विकासन्युज

हितेन्द्रले निकाले लोडसेडिङको तालिका, अब दैनिक ६ घण्टा बत्ती नआउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । देशभर अघोषित लोडसेडिङ गरिरहेको प्राधिकरणले अब भने तालिका नै सार्वजनिक गरेर लोडसेडिङ हुने जानकारी गराएको हो । प्राधिकरणले सुरुमा चितवनदेखि लोडसेडिङको तालिका सार्वजनिक गरेको हो । अब चितवनमा दैनिक ६ घण्टा लोडसेडिङ हुनेछ । अब चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुने भएको हो । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको हो । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको तर्क प्राधिकरणको छ ।  चनौली वितरण केन्द्रले नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ हुने जानकारी दिएको छ ।  नेपाल विद्युत प्राधिकरणले यो तालिका भने क्षणिक समयका लागि भएका जानकारी दिएको छ ।  प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा हितेन्द्रदेव शाक्य आएपछि देशमा अघोषित लोडसेडिङ सुरु भएको हो । निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि शाक्यले भने लोडसेडिङको तालिका नै सार्वजनिक गरेर फेरि सर्वसाधारणलाई त्रसित बनाएका हुन् ।  उनले प्राधिकरणको नेतृत्व गरेपछि इन्भर्टर तथा जेनेरेटरको व्यापार बढेको छ । उनले व्यवसायीलाई खुसी बनाएर लोडसेडिङ गरेको आरोप पनि उनीमाथि छ । उसो त उनले यसअघि लोडसेडिङ गर्ने अवस्था नरहेको बताउँदै आएका थिए । उनले समय-समयमा प्राविधिक समस्या सिर्जना हुँदा विद्युत् कटौती गर्नुपरे पनि लोडसेडिङ नै गर्नु पर्ने अवस्था नरहेको बताउँदै आएका थिए । उनले प्राधिकरणको नेतृत्व गरेलगत्तै विद्युत् कटौती गरेपछि चौतर्फी रूपमा विरोध हुँदै आएको छ । त्यसको जवाफ दिँदै उनले यस्तो बताएका थिए । तर, उनी अहिले लोडसेडिङको तालिका नै सार्वजनिक गर्न बाध्य भएका हुन् । यस विषयमा उनीसँग कुरा गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।  यस्तो छ लोडसेडिङको तालिका -नारायणी-माडी फिडरहरू : बिहान ६ः०० देखि ९ः०० र दिउँसो ३ः०० देखि ६ः०० बजेसम्म । - मेघौली-विजयनगर-शुक्रनगर फिडरहरू : बिहान ९ः०० देखि १२ः०० र बेलुका ६ः०० देखि ९ः०० बजेसम्म । -जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२ः०० देखि ३ः०० र बेलुका ९ः०० देखि १२ः०० बजेसम्म । सम्बन्धित सामग्री : अघोषित लोडसेडिङपछि बिल तिर्ने प्रणालीमा पनि सकस, कर्मचारी भन्छन्- दबाब आउन थाल्यो लोडसेडिङ बढेसँगै इन्भर्टर र जेनेरेटरको माग दोब्बर उद्योगको लोडसेडिङ ५ घण्टामा झर्‍यो, उद्योगीले हितेन्द्रलाई बनाए बधाईका पात्र हितेन्द्रले प्राधिकरणको ५ अर्ब बढी घाटा देखाएर बनाए १० अर्ब ऋण लिने योजना, यस्तो छ श्वेतपत्र हितेन्द्रदेव शाक्य भन्छन्स् अब लोडसेडिङ हुदैँन, इन्भर्टर र मैनबत्ती प्रयोग नगर्नु कुलमान र हितेन्द्र स् दुई सहकर्मीको १७ वर्षे ‘हेड टु हेड’ प्रतिस्पर्धा

ताइवान विश्वकै नयाँ ‘अमीर हब’

काठमाडौं । अमेरिका संसारको सबैभन्दा ठूलो अर्थतन्त्र हो भने चीन दोस्रो स्थानमा पर्छ । तर संसारमा ती १० देशहरू जहाँ सबैभन्दा छिटो धनीहरूको संख्या बढिरहेको छ, तीमध्ये चीन र अमेरिका भने छैनन् । यूबीएस ग्लोबल वेल्थ रिपोर्ट २०२४ अनुसार यो सूचीमा पहिलो स्थानमा ताइवान परेको छ । चीनसँग सिमाना जोडिएको यो देशमा धनीहरूको संख्या सबैभन्दा तीव्र गतिमा बढिरहेको छ ।  ताइवानमा हाल ७ लाख ६० हजारभन्दा बढी व्यक्तिको सम्पत्ति १० लाख अमेरिकी डलरभन्दा बढी रहेको छ । त्यहाँ प्रति व्यक्तिको औसत सम्पत्ति ३ लाख १२ हजार ७५ छ । ताइवानको जनसंख्या करिब २ करोड ३१ लाख छ। टर्कीए दोस्रो स्थानमा यूबीएस ग्लोबल वेल्थ रिपोर्ट २०२४ अनुसार धनीहरूको संख्या तीव्र गतिमा बढिरहेको देशहरूको सूचीमा टर्कीए दोस्रो स्थानमा पर्छ । कुनै समय ‘युरोपको बिरामी देश’ भनिएको टर्कीए पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति गरेको छ ।  अनुमान अनुसार विगत एक वर्षमा टर्कीएमा मिलिनेयरहरूको संख्या ७ हजारले अर्थात् ८।४ प्रतिशतले बढेको छ । अहिले टर्कीएमा मिलिनेयरहरूको संख्या ६८ हजार पुगेको छ र यो संख्या २०२८ सम्ममा ८७ हजार ७७ पुग्ने अनुमान गरिएको छ । सूचीमा अरू को-को ? यस सूचीमा टर्कीएपछि कजाकस्तानको नम्बर आउँछ । मध्य एसियाली यो देशमा सन् २०२३ मा मिलिनेयरहरूको संख्या करिब ४४ हजार ३०७ थियो, जुन २०२८ सम्ममा ६० हजार ८७४ पुग्ने अपेक्षा गरिएको छ। दुनियाँको सबैभन्दा ठूलो मुस्लिम जनसंख्या भएको देश इन्डोनेशियामा पनि मिलिनेयरहरूको संख्या तीव्र गतिमा बढिरहेको छ र यसले यो मामलामा जापानलाई समेत पछि पारेको छ । त्यस्तै, दक्षिण कोरिया, इजरायल, मेक्सिको, थाईल्यान्ड र स्विडेन पनि ती शीर्ष १० देशहरूमा पर्छन् जहाँ मिलिनेयरहरूको संख्या तीव्र गतिमा वृद्धि भइरहेको छ ।

गाजाको भोकमरीको विरोधमा यमनमा र्‍याली

काठमाडौं । यमनको राजधानी सानामा दशौं हजार यमनीहरू भेला भइ विरोध प्रदर्शन गरेका छन् । घेराबन्दीमा परेको गाजा पट्टीको भोकमरीको विरोध गर्दै उनीहरु सडकमा उत्रिएका हुन् ।  सहभागीहरूले गाजामा भोकमरी बन्द गर,गाजामा युद्ध बन्द गर र गाजामा इजरायली नाकाबन्दी तुरुन्तै हटाइनुपर्छ लेखिएका ब्यानरहरू बोकेका थिए  । इजरायलले महिनौंदेखि गाजामा मानवीय सहायता प्रवेश गर्नबाट रोकेको गरेको छ । जसले गर्दा गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार १२२ प्यालेस्टिनीहरू मारिएका छन् ।   

काठमाडौं महानगरमा ट्राफिक नियम उल्लंघन गरे ५० हजारसम्म जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सवारी नियम उल्लंघन गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना लाग्ने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक ऐनमा यस्तो व्यवस्था गरेको हो । ऐनमा सवारी साधनसँग सम्बन्धित ५ वटा शीर्षकमा नयाँ जरिवाना तोकिएको छ । महानगरले यी जरिवानाहरू यातायात व्यवस्था ऐनमा भएको व्यवस्थाभन्दा बाहेक थप गरेको हो । यसको अर्थ, संघीय कानुनले तोकेको जरिवानाका अतिरिक्त महानगरले आफ्नै नियमअनुसार पनि कारबाही गर्न सक्नेछ । महानगरले तोकेका जरिवानाहरुमा तोकिएको स्थानबाहेक अन्यत्र पार्किङ गरेमा सवारीको प्रकृतिअनुसार ५ हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ । मोटरसाइकल र स्टकुरको १ हजार जरिवाना लाग्नेछ भने कार/जीप/भ्यान साना अन्य चारपाङ्ग्रेको लागि २ हजार ५ सय, मिनीबस/मिनीट्रक अर्थात् मझौला सवारीको ३ हजार ५ सय बस/ट्रक (ठूला सवारी) को ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । यस्तै सार्वजनिक सवारीले बस बिसौनी वा तोकिएको ठाउँबाहेक अन्यत्रबाट यात्रु चढाए वा ओरालेमा  ५ हजार रुपैयाँ जरिवाना लाग्नेछ । सवारीसाधनले अनावश्यक हर्न बजाएर वा अन्य तरिकाले ध्वनि प्रदूषण गरेमा १ हजार रुपैयाँ जरिवाना हुनेछ । सवारीसाधनले मापदण्डभन्दा बढी धुँवा फालेर वायु प्रदूषण गराएमा १ हजार जरिवाना गरिनेछ । यसैगरी कुनै सवारी साधन वा व्यक्तिले बाटोमा माटो, बालुवा, हिलो वा अन्य निर्माण सामग्री खसालेर फोहोर गरेमा कसुरको प्रकृति हेरी ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

चिया निर्यात ३२ प्रतिशतले बढ्यो

भद्रपुर । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा रु चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको चिया निर्यात भएको हो ।  एक वर्षमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले जानकारी दिए । आव २०८०/८१ मा रु तीन अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको चिया निर्यात भएको उनले बताए ।  कार्यालयको तथ्याङ्कानुसार आव २०८१/८२ मा अलैँचीको निर्यात तीन दशमलव २० प्रतिशतले घटेको छ । उक्त एक वर्षको अवधिमा रु सात अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको छ । अघिल्लो आव २०८०/८१ को सोही अवधिमा रु सात अर्ब ९३ करोड नौ लाख ९० हजार बराबरको अलैँची निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।  कार्यालयको तथ्याङ्कानुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ७२ दशमलव ३० प्रतिशत, फलामे पाता एक दशमलव आठ प्रतिशत, प्लाइउड सात दशमलव ६० प्रतिशत र मोलासिसको निर्यातमा दुई सय ४७ दशमलव ५० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी सिमेन्ट क्लिङ्कर १३ प्रतिशत, अदुवा ६० दशमलव ७० प्रतिशत, अम्रिसो १४ दशमदव ९० प्रतिशत र छुर्पी निर्यातमा एक दशमलव पाँच प्रतिशतले कमी आएको छ । मेची भन्साबाट गत आव २०८१/८२ मा रु २५ अर्ब १३ करोड ९७ लाख ५० हजारको मालवस्तु निर्यात भएको छ ।

सुक्खा पहिराले बेनी-जोमसोम आवतजावत रोकियो

म्याग्दी । जिल्लाको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि आवतजावत अवरुद्ध भएको हो ।  बिहान पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउन सडक विभागको उपकरण परिचालन भएको सप्मा प्रहरी चौकी घाँसाका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर कुमालले जानकारी दिए ।  सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्क टुटेको छ । प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द छ । स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक प्रभावित भएका छन् । मुस्ताङतर्फ जानेहरू म्याग्दीको काभ्रे र मुस्ताङ हुँदै म्याग्दीतर्फ आउनेहरू घाँसामा रोकिएका छन् ।  

रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गरिने लक्ष्य

रसुवा । नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्याएको  थियो ।  चीन सरकारले पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।  उनका अनुसार  नेपाल–चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरणअन्तर्गत चीन सरकारले बेलीब्रिज निर्माण गर्न पनि थालनी गरेको छ । यसका  लागि भुइँ सतह मिलाउने सुरु भइसकेको छ ।  पक्की पुल निर्माणका लागि साविकको स्थानलाई यथावत छाडी दुई मिटर पूर्वतर्फ सारेर पुरातात्विक  संरचनालाई कुनै असर नपार्ने गरी बेलीब्रिज निर्माण सुरु भइसकेको प्रजिअ पौडेलले जानकारी दिए ।  पुलका लागि चाहिने आवश्यक औजार चिनियाँ पक्षले रसुवागढी ल्याइसकेको जनाइएको छ ।   चार स्काभेटर उपकरणको सहायताले पुल बनाउने स्थान ल्हेन्देखोलाको भुइँ सतहमा अनियन्त्रित पानीलाई साविक सतहमा लाने काम अगाडि बढाइसकेको छ । बेलीब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने  चिनियाँ समकक्षीबाट जानकारी पाएको पनि प्रजिअ पौडेलले जानकारी दिए । रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको निर्माण रोकिएको छ ।