विकासन्युज

भारत लैजान लागेका ७ किशोरीको उद्धार, भारतीय नागरिक पक्राउ

झापा । वैदेशिक रोजगारीको बहानामा भारत पु-याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरुलाई भारत पु-याउने दुई पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताए । उनका अनुसार शुक्रबार भारतीय प्रहरीले उद्धार गरेको थियो । उद्धारपछि सातै जना किशोरी र अभियुक्तलाई खोरीबारी प्रहरी थानामा राखिएको छ । उद्धार गरिएका किशोरी सङ्खुवासभा जिल्लाको रहेको जनाइएको छ । किशोरीलाई भारत पु-याउने अभियुक्तमध्ये एक जना भारतको दार्जीलिङस्थित तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ रहेका छन् भने अर्का सङ्खुवासभाको मकालु–३ का ६१ वर्षीय जपन गुरुङ रहेका छन् ।   अभियुक्तले वैदेशिक रोजगारका लागि हङ्कङ लैजाने भनेर उनीहरुलाई नेपालको पूर्वीनाका काँकडभिट्टा हुँदै सीमावर्ती भारतीय पानीटङ्की नाका पु-याएका थिए । किशोरीहरुको आधार कार्डलगायत नक्कली कागजात बनाउन सिलिगुढी लैजान लागेका बेला भारतीय प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । नेपाली किशोरीलाई नेपाल ल्याउन माइती नेपालका संयोजक घिमिरेसहितको टोली शुक्रबार नै पानीटङ्की पुगेको थियो । तर, कानुनी प्रक्रिया मिलाउनुपर्ने कारण देखाएर भारतीय प्रहरीले उनीहरुलाई खोरीबारी प्रहरी थानामै राखेको उनले जानकारी दिए । उक्त घटनाबारे भारतीय प्रहरीबाट कुनै जानकारी प्राप्त नभएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । रासस

मधेस प्रदेश सरकारले १८ करोडको लागतमा वितरण गर्‍यो स्यालो ट्युबवेल

जनकपुरधाम । पानी नपर्दा सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि मधेस प्रदेश सरकारले रु १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ ।   मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खाक्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण योजना ल्याएको हो ।  धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीमा पानी अभावमा खडेरीबाट पीडित किसानलाई सम्बन्धित कृषि ज्ञान केन्द्रको कार्यालयबाट स्यालो ट्युबवेल वितरण सुरु गरिएको मन्त्रालयका प्रवक्ता सरोज चौधरीले जानकारी दिए । जनताको आवश्यकता तथा प्राथमिकताका आधारमा एक हजार दुई सय स्यालो ट्युबवेल वितरण गरिने उनको भनाइ छ ।  एउटा स्यालो ट्युबवेल जडान गर्न रु एक लाखदेखि तीन लाखसम्म खर्च हुने मन्त्रालयको अनुमान  छ । साथै सोलार जोड्दा थप खर्च हुनेछ । ट्युबवेल जडान गर्दा  पानीको सतह (गहिराई) कति छ त्यसको आधारमा खर्च लाग्ने उनको भनाइ रहेको छ ।    स्यालो ट्युबवेल वितरणका लागि अहिले सातदिने सूचना जारी गरिएको छ । एउटा ट्युबवेल लिनका लागि दुई बिघा खेतीयुक्त जमिनको प्रमाणित लालपुर्जा कृषि ज्ञान केन्द्रमा पेस गर्नुपर्ने छ ।  मन्त्रालयले पानीको अभावमा मधेस प्रदेशमा अहिलेसम्म ५० प्रतिशत धानखेती भएको जनाएको छ ।  

अकबरेखेती गरेका किसानलाई बजारको चिन्ता

 म्याग्दी ।  म्याग्दीको धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगर बारीमा लहलह फलेको अकबर खुर्सानी कहाँ लगेर बेच्ने भन्ने चिन्तामा छन् । ओमराजले सञ्चालन गरेको धौलागिरि कृषि तथा पशुपंक्षी फार्मको छ रोपनी क्षेत्रफलमा फलेको अकबर खुर्सानी पाक्न थालेपछि उनी बजारको खोजीमा छन् । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–९ बनौका निर्मल पुन पनि फार्ममा फलेको अकबर खुर्सानी बेच्न बेनी, बागलुङ र कुश्मा बजारमा भौतारिरहेका छन् । शिवाङका ओमराज र बनौका निर्मलको जस्तै बजार अभाव अकबर खुर्सानीखेती गरेका किसानको साझा समस्या बनेको छ । बनौँ, शिवाङ र बेनी नगरपालिका–३ भकिम्लीमा अकबर खुुर्सानीको व्यावसायिक खेती भएको छ । ‘गत वर्ष परीक्षणका लागि लगाएको ९० वटा बिरुवाको अकबर बेचेर रु ३० हजार आम्दानी भएपछि यसपाली छ रोपनीमा १२ हजार बिरुवा लगाएको छु’, उनले भने, ‘स्थानीय बजार सानो छ । खपत थोरै हुुन्छ । धेरै खपत हुने ठूला सहरका व्यापारी र अचार उद्योग सञ्चालकसँग सम्पर्क नहुँदा समस्या भएको छ ।’ यस क्षेत्रमा यसअघि व्यावसायिक अकबर खुुर्सानीखेती भएका थिएन । घरायसी उपभोगका लागि मात्र अकबर खुुर्सानीखेती गरेका थिए । बेनी, कुश्मा, बागलुङ र जोमसोमको बजारमा तराई र पूर्वी पहाडी जिल्लाबाट अकबर खुर्सानी आयात हुने गर्छ । आयातित खुर्सानीसँग प्रतिस्पर्धा गर्न नसक्नुपर्ने अर्को समस्या रहेको छ । स्थानीय किसानहरूले रासायनिक मल र विषादीको विकल्पमा जैविक विधिबाट खुर्सानीखेती गरेका छन् । रोग र किराबाट बचाउन खिर्राको पात, तितेपाती, गाईभैंसीको गहुँतको प्रयोगका साथै झार उम्रिन नदिन ‘मल्चिङ’ प्रविधि प्रयोग गरेका छन् । खुर्सानीको बोटभन्दा अन्य भागको जमिनमा झार पलाउन नदिन प्लास्टिकले छोपेर मल्चिङ गरिएको हो । प्लास्टिकले झार उम्रन नदिने र बिरुवाले पर्याप्त पोषकतत्व पाएर उत्पादन राम्रो हुने किसान ओमराजले बताए । स्थानीय बजारमा अकबर खुर्सानीको मूल्य प्रतिकिलो रु २५० देखि रु ३०० छ । दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबर खुर्सानीखेती गर्न सकिन्छ । तरकारी, दाल, अचारमा ताजा खुर्सानीको प्रयोग हुन्छ । जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले अकबर खुर्सानीको बजारीकरणका लागि स्थानीय व्यापारीका साथै पोखरा, काठमाडौंका बजार र अचार उद्योगीलाई कृषकको सम्पर्कमा ल्याउन पहल गरिरहेको बताए । खुर्सानीखेतीका लागि मल्चिङ, खनजोत गर्ने उपकरण र रोगकिरा नियन्त्रणका लागि परामर्शका साथै प्राविधिक सहयोग गरेको उनले बताए ।  

लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

महोत्तरी । लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो साता सोमबारयता लगातार पानी परेपछि उनीहरूमा रोपो जाग्ने आश बढेको हो । पछिल्लो पटक गए राति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुनेगरी पानी परेको छ । यस्तै गत बिहीबार र सोमबार पनि पानी परेको थियो । 'अबचाहिँ रोपो मरोइन, रोपिएको खेतमा यसअघि परेको चिरा पुरिएका छन्, रोपो पनि फेरिएको छ', भङ्गाहा–३ कटैयाका किसान विजय यादवले भने, 'पछिल्ला तीन दिनको वर्षाले रोपोलाई निकै राहत मिल्यो ।' यसअघि इनार, बोरिङ्गर स्यालोट्युवबेलबाट पम्पसेट लगाएर रोपेको धान अब भने जाग्ने आश बढेको किसानले बताएका छन् । पछिल्ला तीन दिन परेको पानीले थप रोपाइँ नबढे पनि यसअघि रोपिएको धानलाई भने निकै राहत मिलेको किसानको भनाइ छ ।  प्रचण्ड रापले पहेँलिँदै गएको रोपो पछिल्ला वर्षाले निकै फेरिएको बर्दिबास–७ प्रेमनगरका किसान रामउद्गार महतो बताउँछन् । 'खेत हिल्याउने गरी त पानी पर्न सकेन, तर लगालगीजस्तो तीन दिनको वर्षाले निकै राहत दियो', महतो भन्छन्, 'खासमा यसअघि रोपिएको धान, खडेरीले सुक्दै गएको उखु, कोदो, मकै र तरकारीबालीलाई अमृत बर्सेजस्तै भयो ।' लामो खडेरीले आहत भएका बेला यो क्षणिक वर्षा पनि केकेन भेटाएजस्तो भएको किसान बताउँछन् । पछिल्लो वर्षाले धानको रोपोसँगै उखु, सागसब्जी, मकै र कोदोसहितका बालीलाई चिस्यान मिलेको भङ्गाहा–४ रामनगरका ७५ वर्षीय किसान इस्लाम राइनको पनि भनाइ छ । 'लामो रौदी (खडेरी) ले उखुका टुप्पा खङरङ्ग सुक्दै गएका थिए, पछिल्लो वर्षाले राम्रो चिस्यान भएपछि जादुजस्तै भएको छ, उखुका बोट फेरिँदै छन्,' उनले भने । यो वर्षाले धानबाहेकका बालीलाई अलिबारलाई पर्याप्त चिस्यान भएको छ । धानको रोपोमा भने गर्‍हामा  भरिनेगरी पानी चाहिएको किसान बताउँछन् । पछिल्लो वर्षा महोत्तरीका सबै भेगमा धेरथोर परेको छ । यद्यपि दक्षिणतिरभन्दा उत्तरतर्फ बढी पानी परेको सर्वसाधारणसँगको कुराकानीबाट बुझिएको छ । पछिल्लो वर्षाले प्रचण्ड गर्मीको रापबाट राहत मिलेको सर्वसाधारणले बताएका छन् । यसपालि लामो खडेरीले गर्दा महोत्तरीमा धान रोपाइँ निकै पछि सरेको छ । जिल्लाको कूल धानखेतीयोग्य जग्गा ४२ हजार ५०० हेक्टर मानिन्छ । तर साउन तेस्रो साता सुरू भइसक्दासम्म जिल्लामा ३५ प्रतिशत रोपाइँ नकटेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ । रोपाइँ थप बढाउने गरी पानी  पर्न नसके पनि पछिल्लो वर्षाले यसअघिको रोपोलाई भने निकै राहत दिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत देवानन्द यादव बताउँछन् । रासस

अमलेखगञ्ज-लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु

काठमाडौं । अमलेखगञ्ज-लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु भएको छ । चितवनको राप्ती १ लोत्थरमा आज कार्यालय उद्घाटन गरिएको हो ।  कार्यक्रममा बोल्दै नेपाल आयाल निगमका उपनिर्देशक एवं आयोजना प्रमुख प्रदीपकुमार यादवले आजबाट परियोजना अघि बढेको र यसले अमलेखगञ्जदेखि लोत्थरसम्म पाइप लाइन बिच्छ्याउने क्रममा जनतासँगै जोडिएको विषय भएको बताए । अहिले मोतीहारी अमलेखगञ्ज पाइपलाइन रहेको बताए । उक्त परियोजनाको पाइपलाइन बिच्छ्याउने काम १५ महिनाभित्रै सम्पन्न गरेको बताए । अमलेखगञ्ज-लोत्थरसम्म ५४ महिनामा पाइपलाइन बिच्छ्याउने काम सक्ने लक्ष्य लिइए पनि यो धेरै लागेको जानकारी दिए ।  उनले ५४ महिनाको काम तीन वर्षमा सक्नेगरी प्रयास गर्ने पनि बताए ।   

भोजपुर खोक्सिकमा केन्द्रीय विद्युतको पहुँच

भोजपुर । जिल्लाका दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका-८ खोक्सिकका ९५ प्रतिशत नागरिक विद्युतको पहुँचमा जोडिएका छन् । भौगोलिक रूपमा विकट मानिने यो स्थानमा वडाको सक्रियतामा ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो । विद्युत् विस्तारको शुन्य अवस्थाबाट काम सुरु गरेर ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् जडान गर्न सफल भएको वडाध्यक्ष बाचकुमार राईले बताए । बाँकी रहेका घरमा पनि चाडै विद्युत् विस्तार गरेर यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा लक्ष्य रहेको वडाध्यक्ष राईले बताए । 'यहाँको ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् जडान गर्न सफल भएका छौँ' उनले भने, 'यहाँ शून्य अवस्थाबाट विद्युतको काम थालेर विस्तारको अन्तिम चरणमा पुर्‍याएका छौँ । यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा गर्ने लक्ष्य छ ।' केन्द्रीय विद्युत् विस्तार भएपछि वषौँदेखीको टुकीबत्तिको सहायतामा रात कटाउनु पर्ने बाध्यताबाट मुक्त भएको स्थानीयबासी दिलकुमार योगीले बताए । पुस्तौँबाट टुकी तथा सोलारको उज्यालोमा रात कटाइरहेको अवस्थामा विद्युतको केन्द्रीय लाइन विस्तारले सहजता भएको उनले बताए । विद्युत् विस्तारले उज्यालोसँगै कुटानी पिसानीको दैनिक कामकाजमा सहज भएको उनको भनाइ छ । 'हाम्रो ठाउँका प्रायः सबै स्थान बिजुली पुगेको छ' उनले भने, 'विद्युत् विस्तार भएपछि गाउँमा सुविधा थपिएको छ । अध्यारोमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ । वषौँपछि गाउँमा झिलिमिली बत्ती बलेको देख्दा आनन्द लाग्छ ।' दुर्गम क्षेत्र भएपनि केन्द्रीय लाइन विस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको स्थानीयबासी दलबहादुर राईले बताए । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा बसेर देश विदेशको जानकारी लिन सक्ने अवस्था बनेको उनको भनाइ छ । 'विद्युत् नहुँदा हामीले धेरै समस्या भोग्दै आएका थियौँ', उनले भने, 'विद्युत् विस्तारपछि हामी धेरै खुसी छौँ । विद्युतले गाउँले जीवनशैलीलाई सहज बनाएको छ । बालबालिकाले सहज रूपमा पठनपाठन गर्न पाएका छन् ।'

डोङफेङ नामीको चाडपर्व अघि नै अफर सार्वजनिक, ८० हजारसम्मको छुट पाइने

काठमाडौं । चाडपर्वको माहोल सुरु हुनु अघि नै विद्युतीय गाडी निर्माता डोङफेङ नामीले ‘अर्ली फेस्टिभ अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत कम्पनीले आफ्ना लोकप्रिय प्रिमियम इलेक्ट्रिक ह्याचब्याक ‘नामी’ मा ८० हजार रुपैयाँसम्म नगद छुट दिने घोषणा गरेको हो । अहिले ग्राहकहरूले नामी ईभीलाई रु ३४ लाख ७९ हजारको साटो रु ३३ लाख ९९ हजारमै खरिद गर्न सक्नेछन् । ‘व्हाई वेट फर द फेस्टिभल’  भन्ने नारासहित ल्याइएको यस अफरमार्फत ग्राहकहरूले चाडपर्वको भीड र पर्खाइबिना नै समयमै उत्सवको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ । डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि मोटर्सका अनुसार, नामी ईभी छोटो समयमा नेपाली बजारमा लोकप्रिय बन्न सफल भएको छ । सेग्मेन्ट–फर्स्ट फिचरहरू, भरपर्दो रेन्ज, उत्कृष्ट मूल्य र लक्जरी अनुभवका कारण यो ह्याचब्याकले नयाँ पुस्ताका लागि आधुनिक र स्मार्ट रोजाइको रूपमा आफूलाई स्थापित गरिसकेको कम्पनीको दाबी छ । नामी ईभीमा बोल्ड डिजाइन, सुविधायुक्त इन्टेरियर, स्मार्ट प्रविधि र प्रयोगकर्ता मैत्री अनुभव रहेको छ, जसले यसलाई फाइभ–स्टार लक्जरी ईभीको रूपमा स्थापित गरेको कम्पनीको भनाइ छ । यस अफरमार्फत डोङफेङ नामीले विद्युतीय सवारी साधनलाई अझ धेरै नेपाली उपभोक्तासम्म पुर्‍याउने र चाडपर्वको अवसरमा ग्राहकहरूलाई अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।

साढे ४१ अर्बमा माथिल्लो सेती बन्ने, कुमारीको नेतृत्वमा एक दर्जन बैंकको लगानी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बझाङको साइपाल गाउँपालिका-४ र ५ मा निर्माण हुने सो आयोजनाको लागि शनिबार कुमारी बैंकको नेतृत्वमा तथा एनएमबी बैंकको सह नेतृत्वमा वित्तीय व्यवस्थापन भएको हो । यस्तै, सो आयोजनामा माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराईज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एशिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, साङ्‌ग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइसिएफसि फाइनान्स सहितको सह वित्तीय व्यवस्थापन भएको छ । एक समारोहका बीच कुमारी बैंक र आयोजनाको प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतामा कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईँले हस्ताक्षर गरे । ४१ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाइने छ । सो आयोजना अर्ध जलाशय युक्त नदी प्रवाह प्रणालीमा आधारित छ, जसमा ४.५ घण्टाको पिकिङ्ग क्षमता रहनेछ । आयोजनाको डिजाइन डिस्चार्ज ३४.१  घनमिटर प्रति सेकेन्ड रहेको छ भने ग्रस हेड ७५८.९ मिटर र नेट हेड  ७३५.ट मिटर रहेको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भइसकेको सो आयोजनाले विद्युत् उत्पादन अनुमति प्राप्त गरिसकेको छ । आयोजना आगामी ५ वर्षभित्र सम्पन्न गरी २०८८ असार ३१ गतेभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको प्रवर्द्धक गुरागाईँले जानकारी दिए । आयोजनाबाट वार्षिक एक हजार २२९.६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । उत्पादित विद्युत् आयोजना स्थलमै निर्माण गरिने २२० केभीको स्विचयार्डबाट ३० किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रस्तावित ४०० केभी बझाङ सबस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ । आयोजनाका लागि आवश्यक पहुँच सडकको कुल लम्बाइ २५ किलोमिटर हुनेछ । आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड २५ करोड रूपैयाँ हुनेछ । आयोजनाको ३० प्रतिशत स्व पुँजी प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्तामार्फत संकलन गरिरहेको छ । स्थानीय पूर्वाधार विस्तार, रोजगारी सिर्जना, ऊर्जा आत्मनिर्भरता र सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षासहित माथिल्लो सेती जलविद्युत आयोजना नेपालको जल विद्युत् विकासको इतिहासमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । आयोजना सम्पन्न भएपछि उज्यालो सुदूरपश्चिमको सपना साकार पार्न निर्णायक योगदान पुग्ने विश्वास गरिएको छ ।