विदेश पठाउने भन्दै ४२ लाख भन्दाबढी ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४२ लाख ३५ हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । रामेछाप मन्थली नगरपालिका-३ घर भई हाल दक्षिणकाली नगरपालिका-१ बस्ने ४० वर्षीया प्रमिला बरुवाल र पाल्पा माथागडी गाउँपालिका-४ घर भई हाल काठमाडौं महानगरपालिका-२६ गेङ्गबु बस्ने ३४ वर्षीय मोहन पोखरेल पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, ‘विदेशमा आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देश लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएकामा पीडितहरूले दिएका उजुरीका आधारमा निजहरूलाई पक्राउ गरिएको हो ।’ पक्राउ परेकामध्ये बरुवालले युके पठाउने भन्दै सात जनाबाट ३२ लाख ३५ हजार र पोखरेलले एक जनालाई पोल्याण्ड पठाउने भन्दै १० लाख लिएको खुल्नमा आएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।
प्रभु क्यापिटलको ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ निष्कासन
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने खुलामुखी प्रकृतिको ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ को इकाई सार्वजनिक निष्कासन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरमा कुल २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको हो । स्किमको कुल इकाई आकार ४ करोडका ७.५ प्रतिशत अर्थात् ३० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई र ७.५ प्रतिशत योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ भने बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको क्यापिटलले जनाएको छ । सर्वसाधारणले आजदेखि जेठ २७ गतेसम्म तोकिएको छ । यदि तोकिएको अवधिभित्र सबै इकाई बिक्री नभएमा आवेदन असार ६ गतेसम्म खुला रहनेछ । प्रभु क्यापिटल धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा रहनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी सदस्य बैंक तथा वित्तीय संस्थाहरूको तोकिएको शाखा कार्यालयहरूमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरूले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर ‘मेरो शेयर’ मार्फत सि-आस्बा प्रणाली प्रयोग गरी अनलाइनबाटै पनि आवेदन दिन सक्नेछन् ।
१० महिनामा १२ अर्ब २७ करोडको बीमा पोलिसी सरेण्डर, व्यतित बीमालेखबापत् ३६ अर्ब उठ्न बाँकी
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (वैशाख) सम्ममा ८८ ह जार ६३५ बीमितले १२ अर्ब २७ करोड रुपैयाँ बराबरको पोलिसी सरेण्डर अर्थात् बीमालेख समर्पण गरेका छन् । चालु आवको १० महिनामा भएको पोलिसी सरेण्डर रकम गत आवको भन्दा ११.७० प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा ८९ हजार ७७ बीमितले १० अर्ब ९८ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको थियो । बीमा सरेण्डरको साथसाथै बीमितले तोकिएको समयमा पोलिसी नविकरण र किस्ता नतिर्ने बीमितको संख्या पनि बढ्दै गएको छ । प्राधिकरणको तथ्यांक अनुसार चालु आवको १० महिनामा १२ लाख ५४ हजार ४७८ बीमालेख व्यतित भएका छन् । उक्त संख्याको बीमालेख व्यतित हुँदा ३६ अर्ब ८६ करोड २० लाख रुपैयाँ बीमा कम्पनीलाई घाटा भएको छ । अर्थात त्यति रुपैयाँ बराबरको रकम अझै उठ्न बाँकी छ । चालु आवको १० महिनामा भएको बीमालेख व्यतित रकम गत आवको तुलनामा १८.९६ प्रतिशतले बढेको छ भने व्यतित बीमालेखको संख्या ११.६३ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा ३० अर्ब ९८ करोड रुपैयाँ उठ्न बाँकी थियो ।
एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सम्झौता, सीप विकास प्रवर्द्धन गर्न एसईईपी मेला आयोजना गर्ने
काठमाडौं । एमएडब्लू इन्टरप्राइजेज प्रालि र काठमाडौं महानगरपालिका (केएमसी) बीच एक औपचारिक सम्झौता भएको छ । सम्झौताअनुसार दुवै पक्ष मिलेर काठमाडौंको टुँडिखेलमा जनशक्तिको निर्माण र विकासमा केन्द्रित एसईईपी मेला आयोजना गर्नेछन् । यो सहकार्यको मुख्य उद्देश्य सीपमूलक व्यवसायिक तालिमको प्रबर्धन गर्दै रोजगारीको अवसर सृजना गर्नु हो । जेठ ७ बाट सुरु भइसकेको एसईईपी (सीप तथा रोजगारी अभिवृद्धि कार्यक्रम)मेलाले हाल १० वटा प्रमुख क्षेत्रअन्तर्गत ३७ प्रकारका पेशागत सीप सम्बन्धी तालिमहरू दिइरहेको छ । यसले युवाहरुलाई गुणस्तरीय रोजगारीतर्फ उन्मुख गराउने गरी व्यवहारिक तालिममार्फत आवश्यक ज्ञान र सीप सिकाउने अवसर सिर्जना गरिरहेको छ । साथै यसले उद्योगहरूलाई आवश्यक जनशक्ति भित्र्याउने क्षमता बढाउन पनि मद्दत पुर्याउने विश्वास लिइएको छ । एसईईपी मेलाले नेपालमा आत्मनिर्भर र दक्ष जनशक्ति तयार पार्नका लागि विभिन्न सीप विकास कार्यक्रम र श्रम बजारको वास्तविक आवश्यकताबीचको दूरी घटाउने लक्ष्य लिएको छ । सम्झौतापत्रमा हस्ताक्षरको कार्यक्रम फेयर म्यानेजमेन्ट कमिटीको तर्फबाट गतिशील अभियान नेपालको संयोजनमा सम्पन्न भएको थियो । आयोजकको तर्फबाट रामजी पौडेलले हस्ताक्षर गरे । एमएडब्लू इन्टरप्राइजेजका तर्फबाट एमएडब्लू अर्थमुभर्स प्रालिका सीईओ तेजप्रसाद सुवेदी र एमएडब्लू स्किल्स एकेडेमी प्रालिका सीईओ महेश विष्टले संयुक्त रूपमा सम्झौतापत्रमा हस्ताक्षर आदानप्रदान गरे । एसईईपी मेला प्रशिक्षण प्रदायक, रोजगारदाता र काम खोज्नेहरूलाई जोड्ने एउटा महत्त्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ । यस सहकार्यबाट एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाले सार्वजनिक(निजी साझेदारीलाई सशक्त बनाउने, बेरोजगारी घटाउने र नेपालभित्रै जीवनस्तर सुधार गर्ने लक्ष्य लिएका छन् ।
दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो
दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) दुबईमा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ (एलएलसी) पुनः सञ्चालनमा आएको छ । नयाँ कन्सेप्टसहित नेपालीको पहिलो गेष्टहाउस (पाहुना घर) आठ वर्षदेखि सञ्चालनमा आएको थियो । उक्त रेष्टुरेन्ट तीन महिना बन्द थियो जुन पुन: सञ्चालनमा आएको हो । दुबईमा दुई दशक भन्दा बढी बसोबास गरिरहेका युवा व्यवसायी राजेन्द्र गुरागाईंले उक्त रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् । नेपालीहरू बढी भएको बरदुबईमा एलएलसीले नेपाली परिकार पस्किने मात्र नभई नेपालीपनकै झल्को दिनेगरी सञ्चालनमा ल्याइएको व्यवसायी गुरागाईंले जानकारी दिए। सन् २०१८ मार्च २३ देखि सञ्चालनमा रहँदै आएको उक्त रेष्टुरेन्ट ३ महिना दुबई सरकार तथा दुबई नगरपालिकाले आन्तरिक कार्यका लागि भन्दै बन्द गरेको थियो । उनका अनुसार जुन ४, २०२५ मा दुबई सरकार र नगरपालिका तथा दुबई अदालतले विधिवत रूपमा नेपालीकै नाममा अनुमति प्रदान गरिसकेको छ । नयाँ व्यवस्थापन नयाँ सजावटसहित पुन: सञ्चालनमा ल्याइएको गुरागाईंले बताए । नेपाली समुदायको बाहुल्य रहेको बरदुबईमा दुबई सरकारको सम्पदा सूचीमा रहेको भवन भित्र सञ्चालनमा आएको छ । उक्त रेष्टुरेण्टमा नयाँ-नयाँ नेपाली परिकारको स्वाद चाख्न पाइने सञ्चालक गुरागाईंले जानकारी दिए । रेष्टुरेण्ट सम्पूर्ण ग्राहक तथा सेवाग्राहीहरुलाई खुला भइसकेको उनको भनाइ छ ।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
सुर्खेत । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभामा कम्पनीका सेयरधनी, सञ्चालक तथा नियामक निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीको हालको प्रगति र भावी योजनाबारे संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए । त्यसपछि सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले आफ्नो मन्तव्यसँगै कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरे । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८०र८१ को नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा पारित गरेको छ । सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको रूपमा जेएन उपाध्याय एन्ड कोलाई नियुक्त गर्ने निर्णय पनि पारित गरेको छ । साथै समूह ‘ख’ अन्तर्गत सर्वसाधारण सेयरधनीहरूको तर्फबाट ईश्वरलाल श्रेष्ठ र सुनिता महर्जन सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गर्यो मैत्री सेवा आश्रममा खाद्यान्न वितरण
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत काठमाडौं जिल्लास्थित मैत्री सेवा आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ । २०७८ जेष्ठ २१ गते सम्पन्न कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक नरेश थापा र शाखा प्रबन्धक रोजिना मानन्धरको उपस्थितिमा खाद्यान्न सामग्री आश्रमलाई हस्तान्तरण गरिएको हो । हाल आश्रममा ३० जना जेष्ठ नागरिकले सेवा लिइरहेका छन् । कम्पनीले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा थप योगदान दिने लक्ष्य राखेको जनाएको छ । सानिमा रिलायन्सले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि समेट्दै जाने विश्वास व्यक्त गरेको छ । भविष्यमा यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना रहेको कम्पनीले स्पष्ट पारेको छ । हाल देशभर १६९ शाखा विस्तार गरिसकेको कम्पनीको पूँजी ५ अर्बभन्दा बढी रहेको छ भने २० अर्बभन्दा बढीको लगानी परिचालित छ । त्यस्तै, कम्पनीमा हाल २० हजारभन्दा बढी अभिकर्ताहरू सक्रिय रूपमा कार्यरत छन् ।
आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिर्सोटमा १५ प्रतिशत सहुलियत
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिर्सोट अन्तर्गत रहेका होटलहरूका सेवामा १५ प्रतिशत सहुलियत प्रदान गर्ने भएको छ । कम्पनी र इला होटल एन्ड रिर्सोटबीच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारी भएको हो । सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एप आईएमई लाइफ मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् । यसैगरी, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छुटसुविधाको लाभ लिन सक्नेछन् । इला होटल एन्ड रिर्सोट अन्तर्गत मौलाकालिकामा स्थित इला होटल एन्ड रिर्सोट, बाग्लुङस्थित इला कम्फर्ट र लाजिम्पाटस्थित सेक एड फेन्ज रेस्टुरेन्ट, यसैगरी आईएमई हस्पिटालिटी एण्ड होटलअन्तर्गत पोखरास्थित दी लेकसाइड रिट्रिट र लाजिम्पाटमा रहेको होटल ले हिमालय लगायतका होटल तथा हस्पिटालिटिहरू रहेका छन्। उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले आफ्नो मोबाइल एप आईएमई लाइफमार्फत प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएको छ ।