प्लाष्टिकका झोला प्रयोगमा रोक, मंसिरदेखि लागू हुने
काठमाडौं । सरकारले प्लाष्टिकका झोला प्रयोगमा रोक लगाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै प्लाष्टिकका झोला प्रयोगमा रोक लगाइएको घोषणा गरेका हुन् । उनले मंसिरदेखि यो नियम लागू हुने जानकारी दिएका हुन् ।
दमकको औद्योगिक पार्क प्रविधियुक्त बन्ने, चामल उत्पादनमा आत्मनिर्भरता लक्ष्य
काठमाडौं । सरकारले झापाको दमकस्थित नेपाल–चीन मैत्री औद्योगिक पार्कलाई आधुनिकीकरण गरी विकास गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो औद्योगिक पार्कलाई आधुनिक प्रविधियुक्त बनाइने जानकारी दिएका हुन्। साथै मन्त्री पौडेलले आगामी दुई वर्षभित्र नेपाललाई चामलमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य रहेको घोषणा गरे ।
उपत्यकाभित्र रहेका उद्योगहरू स्थानान्तरण गरे निशुल्क लिजमा जग्गा उपलब्ध गराउने
काठमाडौं । काठमाडौं उपत्यकाभित्र रहेका उद्योगहरू स्थानान्तरण गरेर निःशुल्क जग्गा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौं उपत्यकामा सञ्चालित उद्योगहरूलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरिने बताए । राजधानीको प्रदूषण नियन्त्रण गर्न प्रोत्साहित गर्न उपत्यकाभित्र रहेका उद्योग स्थानान्तरण गरे निःशुल्क लिजमा जग्गा उपलब्ध गराउने व्यवस्था मिलाएको उनले बताए ।
स्टार्टअपका लागि ७३ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले स्टार्टअपलाई ७३ करोड सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गरेको आगामी आव २०८२/०८३ को बजेट भाषणका क्रममा स्टार्टअपलाई ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने जानकारी दिए । त्यसका लागि सरकारले ७३ करोड बजेट विनियोजन गरेको छ ।
युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारीमा रहेका सीपयुक्त नेपालीलाई स्वदेशमै उद्यमशील र स्वरोजगार बन्न आकर्षित गर्ने बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उनले यस्तो बताएका हुन् । उनले नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गरी युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता दिइने बताए । सबै प्रकारका निराशा चिरेर आम जनतामा आशा जगाउन सरकार दृढ संकल्पित रहेको बताए । प्रस्तुत बजेट अर्थतन्त्रको विस्तार र आर्थिक अवसर सिर्जना गर्ने मुख्य ध्येयका साथ तर्जुमा गरिएको जानकारी दिए ।
स्थानीय र प्रदेश सरकारलाई २ खर्ब ४१ अर्ब बजेट विनियोजन
काठमाडौं । सरकारले आगमी आव २०८२/८३ को लागि प्रदेश र स्थानीय सरकारलाई २ खर्ब ४१ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बिहीबार अर्थमन्त्रीले विष्णु पौडेलले आव २०८२/८३ को बजेट प्रस्तुत गर्दै सो रुपैयाँ बराबरको बजेट विनियोजन भएको जानकारी दिएका हुन् । सरकारले ३० अर्ब ३५ करोड र स्थानीय तहलाई २ खर्ब ११ अर्ब ४६ करोड गरी २ खर्ब ४१ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेकाे छ । अर्थमन्त्री पौडेलका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसको आधारमा प्रदेश सरकारलाई ६० अर्ब ६६ करोड र स्थानीय तहलाई ८८ अर्ब ९७ करोड अनुसार वित्तीय समानीकरण अनुदानका हस्तान्तरण गर्ने घोषणा गरेको छ ।
आगामी वर्षका लागि २८ अर्बको मल बजेट, उद्योग स्थापनाको घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मलको आपूर्ति ६ लाख मेट्रिक टनसम्म पुर्याउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गरेको आगामी आव २०८२/०८३ को बजेट भाषणका क्रममा मल आपूर्तिको लक्ष्य सार्वजनिक गरेका हुन् । सोही उद्देश्यका लागि सरकारले २८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, रासायनिक मलको दीर्घकालीन आपूर्तिलाई ध्यानमा राख्दै मल कारखाना स्थापनाको तयारी सुरु गरिने बजेटमा उल्लेख गरिएको छ ।
विदेशमा पनि लगानी गर्ने बाटो खुल्यो, ५० प्रतिशत आम्दानी नेपालमा ल्याउनुपर्ने
काठमाडौं । सरकारले निर्यातजन्य व्यवसायका लागि विदेशमा पनि व्यवसाय गर्न पाउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले वार्षिक आम्दानीको ५० प्रतिशत नेपालमा ल्याउनुपर्ने प्रावधान रहेको सुनाए ।