९ संसदीय समितिका बैठक बस्दै, बाफिया संशोधन प्रस्ताव दर्ता गर्नेसँग छलफल हुने
काठमाडौं । सङ्घीय संसदका विभिन्न ९ वटा समितिका बैठक आज बस्दैछन् । प्रतिनिधिसभातर्फका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक बस्न लागेका हुन् । यस्तै, महिला तथा सामाजिक, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची छ । राष्ट्रिय सभातर्फको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछ । संयुक्त समितिको रुपमा रहेको संसदीय सुनुवाइ समितिको बैठक पनि आज बस्ने गरी कार्यसूची निर्धारण भएको छ । अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सदस्यसँग छलफल गर्ने कार्यसूची छ । अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल हुनेछ । उद्योग तथा वाणिज्य समितिमा नेपाल सरकारद्वारा किसानलाई अनुदान उपलब्ध गराउने रासायनिक मलको आयात तथा बिक्री वितरणका लागि निर्धारण भएको कोटाका सम्बन्धमा छलफल हुनेछ । कृषि तथा सहकारी समितिमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफल हुनेछ । पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, सुनकोशी मरिण डाइभर्सन आयोजना र विविध शीर्षकमा छलफल गर्ने कार्यसूची छ । शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ । सङ्घीयता सबलीकरण समितिमा समितिको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ । संसदीय सुनुवाइ समितिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल हुनेछ । प्रतिनिधिसभाको बैठक यही असार २३ गते सोमबार र राष्ट्रिय सभाको बैठक २४ गतेका लागि निर्धारण भएकाले समितिमा महत्त्वपूर्ण विधेयकलाई अगाडि बढाउने गरी छलफलको कार्यसूची तय गरिएको हो ।
कोशी र बागमतीमा भारी वर्षा, मनसुनी वायुको प्रभाव कायमै
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । महाशाखाका अनुसार आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
सबै मिलेर सरकार बनाउनु राम्रो कुरा : सभापति देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बनाउन कुनै न कुनै राजनीतिक दलसँग मिल्नैपर्ने बाध्यता रहेको बताएका छन् । शनिबार काठमाडौंमा स्व. गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको निर्वाचन प्रणालीअनुसार कसैको पनि बहुमत आउन गाह्रो रहेको बताए । बहुदलीय व्यवस्थामा प्रतिष्पर्धा हुनेकुरा स्वभाविक भएको पनि जानकारी दिए । सबै मिलेर सरकार बनाउनु राम्रो कुरा पनि भएको जिकिर गरे । बहुदलीय व्यवस्थामा प्रतिष्पर्धा हुनेकुरा स्वभाविक रहेको पनि बताए । जसकारण राजनीतिमा उत्तारचढाव आउनु स्वभाविक रहेको तर्क गरे । सभापति देउवाले भने, ‘हाम्रो देशमा यो बहुदलीय व्यवस्थामा कम्पिटिशन हुनेकुरा स्वभाविक हो । अरु उत्तारचढाव हुने स्वभाविक हो । तै पनि अहिले हामीले हेरिरहेका छौँ, हाम्रो देश अघि बढेको छ । महिला, दलित, जनजाति सबैको प्रतिनिधित्व भएको व्यवस्था छ । त्यस मानेमा यो समावेशी संविधान बनाएका छौँ । नमिले हुँदै हुँदैन, बाध्यतै हो यो । राम्रो कुरा पनि हो यो । कमसेकम सबै मिलेर काम गर्नु राम्रो पनि छ । मन परेको होस्, मन नपरेको होस् त्यस्तै छ । के गर्नुहुन्छ, काम गर्नुपर्ने छ ।’ सभापति देउवाले समूहिकृत रुपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
कुलिङ पिरियडमा अनियमितता छानबिन गर्न ७ सदस्यीय विशेष समिति गठन
काठमाडौं । सङ्घीय निजामती सेवा विधेयक, २०८० मा समेटिएको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको तोडमोड र अनियमितताको छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने सहमति भएको छ । शनिबार सभामुख देवराज घिमिरेसहित प्रमुख सचेतकहरूको छलफलपछि गठित हुने यो समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २/२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १/१ जना सदस्य रहनेछन् । समितिको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ । संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम बन्ने समितिको सदस्यको नाम सोमबार सार्वजनिक हुने र समितिलाई छानबिनका लागि १५ दिनको समय दिइने मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । आगामी बैठकले यस निर्णयलाई अनुमोदन गर्ने सहमति भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक सन्तोष परियाले पनि विशेष समिति गठनको सहमति भएको पुष्टि गर्दै दलहरुलाई भोलिसम्म सदस्यको नाम पठाउन सभामुखले आग्रह गरेको जानकारी दिए ।
सहकारीलाई अब केही समय नियन्त्रण, सन्तुलन अनि स्वतन्त्रता : मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीले तोडेको स्वनियमनको पद्धतिलाई ठिक ठाउँमा ल्याउन केही समय नियन्त्रण र सन्तुलन कायम गर्नुपर्ने बताएका छन् । शनिबार ललितपुरमा १०३ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कमजोरीहरू सबै ठाउँबाट भएको बताउँदै अब विगतमा भएका कमजोरीलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताएका हुन् । उनले सहकारी नियमन गर्नको निम्ति सहकारी नियमन प्राधिकरण बनाउनुपर्‍यो भनेर माग आए बमोजिम नै प्राधिकरण बनाइएको बताए । नियमन प्राधिकरण बनेसँगै काम नै सुरुवात नभई नियन्त्रण खबरदार भन्ने गरिएको उनको भनाई थियो। मन्त्री अधिकारीले भने, ‘कमजोरी सबै ठाउँबाट भएको छ । अब त्यो कमजोरीलाई सच्याएर अघि जान जरुरी छ । यहाँहरूकै माग हो की यो सहकारी नियमन गर्नको निम्ति सहकारी नियमन प्राधिकरण बनाउनुपर्‍यो भनेर यहाँहरूले नै आवाज उठाउनुभएको होइन ? यहाँहरूले आन्दोलन गर्नुभएको होइन, यहाँहरूले माग राख्नुभएको होइन ? अहिले त्यही नियमन प्राधिकरण बनेको छ । उसले कसरी काम गर्छ, कस्तो विधि बनाउँछ, भन्ने कुरा सुरुवात नहुँदै नियन्त्रण खबरदार भन्न थालिएको छ ।’ मन्त्री अधिकारीले सहकारी ठिक रहेको र सहकारी नै राष्ट्रको मेरुदण्ड भएको बताए ।
असन प्रवेशद्धारमा निर्मित सिंहद्धारको बालेनले गरे उद्घाटन
काठमाडौं । राजधानीको ऐतिहासिक तथा प्रमुख व्यापारिक केन्द्र असन बजारको प्रवेशद्धारमा निर्माण गरिएको सिंहद्धार (सिंहको मूर्ति) काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । काठमाडौं महानगरपालिका वडा नं. २७ अन्तर्गत पर्ने कमलाक्षीस्थित असन प्रवेशद्वारमा स्थापना गरिएको सिंहको प्रति मूर्तिको निर्माण लागत सात लाख रुपैयाँ रहेको आर्किटेक्ट इन्जिनियर गौरव श्रेष्ठले जानकारी दिएका छन् ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा नवलपरासी पश्चिम सरावल गाउँपालिका–२ का ४० वर्षीय भूपनारायण चौधरीलाई पक्राउ गरिएको छ । अभियुक्त चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा निजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार ललितपुर महानगरपालिका–४ बाट पक्राउ गरेको हो । यसैबीच, बैङ्किङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पनि पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुली दुधौली नगरपालिका–८ घरका ३० वर्षीय प्रलाद खड्का र हेटौँडा उपमहानगरपालिका–४ घर भएका ३६ वर्षीय सुनिल लामालाई पक्राउ गरिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रलादलाई काठमाडौं महानगरपालिका–७ चावहिल गङ्गाहिटीबाट बिहीबार र सुनिललाई चन्द्रागिरि नगरपालिका–५ गुर्जुधाराबाट शुक्रबार पक्राउ गरेको हो । पक्राउमध्ये प्रलादलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र सुनिललाई इलाका प्रहरी कार्यालय सिमरा बारा पठाइएको छ ।
विद्यार्थीलाई गगनको सुझाव : ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भएपनि भने जति गर्न नसकेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कसैले देशमा खतरा गरेको छ भनेर पनि नपत्याउन र देशमा केही भएन भनेर भन्नेहरुको कुरा पनि नपत्याउन विद्यार्थीलाई आग्रह गरे । आफूले अध्ययन गरेर मात्रै समर्थन र विरोध गर्न सुझाव दिए । देशमा केही राम्रो भएको तर केही राम्रो गर्न नसकिएको स्वीकार गरे । राम्रो गरेकोमा धन्यवाद दिन र भनेजति गर्न नसकेकोमा प्रश्न गर्न आग्रह गरे । विद्यार्थीलाई अब हाम्रो जिम्मा हो भनेर जिम्मेवारी लिँदै नथाक्न, नभाग्न र नगल्न सुझाव दिए । महामन्त्री थापाले भने, ‘कसैले यो देशमा खतरा गरेको छ, भएको छ भनेर नपत्याउनुस् । तर कसैले आएर यो देश बर्बाद भयो, झुर भयो भनेर पनि नपत्याउनुस् । यो देशमा केही राम्रो भएको छ । गर्नुपर्ने जति राम्रो किन गरिनस् भनेर गाली पनि गर्नुस् । बाँकी रहेको म गर्छु भनेर जिम्मा लिनुस् न । नथाक्नुस्, नभाग्नुस् । नगल्नुस् । अडिएर बस्नुस् । नयाँ कुरा सिक्नुस्, क्वेशन गर्नुस् । क्रिटिकल हुनुस्, रमाइलो पनि गर्नुस् ।’ महामन्त्री थापाले अब आउने पुस्ताले आफूले भन्दा राम्रो काम गर्ने आफूलाई विश्वास रहेको बताए ।