विकासन्युज

प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटललाई लाग्ने शुल्क ५० प्रतिशत घटाइँदै, लकइन समय दुई वर्ष कायम

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलहरूको स्वामित्वमा रहेको धितोपत्रको लकइन अवधि सार्वजनिक निष्काशन गरी बाँडफाँट भएको मितिले हालको एक वर्षबाट दुई वर्ष बनाउने व्यवस्था गर्न लागेको छ । बोर्डले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो व्यवस्था गर्न लागेको हो ।  बोर्डले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलको विद्यमान कोष व्यवस्थापन शुल्क, दर्ता तथा निष्काशन शुल्क ५० प्रतिशतले घटाउने व्यवस्था पनि अगाडि सारेको छ । प्राइभेट इक्विटि र भेन्चर्स क्यापिटलहरुलाई लगानीको समयावधि सकिएपछि लगानीमा रहेको सेयर सहज ढंगले बिक्री गरी लगानी फिर्ता लैजान सक्ने व्यवस्था गर्ने कार्यक्रम पनि बोर्डले अगाडि सारेको छ ।  बोर्डले नियमन व्यवस्था तथा सुधार, कानुन तर्जुमा, कानुन प्रबलीकरण तथा कारवाी बजार निरीक्षण तथा सुपरीवेक्षण, लगानीकर्ता शिक्षा र अध्ययन तथा अनुसन्धानमा उल्लेख्य काम गरेको दाबी गरेको छ ।  यस्तै, बोर्डले आगामी आर्थिक वर्षका लागि पनि विभिन्न नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले पुँजी बजारसम्बन्धी जनचेतना जगाई पुँजी बजारबाट वित्तीय साधन परिचालन गरी देशमा लगानी प्रर्वद्धन गर्ने, सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार हुने व्यवस्थालाई सहजीकरण गर्ने, धितोपत्र बोर्डको पुन:संरचना गरी बोर्डमा राजस्व सचिव र डेपुटी गभर्नरले प्रतिनिधित्व गर्ने प्रावधान बनाउने, विज्ञ सदस्य थप्ने, निजी क्षेत्र र अन्य मन्त्रालय निकायको प्रतिनिधित्व हटाउने योजना अघि सारेको छ ।  यस्तै, धितोपत्र कारोबारको लागि धितोपत्र व्यवसायी मार्फत मार्जिन कर्जा उपलब्ध हुने व्यवस्था गर्ने, जलविद्युत क्षेत्रका कम्पनीहरुलाई उत्पादन सुरु गरेपछि मात्र प्राथमिक सेयर निष्काशन गर्न सक्ने व्यवस्था गर्ने, सरकारी संस्थानहरुमा सरकाले ऋण लगानी गर्नुको सट्टा ऋणपत्र जारी गरेर लगानीको लागि वित्तीय साधन परिचालन गर्ने व्यवस्था गर्ने र निजी क्षेत्रको सहभागिता र पुँजी वृद्धिका लागि नेपाल स्टक एक्सचेञ्जको पुनः संरचना गर्ने नीति अघि सारेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अतिरिक्त अन्य संस्थाको पनि सेयर सहभागितामा धितोपत्रको सुरक्षित डिपोजिटरी सेवा दिने सिडिएस एण्ड क्लियरिंग लिमिटेडको पुनः संरचना गर्ने, निजी क्षेत्रका उत्पादनमूलक कम्पनीहरूलाई पुँजी बजारबाट पुँजी परिचालन गर्न सहजता पुर्याउने गरी सेयर तथा बण्ड जारी गर्ने लागत घटाउने र प्रकृया सरलीकरण गर्ने, प्रिमियम र बुक बिल्डिङ प्रकृयाबाट सेयर निष्काशनको लागि पारदर्शी विधि अवलम्बन गर्ने र प्राइभेट इक्विटि र भेन्चर्स क्यापिटलहरूमा विदेशी लगानी थप आउने गरी विशिष्टीकृत लगानी कोषसम्बन्धी नियमावली संशोधन गर्ने कार्यक्रमहरू पनि बोर्डले अगाडि सारेको छ ।  यस्तै, धितोपत्र ऐनमा इक्विटी क्राउड फण्डिङको अनुमति दिन सक्ने गरी कानुनी व्यवस्था गर्ने, डेरिभेटिभ बजारको विकासको लागि आवश्यक पूर्वाधार बनाउने, रपब्लिक कम्पनीको रुपमा स्थापना भई नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई अन्तर्राष्ट्रियपुँजी बजारमा पहुँच विस्तार गर्न नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले ग्लोबल डिपोजिटरी रिसिट जारी गर्ने कार्यविधि तर्जुमा गरी लागू गर्ने योजना पनि अगाडि सारेको छ ।  बोर्डले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गत आर्थिक वर्षमा उल्लेख्य काम गरेको ठर गरेको हो । धितोपत्र बजारको दीगो विकास तथा सुधारका लागि र वस्तु विनिमय बजार नियमन व्यवस्थाका लागि बोर्डबाट विकासात्मक कार्य गर्नुका साथै बजारसँग सम्बन्धित नीति तथा कार्यक्रम तर्जुमा तथा कार्यसम्पादन गरिएको बताएको छ । 

सांसद साहको टिप्पणी: देवता भेट्न बरु सहज होला तर परराष्ट्रमन्त्री भेटिनु भएन

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देवता भेट्न बरु सहज रहेको तर परराष्ट्रमन्त्री भेट्न गाह्रो भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।  उनले रौतहटका जयप्रकाश साह करिव एक वर्षदेखि युक्रेनमा फसेको तर उद्धारमा कसैले चासो नदेखाएको बताए । पीडित परिवार उद्धारका लागि भन्दै सरकारी कार्यालयहरु धाइरहँदा पनि सम्बन्धित निकायले चासो नदेखाएको बताए ।  सांसद साहले भने, ‘रौतहटको जयप्रकाश साह झन्डै एक वर्षदेखि युक्रेनमा फसेको छ । जयप्रकाश जस्तै सयौँ मानिसहरु युक्रेनमा फसेका छन् । त्यसलाई उद्धार गर्न कसैको वास्ता छैन । पीडितहरु सरकारी निकाय घुमिरहेका छन् । म्यानेजमेण्टकै भुमिका हो भने किन बत्ति गइरहेको छ । बत्ती काट्ने भए पहिलादेखि नै सेड्युल बनाएर बत्ती काट्नुस् ।’ सांसद साहले बत्ती झ्याप झ्याप गइरहेको भन्दै बत्ती काट्ने भए पहिलादेखि नै सेड्युल बनाएर बत्ती काट्न आग्रह गरे ।   

सेयर किन्न बैंक खातामा पैसा अनिवार्य हुनुपर्ने

काठमाडौं । सेयर खरिद गर्न चाहने व्यक्तिको बैंक खातामा रकम अनिवार्य रूपमा हुनुपर्ने व्यवस्था लागू हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको ‘नीति तथा कार्यक्रम’ मा यस्तो व्यवस्था अघि बढाउने घोषणा गरेको हो । बोर्डको नीतिमा उल्लेख गरिएको छ, ‘’ दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भएपश्चात मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाइनेछ ।’  त्यस्तै, आईपीओ (प्राथमिक निष्काशन) मा आवेदन दिने क्रममा बैंक खाताको रकम रोक्का हुने व्यवस्था पनि अघि सारिएको छ । यसका लागि आस्वा सदस्य बैंकरवित्तीय संस्थाले सिडिएस मार्फत ‘एपीआई’ प्रणाली प्रयोग गरी आवेदन भेरिफिकेसनको साथै रकम रोक्का गर्ने प्रणाली लागू गरिनेछ । बोर्डका अनुसार, धितोपत्र बजारको प्रणालीगत जोखिम कम गर्न, लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न र बजारमा जनविश्वास बढाउन यी सुधारहरू आवश्यक छन् । साथै, बोर्डले इक्विटी डेरिभेटिभ बजारको पूर्वाधार निर्माण, मर्चेण्ट बैंकर, दलाल व्यवसायी, सामूहिक लगानी कोष लगायतका संस्थाहरूले पेश गर्नुपर्ने विवरणहरूको ढाँचा लागू गर्ने, जोखिममा आधारित सुपरीवेक्षण प्रणाली ल्याउने, र सूचीकृत कम्पनी वर्गीकरणलाई सुधार गर्ने नीति पनि सार्वजनिक गरेको छ । त्यस्तै, आईपीओबाट उठाइएका रकम वास्तवमै तोकिएको उद्देश्यअनुसार प्रयोग भएको छ कि छैन भन्ने अनुगमन सुरु गर्ने निर्णय पनि बोर्डले गरेको छ । दलाल व्यवसायीले लगानीकर्ताको आदेश अनुसार सेवा दिन आवश्यक प्राविधिक पूर्वाधारहरू प्रभावकारी छन् वा छैनन् भन्ने मूल्यांकनको अनुगमन व्यवस्था पनि गरिनेछ ।

वर्षाका कारण देशभरका चार राजमार्ग अवरुद्ध

काठमाडौं । वर्षाका कारण आएको बाढीपहिरोले देशभरका प्रमुख चार राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी करिडोर, पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकास्थित मेची राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङल्हामु सडक र रुकुम  पश्चिमको आठबिसकोठ नगरपालिकास्थित जाजरकोट(डोल्पा भेरी करिडोर अवरुद्ध भएका हुन् ।  यसैगरी, वर्षाका कारण अवरुद्ध भएका छ राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । टोखा नगरपालिका-२ स्थित काठमाडौं-नुवाकोट सडकखण्ड, बाग्लुङ नगरपालिका र नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकाको ग्रामजिम, भुर्तिवाङ र धामाचौरस्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

जगदुल्ला हाइड्रोपावरबारे लेखा समितिले भन्यो-प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाउनू

काठमाडौं । जगदुल्ला हाइड्रोपावरमा भएको अनियमितताबारे प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । बुधबार भएको छलफल पछिको निर्णय सुनाउँदै सभापति ऋषिकेश पोखरेलले प्रचलित कानूनहरु अनुसार उठेका विषयहरु छानविन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।  पहिल्यै यो विषय अदालतमा गएको थाहा नभएका कारण छलफलमा ल्याइएको बताउँदै आगामी दिनमा यस्ता विषयमा सजगतापूर्वक छलफल चलाइने बताए ।  समिति सभापति पोखरेलले भने–‘उक्त विषय सर्वोच्च अदालतमा विचाराधिन भएको अवस्थामा हामीले यसबारे छलफल अघि बढाउनुपर्ने देखिएन । हामीले निकाल्ने निष्कर्षले कुनै परिणाम दिने देखिएन । प्रचलित कानून विपरित नहुने गरी सम्बन्धित निकायलाई जवाफदेही हुनेगरी आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गर्दछौं ।’ पोखरेलले निर्णय सुनाउँदै गर्दा माओवादी सांसद अमनलाल मोदीले भने नोट अफ डिसेन्ट भने । उनले अनियमितताबारे गम्भीर रुपमा छानविन हुनुपर्ने बताएका थिए । सांसद मोदीले भने–‘यस्ता अनियमितताका विषयमा यति हल्का निर्णय गरिन्छ भने मेरो सहमती छैन । नोट अफ डिसेन्ट ।’ सांसद मोदीले समिति बैठकमा सो कुरा बताइरहँदा सभापति पोखरेलले भने अदालतमा गएको विषयमा समिति संयम हुनुपर्ने अवस्था आएको बताए ।  

धनीको शीर्ष स्थानबाट हट्न सक्छन् मस्क, ओरेकलका संस्थापक एलिसनले दिए चुनौती

काठमाडौं । विश्वका सबैभन्दा धनी एलन मस्कको गद्दी अहिले संकटमा परेको छ । यस वर्ष उनको नेटवर्थमा ५९.४ अर्ब डलरको गिरावट आएको छ । यति ठूलो गिरावट आए पनि उनी अझै पनि ३७३ अर्ब डलर नेटवर्थका साथ पहिलो स्थानमा कायम छन् । तर यो अवस्था चाँडै परिवर्तन हुन सक्छ । यो परिवर्तनको कारण सफ्टवेयर कम्पनी ओरेकलका संस्थापक ल्यारी इलिसन हुन्, जसको नेटवर्थ तीव्र गतिमा बढिरहेको छ ।  ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्स अनुसार मंगलबार एकैदिन इलिसनको नेटवर्थ २८.४ अर्ब डलरले बढेको छ । यससँगै उनको नेटवर्थ २८९ अर्ब डलर पुगेको छ । यदि यस्तै गति कायम रह्यो भने उनी आगामी तीन दिनमै एलन मस्कलाई उछिनेर पहिलो स्थानमा पुग्न सक्छन् । हाल मस्क र इलिसनबीच ८४ अर्ब डलरको अन्तर छ । इलिसनको नेटवर्थ यस वर्ष मात्रै ९६.८ अर्ब डलरले बढिसकेको छ । ८० वर्षीय इलिसनसँग ओरेकल कम्पनीको करिब ४० प्रतिशत सेयर स्वामित्व छ ।  झण्डै ३७ वर्षसम्म कम्पनीको बागडोर सम्हालेपछि उनले २०१४ मा सीईओ पदबाट राजीनामा दिएका थिए । साथै उनी डिसेम्बर २०१८ देखि अगस्ट २०२२ सम्म टेस्लाको बोर्ड सदस्य पनि थिए । इलिसनले सन् २०१२ मा हवाई द्वीपमा ३०० मिलियन डलरमा एउटा टापु किनेर २०२० देखि त्यहाँ स्थायी रूपमा बसोबास गर्न थालेका छन्। धनीहरूको सूचीमा अरू पनि फेरबदल भएका छन् । फेसबुकको मूल कम्पनी मेटा प्लेटफम्र्सका सीईओ मार्क जुकरबर्ग अब चौथो स्थानमा झरेका छन् । मंगलबार उनको नेटवर्थमा २।७९ अर्ब डलरको गिरावट आएर कुल नेटवर्थ २४८ अर्ब डलरमा झरेको छ । यसैबीच अमेजनका संस्थापक जेफ बेजोस २४९ अर्ब डलर नेटवर्थका साथ तेस्रो स्थानमा पुगेका छन् ।

पहिरोले तातोपानी नाका पूर्णरूपमा अवरुद्ध

चौतारा । भोटेकोशी गाउँपालिका-२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरूपमा बन्द भएको हो । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार आज बिहान करिब ५ः०० बजे भोटेकोशी गाउँपालिका(२ कोदारीस्थित इकु पहिरो क्षेत्रबाट सडक माथिबाट ठूलो मात्रामा पहिरो खस्दा सडक सम्पूर्ण रूपमा बन्द भएको हो ।  उनले पहिरोका कारण तातोपानी नाकासँगको आवतजावत र सवारी सञ्चालन पूर्णरूपमा रोकिएका बताए । पहिरो झर्ने क्रम अझै नरोकिएकाले हालको अवस्थामा सडक सञ्चालन गर्न असम्भव देखिएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिए । उनका अनुसार इकु पहिरो क्षेत्र विगतदेखि नै संवेदनशील मानिँदै आएको छ ।  पटकपटक सडक भासिने समस्या आइरहेको यस क्षेत्रमा, २०७२ सालको भूकम्पले कोदारी बस्ती बगाएपछि उक्त क्षेत्र पहिरोको उच्च जोखिममा परेको शेर्पाले बताए । हाल बस्ती पूर्णरूपमा विस्थापित भइसकेको उल्लेख गर्दै उनले सडक खुलाउने सम्भावनाबारे सडक डिभिजन कार्यालय चरिकोट र स्थानीय सरकारबीच छलफल जारी रहेको जानकारी दिए ।  

तीव्र गतिमा सवारीसाधन चलाउँदा बढी दुर्घटना

काठमाडौं । सबैभन्दा बढी दुर्घटना तीव्र गतिमा सवारीसाधन चलाउँदा भएको नेपाल प्रहरीको पछिल्लो विश्लेषणमा देखाइएको छ । पछिल्लो एक महिनाको सवारी दुर्घटनाको अवस्था अध्ययन गर्दा तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको पाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बताए । गएका महिनामा दुई हजार ९२२ सवारी दुर्घटना भएका जनाउँदै उहाँले त्यसमा एक हजार ४५० दुर्घटना तीव्र गतिका कारण भएका बताए । त्यसपछि मापसे गरेर सवारी चलाउँदा दुर्घटना भएको पाइएको छ । बाटो काट्दा, ‘ओभटेक’ गर्दा, लेन मिच्दा पनि दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ ।  'यसरी हुने दुर्घटनामा अधिकांश मोटरसाइकल परेका छन् । जसले गर्दा मोटरसाइकल यात्रा जोखिममा रहेको देखाएको छ, त्यसैले तीव्र गतिमा मोटरसाइकल चलाउनै हुँदैन', प्रवक्ता घिमिरेले भने । नेपाल प्रहरीका अनुसार गत असारमा भएका दुर्घटनाको अध्ययन गर्दा ५६ दशमलव ५७ प्रतिशत मोटरसाइकल दुर्घटनामा परेका छन् । केन्द्रीय प्रवक्ता घिमिरेले ती दुर्घटनामा परेका कुल चार हजार ४२८ गाडीमध्ये दुई हजार ५०५ वटा मोटरसाइकल रहेका जानकारी दिए । त्यसपछि जिप/कार दुर्घटना १७ दशमलव २३ प्रतिशत छन् । ट्रक, ट्याङ्कर छ दशमलव ४६ प्रतिशत र बस चार दशमलव ४३ प्रतिशत दुर्घटनामा परेका छन् । कुल दुई हजार ९२२ वटा दुर्घटनामा ती सवारीसाधन संलग्न रहेका प्रहरीले जनाएको छ ।   ती दुर्घटनामा परेर एक महिनामै २३९ जनाको मृत्यु भएको छ । प्रवक्ता घिमिरेका अनुसार १८६ पुरुष, ३६ महिला र १७ जना बालबालिकाको दुर्घटनामा परेर मृत्यु भएको हो । ती दुर्घटनामा ६२५ जना घाइते भएका उनले जानकारी दिए । रासस