विकासन्युज

नालामा पुल भाँचियो, राजधानी जाने वैकल्पिक सडक अवरुद्ध

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो । उक्त पुल विसं २०३७ मा निर्माण भएको जनाइएको छ । स्थानीय शान्तलाल श्रेष्ठका अनुसार आज बिहान सबेरै मालबाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्माण भएको उक्त पुल भाँचिएको हो । पुल भाँचिएपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो । यही बाटो प्रयोग गरी राजधानी जाने र राजधानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको छ । हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए । जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट उक्त सडकखण्डमा सवारी नपठाउन भनिएको र बनेपाबाट राजधानीतर्फ जाने सवारी बनेपामा रोकिएको जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजूले उक्त सडकखण्ड अस्थायी रुपमा सञ्चालन गर्न सडक विभाग र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए ।

चैते धान बिक्री नभएर चिन्तामा किसान, समर्थन मूल्य निर्धारण गर्न आग्रह

भजनी ।  कैलालीको भजनी नगरपालिका–३ का सन्तलाल चौधरी चैते धान बिक्री नभएर चिन्तामा छन् । यसवर्ष तीन बिघाहमा लगाएको धान उनले अझैँ बिक्री गर्न सकेका छैनन् । व्यापारीलाई धान खरिद गरिदिन हारगुहार गर्दा पनि उनले उत्पादन गरेको धान बिक्री हुन सकेको छैन । ‘व्यापारीले सस्तोमा धान खोज्नुहुन्छ । उहाँहरुले भनेको दररेटमा धान बिक्री गर्दा आफ्नो लागत नै उठ्ने देखिँदैन ।’ उनी भन्छन्, ‘आजभोलि धान रोपेर पछुतो लागिरहेको छ ।’ सरकारले चैते धानको समर्थन मूल्य तोकेको भए पनि त्यो मूल्यमा व्यापारी किसानको धान खरिद गर्न इच्छुक देखिएका छैनन् । किसानले प्रतिक्विन्टल रु दुई हजारदेखि दुई हजार ५०० सम्ममा बिक्री गरिरहँदा कतिपय किसानको त्यतिमा पनि धान बिक्री हुन सकेको छैन । गत वर्ष प्रतिक्विन्टल रु तीन हजार ८०० रुपैयाँ पाएका किसानलाई यसवर्ष उत्पादन बढेपछि धान बिक्री गर्न समस्या भएको अर्का किसान डल्लु दास बताउँछन्। ‘गतवर्ष मैले नै  तीन हजार ८०० प्रतिक्विन्टल चैते धान बिक्री गरेको थिए ।’उनले भने, ‘यसवर्ष त्यहीँ धान बिक्री गर्नका लागि व्यापारीसँग हारगुहार किसानले गरिरहेका छन् ।’ उनका अनुसार कैयौँ किसानले उदारोमा पनि धान व्यापारीलाई दिएका छन् । पैसा कहिले पाइने भन्ने ग्यारेन्टी नभएर पनि किसानले व्यापारीलाई धान बिक्री गर्न थालेलको डल्लु बताउँछन्। भजनी नगरपालिका–५ लालभोझीका कृषि बुढाले उत्पादन गरेको धान उदारोमा जबरजस्ती व्यापारीका जिम्मा लगाउनुपरेको गुनासो गरिन् । उनले नगदमा उत्पादन गरेको वस्तु उदारोमा बेच्नु पर्ने बाध्यता आइपरेको बताए । ‘एक बिघा क्षेत्रफलमा चैते धान लगाउँदा झण्डै १८ हजार खर्च आउँछ । उत्पादन भएको धान बिक्री गर्नलाई बजार छैन । कसैलाई बेच्नु पर्ने भए पनि  लागत भन्दा कममा बिक्री गर्नुपर्ने बाध्यता छ ।’ उनले भने, ‘न्युनतम दररेट तोकेको सरकारले कम्तिमा भनेकै दररेटमा धान खरिदको व्यवस्था गरिदिएको भए किसान हतोत्साहित हुने स्थिति आउने थिएन ।’ भजनीमा यसवर्ष झण्डै एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धानको खेती भएको थियो । उत्पादनका हिसाबले किसानमा वर्षेनी आकर्षण बढ्दै गएको भए पनि बजारीकरणले सधैँ धोका हुने गरेको किसान परदेशु चौधरीको भनाइ छ । उनले गतवर्ष धानको राम्रो रेट पाएपछि यसवर्ष दुई बिघाह बिस्तार गरेको बताउँदै अहिले त्यो विस्तार गरेकोमा पछुतो लाग्न थालेको  बताए । ‘उत्पादन राम्रो भएका कारण किसानको आकर्षण बढ्दै गएको छ ।’ उनले भने, ‘उत्पादन भएको धान बिक्रीका लागि हुने समस्याले आगामी वर्षमा उत्पादन घट्ने सम्भावना देखिएको छ ।’ वर्षात सुरु भइसकेका कारण किसानलाई उत्पादन भएको धान व्यवस्थापनमा चुनौती थपिएको छ । बाढी र डुवानको उच्च जोखिममा रहेको भजनी सामान्य वर्षामा डुवानमा पर्छ । डुवान भएपछि उत्पादन भएको धानलाई कहाँ व्यवस्थापन गर्ने भन्ने अर्को चिन्ता किसानलाई छ । ‘व्यापारीले समयमा धान खरिद नगरे उत्पादन भएको धान कता राख्ने भन्ने चिन्ता छ ।’ स्थानीय भोजराज कठरिया भन्छन्, ‘वर्षातको समयमा घर बाढीले डुवाउँदा आफै हुलाकी सडकमा जानुपर्ने बाध्यता हुन्छ । खानका लागि राखिएको अन्नपात त जोगाउन सकिँदैन भने यत्रो धान कसरी व्यवस्थापन गर्ने होला ?’ कैयौँ किसानले उत्पादन गरेको धान आज पनि हुलाकी सडकमै छ । घरमा राख्ने ओभानो ठाउँ नभएपछि किसानले धान घर नलिएर व्यापारी खोजिरहेका छन् । किसानलाई दबाबमा राखेर सस्तोमा धान खरिद गर्ने दाउ व्यापारीले खोजिरहेका छन् । ‘हामी किसानको समस्या देखेर निकै चिन्तित छौँ । हरेक निकायलाई गुहार माग्दा पनि समस्या समाधान हुन सकेको छैन ।” भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले भने, ‘प्रदेश सरकार, साल्ट ट्रेनिङ, सङ्घीय सरकारसँग पनि किसानले उत्पादन गरेको धान खरिदको लागि आग्रह गर्दै आएका छौँ, सुनुवाइ भएको छैन ।’ उनले धानको समर्थन मूल्य तोकेको सरकारले धान खरिद गरेर सहजीकरण गरिदिन पनि आग्रह गरे । ‘आज सयौँ क्विन्टल धान उत्पादन भएको छ । सरकारले धान खरिद नगर्दा त्यसको फाइदा व्यापारीले उठाएका छन् ।’ उनले भने, ‘आज किसानले लागतभन्दा कम मुल्यमा धान बेच्न विवश छन् भने भोली त्यो किसान कृषिमा कसरी उत्साहित बन्न सक्ला ?’ भजनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको चैते धान जोन सञ्चालन हुँदै आएको छ । धान जोनका कारण यसवर्ष भजनीमा चैत धान विस्तार विगतको भन्दा बढेको थियो । रासस

नेपालमै करिअर बनाउन ह्वाइट हाउसको काउन्सिलिङ

काठमाडौं । हिमालयन ह्वाइट हाउसले तीन दिने करिअर काउन्सिलिङ कार्यक्रम सुरु गरेको छ । विशेषगरी कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई केन्द्रित गर्दै यो कार्यक्रमको आयोजना गरिएको हो ।  प्लस टु पास गरिसकेपछि नेपाली युवाको लर्को विदेशतिर लागिरहेको अवस्थामा विद्यार्थीलाई नेपालमै रोक्नको लागि कलेजले कार्यक्रम गरेको जनाएको छ ।  पुतलीसडकस्थित कलेज प्रांगणमा शुक्रबारबाट सुरु भएको कार्यक्रममा विद्यार्थीले आफ्नो रुचि तथा योग्यताका आधारमा सही करिअर कसरी छनोट गर्न सकिन्छ भन्नेबारे ब्याचलर्समा अध्ययनरत विद्यार्थीहरूले काउन्सिलिङ गरिरहेका छन् ।  विद्यार्थीहरूको रुचि क्षमताको मूल्यांकन गर्दै उपयुक्त शैक्षिक क्षेत्र वा पेशा कसरी रोज्ने भन्नेबारे विद्यार्थीलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजका प्रधानाध्यापक तोयानारायण पौडेलले बताए ।  ‘अहिले नेपालमा ब्याचलर तहको शिक्षा कस्तो छ भन्ने सबैलाई थाहा छ,’ उनी भन्छन्, ‘कमसेकम १२ कक्षा सकेर विदेश जाने विद्यार्थीमात्रै नेपालमै रोक्न सक्ने हो भने विद्यार्थीहरू लागि पनि राम्रो र देशका लागि पनि फाइदा हुन्छ, तर योतिर ध्यान कसैको गएको पाइँदैन ।’  हिमालयन ह्वाइट हाउसले विदेशमा ५०/६० लाखमा पढाइ हुने कोर्स नेपालमा ७/८ लाखमा गर्न सक्ने भन्दै विद्यार्थीहरूलाई उत्प्रेरणा दिन काउन्सिलिङ गरिरहेको छ ।  कार्यक्रममा नेपालभित्र पढाइ हुने विषय, अवसरका विषयमा विद्यार्थीलाई काउन्सिलिङ गरिरहेको छ । कार्यक्रममा उपत्यका भित्रका र बाहिरका विभिन्न कलेजका विद्यार्थीको सहभागिता रहेको छ । पहिलो दिन के गरियो ? कार्यक्रमको पहिलो दिन करिअर काउन्सिलसँगै फुड फेस्ट र म्युजिकल कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न स्टल राखेर बरिस्टा, किचन कुकिङ, बार लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा सिकेको कुरालाई कसरी प्रयोग ल्याउने भन्नेबारे समेत उनीहरूलाई सिकाइयो । सिकेका आधारमा प्रतिस्पर्धा गराइ उत्कृष्ट समूहलाई प्रमाणपत्रसमेत दिइएको छ । सँगै डान्स कार्यक्रम पनि गरिएको थियो ।  पहिलो दिन ६ सयभन्दा बढी विद्यार्थी कार्यक्रममा सहभागी भएको कलेजले जनाएको छ । ‘विद्यार्थीहरूका लागि यस्ता कार्यक्रमको निकै महत्व छ, उनीहरूले कक्षाकोठा भित्रको भन्दा राम्रो सिक्छन्,’ कलेजका प्रधानाध्यापक तोयानारायण पौडेलले भने ।  शनिबार इन्जिनियर र मेडिकलमा जाने रुचि भएका विद्यार्थीलाई काउन्सिलिङ गर्ने जनाइएको छ । कुन विषय पढ्दा यसको फाइदा स्वदेशमा कस्तो छ र विदेशको हकमा कस्तो छ भन्ने सिकाइने भएको छ ।  कार्यक्रममा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज र नेशनल इन्स्टिच्युट अफ इन्जिनियरिङ इन म्यानेजमेन्टमा सञ्चालित १२ वटा फरक–फरक कार्यक्रमको बारेमा विद्यार्थीलाई जानकारी दिएको छ ।  जहाँ बीएचएम, बीबीए, बीआइटी सिभिल इन्जिनियरिङ, बायोटेक, बायोमेडिकल लगायतका कार्यक्रम सञ्चालनमा छन् । प्लस टु पास भएका विद्यार्थीलाई यी विषयमा जानकारी दिइ रुचिअनुसार विषय छनोट गर्न सल्लाह दिइरहेको प्रधानाध्यापक पौडेलले भने । खुसी विद्यार्थी बझाङकी प्रियंका बोहोरा तीनकुनेमा रहेको पेन्टागन इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययन गर्छिन् । अहिले उनी परीक्षा दिएर नतिजाको पर्खाइमा छिन् । फुर्सदको समयमा उनी शुक्रबार हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजले आयोजना गरेको कार्यक्रममा आएकी थिइन् ।  पहिलो पटक ‘द राइजिङ लिडर’ कार्यक्रममा सहभागी भएकी प्रियंका यस्ता कार्यक्रम विद्यार्थीको लागि निकै आवश्क रहेको बताउँछिन् । किताबी ज्ञानभन्दा दैनिक जीवनमा प्रयोग हुने व्यवहारिक कुराहरू निकै आवश्यक रहेको बताउँदै हरेक कलेजले यस्ता कार्यक्रम गर्न आवश्यक रहेको सुनाउँछिन् ।  ‘एक दिन यो कार्यक्रममा सहभागी हुँदा मैले धेरै कुरा सिकें,’ भन्छिन्, ‘बरिष्टा, बारको विषयमा त्यति थाहा थिएन तर आज सिक्ने अवसर मिल्यो । सँगै  नयाँ साथीहरूसँग पनि परिचय भयो । यो अवसरको लागि कलेजलाई धन्यवाद ।’ प्रेस्टन इन्टरनेशनल कलेजमा अध्ययनरत ऋतिका लामाले कार्यक्रममा आउँदा कफी कसरी बनाउने भन्ने बारेमा थाहा पाइन् । दैनिक जीवनमा खाँदै आएको कफी कसरी बनाउने, यो बनाउन के के चाहिन्छ भन्ने विषयमा जानकारी पाउँदा उनी निकै खुसी थिइन् ।  ‘सिकाउने समकक्षीहरू पनि राम्रो हुनुहुन्थ्यो, हामीले पनि रमाइलो तरिकाले सिक्यौं,’ उनी भन्छिन्, ‘विदेश जाने साथीहरूका लागि त अझ यस्तो सीप निकै आवश्यक छ । रमाइलो भयो नयाँ साथीहरूसँग चिनजान भयो, लगानी कसरी गर्ने, मार्केटिङ के हो भन्नेबारे पनि थाहा भयो ।’ प्रियंका, ऋतिकाजस्ता काठमाडौं उपत्यका भित्र र बाहिरका विद्यार्थी अहिले करिअर हिमालयन ह्वाइट हाउसमा करिअर काउन्सिलिङका विषयमा सिकिरहेका छन् । 

मौद्रिक नीति यी तीन पक्षमा केन्द्रित हुनुपर्ने सीएनआईको सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव दिएको छ ।  शुक्रबार राष्ट्र बैंककमा आयोजित एक कार्यक्रममा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले राष्ट्र बैंकका गभर्नर विश्व पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गरे । परिसंघका अनुसार हालको आर्थिक मन्दीबाट मुलुकलाई पुनः लयमा फर्काउन मौद्रिक नीतिले निर्णायक भूमिका खेल्नुपर्ने आवश्यकता छ । परिसंघले राष्ट्र बैंकलाई पेश गरेको सुझावपत्रमा भनिएको छ, ‘विगत तीन वर्षदेखि नेपाली अर्थतन्त्र जटिल परिस्थितिबाट गुज्रिरहेको छ । पछिल्ला केही महिनामा बजार मागमा आंशिक सुधार देखिए पनि आर्थिक गतिविधि अझै सामान्य स्थितिमा फर्किएको छैन ।’ परिसंघको पछिल्लो ‘इन्डष्ट्रियल स्टाटस रिपोर्ट’ अनुसार हाल बजार माग १९ प्रतिशतले सुधारिएको देखिए पनि उद्योगहरूको सञ्चालन क्षमता अझै औसत ६२ प्रतिशतमा सीमित छ । गत वर्ष यो क्षमता ४० प्रतिशत मात्र थियो । यसले देखाउँछ कि आर्थिक गतिविधि अझै पूर्ण रूपमा पुनः सुचारु भइसकेको छैन । यसैगरी, परिसंघले ब्याजदर ऐतिहासिक रूपमा घटेको भए पनि कर्जा माग अत्यन्त न्यून रहेको उल्लेख गर्दै लगभग ६ खर्ब रुपैयाँबराबरको कर्जायोग्य रकम बैंक प्रणालीमै थन्किएको उल्लेख गरेको छ ।  बजारमा मागको कमी, निजी क्षेत्रको लगानीप्रतिको उदासीनता र सरकारी नीतिगत अनिश्चितताले गर्दा कर्जा प्रवाहमा उल्लेखनीय सुधार नआएको परिसंघको भनाइ छ । खासगरी राष्ट्र बैंकको मौद्रिक नीति यी तीन पक्षमा केन्द्रित हुनुपर्ने सुझाव परिसंघले दिएको छ ।  माग बढाउने नीति :  तत्कालको न्यून बजार मागलाई उकास्ने तथा आर्थिक गतिविधि सक्रिय बनाउने नीति आवश्यक । नीतिगत सुधार : मौद्रिक नीतिमा स्पष्टता, स्थिरता र पूर्वानुमान कायम गर्न सुधारात्मक उपायहरू अवलम्बन गर्नुपर्ने । संरचनागत सुधार : राष्ट्र बैंक स्वयंको संस्थागत दक्षता र प्रभावकारिता बढाउन संरचनागत सुधारमा पनि ध्यान दिनुपर्ने । परिसंघका अध्यक्ष अग्रवालले मौद्रिक नीतिको तयारी प्रक्रियामा निजी क्षेत्रका धारणा ग्रहण गरेकामा राष्ट्र बैंक र गभर्नरप्रति आभारसमेत व्यक्त गरेका छन् ।

सडक ऐन परिमार्जन हुँदै, अनुमतिबिना सडक खन्नेलाई १० लाख जरिवाना

काठमाडौं । सरकारले करिब ५० वर्ष पुरानो ‘सार्वजनिक सडक ऐन, २०३१’ लाई प्रतिस्थापन गर्दै सडक पूर्वाधारलाई सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउन नयाँ ऐन ल्याउने तयारी गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामा सडक अनुशासन उल्लंघन गर्नेलाई कडा दण्ड र जरिवानाको प्रस्ताव गरिएको छ । मन्त्रालयका अनुसार पुरानो ऐन समयसापेक्ष नभएकाले नयाँ विधेयक आवश्यक परेको हो । हाल सरोकारवालाहरूबाट सुझाव संकलन भइरहेको र प्राप्त सुझावहरूलाई समेटेर विधेयकलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ ।  विधेयकको मस्यौदामा सार्वजनिक सडकको वर्गीकरण, सडक सीमा, जग्गा प्राप्ति, क्षतिपूर्ति, सवारी साधनको आकार र भारवहन क्षमता निर्धारण जस्ता विषयहरू समेटिएका छन् ।  मस्यौदा अन्तिम भएपछि मन्त्रिपरिषदबाट स्वीकृतिका लागि पठाइनेछ । त्यसपछि संघीय संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।  विधेयकमा सडकमा क्षति पुर्‍याउने र नियम मिच्नेलाई प्रस्तावित दण्ड (जरिवाना) कडा बनाइएको छ । अनुमतिविना सडक खन्दाः सडक कार्यालयको अनुमति नलिई ढल, पाइप, बिजुलीको पोल वा तार बिछ्याउन सडक खनेमा १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ भने सडक छेउमा अनुमति नलिई पेट्रोल पम्प, चार्जिङ स्टेशन, होटल वा ग्यारेजजस्ता संरचना बनाएमा १० लाख रुपैयाँसम्म जरिवाना गरिने बताइएको छ।  यसैगरी, सडक खन्न स्वीकृति लिएर पनि तोकिएको मापदण्ड पूरा नगरेमा १० लाख रुपैयाँसम्म जरिवाना, तोकिएको भारवहन क्षमताभन्दा बढी सामान बोक्ने मालवाहक सवारीलाई प्रतिपटक ५ लाख रुपैयाँसम्म जरिवाना, तोकिएको सडक सीमाभित्र स्थायी भवन वा संरचना बनाएमा ५ लाख रुपैयाँसम्म जरिवाना, सडक कार्यालयको स्वीकृति लिएर पनि तोकिएका सर्त र मापदण्डविपरीत काम गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।  यसैगरी, सडक निर्माण वा मर्मतका लागि सामग्री लैजान वा सडकमा राखिएका सामान हटाउन अवरोध गरेमा १ लाख रुपैयाँसम्म जरिवाना, सडक सौन्दर्यीकरणका लागि रोपिएका रुखबिरुवा काटेमा वा क्षति पुर्‍याएमा १ लाख रुपैयाँसम्म जरिवाना गर्ने भनेको छ भने हाल २ हजार मात्र जरिवाना छ ।  तोकिएको भन्दा ठूलो आकारका वा सडकलाई क्षति पुर्‍याएमा उपकरण चलाएमा १ लाख रुपैयाँसम्म जरिवाना, अवरोध र हुलहुज्जतः जग्गा अधिग्रहण वा गैरकानुनी संरचना हटाउँदा अवरोध गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद हुने व्यवस्था पनि मन्त्रालयले गरेको छ ।  हाल २ हजार मात्र जरिवाना छ भने सार्वजनिक सडकमा घरपालुवा पशुपंक्षी छाडेमा ५ हजार रुपैयाँसम्म जरिवाना हुने मन्त्रालयले जनाएको छ ।

लगानीका लागि आवश्यक सहजीकरण र स्थिर वातावरण प्रदान गर्न महासंघ प्रतिवद्ध :अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।  बेलायत-नेपाल चेम्बर अफ कमर्स र नेपाल दूतावास, लन्डनको संयुक्त आयोजनामा लण्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू रहेको बताउँदै बेलायती व्यवसायीहरूलाई लगानीको लागि आग्रह गरेका हुन् ।   नेपाल र बेलायतबीचको आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित लण्डन स्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा दुवै देशका व्यापारी, लगानीकर्ता र समुदायका प्रतिनिधिहरूको सहभागिता थियो ।  कार्यक्रममा विशेष सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाल र बेलायतबीच २ सय  वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध रहेको, गोरखा सैनिकहरू भर्ती, विकास सहयोग, शिक्षा र व्यापारमा बेलायतको ठूलो योगदान रहेको चर्चा गर्दै दुई देशबीचको यो सम्बन्धलाई व्यापार र लगानीमार्फत थप उचाइमा पुर्‍याउनु पर्ने बताए ।  नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहको चर्चा गर्दै उनले नेपालको रणनीतिक भौगोलिक अवस्थिति, युवा र दक्ष जनशक्ति, कम श्रम लागत र विस्तार भइरहेको मध्यम वर्गले लगानीमैत्री वातावरण निर्माण गरेको बताए ।  ‘नेपालमा जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू रहेको छ । नेपालसँग ४० हजार  मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्न सक्ने क्षमता छ । स्वच्छ र हरित ऊर्जा भविष्य हो र हामी बेलायती कम्पनीहरूलाई यी अवसरमा सहभागी हुन आमन्त्रण गर्छौं,’ अध्यक्ष ढकालले भने सूचना प्रविधिमा नेपाली युवाको सीप र दक्षताले नेपाललाई आउटसोर्सिङ र डिजिटल सेवाको प्रतिस्पर्धी हब बनाउन सकिने बताउँदै अध्यक्ष ढकालले लगानीकर्तालाई नेपालमा लगानीको लागि आवश्यक सहजीकरण र स्थिर वातावरण प्रदान गर्न महासंघ प्रतिवद्ध रहेको बताए । नेपाल र बेलायतबीचको सम्बन्धलाई प्रगाढ बनाउन बेलायतस्थित नेपाली समुदायले खेलेको भूमिका सराहनीय रहेको चर्चा गर्दै अध्यक्ष ढकालले नेपाली उत्पादनको बजारीकरण, पर्यटन प्रबर्द्धन लगायतका क्षेत्रमा नेपाली समुदायले थप योगदान दिन सक्ने बताए । कार्यक्रमले दुवै देशबीच व्यापार, लगानी र सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

विकाश हाइड्रोपावरको आईपीओमा १४ लाखभन्दा बढीको आवेदन

काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा १४ लाख ७८ हजार ८३९ जनाले आवेदन दिएका छन् । कम्पनीले असार १८ गतेदेखि निष्काशन गरेकाे उक्त आईपीओमा हालसम्म (२० गते) सम्ममा  १ करोड ८२ लाख २४ हजार ३२० कित्ताका लागि  ४ लाख ७८ हजार ८३९ जनाले आवेदन दिएका हुन् । प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस आईपीओमार्फत विकाश हाइड्रोपावरले कुल २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्छन् । लगानीकर्ताले असार २२ गतेसम्म आवेदन पाउनेछन् । विकाश हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गरेको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना हाल ४‍.५५ मेगावाट क्षमतासहित २०७९ साल फागुन १७ गतेदेखि व्यवसायिक उत्पादनमा आएको छ । उत्पादन भएको विद्युत् हाल राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको र बिक्री भइरहेको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ बाँडफाँड नियमअनुसार छिट्टै हुने जनाइएको छ । यस कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ ट्रिपल बी माइनस प्रदान गरेको छ ।

महालक्ष्मी मन्दिरलाई ललितपुर महानगरको ६३ लाख ८१ हजार रुपैयाँ बराबरको चाँदी सहयोग

काठमाडौं । ललितपुर महानगरपालिकाले महालक्ष्मीथानस्थित महालक्ष्मी मन्दिरलाई ३४ हजार ३०० ग्राम (३४.३ केजी) चाँदी सहयोग गरेको छ । महानगरले शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच महालक्ष्मीथान व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । महानगरले हस्तान्तरण गरेको उक्त चाँदी जीटुजीमार्फत किनेर हस्तान्तरण गरेको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । उनका अनुसार महानगरले नेपाल राष्ट्र बैंकसँग बिहीबारको बजार भाउअनुसार चाँदी खरिद गरेको हो ।  हिजोको बजारभाउ अनुसार चाँदी प्रतितोला २१ सय ७० रुपैयाँ रहेको छ । ३४ हजार ३ सय ग्राम चाँदी तोलामा रूपान्तरण गर्दा २९ सय ४१ तोला हुन आउँछ । यसरी हिसाब गर्दा महानगरले महालक्ष्मी मन्दिरलाई ६३ लाख ८१ हजार ९७० रुपैयाँ बराबरको चाँदी हस्तान्तरण गरेको हो । व्यवस्थापन समितिले मन्दिरमा चाँदी अलङ्कार राख्ने प्रयास गरेको प्रयासलाई सराहना गर्दै सहयोग गर्न पाउँदा सौभाग्य महसुस गरेको प्रमुख महर्जनले बताए ।  प्रमुख महर्जनका अनुसार यसरी महानगरले चाँदी नै हस्तान्तरण गरेको पहिलो पटक हो । प्रमुख महर्जनले पैसा दिनुको साटोमा चाँदी नै उपयुक्त हुने भन्दै चाँदी सहयोग गरेको जानकारी दिए ।  प्रमुख महर्जनले चाँदी अलङ्कार राख्ने  काममा कुनै पनि किसिमको कमीकमजोरी नदेखिने गरेर काम गर्न व्यवस्थापन समितिलाई अनुरोध गरे ।  ‘काममा कसैले आलोचना नआउनेगरी काम गर्नूहोस्, छिटोभन्दा छिटो सम्पन्न गर्नूहोस्,’ प्रमुख महर्जनले भने । त्यस्तै प्रमुख महर्जनले जे काम गरिन्छ, त्यसमा पारदर्शी भएर काम गर्दा कसैले औंला नउठाउने अभिव्यक्ति दिए। महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दासले महानगरले सम्पदा र संस्कृतिमा उदाहरणीय काम गर्दै आएको बताइन् ।  ‘हामीले सम्पदा र संस्कृतिमा गरेको उदाहरणीय काम देखेर अन्य पालिकाहरू हामीसँग सिक्न आउनुहुन्छ । तपाईंहरूले कसरी काम गरिरहनु भएको छ भनेर । यसले हामीलाई थप उत्साह मिल्छ,’ उनले भनिन् ।  प्रमुख प्रशासकीय अधिकृत दासले महालक्ष्मी मन्दिरको लागि सहयोग गरेर इँटा थप्ने अवसर पाएकोमा खुसी व्यक्त गरिन् । व्यवस्थापन समितिले मन्दिरमा पित्तलको ठाउँमा चाँदी अलङ्कार निर्माण गर्न लागेको हो । चाँदी अलङ्कार व्यवस्थापन समितिका संयोजक द्वारिका नाथ खनालका अनुसार अहिलेसम्म विभिन्न उद्योग व्यवसायी, संस्था, भक्तजनबाट सहयोग जुटिरहेको छ । चाँदी अलङ्कारमा कुनै पनि अपरदार्शिता नहुने बताउँदै उनले हरेक कुरा पारदर्शितामा हुने प्रतिबद्धता जनाए ।  ललितपुर महानगर वडा नं ५ का वडाअध्यक्ष विकासमान श्रेष्ठले महालक्ष्मी मन्दिरलाई चाँदीले अलंकार गर्नको लागि भक्तजनबाट मात्रै एक/डेढ करोड भक्तजनबाट उठिसकेको बताए । महानगरले पनि त्यस कार्यक्रमा सहयोग गरेको उनले धन्यवाद व्यक्त गरे ।  ज्यापू समाजका अध्यक्ष एव समितिका सल्लाहकार सन्तमान महर्जनले महालक्ष्मी मन्दिर विगतका दिनमा भन्दा धेरै नै व्यवस्थित बन्दै गएको र यसमा सबैको ठूलो योगदान रहेको जानकारी दिए । मन्दिरलाई थप सुन्दरता बढाउन चाँदीको अलंकार राख्न लागेको र त्यसमा सबैको सहयोगको अपेक्षा राखेका छन् । यसमा ज्यापू समाजको आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।