२ वर्षभित्र चामलमा आत्मनिर्भर बन्ने, रासायनिक मल अनुदानका लागि २८ अर्ब ८२ करोड रुपैयाँ बजेट
काठमाडौं । नेपाल २ वर्षभित्र चामलमा आत्मनिर्भर बन्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २ वर्ष भित्रमा नेपाललाई चामलमा आत्मनिर्भर बनाउने घोषणा गरे । उनले नेपाललाई आत्मनिर्भर बनाउन तराई र भित्रि मधेशका २२ जिल्लामा चैते धान खेती प्रवद्र्धन गरिने बताए । जसबाट थप १२ लाख मेट्रिक धान उत्पान हुने अपेक्षा गरिएको उनको भनाइ छ । चैते धान उत्पादन प्रवर्द्धन गर्न ३३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । उनका अनुसार रासायनिक मल अनुदानका लागि २८ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
आर्थिक सर्वेक्षणः कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च
काठमाडौं । कृषि अनुदानमा रु ११ अर्ब ७६ करोड खर्च भएको चालु आर्थिक वर्ष २०८१र८२ को आर्थिक वर्षको सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षको फागुनसम्म अनुदानका लागि विनियोजन गरिएकामध्ये ११ अर्ब ७६ करोड रुपैयाँ बजेट खर्च भएको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको बिहीबारको बैठकमा पेस गरेकाे आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षका लागि ३६ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख छ । कृषि अनुदानमा गत आर्थिक वर्ष ३६ अर्ब १३ करोड ८० लाख विनियोजन गरिएको थियो । त्यसमध्ये २९ अर्ब ३१ करोड ८८ लाख खर्च भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षमा उखु किसानलाई उखु प्रवर्द्धन खर्चबापत दुई अर्ब २५ करोड विनियोजन गरिएको पनि आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
अर्थ व्यवस्था सकारात्मक लयतर्फ उन्मुख : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ व्यवस्था सकारात्मक लयतर्फ उन्मुख रहेको बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उहाँले यस्तो बताएका हुन् । गत वर्ष आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा ४.६ प्रतिशत हुने प्रक्षेपण रहेको बताए । उद्योग, निर्माण थोक तथा खुद्रा व्यापार लगायतका क्षेत्रमा गत आर्थिक वर्षमा ऋणात्मक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा अर्थतन्त्रका सबै क्षेत्रहरु धनात्मक वृद्धिदर हुने अनुमान रहेको बताए । विद्युत, यातायात तथा भण्डारण र वित्तीय तथा बीमा सेवा लगायतमा उल्लेखनिय वृद्धिदर हुने अनुमान रहेको बताए । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३ सय ३९ मेगावाट थप विद्युत उत्पादन भएको दाबी गरे । । संवत २०८२ वैशाखसम्म पर्यटक आवागमनको संख्या गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भइ ९ लाख २३ हजार पुगेको उल्लेख गरे । अर्थमन्त्री पौडेलले भने, ‘अर्थ व्यवस्था सकारात्मक लयतर्फ उन्मुख भएको छ । गत वर्ष आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा ४.६ प्रतिशत हुने प्रक्षेपण छ । उद्योग, निर्माण थोक तथा खुद्रा व्यापार लगायतका क्षेत्रमा गत आर्थिक वर्षमा ऋणात्मक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा अर्थतन्त्रका सबै क्षेत्रहरु धनात्मक वृद्धिदर हुने अनुमान छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३ सय ३९ मेगावाट थप विद्युत उत्पादन भएको छ । संवत २०८२ वैशाखसम्म पर्यटक आवागमनको संख्या गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भइ ९ लाख २३ हजार पुगेको छ ।’ उनले चालु आर्थिक वर्षको मुद्रास्फिति चालु आर्थिक वर्षको चैत्र महिनामा ३.४ प्रतिशितमा सिमित रहेको जानकारी दिए ।
८९.४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजनको ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान सरकारले गरेको छ । बिहीबार अर्थमन्त्रीले विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् । सरकारले ल्याउन लागेको १८ खर्ब ६० अर्ब बराबरको बजेट अब १६ खर्ब ६२ अर्ब अर्थात् ८९.४ प्रतिशतमा खुम्चिने अनुमान सरकारले गरेको हो । चालु आवमा चालु खर्चतर्फ विनियोजनको ८८.५ अर्थात पूँजीगत खर्च ८३.४ र वित्तीय व्यवस्थापनतर्फ ९७.६ खर्च हुने अनुमान रहेको छ । आव २०८१/८२ मा राजश्व परिचालन १७. १ प्रतिशतले वृद्धि भई १२ खर्ब ६७ अर्ब ३९ करोड हुने अनुमान गरेको छ ।
सङ्घीय संसद्मा बजेट प्रस्तुत
काठमाडौं । सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भर्खरै सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गरिरहेका छन् । यसअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आवको बजेट पारित गरेको थियो । प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
३९ लाख बढीलाई लाइसेन्स, विद्युतीय रेलमार्ग निर्माणमा तीव्रता
काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म २ लाख २० हजार ५ सय ६४ थान स्मार्ट सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) प्रिन्ट गरी वितरण गरिएको छ । अर्थमन्त्रीले विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार २०७८ असारसम्म देशभर ३६ लाख ९१ हजार ६ सय ५५ थान सवारी चालक अनुमतिपत्र वितरण गरिएको थियो भने २०८१ फागुनसम्म यो संख्या बढेर ३९ लाख १२ हजार २ सय १९ पुगेको छ । त्यस्तै, २०७८ असारसम्म ३९ वटा यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमा विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली लागू गरिएकोमा २०८१ फागुनसम्म यो संख्या ४० पुगेको छ । रेल यातायातमा प्रगति पूर्व-पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास-निजगढ खण्ड (८२ किलोमिटर) मा २०८१ फागुनसम्म ६८ किलोमिटर ट्र्याक वेड र १६ वटा रेल पुल निर्माण सम्पन्न भएका छन् । नेपाल-भारत अन्तरदेशीय रेलमार्ग अन्तर्गत जयनगर-जनकपुर-बर्दिबास ६९ किलोमिटर रेलमार्गको जयनगर–जनकपुर–भंगाहा खण्डमा ५२ किलोमिटर क्षेत्रमा यात्रुबाहक रेल सेवा सञ्चालनमा छ । नेपाल-चीन अन्तरदेशीय रेलमार्ग अन्तर्गत केरुङ-काठमाडौं खण्डको सम्भाव्यता अध्ययन अन्तर्गत हालसम्म करिब ९० प्रतिशत भौगर्भिक अन्वेषण कार्य सम्पन्न भएको छ ।
सरकारले थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर सुधार गर्ने
काठमाडौं । सरकारले थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको वृद्धिदरमा सुधार गर्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको ‘आर्थिक सर्वेक्षण २०८१/०८२’ मा भनिएको छ, 'गत आर्थिक वर्ष यस क्षेत्रको वृद्धिदर ०.३६ प्रतिशतले सड्डुचन भएकामा चालु आर्थिक वर्षमा ३.३० प्रतिशतले वृद्धि हुने अनुमान छ ।' सर्वेक्षणमा भनिएको छ, 'गत आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको योगदान १४ प्रतिशत रहेकामा चालु आर्थिक वर्ष १४.५५ प्रतिशत रहने अनुमान छ । पछिल्लो दशक यस क्षेत्रको औसत वृद्धिदर ३.५० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा औसत योगदान १५.०७ प्रतिशत रहेको छ ।' चालु आर्थिक वर्ष यातायात तथा भण्डारण क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुने सरकारको अनुमान छ । 'सवारी साधनको आयात र पर्यटक आगमनमा भएको वृद्धिका कारण चालु आवमा यातायात तथा भण्डारण क्षेत्रको कुल मूल्य अभिवृद्धि ९.४५ प्रतिशतले वृद्धि हुने अनुमान छ । गत आवमा समेत उल्लेख्य वृद्धि भई यस्तो वृद्धिदर १३.४३ प्रतिशत रहेको थियो । विगत दश वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धिको औसत वृद्धिदर ४.६६ प्रतिशत रहेको छ', सर्वेक्षणमा उल्लेख छ । चालु आवमा कुल गार्हस्थ्य उत्पादनमा आवास तथा भोजन सेवा क्षेत्रको योगदान २.४६ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष यस्तो योगदान २.४० प्रतिशत थियो । पछिल्लो दशक यस क्षेत्रको योगदान वार्षिक औसत २ प्रतिशत र वृद्धिदर ५.८१ प्रतिशत छ । कम्प्युटर प्रोग्रामिङ तथा सूचना सेवाका क्रियाकलापमा भएको वृद्धि र इन्टरनेट सेवा प्रदायकको कारोबार तथा ताररहित सञ्चारमा भएको वृद्धिका कारण चालु आर्थिक वर्षमा समेत सूचना तथा सञ्चार क्षेत्रको कुल मूल्य अभिवृद्धि बढ्ने सरकारको अनुमान छ । गत आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि ४.९१ प्रतिशतले वृद्धि भएकामा चालु आवमा यस्तो वृद्धिदर ४.८१ प्रतिशत रहने अनुमान छ । चालु आवको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान १.९४ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्षमा समेत यस्तो योगदान १.९४ प्रतिशत रहेको थियो । पछिल्लो दशक कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान वार्षिक औसत २.२० प्रतिशत र वृद्धिदर ४.८३ प्रतिशत रहेको छ ।