विकासन्युज

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ९७ हजार पुग्यो

काठमाडौं ।  गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले वृद्धि भएको छ भने चाँदीमा १५ रुपैयाँले बढोत्तरी भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको भाउ १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छ भने १ तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ ।       गत मङ्गलबार एक तोला सुन १ लाख ९० हजार तथा सोही परिमाणको चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ४ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कालीमाटीमा चर्को महंगी: तरकारीदेखि फलफूल र माछासम्मको थोक मूल्य आकासियो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४१, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६०, मूला सेतो (लोकल) प्रतिकिलो रु ३४, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ३५, तने बोडी प्रतिकिलो रु ३२, मकै बोडी प्रतिकिलो रु ६५ कायम भएको छ ।  यसैगरी, मटरकोसा प्रतिकिलो रु १६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी राजमा मूल्य प्रतिकिलो रु १२०, टाटे सिमी मूल्य प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ३५, परबर (तराई) प्रतिकिलो रु ३५, चिचिण्डो प्रतिकिलो रु ३२, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।  यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १००, स्कुस प्रतिकिलो रु ६५, रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो रु ५०, तोरीको साग प्रतिकिलो रु ३५, हरियो प्याज प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु २५०, कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ११०, गान्टेमूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ६०, आँप (दशहरी) प्रतिकिलो रु ७५, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भूइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५, रुखकटहर प्रतिकिलो रु ६५, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लिची (लोकल) प्रतिकिलो रु १९०, लिची (भारतीय) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३५, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४०, भेडेखुर्सानी प्रतिकिलो रु ८५, हरियो धनियाँ प्रतिकिलो रु ५५, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

प्रधानमन्त्री ओलीको  चेतावनी:  त्रुटीपूर्ण अनुसन्धानले न्यायमा बाधा पुग्छ, प्रहरी र वकिल प्रविधिसहित सक्षम बनुन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त एवं प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन् ।  अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहित ढङ्गले न्याय सम्पादन हुनेगरी अनुसन्धान एवं अभियोजन गर्न आग्रह गरेका हुन् ।  ‘समाजमा अन्याय हुन नदिन र सामाजिक सुप्रबन्धका लागि अनेक खोज अध्ययन, अनुसन्धान गरेर मानवोचित र न्यायपूर्ण समाज सृजना गर्न समयानुकूल कानुनको निर्माण तथा प्रभावकारी कार्यान्वयन आवश्यक छ । त्यसका लागि उचित स्रोत, साधनसहित दीक्षित, सक्षम र इमानदार जनशक्तिको खाँचो रहेको छ । ती सामग्री र अवसर दिलाउन सरकार प्रतिबद्ध छ”, प्रधानमन्त्री ओलीले भने, ‘प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शीता हुनुपर्छ । सुविधा पुगेन भनेर त्यतातिर सोच्नु नपरोस् भनेर सरकारले सेवा सुविधामा आवश्यक ध्यान दिनेछ ।’ अपराधीले अपराध ढाकछोपका लागि अनेक सोच र प्रविधिको प्रयोग गर्ने भएकाले त्यसलाई अपराधीलाई तत्काल नियन्त्रणमा लिन प्रहरी नयाँ नयाँ प्रविधिसहित स्रोतसाधन सम्पन्न हुनुुपर्ने र प्रहरीको त्रृटीरहित अनुसन्धानले नै न्याय निरुपणका लागि बाटो देखाउने प्रधानमन्त्री ओलीको भनाइ थियो । गृहमन्त्री रमेश लेखक, महान्याधिवक्ता रमेश बडालसहित सहभागी सम्मेलनमा प्रधानमन्त्री ओलीले प्रणालीगत प्रबन्धमार्फत समान अधिकार र अवसर दिन तथा विकास, सुव्यवस्था र सुशासनका पक्षमा ध्यान दिँदै दोषीलाई कारबाही र पीडितलाई न्याय दिनेतर्फ लाग्न आग्रह गरे । प्रहरी प्रधान कार्यालयमा जारी सम्मेलन शनिबार सम्पन्न हुनेछ ।  

नबिल, ग्लोबल र एनआईएमबिबीच कडा प्रतिस्पर्धा, १० बैंकको नाफा घट्दा नेपाल बैंकको ४५७ प्रतिशत बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा वाणिज्य बैंकहरूको खुद नाफा १.६७ प्रतिशत अर्थात् ८१ करोड २० लाख रुपैयाँ घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको वैशाखसम्ममा २० वटा बैंकले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेका छ । गत वर्षको वैशखमा ४८ अर्ब ६० करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।  १० महिनाको अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । नबिलले ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्षको वैशाखमा यस बैंकले ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष बैंकको नाफा २.५८ प्रतिशत अर्थात् १४ करोड १३ लाख रुपैयाँ बढेको हो । ग्लोबल आइएमई बैंकले वैशाखसम्ममा ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यस बैंकले ४ अर्ब १२ करोड २९ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा २९.८९ प्रतिशत अर्थात् १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको हो ।  यस्तै, तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि)ले ५ अर्ब २ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको वैशाखमा यस बैंकले ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकले ३३.१४ प्रतिशत अर्थात् १ अर्ब २४ करोड ९८ लाख रुपैयाँ बढी नाफा गरेको हो ।  यस अवधिमा नेपाल बैंक नाफा वृद्धिमा आक्रामक देखिएको छ । नेपाल बैंकको १० महिनामा खुद नाफा ४५७ प्रतिशत अर्थात् २ अर्ब ६९ करोड ८४ लाख रुपैयाँ बढेर ३ अर्ब २८ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको वैशाखमा यस बैंकको नाफा ५९ करोड ३ लाख रुपैयाँ मात्रै थियो ।  १० महिनाको अवधिमा एभरेष्ट बैंकको ३०.९६ प्रतिशत बढेर ३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको १८.७४ प्रतिशत बढेर १ अर्ब ३१ करोड ३५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १०.१९ प्रतिशत बढेर २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।  राष्ट्र बैंकका अनुसार १० महिनामा सानिमा बैंक ७.१० प्रतिशत बढेर १ अर्ब ८७ करोड ५ लाख रुपैयाँ, एनएमबि बैंकको ५.५५ प्रतिशत बढेर २ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ, सिद्धार्थ बैंकको १.६९ प्रतिशत बढेर २ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।  तर, यस अवधिमा विभिन्न १० बैंकको नाफा घटेको छ । एनआईसी एशिया बैंकको सबैभन्दा धेरै नाफा घटेको छ । एनआईसीको ७७.८७ प्रतिशत घटेर ४७ करोड ८७ लाख रुपैयाँ नाफा गरेको छ । यस्तै, हिमालयन बैंकको ६९.३३ प्रतिशत घटेर ६८ करोड ३४ लाख रुपैयाँ, कुमारी बैंकको ६६.२७ प्रतिशत घटेर ४८ करोड १९ लाख रुपैयाँ नाफा गरेका छन् । राष्ट्र बैंकका अनुसार कृषि विकास बैंकको ३५.७३ प्रतिशत घटेर १ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ३०.९२ प्रतिशत घटेर १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ, प्रभु बैंकको २०.०९ प्रतिशत घटेर २ अर्ब १४ लाख रुपैयाँ नाफा गरेका छन् ।  यस्तै, सिटिजन्स बैंकको २१.४० प्रतिशत घटेर १ अर्ब १८ करोड १५ लाख रुपैयाँ, प्राइम बैंकको १९.८४ प्रतिशत घटेर २ अर्ब ५८ करोड ५५ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड    बैंकको ११.९८ प्रतिशत घटेर २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकको २.८७ प्रतिशत घटेर १ अर्ब ३८ करोड २० लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकको तथ्याङ्क छ ।  

हिमालयन बैंकबाट पाकिस्तानको हबिब बाहिरिने, बिक्रीमा राख्यो ३ अर्ब १५ करोडको सेयर

काठमाडौं । पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो सेयर बिक्री गरेर बाहिरिने भएको छ । लामो समयदेखि बैंकबाट सेयर बिक्री गरेर बाहिरिन खोजेको हबिब बैंकले अन्नतः आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेको हो ।  हिमालयन बैंकमा सबैभन्दा ठूलो सेयरधनी हो पाकिस्तानको हबिब बैंक लिमिटेड । बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेसँगै हिमालयन बैंकबाट बाहिरिने पक्का भएको हो । यद्यपी सेयर खरिद कसले गर्ने भन्ने निधो भइसकेको भने छैन ।  हबिब बैंकले हिमालयनमा रहेको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११२.८० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा ३ अर्ब १५ करोड ९८ लाख ४ हजार ७२ रुपैयाँ बराबरको सेयर बिक्री गरेर हबिब बैंक बाहिरिने भएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०८१ को निर्देशन नं. १० बमोजिम संस्थापक सेयर खरिद गरी लिन पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिनुपर्नेछ । सोही व्यवस्था अनुसार उक्त सेयर खरिदका लागि हिमालयन बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् ।  तर, ३५ दिनभित्र संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।  विगतमा पनि हबिबले सेयर बिक्रीमा लागि थुप्रै प्रयास गरेको थियो । तर, राष्ट्र बैंकले अनुमति नदिँदा सेयर बिक्री गरेर हबिब हिमालयनबाट बाहिरिन सकेको थिएन । साथै, विगतमा हिमालयन रिइन्स्योरेन्स कम्पनीले उक्त सेयर खरिद गर्ने चर्चा पाएको थियो । 

दोस्रोपटक थपिएको समयमा पनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना दोस्रोपटक थपिएको समय सीमाभित्र पनि पूरा भएको छैन ।  भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सन् २०२२ फेब्रुअरीमा दोस्रोपटक थपिएको म्याद यही जुन २७ मा सकिँदैछ । हालसम्म ७९.५० प्रतिशत भौतिक र ७५ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाका ठेकेदार कम्पनीले सन् २०२५ डिसेम्बर ३१ सम्म म्याद थपको प्रस्ताव गरेको छ । राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले ठेकेदारले गरेको म्याद थप प्रस्तावका विषयमा परामर्शदाता कम्पनी ‘वाकफोस’ले अध्ययन गरिरहेको बताए ।  विसं २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले पनि विद्युतगृहका उपकरण आयात र जडानको काम लक्ष्यअनुसार गर्न सकेको छैन । भारतीय आयातनिर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ । विसं २०८२ असार १५ गतेभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार आयोजना निर्माणअघि नबढेपछि भारत सरकार, ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले चासो देखाएका छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्य र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यही जेठ १७ गते आयोजना अनुगमन गरेका थिए । अनुगमनमा आएको टोलीसँग जयप्रकाशका व्यवस्थापक हरिश अग्रवाल र भेलका प्रतिनिधि हर्ष बर्दनले म्याद थपको प्रस्ताव गरेका थिए । कोरोना महामारी, बाढी पहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावलाई कम्पनीले आयोजना निर्माणमा ढिलाइ हुनुको कारण देखाएका छन् । बर्खायाममा बुग्लको पहिरो सक्रिय हुँदा बाँधस्थल जोड्ने सडक अवरुद्ध हुने र निर्माणाधीन बाँध नजिकै बाढीले गेग्रान थुपार्दा आयोजना निर्माणको काम प्रभावित बनाएको थियो । सर्वोच्च अदालतले तीन वर्षसम्म कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न रोक लगाएको थियो ।   राजदूत श्रीवास्तव, ऊर्जा सचिव आचार्य र प्राधिकरणका निर्देशक शाक्यले पटकपटक म्याद थप गर्दा पनि सन्तोषजनक काम हुन नसकेकोप्रति असन्तुष्टि जनाउँदै प्रस्तावित म्यादभित्र सम्पन्न गर्ने कार्ययोजनाप्रति विश्वास गर्ने वातावरण बनाउन ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएका थिए ।  रघुगङ्गा गाउँपालिका-४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरूङ र तिल्केनीचौरमा विद्युतगृह निर्माणको काम ९० प्रतिशत सकिएको छ । विद्युतगृहको उपकरण जडान र स्वीचयार्ड निर्माणमा भएको ढिलाइ प्रति टोलीले चासो व्यक्त गरेको छ । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसीएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लोपटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी) ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।   यस आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चारवटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।

अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया निर्वाचित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।  मतपरिणामअनुसार कडरियाले ७३२ मत ल्याएर विजयी हुँदा पौडेलले ७२५ मत पाए ।  अनेरास्ववियुको उपाध्यक्षमा अन्जना सिवाकोटी, विकास श्रेष्ठ, महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित भएका छन् ।  सचिवमा आकाश घर्ती, रचना सापकोटा र गोपाल नेपाल निर्वाचित भएका छन् भने आयोग अध्यक्ष प्रकाश विष्ट, सुमन घिमिरे, जित प्रसाद सिटौला निर्वाचित भएका छन् । 

बोइङ ड्रिमलाइनर दुर्घटनापछि उड्डयन क्षेत्रमा सन्नाटा

काठमाडौं । भारतमा भएको भयानक विमान दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ । अहमदाबादमा बिहीबार भएको एयर इण्डियाको एआई-१७१ विमान दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै पुनः एकपटक सोच्न बाध्य पारेको छ । अन्तर्राष्ट्रिय उड्डयन क्षेत्र र हवाई सुरक्षाबारे झस्काएको छ । जहाजले धावन मार्ग छाडेको केही क्षणमै जमिनमा बजारिएर दुर्घटना ग्रस्त भएको थियो । जहाजमा सवार चालक दलका सदस्यसहित २०० बढी यात्रीको निधन भएको स्थानीय प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन् । दुर्घटनामा २० देखि २५ स्थानीय मानिसको समेत ज्यान गएको आशङ्का गरिएको छ । बोइङ ७८७ ड्रिम लाइनर दुर्घटनाका कारण नागरिक उड्डयन क्षेत्रले एक भयानक क्षति बेहोर्नुपर्यो । एउटा दुर्घटनाका कारण आफन्त गुमाउने परिवारमा जीवनभरका लागि वज्रपात पर्छ । त्यसबाहेक जहाज सञ्चालन गरिरहेको कम्पनी, जहाज निर्माता कम्पनी, जहाजको नियमन गरिरहेको नियामक निकायले समेत एकसाथ ठूलो क्षति बेहोर्छन् । छिमेकी मुलुक भारतमा भएको भयानक जहाज दुर्घटनाले नेपालको एभिएसनलाई पनि सोचमग्न बनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भारतमा भएको भयानक जहाज दुर्घटनाले अन्तर्राष्ट्रिय हवाई क्षेत्रलाई नै स्तब्ध बनाएको बताए ।  ‘जहाज दुर्घटना के-कति कारणले भयो भन्ने कुरा अनुसन्धानपछि आउला तर, धेरै समयपछि ठूलो हवाई दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध पारेको छ । यसले हवाई यात्रीलाई सोचमग्न बनाएको छ,’ उनले भने ।  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का पूर्व क्याप्टेन केबी पौडेलले प्राविधिक कमजोरीले एयर इन्डियाको जहाज दुर्घटना भएको हुनसक्ने पूर्वानुमान गरे ।  उनले भने, ‘नयाँ जहाज र अनुभवी पाइलटले उडाइएकाले अहिले सरसर्ती हेर्दा मानवीय भन्दा पनि प्राविधिक कमजोरीले हो कि जस्तो देखिन्छ । जहाजको ककपीट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डरले दुर्घटनाको यथार्थ बाहिर ल्याउन मद्दत गर्ने छ ।’ उनका अनुसार जहाज दुर्घटनाको कारण दुवै इन्जिन फेल भएर वा फ्ल्याप, स्ल्याट अथवा ह्युमन फ्याक्टर हुनसक्छ । नेपालको हवाई क्षेत्रमा खासै असर नपरे पनि सम्बन्धित देश र एयरलाइन्सलाई ठूलो असर गर्ने पूर्व क्याप्टेन पौडेलले उल्लेख गरे ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतमले ड्रिम लाइनर ठूलो जहाजको पहिलो भयानक दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको बताए ।  ‘ड्रिमलाइनरको असाध्यै राम्रो रेकर्ड थियो । अहिलेसम्म ड्रिमलाइनरमा मात्रै ‘वान बिलियन प्यासेन्जर फ्लाइ’ गरेको रेकर्ड छ । यो एयरक्राफ्ट आएको १४ वर्ष मात्र भएको थियो । यो अवधिमा ५० लाख जति डिपार्चर भएको हुनुपर्छ । विश्व एभिएसन बजारमा ड्रिमलाइनरको सङ्ख्या करिब एक हजार १०० रहेको जनाइन्छ,’ उनले भने ।  प्राधिकरणका सूचना अधिकारी भूलका अनुसार पछिल्लो समय सन् २०२४ को मध्यदेखि सन् २०२५ को यो अवधिसम्म मलेसियन एयरलाइन्सको जहाज दुर्घटनापछि यो ठूलो दुर्घटना हो ।  ‘नेपाल, भारत, एसियाभन्दा पनि विश्वकै ‘एभिएसन इन्डस्ट्री’लाई ‘ब्ल्याक डे’ हो, जसरी बोइङ ड्रिमलाइनर ठूलो जहाज चालक दलका सदस्यसहित २४२ जना सवार उक्त जहाज नेपालको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको ‘सिनारियो’जस्तै भयो । उडेको केही क्षणभित्रै जहाज दुर्घटना ग्रस्त भएको देखिन्छ,’ उनले भने ।  विज्ञहरूको भनाइमा सामान्यतः जहाज ‘टेकअप’ र ल्यान्डिङ’का बेला बढी पावर चाहिन्छ । जहाजलाई उड्नका लागि चाहिने म्याक्सिमम टेकअप वेट फुल प्यासेन्जर र फुलफ्युल हालेर जब जहाज जमिन छोड्छ उसको लिफ्ट पावर बढी चाहिन्छ । अलिकति पनि ब्यालेन्स तलमाथि हुँदा एभिएसनको भाषामा जहाज स्टल हुन्छ । दुर्घटनाको प्रकृति हेर्दा एयर इन्डियाको जहाजले उड्ने बित्तिकै नियन्त्रण गुमाएको देखिन्छ ।  ‘जहाजले क्लाइम गर्ने बेला इन्जिन फेल भएको हो कि अथवा जहाजका भित्री मेकानिकल कमजोरीले भएको हो वा अरु कारणले हो त्यो चाहिँ पछि अनुसन्धानले देखाउँला, तर यो भयानक दुर्घटनाले विश्वको एभिएसन कम्युनिटीलाई पुनः झस्काएको छ,’ सूचना अधिकारी भूलले भने ।  उनले भारतमा भएको जहाज दुर्घटनाले नेपाल नागरिक उड्डयन प्राधिकरण र सिङ्गो हवाई क्षेत्रलाई स्तब्ध पारेको बताए । उनका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्डबमोजिम जहाज दुर्घटनाको अनुसन्धान हुने छ । जहाजको इन्जिन फेल, कन्ट्रोल कमाण्डको कमजोरी वा मानवीय कमजोरीले जहाज दुर्घटना भएको हुनसक्ने प्राधिकरणको विश्लेषण छ ।  जहाजको ‘इमर्जेन्सी कण्डिसन’मा भएको अवस्थामा ‘मेडे मेडे मेडे’ भनेर क्याप्टेनले एयर ट्राफिक कन्ट्रोलर (एटिसी)लाई जानकारी गराउँछन् । प्राधिकरणका अर्का एक विज्ञको भनाइमा एयर इन्डियाको दुर्घटनाअघि पाइलटले ‘मेडे’ शब्द बोलेर एटिसीलाई सूचना दिएका थिए । सामान्यतया पाइलटले रेडियो सन्देशमार्फत तीनपटक मेडे उच्चारण गरेको अवस्थामा जहाज दुर्घटना हुँदैछ वा गम्भीर आपत्कालीन अवस्थामा छ भन्ने बुझिन्छ ।  यसले गर्दा विश्व समुदायलाई अझै हाम्रो हवाई उडानमा उडान संपरीक्षण एयर वर्दिनेसको पाटोलाई ध्यान दिनुपर्छ भनेर सजग गराएको सूचना अधिकारी भूलले उल्लेख गरे ।  उनले भने, ‘एयर वर्दिनेसको पाटोमा अझै हामीले ध्यान दिनुपर्ने सन्देश जान्छ । नेपालमा मनसुन जारी रहेकाले यो समयमा उडान सुरक्षाको पाटोलाई विशेष ध्यान दिनुपर्छ ।’ आइकाओको नियमानुसार जुन देशमा जहाज दुर्घटना भएको छ, त्यही देशले छानबिन गर्छ । सोही मुलुकले छानबिन गरेर सुरुमा प्रारम्भिक र तीन महिनापछि अन्तिम प्रतिवेदन प्राधिकरण र आइकाओलाई पठाइन्छ । जहाजको प्राविधिक कुरालाई नेपालले पाठ सिकेर नेपालको हवाई उद्योगलाई सुरक्षित बनाउन तथा मौसममात्र नभई जहाजको प्राविधिक पार्टलाई पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेकामा विज्ञहरूको जोड छ । जतिसुकै ठूलो जहाज भए पनि एउटा इन्जिन फेल भएपछि अर्को इन्जिनले उड्ने गरी बनाइएको हुन्छ । ‘यो दुर्घटना हेर्दा या त दुवै इन्जिन जानुपर्यो, बाहिरको एक्सट्रनल फ्याक्टर चरा ठोक्किएको हुनुपर्दछ,’ पूर्व महानिर्देशक गौतमले भने, ‘जहाज टेकअप हुनेबित्तिकै हाइट लिन सकेन । ग्राउण्ड लेबलबाट चार सय २५ फिट हुँदाखेरि दुर्घटना भएको देखिन्छ । जहाजको दुवै इन्जिन फेल भएको हो कि जस्तो देखिन्छ ।’ पूर्व महानिर्देशक गौतमले जहाज दुर्घटनाले नेपालमा असर नपरे पनि हवाई यात्रीको कन्फिडेन्स घट्ने र यसको सबै क्षेत्रमा असर पर्ने बताए । विमानस्थल नजिकै रहेको बस्तीमा दुर्घटना ग्रस्त भएकाले एयर इन्डियाका कारण मानवीय क्षतिसमेत बढी भएको समाचार एजेन्सीहरूले बताएका छन् ।रासस