असन प्रवेशद्धारमा निर्मित सिंहद्धारको बालेनले गरे उद्घाटन
काठमाडौं । राजधानीको ऐतिहासिक तथा प्रमुख व्यापारिक केन्द्र असन बजारको प्रवेशद्धारमा निर्माण गरिएको सिंहद्धार (सिंहको मूर्ति) काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । काठमाडौं महानगरपालिका वडा नं. २७ अन्तर्गत पर्ने कमलाक्षीस्थित असन प्रवेशद्वारमा स्थापना गरिएको सिंहको प्रति मूर्तिको निर्माण लागत सात लाख रुपैयाँ रहेको आर्किटेक्ट इन्जिनियर गौरव श्रेष्ठले जानकारी दिएका छन् ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा नवलपरासी पश्चिम सरावल गाउँपालिका–२ का ४० वर्षीय भूपनारायण चौधरीलाई पक्राउ गरिएको छ । अभियुक्त चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा निजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार ललितपुर महानगरपालिका–४ बाट पक्राउ गरेको हो । यसैबीच, बैङ्किङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पनि पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुली दुधौली नगरपालिका–८ घरका ३० वर्षीय प्रलाद खड्का र हेटौँडा उपमहानगरपालिका–४ घर भएका ३६ वर्षीय सुनिल लामालाई पक्राउ गरिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रलादलाई काठमाडौं महानगरपालिका–७ चावहिल गङ्गाहिटीबाट बिहीबार र सुनिललाई चन्द्रागिरि नगरपालिका–५ गुर्जुधाराबाट शुक्रबार पक्राउ गरेको हो । पक्राउमध्ये प्रलादलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र सुनिललाई इलाका प्रहरी कार्यालय सिमरा बारा पठाइएको छ ।
विद्यार्थीलाई गगनको सुझाव : ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भएपनि भने जति गर्न नसकेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कसैले देशमा खतरा गरेको छ भनेर पनि नपत्याउन र देशमा केही भएन भनेर भन्नेहरुको कुरा पनि नपत्याउन विद्यार्थीलाई आग्रह गरे । आफूले अध्ययन गरेर मात्रै समर्थन र विरोध गर्न सुझाव दिए । देशमा केही राम्रो भएको तर केही राम्रो गर्न नसकिएको स्वीकार गरे । राम्रो गरेकोमा धन्यवाद दिन र भनेजति गर्न नसकेकोमा प्रश्न गर्न आग्रह गरे । विद्यार्थीलाई अब हाम्रो जिम्मा हो भनेर जिम्मेवारी लिँदै नथाक्न, नभाग्न र नगल्न सुझाव दिए । महामन्त्री थापाले भने, ‘कसैले यो देशमा खतरा गरेको छ, भएको छ भनेर नपत्याउनुस् । तर कसैले आएर यो देश बर्बाद भयो, झुर भयो भनेर पनि नपत्याउनुस् । यो देशमा केही राम्रो भएको छ । गर्नुपर्ने जति राम्रो किन गरिनस् भनेर गाली पनि गर्नुस् । बाँकी रहेको म गर्छु भनेर जिम्मा लिनुस् न । नथाक्नुस्, नभाग्नुस् । नगल्नुस् । अडिएर बस्नुस् । नयाँ कुरा सिक्नुस्, क्वेशन गर्नुस् । क्रिटिकल हुनुस्, रमाइलो पनि गर्नुस् ।’ महामन्त्री थापाले अब आउने पुस्ताले आफूले भन्दा राम्रो काम गर्ने आफूलाई विश्वास रहेको बताए ।
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएका छौँ : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएको बताएका छन् । शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नेकपा (माओवादी केन्द्र) पर्सा—काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ०८४ बाट देशलाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा प्रवेश गराउने दाबी गरे । महिला, उत्पीडित, आदिवासी, जनजाति सबैको निम्ति क्रान्तिको झण्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठूलो भुमिका संगीतले खेलेको बताए । जनयुद्धताका भाषण, दर्शन, सिद्धान्तको व्याख्याले भन्दा गीत, संगीत र नृत्यहरुले बढी भुमिका खेलेको बताए । आगामी निर्वाचनको लडाईंमा पनि गीत, संगीतको माध्यमबाट निर्णायक भुमिका खेल्ने जानकारी दिए । अध्यक्ष दाहालले भने, ‘आउने ०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ । यही विश्वास छ । मलाई विश्वास छ, कमरेडको रुपमा तपाईंहरु सबै पनि आफ्नो भुमिका पूरुा गर्नुहुनेछ ।’ अध्यक्ष दाहालले अब पर्सामा पार्टीको विजय यात्रा शुरु भएको दाबी गरे ।
लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर
सिरहा । सिरहाको प्रमुख भन्सार कार्यालय माडरले चालु आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा राजस्व असुलीको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयका अनुसार असार महिनाबाहेक नै १३ करोड ७५ लाख ८१ हजार राजस्व सङ्कलन भइसकेको छ, जुन चालु आवको कूल लक्ष्य रु १२ करोड १२ लाख ९२ हजारभन्दा एक करोड ६२ लाख ८९ हजार बढी हो । भन्सार प्रमुख तोयानाथ सापकोटाका अनुसार मङ्सिरबाहेक सबै महिनामा राजस्व लक्ष्यभन्दा बढी उठाइएको हो । उनले भने, 'मङ्सिरमा मात्र ९४ प्रतिशत राजस्व सङ्कलन भएको थियो, बाँकी सबै महिनामा लक्ष्यभन्दा बढी सङ्कलन भएको छ ।' उनका अनुसार, अहिलेसम्मको समग्र राजस्व सङ्कलन लक्ष्यको ११३ प्रतिशत पुगेको छ । सापकोटाले चालु आवको अन्तिम महिना असारमा लक्ष्यभन्दा बढी राजस्व उठ्ने प्रक्षेपण गर्दै आव सकिँदासम्म १५ प्रतिशत बढी राजस्व सङ्कलन हुने विश्वास व्यक्त गरे। राजस्व सङ्कलनमा सफलता हासिल गर्दा पनि माडर भन्सारमा लामो समयदेखि छलफलमा रहेको ‘प्लान्ट क्वारेन्टाइन’ सेवा स्थापनामा भने अझै ठोस कार्यान्वयनको चरणमा पुगेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सम्बन्धित विभागले सेवा स्थापनाको आवश्यकता बारम्बार औँल्याउँदै आएका छन्, तर प्रक्रियागत ढिलाइका कारण योजना अलपत्र छ । सापकोटाका अनुसार माडरमा प्लान्ट क्वारेन्टाइन सेवा स्थापना गरिएमा माडर, ठाडी र राजविराज गरी तीन वटा भन्सार कार्यालयलाई सेवा दिइनेछ । यी सबै नाका हुलाकी राजमार्गमार्फत माडरसँग सिधा जोडिएका छन्, जसले समन्वय र ढुवानी प्रक्रियालाई सहज बनाउनेछ । उहाँले अझै स्पष्ट पार्दै भने, 'यदि माडरमा प्लान्ट क्वारेन्टाइन सेवा उपलब्ध गराइयो भने राजस्व असुली पनि दोब्बरले वृद्धि हुने निश्चित छ ।' हाल कृषिजन्य वस्तु आयात–निर्यात गर्ने व्यवसायीलाई क्वारेन्टाइन प्रमाणीकरणका लागि पूर्वमा विराटनगर वा पश्चिममा जलेश्वरसम्म पुग्नुपर्ने बाध्यता छ । यसले ढुवानी खर्चमात्र होइन, उपभोक्ता मूल्यमा अप्रत्याशित वृद्धि गराएको व्यवसायीले गुनासो गरेका छन् । रासस
विधेयकमाथि छलफल गर्न पारिश्रमिक दिएर विज्ञ नियुक्ति गर्दै संसदीय समिति
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले विधेयकहरूमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने भएको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकहरुमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने भएको हो । समितिमा आउन लागेको मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ र बालबालिका सम्बन्धी ऐन, २०७५ को संशोधन विधेयकमाथि वृहत छलफल गर्नुपर्ने भएकाले त्यसमा आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्न उपयुक्त हुने समिति सभापति किरणकुमार साहले जानकारी दिए । ‘भोलिको दिनमा हाम्रो समितिमा आउन लागेको दुई वटा विधेयक मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ र बालबालिका सम्बन्धी ऐन, २०७५ को संशोधन विधेयकमाथि वृहत छलफल गर्नुपर्ने भएकाले र विज्ञहरुको आवश्यकता भएको कारणले विज्ञहरु नियुक्ति गर्नुपर्ने आवश्यकता देखेका छौं,’ उनले भने, ‘पारिश्रमिक बिना कसैले एक दिन, दुई दिन सहयोग गर्नसक्छ । तर हामीसँग पर्याप्त विज्ञ नियुक्ति गर्न बजेट भएकै अवस्थामा किन आर्थिक हिसाबले नै नियुक्ति नगर्ने ? दीर्घकालीन हिसाबले नै छलफल गरेर विज्ञको नियुक्ति गर्नुपर्ने देखिएको छ ।’ त्यसका लागि समितिमा काशिराज दाहाल र माधव पौडेलेको नाम प्रस्ताव समेत गरिएको छ । तर समितिका सांसदहरुले नै मानव बेचबिखन नियन्त्रण र रोकथामको बारेमा दुवै विज्ञहरू ज्ञाता नभएको भन्दै अन्य विज्ञहरू नियुक्ति गर्नु उचित हुने धारणा राखे । सभापति साहले सांसदहरुसँग विज्ञहरुको नाम भए दिन आग्रह गरेका छन् । समितिले पारिश्रमिक दिएर नै समितिको लागि विज्ञ नियुक्ति गर्दा कानून झनै राम्रो निर्माण गर्न सकिने सांसदहरूको धारणा छ ।
झापाका किसान वर्षा र मलको अभावले चिन्तित, धान रोपाइँ प्रभावित
बनियानी । झापामा पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ । असारको तेस्रो साता बित्न लाग्दा पनि पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित भएको हो । हल्दिबारी–६ का कृषक रतनकुमार भुलेलले गत वर्ष यतिबेला रोपाइँ गरिसकेको बताए । 'अघिल्लो वर्ष रोपाइँ सकेर खसिया (रोपाइँ गरेर पुनः उखेलेर रोप्ने) पनि सारिसकेको थिएँ', उनले भने । डेढ बिघामा खेती गर्दै आएका उनले सिचाइँको वैकल्पिक व्यवस्था नभएकाले समस्या भएको दुखेसो गरे । रोपाइँ नहुँदा बीउ पहेँलिएको छ । गत वर्ष यति बेला जिल्लामा करिब २५ प्रतिशत रोपाइँ सकिएको थियो भने यो वर्ष १४ प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका प्रसार अधिकृत चेतराज भण्डारीले पर्याप्त वर्षा नभएपछि पानी तान्ने मोटर किसानले प्रयोग गर्न थालेकाले रोपाइँ बढ्ने विश्वास व्यक्त गरे । मल अभाव झापामा गत वर्ष झैँ यस वर्ष पनि मल अभाव भएको छ । कृषकले मल नपाएको गुनासो गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । झापामा बर्खे धान खेतीका लागि डिपीए १२ हजार मेट्रिक टन र युरिया १४ हजार मेट्रिक टन आवश्यक पर्ने प्रमुख विष्टले जानकारी दिए । मागअनुसार आपूर्ति भएको छैन । गत वर्ष मागका आधारमा १० प्रतिशत मात्र मल आपूर्ति भएको उनले बताए । गोबरको प्रयोग बढाउन सके ४० प्रतिशत रासायनिकको प्रयोग घटाउन सकिने प्रमुख विष्टले बताए । झापामा बर्खे धानको उत्पादकत्व हरेक वर्ष बढ्दै गएको छ । जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा धानको उत्पादकत्व चार दशमलव ८५, आव २०७९/०८० मा चार दशमलव ८९ र गत आवमा ५ दशमलव ०५ पुगेको केन्द्रले जनाएको छ । जिल्लामा धान खेतीको क्षेत्रफल ८७ हजार पाँच सय हेक्टरबाट घटेर ७५ हजार चार सय ६९ हेक्टर भए पनि उत्पादकत्व भने वृद्धि भइरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले बताए । झापामा सबैभन्दा धेरै गौरादह नगरपालिकामा धान खेती हुने गरेको छभने सबैभन्दा कम दमक नगरपालिकामा हुने गरेको छ । गौरीगञ्ज र कचनकवलमा पनि मनग्ये धानखेती हुने गरेको केन्द्रले जनाएको छ । रासस
प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावनाबारे मलेसियाका व्यवसायीको छलफल
काठमाडौं । नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डलले आफूहरु नेपालमा नयाँ उद्यमहरूका लागि अर्थपूर्ण व्यावसायिक तथा दुई देशको सम्बन्ध स्थापित गर्न र नेपालको व्यावसायिक वातावरणबारे विस्तृतरुपमा बुझ्न भ्रमणमा आएको अवगत गराएको थियो । प्रधानमन्त्री ओलीले नेपालको समृद्धिका लागि विदेशी लगानीलाई प्रोत्साहन र सहजीकरण गर्न सरकारले कानुनी र संरचनात्मक सुधारहरु गर्दै आएको जानकारी गराउँदै नेपालमा लगानी गर्न आग्रह गरे ।आगामी दिनमा के कस्तो सुधार र सहजीकरण आवश्यक छ भन्नेमा सरकार सँधै व्यवसायीसँग सहकार्यमा रहने जानकारी दिए । प्रतिनिधिमण्डलले आफूहरुले नेपालमा फोहोर (प्लास्टिक) प्रशोधन, सूचना प्रविधि उद्यान, पर्यटन आदि क्षेत्रमा कााम गर्न उत्सुक भएको जनाएको छ । भेटका अवसरमा नेपालमा पर्यटन, कृषि, सूचना प्रविधि, जनशक्ति, कपडा र विविध क्षेत्रहरूमा लगानीको सम्भावनाबारे छलफल भएको थियो । मलेसियास्थित नेपाली दूतावासको सहकार्यमा आएको उक्त प्रतिनिधिमण्डल तीनदिने यात्राका लागि यही असार १८ गते काठमाडौं आएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडालगायत सहभागी थिए ।