विकासन्युज

सिटिजन्स सदाबहार योजना शुक्रबारदेखि देखि सार्वजनिक निष्कासनमा

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ आगामी शुक्रबार (असार १३ गते)देखि सार्वजनिक निष्कासनमा आउन लागेको छ । यो योजनाको कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड रहेको छ भने योजना व्यवस्थापक तथा डिपोजिटरी सिटिजन्स क्यापिटल लिमिटेड हो । योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँ अंकित मूल्यमा ५ करोड इकाई निष्कासन हुनेछ । जसमध्ये ७५ लाख इकाई (१५ प्रतिशत) सिटिजन्स बैंकलाई सुरक्षित राखिनेछ र बाँकी ४ करोड २५ लाख इकाई सर्वसाधारणका लागि सार्वजनिक निष्कासन हुनेछ । सार्वजनिक निष्कासनमा न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । निष्कासन छिटोमा असार १७ गते र ढिलोमा असार २७ गतेसम्म खुला रहनेछ । यदि थप गरिएको बिक्री अवधिभर कम्तीमा २ करोड ५० लाख इकाईका लागि आवेदन नपरेमा योजना खारेज हुने र आवेदकको रकम फिर्ता गरिने व्यवस्था गरिएको छ । तर मागभन्दा बढी आवेदन परेमा २५ प्रतिशत इकाई थप गरी अधिकतम ६ करोड २५ लाख इकाईसम्म बाँडफाँड गरिनेछ । योजना खुलामुखी भएकाले यसको परिपक्व अवधि तय हुनेछैन । बाँडफाँड भएको ३ महिनापछि इकाईको खरीद–बिक्री सुरु गर्न सकिनेछ । साथै, यो धितोपत्र दोस्रो बजारमा सूचीकरण नहुने भए पनि अधिकृत वितरकमार्फत कारोबार गर्ने व्यवस्था मिलाइएको छ ।

नारायणगढ-मुग्लिन सडक सञ्चालन

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्ड बिहीबार दिउँसो बन्द गरिएकामा अहिले नियमित रूपमा दुईतर्फी सवारीसाधन आवतजावत गरिरहेका छन् । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना–६ स्थित तुइनभिरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिकामा काम नसकिएपछि पुनः ३ बजेसम्म बन्द गरिएको थियो । कुनैपनि समयमा माथिबाट ढुङ्गा झर्ने र सम्भावित दुर्घटना हुनसक्ने भएकाले जोखिम कम गर्न र दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालयबाट लामो बुमसहितको स्काभेटर प्रयोग गरी ढुङ्गा झरिएको उनले जानकारी दिए । ढुङ्गा झरिएसँगै दुईतर्फी सवारीसाधन आवतजावत गरिरहेका इञ्जिनियर कृष्ण आचार्यले बताए । बन्दा अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारीसाधन रोक्नका कार्यालयले अनुरोध गरेको थियो ।   

पिंगलास्थान एकीकृत समाजको अगुवाइमा लागुऔषधविरुद्ध जनजागरण

काठमाडौं । विश्व लागुऔषध दिवसको अवसर पारेर बिहीबार श्री पिंगलास्थान एकीकृत समाजले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । ‘लागुऔषध विरुद्ध एकजुट होऔं’, ‘स्वस्थ जीवन हाम्रो अभियान’ भन्ने नारासहित आयोजित र्याली तथा चेतनामूलक कार्यक्रम पिंगलास्थानबाट सुरु भई बत्तीसपुतली, पुरानो बानेश्वर, सिनामंगल हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट पुनः पिंगलास्थानमा समापन गरिएको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिका-९ का वडाअध्यक्ष रामजी भण्डारी, वडा सदस्य टेकराज अधिकारी, नेपाली काँग्रेसका युवा नेता मनीष कोइराला, सामुदायिक प्रहरीका प्रतिनिधि, स्थानीय सामाजिक अगुवा, सर्वसाधारण तथा शिक्षण संस्थाहरूको उपस्थिति रहेको थियो । संयोजक संस्था श्री पिंगलास्थान एकीकृत समाजका अनुसार कार्यक्रमले लागूपदार्थको दुर्व्यसन, ओसारपसार र प्रयोग न्यूनीकरण, त्यसका सामाजिक असर, पारिवारिक विखण्डन र रोकथामका उपायहरूबारे सन्देश दिनुका साथै नयाँ पुस्तामा सचेतना फैलाउने उद्देश्य बोकेको थियो । प्लेकार्डसहित र्यालीमा सहभागीहरूले स्थानीय बासिन्दा र यात्रुहरूलाई संवेदनशील बनाउँदै लागुऔषध न्यूनीकरणमा सबैको भूमिका आवश्यक रहेको सन्देश दिएका थिए।  आयोजकका अनुसार यस्ता कार्यक्रमले स्थानीय तह र नागरिक समाजको सहकार्यमा समुदायमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्‍याउने विश्वास गरिएको छ।

२६ करोडमा बनेको दोर्दी सडक अमेरिकन 'अस्फाल्ट' प्रविधिबाट कालोपत्र सुरु, दशैँतिहारसम्म सम्पन्न गर्ने

लमजुङ । लमजुङस्थित दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक अमेरिकन ‘अस्फाल्ट’ प्रविधिको कालोपत्र सुरु भएको छ । यस खण्डअन्तर्गत उदीपुर-रिठ्ठेबगर-नौथर सडकमा केहीदिन अघिदेखि कालोपत्र सुरु भएको हो । गण्डकी प्रदेश सरकारले ‘एक पालिका, एक सडक’ पुर्‍याउने अभियानअन्तर्गत कालोपत्र गर्न सुरु गरिएको पूर्वाधार विकास कार्यालय लमजुङका सूचना अधिकारी नरेशराज जोशीले बताए । उनका अनुसार पालिकाको केन्द्र जोड्ने यो सडक सात दशमलव १२१ किलोमिटर रहेकामध्ये चालु आर्थिक वर्षमा तीन किमी कालोपत्र भइरहेको छ । यो प्रविधिबाट गरिएको कालोपत्र टिकाउ, दिगो, र उत्कृष्ट रहेको सूचना अधिकारी जोशीको भनाइ छ । आगामी दसैँतिहारसम्ममा सबै सडक कालोपत्र भइसक्ने लक्ष्य रहेको उनले बताए । उनका अनुसार अहिले बेँसीसहर नगरपालिका–१ उदिपुर बजार तल मर्स्याङ्दी नदी पारीबाट कालोपत्र सुरु गरिएको हो । जोशीले भने, ‘यस सडकको काम केही वर्षअघि सम्पन्न हुनुपर्नेमा ठेकेदारले समयमा काम नगर्दा पटकपटक म्याद थप गरेर पनि सम्पन्न हुन नसक्दा ढिलाइ भएको हो ।’  उनका अनुसार सम्झौता अनुसार वि.सं २०७९ असार २ गतेभित्र कालोपत्र गरिसक्नुपर्ने भए पनि कोभिडका कारण निर्माण सुरु गर्न ढिलाइ भएको देखाउँदै निर्माण कम्पनीले वि.सं २०७९ पुससम्म सक्नेगरी जिम्मेवारी पाएको थियो । उक्त समयभित्र पनि निर्माण सम्पन्न नभएपछि पुनः म्याद थप गर्दै वि.सं २०८० असार २९ गतेसम्म सम्पन्न गर्नुपर्नेमा सो अवधिमा सम्पन्न नभएपछि विसं २०८१ मङ्सिर २८ गतेसम्म समयसीमा ताकिएको थियो । ‘सो समयसम्म पनि निर्माण सम्पन्न नहुँदा हालसम्म पनि म्याद थप हुन सकेको छैन । म्याद थपका लागि मन्त्रालयमा पठाइएको छ । केही दिनमा विवरण आउने छ’, उनले भने ।  सडकको निर्माणका लागि कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौंले विसं २०७७ असार ३ गते सम्झौता गरेको थियो । प्रदेश सरकारको रु २६ करोड २९ लाख छ हजार २२५ लगानीमा निर्माण भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।  कार्यालयका अनुसार यस वर्ष मात्र रु चार करोड १० लाख कार्यालयले भुक्तानी गरेको छभने हालसम्म करिब रु २१ करोड भुक्तानी भइसकेको छ । लामो समयसम्म ठेकेदार कम्पनीले काम नगरेर निर्माणमा ढिलाइ भएको कार्यालयका सूचना अधिकारी जोशीले बताए । ‘पछि सरकारले रकम उपलब्ध गराउन नसक्दा निर्माणमा असर परिरहेको छ । बजेट सुनिश्चिताका लागि सम्बन्धित निकायमा पत्र पठाएका छौँ । तत्काललाई करिब रु दुई करोड लाग्ने अनुमान छ’, उनले भने ।    पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका–१ उदिपुरबाट बेँसीसहर–११ हुँदै दोर्दी गाउँपालिका–४ मा जोडिन्छ । सोमध्ये सडकको दुई ठाउँमा गरी एक हजार ११३ घनमिटर सडक ढलान गर्ने जनाइएको छ । कालोपत्र चार सेन्टिमिटरको हुनेछ ।  रासस

सेयर बजारमा ७ अर्ब ७८ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.४५ अंकले घटेर २५९५ बिन्दुमा झरेको छ । आज ९३ कम्पनीको सेयर मूल्य बढ्दा १५५ कम्पनीको सेयर मूल्य घटेको छ । बिहीबार ३०६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७८ करोड रुपैयाँ बराबरको करोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार बुटवल पावर कम्पनीको भएको छ । बुटवलको ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, राधी विद्युत कम्पनीको ३९ करोड, न्यादी गुप्रको ३२ करोड, सिंगटी हाइड्रोको ३१ करोड र बरुन हाइड्रोपावरको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.१८ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । 

सरकारले ‘टेक एण्ड पे’ नीति फिर्ता लिएपछि ऊर्जा व्यवसायी खुसी

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा हालैको एउटा महत्वपूर्ण निर्णयले निजी क्षेत्रको आत्मविश्वास बढाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत घोषणा गरेको ‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति अन्ततः फिर्ता लिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को शान्तिपूर्ण आन्दोलन र खबरदारीकै कारण यो निर्णय फिर्ता लिइएको हो ।  प्रेस सम्मेलनमार्फत इप्पानले टेक एण्ड पे प्रावधान हटाइएकोमा खुसी व्यक्त गर्दै आन्दोलनमा साथ दिने सबै राजनीतिक दल, सरकारका प्रतिनिधि, पत्रकार, नागरिक समाज तथा सरोकारवालालाई धन्यवाद ज्ञापन गरेको छ। इप्पानका अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष तथा आन्दोलन संयोजक मोहनकुमार डाँगी र महासचिव बलराम खतिवडाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार विद्युत ऐन २०४९ र नियमावली २०५० ले निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा खोलिए पनि पीपीएको सुनिश्चितता नहुँदा लगानी आउन सकेको थिएन । तर २०५५ सालदेखि निजी क्षेत्रको आक्रामक लगानीले अहिले कुल उत्पादनको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । इप्पानले प्रस्तुत गरेको तथ्यांकअनुसार, टेक एण्ड पे नीति लागू भए १७ हजार १ सय १७ मेगावाटका विभिन्न विकास चरणमा रहेका जलविद्युत आयोजना पूर्ण रूपमा अनिश्चित हुने थिए भने यसमा लगानी भइसकेको १ खर्ब ९ अर्ब रुपैयाँ डुब्ने खतरा थियो ।  प्रारम्भिक अध्ययनमा ६६ अर्ब २२ करोड लागत अनुमान गरिए पनि चार्टर्ड एकाउन्टेन्टहरुको सहभागितामा नमूना आयोजनाको गहिरो विश्लेषणपछि वास्तविक लागत १ खर्ब ९ अर्ब पुगेको पुष्टि गरिएको छ ।  इप्पानले जेठ १६ गते आकस्मिक बैठक गरी आन्दोलन घोषणा गरेको थियो । तीन चरणमा योजना बनाइएको आन्दोलनको पहिलो चरणमा शान्तिपूर्ण भेटघाट, ज्ञापनपत्र, सामाजिक सञ्जाल र एसएमएसमार्फत जनचेतना फैलाउने कार्य गरिएको थियो । दोस्रो चरणमा सम्बन्धित निकायको घेराउ र सडक आन्दोलन तथा तेस्रो चरणमा आयोजना सरकारलाई हस्तान्तरण गर्ने चेतावनी दिइएको थियो ।  यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री विष्णु पौडेल, ऊर्जामन्त्री दीपक खड्का लगायतसँग भेटघाट तथा ज्ञापनपत्र बुझाउने काम गरिएको इप्पानको विज्ञप्तिमा उल्लेख छ । असार १० गते अर्थमन्त्री पौडेलले संसद्मा प्रष्ट रूपमा टेक एण्ड पे नीति हटाइएको घोषणा गरे । 

म्याग्दीमा व्यावसायिक अरिङ्गालपालन, भुटेको लार्भा पाहुनाको रोजाइ

म्याग्दी । पाखो बारीको भित्तामा सासाना प्वाल छन् । नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनि अरिङ्गालका गोला छन् । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीले राहुवडास्थित पाखोबारीमा व्यावसायिक अरिङ्गालपालन गर्दै आएका छन् । शाहीले नजिकैको जङ्गलबाट ल्याएर ११ गोला अरिङ्गाल पाल्न थालेको जानकारी दिए । राहुवडामा खुर्सानीखेतीका लागि सम्याएको पाखाको भित्ता र जामुनाखर्कमा घरको बार्दलीमा उनीसँगै श्रीमतीले गीताले अरिङ्गालपालन गरेकी हुन् ।  'नयाँ किसिमको व्यवसाय गर्ने योजनाअनुसार गत वर्ष जङ्गलबाट घरमा ल्याएर गरेको अरिङ्गालपालन सफल भएको छ', गीताले भनिन्, 'मौरी जसरी नै गोला स्थानान्तरण विधिबाट अरिङ्गाल पाल्दा यसको संरक्षणसँगै आम्दानीको स्रोत हुने रहेछ ।'  पर्वतको जलजला गाउँपालिकाको लघुउद्यम विकास सहजकर्तासमेत रहेकी गीताको योजनालाई गाउँमा हस्तकला तथा फर्निचर उद्योग सञ्चालन गर्दै आएका श्रीमान् अशोकले साथ दिएका छन् ।  प्रत्येक दुई महिनामा एउटा गोलाबाट आठ किलोसम्मको अरिङ्गालको लार्भा निकाल्न सकिने शाहीले जानकारी दिए । 'जङ्गलमा अरिङ्गालको गोला देखाउनेलाई बिक्री गरेर भएको आम्दानीको आधा रकम दिने गरेका छौँ', अशोकले भने, 'अरिङ्गालले टोक्न नसक्ने कपडा र सुरक्षा कवच (सेफ्टी बेल्ट) प्रयोग गरी रुखमा चढेर रानीसहितको अरिङ्गालको गोला ल्याएर पाल्ने गरेका छौँ ।' जङ्गलबाट ल्याइएको अरिङ्गाल २५ प्रतिशत भागेर जाने र ७५ प्रतिशत मात्रै राखेको ठाउँमा बस्ने गरेका शाही दम्पतीको अनुभव छ । 'बेनीका होटलमा अरिङ्गालको लार्भाबाट बनेका परिकार बिक्री हुन्छन् । काँचो लार्भा प्रतिकिलो तीन हजार ५०० रुपैयाँका दरले बिक्री हुने गरेको छ', शाहीले भने ।  गत वर्ष ३० किलो लार्भा उत्पादन गरेका शाही दम्पतीले यस वर्ष २५ वटा गोला पालेर करिब एक क्विन्टल लार्भा बेच्ने लक्ष्य राखेको बताए । 'एउटा गोलाबाट एकपटकमा आठ किलोसम्म लार्भा निकाल्न सकिन्छ । प्रत्येक दुई/दुई महिनामा लार्भा निकाल्न सकिन्छ', उनले भने ।  पालेका अरिङ्गाल चरनका लागि जङ्गल र खेतबारीमा जान्छन् । किरा, फट्याङ्जा, विभिन्न प्रजातिका फूल तथा फलफूल अरिङ्गालका आहारा हुन् । झरी परेको समयमा मासु र फलफूल आहाराका रूपमा दिने गरेको शाहीले बताए ।  शक्तिवर्धक मानिने अरिङ्गालको भुटेको लार्भा प्रतिरिकापी रु ६०० का दरले बिक्री हुने बेनीका होटल व्यवसायी राजन लामाले बताए । अरिङ्गाल बर्खायाममा बेनीमा आउने पाहुनाको प्रमुख रोजाइमा पर्ने गरेको उनको अनुभव छ । जेठबाट गोला बनाउन सुरु गर्ने अरिङ्गालका लार्भा कात्तिकसम्म बिक्री हुन्छन् ।  'अरिङ्गाल पाल्न सजिलो काम भने होइन । गोला जङ्गलबाट सार्दा सावधानी अपनाउन सकिएन भने ज्यान जोखिममा पर्छ । अरिङ्गाल रिसाएर टोक्ने सम्भावना बढी हुन्छ', अशोकले भने, 'बास बसेको समयमा स्थानान्तरण गर्नुपर्छ । मानिसको आवतजावत कम हुने ठाउँमा ल्याएर पालेका छौँ ।' उनका अनुसार रातो र कालो जातका अरिङ्गाल बढी पाइन्छन् ।  जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले अरिङ्गालपालन म्याग्दीमा नयाँ वनजन्य उद्यम भएको बताए । 'लार्भाका लागि गोला पोलेर अरिङ्गालको वंशनै नष्ट गर्नुभन्दा पालन गर्दा यसको संरक्षण पनि हुने, आम्दानी पनि हुन्छ', उनले भने, 'जोखिम भएकाले अरिङ्गालपालनमा सावधानी भने अपनाउन आवश्यक छ ।' रासस

ह्वात्तै घट्यो प्रभु हेलिकप्टरको बिजनेस, औंल्याइयो कारण

काठमाडौं । प्रभु हेलिकप्टरको आम्दानीमा व्यापक गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कम्पनीको सञ्चालन आम्दानी ३७.६४ प्रतिशत घटेको छ ।  कम्पनीले सन् २०२४ मा २६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जबकि सन् २०२३ मा कम्पनीले ४१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो ।  यस्तै सन् २०२२ मा कम्पनीले २२ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  कम्पनीले ६४ करोड रुपैयाँ ऋणको लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले अल्पकालीन ऋणका लागि केयर एनपी ए फोर को रेटिङ प्रदान गरेको छ भने दीर्घकालिन ऋणका लागि केयर एनपी बी रेटिङ प्रदान गरेको छ । कम्पनीको नाफा मार्जिन पनि घटेको छ । सन् २०२३ मा ५४.०८ प्रतिशत नाफा मार्जिन रहेको यस कम्पनीको सुन २०२४ मा ४५.३४ प्रतिशत कायम भएको छ । सन् २०२२ मा २७.४८ प्रतिशत थियो ।  केयर रेटिङ नेपालले सञ्चालनको अस्थिरता, अत्यधिक ऋण बोकेको पुँजी संरचना र मध्यम ऋण तिर्ने क्षमता, नगद प्रवाहमा दबाब, बैंकको ब्याजदरमा अस्थिरता र पर्यटन क्षेत्रको मौसमी चक्रीय असर लगायत कारण आम्दानीमा प्रभाव परेको उल्लेख गरेको छ ।  यस्तै, अनुभवी प्रवर्द्धक, नयाँ लगानीकर्ताको आगमनको कम सम्भावना र सरकारको पर्यटन प्रवर्द्धनको नीतिले कम्पनीलाई भविष्यमा राम्रो गर्न सक्ने सम्भावना रहेको उल्लेख छ ।  सन् २०१५ मा मुक्तिनाथ एयरलाइन्स प्रालिबाट मुख्य स्वामित्व प्रभु हेलिकप्टरले खरिद गरेको थियो । कम्पनी सन् २०२२ मा प्रभु हेलिकप्टर लिमिटेड पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । यस हेलिकप्टर कम्पनीमा प्रभु ग्रुपको मुख्य लगानी छ । जसको नेतृत्व देवी  प्रकाश भट्टचनले गरिरहेका छन् ।