विकासन्युज

केराबारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । केराबारीमा बृहद निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा सञ्चालन भएको छ । मोरङ उद्योग व्यापार संघ र नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल विराटनगरको संयुक्त आयोजना तथा केराबारी व्यापार प्रवन्ध समितिको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । उक्त शिविरमा जनरल मेडिसिन सेवा, स्त्रीरोग सेवा, हाडजोर्नी नसा रोग सेवा, बालरोग सेवा, नाक, कान, घाँटी सेवा, दन्तरोग सेवा, शल्यक्रियाचिकित्सा सेवा, आँखाजाँच सेवा, रेडियोलोजी सेवा, ईसीजी (मुटुको जाँच) सेवा, ल्याव परिक्षण (रगत, पिसाव जाँच) सेवाहरुबाट ७०० भन्दा बढी स्थानीयवासीले सेवा लिएका थिए।      सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखी मोरङ उद्योग व्यापार संघ र नोबेल हस्पिटल निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।  सो क्षेत्रका नगरवासीहरूको स्वास्थ्य परीक्षण, विभिन्न रोगका चेक जाँच गर्न अझ बढी सहज होस भन्ने उद्देश्यले सो शिविर राखिएको हो । एक दिने उक्त शिविरमा संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह, प्रवक्ता दिपेश सुवेदी, स्वास्थ्य शिविर संयोजक एवं संघका आमन्त्रित सदस्य डा.दीपेन्द्र नौलखा, युवा उद्यम समिति संयोजक अमित अग्रवाल, महिला उद्यम समितिकी सह-संयोजक साधना झा, सचिव जीना श्रेष्ठ, संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मी त्यसैगरी केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष लगायत कार्यसमितिको उपस्थिति रहेको थियो ।

महालक्ष्मी विकास बैंकका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा विभिन्न्न कार्यक्रम सम्पन्न गरेको छ ।  सोही अन्तर्गत बैंकको मार्तडी-बाजुरा शाखाद्धारा बाजुरास्थित श्री लक्ष्मी माध्यमिक विद्मालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका तथा पढाइमा अब्बल रहेका विधार्थीहरुलाई अध्ययनलाई सहज होस भन्ने हेतुका साथ स्कुल ब्याग वितरण गरेको छ । साथै पाटन नगरपालिका- ०१ मेल्चौरा बैतडी स्थित श्री सिद्धेश्वर माध्यामिक विद्यालयलाई यस बैंकको पाटन-बैतडी शाखाद्वारा शौचालय निर्माणको लागि आर्थिक सहयोग गरेको छ ।  ८०० विद्यार्थी र ३० जना कर्मचारी रहेका उक्त विद्मालयमा शौचालयको आवश्यकता रहेको तथा सम्भावित सरुवा रोगहरुबाट बच्न सहयोग पुगोस भन्ने हेतुले आर्थिक सहयोग गरिएको हो ।  त्यसैगरी बैंकको महेन्द्रनगर शाखाले कञ्चनपुर स्थित श्री बैजनाथ धाम तथा वृद्धाश्रम सेवा समितिलाई खाद्यान्न सामाग्री प्रदान गरेको छ ।   साथै काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.४ क्वाँटोल, चण्डेश्वरी स्थित श्री मदन आश्रित आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीहरुका लागि राउण्ड टेबल नेपालको सहकार्यमा शैक्षिक सत्र २०८२ को लागि छात्रवृति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।  साथै यस बैंकको कलैया शाखाले गर्मीको समयमा उच्च तापक्रमको कारणले हुन सक्ने असजिलो कम गर्न निःशुल्क सर्वत पानी वितरण गरेको छ ।  त्यसैगरी, प्रहरी वृत मालीगाउँ काठमाण्डौंलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत मालीगाँउ, काठमाण्डौंलाई स्थलगत रुपमा खटिने प्रहरीहरुलाई सहज होस भन्ने उद्देश्यका साथ खानेपानी वितरण गरेको छ । साथै रोटरी क्लब अफ वीरगंजको सहकार्यमा १० थान कृत्रिम खुट्टा तथा १० थान कृत्रिम हात वितरण गर्न आर्थिक सहयोग गरिएको छ भने रोटरी क्लब अफ गैंडाकोटको सहकार्यमा श्री नवदुर्गा आधारभुत विद्यालयमा शौचालय निर्माणको लागि आर्थिक सहयोग गरिएको छ ।  बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

अब सरकारी कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरूलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ ।  अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ ।  योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।

यातायात व्यवस्था विभागको सर्भरमा समस्या, अनिश्चितकालका लागि लाइसेन्ससम्बन्धी सम्पूर्ण सेवा बन्द

काठमाडौं । यातायात व्यवस्था विभागको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा प्राविधिक समस्या देखिएको छ । विभागले  शुक्रबारदेखि (लाइसेन्स) प्रणालीमा प्राविधिक समस्या देखिएपछि लाइसेन्ससँग सम्बन्धित सबै सेवाहरू अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ । विभागले शुक्रबार सूचना जारी गर्दै प्रणालीमा समस्या आएकाले समाधानको प्रयास भइरहेको उल्लेख गरेको छ । सूचनाअनुसार इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक अवस्थामा गरिने लाइसेन्स प्रिन्ट लगायतका सम्पूर्ण कामहरू पूर्ण रूपमा रोकिएका छन् ।  प्रणालीमा आएको यस समस्याले गर्दा नयाँ लाइसेन्सका लागि अनलाइन आवेदन दिने, लिखित तथा प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेकाहरूको राजस्व तिर्ने, बायोमेट्रिक दिने, लाइसेन्स नवीकरण गर्ने र स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने जस्ता सबै कामहरू देशभर ठप्प भएका हुन् ।  विभागले प्रणालीको मर्मत तथा समाधानको कार्य जारी रहेको बताए पनि कहिलेसम्ममा सेवा पुनः सञ्चालनमा आउँछ भन्नेबारे कुनै निश्चित समयसीमा तोकेको छैन ।  यसअघि पनि पटक-पटक विभागको सर्भरमा समस्या आउँदा सेवाग्राहीले सास्ती खेप्दै आएका थिए । सेवा अवरुद्ध हुँदा लाइसेन्सको परीक्षा पास गरेर बसेका, विदेश जानका लागि छिटो लाइसेन्स बनाउन चाहेका तथा नवीकरणको पर्खाइमा रहेका लाखौं सेवाग्राहीहरू प्रत्यक्ष मारमा परेका छन् ।   

एनआईसी एसिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच विश्वका विभिन्न देशहरुबाट नेपालमा आएका अलीपे प्लस नेटवर्क प्रयोग गर्ने पर्यटकहरूले नेपालपे क्युआर मर्चेन्टहरूमा सोझै भुक्तानी गर्न सक्ने गरी सम्झौता सम्पन्न भएको छ ।  यस सम्झौतापछि भुक्तानी प्रणाली सेवा प्रदायक अलीपे प्लसमा जोडिएका ११ भन्दा धेरै मुलुकका नागरिक नेपाल आउँदा आफ्नो देशको वालेट वा बैंकिङ एपमार्फत यस बैंकले उपलब्ध गराएको नेपालपे क्युआर मर्चेन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध भएको छ ।  उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत (सीईओ) जयन्द्र रावल र एनसीएचएलका सीईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।  अलिपे प्लस नेटवर्कमा हाल चीन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, मकाओ, जर्मनी लगायतका देशका विभिन्न बैंक तथा भुक्तानी प्रदायकहरु आवद्ध रहेका छन् ।  यस सम्झौतापछि यस बैंकमा जोडिएका मर्चेन्टहरुले अलिपे प्लस नेटवर्कमा जोडिएका मुलुकहरुका पर्यटकहरूले नेपालपे क्युआर मार्फत गर्ने भुक्तानी सहजै प्राप्त गर्न सक्नेछन् ।  बैंक र एनसीएचएलबीच भएको यस सम्झौताले मुलुकको अन्तरदेशीय क्युआर भुक्तानीमा समेत प्रवद्र्धन गरी नेपालमा आउने पर्यटकहरुका लागि सहजै भुक्तानी गर्ने सेवा उपलब्ध गराएको छ । 

ग्लोबल आइएमई समुन्नत योजना बिक्रीमा, १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल

काठमाडौं । सेयर, सेयर, सेयर ! टोलमा, क्याफेमा, अफिसमा, सबैतिर सबै जना सेयरको कुरा गर्छन् ।  एउटाले सेयरबाट मालामाल कमायो भन्छ । अर्कोले फाइदा लिनै नजानेको कुरा गर्छ । अर्कोले ठूलो रकम गुमाएको कुरा गर्छ । यसले तपाईंलाई दुविधा बनाएको हुनसक्छ ।  पुँजी बजारमा लगानी गर्न इच्छा छ तर प्रयाप्त जानकारी छैन, उच्च जोखिम लिनु हुन्न भन्ने सोचमा हुनुहुन्छ भने म्युचुअल फण्डमा लगानी गर्नु तपाईंको लागि सजिलो विकल्प हुनसक्छ ।  ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ बिक्रीमा अर्थात सार्वजनिक निष्काशनमा ल्याएको छ । १ अर्ब २० करोडको यस कोषमा लगानीकर्ताको माग बढी भएको अवस्थामा १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने कम्पनीले जनाएको छ ।  यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलका अनुसार यस योजनाका इकाईधनीहरूले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् ।  बैंकले ५ प्रतिशतभन्दा कम ब्याज दिइरहेको र सेयरमा लगानी गर्न पनि जोखिम देख्ने लगानीकर्ताको लागि यो राम्रो अवसर भएको जानकारहरू बताउँछन् ।  वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत लाभांश दिने कम्पनीको प्रक्षेपण मन पर्यो ? मन परेको छ भने तपाईले असार २२ गतेदेखि मेरो सेयरमा अनलाइन आवेदन गर्न गर्न सक्नु हुनेछ । लगानी आवेदन छिटोमा असार २५ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन बन्द हुनेछ ।  यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् । प्रति इकाई मूल्य १० रहेको यस म्युचुअल फण्डमा एक हजार रुपैयाँदेखि अधिकतम १ करोड २० लाख रुपैयाँसम्म लगानी गर्न सकिनेछ । यो फण्ड १० वर्ष अवधिको हो । २०९२ साल साउनमा यो योजना सकिनेछ र लगानीकर्ताको लगानी फिर्ता हुनेछ ।   यो म्युचुअल फण्ड नेपाल स्टक एक्सचेञ्ज सूचीकृत हुने भएकोले आफूलाई चाहेको बेलामा बेलामा बेचेर पैसा लिन पाइन्छ ।  यस योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल हो जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ । यस योजनाको निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङले आईआरएन एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ । यसको अर्थ यस म्युचुअल फण्ड र यसको व्यवस्थान राम्रो छ भन्ने हो ।  ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजनाहरू सञ्चालनमा छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुनर्खरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।  

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

काठमाडौं । एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक, विद्युतीय सवारी साधन ९ईभी० मा केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्ने भएको छ । ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउने उद्देश्यले सर्भिस सेन्टर सञ्चालनमा ल्याउन लागिएको एमएडब्लु वृद्धिले जनाएको छ। रणनीतिक रूपमा शहरका प्रमुख स्थानहरूमा स्थापना हुने यी सर्भिस सेन्टरहरूले एमएडब्लूका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवा प्रदान गर्ने विश्वास लिइएको छ । डीपल, डोङ्गफेङ्ग र सेरेस ब्रान्डका विद्युतीय सवारीसाधनहरूका लागि मात्र यो सर्भिस सेन्टर समर्पति हुने जनाइएको छ । सर्भिस सेन्टरमा २५ वटा विशेष सर्भिस बेहरू रहनेछन् जसले धेरै संख्याका गाडीहरूलाई एकैपटक सजिलो, सूक्ष्म र दक्ष रूपमा मर्मत गर्न सक्ने क्षमता राख्नेछन्।  एक्स्पर्ट केयरका लागि यी नयाँ केन्द्रहरू एमएडब्लूका दोस्रो र तेस्रो ईभी डेडीकेटेड सर्भिस वर्कशप हुनेछन् । यस विस्तारसँगै एमएडब्लू वृद्धिको ईभी सर्भिस सेन्टरको संख्या तीन पुग्नेछ ।  यी नयाँ सर्भिस सेन्टरहरू आगामी ३ देखि ५ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।  

एभरेष्ट बैंकको १३३ औं शाखा महोत्तरीको बर्दिबासमा विस्तार

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबास नगरपालिका वडा नं १ मा आफ्नो १३३औं शाखा विस्तार गरेको छ ।  यो शाखासँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ । यस शाखाको उद्घाटनसँगै महोत्तरीबासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ । बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले शाखाको उद्घाटन गरे । बर्दिबासमा बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेका र देशैभरि १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६८ एटीएम छन् ।  यस बैंकले भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ ।