दरमखोला हाईड्रोपावरले साउन १५ गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । दरमखोला हाईड्रोपावर इनर्जीले साउन १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहलाई सेयर बिक्री गरेपछि अब सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३९ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १० लाख ३० हजार ५ सय कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र गुल्मीको मुसीकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका, बडीगाड गाउँपालिकाका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको २८.३३ प्रतिशत अर्थात् २९ लाख १९ हजार ५ सय कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ९१ हजार ९५० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा २ प्रतिशत अर्थात् ५८ हजार ३९० कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोष र बाँकी २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा साउन १९ गतेसम्म आवेदन सकिनेछ । यदि सो समयमा पूर्ण बिक्री नभएमा आवेदन दिने समय साउन २९ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३ करोड ७० लाख रुपैयाँ, लाभांश क्षमता ११.६४ प्रतिशत
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ६.५१ प्रतिशत बढेर ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ५० करोड ४२ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी १.३६ प्रतिशत घटेर १ अर्ब ८८ करोड ९ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ९० करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकको कुल सञ्चालन आम्दानी ३.३९ प्रतिशत बढेर २ अर्ब २७ करोड २० लाख रुपैयाँ र सञ्चाल नाफा १० प्रतिशत बढेर ७७ करोड ४२ लाख रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा २१३.८१ प्रतिशत बढेर ४१ करोड ३८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १३ करोड १८ लाख रुपैयाँ थियो । गत वर्षको वितरणयोग्य नाफाका आधारमा बैंकले ११.६४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । गत वर्ष बैंकको चुक्ता पुँजी ३.६५ प्रतिशत बढेर ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ र जगेडा कोष २९.९३ प्रतिशत बढेर २ अर्ब १ करोड ६८ लाख रुपैयाँ रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन १.१९ प्रतिशत बढेर ५४ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी २.९५ प्रतिशत बढेर ४३ अर्ब २ करोड १४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ५४ अर्ब २ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ७८ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ०.४० रुपैयाँ बढेर १५.१० रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ३०.६५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५६.७१ रुपैयाँ रहेको छ । समीक्षा वर्षमा बैंकको खराब कर्जा भने ह्वात्तै बढेको छ । अघिल्लो वर्ष ३.९३ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ५.६४ प्रतिशत पुगेको छ ।
आज देशभर मनसुनी वायुको प्रभाव कमजोर, यी ५ प्रदेशमा मध्यम वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थान तथा देशका बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । महाशाखाद्वारा प्रकाशित बुलेटिनअनुसार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाड र तराईका साथै मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा, डेढ अर्बको भित्रियो
काठमाडौं । विदेशी मुलुकबाट आहारपूरक (डाइटरी सप्लीमेन्ट) को आयातले स्वदेशी उद्योग समस्यामा परेका छन् । विदेशबाट आयात भएका आहारपूरकसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न समस्या भइरहेको उद्योगीहरूले गुनासो गरेका छन् । मानव शरीरमा सन्तुलित आहारको कमीलाई परिपूर्ति गर्नका लागि डाइटरी सप्लीमेन्ट लिने गरिन्छ । बारा-पर्सा औद्योगिक कोरिडोरमा आहारपूरक ‘जयश्री हेल्थकेयर’ उद्योग सञ्चालन गर्दै आएका साकेत क्यालले विदेशी मुलुकबाट आयातित यस्ता उत्पादनका काण स्वदेशी उद्योगलाई समस्या भएको बताए । आफूले ४० करोड रुपैयाँ लगानी गरेर आहारपूरक उद्योग सञ्चालनमा ल्याए पनि जथाभावी आयात गरिने वस्तु र स्वदेशमा आवश्यक सहयोग नहुँदा समस्या भएको उनको गुनासो छ । सञ्चालक क्यालले भने, ‘राज्यका निकायबाट आवश्यक सहयोग र समन्वय नहुँदा स्वदेशी उद्योग मर्कामा पर्दै आइरहेका छन् । विदेशबाट भित्रिएका गुणस्तरहीन आयातित सप्लिमेन्टले जनस्वास्थ्यमा समेत गम्भीर असर पार्नसक्छन् । यसतर्फ सरोकार भएका निकायको ध्यान जान जरुरी छ ।’ आहारपूरक सामग्रीको नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हो, तर कार्यालयसँग पर्याप्त मात्रामा जनशक्ति र प्राविधिक नहुँदा पनि आवश्यक समन्वय गर्न समस्या भइरहेको छ । जयश्री हेल्थकेयर उद्योगका सञ्चालक क्याल विदेशबाट जथाभावी आयात हुँदै आएका यस्ता सामग्री दर्ता नहुने र कतिपय अवस्थामा स्वीकृति बिना भित्रिने गरेकाले आवश्यक कानुनी प्रबन्ध गरेर व्यवस्थित गराउनुपर्ने बताउँछन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले स्वदेशी उद्योगलाई सरकारले प्रवर्द्धन र संरक्षण गर्ने खालको नीति अवलम्बन गर्नुपर्ने बताए । ‘स्वदेशी उद्योगले भोग्नुपरेका कानुनी र अन्य प्रक्रियागत झन्झटको अन्त्य गर्दै सहजीकरण गर्न जरुरी छ,’ उनले भने, ‘उद्योगीले कच्चा पदार्थमा छुट पाउनुपर्ने माग राख्दै आइरहनुभएको छ । यसको सम्बोधन गरिनुपर्छ ।’ सरकारले औषधि उद्योगलाई एक प्रतिशत भन्सार महसुलमा कच्चा पदार्थ र प्याकेजिङ सामग्री ल्याउन दिए पनि आहारपूरकलाई भने २० देखि ४० प्रतिशतसम्म भन्सार महसुल र मूल्य अभिवृद्धि कर लाउँदै आएको व्यवसायीको भनाइ छ । औषधिको कच्चा पदार्थ जस्तै आहारपूरक कच्चा पदार्थ आयातमा सहजीकरण गर्न जरुरी रहेको कतिपयको भनाइ छ । यहाँ रहेको जयश्री हेल्थकेयर उद्योगले हाल करिब ५० जनालाई रोजगारी दिँदै आएको छ । करिब ३१ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको उद्योगले आवश्यक कच्चा पदार्थ ल्याएर यहाँ करिब ४० प्रकारका आहारपूक उत्पादन गर्दै आएको छ । यस उद्योगले गत आवमा मात्रै करिब ६० लाख रुपैयाँ मूल्य बराबरको डाइटरी सप्लिमेन्ट बिक्री गरेको जनाएको छ । गत वर्ष नेपालमा करिब डेढ अर्ब रुपैयाँ बराबरको आहारपूरक सामग्री आएकाले स्वदेशी उत्पादनलाई प्रोत्साहन गरे आफूहरू जस्ता धेरै उद्योगले आयात प्रतिस्थापनमा सहयोग गर्नसक्ने उद्योगी क्यालको भनाइ छ ।
आज प्रतिनिधिसभाको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने, ३ तीन संसदीय समितिका बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधनं) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आजै तीन वटा संसदीय समितिका बैठक समेत बस्दैछन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति एवं राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापनको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल हुनेछ । यस्तै, विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ । प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।
सर्वाधिक सेयर कारोबार गर्नेमा नम्बर वान नासा, यी हुन् १ खर्बभन्दा बढी खरिदबिक्री गर्ने कम्पनी
काठमाडौं । एक वर्षको अवधिमा ब्रोकर कम्पनीहरुले ४२ खर्ब रुपैयाँ भन्दा बढीको कारोबार गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्क अनुसार गर्न आर्थिक वर्ष २०८१/८२ मा ९२ वटा ब्रोकर कम्पनीले ४२ खर्ब १२ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार गरेका हुन् । नेप्सेका अनुसार गत वर्ष सबैभन्दा धेरै कारोबार ब्रोकर नम्बर ५८ अर्थात् नासा सेक्युरिटीजले गरेको छ । कम्पनीले गत वर्ष २ खर्ब ५८ अर्ब रुपैयाँको सेयर कारोबार गरेको छ । कम्पनीले १ खर्ब २९ अर्ब रुपैयाँको सेयर बिक्री गरेको छ भने १ खर्ब २९ अर्ब रुपैयाँकै सेयर बिक्री गरेको छ । यस्तै, इम्पेरियल सेक्युरिटीज (४५)ले गत वर्ष ८३ अर्ब २१ करोड रुपैयाँको सेयर बिक्री र ८७ अर्ब ७ करोड रुपैयाँको सेयर खरिद गरी कुल १ खर्ब ७० अर्ब रुपैयाँ बराबरको कारोबार गरेको नेप्सले जनाएको छ । भिजन सेक्युरिटीज(३४)ले ७९ अर्ब ७८ करोड रुपैयाँको सेयर बिक्री र ७७ अर्ब २३ करोड रुपैयाँको सेयर खरिद गरी १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । शनि सेक्युरिटीज (४२)ले गत वर्ष ७२ अर्ब ५६ करोड रुपैयाँको सेयर बिक्री र ७२ अर्ब ७० करोड रुपैयाँको सेयर खरिद गरी कुल १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । यस्तै, अनलाइन सेक्युरिटिज (४९)ले ७० अर्ब ५९ करोड रुपैयाँको बिक्री र ६८ अर्ब ८८ करोड रुपैयाँको खरिद गरी कुल १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार गरेको नेप्सेले जनाएको छ । यस्तै, आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटीज (५७)ले १ खर्ब २० अर्ब रुपैयाँ, डाइनामिक मनी म्यानेजर सेक्युरिटीज (४४)ले १ खर्ब १० अर्ब रुपैयाँ, दिपशिखा धितोपत्र करोबार कम्पनी (३८)ले १ खर्ब ३ अर्ब रुपैयाँ, एबीसी सेक्युरिटीज (१७)ले ९७ अर्ब ९२ करोड रुपैयाँ र श्रीहरि सेक्युरिटीज (५६)ले ८४ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार गरेका छन् । सबैभन्दा कम कारोबार गर्नेमा मनि वर्ल्ड सेयर एक्सचेञ्ज (७३)ले गरेको छ । यस कम्पनीले गत वर्ष ५ करोड ५७ लाख रुपैयाँको सेयर बिक्री र ७ करोड १९ लाख रुपैयाँको सेयर खरिद गरी कुल १२ करोड ७६ लाख रुपैयाँको मात्रै सेयर खरिदबिक्री गरेका हुन् । यस्तै, पहि इन्भेष्टमेन्टले १९ करोड २८ लाखको बिक्री र २० करोड ९४ लाख रुपैयाँको खरिद खरिद गरी कुल ४० करोड २२ लाख रुपैयाँ बराबको सेयर कारोबार गरेको छ ।
अवैतनिक वाणिज्यदूतहरू औपचारिक प्रतिनिधि नभई नेपालको आर्थिक कुटनीतिका सक्रिय साझेदार: ढकाल
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कुटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारकालागि अवैतनिक वाणिज्यदूतहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताएकी छन्। काठमाडौंमा बुधबार आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसी-एन) को १८औं वार्षिक साधारणसभा तथा चार्टर डे समारोहमा बोल्दै मन्त्री राणाले यस्तो बताएकी हुन् । उनले नेपाल र अवैतनिक वाणिज्यदूतहरुले प्रतिनिधित्व गरेका राष्ट्रहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउनु साथै सम्बन्धित राष्ट्रहरूसँग आर्थिक, शैक्षिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार गर्न अवैतनिक वाणिज्यदूतहरुको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गरिन् । मन्त्री डा। राणाले भनिन्, ‘वर्तमान विश्वमा द्विपक्षीय सहयोग र साझेदारीलाई साझा समृद्धिका लागि अगाडि बढाउनुपर्ने आवश्यकता छ । व्यापार प्रवद्र्धन, वैदेशिक लगानी आर्कषण, बजारसम्मको पहुँचको सुनिश्चितता, अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि प्रवर्द्धन तथा परस्पर लाभ र चासोका विषयहरुमा यहाँहरूको योगदान अनिवार्य र महत्त्वपूर्ण छ ।’ कार्यक्रममा बोल्दै एचसीसीएनका डीन चन्द्रप्रसाद ढकालले अवैतनिक वाणिज्यदूतहरू केवल औपचारिक प्रतिनिधि नभई नेपालको आर्थिक कुटनीतिका सक्रिय साझेदार भएको बताए । उनले भने, ‘हामी सेरेमोनिएलबाट माथि उठेर सक्षम, सक्रिय र समर्पित ढंगले नेपालको कुटनीति र विकासमा योगदान दिइरहेका छौं ।’ ढकालले वर्तमान विश्व पारस्परिक रूपमा जोडिएको परिस्थितिमा आर्थिक कुटनीतिको महत्त्व झन तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै भने, ‘आजको विश्वव्यापी युगमा आर्थिक कुटनीति विकल्प होइन, आवश्यकता हो ।’ आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले एचसीसीएन राष्ट्रिय प्राथमिकताप्रति समर्पित रहेको बताउँदै परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा महासंघ र एचसीसीएनले पहिलोपटक नेपालमा आर्थिक सम्मेलन आयोजना गर्नको लागि तयारी गरिरहेको जानकारी दिए । हालै काठमाडौंको चन्द्रगिरिमा परराष्ट्र मन्त्रालयसँग संयुक्त रूपमा आयोजित कार्यशालाको स्मरण गर्दै उनले त्यस अवसरमा अवैतनिक वाणिज्यदूतहरूले वैदेशिक लगानी, नवप्रवर्तन, व्यापार, पर्यटन र गैरआवासीय नेपालीहरुसँगको सहकार्यमा योगदान पुर्याउन सक्ने बताए । सो अवसरमा संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्यले आफ्नो विशेष मन्तव्यमा कूटनीति र अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको युनिक उपस्थिति र बदलिँदो विकासलाई समन्वय गरेर अघि बढ्न अवैतनिक वाणिज्यदूतहरूको भूमिका प्रष्ट पारेका थिए । कार्यक्रममा ढकालले आजैका दिनदेखि एचसीसीएनको डीन पद नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापालाई हस्तान्तरण गरेका थिए । समारोहमा उच्च सरकारी अधिकारी, कूटनीतिज्ञ, अवैतनिक वाणिज्यदूतलगायतको उपस्थिति रहेको थियो ।
निभिक्स फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्ने, प्रत्याभूति व्यवस्थापनमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । निभिक्स फर्मास्यूटिकल्सले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्ने १३ लाख ७५ हजार कित्ता सेयरको प्रत्याभूति व्यवस्थापनमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको हो । दुबै कम्पनीबीच बुधबार प्रत्याभूति व्यवस्थापन कार्य गर्न सम्झौता भएको हो । सम्झौतापत्रमा निभिक्स फर्मास्यूटिकल्सका तर्फबाट प्रबन्ध सञ्चालक इन्द्र वानिया र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरे । सम्झौता कार्यक्रममा निभिक्सका अध्यक्ष कालिदास पौडेल, सञ्चालक फार्मासिस्ट सुजनचन्द्र सिग्देल र चार्टर्ड अकाउन्टेन्ट अनिल पौडेलको पनि उपस्थिति रहेको थियो । विसं २०७४ सालमा स्थापना भएको निभिक्स फर्मास्यूटिकल्स २०८१ पुस २ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भई औषधी व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको अनुमति प्राप्त गरिसकेको छ । कम्पनीले हाल मुटु, मधुमेह, श्वास प्रश्वास, कलेजो र पेटसम्बन्धी ५६ प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ । साथै नयाँ औषधीको अनुसन्धान र उत्पादन विस्तारमा समेत कम्पनी सक्रिय रहेको जनाएको छ ।