विकासन्युज

ग्रीन डेभलपमेन्ट बैंकको नाफामा ७९.७९ प्रतिशत उछाल, १०.६७ प्रतिशत लाभांश बाँड्न सक्ने

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ७९.७९ प्रतिशत बढेर ६ करोड ९४ लाख ८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ करोड ८६ लाख ६१ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी १७.७३  प्रतिशत घटेर २० करोड २० लाख ४२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १७ करोड १६ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  बैंकको कुल सञ्चालन आम्दानी २० प्रतिशत घटेर २३ करोड ३० लाख २० हजार रुपैयाँ र सञ्चाल नाफा ७२.७९ प्रतिशत बढेर ९ करोड ८७ लाख २३ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा ६ करोड ७ लाख ८१ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण गर्ने क्षमता १०.६७ प्रतिशत रहनेछ ।  बैंकको चुक्ता पुँजी ५.७४ प्रतिशत बढेर ५६ करोड ९६ लाख ९८ हजार रुपैयाँ र जगेडा कोष २६.२४ प्रतिशत बढेर ६ करोड ५१ लाख ७८ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको निक्षेप संकलन २८.२५ प्रतिशत बढेर ६ अर्ब ३७ करोड ६४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ९७ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । साथै, बैंकले गत वर्ष कर्जा लगानी १९.९९ प्रतिशत बढाएर ४ अर्ब ७३ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ९४ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १२.१८ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२२.०७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२२.११ रुपैयाँ रहेको छ । गत वर्ष बैंकको खराब कर्जा सामान्य बढेको छ । अघिल्लो वर्ष ३.१८ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ३.३३ प्रतिशत पुगेको छ ।

बुटवललाई धुलो र हिलोमुक्त सडक बनाउँछु, बजेटको चिन्ता गर्नु पर्दैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको बुटवल उप-महानगरपालिका अन्तर्गत सञ्चालित विभिन्न विकास आयोजनाको शनिबार निरीक्षण गरेका छन् ।  उनले रुपन्देही निर्वाचन क्षेत्र नं २ मा सञ्चालित विकास आयोजनाको कार्यान्वयन र गुणस्तरीयताका विषयमा शुक्रबारदेखि निरीक्षण गरिरहेका छन् । अर्थमन्त्री पौडेलले आइतबार पनि जिल्लाका विभिन्न विकास आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल नगर अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिए ।  पौडेलले बुटवल उपमहानगरपालिका-१२, १३ र १५ मा सञ्चालित विभिन्न विकास आयोजनाको निरीक्षण गरे । त्यस क्रममा बुटवल उप-महानगरपालिका-१३ स्थित प्रदेश सरकार अन्तर्गत निर्माण हुने उजिर सिंह रङ्गशालाको निरीक्षण तथा स्थानीयसँग छलफल गर्दै उनले नियम, कानुन र प्रक्रियागत जटिलता फुकाउन केही ढिला भए पनि अब रङ्गशाला निर्माणको काम अघि बढ्ने बताए ।  उपप्रधानमन्त्री पौडेलले बुटवलको विकास निर्माणका लागि राम्रा योजना ल्याए बजेटको अभाव नहुने भन्दै आश्वस्त पारे ।  ‘बुटवललाई अब धुलो-हिलोमुक्त सडक बनाउने अभियान थाल्छौँ, त्यसका लागि बजेटको चिन्ता गर्नु पर्दैन । यहाँ सञ्चालित विकास-निर्माणका  काममा जनस्तरबाट गुणस्तर, काममा ढिलाइ र प्राविधिक अनुगमन भए/नभएका विषयमा नागरिक निगरानी हुनु जरुरी छ । तपाईंहरूले यसमा ध्यान दिनुहोला,’ उनले भने ।  लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषद्ले गत फागुन ६ गते गरेको निर्णयअनुसार उक्त आयोजना युवा तथा खेलकुद मन्त्रालयबाट प्रदेश पूर्वाधार विकास प्राधिकरणमा हस्तान्तरण गरी ठेक्का प्रक्रिया अघि बढाइएको छ । आयोजनाको कुल लागत अनुमान ५३ करोड रुपैयाँ रहेको छ ।  आयोजना दुई चरणमा कार्यान्वयन गर्न हाल पहिलो चरण अन्तर्गत १० करोड ७६ लाख ६१ हजार रुपैयाँ लागतसहित ‘टेन्डर’ स्वीकृत भएको आयोजनाका इन्जिनियर शङ्कर सुवेदीले जानकारी दिए । आयोजनाअन्तर्गत रङ्गशालामा भिलिएनसहितको फुटबल स्टेडियम, मल्टिप्रपोज कभर्डहल, स्विमिङ पुल, क्यान्टिन, पार्किङ, बाल उद्यान निर्माण गरिने उनको भनाइ छ ।  उपप्रधानमन्त्री पौडेलले शनिबार नै बुटवल-१५ स्थित कर्साघाटामा निर्माण प्रस्ताव गरिएको कृषि उपज केन्द्र क्षेत्रको अवलोकन गर्नुभयो चालु आर्थिक वर्षमा कृषि उपज केन्द्रका लागि जग्गा प्राप्ति गरेर भौतिक पूर्वाधार निर्माणका काम अघि बढाइने लक्ष्य रहेको छ । यसका लागि रु चार अर्बभन्दा बढी लगानी हुने जनाइएको छ । यस्तै, उपप्रधानमन्त्री पौडेलले वडा नं १५ मा निर्माणाधीन बुटवल तामनगर-फर्साटिकर सडक, नयाँगाउँ खानेपानी आयोजना, बुटवल-१३ को सेवा पथ, बेलवास-झोलुङ्गे पुल सडक लगायतको निरीक्षण गरे । 

पिपुल्स पावरको हकप्रद सेयरमा आवेदन दिने समय थपियो

काठमाडौं । पिपुल्स पावरको हकप्रद सेयरमा आवेदन दिने समय थपिएको छ । असार २२ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा अब लगानीकर्ताहरुले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयर अनुपातमा हकप्रद सेयर जारी गरेको हो । कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री पश्चात् कम्पनीको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो । त्यसैले असार १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।  कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका इलाम, जाउलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।​​​​​​​ केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

बुङ्गल हाइड्रोको आईपीओमा स्थानीयले आवेदन दिने समय लम्बियो

काठमाडौं । बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने समय लम्बिएको छ । असार २९ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।  साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने आवेदन दिने समय आज साउन ११ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख ५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । आयोजना प्रभावितलाई छुट्याइएको सेयरमध्ये ५ लाख ३९ हजार ५ सय कित्ता सेयरमा अति प्रभावित क्षेत्र बझाङको बुङ्गल नगरपालिका वडा नं। ६ ९साविक पिपलकोट गा।वि।स। वडा नं. ४, ५ र ७० र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १० का स्थानीय र २ लाख ९० हजार ५ सय कित्ता सेयरमा सामान्य प्रभावित क्षेत्र बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, ११ का स्थानीयहरूले आवेदन दिन पाउनेछन् । साथै, सर्वसाधारणलाई छुट्याइएको २० करोड ७५ लाख रुपैयाँको २० लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ७ हजार ५ सय कित्ता सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन पाउने छन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै बुङ्गल हाइड्रोको रजिस्टर्ड कार्यालय धोबी घाट ललितपुर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्युँ शाखा, कृषि विकास बैंकको बुङ्गल शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा र आयोजना स्थान खौलाधारबाट समेत आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

तेह्रथुम पावरको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । तेह्रथुम पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय आज साउन ११ गते अन्तिम दिन रहेको छ । असार १६ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।  हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै नबिल बैंकका छत्तर, म्याङलुङ, फेदापर संक्रान्तिबजारे शाखा, कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन् । 

कोशी, बागमती, गण्डकी र कर्णालीमा भारी वर्षा हुने, तराईमा हावा हुरी चल्ने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षा र मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावा हुरी चल्ने सम्भावना रहेको छ । यसैगरी आज राती देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

७ वर्ष बित्दा पनि निर्मला हत्याको अपराधी पत्ता लगाउन सकेन, प्रहरीको सबैभन्दा बढी खर्च

काठमाडौं । भीमदत्त नगरपालिका-२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७ वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । विसं २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते घर नजिकैको उखुबारीमा भेटिएको थियो । घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन मुलुक भर आन्दोलन समेत भयो । सरकारले पनि घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छुट्टा छुट्टै छानबिन समिति गठन भए । प्रहरीको सबैभन्दा बढी स्रोत साधनको खर्च यसै प्रकरणमा भए पनि हालसम्म प्रहरीले उपलब्धि हात पार्न सकेको छैन ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले अहिले पनि प्रहरीले निर्मला पन्तको घटना प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको जानकारी दिए ।  ‘अनुसन्धानका क्रममा अहिलेसम्म १२४ जनाको डिएनए परीक्षण भएको छ भने ६५५ जनालाई कार्यालयमा बोलाएर सोधपुछ भइसकेको छ,’ उनले भने, ‘सिआइबीबाट १० टोलीले अनुसन्धान गरिसकेको छ अहिले पनि सिआइबी र प्रहरीले अनुसन्धान जारी राखेको छ ।’ घटना भएको एक महिनापछि २०७५ भदौ ४ गते जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका-१९ बागफाटाका दिलीप सिंह विष्टलाई सार्वजनिक गरेको थियो । अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै यहाँ आन्दोलनले उग्र रुप लिएको थियो । पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए ।

राष्ट्रिय सभामा पर्यटन विधेयकमा छलफल हुने, आजै ५ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज अपरान्ह १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफावार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ । यस्तै, आजै पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठक बस्दैछ । अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बन्धित विषयमा छलफल हुनेछ । चालु आवको  बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भए/नभएको अवस्था र आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीका बारेमा समितिमा छलफल गरिनेछ ।  यस्तै, कृषि सहकारी समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’का सम्बन्धमा विज्ञसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । लेखा समितिको बैठकमा ‘महालेखापरीक्षकको ६१ र ६२औँ वार्षिक प्रतिवेदन’उपर छलफल हुनेछ ।  राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)मा सिंहदरबार स्थित निर्माणाधीन सङ्घीय संसद् भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुनेछ ।