सिद्धबाबा सुरुङमार्गको काममा तीव्रताः भौतिक प्रगति ५४ प्रतिशत, एक वर्षमै सवारी चल्ने
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत र वित्तीय प्रगति ४८ प्रतिशत पुगेको छ। मुख्य सुरुङमार्गको ब्रेक थ्रु भएसँगै कामले तीव्र गति लिएको हो । हाल सुरुङको इन्भर्ट र लाइनिङको काम तीव्र रूपमा अघि बढिरहेको छ । आयोजनाकी इन्जिनियर सविता ज्ञवालीका अनुसार १ हजार ८९ मिटर लम्बाइको मुख्य सुरुङमध्ये ९९० मिटर इन्भर्ट र १ हजार १२६ मिटर लाइनिङमध्ये ६६० मिटर सकिएको छ । ‘बाइपास-२ मा १६१ मिटर छ । यहाँ अहिलेसम्म इन्भर्ट र लाइनिङको काम सुरु भएको छैन । बाइपास–३ मा १३० मिटर छ । जसमा इन्भर्टको ३६ मिटर काम भइसकेको छ । लाइनिङको काम भने सुरु भएको छैन,’ ज्ञवालीले भनिन्। सुरुङभित्र कङ्क्रेटिङ, सडक ढलान, भेन्टिलेसन, विद्युत् जडान, सुरक्षा प्रणाली, अक्सिजन वारपार र आगो निभाउने उपकरण जडानजस्ता कार्यहरू बाँकी छन् । सुरुङको उत्तर र दक्षिणपट्टि हेलिप्याड निर्माण पनि गरिनेछ । २०७९ सालदेखि निर्माण सुरु भएको यो सुरुङमार्ग २०८३ भित्र सम्पन्न गर्ने लक्ष्य छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड रुपैयाँको ठेक्का सम्झौता भएको छ । सिद्धार्थ राजमार्गको पहिरो जोखिमयुक्त खण्डमा पर्ने यो सुरुङमार्ग निर्माणपछि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ र म्याग्दी जाने सवारीका लागि सुरक्षित र सहज मार्ग बन्नेछ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सिद्धबाबा र नागढुङ्गा सुरुङमार्गका लागि २ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिसकेको छ । बजेट सुनिश्चित भएसँगै काम तीव्र गतिमा अघि बढिरहेको इन्जिनियर ज्ञवालीले बताइन् ।
शिक्षण अस्पतालमा लिङ्ग परिवर्तनको सफल शल्यक्रिया, विदेश जानुपर्ने बाध्यता हट्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ । जनकपुरका निवासी २५ वर्षीया एक पारलैङ्गिक (ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अङ्गको पुनःनिर्माण गरिएको हो । अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा यही जेठ १२ देखि १५ गतेसम्म पारलैङ्गिक समुदायका लागि आयोजित विभिन्न प्रकारका शल्यक्रियामा उक्त शल्यक्रिया पनि गरिएको हो । त्यस अवसरमा अनुहार तथा स्तनको पनि शल्यक्रिया गरिएको थियो । अस्पतालका प्रवक्ता तथा सह प्राडा. गोपाल सेढाइँले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता नहरेको बताए । उनले भने, 'लिङ्ग परिवर्तन जस्तो संवेदनशील र जटिल शल्यक्रिया धेरै खर्चिलो हुने कारणले हाल नेपालमै यो सुविधा उपलब्ध भएपछि पारलैङ्गिक समुदायलाई धेरै राहत मिल्नेछ । यसले पारलैङ्गिक समुदायलाई आफ्नो लैङ्गिक पहिचानको पूर्ति गर्न एक महत्वपूर्ण उपाय हुनेछ ।' शल्यक्रियामा विदेशी प्लास्टिक सर्जन डा एलिजा हामीडियन जाह्रोमीको नेतृत्व तथा विभागीय प्रमुख प्राडा जयनमान श्रेष्ठको संयोजनमा सम्पूर्ण प्लास्टिक सर्जरी तथा एनेस्थेसिया टिमको सहभागिता रहेको थियो । डा जयनमान श्रेष्ठकाअनुसार अबदेखि त्रिवि शिक्षण अस्पतालमा ‘जेन्डर अफर्मिङ यिक्लनिक’स्थापनासहित यस्ता सेवा नियमित रूपमा प्रदान गरिनेछ ।
सुनचाँदीमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सडकमा उत्रिए व्यवसायी
काठमाडौं । सुनचाँदी व्यवसायीहरुले सुनचाँदीका गहनामा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सुनचाँदीमा सरकारले लगाएको करका विरुद्ध ध्यानाकर्षण गराउने भन्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको अगुवाइ व्यवसायीहरु आन्दोलित भएका हुन् । आइतवार उनीहरुले न्युरोड गेटदेखि इन्द्रचोक डबलीसम्म र्यालीसहित आन्दोलन गरेका हुन् । कानुले सुनलाई नगदसरहको सम्पत्तिको मान्यता दिएकाले सुनमा लगाइएको २ प्रतिशत विलासी शुल्क खारेज हुनुपर्ने संघर्ष समितिको माग छ । त्यस्तै हिरा, जवहरातमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गरेर पूर्ववत व्यवस्था कायम गरिनुपर्ने, उपभोक्ताहित, गहना उत्पादक तथा कालिगढ, व्यवसायीमैत्री सुनचाँदी सम्बन्धी ऐन, कानून र कार्यविधि तुरुन्त जारी गरिनुपर्ने, सानो परिमाणमा ५० ग्राम र १०० ग्रामका सुनका टुक्राहरू खुल्ला रूपमा पान नम्बर र कर चुक्ता प्रमाणपत्रको आधारमा गहना उत्पादक तथा कालिगड व्यवसायीले खरिद गर्ने व्यवस्था मिलाइनुपर्ने उनीहरुको माग छ । सरकारले अगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गहनामा दुई प्रतिशत विलासिता कर लाग्ने घोषणा गरेको थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ ३६औं वर्षमा प्रवेश, उद्योगलाई आर्थिक मेरुदण्ड बनाउन जोड
काठमाडौं । लघु, घरेलु तथा साना उद्योग नेपालको आत्मनिर्भर अर्थतन्त्रको आधारभूत संरचना भएको भन्दै यसको प्रवर्द्धन अहिलेको मुख्य आवश्यकता भएको सरोकारवालाहरूले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एनएफएसईआई) स्थापना भएको ३६औं वर्षमा प्रवेश गरेको अवसरमा राजधानीको माइतीघरस्थित महासंघ सचिवालयमा आयोजित स्थापना दिवस समारोहमा बोल्ने वक्ताहरूले स्वरोजगार, स्थानीय रोजगारी, महिला र युवाको सशक्तीकरण तथा आयात प्रतिस्थापनका लागि यस्ता उद्योगहरूलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका हुन् । महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले लघु, घरेलु तथा साना उद्योगहरू बिना समावेशी, दिगो र आत्मनिर्भर अर्थतन्त्रको कल्पना गर्न नसकिने बताउँदै भने, 'नेपालमा ठूलो उद्योग सञ्चालन गर्न पूँजी, पूर्वाधार र भौगोलिक चुनौती छन्, त्यसैले साना उद्योग नै हाम्रो आर्थिक मेरुदण्ड हुन सक्छ ।' उनले यस्ता उद्योगहरूलाई नीतिगत, वित्तीय र प्रविधिगत सहयोग आवश्यक रहेको उल्लेख गरे । पूर्व अध्यक्ष श्याम गिरीले व्यवहारमा लघु उद्योगलाई अर्थतन्त्रको इञ्जिनका रूपमा बुझ्न नसकिएको गुनासो गर्दै महासंघ स्थापना पछि देशभरका उद्यमीहरूको साझा संस्थाको रूपमा विकसित भएको बताए । कार्यक्रममा महासंघका सल्लाहकार, उपाध्यक्षहरू, महासचिव, महिला उद्यमी समितिका प्रतिनिधि, प्रदेश अध्यक्षहरू तथा अन्य पदाधिकारीहरूले पनि आ-आफ्ना मन्तव्य राख्दै लघु, घरेलु तथा साना उद्योगको विकासले समग्र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने धारणा व्यक्त गरे । स्थापना दिवसकै अवसरमा महासंघका प्रदेश, जिल्ला र पालिकास्तरीय इकाइहरूले पनि विविध कार्यक्रम गरी दिवस मनाएका छन् ।
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । राष्ट्र बैंकले आइतबार २० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले २० अर्ब निक्षेप खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले कुल निक्षेप ६९ खर्ब ४५ अर्ब माथि पुगेको छ । निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ साउन ४ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
प्रधानमन्त्रीसँग भूमि समस्या समाधान आयोगका पदाधिकारीबीच के भयो छलफल ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भूमि समस्या समाधान आयोगका पदाधिकारीबीच हालसम्मको कामको प्रगतिबारे आइतबार छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन, प्रमाणीकरण, नाप नक्सांकन, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाणपूर्जा वितरणसम्मको योजना बनाइ तीनै तहका सकारसँगको सहकार्यमा काम भइरहेको जानकारी गराएको हो । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसहितको छलफलमा आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दस वर्षदेखि बसोबास र अन्य सरकारी जग्गा नपाएका नागरिकलाई भूमिहीन, सुकुम्बासी पहिचान गर्ने तथा अव्यवस्थित बसोबासीका हकमा कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्ति जमिनामा आवाद/कमोद गरेर बसोबास गरिरहेको हुनुपर्ने मापदण्ड तयार गरिएको जानकारी गराए । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित भए काम गर्न थप सहज हुने आयोगका पदाधिकारीको भनाइ रहेको छ । प्रधानमन्त्री ओलीले संसदमा विचाराधीन उक्त विधेयक चाँडै पारित हुने विश्वास व्यक्त गर्दै आयोगले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचानका कामलाई योजनाबद्ध र तीव्रताका साथ अघि बढाउन निर्देशन दिए । नेपाल सरकारले गत कात्तिक १४ गते सो आयोगको गठन गरेको थियो ।
स्वावलम्बन लघुवित्तको सिन्धुलीमा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय सिन्धुलीको आयोजनामा कमलामाई नगरपालिकामा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सदस्य, अभिभावक तथा सरोकारवाला पक्षको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्य कर्जा तथा बचत व्यवस्थापनको ज्ञान प्रदान गर्दै कर्जाको सदुपयोग, उद्यमशीलताको विकास र स्थानीय स्रोत-साधनको प्रयोगमार्फत न्यून आय भएका वर्गको आर्थिक तथा सामाजिक स्तर अभिवृद्धि गर्नु रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि कमलामाई नगरपालिका–९ का वडा अध्यक्ष विनोद प्रधानले सहभागीहरूलाई विभिन्न संस्थाबाट अनावश्यक ऋण नलिई, उपलब्ध कर्जाको उत्पादनमूलक उपयोग गरी उद्यमशील बन्न सुझाव दिए । विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय भिमानका प्रहरी नायब निरीक्षक दीपक कुमार पोखरेलले कर्जाको सदुपयोग गर्न प्रेरित गर्दै यदि कुनै गुनासो वा समस्या भएमा संस्थामै जानकारी गराई समाधान खोज्न सुझाव दिए । कार्यक्रममा सहभागी ग्राहक सदस्यहरूले स्वावलम्बनले आफूहरूलाई उद्यमशील बन्न सहयोग गरेको उल्लेख गर्दै संस्थालाई भविष्य निर्माणको आधारको रूपमा लिएको बताए । उनीहरूले थप सहज सेवा प्रवाहको अपेक्षा पनि व्यक्त गरे । शाखा प्रबन्धक जानकी कुमारी बानियाँले ग्राहकलाई सहज कर्जा प्रवाहका साथै उद्यम गर्न आवश्यक परामर्श प्रदान गर्दै आएको जानकारी दिइन् । उनले आगामी दिनमा थप नवीन सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइन् । कार्यक्रममा कर्जा बीमा रकमको भुक्तानी तथा एसइइ परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने सदस्यका सन्तानलाई छात्रवृत्तिस्वरूप नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
नाडेप लघुवित्तको १०औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको आफ्नो १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा धादिङ्गस्थित ट्रिपल क्राउन रिसोर्टमा सम्पन्न भएको जनाएको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षकको वार्षिक प्रतिवेदन सहितका आर्थिक वर्ष २०८०/ ८१ सम्मको वासलात तथा नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरू र नेपाल वित्तीय प्रतिवेदनमान एनएफआरएस बमोजिम तयार गरिएको बार्षिक वित्तीय प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले वित्तीय संस्थाको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, वर्तमान लेखापरीक्षक बिदुर एसोसियट्स पुनः नियूक्तीको लागि योग्य हुने प्रस्ताव पारित गरेको छ । सभाले नेपाल राष्ट्र बैंकको निर्देशन १० /०८१ (१३) मा भएको व्यवस्था बमोजिम शेयर संरचना परिवर्तन सम्वन्धमा छलफल गरी पारित गर्ने प्रस्ताव पारित गरेको छ । यस वित्तीय संस्थामा गाभ्नेरगाभिने वा एक्विजिसन सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न, सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक निर्धारण गर्न लगायत अन्य सम्पुर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, यस संस्थाको केन्द्रीय कार्यालय धादिङ्ग जिल्लाको धुनिबेशी वार्ड नं ६ थार्के बजारमा स्थानान्तरण उपर छलफल गरी सभाले पारित गरेको छ । सभाले उल्लेखित प्रस्ताव उपर नियमनकारी निकायबाट फेरबदल गर्न सुझाव वा निर्देशन भएमा सो अनुरूप प्रचलित कानूनको अधिनमा रही कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।