतिको मोबाइल डेटा सात दिनसम्म प्रयोग गर्न सक्छन् । यी प्याकहरूको प्रमुख विशेषता भनेको हरेक हप्ता प्याक आफै रिन्यु हुने व्यवस्था हो । जसले ग्राहकलाई बारम्बार प्याकहरु लिनपर्ने झन्झटबाट मुक्त बनाउँछ । ग्राहकहरूले ८१२३८९३ डायल गरी, एनसेल एपमार्फत वा एनसेलका आधिकारिक खुद्रा विक्रेताहरूमार्फत यी प्याकहरू लिन सक्छन् । सेवाहरु निर्वाध रूपमा प्रयोग गर्न, प्रत्येक ७ दिनको रिन्यूअल अर्थात नवीकरणको समयमा ग्राहकको मोबाइलको मेन ब्यालेन्समा आवश्यक ब्यालेन्स हुनु पर्ने कम्पनीले जनाएको छ ।
गभर्नर सिफारिसमा डा. विश्व पौडेल अग्रपंक्तिमा, आजै नियुक्तिको सम्भावना
काठमाडौं । गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिको बैठकले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो । अर्थशास्त्री डा. विश्व पौडेल, नीलम ढुंगाना र दिनेश आचार्यको नाम सिफारिस भएको हो । जसमध्ये पहिलो नम्बरमा डा. पौडेलको नाम छ । आज अपरान्ह समितिको बैठक सुरु भएको थियो । बैठक अर्थमन्त्री तथा गभर्नर सिफारिस समितिका संयोजक विष्णु पौडेलले बैठक बोलाएका हुन् । बैठकमा अर्थमन्त्रीसहित समितिका सदस्य महाप्रसाद अधिकारी र पोषराज पाण्डे सहभागी थिए। आज प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । ओली र देउवासँगै अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । उनीहरूबीच डा. विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति भएको बुझिएको छ । आजै मन्त्रिपरिषद बैठक पनि बोलाइएको छ । आजको बैठकबाट गभर्नर नियुक्ति हुने बुझिएको छ ।