एनसेलका सीईओ जाब्बोरले दिए राजीनामा
काठमाडौं । एनसेलका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले राजीनामा दिएका छन् । उनले पारिवारिक कारण देखाउँदै राजीनामा दिएका हुन् । कायुमोभको राजीनामापछि एनसेल सञ्चालक समितिले सेद एमडी इनामुल कबिरलाई निमित्त सीईओको जिम्मेवारी दिएको छ । उनी एनसेलका प्रमुख वित्तीय अधिकृत (सीएफओ) थिए । जाब्बोर एनसेलमा २०८० साल वैशाख २६ गते सीईओ एवं प्रबन्ध निर्देशकको रूपमा नियुक्त भएका थिए ।
काठमाडौं महानगरपालिकाले मोर्गन इन्टरनेशनल विद्यालयमा गर्यो अनुगमन
काठमाडौं । काठमाडौं महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेशनल सेकेन्डरी स्कुलमा अनुगमन गरेको छ । उक्त विद्यालयमा बिहीबार महानगरपालिका भित्रका विभिन्न विभागहरूले गरेको संयुक्त अनुगमन टोलीले अनुगमन गरेको हो ऽ शिक्षा विभागमा प्राप्त उजुरीहरूको आधारमा गरिएको उक्त अनुगमनले विद्यालयको सञ्चालनमा गम्भीर अनियमितताहरू फेला पारेको सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले बताए । महानगरले विद्यालयलाई तीन दिनभित्र २२ क्षेत्रसँग सम्बन्धित कागजात पेश गर्न निर्देशन दिएको छ । महानगरको सहरी योजना आयोग, राजस्व विभाग, कृषि तथा पशुपन्छी विभाग, सार्वजनिक निर्माण विभाग, शहरी व्यवस्थापन विभाग र शिक्षा विभागको संयुक्त टोलीले विद्यालयको अनुगमन गरेको थियो । अनुगमनको मुख्य उद्देश्य छात्रवृत्ति कार्यक्रम, शुल्क संरचना र नियामक मापदण्डको पालनाबारे जाँच भएको थियो । सहरी योजना आयोगका सदस्य झाले अनुगमनको क्रममा छात्रवृत्ति कार्यक्रमको जाँचबाट सुरु गरिए पनि विद्यालयमा अन्य कैयौं समस्याहरू फेला परेको बताए । शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले विद्यालयमा देखिएका समस्याहरूबारे जानकारी दिएका छन् । अनुगमनले विद्यालयको भौतिक पूर्वाधार, क्यान्टिन सञ्चालन र सञ्चालन अनुमतिमा कमजोरीहरू फेला पारेको उनले जानकारी दिए । 'यसअघि हामीले विद्यालयलाई अनधिकृत शुल्क फिर्ता गर्न निर्देशन दिएका थियौं तर गुनासो दोहोरिएपछि संयुक्त अनुगमन गर्नुपर्यो,’ ज्ञवालीले भने । विद्यालयले तीन वर्षअघि बुढानीलकण्ठबाट बसुन्धरामा स्थानान्तरण भएको र कक्षा ११ र १२ को सञ्चालनका लागि तत्कालीन उच्च माध्यमिक शिक्षा परिषदबाट अनुमति लिएको दाबी गरेको छ । यी दाबीहरू पुष्टि गर्न महानगरपालिकाले कागजात माग गरेको हो । महानगरपालिकाले विद्यालय सञ्चालनको अनुमति पत्र, शुल्क संरचना र छात्रवृत्ति सम्बन्धी विवरण, भौतिक पूर्वाधार (कक्षा कोठा, सुरक्षा, क्यान्टिन) सम्बन्धी कागजात, राजस्व र कर सम्बन्धी रेकर्ड, विद्यालय स्थानान्तरण सम्बन्धी कागजात लगायतका कागजातहरूको प्रमाणित प्रतिलिपि तीन दिनभित्र शिक्षा विभागमा पेश गर्न निर्देशन दिइएको हो । महानगरले हालै सामुदायिक र निजी विद्यालयहरूमा छात्रवृत्ति कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि विशेष अनुगमन अभियान सञ्चालन गरेको छ । मोर्गन इन्टरनेशनलको यो घटनाले निजी विद्यालयहरूको पारदर्शिता र जवाफदेहिताको मुद्दालाई थप उजागर गरेको सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलले बताए ।
दोहोरो आइजिनकाे व्यवस्था कार्यान्वयन भए एक खर्ब पुँजी बन्धक हुने विश्लेषण
काठमाडौं । कम्पनीको सेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले लविङ थालेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले कम्पनीहरुको सेयर सूचीकरण गर्दा सर्वसाधारण र प्रवर्द्धकलाई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय सेक्युरिटिज आइडेन्टिफिकेशन नम्बर कायम गर्ने भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव लगेपछि इप्पानले अर्थमन्त्री, संसदको अर्थसमिति, सेबोन र सिडिएससीको ध्यानाकर्षण गराएको हो । सीडीएससीको उक्त प्रस्तावले संस्थापक लगानीकर्ता, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता, सेयरमा लगानी गर्ने आम सर्वसाधारणमा थप अन्यौलता बढी निराशा पैदा हुने अवस्था सिर्जना भएको भन्दै यो प्रस्ताव कार्यान्वयन भएमा नेपालको पुँजी बजारमा लागू भइरहेको प्रचलित कानुन, अन्तर्राष्ट्रिय मान्यता र स्थापित अभ्यास विपरीतकाे कार्य भई नेपालको पुँजी बजारमा दीर्घकालीन प्रभाव पर्नुका साथै नेपालप्रति अन्तर्राष्ट्रिय जगतको दृष्टिकोणमा समेत नकारात्मक प्रभाव पार्ने इप्पानको भनाइ छ । यस्तो व्यवस्थाले नेपाली निजी क्षेत्र तथा गैरआवासीय नेपाली समुदायको लगानीका साथै प्रत्यक्ष वैदेशिक लगानीमा समेत असर पर्नुका साथै स्वदेशी पुँजी संकलन, गैरआवासीय नेपालीहरुमार्फत आउने लगानी र विदेशी लगानी व्यवस्थापनमा समेत ठूलो कठिनाइ हुने पनि इप्पानले ध्यानाकर्षण गराएको छ । यसले नेपालमा निजी क्षेत्रले विभिन्न उद्योग व्यवसायमा गरेको लगानीमा विश्वास गुम्नुका साथै वैदेशिक लगानीकर्ताहरूमा समेत नेपालको लगानी वातावरणप्रति गम्भीर आशंका उत्पन्न भएको इप्पानको भनाइ छ । सिडिएससीको यो प्रस्तावले नेपालको एउटा कानूनलाई हेरेर लगानी गरेको विदेशी लगानीकर्ताले आफ्नाे सेयर बेचेर लगानी फिर्ता लिन नै नसक्ने अवस्था बन्ने र यसले सरकारको वैदेशिक लगानी प्रवर्द्धन नीति, पुँजीबजारको सुदृढीकरण र समग्र आर्थिक सुधार लक्ष्यप्रति नै नकारात्मक प्रभाव पार्ने इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । उनले भने, अहिले संस्थापक र सर्वसाधारणको सेयर एउटै आइजिनमा हुँदा शेयर बजार चलायमान भइरहेको छ तर छुट्टाछुट्टै आइजिन राख्दा पुँजी बजारको कारोबारमा नै संकुचन आई यसले सरकारको आम्दानीमा समेत ठूलो गिरावट आउनेछ ।’ सीडीएससीले अघि सारेको दोहोरो आइजिनको ठूलो असर ऊर्जा क्षेत्रका कम्पनीहरुमा हुने पनि इप्पानको भनाइ छ । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले ऊर्जामार्फत देशलाई समृद्ध बनाउने अभियानमा हातोमालो गर्दै ऊर्जा उत्पादनमा होमिएका हजारौं कम्पनीका लाखौं लगानीकर्ताहरु यसबाट प्रतक्षरुपमा प्रभावित हुने कार्कीले बताए । उनले आगामी दिनमा निर्माण हुने आयोजनाहरुमा लगानी नै नहुने जोखिम बढेको र सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट उत्पादन पुर्याउने ऊर्जा विकास मार्गचित्र नै असफल हुनेपनि बताए । यो व्यवस्थाले आईपीओ जारी गरी सेयर अभौतिकरण प्रक्रियामा रहेका कम्पनीहरू, आईपीओ जारी गरी लकिङ अवधि सकिन लागेका कम्पनीहरु र आईपीओको पाइपलाइनमा रहेका कम्पनीहरुसमेत नराम्ररी प्रभावित भई यसले समग्र पुँजीबजारलाई दीर्घकालसम्म नकारात्मक प्रभाव पार्दै नेपालको अर्थतन्त्रमा पनि ठूलो असर पर्ने इप्पानको भनाइ छ । सीडीएससीको यस्तो निर्णयले लकिङ अवधिमै रहेका विभिन्न ५८ उद्योगको ८७ अर्ब रुपैयाँ बराबरको र ऊर्जा कम्पनीको मात्र ४७ कम्पनीको ५३ अर्ब रुपैयाँ बराबरको र आईपीओको पाइपलाइनमा रहेका ४३ कम्पनीको ४१ अर्ब रुपैयाँ बराबरको पुँजी बन्धक हुने भई पुँजी बजारमा ठूलो प्रभाव पार्ने इप्पानले जनाएको छ ।
कृषि क्षेत्रमा लगानी प्रवर्द्धनका लागि १० करोड रुपैयाँको कर्जा सुरक्षण कोष
काठमाडौं । बागमती प्रदेश सरकार अन्तर्गतको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को कार्य सम्पादन विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले २ अर्ब ५० करोड ६४ लाख ६६ हजार रूपैयाँ बराबरको कुल बजेटमध्ये ६७.२९ प्रतिशत कार्यान्वयन गरेको बताएको छ । यस वर्ष कृषि तथा पशुपंक्षी क्षेत्रमा धेरै संरचनागत सुधार, किसान लक्षित कार्यक्रम र रोग नियन्त्रण अभियान प्रभावकारी रूपमा सञ्चालन गरिएको मन्त्रालयले उल्लेख गरेको छ । प्रदेशको कृषि विकास सम्बन्धमा तयार पारिएको विधेयक, २०८० वागमती प्रदेश सभाबाट पारित भइसकेको र हाल प्रमाणीकरणको अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ । यो विधेयक कार्यान्वयनमा आएसँगै प्रत्येक वर्ष कार्यविधि बनाउने झन्झट हट्ने र कार्यक्रम कार्यान्वयनमा सहजता आउने बताइएको छ । मन्त्रालयले चालु वर्षमा २३ वटा नयाँ तथा एक पुरानो कार्यविधिको संशोधन स्वीकृत गरेको छ । यससँगै सेवा प्रवाहको पहुँच विस्तार गर्ने क्रममा कृषि तथा पशु सेवा कार्यालय नभएका जिल्लाहरूमा सेवा केन्द्र स्थापना गरेको छ । गत वर्षदेखि सञ्चालनमा ल्याइएको ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई थप विस्तार गर्दै मन्त्रालयले यस आर्थिक वर्षमा थप २५ वडालाई समेट्दै कुल ७० वडासम्म पुर्याएको छ । समुदायमा आधारित खेती प्रणालीमार्फत वडालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित हरेक वडामा ४० लाख रुपैयाँ बराबरको साझेदारी सहयोग उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । पशुपंक्षी तथा मत्स्य क्षेत्रमा प्राकृतिक र गैरप्राकृतिक विपद्बाट क्षति व्यहोरेका ३३० जना किसान र ६ वटा फार्मलाई १ करोड २२ लाख रुपैयाँभन्दा बढी राहत रकम वितरण गरिनुका साथै पशु स्वास्थ्यका क्षेत्रमा पनि उल्लेखनीय काम भएको मन्त्रालयले जनाएको छ । पिपिआर रोग नियन्त्रणका लागि १३ वटै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिँदै १५ लाखभन्दा बढी भेडाबाख्रालाई खोप दिइएको छ भने लम्पी स्किन डिजिज विरुद्ध ७२ हजार गाईभैंसीमा निःशुल्क खोप लगाइएको वागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले जानकारी दिए । पशुपंक्षी रोग अन्वेषण र अनुसन्धानको उद्देश्यले चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा ‘बायो सेफ्टी लेभल टु प्लस’ प्रयोगशाला निर्माण कार्य सम्पन्न भई विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । प्रयोगशाला सञ्चालनमा आइसकेको र यसले पशुपंक्षीका विभिन्न रोगहरूको सटीक निदानमा सहयोग पुर्याउने उल्लेख गरिएको छ । त्यसैगरी, हेटौंडामा निर्माण सम्पन्न भएको दूध पाउडर प्लान्ट सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। उक्त प्लान्टले दैनिक ६० हजार लिटर दूध प्रशोधन गर्ने क्षमता राख्दछ । हाल डेरी विकास संस्थानमार्फत यसको परीक्षण सञ्चालन भइरहेको छ । साथै हेटौंडा–११ मा निर्माण सम्पन्न भएको प्रादेशिक कृषि थोक बजार पनि आगामी साउन १८ गते औपचारिक रूपमा हस्तान्तरण गरिने तय भएको कृषिमन्त्री श्रेष्ठले बताए । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रालयले अझ महत्वाकांक्षी कार्यक्रमहरू अघि सारेको छ । कृषि क्षेत्रमा लगानी प्रवर्द्धनका लागि १० करोड रुपैयाँको कर्जा सुरक्षण कोष, ५ करोडको सहुलियतपूर्ण व्याज अनुदान, स्मार्ट कृषि फार्म र स्मार्ट पशुपंक्षी फार्म स्थापना, आधुनिक बधशाला निर्माण र जैविक मल कारखानाको निरन्तरताजस्ता कार्यक्रम अघि सारिएका छन् । पशुपंक्षी तथा मत्स्य व्यवसायलाई प्रवर्द्धन गर्न स्टार्टअप ग्रान्टमार्फत २० करोडको बजेट विनियोजन गरिएको छ भने किसानलाई राहत, व्यवसायिक खेती प्रवर्द्धन, च्याउ र फूल सजावट खेती, कृषि बजार सूचना प्रणाली र आधुनिक ग्रिन हाउस निर्माणजस्ता कार्यक्रम पनि अघि सारिएका छन् ।
जाँचपास भएका वस्तुको पुनः जाँच तथा अनुसन्धानका लागि कार्यविधि जारी
काठमाडौं । भन्सार जाँचपास भएका वस्तुको पुनः जाँच तथा अनुसन्धानका लागि भन्सार विभागले कार्यविधि जारी गरेको छ । भन्सार ऐनले गरेको व्यवस्थाअनुसार एक पटक जाँचपास भएको वस्तु नियन्त्रणमा लिई पुनः जाँच तथा अनुसन्धान गर्ने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन भन्सार विभागले कार्यविधि बनाएको हो । कार्यविधिअनुसार अब एक पटक जाँचपास भएको वस्तु भन्सार अधिकृत अधिकृतले नियन्त्रणमा लिई पुनः जाँच तथा अनुसन्धान गर्न सक्नेछ । कुनैपनि निकासीकर्ता वा पैठारीकर्ताले भन्सार कार्यालयमा घोषणा गरी जाँचपास भइसकेको वस्तुको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार, वर्गीकरण उपशीर्षक, परिमाण, उत्पत्तिको मुलुक, ब्राण्ड, मोडेल र गुणस्तरमध्ये सबै वा कुनै विवरण फरक पारी महशुल छली गरेको, जालसाजी, कीर्ते, नक्कली कागजात पेश गरी महशुल वा राजश्वमा हानी नोक्सानी पुर्‍याएमा वस्तु जाँचपास गर्न भन्सार अधिकारीले अधिकार कार्यविधिअनुसार पाएको छ । कार्यविधिअनुसार प्रतिवन्धित वस्तु घोषणा गरेको, वस्तु नै घोषणा नगरेको, न्युन बीजकीकरण गरेको, अधिक बीजकीकरण गरेको भनी विभागमा प्राप्त हुन आएको सूचनालाई महानिर्देशकले व्यवस्थित र गोप्य रुपमा अभिलेखवद्ध गरी राख्न लगाउन सक्नेछ । वस्तुको पुनः जाँच तथा अनुसन्धान गर्दा भन्सार अधिकारीले प्रक्रिया भने पुर्याउनुपर्छ । कार्यविधिले अवलम्वन गर्नुपर्ने प्रक्रियालाई प्रष्ट पारेको छ । वस्तुको पुनः जाँच तथा अनुसन्धान गर्नको लागि तोकिएको अधिकृतले वस्तु नियन्त्रणमा लिई जाँच गर्नुपूर्व सम्बन्धित निकासीकर्ता वा पैठारीकर्ता वा भन्सार एजेन्टलाई सूचना दिने र त्यस्तो वस्तुको जाँच गर्दा मुचुल्का तयार गराउनुपर्नेछ । त्यस्तै, जाँचपास भएको वस्तुको पुनः जाँच तथा अनुसन्धान गर्दा सम्बन्धित व्यक्ति वा निकायबाट थप जानकारी, तथ्यांक वा कागजात माग गरी विश्लेषण गर्नुपर्नेछ । निकासीकर्ता, पैठारीकर्ता वा भन्सार एजेन्टको रोहवरमा वस्तुको जाँच गर्ने अधिकार कार्यविधीले भन्सार अधिकारीलाई दिएको छ तर निकासीकर्ता वा पैठारीकर्ता, निजको भन्सार एजेन्ट उपस्थित नभएकै कारणले मात्र वस्तुको जाँच गर्न बाधा नपर्ने कार्यविधिले प्रष्ट पारेको छ । भन्सार अधिकारीले पुनजाँच पछि प्रतिवेदन पेश गर्नुपर्ने कार्यविधिले उल्लेख गरेको छ । जाँचपास भएको वस्तुको पुनः जाँच तथा अनुसन्धान सम्पन्न भएपछि प्रतिवेदन पेश गरेपछि जाँचपास भएको वस्तुको पुनः जाँच तथा अनुसन्धानको प्रतिवेदन प्राप्त भएपछि महानिर्देशकले ऐनअनुसार भन्सार अधिकृतलाई भए सरहको अधिकार प्रयोग गरी प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिन सक्ने कार्यविधिमा व्यवस्था गरिएको छ । पुनः जाँचका लागि भन्सार अधिकारीले सहयोग माग गर्नसक्ने समेत कार्यविधिले प्रष्ट पारेको छ । कार्यविधिमा भनिएको छ–‘यस कार्यविधि बमोजिम जाँचपास भएको वस्तुको पुनः जाँच तथा अनुसन्धान गर्नको लागि महानिर्देशकले तोकेको अधिकृत वा भन्सार अधिकृतले आफ्नो कर्तव्य पालना र अधिकार प्रयोग गर्दा कुनै सरकारी कर्मचारी, प्रहरी, वित्तीय संस्था, निकासीकर्ता, पैठारीकर्ता, भन्सार एजेन्ट, ढुवानी साधनको धनी एवं चालकसँग कुनै प्रकारको सहयोग, सूचना वा मद्दत माग गर्न सक्नेछ ।’ त्यस्तो सहयोग, सूचना वा मद्दत दिनु त्यस्तो सरकारी कर्मचारी, प्रहरी वा वित्तीय संस्था, निकासीकर्ता, पैठारीकर्ता, भन्सार एजेन्ट, ढुवानी साधनको धनी एवं चालकको कर्तव्य हुने कार्यविधिमा उल्लेख छ ।
पहिलो पटक नेपाल फिटनेस एक्स्पो २०२५ हुँदै, फिटनेस जगतलाई नयाँ आयाम दिने
काठमाडौं । नेपाली फिटनेस जगतलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको नेपाल फिटनेस एक्स्पो २०२५ को आयोजना गरिने भएको छ । आगामी भदौ १४ गते काठमाडौंको मल्ल होटेलको प्रांगणमा हुन लागेको यो भव्य कार्यक्रमको बारेमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । क्लासिक फिटनेस एकेडेमीको आयोजना र रिगल इभेन्ट्सको व्यवस्थापनमा हुन लागेको यस कार्यक्रममा फिटनेससँग सम्बन्धित विभिन्न गतिविधि, प्रदर्शनी र सम्मान कार्यक्रमहरू समावेश गरिने बताइएको छ । क्लासिक फिटनेस एकेडेमी नेपालका संस्थापक निर्देशक रोजल शाहीले यो कार्यक्रम नेपाली फिटनेस क्षेत्रका लागि एक कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे । उनले भने, 'नेपाली फिटनेस जगतलाई नयाँ आयाम दिने यो कार्यक्रमले स्वास्थ्य र व्यवसायलाई एउटै मञ्चमा ल्याउनेछ ।' यो एक्स्पोले नेपालमा फिटनेससम्बन्धी उत्पादन, सेवा र जानकारीको एउटा ठूलो हब सिर्जना गर्ने लक्ष्य राखेको उनको भनाइ छ । फिटनेसलाई केवल शरीरमात्र सीमित नराखी यसलाई जीवनशैलीसँग जोड्ने प्रयास स्वरूप यो कार्यक्रम आयोजना गरिएको हो । नेपाल फिटनेस एक्स्पोमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिटनेस सेलिब्रिटीहरूको सहभागिता रहनेछ । कार्यक्रममा भारत, मलेसिया लगायतका देशहरूबाट फिटनेस इन्फ्लुएन्सर, बिजनेस आइकन र प्रशिक्षकहरू सहभागी हुनेछन् । यसले गर्दा नेपाली फिटनेस प्रेमीहरूले अन्तर्राष्ट्रिय स्तरको अनुभव प्राप्त गर्नेछन् । एक्सपोमा फिटनेससम्बन्धी उपकरणहरू, सप्लिमेन्टहरू, र अन्य उत्पादनहरूको प्रदर्शनीका साथै फिटनेस फ्यासन शो, मिट एण्ड ग्रिट सेसन जस्ता रोचक कार्यक्रमहरू पनि समावेश गरिनेछन् । यसले गर्दा दर्शकहरूले मनोरञ्जनका साथै ज्ञान पनि प्राप्त गर्नेछन् । यस कार्यक्रममा पहिलो पटक फिटनेस क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिने भएको छ । 'राइजिङ स्टार', 'बेस्ट कोच अफ द इयर', 'बेस्ट एथलिट' जस्ता विधामा अवार्ड प्रदान गरिने जनाइएको छ । साथै फिटनेस क्षेत्रमा लामो समयदेखि योगदान दिइरहेका व्यक्तित्वहरूलाई 'लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिनेछ । यो एक्स्पोमा सबैका लागि प्रवेश निःशुल्क गरिएको छ । कुनै पनि उमेर समूहका व्यक्तिहरूले यस कार्यक्रममा सहभागी हुन सक्नेछन् । आयोजकका अनुसार यो कार्यक्रम केवल फिटनेस प्रेमीहरूका लागि मात्र नभएर स्वास्थ्यप्रति सचेत सबैका लागि खुला छ । वरिष्ठ फिटनेसकर्मीहरू सुरेश सुवेदी, दिनेश राजभण्डारी र नारायण प्रधानले यो कार्यक्रमको प्रशंसा गरे । उनीहरूले यो एक्स्पोले नेपाली फिटनेस जगतमा सकारात्मक परिवर्तन ल्याउने र युवाहरूलाई दुर्व्यसनबाट टाढा राख्न मद्दत गर्ने विश्वास व्यक्त गरे । क्लासिक फिटनेस एकेडेमीका म्यानेजिङ डिरेक्टर रचना राणाभाटले एकेडेमीले नेपालमा फिटनेस शिक्षालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताइन् । उनका अनुसार कार्यक्रममा ७० लाखभन्दा बढी लगानी लाग्नेछ । ‘क्लासिक फिटनेस एकेडेमी’ को आयोजनामा र ‘रिगल इभेन्ट’ को व्यवस्थापनमा हुने एक्स्पोमा करिब ३ हजार व्यक्तिको सहभागिता रहने अनुमान गरिएको छ । आयोजकका अनुसार कार्यक्रमको उद्देश्य केवल ब्रान्ड प्रचार मात्र नभइ नेपाली फिटनेस उद्योगलाई व्यवस्थित र अन्तर्राष्ट्रिय बजारसँग जोड्नु पनि हो । कार्यक्रमका प्रमोटर सन्तोष श्रेष्ठका अनुसार नेपाल फिटनेस एक्स्पो २०२५ नेपाली फिटनेस क्षेत्रका लागि एक ऐतिहासिक कार्यक्रम हुने अपेक्षा गरिएको छ । यसले फिटनेसलाई व्यावसायिक र जीवनशैलीसँग जोड्दै सबैलाई स्वस्थ रहन प्रेरित गर्नेछ । मल्ल होटेलमा आयोजना हुने यो भव्य कार्यक्रममा सहभागी हुन आयोजकले सबैलाई आह्वान गरेको छ ।
गरिमा समृद्धि योजनाको लाभांश घोषणा
काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित गरिमा समृद्धि योजना (जीएसवाई) ले गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । साउन १५ गते बसेको यस योजनाको योजना व्यवस्थापक गरिमा क्यापिटलको सञ्चालक समितिको बैठकले ५.१० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसका साथै सो बैठकले लाभांश वितरण प्रयोजनार्थ साउन २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ । यस अनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन् ।योजनाको कोष प्रवर्द्धक गरिमा विकास बैंक लिमिटेड रहेको छ ।
सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प साउन १८ देखि सुरु, ३ जना ग्राहकलाई आकर्षक सर्भिस प्याकेज
काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही श्रावण १८ देखि २० गतेसम्म मनसुन फ्री सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ । लगातार परिरहेको वर्षाका कारण सवारीसाधनहरूमा विविध प्रकारका समस्या देखिन सक्ने सम्भावना रहन्छ । यही सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुजुकीले आफ्नो ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै एक विशेष मनसुन सर्भिस क्याम्प सञ्चालन गर्न लागेको हो । यस क्याम्पमार्फत ग्राहकहरूलाई आफ्ना गाडीको निःशुल्क जाँच, विशेष छुटसहितको मर्मत सेवा र विशेषज्ञद्वारा मौसमको प्रकोपलाई कसरी कम गर्न सकिन्छ भनेर सल्लाह पनि उपलब्ध गराइनेछ । कम्पनीले सबै सुजुकी ग्राहकहरूलाई यो अवसरको लाभ लिन र वर्षायाममा आफ्नो सवारीलाई उत्तम अवस्थामा राख्न आग्रह पनि गरेको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ३ जना भाग्यमानी ग्राहकहरूले आकर्षक सर्भिस प्याकेज पनि जित्न सक्नेछन् । सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनुहुनेछ । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत सम्मको छुट पाउनुहुनेछ भने लेवर चार्जमा २० प्रतिशतसम्मको छुट र स्पेयर पार्टस र इन्जिन आयलमा १० प्रतिशत सम्मको छुट पाउनेछन् । सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।