विकासन्युज

देशभर ३६ हजार १ सय ३२ किलोमिटर सडक विस्तार

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले संसदमा आर्थिक सर्वेक्षण २०८१/८२ पेश गर्दै हालसम्म देशभर ३६ हजार १ सय ३२ किलोमिटर सडक विस्तार भइसकेको जानकारी दिएका छन्। बजेटको पूर्वसन्ध्यामा संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै मन्त्री पौडेलले देशभर सडक सञ्जाल विस्तार भइरहेकाले कुल सडक लम्बाइ ३६ हजार १ सय ३२ किलोमिटर पुगेको उल्लेख गरेका हुन् । सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट बुधबार बेलुका ५ बजे संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ।

नेपालको प्रतिव्यक्ति आय १ हजार ५१७ अमेरिकी डलर

काठमाडौं । नेपालको प्रतिव्यक्ति आय १ हजार ५१७ अमेरिकी डलर पुगेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभा बैठकमा पेस गर्दै प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १ हजार ५१७ अमेरिकी डलर पुगेको जनाएको छ ।  चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान रहेको मन्त्री पौडेलले बताए । उनका अनुसार प्रदेशगत रूपमा मधेस प्रदेश, कोसी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशत भन्दा माथि रहेको छ ।  चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान रहेको उनको भनाइ छ । यस अवधिमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ । उनका अनुसार सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ । बैंक तथा वित्तीय संस्थाका प्रति शाखाबाट औसत २ हजार ५२७ जनसङ्ख्यामा बैंकिङ सेवा उपलब्ध रहेको उनले बताए । २०८१ फागुनमसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ । 

विपक्षी दलहरूले आर्थिक सर्वेक्षण र बजेट टेबुल गर्न दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरूले आर्थिक सर्वेक्षण र आर्थिक वर्षको बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने भएका छन् ।  सभाको बिहीवारको बैठकको सुरुमा बोल्दै नेकपा (माओवादी  केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले यस्तो जानकारी गराएका हुन् ।  उनले भिजिट भिसा प्रकरणको छानविन गर्न उच्चस्तरीय छानविन आयोग बनाउने र गृहमन्त्री रमेश लेखकको राजीनामा विपक्षी दलहरूको आन्दोलन जारी रहने बताएका हुन् ।  उनले विचौलियामार्फत निर्माण भएको सरकार कुशासन र भ्रष्टचारमा लिप्त रहेको आरोप समेत लगाए ।  उनले भने, ‘हामीले संविधानअनुसार जेठ १५ गतेको दिनलाई विशेष व्यवस्था गरेका छौं । प्रत्येक वर्ष जेठ महिनाको १५ गते बजेट पेस गर्ने संवैधानिक व्यवस्था रहेकोले हामी जिम्मेवारीपूर्वक आज आर्थिक सर्वेक्षण प्रस्तुत हुने विषयवस्तु, संयुक्त अधिवेशनमा माननीय अर्थमन्त्रीज्यूले विनियोजन विधेयकसँगै बजेट प्रस्तुत गर्ने विषयवस्तुका लागि मात्रै हामीले सदनलाई अगाडि बढाउन दिएका छौँ । त्यो बाहेक अरु कुनै पनि काम अगाडि नबढाउने कुरा हाम्रो छ । हाम्रो आन्दोलन जारी छ ।’ पाण्डेयले वर्तमान सरकारले भ्रष्टाचारमा संलग्न कर्मचारीहरूलाई कारबाही गर्नुको सट्टा कुशासन र भ्रष्टाचारलाई मलजल गरिरहको आरोप लगाए ।

सार्वजनिक संस्थान : २८ नाफामा, १५ घाटामा

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कुल ४५ वटा सार्वजनिक संस्थनहरुमध्ये २८ वटा नाफामा रहेको जानकारी गराएका छन् । बिहीबार सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ प्रतिनिधिसभा बैठकमा पेस गर्दै २८ वटा सार्वजनिक संस्थान नाफामा र १५ वटा घाटामा रहेको बताएका हुन् ।  उनका अनुसार २ वटा संस्थान बन्द अवस्थामा छन् । सरकारको २० वटा संस्थानमा पूर्ण र २५ वटा संस्थानमा अधिकांश स्वामित्व रहेको छ ।  उनले  आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति गत आर्थिक वर्ष भन्दा २.२० प्रतिशतले वृद्धि भई २९ खर्ब १० अर्ब १७ करोड पुगेको जानकारी दिए । यस्तै, सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्ममा ५.८६ प्रतिशतले वृद्धि भई रु.७ खर्ब ३ अर्ब ९३ करोड पुगेको छ । जसमा सेयर लगानी रु.३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी रु.३ खर्ब ३९ अर्ब ७ करोड रहेको छ ।  आर्थिक वर्ष २०८०/८१ मा संस्थानको कुल सञ्चालन आय रु. ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम हो । कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको जानकारी दिए ।  आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा रु.४२ अर्ब ६२ करोड पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो । नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी रु.३ अर्ब ६३ करोड रहेको छ।नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ । यस्तै, सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७९/८० मा रु.१३ अर्ब ७५ करोड लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८०÷८१ मा रु.८ अर्ब ८३ करोड प्राप्त भएको देखिएको छ। कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०/८१ मा २.४ प्रतिशत रहेको छ । सार्वजनिक संस्थानले मुलुकको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। यिनीहरूको स्थापना, सुदृढीकरण, सुधार तथा विकासले मुलुकको समग्र आर्थिक, सामाजिक, राष्ट्रिय पुँजी निर्माण, आय वृद्धि तथा रोजगारी सिर्जना जस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुग्न गएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।   

चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान

काठमाडाैं । चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान सार्वजनिक गरेका छन् । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेस गर्दै चालु  आर्थिक वर्षको अन्तिमसम्म ४.६१ आर्थिक वृद्धिदर हुने बताएका हुन् । 

भिजिट भिसा प्रकरणबारे झलनाथ - ‘एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दैछन्’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भिजिट भिसा प्रकरणमा एक जनालाई बलिको बोको बनाएर अरू चोखिन खोजेको बताएका छन् ।  १८ औं गणतन्त्र दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले विमानस्थलमा धेरैको योजनाका साथ भ्रष्टाचारको धन्दा चलिरहेको बताए ।  उनले एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोजिरहेको तर्क राखे । उनले देश अहिले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसावले सङ्कटग्रस्त रहेको जिकिर गरे । मुलुकको राष्ट्रियतामाथि लगातार वाह्य हस्तक्षेपहरू भइरहेका धारणा राखे । सम्मानित नेता खनालले मुलुकमा कृषि, उद्योगधन्दा विकास गर्न नसकिएको बताउँदै शिक्षामा समेत अराजकता मौलाएको बताए । २०२८ सालको शिक्षा ऐन अहिलेसम्म चलिरहेको बताउँदै नयाँ ऐन आउन नसकेको जानकारी दिए ।   उनले भने, 'एयरपोर्टको धन्दा कस्ता कस्ता हुँदा रैछन् । धेरैको योजनाका साथ भ्रष्टाचारको धन्दा चलिरहेको छ । एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दैछन् । देश अहिले राजनीतिक रूपले पनि सङ्कटग्रस्त छ, आर्थिक रूपले पनि सङ्कटग्रस्त छ, सामाजिक हिसाबले पनि सङ्कटग्रस्त छ, सांस्कृतिक हिसावले पनि सङ्कटग्रस्त छ, मुलुकको राष्ट्रियतामाथि लगातार बाह्य हस्तक्षेपहरू भइरहेका छन् ।'  उनले सत्तामा रहेकाहरूबाटै गणतन्त्रमाथि खतरा रहेको टिप्पणी गर्दै आम जनतामा निराशा बढेको समेत बताए ।  

ट्रम्प भन्छन् : हार्वर्डले विदेशी विद्यार्थीमा १५ प्रतिशतको सीमा तोक्नुपर्छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीमा लगभग १५ प्रतिशतको सीमा तोक्नुपर्ने बताएका छन् । विदेशी विद्यार्थीको सूची पेश गर्न दबाब दिँदै उनले यस्तो बताएका हुन् ।  सरकारलाई हार्वडले आफ्नो सूचि देखाउनुपर्ने बताउनु भयो । ट्रम्प ह्वाइट हाउस फर्किएपछि धेरै अमेरिकी विश्वविद्यालयहरूलाई लक्षित गरेका छन् । जसले आफ्ना नीतिहरू समायोजन गर्दैनन् उनीहरूले कोष कटौतीको सामना गर्नुपर्ने चेतावनी ट्रम्पबाट आइरहेको छ । ट्रम्प प्रशासनको मुख्य मागहरूमा क्याम्पसमा यहूदी–विरोधी भावना उन्मूलन गर्ने र अल्पसंख्यक समूहहरूलाई समर्थन गर्ने विविधता पहलहरू खारेज गर्ने समावेश छ । अर्बौं डलरको कोष जम्मा भएको यसको कर–मुक्त स्थिति जोखिममा परेको र धेरै अनुसन्धानहरू भइरहेका कारण, हार्वर्डले अभूतपूर्व संकटको सामना गरिरहेको छ ।  हार्वर्डको तथ्याङ्कअनुसार २०२३ को पतनसम्म, अन्तर्राष्ट्रिय विद्यार्थीहरूले कुल विद्यार्थी जनसंख्याको २७ प्रतिशत भन्दा बढी ओगटेका थिए । हाल हार्वर्डले १४० भन्दा बढी देश र क्षेत्रका लगभग ६ हजार ८ सय अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूलाई भर्ना गर्दछ । जसमध्ये धेरैजसो स्नातक कार्यक्रमहरू पछ्याइरहेका छन् ।