संसद्मा प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू निदाए, सामाजिक सञ्जालमा भाइरल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सत्तापक्षका मन्त्रीहरू निदाएको दृश्य सार्वजनिक भएपछि आलोचना सुरु भएको छ । प्रधानमन्त्रीसँगै पहिलो पंक्तिमा बसेका मन्त्रीहरू संसद्को बैठककै बेला निदाएको देखिएको हो । सभामा सांसदहरू अल्पविकसित मुलुकको सूचीबाट नेपालको स्तरोन्नति पछि उत्पन्न हुने अवस्थाबारे बहस गरिरहेका थिए । प्रधानमन्त्री ओली भने बहसमा चाखसहित सहभागी देखिन्थे । जवाफ दिने क्रममा उनले बहस पूरै ध्यानपूर्वक सुनेको बताउँदै राष्ट्रिय सभाको गरिमा अनुरूप सांसदहरूले सशक्त ढंगले आफ्नो धारणा राखेको भन्दै प्रशंसा गरे । तर, प्रधानमन्त्रीकै लहरमा बसेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, रक्षामन्त्री मानवीर राई संसद् मै निदाएका थिए । संसद्को यस्तो संवेदनशील विषयमा बहस भइरहँदा मन्त्रीहरू निदाएको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्न थालेको छ ।
दक्षिण एसियाली युवा नेतृत्वको मञ्च सुरु हुँदै, अन्तरसांस्कृतिक समझदारी र क्षेत्रीय सहकार्यमा जोड दिने
काठमाडौं । जुनियर चेम्बर इन्टरनेशनल (जेसीआई) नेपालको आयोजनामा अन्तर्राष्ट्रिय नेतृत्व विकासका लागि दक्षिण एसियाली एकेडेमी (एसएएआईएल) नेपाल २०२५ सुरु हुने भएको छ । यही साउन १५ देखि १८ (जुलाई ३१–अगस्ट ३) सम्म काठमाडौंको ठमेलस्थित अलोफ्ट होटलमा कार्यक्रम आयोजना हुन लागेको हो । राष्ट्रहरूलाई जोड्दै – सक्षम नेतृत्व निर्माण गर्दै नारासहित सुरु हुने यस एकेडेमीले दक्षिण एसियाली मुलुकका युवाहरूलाई नेतृत्व विकास, अन्तरसांस्कृतिक समझदारी र क्षेत्रीय सहकार्यमा जोड दिनेछ। एसएएआईएलको अवधारणा सन् २०२५ मा मङ्गोलियाको उलानबटारमा सम्पन्न जेसीआई एसिया प्यासिफिक कन्फेरेन्समा जन्मिएको हो । नेपाल, भारत, श्रीलंका र बंगलादेशबीच संयुक्त समझदारी पत्रमार्फत एकेडेमी स्थापना गर्ने निर्णय भएको थियो । नेपाल यस क्षेत्रीय पहलको पहिलो आयोजक राष्ट्र बन्ने गौरव प्राप्त गरेको छ । नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रञ्जनी थापाको नेतृत्वमा आयोजना हुँदै गरेको यस एकेडेमीको निर्देशक जिम्मेवारी पूर्व राष्ट्रिय अध्यक्ष तथा जेसीआई सिनेटर प्रज्ञा राज राजभण्डारीले सम्हाल्दै छिन् । आयोजक संस्था जेसीआई नेपालले यसलाई दक्षिण एसियाली युवा नेतृत्व विकासमा ऐतिहासिक कोसेढुङ्गाको रूपमा लिएको छ । युवा नेतृत्व क्षमताको बहुआयामिक विकास, दक्षिण एसियाली राष्ट्रबीच आपसी मित्रता र सहयोगको प्रवर्द्धन, नेपाली संस्कृति, पर्यटन र पहिचानको अन्तर्राष्ट्रिय प्रवर्द्धन, उद्योग, लगानी र नवप्रवर्तनमा युवा सहभागिताको विस्तार र क्षेत्रीय साझेदारी र दीर्घकालीन सञ्जाल निर्माण यस कार्यक्रमका मुख्य विशेषता हुन् । कार्यक्रममा नीति निर्माण, उद्यमशीलता, नवप्रवर्तन र विश्व नेतृत्वमा केन्द्रित कार्यशालाहरू पनि हुने जनाइएको छ। यसैगरी, काठमाडौं, लुम्बिनी, पाटन, भक्तपुर, स्वयम्भू, बौद्धलगायतका ऐतिहासिक तथा विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको अवलोकन हुने जनाइएको छ । साथै क्षेत्रीय उत्सव र फेलोसिपः सहभागी राष्ट्रबीच सञ्जाल विस्तार, सांस्कृतिक प्रस्तुतिहरू पनि हुने जनाइएको छ। कार्यक्रममा जेसीआई एसिया प्यासिफिकका उपाध्यक्ष मार्क जोसेफ डेभिड, हिरोकी टोमोरीलगायत अन्तर्राष्ट्रिय अतिथिहरूको उपस्थिति रहने पनि जनाइएको छ । जेसीआई नेपालले सम्पूर्ण अन्तर्राष्ट्रिय सहभागीहरूलाई नेपालमा स्वागत गर्दै यो कार्यक्रममार्फत साझा भविष्य निर्माण, युवा क्षमता विकास र दीर्घकालीन सहकार्यको सन्देश फैलाउने लक्ष्य लिएको छ । नेपालमार्फत सुरु भएको यो अभियानले आगामी वर्षहरूमा अन्य दक्षिण एसियाली राष्ट्रहरूमा पनि निरन्तरता पाउनेछ र नेपालले यस मञ्चमार्फत विश्वसमक्ष युवा नेतृत्वको सशक्त पहिचान उजागर गर्ने अपेक्षा गरिएको छ ।
बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बुधबार हेटौंडामा सम्पन्न निर्वाचनमा बानियाँले बहुमत मत प्राप्त गर्दै संसदीय दलको नेतृत्व सम्हालेका हुन् । कुल ३७ मत खसेको उक्त निर्वाचनमा बानियाँले २२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत ल्याएका थिए । एक मत बदर भएको थियो । बहुमत अर्थात् २२ मतसहित बानियाँ संसदीय दलको नेता निर्वाचित भएका हुन् । यसअघि बानियाँकै अगुवाइमा तत्कालीन संसदीय दलका नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। सो प्रस्ताव पनि दलका २२ सांसदको समर्थनमा पारित भएको थियो । रिक्त रहेको नेताको पद पूर्ति गर्न बुधबार पुनः निर्वाचन गरिएको हो । यही कार्यकालमा बानियाँ र लामा दोस्रो पटक आमनेसामने भिडेका हुन् । २०७९ सालमा लामाले बानियाँलाई पराजित गर्दै नेतामा निर्वाचित भएका थिए । बानियाँ नेपाली कांग्रेस बागमती प्रदेशका प्रदेश सभापति समेत हुन् । अब उनले पार्टीको संगठनात्मक नेतृत्वसँगै संसदीय दलको पनि बागडोर सम्हाल्ने भएका छन् ।
भरतपुरमा २ लाखदेखि तीन करोडसम्मको जग्गा, यी हुन् सस्तो मूल्यमा जग्गा पाइने ठाउँ
काठमाडौं । भरतपुर महानगरपालिकाले आर्थिक ऐन, २०८२ मार्फत जिल्लाभित्रका विभिन्न क्षेत्रहरूको जग्गाको मूल्यांकन गरेको छ । आर्थिक ऐनले चितवनमा जग्गाको मूल्य प्रतिकठ्ठा न्यूनतम २ लाख रुपैयाँदेखि अधिकतम तीन करोड रुपैयाँसम्म तोकिएको छ । शिक्षा, स्वास्थ्य, यातायातलगायत विभिन्न भौतिक पूर्वाधारले सम्पन्न क्षेत्र चितवनको नारायणगढ क्षेत्रमा जग्गाको मूल्य प्रतिकठ्ठा ३ करोड रुपैयाँसम्म तोकिएको छ । उक्त क्षेत्रअर्न्तगत लायन्स चोकबाट सहिद चोक पुल्चोक हुँदै नारायणी पुलसम्मका महेन्द्र राजमार्ग जोडिएका जग्गाहरूको मूल्य प्रतिकठ्ठा तीन करोड ८ लाख रुपैयाँ मूल्यांकन गरिएको छ । यो मूल्य औद्योगिक क्षेत्रभित्र पर्ने जग्गाको हकमा हो । मुग्लिन-नारायणगढ राजमार्गअन्तर्गतको लीला चोकदेखि पुल्चोकसम्मको घडेरी प्रतिकठ्ठा २ करोड ४० लाख रुपैयाँ तोकिएको छ । सहिदचोक क्षेत्रमा पनि जग्गाको मूल्य प्रतिकठ्ठा २ करोड ४० लाख रुपैयाँ नै मूल्यांकन गरिएको छ । त्यस्तै, मुग्लिन नारायणगढ राजमार्गमा पर्ने पोखरा बसपार्कबाट लिला चोकसम्मको जग्गाको मूल्य औद्योगिक क्षेत्रमा एक करोड ७० लाख रुपैयाँसम्म तोकिएको छ । उक्त क्षेत्रभित्रकै दियालो मार्ग (पोखरा बसपार्कबाट भानु मावि, गौरेश्वर मन्दिर हुँदै लिलाचोक)सम्म पर्ने जग्गाको मूल्य एक करोड रुपैयाँसम्म मूल्यांकन गरिएको छ । नारायणगढमा बाटो नभएको ठाउँमा जग्गाको मूल्य २४ लाख रुपैयाँ मूल्यांकन गरिएको छ । वडा न १ मा आर्थिक ऐनअनुसार जग्गाको मूल्य न्यूनतम ४ लाख रुपैयाँदेखि मूल्यांकन गरिएको छ । उक्त क्षेत्रमा कच्ची सडकमा भएका जग्गाहरुको मूल्य चार लाख ८ हजार रुपैयाँदेखि ४ लाख ८० हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ । महेन्द्र राजमार्ग हाकिमचोकबाट केन्द्रीय बस टर्मिनलसम्म जोडिएका घडेरी जग्गाको मूल्य प्रतिकठ्ठा १ करोड २ लाख रुपैयाँ तोकिएको छ । रामनगर क्षेत्रमा जग्गाको मूल्य औद्योगिक क्षेत्रअर्न्तगत न्यूनतम ४ लाख रुपैयाँदेखि १५ लाख ५० हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ । वडाअनुसार जग्गाको मूल्यांकन वडा न १ मा पर्ने जग्गाहरुको मूल्य औद्योगिक क्षेत्रमा न्यूनतम ३ लाख रुपैयाँ मूल्यांकन गरिएको छ । उक्त वडाको आवसीय क्षेत्रहरुमा जग्गाको न्यूनतम मूल्य प्रतिकठ्ठा २ लाख रुपैयाँसम्म तोकिएको छ । व्यवसायिक क्षेत्रमा जग्गाको मूल्यांकन न्यूनतम तीन लाख ४१ हजार रुपैयाँ मूल्यांकन गरिएको छ । त्यस्तै, कृषि क्षेत्रमा जग्गाको मूल्यांकन न्युनतम ४ लाख ३४ हजार रुपैयाँ तोकिएको छ । वडा न २ मा पर्ने जग्गाहरूको न्यूनतम मूल्य औद्योगिक क्षेत्रतर्फ प्रतिकठ्ठा १९ लाख रुपैयाँदेखि १ करोड ७० लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ । आवासीय क्षेत्रतर्फ न्यूनतम १९ लाख रुपैयाँदेखि अधिकतम १ करोड ६२ लाख रुपैयाँ मूल्यांकन गरिएको छ । त्यस्तै, महानगरले उक्त वडाभित्रको जग्गाहरुको मूल्य व्यवासायिक क्षेत्रहरूमा प्रतिकठ्ठा न्यूनतम ९१ लाख रुपैयाँदेखि १ करोड ७० लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ । वडा न ३ पर्ने जग्गाहरुको मूल्य न्यूनतम प्रतिकठ्ठा औद्योगिक क्षेत्रतर्फ १५ लाख रुपैयाँदेखि अधिकतम २ करोड ८५ लाख रुपैयाँसम्म तोकिएको छ । त्यस्तै आवासीय क्षेत्रमा पर्ने जग्गाको मूल्यांकन न्यूनतम २७ लाख रुपैयाँदेखि अधिकतम २ करोड ९९ लाख रुपैयाँ मूल्यांंकन गरिएको छ । सोही वडामा पर्ने जग्गाको मूल्य व्यवसायिक क्षेत्रमा प्रतिकठ्ठा न्यूनतम ७९ लाख रुपैयाँदेखि अधिकतम ३ करोड १३ लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ । त्यस्तै, कृषि क्षेत्रतर्फको जग्गाको मूल्यांकन प्रतिकठ्ठा न्यूनतम १३ लाख रुपैयाँदेखि अधिकतम २ करोड ४२ लाख २५ हजार रुपैयाँसम्म तोकिएको छ । वडा न ४ मा पर्ने जग्गाहरूको मूल्यांकन औद्योगिक क्षेत्रमा न्यूनतम १६ लाख रुपैयाँदेखि ४८ लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ । आवासीयतर्फ प्रतिकठ्ठा न्यूनतम १७ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्म तोकिएको छ । त्यस्तै, व्यवसायिक क्षेत्रतर्फ न्यूनतम १८ लाख रुपैयाँदेखि मूल्यांकन गरिएको छ । त्यस्तै, वडा न ५ मा पर्ने जग्गाहरूको मूल्य अधिकतम ८ लाख ८० हजार रुपैयाँदेखि अधिकतम ३७ लाख ४५ हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ । वडा न ६ मा पर्ने जग्गाहरूको मूल्यांकन न्यूनतम ४ लाख ४० हजार २६ लाख रुपैयाँसम्म तोकिएको छ । वडा न ७ मा पर्ने जग्गाहरुको मूल्य प्रतिकठ्ठा न्यूनतम १५ लाख ५० हजार रुपैयाँदेखि ५७ लाख ५० हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ । त्यस्तै, वडा नं ८ मा पर्ने जग्गाहरूको न्यूनतम मूल्यांकन प्रतिकठ्ठा ११ लाख रुपैयाँखेखि ४७ लाख ५० हजार रुपैयाँसम्म तोकिएको छ । वडा नं ९ मा पर्ने जग्गाहरूको मूल्यांकन अधिकतम एक करोड २ लाख तोकिएको छ। यस्ताे छ जग्गाकाे मूल्यांकन
लाम्बोर्गिनीको सञ्चालन आम्दानी घट्यो, गाडी बिक्रीमा भने कीर्तिमान
काठमाडौं । इटालियन लक्जरी स्पोट्र्स कार निर्माता लाम्बोर्गिनीले बुधबार पहिलो छ महिनामा कीर्तिमानी गाडी बिक्री भए पनि सञ्चालकीय आम्दानी अलि घटेको जनाएको छ । जसको मुख्य कारण विनिमय दरमा आएको प्रतिकूल असर हो । कम्पनीका अनुसार जनवरीदेखि जुनसम्मको अवधिमा सञ्चालन आम्दानी ४३१ मिलियन युरो (४९७ मिलियन डलर) रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा भएको ४५८ मिलियन युरोको तुलनामा कम हो । यसमा दोस्रो त्रैमासिकमा देखिएको प्रतिकूल विनिमय दर प्रमुख कारण हो। । ‘वैश्विक आर्थिक र राजनीतिक अस्थिरताको बाबजुद पनि नतिजा ठोस छन्,’ लाम्बोर्गिनीका सीईओ स्टेफान विन्केलम्यानले भने । कम्पनीको कुल आम्दानी १.६२ अर्ब युरो पुगेको छ, जबकि ५ हजार ६८१ वटा गाडी बिक्री गरिएको थियो– यो पहिलो छ महिनामा अहिलेसम्मकै उच्च हो । लाम्बोर्गिनी जर्मन कम्पनी फक्सवागन समूहअन्तर्गत पर्छ । यद्यपि सञ्चालन नाफाको मार्जिन २८.३ प्रतिशतबाट घटेर २६.६ प्रतिशतमा झरेको छ । विन्केलम्यानका अनुसार सबै मोडेललाई हाइब्रिड बनाउने निर्णय सही साबित भएको छ । उनले भने, ‘हाम्रो हाइब्रिड रणनीतिलाई ग्राहकहरूले साथ दिएका छन् ।’ इटालीको उत्तरमा पर्ने बोलोनीयाको छेउमा रहेको लाम्बोर्गिनीले भने युरोपेली संघ (ईयू) र अमेरिकाबीच हालैको व्यापार सम्झौतामा कुनै टिप्पणी गरेको छैन, जसले अधिकांश युरोपेली वस्तुहरूमा अमेरिकाले १५ प्रतिशत आयात महसुल लगाउने निर्णय गरेको हो । पहिलो छ महिनामा कम्पनीको ३० प्रतिशत गाडी अमेरिका महादेशमा (१ हजार ७३२ गाडी) बिक्री भएको थियो । त्यस अवधिमा युरोप, मध्यपूर्व र अफ्रिकामा २ हजार ७०८ गाडी बिक्री भएको थियो जबकि एशिया प्यासिफिक क्षेत्रमा १ हजार २४१ गाडी बिक्री गरिएको थियो। यस वर्षको सुरुमा विन्केलम्यानले भनेका थिए कि अमेरिकी महसुलले लाम्बोर्गिनीको आम्दानीमा असर पर्नेछ, यद्यपि लक्जरी उत्पादन निर्माता कम्पनीहरूले त्यो अतिरिक्त लागत ग्राहकहरूमाथि सार्न सक्छन् । ब्याट्रीमा चीनमाथिको निर्भरता घटाउँदै टेस्ला, एलजीईएससँग ४.३ अर्ब डलरको सम्झौता
जग्गाको विवरण पठाउन २२ वटा स्वास्थ्य संस्थालाई मन्त्रालयले पठायो पत्र
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जग्गाको विवरण पठाउन मातहतका स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । अस्पतालको नाममा रहेको जग्गा अतिक्रमण भएको गुनासो आएपछि २२ वटा स्वास्थ्य संस्थालाई पत्र पठाएर जग्गाको विवरण पठाउन भनेको हो । मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु, औषधी व्यवस्था विभाग, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरलाई पत्र पठाएर संस्थाको नाममा कति जग्गा दर्ता छ र सबै प्रयोगमा छ वा छैन भन्ने विवरण मागेको छ । यस्तै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र टेकु, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र , भेरी अस्पताल नेपालगञ्ज,भरतपुर अस्पताल चितवन नारायणी अस्पताल वीरगञ्ज, लगायत विभिन्न २२ संस्थालाई पत्र पठाएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्देशन दिएपछि मन्त्रालयले मातहतका विभाग केन्द्र, अस्पताललाई विवरण मागेको हो । मन्त्रालयले सात दिनभित्र जग्गा प्रयोग भए, नभएको सबै विवरण मन्त्रालयमा पठाउन भनेको छ ।
सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय बनेको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानान्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्ने गरेको भन्दै आपत्ति जनाए । भ्रष्टाचार गर्नेलाई कारबाही नगर्ने भन्दै प्रश्न गरे । यसअघि बैठकको शुन्य समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यावाची जस्तै बनेको आरोप लगाएका थिए । मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषि स्वयं सरकार भएको आरोप थियो । प्रधानमन्त्री ओलीले भने, ‘सरकारले एकदुई जनालाई कारबाही गर्यो भने सरकार र भ्रष्टाचार पर्यावाची भन्छन् । छ्यालब्याल रैछ भन्छन् । भ्रष्टाचार गर्नेलाई कारबाही ने नगर्ने त ? भ्रष्टाचार गर्न दिइन्न । कसैले गर्यो भने कारबाही हुन्छ । त्यहि त गर्ने होला नि । सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको छ । कहाँको भ्रष्टाचारको पर्याय ? गम्भीर विषयमा छलफल हुँदा खेरी हामी त्यही गम्भीरता साथ लिनुपर्छ भन्ने म ठान्छु ।’ उनले विकास र आर्थिक वृद्धिका मामलामा साझा प्रयासका साथ अगाडि बढ्नुपर्ने पनि बताए ।
४७ अंकले घट्यो नेप्से, १६ अर्बको कारोबार
काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ अंकले घटेर २९५४ बिन्दुमा झरेको छ । आज २३ कम्पनीको मूल्य बढ्दा २२६ कम्पनीको मूल्य घटेको हो । बुधबार ३२७ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ४४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको १ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन डिस्टिलरीको ७२ करोड, शिवभ् सिमेन्टको ५७ करोड, ग्रीन भेन्चरको ५६ करोड र नेपाल रिइन्स्योरेन्सको ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अन्यबाहेक सबै समूहका सूचक घटेका छन् । अन्य समूह ०.८५ प्रतिशतले बढेको छ । बैंकिङ १.५५, विकास बैंक ३.२७, फाइनान्स २.७०, होटल तथा पर्यटन २.१०, हाइड्रोपावर १.६३, लगानी १.६५, जीवन बीमा १.७६, उत्पादन तथा प्रशोधन १.३२, माइक्रोफाइनान्स ३.२८, निर्जीवन बीमा १.५४ तथा व्यापार १.७२ प्रतिशतले घटेका छन् । आज २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सान्भी इनर्जी र ट्रेड टावरको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।