विकासन्युज

४७ अंकले घट्यो नेप्से, १६ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ अंकले घटेर २९५४ बिन्दुमा झरेको छ । आज २३ कम्पनीको मूल्य बढ्दा २२६ कम्पनीको मूल्य घटेको हो । बुधबार ३२७ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ४४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको १ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन डिस्टिलरीको ७२ करोड, शिवभ् सिमेन्टको ५७ करोड, ग्रीन भेन्चरको ५६ करोड र नेपाल रिइन्स्योरेन्सको ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अन्यबाहेक सबै समूहका सूचक घटेका छन् । अन्य समूह ०.८५ प्रतिशतले बढेको छ । बैंकिङ १.५५, विकास बैंक ३.२७, फाइनान्स २.७०, होटल तथा पर्यटन २.१०, हाइड्रोपावर १.६३, लगानी १.६५, जीवन बीमा १.७६, उत्पादन तथा प्रशोधन १.३२, माइक्रोफाइनान्स ३.२८, निर्जीवन बीमा १.५४ तथा व्यापार १.७२ प्रतिशतले घटेका छन् । आज २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सान्भी इनर्जी र ट्रेड टावरको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

एनआईसी एशिया बैंकका ग्राहकलाई लेमोन ट्री प्रिमियरमा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरे छुट प्राप्त गर्न सक्ने भएका छन् । एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकहरूले उक्त होटलमा आवास, भोजन तथा स्पा सेवामा छुट पाउने व्यवस्था गरिएको छ । सम्झौतापछि ग्राहकहरूले होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गरेका हुन् । यस सुविधा उपभोग गर्न ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ वा मोबैंक एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ । बैंकले उक्त सहकार्यले ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

बढी लाभांश दिने टप टेन कम्पनी, यसरी पाए सफलता

कामठाडौं । ‘पुँजी बजार भएकाले यहाँ पूँजीवाद मात्र लागू भएको हो कि जस्तो लाग्छ । तर, गहिरिएर विश्लेषण गर्ने हो भने यसभित्र समाजवाद छ । प्राइभेट कम्पनीमा सीमित लगानीकर्ता हुन्छन् र नाफा पनि उनीहरूले मात्र लिन्छन् । तर, सूचीकृत कम्पनीमा हजारौं, लाखौं लगानीकर्ता हुन्छन् । सूचीकृत कम्पनीले गरेको नाफा धेरै मानिसमा बाँडफाँट भएको हुन्छ । खास यसको उद्देश्य एक जनाले मात्रै नाफा नलेऊ भन्न खोजेको हो । जस्तो एनसेल- कम्पनी छ थोरैको, नाफा दिन्छ ४/५ सय प्रतिशत । एउटै कम्पनीले १६/१७ अर्ब कमाउँछ । 'समाजवादी मोडलमा दुई तरिकाबाट लागू हुन्छ । पहिलो, नाफामा कर उठाएर जनतामा लगानी गर्ने हो । दोस्रो, कम्पनीको सेयर जनतालाई पनि दिनु पर्छ भन्ने हो,’ स्टक ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सागर ढकालले विकास वहसमा भने ।  उनका अनुसार राम्रा कम्पनीको सेयरमा लगानी गर्नेहरू सधैं डुब्दैनन् । जस्तो फस्ट माइक्रो फाइनान्सको सेयर १४ सय रुपैयाँमा किन्नेलाई आज पनि घाटा छैन । किनभने त्यो संस्थाले हरेक वर्ष ९/१० प्रतिशत बोनस दिइरहेको हुन्छ । यूनिलिभर जस्तो १५/१६ सय प्रतिशत लाभांश दिने कम्पनीमा लगानी गर्दा घाटा हुँदैन ।  तर, सेयधरनीहरुले आज किनेर भोलि बेच्नु मात्रै हो पुँजी बजार बुझेको उनको भनाइ छ । पब्लिकलाई सेयर दिनु भनेको नाफा हुन्छ र प्रतिफल दिन्छ भन्न खोजिएको उनले बताए । आज १ सय रुपैयाँको सेयर पुँजी बजारमा ३ सय रुपैयाँ पुग्छ र बेचेर नाफा खाऊ भन्न नखोजेको उनले सुनाए । कम्पनीले दिने प्रतिफल पनि लेऊ भन्ने खोजेको उनी सुनाउँछन् ।  नेप्सेका अनुसार सेयर बजारमा म्युचुअल फण्ड बाहेक २७२ कम्पनी सूचीकृत छन् । तर, गत वर्ष सबै कम्पनीले लाभांश दिएनन् । आर्थिक वर्ष २०८०/८१ को नाफाबाट गत वर्ष साधारण सभा बोलाएर सेयरधनीहरूलाई लाभांश वितरण गर्नु पर्थ्याे । तर, थोरै कम्पनीले मात्रै गत वर्ष अघिल्लो वर्षको नाफा बाँडे । सूचीकृत कम्पनीको सेयर कारोबार मात्रै नभई लाभांश प्राप्तका लागि पनि लगानीकर्ता लगानी गरिरहेका हुन्छन् । त्यसैले अघिल्लो वर्षको नाफाबाट गत वर्ष सबैभन्दा धेरै लाभांश वितरण गर्ने १० कम्पनी (टप टेन) कम्पनीका विषयमा यहाँ उल्लेख गर्न खोजिएको छ । जुन कम्पनीले धेरै लाभांश वितरण गर्छ सो कम्पनीमा लगानीकर्ताहरुको आकर्षण हुनु स्वभाविक हो ।  नेप्सेमा सूचीकृत कम्पनीमध्ये आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सबैभन्दा धेरै लाभांश दिने १० कम्पनीको सूचीमा यूनिलिभर नेपाल, बोटलर्स नेपाल, सोल्टी होटल, नेपाल दूरसञ्चार कम्पनी (एनटीसी), सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल ल्युव आयल, आइएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स पर्न सफल भएका छन् ।  यूनिलिभर नेपाल नेप्सेमा सूचीकृत २७२ कम्पनीमध्ये सबैभन्दा धेरै लाभांश वितरण गर्ने कम्पनीको अग्रस्थानमा छ, यूनिलिभर नेपाल । उत्पादन तथा प्रशोधन समूहमा रहेको यूनिलिभरले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १ हजार ७१४ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीले आफ्नो इतिहासकै सर्वाधिक लाभांश सेयरधनीहरूलाई वितरण गरेको हो । हरेक घरमा, हरेक मनमा कम्पनीको ब्राण्ड र उत्पादन पुर्याउने रणनीतिका व्यवसाय गरिरहेको यस कम्पनीले आर्थिक शिथिलतामा पनि सेयरधनीहरूलाई धेरै लाभांश खुवाउन सफल भएको हो । ९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले नगद लाभांशमा जोड दिँदै आएको छ । थोरै पुँजी र उच्च नगद लाभांश वितरण गर्ने यस कम्पनीको सेयर मूल्य सेयर बजारमा सबैभन्दा धेरै छ । बोटलर्स नेपाल (तराई) नेप्सेमा सूचीकृत कम्पनीहरूमा सबैभन्दा धेरै लाभांश दिने कम्पनीको सूचीमा दोस्रो नम्बरमा छ, बोटलर्स नेपाल (तराई) । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५० प्रतिशत नगद लाभांश वितरण गरेको छ । यस कम्पनीले पनि सेयरधनीहरुलाई नाफाबाट नगद प्रतिफल वितरण गर्दै आएको छ ।  विश्व प्रसिद्ध ब्राण्ड कोकाकोला सन् १९७३ मा बोटलर्स नेपाल लिमिटेडको रुपमा भित्रिएको थियो । कम्पनीको काठमाडौंमा पहिलो र सन् १९८७ मा चितवनको भरतपुरमा दोस्रो उद्योग बोटर्लस नेपाल तराईको स्थापना गरेको थियो । बोटलर्स नेपाल (तराई) लिमिटेड बोटलर्स नेपाल लिमिटेडको सहायक कम्पनी हो । भरतपुर चितवनमा कार्यालय रहेको बोटलर्स नेपाल (तराई) झण्डै ५ दशकदेखि नेपालमा सञ्चालनमा रहेको पब्लिक कम्पनी हो । बोटलर्स नेपाल (तराई) ले कोकाकोला, स्प्राईट, फ्यान्टा, कोक जीरो तथा किन्ले ब्राण्डमा कार्वोनेट मिश्रित गैर मदिराजन्य हलुका पेय पदार्थ तथा शीलबन्द पिउने पानीको उत्पादन, निर्माण, विक्री, वितरण तथा आपुर्ति गर्ने गर्दछ । कम्पनीको सेयर मूल्य उच्च भएकाले लगानीकर्ताले लागि हट केकका रुपमा लिन्छन् । बोटलर्स नेपाल (तराई) मा प्रमोटर सेयर ७५ प्रतिशत अर्थात् ९ लाख ७ हजार ५ सय कित्ता र पब्लिक सेयर २५ प्रतिशत अर्थात् ३ लाख २ हजार ५ सय कित्ता सेयर गरी कूल १२ लाख १० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छन् । सोल्टी होटल होटल तथा पर्यटन समूहमा रहेको सोल्टी होटलले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.८४ प्रतिशत नगद गरी कुल ३६.८४ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले वितरण गरेको लाभांश सूचीकृत कम्पनीहरूमा तेस्रो स्थानमा छ । २०६४ साउन ९ गते नेप्सेमा सूचीकृत भएको सोल्टी होटलको चुक्ता पुँजी १ अर्ब २ करोड १८ लाख ६२ हजार रुपैयाँ रहेको छ । नेपालमा होटल क्षेत्रलाई व्यवसायको रुपमा सुरु गर्ने श्रेय यस कम्पनीलाई जान्छ । कम्पनीको कम्पनीमा संस्थापक समूहको ८५ प्रतिशत सेयर र सर्वसाधारण लगानीकर्ताको १५ प्रतिशत सेयर स्वामित्व रहेको छ । पाँच तारे यस होटलले आफ्नो सञ्जाल देशभर विस्तार गरिरहेको छ ।  एनटीसी  सरकारको बहुमत सेयर स्वामित्व रहेको नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)ले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गरेको छ । जुन नेप्सेमा सूचीकृत कम्पनीहरुको सूचीमा पाँचौं स्थानमा पर्छ । १७ अर्ब ९९ करोड ९९ लाख ९८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा ९१.५३ प्रतिशत संस्थापक र ८.४७ प्रतिशत सर्वसाधारण सेयरधनीहरुको स्वामित्व रहेको छ ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स निर्जीवन बीमा समूहमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई ३० नगद लाभांश वितरण गरेको छ । साविक सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज भइ बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले निर्जीवन बीमा व्यवसायमा उल्लेख व्यवसाय गर्दै आएको छ । बीमा व्यवसायमा हरेक सूचकमा अग्रणी स्थानमा रहेको यस कम्पनीले हरेक सूचकमा आफूलाई अब्बल बनाइरहेको छ । २ अर्ब ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक समूह र ३० प्रतिशत सर्वसाधारण सेयरधनी समूहको रहेको छ । सिटिजन लाइफ इन्स्योरेन्स सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १.४२ प्रतिशत नगद गरी कुल २८.४० प्रतिशत लाभांश वितरण गरेको छ । विसं २०७४ कात्तिकबाट व्यावसायिक कारोबार सुरु गरेको सिटिजनले छोटो समयमै दशकौं पूराना कम्पनीहरूलाई टक्कर दिइरहेको छ । ‘समृद्धि तपाईंको, साथ हाम्रो’ मूल नारा रहेको कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीका अनुसार १८ अर्ब २ करोड १९ लाख रुपैयाँभन्दा बढीको जीवन बीमा कोष खडा गरेको छ । साढे २२ अर्ब रुपैयाँ कुल लगानी रहेको यो कम्पनीसँग ३ अर्ब बराबरको जगेडा कोष रहेको छ ।  स्ट्याण्डर्ड चार्टर्ड बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १९ प्रतिशत नगद गरी कुल २५.५ प्रतिशत लाभांश वितरण गरेको छ । नेपालको बैंकिङ्ग क्षेत्रमा चार दशको योगदान रहेको स्ट्याण्डर्ड चार्टर्ड वि.सं २०६४ सूचीकृत भएको थियो । बैंकमा संस्थापक समूहको ७०.२१ प्रतिशत सेयर स्वामित्व र सर्वसाधारण समूहको २९.७९ प्रतिशत सेयर स्वामित्व रहेको स्ट्याण्डर्ड चार्टर्ड पुँजी बजारको ‘हटकेक’ सेयर हो । बैंकबाट लगानीकर्ताले पाउने लाभांश, बैंकको बिजनेस, कुल नाफामा वितरणयोग्य नाफा, कुल कर्जामा खराब कर्जाको अुनपात र राष्ट्र बैंकको हरेक कम्प्लायन्स पालनामा अब्बल रहेको छ ।  नेपाल ल्युव आयल नेपाल ल्युव आयलले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको छ । लुब्रिकेन्टस् व्यवसाय गर्ने यस कम्पनीको अध्यक्ष अरुण चौधरी रहेका छन् भने करण कुमार चौधरी कार्यकारी निर्देशक रहेका छन् । ७ करोड २९ लाख ६४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा ७९.७६ प्रतिशत संस्थापक र २०.२४ प्रतिशत सर्वसाधारण सेयर स्वामित्व रहेको छ ।  आइएमई लाइफ इन्स्योरेन्स आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा ७० प्रतिशत अर्थात् ३.५ अर्ब रुपैयाँ संस्थापक सेयर स्वामित्व छ भने ३० प्रतिशत अर्थात् रु. १.५ अर्ब रुपैयाँ सर्वसाधारण सयरधनीहरुको स्वामित्व छ । कम्पनीको अध्यक्ष डा. रामहरि अर्याल रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्का छन् । नेपाल लाइफ इन्स्योरेन्स नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको छ । ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा २ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ बराबरको जीवन बीमा कोष रहेको छ । कम्पनीले १ खर्ब ५९ अर्ब रुपैयाँ दीर्घकालीन लगानी र २८ अर्ब ७४ करोड रुपैयाँ अल्पकालीन लगानी गरेको छ । बीमा कम्पनीहरूमा सबैभन्दा उच्च व्यवसाय गर्ने कम्पनीमा नेपाल लाइफ अग्रणी स्थानमा रहन्छ । 

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई सोधपुछका लागि नयाँ पक्राउ पूर्जी जारी

काठमाडौं । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले सुनुवाईका लागि पटक-पटक उपस्थित हुन नमानेपछि अभियोजकहरूले सोधपुछका लागि भन्दै बुधबार नयाँ पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका छन् । गत डिसेम्बर ३ मा युनले दक्षिण कोरियामा नागरिक शासनको अन्त्य गर्ने  र सैनिक शासन लागू गर्ने प्रयास गरेका थिए । मामर्शल कानून जारी गरिएको घोषणा गर्दै उनले संसद्लाई सेना लगाएर नियन्त्रण गर्ने प्रयास गरेका थिए ।   हप्तौँसम्म गिरफ्तारीको विरोध गरेपछि जनवरीमा हिरासतमा लिइएका उनी दक्षिण कोरियाली इतिहासमा पक्राउ पर्ने पहिलो बहालवाला राष्ट्रपति बनेका थिए ।  उनले मुद्दासँग सम्बन्धित प्रमाणहरू नष्ट गर्न सक्ने भन्दै राष्ट्रपति पदबाट निलम्बन गरिएको थियो ।  उनलाई मार्चमा उनको विद्रोहको मुद्दा चलिरहेको समय प्रक्रियागत आधारमा रिहा गरिएको थियो तर जुलाईको सुरुमा फेरि हिरासतमा लिई सोधपुछ गरिएको थियो ।  संसदीय चुनावमा धाँधली भएको आरोपको अनुसन्धान गरिरहेका अभियोजकहरूले युनलाई सोधपुछका लागि पटक–पटक बोलाए पनि उनी उपस्थित हुन अस्वीकार गरेका थिए ।  'विशेष अभियोजकको कार्यालयले पूर्व राष्ट्रपति युनलाई बिहान १० बजे उपस्थित हुन दोस्रो आदेश जारी गरेको थियो,' अभियोजक ओह जियोङ हीले बुधबार पत्रकारहरूसँग बताए ।  उनले उपस्थित हुनका लागि दोस्रो पटकको आदेश पनि उल्लङ्घन गरी अदालतमा उपस्थित हुन अस्वीकार गरेका थिए । उनले कुनै स्पष्टीकरण पनि दिएका थिएनन् ।  फलस्वरूप, विशेष अदालतले उनीविरूद्ध औपचारिक रूपमा बुधबार दिउसो सोधपुछका लागि हिरासतमा लिन पक्राउपूर्जी जारी गरेको हो । युनलाई यसपहिले नै हिरासतमा राखिएको भए पनि पक्राउपूर्जी जारी भएपछि अभियोजकहरूलाई उहाँलाई जबर्जस्ती सोधपुछ गर्न अनुमति दिनेछ । युन र उनकी पत्नी पूर्व प्रथम महिला किम किन हीका लागि पनि कानुनी समस्या बढ्दै गएको छ।   अभियोजकहरूले युनिफिकेसन चर्चका एक वरिष्ठ अधिकारी जियोन सियोङ–बाएले हिराको हार र महँगो ह्यान्डब्याग प्राप्त गरी किमलाई दिएको आरोपको पनि अनुसन्धान गरिरहेका छन् । रासस

लिपमोटरको नयाँ ईभी ‘बी १०’ सार्वजनिक, ६ सय किलोमिटरसम्मको रेन्ज दिने दावी

काठमाडौं । गोल्छा ग्रुपअन्तर्गतको सांग्रिला मोटर्सले आफ्नो विद्युतीय गाडी (ईभी) को पोर्टफोलियो विस्तार गर्दै नयाँ ‘बी १०’ एसयूभी सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको यो गाडी चीन बाहिर विश्व बजारमा पहिलो पटक नेपालबाट लन्च गरिएको हो । कार्यक्रममा बोल्दै सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले नेपालले लिपमोटरका नयाँ उत्पादनहरू विश्व बजारमा सबैभन्दा पहिले पाउने अवसर पाएकोमा खुशी व्यक्त गरे।  उनले भने, ‘यसअघि सी १० मोडल जस्तै बी १० को पनि चीनपछिको पहिलो अन्तर्राष्ट्रिय लन्च नेपालमा गर्न पाउँदा हामीले निकै भाग्यमानी महसुस गरेका छौं । यसले नेपाली बजारप्रति कम्पनीको विश्वास र प्राथमिकतालाई देखाउँछ ।’ लिपमोटर बी १० आफ्नो मूल्य श्रेणीमा उत्कृष्ट फिचरसहित आएको कम्पनीको दाबी छ । यसमा १६० किलोवाटको शक्तिशाली मोटर र ६७.२ किलोवाट–आवरको ब्याट्री प्याक जडान गरिएको छ ।  कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा ६०० किलोमिटरसम्मको रेन्ज दिन्छ भने यसको डब्लूएलटीपी प्रमाणित रेन्ज ४६० देखि ४८० किलोमिटर रहेको छ । डिजाइनको हिसाबले यो गाडी सी १० भन्दा पनि बढी आकर्षक रहेको र यसमा पोर्शेका डिजाइनबाट प्रेरित केही अंशहरू देख्न सकिने गोल्छाले जानकारी दिए । यो गाडी विशेष गरी युरोपेली तथा विश्व बजारका लागि डिजाइन गरिएको हो र यसले युरोपेली सुरक्षा तथा गुणस्तर मापदण्ड पूरा गरेको पनि उनले बताए । गाडीको मूल्य नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिने बताइएको छ । सांग्रिला मोटर्सले सन् २०१७ मा पुजो ब्रान्डबाट नेपाली बजारमा प्रवेश गरेको थियो । त्यसपछि कम्पनीले सिट्रोन र २०२२ मा लिपमोटर ब्रान्डलाई नेपालमा भित्र्याएको हो ।  लिपमोटर विश्वको चौथो ठूलो अटोमोबाइल निर्माता ‘स्टेलान्टिस ग्रुप’ अन्तर्गतको ब्रान्ड हो, जसले जीप, फियाट, मसेराटी जस्ता १४ भन्दा बढी चर्चित ब्रान्डहरूको स्वामित्व राख्छ । नेपालमा लिपमोटरले एक वर्षभन्दा कम अवधिमा राम्रो बजार बनाउन सफल भएको छ । यसअघि लन्च गरिएको सी १० मोडेल २०० युनिटभन्दा बढी बिक्री भइसकेको छ । बी १० को आगमनले नेपाली ईभी बजारमा प्रतिस्पर्धा थप बढाउने विश्वास कम्पनीले लिएको छ ।

नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ लाई नेपाली बजारमा ल्याउने आधिकारिक घोषणा गरेको छ । साउन २१ गतेदेखि सञ्चालन हुने नेपाल अटोमोबाइल ईपोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा मोबिलिटी  एक्सपो २०२५’ मार्फत ‘क्यारी’ ब्रान्डका दुई नयाँ विद्युतीय भ्यानहरू सार्वजनिक हुने भएका हुन् ।  हुन्डाई र बीएमडब्ल्यू जस्ता विश्वस्तरीय अटोमोबाइल ब्रान्ड तथा कमर्सियल भेइकलमा एसएमएल इसुजुको समेत आधिकारिक वितरक रहेको लक्ष्मी ग्रुपले आफ्नो विद्युतीय यात्रालाई निरन्तरता दिँदै पूर्णतः विद्युतीय व्यावसायिक सवारीको क्षेत्रमा नयाँ आयाम थप्न लागेको छ । ’क्यारी’ ब्रान्ड विश्वकै अग्रणी अटोमोबाइल निर्माता चेरी कमर्सियल भेहिकल्स अन्तर्गत पर्दछ, जुन आफ्नो विश्वसनीयता, सुरक्षा, र उत्कृष्ट प्रदर्शनका लागि विश्वभर परिचित छ । क्यारी ब्रान्ड अन्तर्गत केभान १ र केभान २ भेरिएन्टका इलेक्ट्रिक भ्यान लन्च गर्न लागिएको हो । व्यावसायिक प्रयोजनका लागि आधुनिक खैरो रङमा ’कमर्सियल भेरियन्ट’ र स्कुल÷कलेज प्रयोजनका लागि सुरक्षात्मक पहेँलो रङमा ’स्कुल भेरियन्ट’ उपलब्ध हुनेछन् ।  ५३ किलोवाट आवर क्षमताको सिएटिएल ब्याट्री जडान गरिएको यी भ्यानले एक पटकको फुल चार्जमा अधिकतम ३०० किलोमिटर  रेन्ज दिने दाबी गरिएको छ । गाडीको औपचारिक लन्च र विस्तृत जानकारी नाइमा मोबिलिटी शो २०२५ मा दिइने कम्पनीको भनाई छ । एलएक्सजी मोटर्स प्रालि नेपालको अग्रणी व्यावसायिक समूह, लक्ष्मी ग्रुपको एक सहायक कम्पनी हो । कम्पनीले नेपाली बजारमा उत्कृष्ट र वातावरणमैत्री विद्युतीय सवारी साधनहरू भित्र्याएर दिगो यातायातमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।  

पुँजीगत खर्चको सुस्तता र तोकिएको समयमा आयोजना सम्पन्न हुन नसक्दा बाह्य ऋण संकलनमा बाधा

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा सरकारले आन्तरिक ऋण शतप्रतिशत उठाउँदा बाह्य ऋण भने ५७ प्रतिशत हाराहारी मात्रै उठाउन सकेको देखिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत असार मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार गत आवमा आन्तरिक ऋणका लागि राखिएको तीन खर्ब ३० अर्ब रुपैयाँको लक्ष्य शतप्रतिशत पूरा भएको छ । तर बाह्य ऋणतर्फ दुई खर्ब १७ अर्ब रुपैयाँ उठाउने भनिएकोमा ५७ दशमलव ७९ प्रतिशतअर्थात् एक खर्ब २५ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ मात्रै उठाइएको हो । अर्थात् गत आवमा सरकारले ९१ अर्ब ६० करोड एक लाख रुपैयाँ बराबर बाह्य ऋण त उठाउन सकेन । सरकारको पुँजीगत खर्च न्यून हुनु र विकास आयोजनाको काम तोकिएको समयमा सम्पन्न हुन नसक्दा लक्ष्यअनुसार बाह्य ऋण उठाउन नसकिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाले जानकारी दिए ।  'पुँजीगत खर्च पर्याप्त नहुँदा र आयोजनाहरुको काम समयमा नसकिँदा सबै बाह्य ऋण उठाउन सकिएन । सरकारका वार्षिक आयोजना तथा कार्यक्रमहरुमा पहिले हाम्रो आफ्नै स्रोतबाट खर्च हुने र पछि ऋणदाताबाट शोधभर्ना गर्नुपर्ने हुन्छ । तर काम नै सम्पन्न नभएपछि त्यसको शोधभर्ना पनि माग्न मिलेन । यसकारण बाह्य ऋण कम उठेको हो', कोइरालाले भने । तुलनात्मक रुपमा आन्तरिक ऋणभन्दा बाह्य ऋणको ब्याजदर सस्तो हुने र भुक्तानी अवधि पनि लामो हुन्छ । अर्कोतर्फ आन्तरिक ऋणलाई चालुगत प्रकृतिका शीर्षकमा सरकारले जथाभावी खर्च गर्ने तर बाह्य ऋणलाई ऋणदाताले समेत पुँजीगत प्रकृतिका र पुँजी निर्माणमा बढी केन्द्रित गर्नुपर्ने शर्त राख्ने भएकोले बाह्य ऋणलाई बढी प्रभावकारी मानिन्छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुनुपर्ने कर्जालाई सरकारले नै प्रयोग गरिदिँदा मुद्राबजारमा समेत त्यसको असर देखिने गरेको छ । गत आर्थिक वर्षमा सरकारले कूल रु पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । जसमध्ये चार खर्ब ५५ अर्ब ३९ करोड रुपैयाँ प्राप्त भएको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा गत आवको कूल सार्वजनिक ऋण प्राप्ति ८३ दशमलव २५ प्रतिशत हो । कार्यालयका अनुसार गत आवमा मात्रै दुई खर्ब ३१ अर्ब आठ करोड रुपैयाँ थपिएर कूल सरकारी ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । जुन कूल गार्हस्थ्य उत्पादनको ४३ दशमलव ७१ प्रतिशत हुन आउँछ । कूल सार्वजनिक ऋणमा असार मसान्तसम्म वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ४९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ५१ प्रतिशत छ । कार्यालयका अनुसार हाल सरकारले १२ खर्ब ६३ अर्ब छ करोड ४५ लाख रुपैयाँ आन्तरिक र १४ खर्ब एक अर्ब ३५ करोड २८ लाख रुपैयाँ बाह्य ऋण तिर्न बाँकी छ । कूल गार्हस्थ्य उत्पादनको आधारमा आन्तरिक ऋण २२ दशमलव १४ र बाह्य ऋण २४ दशमलव ५६ प्रतिशत हुन आउँछ । त्यस्तै, गत आवमा सरकारी ऋणको साँवा ब्याज भुक्तानीका लागि चार खर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । 'आव २०८१/८२ मा ऋण सेवा खर्चमा चार खर्ब दुई अर्ब ८५ करोड रुपैयाँ विनियोजन भएकोमा असार मसान्तसम्म तीन खर्ब ६२ अर्ब ५९ करोड रुपैयाँ भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ९० दशमलव ०१ प्रतिशत हो', कार्यालयको मासिक प्रतिवेदनमा भनिएको छ । कूल गार्हस्थ्य उत्पादनको आधारमा असार मसान्तसम्ममा ऋण सेवा खर्च पाँच दशमलव ९४ प्रतिशत रहेको छ । गत आवमा सरकारले आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीको लागि तीन खर्ब चार अर्ब १९ करोड १२ लाख रुपैयाँ खर्च गरेको छ भने बाह्य ऋणको साँवा ब्याज भुक्तानीका लागि ५८ अर्ब ४० करोड १३ लाख रुपैयाँ खर्चिएको छ । रासस

संकुचित वित्तीय नीतिलाई सुधारौंः चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेश अग्रवालले मौद्रिक नीतिले मात्रै अर्थतन्त्रलाई चलामान बनाउन नसक्ने बताएका छन् । नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति विषय अन्तरक्रियामा बोल्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन  सरकारको वित्तीय नीतिलाई अझै सुधार्न जरुरी रहेको बताए ।  उनका अनुसार अहिलेको मौद्रिक नीति विस्तारकारी छ तर अझै पनि सरकारी वित्तीय नीति संकुचित छ ।  अध्यक्ष अग्रवालले भने, ‘आगामी दिनमा मौद्रिक नीति थप लचक हुनुपर्ने आवश्यकता छ भने सरकारको वित्तीय नीतिमा रहेका संकुचन हट्नुपर्छ । पुरानो लयमा फर्कन हाम्रा वित्तीय नीतिहरूलाई सहज बनाउनुपर्छ । विगतमा आर्थिक गतिविधि शिथिल भएर सरकारको राजश्व समेत गुमेको थियो ।’ उनले सरकारले विगतमा करका दर बढाएर अप्ठयारोमा निजी क्षेत्रलाई पर्दा अर्थतन्त्र झन् अप्ठ्यारोमा परेको बताए ।  आगामी दिनमा सरकारले निजी क्षेत्रमैत्री वातावरण सिर्जना गरी लगानीका लागि वातावरण बनाइदिनुपर्ने उनको भनाइ रहेको छ ।