बरुण हाइड्रोको हकप्रद सेयर खरिद गर्ने समय लम्बियो, अब कहिलेसम्म पाइन्छ ?
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । असार ३१ गतेदेखि बिक्री खुला गरेको सतप्रतिशत हकप्रद सेयरमा लगानीकर्ताहरुले अब भदौ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ५३ लाख ५८ हजार १५० कित्ता सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्स)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकका वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौंडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी र धरान शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
दरमखोला हाईड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम मौका
काठमाडौं । दरमखोला हाईड्रोपावर इनर्जीको आईपीओमा आवेदन दिने आज साउन १९ गते अन्तिम दिन रहेको छ । साउन १५ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३९ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १० लाख ३० हजार ५ सय कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र गुल्मीको मुसीकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका, बडीगाड गाउँपालिकाका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको २८.३३ प्रतिशत अर्थात् २९ लाख १९ हजार ५ सय कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ९१ हजार ९५० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा २ प्रतिशत अर्थात् ५८ हजार ३९० कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोष र बाँकी २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, यस्तो छ कार्यसूची
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीलाई विदाई गरे । सो अवसरमा नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधानसेनापति, सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी लगायतको उपस्थिति थियो । प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सम्मान अर्पण गरेको थियो । तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन त्यसतर्फ जानुभएको हो । यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा सम्मेलन आयोजना हुनेछ । सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्यूरोका अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका क्रममा एक उच्चस्तरीय गोलमेच बैठकको सह अध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल हाल एलएलडिसी समूहको अध्यक्षसमेत रहेको छ । एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्टित विकासशील देशहरूले भाग लिने सो सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव, भूपरिवेष्टित मुलुकहरूले भोग्नुपरेका समस्या र विश्व बजारबाट लिनसक्ने लाभलगायतका विषयमा छलफल हुनेछ । ती मुलुकहरूको अन्तर्राष्ट्रिय व्यापार अन्य देशहरू हुँदै पारवहनमा निर्भर रहनुपरेको यथार्थलाई दृष्टि गत गरी अतिरिक्त सीमा पार गर्ने ठाउँहरू र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात र अन्य लेनदेनसहित कूल लागतमा उल्लेखनीय वृद्धि हुने भएकाले भूपरिवेष्टित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन सम्मेलन केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नुहुनेछ । समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण भूपरिवेष्टित विकासशील देशहरूले अन्तर्राष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकासको चुनौती सामना गरिरहेका छन् । यसैगरी, प्रत्यक्ष पहुँचका अभावमा विश्वव्यापी बजारबाट उल्लेखनीय लाभ लिन नसकेको, यातायातको विश्वव्यापी सहज सञ्जाल नभएको र खाद्य पूर्वाधार विकास गर्न कठिन रहेको अवस्थामा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको छ । सम्मेलनले सदस्य राष्ट्रहरूले झेल्नु परिरहेको समस्या समाधानका लागि रणनीतिक साझेदारीसहित लगानी वृद्धि गरी चुनौतीहरू सम्बोधन गर्न र यी राष्ट्रहरूको पूर्ण क्षमतालाई आँकलन गर्न सहयोग पुर्याउने ठानिएको छ । यसैगरी यी देशहरूलाई सहयोग गरेर आपसी समान र समृद्ध भविष्य निर्माण गर्न सम्मेलनको महत्त्वपूर्ण भूमिका रहने छ । यसअघि भूपरिवेष्टित विकासशील देशहरूको दोस्रो संयुक्त राष्ट्र सङ्घीय सम्मेलन सन् २०१४ को नेभेम्बर ३ देखि ५ सम्म अष्ट्रियाको भियनामा भएको थियो । करिब १० वर्षअघि भएको सो सम्मेलनमा ‘अल्माटी कार्ययोजना कार्यान्वयनको समीक्षासहित नयाँ र उदीयमान चुनौतीको सामना गर्न साझेदारी र अवसरका सन्दर्भमा अन्तर्राष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार र पारवहन यातायात सहयोग नीतिहरू पहिचान गर्नु र पारवहन यातायात प्रणालीहरू’का विषयमा छलफल भएको थियो । प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा डा दिव्या सिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई, उच्च पदस्थ सरकारी अधिकारी, अफिसियल मिडियाकर्मी र सुरक्षाकर्मीसमेत सहभागी रहेका छन् । प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने कार्यक्रम छ । कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी तोकेका छन् । नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई ओम हस्पिटलमा १० प्रतिशत छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच सम्झौता भएको छ । सम्झौताअनुसार बीमित, अभिकर्ता तथा कर्मचारीलाई अब ओम हस्पिटलमा उपचार सेवा लिँदा १० प्रतिशत छुट प्राप्त हुनेछ । साथै हेल्थ चेकअप प्याकेजमा विशेष सहुलियत दिइने आईएमई लाइफ इन्सोरेन्सले जनाएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (आईएमई लाइफ मोबाइल एप) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् । अभिकर्ता तथा कर्मचारीले भने कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छुट सुविधाको लाभ लिन सक्ने छन् ।
राष्ट्रिय बीमा कम्पनीको नाफा ४४ करोड, १ अर्ब ३७ करोड बीमाशुल्क
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत वर्ष ४४ कराेड रूपैयाँ खुद नाफा गरेकाे छ । कम्पनीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ४४ करोड रुपैयाँ खुद नाफा गरेको हाे । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ३७ करोड बीमा शुल्क आर्जन गरेको जनाएकाे छ । कम्पनीका अनुसार खुद सम्पत्ति १७ अर्ब रूपैयाँ पुगेकाे छ । गत असारसम्म कम्पनीकाे प्रतिसेयर बुक भ्यालु ६ हजार ३७५ रुपैयाँ रहेको छ । त्यसैगरी प्रतिसेयर आम्दानी (ईपीएस) १६२ रुपैयाँ रहेको छ भने सोल्भेन्सी मार्जिन २.७३ गुणा रहेको छ । चुक्ता पुँजी २६ करोड ६६ लाख ४९ हजार ५९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
नेपाल एसबिआई बैंकले पायो ‘च्याम्पियन इन मोडर्न बैंकिङ इनोभेसन नेपाल २०२५’ को उपाधि
काठमाडौं । नेपाल एसबिआई बैंक क्यापिटल फाइनान्स इन्टरनेशनल (सीएफआई डट को ) लण्डनद्वारा ‘च्याम्पियन इन मोडर्न बैंकिङ्ग इनोभेसन नेपाल २०२५’ को उपाधिबाट सम्मानित भएकोे छ । यस प्रतिष्ठित अर्वाडले बैंकको डिजिटल रुपान्तरण तथा ग्राहक केन्द्रित नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई दर्साउँछ। त्यसैगरी बैंक सिंगापुरस्थित एसियन बैंकिङ एण्ड फाइनान्स (एबीएफ) द्वारा होलसेल बैंकिङ अवार्ड २०२५ अन्तर्गत ‘नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक अफ द इयर’ , नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन्स बैंक अफ द इयर’ तथा रिटेल बैंकिङ अवार्ड २०२५ अन्तर्गत ‘डिजिटल बिजनेस बैंकिङ इनिसियटिभ अफ द इयर – नेपाल’ र ‘एसएमई बैंक अफ द इयर – नेपाल’ बाट सम्मानित भएको हो । यी अन्तर्राष्ट्रिय सम्मानहरूले बैंकले प्रदान गरिरहेको होलसेल तथा रिटेल बैंकिङ सेवाहरूमा डिजिटल रूपान्तरण, उत्कृष्टता र नवप्रवर्तनप्रति बैंकको अटल प्रतिबद्धतालाई जोड दिन्छ । नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
राष्ट्रिय बीमा कम्पनीलाई ब्रान्डिङको आवश्यकता पर्दैनः कार्यकारी निर्देशक सुवेदी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले राष्ट्रिय बीमा कम्पनीलाई ब्रान्डिङको आवश्यकता नरहेको बताएका छन् । आइतबार राष्ट्रिय बीमा कम्पनीको १२औं वार्षिक साधारण सभामा कार्यकारी निर्देशक सुवेदीले राष्ट्रिय बीमा कम्पनी सरकारी स्वामित्वको संस्था भएकाले ब्रान्डिङको आवश्यकता नरहेको बताएका हुन् । उनले भने, ‘राष्ट्रिय बीमा कम्पनी त्यस्तो कम्पनी हो जसलाई कुनै ब्रान्डिङको आवश्यकता पर्दैन । जसले आफ्नो ब्रान्ड डेभलप गर्नका लागि कुनै एक्स्ट्रा इफोर्ट लगाउन पर्दैन । सरकारी ब्याकअप छ, मान्छेहरूको एउटा कन्फिडेन्स छ, सेन्टिमेन्टल भ्यालुले पनि काम गरिरहेको छ। केही भयो भने सरकार पछाडि बसेको छ भन्ने हिसाबले पनि मान्छेहरू राष्ट्रिय बीमा कम्पनीमा बीमा गर्न उत्सुक हुन्छन् ।’ कार्यकारी निर्देशक सुवेदीले सरकारको यति धेरै सपोर्ट भएर पनि किन कम्पनीमाथि यति धेरै प्रश्नहरू उठिरहेका छन् भनेर प्रश्न राखे । उनले कम्पनीको कामकारबाहीमा ढिलासुस्ती र अडिट हुन नसकेको विषयमा चासो व्यक्त गरे। कार्यकारी निर्देशक सुवेदीले कम्पनीको अडिट हुन नसकेको विषय उठाउँदै भने, ‘तपाईंमाथि जहिले पनि लाग्ने गरेको एउटा ठूलो प्रश्न छ, आरोप छ, अडिट भएन, अडिट भएन भन्ने छ ।’ उनले नियामक निकायले सबै कम्पनीलाई एउटै व्यवहार गर्दै आएको बताए । उनले यस विषयमा अगाडि बढ्न आग्रह गर्दै बीमा प्राधिकरणको सधैं साथ, समर्थन र सहयोग रहने विश्वास व्यक्त गरे । सुवेदीले बीमा प्राधिकरणले कम्पनीलाई आवश्यक परेको खण्डमा औपचारिक र अनौपचारिक रुपमा सहयोग गर्न तयार रहेको बताए । सँगसँगै उनले कम्पनीबाट कुनै गल्ती भएमा वा नियमविपरीत काम भएमा दण्ड सजाय गर्न पनि पछि नपर्ने चेतावनी दिए । ‘बीमा प्राधिकरण तपाईंलाई दण्ड सजायको परिधिभित्र लैजान पनि डण्डा चलाउन पनि पछि पर्दैन,’ उनले भने । उनले राष्ट्रिय बीमा कम्पनी सार्वजनिक कम्पनी भएकाले यसको दायित्व अन्य कम्पनीको भन्दा बढी भएको बताए। कम्पनीको व्यवस्थापनलाई सबै पक्षलाई सन्तुलनमा राखेर काम गर्न र अधिकतम प्रतिफल निकाल्न सक्ने गरी योजना बनाउन उनले आग्रह पनि गरेका छन् ।
युनिग्लोब ह्याकथन १.० सुरु
काठमाडौं । युनिग्लोब एसएस/कलेजमा आइतबारदेखि ३ दिने युनिग्लोब ह्याकथन १.० को सुरुवात भएको छ । ह्याकथनमा २० टोली (प्रत्येकमा ३ जना सदस्य) ले सहभागिता जनाएका छन् । प्रतियोगिता युनिग्लोब एसएस/कलेजका लागि ‘एमआईएस इन्टरफेस’ को वेब विकास भन्ने मुख्य विषयमा केन्द्रित छ, जहाँ सहभागी टोलीहरूले विद्यालय व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउन नविन र व्यवहारिक समाधान प्रस्तुत गर्नेछन् । प्रविधिको प्रयोगमार्फत शैक्षिक संस्थाको सशक्त डिजिटल रूपान्तरणको दिशामा यो एक महत्त्वपूर्ण पहल मानिएको छ । ह्याकथनको पुरस्कार राशि ४० हजार रुपैयाँ निर्धारण गरिएको छ । कार्यक्रमको टाइटल स्पोन्सर एक्पर्ट भिजन कन्सल्टेन्सी रहेका छन् भने आईपीएस वर्ल्ड लिंक नेटवर्क पार्टनरको रूपमा सहकार्यमा छ । साथै चिया आर्केडले पनि कार्यक्रममा सहयोग गरेको छ । सम्पूर्ण खानपान व्यवस्थापन युनिग्लोब आईटीे क्लब स्वयंले गरेको छ । कार्यक्रम सफल बनाउन १५ जना सदस्यहरू खटिएका छन् भने पहिलो दिन उत्साह, नवीनता र सहकार्यको उत्कृष्ट झलक देखिएको छ । युनिग्लोब एसएस/कलेजका ईसीसीए कार्यक्रम संयोजक एनबी गुरुङले युनिक्लोब ह्याकाथन १.० ले युवा प्रतिभाहरूको क्षमता उजागर गर्दै डिजिटल युगको नेतृत्वमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।